निर्णय नं. १९६ - अंश

निर्णय नं. १९६ ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह
माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
माननीय न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
दे.फु.नं. २४१
निवेदीका, प्रतिवादी : टिकादेवी थपेनी
विरुद्ध
विपक्षी, वादी : पवित्राकुमारी थपेनी क्षेत्रीनी
मुद्दा : अंश
(१) २०००।७।१ देखि अघिकोमा मानु छुट्टिएको मिति कस्तो प्रमाणबाट कायम गर्नुपर्ने ?
सम्वत् २०००।७।१ देखि उप्रान्तलाई मानु छुट्टिएको र जोरिएकोमा लिखत भई रजिष्ट्रेशन पास गर्नु पर्ने । सो नभए सदर हुँदैन । २०००।७।१ देखि अघिकोलाई मानु छुट्टि भिन्न बसेको कागज पास गराए पनि बदर हुँदैन भन्ने रजिष्ट्रेशनको ३क. नं. मा उल्लेख भएको हुँदा २०००।७।१ देखि पछिको हकमा प्रष्टै कानूनी व्यवस्था भईराखेको हुनाले त्यसतर्फ केही विचार गरिरहन परेन । २०००।७।१ देखि अगाडिको हकमा कस्तो प्रमाणलाई पक्का मान्नु पर्ने हो ? भन्नेतर्फ विचार गरेमा, कागज पास नगराए पनि बदर हुँदैन भन्ने उक्त रजिष्ट्रेशनको ३क. मा उल्लेख भएको, सो रजिष्ट्रेशन ३क. दफा लागू हुनुभन्दा अगाडि मानु छुट्टिएको मितिको कागज हुनैपर्छ भन्ने बाध्यता तत्काल प्रचलित कानूनमा भएको नदेखिएकोले कागज भएकोमा पास नगराए पनि बदर नहुने संकेतसम्म गरेको देखिने हुनाले मानु छुट्टिएको देखिने भएको वा दुवै पक्षको मुख मिलेकोमा सोहीबमोजिम मुख पनि नमिलेको लिखत पनि नभएकोमा भोग दर्ता तिरो समेतका अरु पक्का प्रमाणका आधारमा मानु छुट्टिएको मिति कायम गर्ने माथि लेखिएबमोजिम कुनै पनि पक्का सबुद आउन नसकेमा फिराद दायर भएको अघिल्ला दिनलाई मानु छुट्टिएको मिति कायम गर्न मनासिव देखिन्छ ।
(प्रकरण नं. १७)
फैसला
१. यसमा सर्वोच्च अदालत फुल बेञ्चबाट ०१९।३।१।६ मा किनारा गरेको उपर निवेदकले श्री ५ महाराजाधिराजका हजुरमा मुद्दा दोहर्याई पाउँ भनी दिएको निवेदनमा दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आई दायर भएकोबाट दुबै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दा हेर्दा,
२. मेरो ससुरा चन्द्रबहादुरका २ छोरामा जेठो प्र. लोग्ने खड्गबहादुर कान्छा मेरो लोग्ने टेकबहादुर सगोल बसी रहेमा ससुरा पनि सगोल भई परलोक भएका । साल मितिको सम्झना भएन अन्दाजी ७–८ बर्ष जति भयो मेरो लोग्ने टेकबहादुर परलोक भएका र प्र. को लोग्ने खड्गबहादुर पनि अहिले ३।४ बर्ष भयो परलोक भए तापनि जेठानी प्रतिवादी र मसमेत सगोलमा रहे बसेकोमा ०१३।२।१६ गतेका दिन बिहान देखि प्र.ले कलझगडा गरी सो दिन बेलुकादेखि मलाई खान लाउन र अंशसमेत नदिएकोले हामीहरूले मानु छुट्टिएको मिति ०१३।२।१६ गतेसम्मको सगोल अबण्डाको घर खेत जग्गा जमिन गैह्रको प्र. बाट तायदाती लिई मेरो अंश भाग आधी दिलाई पाउँ भन्नेसमेत व्यहोरा ०१३।५।१६ को पवित्राकुमारीको फिराद ।
३. वादीसँग ०१३।२।१६ गते मानु छुट्टिएको होइन । वादीलाई अंश दिनुपर्ने पनि होइन । ससुरा छँदै ८२।८।१५ गते घरको चलअचल श्रीसम्पत्ति बण्डा गरी लिई दिई ससुरा वादीको लोग्नेसँग बसेका । मेरा लोग्ने छुट्टै बसी आफ्नो कमाइ खाइ ब्यहोरी आएकोमा ससुरा चन्द्रबहादुरले सगोलकै अवस्था ७६।४।१३ गतेमा भिमबहादुरसँग मो.रु. १२०। कर्जा लिई सो रुपैयाँमा चोबु खेत माटो मुरी ।७।७ के जग्गा भोगबन्धकी दिएकोमा ८३ सालमा ससुरा परलोक भएपछि मेरो लोग्ने काजकृया गरी भिमबहादुरको तमसुकी रु. १२०। भिमबहादुरको छोरा मानबहादुरलाई ८५।१।१७ गते मेरा लोग्नेले बुझाई दरपीठ गराई लिई भोग तिरो गरी आएको । मेरा लोग्नेको अंश भागको जग्गा लोग्नेकै नाउँमा र वादीका लोग्नेका अंश भागको जग्गा निजैका नाउँमा ल.पु. मालमा मोही दर्ता गराई भोग चलन तिरो भरो गरी आएकोमा वादीका लोग्ने टेकबहादुरले ९८।१२।१६ मा शिवध्वजलाई मोरु. २०५। निजका हक भोगको मौजे विशंखुको माटो मुरी ।५ को जग्गा राजिनामा पास गरी दिएको । ०२ सालमा वादीको लोग्ने परलोक हुँदा मेरा लोग्नेले काजकृया गर्नु भएको । मेरा लोग्ने ८ साल माघमा परलोक भएपछि पनि वादी मसँग सगोलमा बसेको नभई साविकबमोजिम भिन्ना–भिन्नै बसी आएको । सगोलै भए वादीको नाउँमा र मेरो लोग्नेका नाउँमा भिन्ना–भिन्नै दर्ता हुनु नपर्नेमा पछि आर्जेको जग्गा बण्डा गरी खान पाइएला कि भनी नालिस गरेको हो । बण्डापत्र नभएपनि हिसाबशान्ति दुवै थरीले भोग चलन तिरो भरो दर्ता गरी खाई आएको हुँदा ऐनले लिखत भएको सरह हुने भएकोले दोहरो अंश दिन कर लाग्न पर्ने होइन । वादीबाट फुर्सद पाउँ भन्नेसमेत व्यहोराको ०१३।७।५ को टिकादेवी थपेनी क्षेत्रीको प्रतिवादी ।
४. वादीले प्र. बाट पाउने नपाउने के रहेछ ? भन्नालाई यो यस परिबन्दसँग अघि अंश भई वादीका यो यति जग्गा घर बण्डामा परी सो यस परिबन्दबाट भोग गरी आएको भनी प्र. ले सबुद प्रमाण गुजार्न नसकेको बुझिएको । वादीको साक्षीका बकाईबाट ८४।८५ साल तिर के हो भिन्न बसी आएको भनी बकी दिएको । वादीले अंश बुझेको सबुद नआएको । अंशियार वादी प्रतिवादी २ जना मात्र देखिएकोले ८४ साल चैत्र मसान्त तकको दुवै थरबाट तायदाती लिई बण्डा छुट्याई दिनुपर्ने देखिएकोले दुबै थरीलाई तायदाती तोक्दा बण्डा गर्नुपर्ने मसँग केही छैन भनी वादीले र प्रतिवादीबाट मो.रु. १५२।१० बिगोको तायदाती आएकोले त्यस मध्ये आधी मो.रु. ७६।५ बिगो जाने जग्गा वादीले अंश पाउने ठहर्छ भन्नेसमेत ०१५।१।२९ को ल.पु. अदालतको फैसला ।
५. ८२।८।१५ गते छुटेको भन्ने प्रतिवादीले सबुद केही पेश गर्न नसकेकी । ससुरा ८३ सालमा परलोक भएको भन्ने प्र. को दावीलाई ९६।९।२२ गते ससुरा परलोक हुँदा मेरो लोग्ने मैना ५।४८ नं. सि. मा र प्र. को लोग्ने गो.ना. ५ पट्टि सिपाहीमा जागिरे भएकोले दुवै कृया बक्साएको श्रेस्ता जं.हा.गो. मा खडै भएकोले पहिले छुटेको भन्ने झुट्टा देखिएको र प्र. को लोग्ने बिरामी भएको । प्र. सुत्केरी भएको टायम मलाई रिक्षबहादुरसँग ५।१२।३०।२ मा रु. ४१ कर्जा लिन पठाउँदा खड्गबहादुरका नाउँमा दर्ता भएको जग्गा मैले भोगबन्धकी लेखी दिंदा प्र. को लोग्ने ऋणीको एकाघर बस्ने भनी साक्षीमा सहीछाप गरी राखेको तमसुक खडै भएको कुरा हाल थाहा भएको । सो तमसुक हाल मसँग छ । त्यसबाट एकाघरको देखिएकोले कुनै जग्गा मेरो लोग्नेको नाउँमा र कुनै जग्गा प्र. का लोग्नेको नाउँमा दर्ता भएको रहेछ भनी देखिनेमा पहिले मानु छुट्टिएको ठहराई गरेको फैसलामा चित्त बुझेन भन्नेसमेत वादी पवित्राकुमारीको अपील ।
६. ८४ सालदेखि मानु छुट्टिएको शुरुले ठहराएकोमा ८२ सालदेखि भिन्न भएको भन्ने प्र. को जिकिर भएको र ०१३ सालमा खान लाउन अंशसमेत नदिएको भन्ने वादीको जिकिर भएको वादी प्रतिवादीले लेख्न नसकेको । ८३।८४।८५ सालदेखि भिन्न भएको भन्ने कुलबहादुर समेतको बकाई झुट्टा भन्नुपर्ने । ७।८ बर्षदेखि मात्र भिन्न बसेको भन्ने रिक्षबहादुरले बकी लेखिदिएको र ससुरा चन्द्रबहादुर वादीको लोग्नेसँग बसेको भन्ने प्र. ले लेखेको । ससुराको बन्धकी तिर्नुपर्ने अवस्था नदेखिएको । सो बन्धकी निखनेको जग्गा समेत वादीले अंश पाउने ठहराई शुरुले फैसला गरेकोमा प्र. ले चित्त बुझाई बसेकोबाट पनि वादी प्रतिवादीको अंश भईनसकेको भन्ने देखिन आएकोले समेत ८२ सालदेखि भिन्न बसेको भन्ने प्रतिवादीको जिकिर झुट्टा ठहर्छ । अंशबण्डा भएको र मानु छुट्टिएको रजिष्ट्रेशनका ३क. अंशबण्डाका ४९ नं.बमोजिम बण्डापत्रको सबुदसमेत नहुँदा ०१३।१।१६ गतेका दिन भन्दा अघिको चलअचल ऋण धन प्र. ले वादीलाई ऐनबमोजिम अंश दिनुपर्ने ठहर्छ । सो ठहर्नाले लेखिएबमोजिम अर्को तायदाती लिनुपर्ने भएकाले ऐन सवालको रीतपुर्याइ दुवै थरीलाई झिकाई अंश गरी दिनु भनी अपील अवस्था नाघेपछि शुरुमा पठाई दिने भन्नेसमेत ०१५।७।१२ अपील दोश्राको फैसला ।
७. वादीको साक्षीले नै ८४।८५ सालमा छुट्टी बेगल बसेको भनी बकी दिएको । निखनेको जग्गाको वादीले आधा थैली बुझाएमा आधा जग्गा वादीले पाउने भनी मैले तायदाती दिएको छँदै सो जग्गा वादीलाई दिलाउने गरेकोमा प्र. को उजुर नपरेको भन्ने बुँदा लगाउन नहुने । ०१३।२।१६ गतेमा छुट्टिएको भन्ने सबुद केही पेश गर्न नसकेकोमा भएको फैसलामा चित्त बुझेन । शुरुको फैसला कायम गरी पाउँ भन्ने प्र. टिकादेवीको अपील ।
८. अंश नभएकोले अब अंशबण्डा गराई दिने भनी शुरु इलाका अदालतले फैसला गरे उपर प्रतिवादीको अपील नपरी चित्त बुझाएको देखिएकोले त्यसतर्फ निर्णय दिनुपर्ने देखिएन । दुबै थरको मुख नमिली निर्णय दिनु परेको मानु छुट्टिएको मिति कायम गरी दिनु पर्नेतर्फ ०१३।२।१६ गते निकाला गरेको भन्ने वादी । ८२।१५ गते अंश नै छुट्टिएको भन्ने प्रतिवादी भएको । वादीकै साक्षी कुलबहादुरले ८४।८५ सालमा भिन्न बसेको भनेको । रिक्षबहादुरले ७।८ बर्ष जति भयो बेगल खाने गरी आएका हुन् भनेको समेत भई ती साक्षीको बकाईबाट वादीको कुरा कायम हुन नआई अघि नै बेगल भएको देखिएको र जग्गा दर्ता पनि बेगल बेगल देखिएको समेतबाट ०१३।२।१६ गते मात्र निकाला गरेको भन्न मिल्दैन । ८४ साल चैत्र मसान्तमा मानु छुट्टिएको मिति कायम गरी ल.पु. अदालतले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने ०१८।९।११ को स.अ. डिभिजन बेञ्चको फैसला ।
९. म ऋणी भई प्र. का लोग्नेका नाउँ दर्ताको चोंबु खेत मोरु ४१। मा ०५।१२।३० मा रिक्षबहादुरलाई बन्धक दिंदा प्र. को लोग्ने ऋणीको एकाघरको जेठाज्यू भनी साक्षी बसेको फट्टा मसँग खडै भएकोले सो लिखत हा.का. ८ नं., अ.बं. २२१ नं. का ऐनबमोजिम सद्दे किर्ते सुनाई मात्र मुद्दा किनारा गरी दिनुपर्ने । जग्गा दर्ता गराउँदा एकै जनाको नाउँमा मात्र गर्नुपर्छ भन्ने कुनै ऐन सवाल पनि नभएकोले ज–जसका नाउँमा दर्ता गराए पनि हुने । बेगल–बेगल दर्ताको नाताले पहिले छुट्टिएको भनी ठहराउन नहुने हुनाले फैसलामा चित्त बुझेन । रिभ्यू गरी पाउँ भन्नेसमेत वादी पवित्राकुमारीको निवेदनपत्र ।
१०. ०१५ सालमा निवेदकले रिक्षबहादुरसँग कर्जा लिंदा पवित्राको जेठाज्यू खड्गबहादुर साक्षी बस्दा एकाघरको जेठाज्यू भनी लेखिएको मिसिल साथ पेश भएको देखिएको र जग्गा जमिनको तिरो तिरेको रसीदहरूमा मोही खड्गबहादुर हस्तेबारी टेकबहादुर भनी लेखिएको धेरै बर्षका रसीदहरू यिनै निवेदकसँग देखिएको । ९६ सालमा निवेदकको ससुरा परलोक हुँदा निजको लोग्ने, जेठाज्यूहरू जागिरे हुँदा बाबुको कृया गर्न कृया बिदा बक्साएको श्रेस्ता बुझी पाउँ भनी ०१६ साल भाद्र महिनामा हुलाकद्वारा निवेदन दिएको छ भनी रोहवरमा निवेदन गरेकोले पुनः इन्साफ गरी दिनुपर्ने देखिन्छ । दोहर्याउने निस्सा दिएको छ । लगत दर्ता गरी दुवै थर राखी लेखिएको प्रमाणहरू बुझी फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत ०१८।१०।१७ को श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
११. वादी प्रतिवादीका लोग्नेले ९७।५।२२ मा बाबु चन्द्रबहादुरलाई ईक्षापत्र गरी दिएको कुरा वादीबाट दाखिल गरेको ईक्षापत्रबाट देखिएकाले ९७ सालसम्म चन्द्रबहादुर जीवितै भएकोमा ३८ सालमा परलोक भएको भन्ने प्रतिवादीको जिकिर झुट्टा सावित हुन आएको र सो समयसम्म बाबुसमेत सगोलै रहेछ भन्ने देखिन आउने भई ८४।८५ सालमा छुट्टिएको भन्ने वादीको साक्षीको बकपत्र विश्वासलायक देखिएन । ९७ सालपछि पनि प्रतिवादीका लोग्नेका नाउँको जग्गाको तिरो भरो मसमेत वादी र वादीका लोग्ने समेतले तिरी आएको दाखिल भएका रसीदबाट देखिएकाले ९७ सालपछि पनि सगोलै रहेछ भन्ने सिद्ध हुनआयो ।
१२. वादी दावाबमोजिम ०१२।२।१६ गते मात्र मानु छुट्टिएको भनी वादीको दावी भएकोले सो मिति कायम हुन्छ कि भन्नालाई १० सालमा नयाँ घर बनाई प्रतिवादी बसेको भनी वादी पक्षको निवेदनमा लेखिएको र ०१३।२।१६ गते मानु छुट्टिएको सबुद वादीले दिन नसकेकोले १३ सालमा मानु छुट्टिएको भन्ने दावा मनासिव भन्न मिलेन । वादीको साक्षी रिक्षबहादुरले ७।८ बर्ष भयो बेगलै बसी खाने गरेको भनी बकसपत्र गरेको । त्यस उपर कसैको उजुर नपरेबाट सो कुरा विश्वासलायक हुन आएकोले निजले बकपत्र गरेको मिति १४ साल भाद्रबाट ७ बर्ष अगाडि ०७ साल भाद्र पर्ने भएकाले ०७।५।१ गते मानु छुट्टिएको ठहर्छ । ०७ साल श्रावण मसान्तसम्मको दुवै पक्षबाट तायदाती लिई बण्डा छुट्याई दिनु भनी मिसिल इलाका अदालतमा पठाई दिनु भन्नेसमेत बेञ्चबाट भएको २०१९।३।१।६ को फैसला ।
१३. फुल बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याई पाउँ भनी प्रतिवादी टिकाकुमारी थपेनी क्षेत्रीनीले दिनुभएको बिन्तिपत्रका व्यहोरा जाहेर हुँदा दोहर्याई ऐन सवालबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी ०१९।९।१२।५ मा मन्त्री अनिरुद्रप्रसाद सिंहबाट लेखिआएको ।
१४. टिकाकुमारीले मुद्दा दोहर्याई पाउँ भनी चढाएको तो.नं. ५७७ को निवेदनमा दोहर्याई ऐन सवालबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मन्त्री श्री अनिरुद्रप्रसाद सिंहबाट ०१९।९।१२।५ मा लेखिआएको व्यहोरासमेत पेश हुन आएको यसमा बक्स भईआएका हुकुम प्रमांगीबमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।९।१९।५ को आदेश ।
१५. निवेदक, प्रतिवादी ल.पु. दमाईटार बस्ने टिकाकुमारी थपेनीको र ऐ. बस्ने पवित्राकुमारीको अंश मुद्दा फुल बेञ्चमा पेश भई आज ०१९ साल चैत्र ५ गते निर्णय सुनाउने तारेख तोकिएकोमा प्रस्तुत मुद्दामा माननीय न्यायाधीश श्री मीनबहादुरज्यूले पहिले नै राय व्यक्त गरी सक्नुभएको देखिनाले अर्को बेञ्च कायम गरी मुद्दा हेर्नुपर्ने र यसमा ऐनबमोजिम मानु छुट्टिएको मिति कायम गर्न कस्तो प्रमाणबाट कार्य गर्नुपर्ने हो ? भन्ने कुरामा धेरै अदालतहरूको मतभेद देखिएको हुनाले एउटा खँदिलो सिद्धान्त कायम गर्नुपर्ने भएको र यस्तै प्रश्न समावेश भएको गणपति मिश्रको र भगौता मिश्रनीको जग्गा दर्ता बाहाली मुद्दा डिभिजन बेञ्चबाट छिनेकोमा दोहरिने निस्सा दिँदा यही सिद्धान्त कायम गर्नुपर्ने देखिइ दोहरिने निस्सा भई फुल बेञ्चमा पेश गर्नु भन्ने ०१९।१२।४।१ मा आदेश भएकोले सो मुद्दा साथै यो मुद्दा पनि एकैसाथ पेश गरी निर्णय गर्नुपर्ने हुनाले आज निर्णय सुनाउने भनी तारिख तोकिएको भए पनि स्थगीत राखी दुवै मुद्दा एकैसाथ पेश गर्नु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।१२।५।२ को आदेश ।
१६. वादीले ०१३ सालमा र प्रतिवादीले ८२ सालमा मानु छुट्टिएको भनी भनेकोमा दुवै मिति कायम नभई ०७ साल भाद्रको मिति फुल बेञ्चबाट कायम गरेको । यसको कुनै आधार छैन । वादीको साक्षी कुलबहादुरले ८४।८५ साल भनेको छ । सो भनाइले ८२ साल नजिक पर्छ । वादीका साक्षी ६ जनामध्ये अदालतमा आउने २ साक्षीहरूले पनि ०१३ साल नमानी त्यसमध्ये कुलबहादुरले माथि लेखिएबमोजिम ८४।८५ साल र रिक्षबहादुरले ७।८ बर्ष अघि देखि छुट्टिएको भनी भनेको छ । ०१३ सालमा मानु छुट्टिएको मिति कायम गर्न कुनै प्रमाण छैन । ०९८ सालमा वादीको लोग्नेले जग्गा बिक्री गरी सकेको र वादी प्रतिवादीका लोग्नेहरूका नाउँमा छुट्टाछुट्टै दर्ता भैसकेको । ०५ सालमा रिक्षबहादुरसँग वादीले कर्जा लिँदा प्रतिवादीको लोग्ने खड्गबहादुर साक्षी बसेको भनेको तमसुक घरायसी कागज भएको । शुरु वादीमा प्रमाणै नदिएको र सगोलमा भए जेठाजु खड्गबहादुर कारणी नभई साक्षी बस्नु र बुहारी वादी कारणी हुन नसक्ने । पहिले नलेखिएको प्रमाण बुझिने हो भने खड्गबहादुरको जग्गाको साँध भनी वादीका लोग्नेले साहुलाई जग्गा लेखी दिएको तमसुक हामीसँग छ भनी प्रतिवादीतर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले र ०१२ सालसम्म खड्गबहादुरको दर्ताको जग्गा मेरो पक्षले तिरो तिर्दै आएकोबाट सगोलमै छन । ०५ मा साल रिक्षबहादुर थापालाई मेरो पक्षले गरिदिएको कागजमा एकाघरको जेठाजु भन्ने लेखी प्रतिवादीका लोग्ने खड्गबहादुर साक्षी बस्नुभएको छ । ९६ सालसम्म जीवित भएको चन्द्रबहादुरलाई ८३ सालमा मरेको भनी भन्न सक्ने प्रतिवादीको कुरालाई कतिसम्म मान्यता हुन्छ ? २००७ सालमा कुन आधारमा मानु छुट्टिएको मिति कायम हुन आयो ? भन्ने कुरालाई रिक्षबहादुर थापाले ७।८ बर्ष अघि छुट्टि भिन्न भएको भनी बकेको छ । तसर्थ, ८४ सालमा मानु छुट्टिएको मिति कायम गर्न मिल्ने होइन भन्ने वादीतर्फबाट रहनुभएको विद्वान प्लिडर मिन मर्दनले बहस गर्नुभयो ।
१७. सर्वप्रथम यसमा ऐनबमोजिम मानु छुट्टिएको मिति कस्तो प्रमाणबाट कायम गर्नुपर्ने हो ? भन्ने कुरामा धेरै अदालतहरूको मतभेद देखिएको हुनाले एउटा खँदिलो सिद्धान्त कायम गर्नुपर्ने भएको भन्ने प्रश्नतर्फ विचार गर्दा, सम्वत् २०००।७।१ देखि उप्रान्तलाई मानु छुट्टिएको र जोरिएकोमा लिखत भई रजिष्ट्रेशन पास गर्नुपर्ने सो नभए सदर हुंदैन । २०००।७।१ देखि अघिकोलाई मानु छुट्टि भिन्न बसेको कागज नगराए पनि बदर हुँदैन भन्ने रजिष्ट्रेशनको ३क नं. मा उल्लेख भएको हुँदा २०००।७।१ देखि पछिको हकमा प्रष्टै कानूनी व्यवस्था भई राखेकै हुनाले त्यसतर्फ केही विचार गरी रहन परेन । २०००।७।१ देखि अगाडिको हकमा कस्तो प्रमाणलाई पक्का मान्नुपर्ने हो ? भन्नेतर्फ विचार गरेमा कागज पास नगराए पनि बदर हुँदैन भन्ने उक्त रजिष्ट्रेशनको ३क. मा उल्लेख भएको । सो रजिष्ट्रेशनको ३क. दफा लागू हुनुभन्दा अगाडि मानु छुट्टिएको मितिको कागज हेर्नुपर्छ भन्ने बाध्यता तत्काल प्रचलित कानूनमा भएको नदेखिएकाले कागज भएकोमा पास नगराए पनि बदर नहुने संकेतसम्म गरेको देखिने हुनाले मानु छुट्टिएको देखिने लिखत भएको वा दुवै पक्षको मुख मिलेकोमा सोहीबमोजिम मुख पनि नमिलेको लिखत पनि नभएकोमा भोग दर्ता तिरो समेतको अरु पक्का प्रमाणका आधारमा मानु छुट्टिएको मिति कायम गर्न माथि लेखिएबमोजिम कुनै पनि पक्का सबुद आउन नसकेमा फिराद दायर भएको अघिल्लो दिनलाई मानु छट्टीएको मिति कायम गर्न मनासिव देखिन्छ ।
१८. ०१३।२।१६ गते खान नदिई निकालेकोले अंश पाउँ भन्ने वादी र ८२ सालमा नै अंशबण्डा भई भिन्न भएको हुँदा अंश दिननपर्ने भन्ने प्रतिवादी भएको प्रस्तुत मुद्दा शुरुमा ल.पु.इ.अ. बाट ठहराए उपर प्रतिवादीले अपील गर्न नसकेबाट अंशबण्डा गर्ने कुरामा मञ्जुर भएको देखिनाले अंश पाउने नपाउने के हो ? भन्नेतर्फ विचार गर्नु नपरी मानु छुट्टिएको मिति कायम गरेको बारेमासम्म अपील गर्दै आएकोले यसमा ८४ साल ०१३ साल या हाल फुल बेञ्चबाट कायम गरेको ०७ सालमध्ये कुन चाहीं साल मितिलाई मानु छुट्टिएको मिति कायम गर्ने ? भन्ने कुराको निर्णय गर्नुपर्ने देखियो ।
१९. ०१३ सालमा खान नदिई निकाले भन्ने वादीको भनाईमा वादी पवित्रातर्फबाट पेश हुन आएको ०१२ सालसम्म तिरो तिरेको रसीद हेर्दा, सालको धान ३।११।।७ तिरो लागेको चोबु १।३० मध्ये भन्ने एक कित्ता जग्गा मोही खड्गबहादुरको हस्ते वादीतर्फ जनिएको साल सालमा रसीदबाट देखिएको । ललितपुर मालबाट आएको दर्ता उतार टेकबहादुर थापाका नाउँमा नं. ५६० को कित्ता ९२ सालमा री.नं. ३१२ को कित्ता ९५ सालमा र खड्गबहादुरका नाउँमा नं.२६९ को कित्ता ९५ सालमा नं. ६२२ को कित्ता टिकाकुमारीका नाउँमा ०१० सालमा दर्ता भएको देखिएको ९५ देखि वादी प्रतिवादीले जग्गा आ–आफ्ना नाउँमा दर्ता गराएको मिसिल सामेल रहेको दर्ता उतारबाट देखियो । १० सालमा घर बनाई छुट्टै बसेको भन्ने वादीले नै निवेदनमा लेखेको र वादीका साक्षी ६ मध्ये अदालतमा उपस्थित भई बकपत्र गर्ने कुलबहादुर, रिक्षबहादुर थापाले पनि ०१३ सालमा मानु छुट्टिएको हो भनी नभनेकाले समेत मानु छुट्टिएको मिति ०१३ साल भन्दा अघि नै रहेछ भन्ने कुरा सिद्ध हुनआयो । वादीको साक्षी रीक्षबहादुर थापाले ७।८ बर्ष अघि देखि वादी प्रतिवादी छुट्टि भिन्न बसेको हुन भनी बकेकोले ०७ साललाई मानु छुट्टिएको मिति कायम गर्नुपर्ने हो कि भन्नलाई यिनै वादी प्रतिवादीहरूले धेरै अघि ९५ सालदेखि जग्गाहरू आफ्नो–आफ्नो नाउँमा दर्ता गरी बीचबीचमा किन बेच समेत गर्दै आएको देखिएको र रजिष्ट्रेशनको ३(क) नं. का ऐनले २००० साल कार्तिक १ गते भन्दापछि मानु छुट्टिदा “रजिष्ट्रेशन पास गराई राख्ने गर्नुपर्छ । लेखिएबमोजिम नगरेको भए मानु छुट्टिएको मानु जोरी खेती उपत्ति आफ्नो गरी बसेको कुरा सदर हुन सक्त्तैन” भन्ने उल्लेख भएकोले ०७ साललाई मानु छुट्टिएको मिति कायम गरेको कानूनसङ्गत नदेखिने । वादी प्रतिवादीको भनाई मिति नमिलेको । ऐनको रीत पुगी पास भएको लिखित पनि नगराएको । यस्तो अवस्थामा ०७ साललाई मानु छुट्टिएको मिति कायम गर्न मिल्ने देखिएन । ०१९।३।१।६ को फुल बेञ्चको लेखाई अनुसार ९७ सालसम्म जिवित रहेको व्यक्ति चन्द्रबहादुरलाई ८३ सालमा मरेको भन्ने प्रतिवादी टिकाकुमारी भएको । ८४ सालमा छुट्टिएको भन्ने वादीको साक्षीको कुरालाई कुनै महत्व दिन मिल्दैन भनी ८४ साललाई मानु छुट्टिएको मिति कायम नगरेको देखिन्छ । ९७ सालसम्म जिवितै रहेको भनेको कुराका हकमा ९६ सालमा बाबु मरेको भनी दुवै छोराले कृया बिदा लिएको भन्ने वादी जिकिर भएको । ९७ सालमा चन्द्रबहादुरलाई उक्त इच्छापत्र गरिदिएको वादीको भनाई पनि नमिलेकोमा पनि चन्द्रबहादुर ८३ सालमा वा ९६ साल जुन सालमा परलोक भएको भए पनि बेगल वा सगोल बसेको मिति छुट्याउन चन्द्रबहादुर जीवित रहेको नरहेको कुरासँग केही सम्बन्ध नराख्ने हुनाले त्यत्तिकै कुरा फरक परेबाट ८४ सालमा मानु छुट्टिएको मिति कायम हुने भनी भन्न मिल्दैन । अपीलपत्रमा वादीले लेखेको ०५ सालमा रिक्षबहादुरसँग कर्जा लिंदा सगोलको भनी खड्गबहादुर साक्षी बसेको भनेको तमसुक अड्डाखानामा रहेको सदर पक्का प्रमाण हो भन्न नसकेकोबाट अदालती बन्दोबस्तका २२१ नं. हाकिमका नाउँमा कराउनेका ८ नं.ले प्रमाणमा लिन नमिल्ने हुनाले समेत वादीले लेखेको ०१३ साल जेष्ठ १६ गते र फुल बेञ्चबाट निर्णय भएको ०७ साल भाद्र १ गतेलाई मानु छुट्टिएको मिति कायम गर्न मिल्ने देखिएन । वादीको साक्षी कुलबहादुरले ८४।८५ सालतिर भनेको प्रतिवादीका साक्षी कमलबहादुरले ८२।८३ सालतिर के हो भनी र गुञ्जमानले ८४।८५ सालतिर भनी बकेको देखिएकोले समेत ८४ साल चैत्र मसान्ततकको तायदाती लिई बण्डा छुट्याइ दिने ठहराई ललितपुर अदालतले छिनको सदर गरी ०१८।९।११ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको मनासिव छ । ०१९।३।१ मा सर्वोच्च अदालत फुल बेञ्चबाट भएका फैसलाबमोजिम गर्नुपर्दैन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
०१९।३।१।६ को फुल बेञ्चको फैसलाले ०१८।९।११।२ मा डिभिजन बेञ्चबाट भएको फैसलाबमोजिको लगत नदिने गरेकोमा हाल माथि लेखिएबमोजिम ठहरेकाले उक्त डिभिजन बेञ्चको फैसलाबमोजिमको लगत दिनु ....................१
ऐन सवाल फैसलाबमोजिम गर्न मिसिल शुरु ललितपुर इलाका अदालतमा पठाई दिनु ...................... २
श्री माननीय प्रधान न्यायाधीशज्यूको राय
यस मानु छुट्टिएको मिति कायम गर्ने सम्बन्धमा माथिउल्लेख भएको सिद्धान्त मनासिवै देखिन्छ । सो अनुसार प्रतिवादी जिकिरबमोजिम अघि नै भिन्न भई मानु छुट्टिएको भन्ने विश्वासप्रद प्रमाणित पक्का सबुद नदेखिएकाले फिराद दायर भएको अघिल्ला दिनका मिति कायम गर्नुपर्ने हो कि भन्न ०१९।३। को फुलबन्चले प्रमाणबाट देखिएको ०७ साल भाद्र ..... गतेलाई न्यायिक दृष्टिकोणले कायम गरी राय व्यक्त भैसकेको हुँदा यसमा अरु राय दिन मिलेन ।
इति सम्वत् २०२० साल जेष्ठ १४ गते रोज ३ शुभम् ।