शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६९५ - अंश

भाग: २८ साल: २०४३ महिना: श्रावण अंक:



निर्णय नं. २६९५     ने.का.प. २०४३ अङ्क -४

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४१ सालको दे.पु. नं. ५३६

फैसला भएको मिति : २०४३।४।६ मा

 

पुनरावेदक/वादी : काभ्रेपलान्चोक जिल्ला खोपासी गा.पं.वार्ड नं.३ बस्ने तेजप्रसाद भारती

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ख्याकु बस्ने चेतनाथ भारती

 

मुद्दा : अंश

 

(१)         यस अदालतमा उपस्थित हुन आएका विवादको विषयमा यसै अदालतबाट तहकिकात गरी निर्णय गर्दा निर्णयबाट विपरीत असर पर्ने पक्षले एकपटक पनि पुनरावेदन तहबाट विचार भई इन्साफ पाउने मौलिक हकबाट समेत बञ्चित हुन जाने भएकोले सो गर्नु न्यायोचित देखिन नआएको विवादको विषय यसै अदालतबाट इन्साफ दिन नमिल्ने ।

(प्रकरण नं. १७)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गान र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् ।

२. बाजे शिवप्रसादका ३ श्रीमती जेठी बजेका गर्भबाट जन्मेका २ छोरा मध्ये जेठा मेरा बाबा हरिलाल जीवितै रहेको र माहिला उसै बखत परलोक हुनुभएका थियो । माहिला र कान्छी बजैको गर्भबाट ७ वटा सन्तान जन्मी मेरा बाबु समेत गरी आठ अंशियारहरू कायम रहेकोमा काका यादवप्रसाद २०२६ साल भन्दा अगावै परलोक भई सक्नु भएको थियो । २००३ सालमा म ३ वर्षको नाबालख हुँदा आमा परलोक हुनुभएका र बाबा २००५ सालमा भारततर्फ जानु भएकोले घरमा मेरो पालन पोषण हेरचाह समेत नगरेकोले मामा निलकण्ठ गिरीले मलाई आफ्नो घरमा लगि पालन पोषण विवाह व्रतबन्ध समेत गरी दिनु भएको थियो । बाबु  भारतबाट नफर्केको र चिठीपत्र समेत नपठाएकोले मरे बाँचेको कुनै खबर हुन सकेन । २०२५ सालमा बाजे शिवप्रसादको समेत निधन भएपछि विपक्षीहरूले आफ्नो आफ्नो अंशबण्डा गरी मेरो बाबुको अंश नै नलगाएकोले मेरो बाबुको अंश कहाँ छ देखाई दिनुहोस् भन्दा तिम्रो बाबु हरिलालले बेहोर्नु पर्ने कृया खर्च वेहोर अनि अंश दिन्छौं, २०२५ साल फाल्गुण १ गते रु.११००।कृया खर्च समेत काका चेतनाथ भारतीको हातमा दिए । मेरो अंश भाग छुट्याई दिनुहोस् भन्दा तैले अंश पाउँदैनस् जे गर्छस् गर भनी २०२५।११।२ गतेका दिन भनेकाले उक्त २०२५।११।२ भन्दा अघिल्ला दिनसम्मको चल अचल सम्पत्तिको तायदाती लिई घर व्यवहार चलाउने काका चेतनाथ भारती लगायत ७ अंशियारबाट ८ अंश लगाई मेरा बाबु हरिलालको अंश १ भाग छुट्याई पाउँ भन्ने फिरादपत्र ।

३. हामीहरूको परस्परमा कुरा नमिलेकोले हामीहरूको पिता शिवप्रसादबाट विपक्षीका पिता हरिलालले २००१ सालमा आफ्नो भाग अंश लिई भिन्न हुनुभएका थियो । विपक्षीका बाबुको अंश विपक्षीले भोग चलन गर्दै आइरहनु भएको छ । वादीका पिता हरिप्रसाद भन्ने हरिलालले आफ्नो भागको अंश मध्येको रैकर खेत माटो मुरी ।२।१०। को जग्गाहरू रु.९९।५० मा ००५।१२।२४ मा खोपासी बस्ने हर्ककुमार श्रेष्ठलाई राजीनामा गरी दिनु भएको छ । विपक्षी स्वयंले अंशका जग्गा मध्येकै घरबारी जग्गा २०३१ सालमा बिक्री गरेको छ । जुन हालसम्म कालु सिंहले नै भोगी आएको छ । भूमिसम्बन्धी ऐन नियम बमोजिम विपक्षीले आफ्नो नाउँमा फाराम भरेको छ र जोताहाको अस्थायी निस्सा समेत विपक्षीले पाइसकेको छ । यसरी विपक्षीको बाबुले अंश नपाएको भए विपक्षी र निजका बाबुले त्यसरी राजीनामा गर्ने कुरै आउँदैनथ्यो । विपक्षीको पिताले अंश लिइसकेको हुँदा अंश दिनुपर्ने होइन भन्ने चेतनाथ समेत जना ४ को प्रतिउत्तरपत्र ।

४. प्र.चेतनाथ समेतले दिएको प्रमाण लिखत सनाखत गराउने आदेश हुँदा सक्कल लिखत खोला तर्दा बगायो भनी दाखिल गर्न नसकेको र अंशबण्डाको लिखत पनि प्रतिवादी संग छैन भनी कागज गरेको देखिँदा र वादीका नाउँमा दर्ता श्रेस्ता माग्दा कि.नं.१७०, २२६ र २४२ को जग्गा वादी तेजप्रसादको नाउँमा दर्ता भएको का.प. मालबाट देखिन नआउनुका साथै पहिले नै अंश भएको भन्ने सबूद प्रतिवादीले पुर्‍याउन नसकेकोले फाँटवारी बमोजिम बिगो रु.८९३७।को चल अचल सम्पत्तिमा आठ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने शुरु का.प.जि.अ.को फैसला

५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत चेतनाथ भारतीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६. ७ जना प्रतिवादी उपर फिराद परेकोमा अरु अंशियारले अंशबण्डा गरी दिने गरेको फैसलामा चित्त बुझाई बसी १ जना यो पुनरावेदकले मात्र पुनरावेदन गरेको र छुट्टिएको भए भागमा परेको यो यो जग्गा तिरो तिरेको रसीद समेत प्रतिवादी पुनरावेदकले पेश गर्नुपर्नेमा सो भए गरेको नदेखिएकोले समेत इन्साफ शुरु का.प.जि.अ.को मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

७. उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा क्षेत्रीय अदालतबाट अनुमति दिइएको रहेछ ।

८. भूमिसुधार लागू हुँदा वादीले आफ्नो तर्फबाट जग्गा धनीको हैसियतले छुट्टै ७ नं. फाराम भरेको मिसिल संलग्न रहेको उक्त फारामको प्रतिलिपिबाट देखिएको २०२६।१।१४।३ मा चित्रकुमारीले निज छोरी युक्तकुमारीलाई गरी दिएको रु.६००।को पारीत राजीनामाको लिखतमा भिन्न भई बसेको नाति तेजप्रसाद भनी अन्तरसाक्षी बसेको मिसिल संलग्न राजीनामाको प्रतिलिपिबाट देखिन्छ । मौजे वनस्थली गाउँ पञ्चायत अन्तर्गतको साविक तालुक मागी राम शर्मा जिम्माको  भन्ने उल्लेख भई वादी तेजप्रसादको नाउँमा ११ नं. खोरियाबारी ।।।५ दर्ता भएको लगत उतारबाट देखिएको वादीले आफ्नो घरबारी समेत जनाई भोग गरी रहेको जोताहा अस्थायी निस्सा प्राप्त गरेको प्रतिलिपिबाट देखिन आयो । अंशबण्डाको लिखत नभए पनि प्रमाणहरूबाट वादीले आफ्नो अंश पाई दर्ता भोग गरेको समेत देखिन आयो । अतः व्यवहार प्रमाणबाट वादीले अंश पाइसकेको देखिनाले अंशबण्डाको ३० नं. अनुसार वादीले अंश पाउँने ठहर्दैन । अंश दिलाउने गरी शुरुले गरेको इन्साफलाई मनासिब ठहराई बागमती अञ्चल अदालतले गरेको फैसला त्रुटिपूर्ण देखिँदा बदर हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।६।२५।२ को फैसला ।

९. उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको यस अदालतमा परेको निवेदनमा प्रतिवादीबाट पेश भएको २०२६।१।१४।३ को राजीनामा लिखत अ.बं. ७८ नं. बमोजिम वादीलाई देखाई सुनाई बयान गराउनु पर्नेमा सो बमोजिम नगरी वादीले अंश नपाउने गरी गरेको म.क्षे.अ.को फैसलामा अ.बं.७८ नं.को त्रुटि गरेको देखिन आएकोले पुनरावेदनको अनुमति दिएको रहेछ ।

१०. प्रतिवादीले प्रमाण स्वरुप दिएको साहु युक्तकुमारी असामी चित्रकुमारी अन्तरसाक्षीमा तेजप्रसाद भारतीको सहिछाप भएको मिति २०२६।२।१४।३ मा मालपोत कार्यालय काठमाडौंबाट रजिष्ट्रेशन पास भएको सक्कल राजीनामा मालपोत कार्यालय काठमाडौंबाट मगाई आएपछि मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम वादीको बयान गराउनको लागि पेश गर्नु भन्ने यस अदालत डिभिजनबेञ्चबाट मिति २०४२।३।४।३ को आदेश ।

११. यस अदालत डिभिजनबेञ्चको मिति २०४२।३।४।३ को आदेश बमोजिम विवादको मिति २०२६।१।१४।३ को राजीनामा मालपोत कार्यालय काठमाडौंबाट आज पेशीको दिन इजलाशमा दाखिल गर्नु भन्ने यस अदालतको पत्रानुसार इजलाशको समयमा दाखिल गर्न नल्याएकोले प्रस्तुत मुद्दा दुई वर्ष पुरानो हुन लागेको र उक्त लिखत सम्बन्धमा उक्त कार्यालयको धेरै पटक लेखापढी समेत भइसकेको देखिन आएकोले छोटो तारेख तोकी उक्त तारेखका दिन उक्त लिखत विहान दश बजे नै इजलाश समक्ष दाखिल गर्न ल्याउनु भनी र नल्याएमा कानुन बमोजिम कारवाही हुने छ भनी उक्त मालपोत कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत डिभिजनबेञ्चको मिति २०४२।१०।२१।२ को आदेश ।

१२. चित्रकुमारी भारतीले युक्तकुमारी गिरीलाई गरी दिएको मिति २०२६।२।१४ गतेको राजीनामा लिखतको साक्षीमा मेरो नाम रहे भएको कुरा सक्कलै लिखत हेर्दा देखें । उक्त लिखत साक्षी म बसेको होइन छैन, कसले के परिबन्धबाट उक्त लिखत खडा गरी साक्षीमा मेरो नाम राखी ल्याप्चे सहिछाप गरेको हो म भन्न सक्तिन । उक्त लिखतमा लागेको ल्याप्चे सहिछाप मेरो होइन । जालसाजी गरी उक्त सहिछाप गरे गराएको हुन । जालसाजीमा सजायँ समेत गरिपाउँ भन्ने वादी तेजप्रसाद भारतीले यस अदालतमा गरेको बयान ।

१३. वादी तेजप्रसाद भारती र प्रतिवादी म चेतनाथ भएको अंश मुद्दामा प्रमाण लगाएको चित्रकुमारीले युक्तकुमारी गिरीलाई दिएको मिति २०२६।२।१४ को राजीनामाको सम्बन्धमा वादी तेजप्रसादले जालसाजी गरी गराएको हो, म साक्षी बसेको छैन होइन भन्ने समेत व्यहोराको बयान सुने । उक्त लिखत जालसाजीबाट खडा गरेको नभई सद्दे साँचो व्यहोराको हो जालसाजी भनेमा निजलाई सजायँ गरिपाउँ भन्ने प्रतिवादी चेतनाथ भारतीले यस अदालतमा मिति २०४२।११।२१।३ मा गरेको बयान ।

१४. विवादको २०२६।२।१४ को राजीनामामा बस्ने फट्ने साक्षीहरूलाई बयान गराउन उपस्थित  गराउने र उक्त लिखत जालसाजीबाट खडा गरेको हो होइन सोको निराकरण गर्न उक्त लिखत मा.का.काठमाडौंबाट झिकाई लेखा रेखा तथा विशेषज्ञद्वारा परीक्षण गराउने भन्ने यस अदालत डिभिजनबेञ्चको मिति २०४२।१२।१४।५ को आदेश ।

१५. पुनरावेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना तथा राधेश्याम अधिकारी क्षेत्रीय अदालतले गरेको फैसला कानुन अनुकूल नहुँदा उक्त फैसला बदर हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधरले क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै कानुनी त्रुटि नहुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१६. प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतले गरेको फैसला मनासिब या बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।

१७. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन बेञ्च समक्ष पेश हुँदा क्षेत्रीय अदालतबाट फैसला हुँदा आधार लिएको २०२६।२।१४ को राजीनामा अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाएर मात्र ठहर गर्नुपर्नेमा सो बमोजिम नगरी गरेको फैसला त्रुटिपूर्ण भएको भन्ने आधारमा पुनरावेदनको अनुमति प्राप्त भई प्रस्तुत मुद्दा पेश भई सो सुनाउनु पर्ने भन्ने २०२६।२।१४ को राजीनामा वादीलाई सुनाउँदा सो लिखत राजीनामाको अन्तरसाक्षी तेजप्रसाद भारतीको नाममा लागेको ल्याप्चे मेरो होइन । जालसाजी गरी गरे गराएका हुन् जालसाजी गरेमा सजायँ गरिपाउँ भनी र प्रतिवादीले सो बयान समेत सुनी बयान गर्दा जालसाजीबाट खडा गरेको होइन । सद्दे हो भनी बयान गरेकोबाट वादी प्रतिवादीको बीच मुख नमिली मुद्दाबाट निर्णय हुनुपर्ने विषय देखिन आयो । सो विवादको विषयमा यसै अदालतबाट विवादको सहिछाप जँचाउने आदेश समेत भएकोबाट विवादको विषयमा यस अदालतबाटै जो गर्नुपर्ने तहकिकात गरी निर्णय गर्नेतर्फ कारवाही भएको देखिन आउँछ । तर यस अदालतमा उपस्थित हुन आएका विवादको विषयमा यसै अदालतबाट तहकिकात गरी निर्णय गर्दा निर्णयबाट विपरीत असर पर्ने पक्षले एकपटक पनि पुनरावेदन तहबाट विचार भई इन्साफ पाउने मौलिक हकबाट समेत बञ्चित हुन जाने भएकोले सो गर्नु न्यायोचित देखिन नआएको विवादको विषयमा यसै अदालतबाट इन्साफ दिन मिलेन विवादको विषयमा के कुन अदालतबाट निर्णय गराउने हो भन्नेतर्फ विचार गर्दा प्रस्ततु मुद्दामा शुरु र अञ्चल अदालतबाट अंश पाउने ठहर्‍याई फैसला भएकोबाट उक्त सुनाइएका लिखतलाई उक्त अदालतहरूबाट प्रमाणमा नलिइएकोमा क्षेत्रीय अदालतबाट मात्र सो सुनाइएको लिखतको आधार लिई अंश नपाउने ठहर्‍याएको देखिन आएकोले विवादको विषयमा सोही अदालतबाट तहकिकात निर्णय गराउन मनासिब देखिनको साथै क्षेत्रीय अदालतबाट विवादको विषयमा निर्णय भएको अनुमतिको तहबाटै भए पनि एक तह पुनरावेदन गर्ने मौका पाउन सक्ने अवस्था रहन जाने हुन आउँछ । मुद्दा पनि पुरानो भएको र यो सबै दृष्टिकोणबाट विवादको कुरामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय गराउन उपयुक्त देखिएकोले प्रमाणमा लिएको कागज अ.बं.७८ नं. बमोजिम सुनाई जो बुझ्नु पर्ने बुझी कानुन बमोजिम निर्णय गर्नुपर्ने सो कारवाही गर्नु बेगर गरेको म.क्षे.अ.को फैसला बदर गरी दिएको छ । सक्कल लिखत सुनाई यस अदालतमा भएको बयानको आधारमा जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम गर्नु भनी हाजिर रहेका पक्ष विपक्षलाई तारेख तोकी शुरु तथा म.क्षे.अ.को रेकर्ड मिसिल र यस अदालतको मिसिल कागजातहरू मध्ये यस अदालतमा वादीले पुनरावेदन गर्ने अनुमति पाउँ भनी दिएको निवेदन र सो मा अनुमति प्रदान गर्ने गरी भएको आदेश यस अदालतको रेकर्डमा राखी सो बाहेक अरु  त्यसपछिको कारवाही सम्बन्धी कागजातहरू म.क्षे.अ.मा पठाई दिनु । नियम बमोजिम मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी वास्ताोल

 

इति सम्वत् २०४३ साल श्रावण ६ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु