निर्णय नं. १९५ - नासो धरौट

निर्णय नं. १९५ ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधी श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
दे.फु.नं. १४४
निवेदक, प्रतिवादी : कपिलमुनी उपाध्याय
विरुद्ध
विपक्षी, वादी : दीपकुमारी उपाध्यायनी
मुद्दा : नासो धरौट
(१) नासो धरौट बुझी लिएको कागजमा कागज जाँचको २० नं.बमोजिम अक्षर नजान्नेको र लेख्न जान्नेको पनि कागजमा ल्याप्चे सहीछाप गर्दा, गराउदा दायाँ बायाँ दुवै हातका बुढी औंठाको सहीछाप गर्नुपर्ने ।
सर्वप्रथम प्रतिवादीले नासो जिम्मा लिइ वादीलाई गरिदिएको भनेको ०१०।११।१७।१ को कागज प्रतिवादीलाई देखाउँदा जि.कृष्णप्रसादको हस्ताले लेखेको भन्ने वादी । निज गाउँको जिम्मावाल भएबाट तिरो बुझी अर्धकट्टीमा रैतीको सहीछाप गराई लिने चलन हुँदा झुक्यानबाट गराई लिएको होला भन्ने प्रतिवादी जिकिर हुनाले त्यसतर्फ विचार गर्दा, कागज जाँचको २० नं.को ऐनमा “अक्षर नजान्नेको र लेख्न जान्नेको पनि यसै महलको २०(ग) रजिष्ट्रेशनको २३ नं.का समेत ऐनले औंठाको ल्याप्चे सहीछाप गर्नु गराउनु पर्ने कागजमा ल्याप्चे सहीछाप गर्दा गराउँदा दाहिने हातको बुढी औंठाको, दायाँ बायाँ दुवै हातको बुढीऔंलाको सहीछाप गर्नुपर्ने । रीतपूर्वक सहीछाप नपरेको कागजबाट तपसीलमा लेखिएको बाहेक नालेस उजुर लाग्न सक्तैन भन्ने लेखिएको । ऐजन २०(ग) मा नासो धरौट बुझी लिएको कागजमा दायाँ बायाँ दुबै हातको बुढी औंठाको सहीछाप हुनुपर्छ भन्ने उल्लेख भएको । प्रस्तुत लिखतमा उक्त ऐनबमोजिम रीत पुर्याई ल्याप्चे सहीछाप गराई लिएको नदेखिएको र सो लिखत लेखी दिने भनी वादीले भनेको र साक्षीसमेत राखेको जि.कृष्णप्रसाद समन म्यादमा हाजिर हुन नआएको र वादी आफैंले पनि आफ्नो प्रमाण निमित्त अड्डामा उपस्थित गराउन नसकेको । नासो धरौट लिएको कागजमा साक्षी राखेको पनि नदेखिएकोले त्यस्तो कानूनको रीत नपुगेको र अरु कुराबाट समर्थन हुन नआएको लिखतलाई मान्यता दिन मिलेन ।
(प्रकरण नं. १२)
(२) नासो धरौटको १० नं. अनुसार वादीले साक्षी गवाहीबाट प्रमाण गुजार्न नसकेमा सो ऐन अन्तर्गतको कारवाई भन्न नमिल्ने ।
अब नासो धरौटको १० नं.मा अतास परेमा लुकाउनको खातिर नासो राखेकोमा लिखत नभए पनि साक्षी गवाही मात्र भए पनि सुनी मामिला फैसला गर्नु भन्ने उल्लेख भएकोले वादीले साक्षी गवाहीबाट प्रमाण गुजार्न सकेको छ छैन भनी विचार गर्दा, फिरादपत्रमा २ जना साक्षी राखेकोमा निजहरूलाई माथि लेखिएबमोजिम वादीले अड्डामा ल्याई आफ्नो दावीलाई पुष्ट्याईं गराउन नसकेकी र अड्डाबाट तामेल भएका समनको म्यादसमेत निजहरूले गुजारी बसेकाले त्यसतर्फबाट पनि वादीको दावी समर्थन हुन नसकेकाले वादीतर्फका विद्वान वकीलको बहस जिकिर मनासिव देखिएन ।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट : विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : विद्वान प्लिडर श्री कुलराज
फैसला
१. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याई पाउँ भनी निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावली नियम ६३ बमोजिम दोहर्याउने निस्सा भई पेश हुन आएको मुद्दा हेर्दा,
२. २००९ साल पौष महिना देखि खोटाटक मुद्दामा लोग्ने थुनिएको । घरमा जानकार कोही नहुँदा चोरी डकैतीको डरले प्रतिवादी नातेदार माथवर भएकोले देहायको बिगो रु. १७२२। को धनमाल जिम्मा दिई मलाई चाहिएका बखत फिर्ता लिने गरी प्रतिवादीको भाषाबाट कृष्णप्रसादका हस्ताक्षरले ०१०।११।१७। गते भरपाई लेखी दिई जिम्मा दिएको धनमाल ०११ साल आषाढमा लोग्ने जेलबाट आई माग्न जाँदा धनमाल अन्यत्र दिएको छु । नगद मासेकोले अहिले छैन भनी आलटाल गरी नदिएकोले दिए धनमाल नगद जिन्सी नै र नदिए त्यसको बिगो रु. १७२२। प्रतिवादीबाट भराई पाउँ भन्नेसमेत वादी ।
३. बिगो रु. १७२२। को धनमाल वादीले नासो धरौट राख्न दिएको भए कानूनबमोजिमको लिखत हुनुपर्नेमा उक्त लिखत एउटा बुढी औंलाको सहीछाप परेको साक्षीसमेत नभएको कृष्णप्रसाद गाउँको जिम्मावाल भएकोले तिरो बुझी अर्धकट्टीमा सहीछाप गराउँदा झुक्याई जालसाजीबाट गराएको होला । मौका नपाएकोले उजुर गरेको छैन भन्नेसमेत प्रतिवादी ।
४. धनमाल नासो धरौट दिएको भए कागज जाँचका २० नं. बमोजिम रीतपूर्वकको सहीछाप र साक्षी लिखत साक्षीसमेत हुनुपर्ने सो नभएको र कृष्णप्रसादले म्यादै गुजारी बसेको हुँदा वादीले कृष्णप्रसादलाई हात लिई प्रतिवादीलाई झुक्याई जालसाजी लिखत खडा गरी प्रतिवादीउपर वादीले झुठा उजुर गरेको ठहर्छ भन्नेसमेत का.प. अदालतबाट ०१४।१।१२।४ मा भएको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने दीपकुमारीको अपील ।
६. नासो भरपाईमा प्रतिवादीको परेको ल्याप्चे सहीसँग वारिसनामामा परेको ल्याप्चेसँग ख. शिवबहादुरले भिडाई जाँच्दा ०१३।८।१२ गतेको वारिसनामामा लागेको सहीछापमासम्म मिल्ने अरुमा नमिल्ने भनी राय व्यक्त गर्नुभएकोले कारणीलाई नै झिकाई सहीछाप लिई भिडाई हेर्दा मिल्न आएको र झुक्काई गराएको भन्ने प्रतिवादीले काफी सबुद गुजार्न नसकेको । नासो धरौट १ नं. का ऐनले त्यस्तो कागजलाई मान्यता दिनपर्ने कागज जाँचको २० नं. ले पनि रीत नपुगेको भन्न नमिल्ने हुँदा बिगो ने.रु. १७२२। प्रतिवादीले वादीलाई दिनुपर्ने र शुरुले गल्ती इन्साफ गरेको ठहर्छ भन्नेसमेत ०१६।१२।२९।२ मा सदर जिल्ला अदालत पहिला फाँटबाट गरेको फैसला ।
७. उक्त इन्साफ चित्त बुझेन भन्ने प्रतिवादी कपीलमुनीको अपील ।
८. नासो धरौटको भरपाईमा बुढी औंठाको एउटा मात्र ल्याप्चे लागेको सदर हुँदैन भन्ने कानूनमा उल्लेख नभएको र जिल्ला अदालतले प्रतिवादी कारणीलाई नै झिकाई सहीछाप लिई जचाउँदा नासो धरौटको गरी दिएको भरपाईसँग मिल्न आएको र ०१३।८।२२ को वारिसनामासँग मिल्छ भनी रेखा बिशेषज्ञले राय व्यक्त गरेको र तिरो तिरेको अर्धकट्टीमा सहीछाप गराउँदा जिम्मावाल कृष्णप्रसादले झुक्याई जालसाज गरी भरपाईमा सही गराएको । यो यस्तो किसिमले गरायो भनी प्रतिवादीले सबुद गुजार्न नसकेको हुँदा अरु जिल्ला अदालतका फैसलामा लेखिएका बुँदा प्रमाण समेतबाट शुरुको उल्टाई सदर जिल्ला अदालत पहिलाले गरेको इन्साफ मनासिव छ भन्ने ०१९।२।२४।४ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
९. रजिष्ट्रेशनको २३ नं. ले दुवै हातको बुढी औंलाको सहीछाप गराउनु पर्ने बाध्यता नै गरेको छ । कागज जाँचको २० नं. क. ले दुवै औंलाका सहीछाप गराउनु पर्ने कानूनले यकिन गरेको छ । सोबमोजिम गरिएको छैन भने त्यसलाई मान्यता दिन कतई मिल्दैन । त्यस कुरामा डिभिजन बेञ्चले ध्यान दिएन । फिरादीले कुनै पनि सबुद दिन सक्नु भएको छैन । मेरो साक्षीहरूले प्रष्ट लेखी दिएको छ । फिराद दावा झुट्टा हो । मेरो साक्षीउपर दिनु भएको फिराद झुट्टा ठहरी फैसला भएउपर विपक्षीले चित्त बुझी बस्नुभएको छ । सो समेत विचारी मुद्दा दोहर्याई पाउँ भन्ने कपीलमुनीको वा. गुरुप्रसाद उपाध्यायको निवेदनपत्रको व्यहोरा पेश हुन आएकोमा एउटामात्र ल्याप्चे सहीछाप भएको साक्षीहरू नै नभएको कागजजाँचको ऐनको रीत नपुगेको लिखतलाई डिभिजन बेञ्चबाट सदर गरेको भन्ने निवेदकको मुख्य जिकिर भएकोले व्यहोरा साँचो भए सो लिखत कानूनले सदर हुन्छ हुँदैन भन्ने कानूनी प्रश्न देखिन आएकोले त्यसको निर्णयको लागि दोहर्याउने निस्सा गरी दिएको छ । दुवै थर झगडीया राखी फुल बेञ्चमा पेश गर्न लगतमा दर्ता गरी फाँटमा बुझाई दिनु भन्ने । श्री माननीय प्रधान न्यायाधीशज्यूको ०१९।३।२५।२ को आदेश ।
१०. निवेदक, प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वकील एडभोकेट कृष्णप्रसाद घिमिरेले मेरो पक्षले गरी दिएको भनेको लिखतमा १ ल्याप्चे मात्र लागेको छ । कागज जाँचको ऐनले यस्तोमा जरिवाना गरी उजुर सुन्ने व्यवस्था छैन । घरायसमा भएको यस्तो लिखतमा दुवै औंठाको सहीछाप चाहिने । नासो लिएको धनमालमा जडाउसमेतको यति तोला भनी दावी गरेको । यति तोला भन्दैमा नतौली कसैले लिंदैन र छुट्टै नजाँची यति भन्ने थाहा पनि हुँदैन । त्यसैबाट पनि कागज नकरा देखिने । एक औंठाको छाप परेको लिखत बाहेक वादीको अरु कुनै सबुद छैन । लिखत लेख्ने भनेको साक्षी कृष्णप्रसाद हाजिर हुन आएको छैन । अतः वादी दावी झुट्टा हो भनी वादीतर्फबाट रहनुभएका विद्वान वकील प्लिडर कुलराजले प्रतिवादीले नासो धरौट लिई गरी दिएको कागज बाली बुझाउन जाँदा जिम्मावालले झुक्याएको भनेको जिम्मावालले तिरो बुझी दिने अर्धकट्टी बेग्लै किसिमको हुने । सो कुरा प्रतिवादीलाई थाहा हुने र अर्धकट्टीमा १ ठाउँमा मात्र सही गरे पुग्ने । तल माथि सही नहुने हुनाले प्र. जिकिर झुट्टा देखिने । लिखत लेख्ने कृष्णप्रसादले प्रतिवादीलाई कागज गराउनु पर्ने कारण दिन नसकेको । केही स्वार्थ भए झिकाउँदा हाजिर हुन आउनु पर्ने । कागज जाँचको ऐनले दाहिने औंठालाई मान्यता दिएको । साक्षी नभएको भन्ने हकमा कागज जाँचको २८ नं. ले भरपाईमा साक्षी नचाहिने । नासो धरौटको १० नं. ले लोग्ने जेल परेको अत्यास अवस्थामा लिखत नभए पनि उजुर लाग्ने । तौलतर्फ पनि विश्वास गरी सही गरी लिएको समेत हुनाले डिभिजन बेञ्चको फैसला कायम रहनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
११. विद्वान वकीलहरूको बहस र उपरोक्त मुद्दाको विवरणहरूबाट प्रस्तुत मुद्दामा वादीबाट पेश भएको ०१०।११।१७।१ को कागज समेतको विचार गरी वादीबाट प्रतिवादीले नासो धरौट जिम्मा लिएको हो होइन ? भन्ने कुराको निर्णय गर्नुपर्ने देखियो ।
१२. सर्वप्रथम प्रतिवादीले नासो जिम्मा लिई वादीलाई गरी दिएको भनेको ०१०।११।१७।१ को कागज प्रतिवादीलाई देखाउँदा जि.कृष्णप्रसादको हस्ताले लेखेको भन्ने वादी । निज गाउँको जिम्मावाल भएबाट तिरो बुझी अर्धकट्टीमा रैतीमा सहीछाप गराई लिने चलन हुँदा झुक्यानबाट गराई लिएको होला भन्ने प्रतिवादी जिकिर हुनाले त्यसतर्फ विचार गर्दा, कागज जाँचको २० नं. को ऐनमा “अक्षर नजान्नेको र लेख्न जान्नेको पनि यसै महलको २०(ग) रजिष्ट्रेशनको २३ नं.का समेत ऐनले औंठाको ल्याप्चे सहीछाप गर्नु गराउनुपर्ने कागजमा ल्याप्चे सहीछाप गर्दा दाहिने हातका बुढी औंठाको दायाँ बायाँ दुवै हातमा बुढी औठाको सहीछाप गर्नुपर्ने ...रीतपूर्वक सहीछाप नपरेको कागजबाट तपसीलमा लेखिएको बाहेक नालेस उजुर लाग्न सक्दैन भन्ने लेखिएको ऐजन २०(ग) मा नासो धरौट बुझी लिएको कागज दायाँ बायाँ दुवै हातका बुढी औठाको सहीछाप हुनुपर्ने भन्ने उल्लेख भएको । प्रस्तुत लिखतमा उक्त ऐनबमोजिम रीतपुर्याई ल्याप्चे सहीछाप गराई लिएको नदेखिएको र सो लिखत लेखी दिने भनी वादीले भनेको र साक्षीसमेत राखेको जि.कृष्णप्रसाद समन म्यादमा हाजिर हुन नआएको र वादी आफैंले पनि आफ्नो प्रमाण निमित्त अड्डामा उपस्थित गराउन नसकेको । नासो धरौट लिएको कागजमा साक्षी राखेको पनि नदेखिएकोले त्यस्तो कानूनको रीत नपुगेको र अरु कुराबाट समर्थन हुन नआएको लिखतलाई मान्यता दिन मिलेन ।
१३. अब नासो धरौटको १० नं.मा अतास परेमा लुकाउनको खातिर नासो राखेकोमा लिखत नभए पनि साक्षी गवाही मात्र भए पनि सुनी मामिला फैसला गर्नु भन्ने उल्लेख भएकोले वादीले साक्षी गवाहीबाट प्रमाण गराउन सकेको छ छैन भनी विचार गर्दा, फिरादपत्रमा २ जना साक्षी राखेकोमा निजहरूलाई माथि लेखिएबमोजिम वादीले अड्डामा ल्याई आफ्नो दावीलाई पुष्ट्याँई गराउन नसकेकी र अड्डाबाट तामेल भएको समनको म्यादसमेत निजहरूले गुजारी बसेकोले त्यसतर्फबाट पनि वादीको दावी समर्थन हुन नसकेकोले वादीतर्फका विद्वान वकीलको बहस जिकिर मनासिव देखिएन । छलफलमा वादीलाई झिकाउने गरेको ०१८।१०।१६।२ को डिभिजन बेञ्चको राय र दावी पुग्न नसक्ने ठहराएको शुरु का.प. अदालतको इन्साफ मनासिव ठहर्छ । सदर जिल्ला अदालत पहिलाको र डिभिजन बेञ्चबाट भएको फैसला उल्टी ठहर्न आएकोले तपसीलबमोजिम गर्नु ।
तपसील
वादी दिपकुमारी उपाध्यायनीकै निजलाई शुरु काभ्रेपलान्चोक अदालत ०१४।१।१२।४ का फैसलाले ने.रु. १२९।१५ दण्ड गर्ने गरेको सदर जिल्ला अदालत पहिला फाँटका ०१६।१२।२९ का फैसलाले नलाग्ने भनी फिर्ता दिने गरेकोमा हाल माथि लेखिएबमोजिम ठहरी लाग्ने भएकाले फिर्ता दिने गरेको जिल्ला अदालतको लगत काटी शुरु फैसलाबमोजिमको लगत कायम गर्नु भनी पुर्जी गर्न तहसिलमा लगत दिनु ................... १
ऐ.ऐ.के शुरु उपर अपील गरे वापत शुरु दण्ड ने.रु. १२९। को हा.क.का १० नं.ले दशौंद ने.रु. १२।९२ दण्ड हुन्छ । वारेस हुँदा ऐनबमोजिम असुल गर्न तहसीलमा लगत दिनु ....................२
प्र.कृष्णप्रसादलाई शुरु का.प.अ.का फैसलाले गर्ने गरेको दण्डको लगत सदर अपील पहिला फाँट र डिभिजन बेञ्च वा लगत कट्टा नगरी काम भईरहेको देखिएकोले केही गर्नु परेन .......................३
कपीलमुनी पाध्याको सदर काठमाडौ जिल्ला अदालत पहिला फाँटको ०१६।१२।२९।२ का फैसलाले गर्ने गरेको दण्ड ने.रु. २६३।३० र सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।२।२४ का फैसला र ०१९।३।२० का लगतले गर्ने गरेको दण्ड ने.रु. २६३।६३ समेत जम्मा ने.रु. २८९।६३ नलाग्ने हुँदा असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी तहसीलमा लगत दिनु ....................४
सदर जिल्ला अदालत पहिलाका ०१६।१२।२९।२ का फैसलाले गर्ने गरेको देहायको कलमको लगत काटी दिनु भनी तहसीलमा ऐ.ऐ. .......................... ५
प्रतिवादी कपीलमुनी पाध्याबाट भराई दिने गरेको बिगो ने.रु. १७२२। को लगत काटी दिनु भनी का.प. लाई पुर्जी गर्ने कलम १, देहायका मानिसलाई झुट्टा बकेमा गर्ने गरेको जरिवानाको कलम २, का.प.ई. अर्नेकोट बस्ने गिरीबहादुर खत्री के रु. १, ऐ. ऐ. बस्ने गुरुप्रसाद पाध्या सापकोटा के ऐ.१, ऐ. ऐ. बस्ने विद्यापति पाध्या के रु. १, गल्ती इन्साफ गरेमा भनी का.प.अ.का देहायका मानिसलाई देहायबमोजिम गर्ने गरेको जरिवाना कलम ३, डि. शंकरमान अमात्य के ने.रु. ।६०, बि. चक्रध्वज शाही के ४०,
मिसिल नियमबमोजिम बुझाई दिनु ........................ ६
इति सम्वत् २०१९ साल चैत्र २ गते रोज ६ शुभम् ।