शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६९३ - अंश

भाग: २८ साल: २०४३ महिना: श्रावण अंक:

निर्णय नं. २६९३     ने.का.प. २०४३ अङ्क -४

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४२ सालको दे.पु.नम्बर ४९७

फैसला भएको मिति : ०४३।३।२३।२ मा

 

पुनरावेदक/प्रतिवादी : अभिटाव गा.पं.वडा नं.७ इन खेरिया बस्ने अब्दूल मजिद शेख सैरुनिस्साको मु.स.गर्ने वर्ष ४१ को अकरम हुमेन शेष

विरुद्ध

विपक्षी/वादी : जि.कपिलवस्तु विजुवा गा.पं.वार्ड नं. ५ बस्ने अब्दुल सलिम उर्फनोट शेषसमेत

 

मुद्दा : अंश

 

(१)         हक लाग्ने भए राजीनामाहरूमा हाम्रो पनि हक लाग्ने भनी उजूर गरी बदर गराउन सक्नु पर्ने ।

(प्रकरण नं. १०)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षी/वादीतर्फबाट   : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह

 

फैसला

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव :     प्रस्तुत मुद्दा प.क्षे.अ.बाट मिति ०४२।३।४ मा निर्णय भएकोमा प्रतिवादीको चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी निवेदन पर्न आई पुनरावेदन गर्ने अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२. यस मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । शेष नजिरको जेठो कारनी अब्दुल मजिदा, माइलो अब्दुल नइम साइलो महम्मद सरिफ उर्फ भिज्ज कान्छो म अब्दुल सलिम उर्फ शेष समेत ४ छोरा भएको अब्दूल नइम तथा महमद सरिफ समेत ४ अंशियार हौं । हामी सबको अंशबण्डा भएको छैन । पैतृक सगोलको आर्जन जेथाबाट कारणी सैरन्नाको नाउँमा जग्गा खरीद भएको निजैको नाउँमा दर्ता राखी सगोलमै भोग भएको अंश छुट्याई दिनुहोस् भनी २०३४ साल चैत्र मसान्तमा भन्दा अंश दिन्न भनेकोले नालेश गरेका छौं । फाँटवारीलाई ४ भाग कायम गरी एक भाग अंश कारणीहरूबाट दिलाई पाएँ भन्ने समेत दावी ।

३. शेष नजीरको जेठो छोरा अब्दुल मजिद, माहिला अब्दुल नइम, साहिला मोहमद सरिफ उर्फ झिन्कन, अब्दुल उर्फ नौट समेत ४ दाजु भाइ भएको अब्दुल नइमको स्वास्नी वादी अलि मुन्निसा भएको, अब्दूल नइमको छोरा कुर्वानी अलि हुनाशेष नाजिर र अब्दुल नइमको समेत मृत्यु भएको अब्दुल मजिदको स्वास्नी सैरु निसा हुँ । वादी अलि मुन्निसाको लोग्ने अब्दुल नइम, वादी अब्दूल सलिम उर्फ नौटशेष र मोहमद सरिफ उर्फ झिन्कन, अब्दुल मजिद शेष समेतको बाबु ससुरा शेष नाजीरको समेत चित्त नमिली २००७ सालमा खानु मानु छुट्याई भिन्न बसेको उस बखत नेपालमा केही नभएको भारततर्फ मात्र भएको जुन अंश भाग बण्डा दिइसकेको, भारतको घर जग्गा बाबु ससुरा शेष नाजिरको जीवनकालसम्म उहाँ जिम्मा थियो मानो छुट्टि सकेपछि म अब्दुल मजिदले भारतको घर जग्गा निजी आर्जनले कमाई गरेको हो । अब्दुल नइम तथा वादी अब्दुल सलिम र मोहमद सरिफ उर्फ झिन्कन समेतले पनि भातरमा निजी आर्जनबाट छुट्टै जग्गा आर्जन गरेको निजहरूकै नाउँमा दर्ता छ, केही बिक्री गरेका छन् मानो छुट्टिएपछि सैरुन्नाले आफ्नो माइत कपिलवस्तु विजुवा मान खोरिया बसी दाइजो पेवाको धन र निजी आर्जन समेतबाट मानखोरिया मध्य तघारी भोगे रामपावर मध्य, हरनामपुर मध्य शिवानगर मध्य, शिवपुर मध्य समेत जग्गा जमीन २००९।३।२७ मा खरीद गरी खेती गरेको स्वास्नीको मायाले म अब्दुल मजिद पनि मन खोरियामा बसेको । यस नेपालको सम्पत्ति म सैरुन्नीको पेवाको र निजी आर्जनको स्त्री अंशधनको ४।५ नं. र अंशबण्डाको १८ नं. ले समेत आफुखुस गर्न पाउने बण्डा गर्नुपर्ने होइन अब्दुल नइमको छोरा कुर्वान अलिको र मुहम्मद सरिफ उर्फ नौट शेषको कुनै दावी नभएको प्रमाणको सक्कल कागज हेर्न सुन्न पाए अ.बं.७७।७८ नं. बमोजिम कारवाही गराई माग्ने छौं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४. वादी वा.महमद मुसल्मिले पेश गरेको दिनाड्ढ २३६८ को यो करारनामा देखें सुनें भारतको नियम अनुसार अमान्य कीर्ते जालसाजी हो, रजिष्ट्रेशन हुनुपर्ने सो छैन । अब्दुल नइमको उर्दुमा सही भएको छ । अब्दूल नइम र अब्दुल मजिदले उर्दुमा सहिछाप गर्दैनन् । अरु के कस्को सहिछाप हो म बताउन सक्दिन को को भई कहाँ बसी जालसाजी बनाए खुलाउन सक्दिन भन्ने समेत प्र.वा.अकरम हुसेनको बयान ।

५. सक्कल करारनामा जालसाजी होइनन, सत्य  हुन भारत नौगट तहसिलबाट प्रमाणित छ । रजिष्ट्रेशन भएको छ । अब्दुल नइम र अब्दुल मजिद उर्दुमात्र पढेकाले उर्दुको सहिछाप उनीहरूको हो, सद्दे साँचो छ भन्ने समेत वादी वा महमद मुसलिम शेषको बयान ।

६. सैरुन्निसाको एकलौटी सम्पत्तिलाई सगोलको भनी दावी गरिएको वादी दावी पुग्न सक्ने देखिएन अतः वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु कपिलवस्तु जिल्ला अदालतको मिति ०३७।२।२० को फैसला ।

७. उक्त शुरु फैसलामा चित्त बुझेन भन्ने समेत अब्दुल सलिम उर्फ नौट शेष समेतको लु.अं.अ.मा परेको पुनरावेदनपत्र । दुवैपक्ष नेपाल कानुन बमोजिम अंशबण्डा भइसकेको र विवादीत जग्गा दाइजो पेवाबाट खरीद गरेको प्रमाण प्राप्त हुन नआएकोले सैरुन्नाको नामबाट खरीद गरिंदैमा निजको एकलौटी हक ठहर्‍याई गरेको शुरुको इन्साफ मिलेन वादीको अंश हक हुने ठहर्छ भन्ने समेत व्यहोराको लु.अं.अ.को मिति ०३८।७।१८ को फैसला ।

८. लु.अं.अ.को इन्साफमा चित्त बुझेन, भनी पर्न आएको पुनरावेदनमा प.क्षे.अ.बाट मिति २०४०।१०।५ मा अनुमति प्रदान भएको । वादी प्रतिवादीको पुस्तेवारीमा र अंशियार हुन भन्ने कुरामा विवाद देखिँदैन । सगोलमै छौं भन्ने वादी र २००७ सालमा खानु मानु छुट्ट्ईि बेगल बेगल बसी भारतमा समेत आआफ्नो नाममा सम्पत्ति छ भन्ने प्रतिवादीको भनाई देखिन्छ । २००७ सालमा खानुमानु छुट्टिएको भन्ने सबूद प्रमाण बेगर उक्त मिति कायम गर्न मिलेन । यस स्थितिमा फिराद परेको अघिल्लो मिति नै मानो छुट्टिएको मिति कायम हुने ठहर्छ । प्रतिवादी सैरुन्ना शेषाइनको नाउँमा मिति २००९।३।२७ मा खरीद भएको जग्गा निजको जिकिर बमोजिम बण्डा हुने नहुने सम्बन्धमा हेर्दा ००९।३।२७ को लिखतमा प्र.सैरुन्ना शेषाइनको दाइजो पेवा र निजी आर्जनको घरबाट उक्त जग्गा खरीद गरेको भन्ने कुरा कतै उल्लेख भएको पाइँदैन । यसरी अन्यथा प्रमाणित नभएसम्म एकासगोलका अंशियारहरू मध्ये जो सुकैका नाउँको सम्पत्ति सगोलको सम्पत्ति मान्नु पर्ने भयो । तसर्थ उक्त २००९।३।२० मा किनेको जग्गा सैरुवा शेषाइनको आफू खुसी गर्न पाउने भन्ने पुनरावेदन तर्फको जिकिरसँग सहमत हुन सकिएन । तसर्थ यस अदालतमा दाखिल भएको तायदातीमा उल्लिखित श्रीसम्पत्तिको ४ भागको १, १ भाग अंश वादीहरूले पाउने ठहर गरेको लुम्बिनी अं.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को मिति ०४२।३।४ को फैसला ।

९. उक्त प.क्षे.अ.को फैसलामा चित्त बुझेन पुनरावेदन गर्न अनुमति पाउँ भनी प्रतिवादीको मिति ०४२।४।२९ मा यस अदालतमा परेको निवेदन वादी मध्येकी अलिमुन्नीसाले भारतकै नौगढ जिल्ला ग्रामपिठनी बुर्जुगको मजिष्ट्रेट समक्ष बयान गर्दा वादी प्रतिवादी छुट्टि भिन्न बसेको भारतको घरमा आफ्नो मात्र हक भएको र प्रतिवादी अब्दुल मजिद नेपाल ग्राम मनखोरियाको निवासी हो भनी उल्लेख गरेको देखिन्छ । यस्तो अवस्थामा उक्त लिखत समेतलाई प्रमाणमा नलिई प्रतिवादीबाट वादीले अंश पाउने ठहर्‍याएको प.क्षे.अ.को निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएकोले अनुमति प्रदान गरिएको भन्ने व्यहोराको मिति ०४२।५।१२ को आदेश ।

१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको र विपक्षी वादीतर्फबाट उपस्थित हुनुभएका वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंहको बहस समेत सुनियो । यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतले वादीहरूलाई अंश दिलाउने गरेको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा इन्साफ दिनुपर्ने भई मिसिल अध्ययन गरी हेर्दा विवादको सम्पत्ति सैरुन्नासाको नाममा खरीद गरी र निजकै नाममा रहेकोमा  विवाद छैन । अब यो सम्पत्ति वादी समेतले अंश पाउन सक्ने सगोलको सम्पत्ति हो या सैरुन्निसाको निजी आर्जनको भन्ने विषयमा हेर्दा सैरुन्निसाको नाउँमा २००९ सालमा राजीनामा रजिष्ट्रेशन गराई खरीद गरेको सम्पत्ति मध्ये सैरुन्निसाले मिति ०२१।११।२ मा महमद सिद्धिम शेषलाई र ०२६।३।१२ मा बरसाती नटुवालाई र ०२६।३।१२ मा नसिवदार नाउँ र ०२६।३।१२ मा महेसन तुवारी र ०३२।२।२४ मा उत्तम लोहार समेत गरी राजीनामा गरी दिई बिक्री गरेको देखिन्छ । यसरी पटक पटकमा बिक्री गर्दा राजीनामा लिखतमा अरु कसैको हक नलाग्ने मेरो हक भोगको भन्ने व्यहोरा जनिएको पाइन्छ । यी वादीहरूको हक लाग्ने भए उक्त राजीनामाहरूमा हाम्रो पनि हक लाग्ने भनी उजूर गरी बदर गराउन सक्नु पर्ने सो केही गरेको नदेखिएकोले समेत प्रतिवादीहरूलाई वादीबाट अंश दिलाउने गरेको लुम्बिनी अञ्चल अदालतको इन्साफ सदर गरेको प.क्षे.अ.को फैसला उल्टी हुने र वादी दावी नपुग्ने समेत ठहर्छ । सो ठहर्नाले तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ.को इन्साफ उल्टी हुँदा यस अदालतमा पुनरावेदक प्रतिवादी अकरम हुसेन शेषको वा.ले पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१३६।५० सदर स्याहा भएको देखिँदा पु.प्र.ले ऐनका म्यादभित्र वादी अब्दुल सलिम उर्फ नार्टकोषबाट भराई पाउँ भनी वादीको जेथा देखाई निवेदन दिएमा वादीबाट प्रतिवादीलाई भराई दिनु भनी शुरु कपिलवस्तु जि.अ.मा पठाई दिनु भनी का.जि.अ.त.मा लगत दिनु......१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ.को इन्साफ उल्टी हुने हुँदा पु.प्र. ले क्षे.अ.मा पुनरावेदन गर्दा कोर्टफी रु.११८।५० राखेको रु.प्रतिवादीले ऐनका म्यादभित्र भरी पाउँ भनी निवेदन दिएमा वादीबाट प्रतिवादीलाई भराई दिनु भनी शुरु जि.अ.मा लेखी पठाउनु का.जि.अ.त.मा लगत दिनु ..२

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ.को इन्साफ उल्टी हुने हुँदा शुरु कोर्टफि रु.७९२ र लु.अं.मा लागेको कोर्टफी रु.११८।८० समेत गरी जम्मा ९१०।८० मिति ०४०।१०।२० मा धरौट रहेको देखिँदा सो फिर्ता दिनु भनी प.क्षे.अ.ल.न. शाखामा लगत दिने गरेकोमा सो फिर्ता दिनु परेन फिर्ता दिइसकेको भए कानुन बमोजिम वादीबाट असूल गर्नु भनी लगत कस्नु शुरु.जि.अ.मा लेखी पठाउन प.क्षे.अ.ल.न. शाखामा लगत दिनु...३

प्रत्यर्थी वादी अब्दुल सलीम उर्फ नाटेशेष समेत के क्षेत्रीय अदालतले ठहर खण्डमा लेखिए बमोजिम त्यस अदालतमा दाखेल भएको र तायदातीमा उल्लिखित देहायको श्री सम्पत्तिको ४ भागको १ एक एक भाग छुट्याई पाउँ भनी दर्खास्त परे बण्डा छुट्याइँदा लाग्ने दस्तुर लिई आमा श्रेस्ना शेखाइनले ००९।३।२७ मा राजीनामा रजिष्ट्रेशन पारीत गराई लिएको प्रतिउत्तर साथ पेश भएको राजीनामा दर्ता बहाली बमोजिम आमाकै नाउँमा दर्ता भएको हाल सर्भे नापीको जग्गा विगहा १४१२१२ प्रचलित मोल बिगो रु.३२१७५।भनी लेखिएको चल अचल बण्डा छुट्याई दिनु भनी शुरु कपिलवस्तु जिल्ला अदालतमा लेखी पठउनु भनी प.क्षे.अ.ले लेखी पठाएको तपसील खण्डमा उल्लेख भएको लगतमा यस अदालतबाट वादीले प्रतिवादीबाट अंश नपाउने ठहर भएको चल अचल बण्डा छुट्याउनु नपर्ने हुँदा सो लगत कायम राख्‍न नपरेको हुँदा उक्त लगत कट्टा गरी दिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु....४    

ऐ.ऐ.बमोजिम प.क्षे.अ.को इन्साफ उल्टी हुँदा माननीय मुख्य न्यायाधीश श्री प्रचण्डराज अनिल र मा.न्या.श्री मोहनप्रसाद शर्माको उल्टी रिकर्ड राख्‍न प्रशासन शाखामा जानकारी दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४३ साल आषाढ २३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु