शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९७ - जिउनी जग्गा

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. १९७            ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

दे.फु.नं. १९२

निवेदक, प्रतिवादी : डि. बलबहादुर कार्की क्षेत्री, डम्बरकुमारी कार्की क्षेत्रीनी

विरुद्ध

विपक्षी, वादी : देवीप्रसाद कार्की समेत

मुद्दा : जिउनी जग्गा

(१)   लोग्ने मरेपछि निजको सम्पत्तिमा निजको स्वास्नीको हक पुग्ने । पोइला गएमा पोइला गएको मितिबाट अपुतालीको २५ नं. को म्यादभित्र उजुर परे म्याद भित्रको मान्नुपर्ने ।

            पहल सिं मरेपछि निजको सम्पत्ति सत्यमा रहे बसेसम्म बेगल बस्ने वादी प्रतिवादीको हक नपुगी साथमा बस्ने स्वास्नी नन्दकुमारीको हक पुग्ने र निज १० सालमा पोइल गएपछि विधवा अंशधनको २ नं. ले हकवालाको हकमा आउने कुरा प्रष्ट छ । यस्तोमा यो यतिम्याद भित्र खोजी गर्नु भन्ने प्रष्ट कानूनी व्यवस्था पनि नदेखिएको र नन्दकुमारी पोइला गैसकेपछिको अवस्थाको विचार गर्दा, हुन त साधारणतया कुनै व्यक्ति मरेपछि मात्र अपुताली परेको भन्न पर्ने कानूनी व्यवस्था भएको, कुनै स्वास्नी मानिस आफ्नो पतितर्फको कुललाई छाडी अन्यत्र पोइला गई छ भने निज पोइला जाने स्वास्नी मानिस अघिल्लो पोइको कुलका निमित्त निजको जुन अस्तित्व थियो, सो सदाको लागि मेटिने हुँदा कानूनको तात्पर्यको लागि मरेकै सरह सम्झनु पर्ने हुनआउँछ । यस्तो अवस्थामा अपुतालीका म्याद भित्र खोजी गर्न आउने हकदारहरूलाई अपुताली खानबाट बञ्चित गर्न न्यायोचित देखिन्न । तसर्थ, नन्दकुमारी पोइल गयो भनेको मितिबाट अपुतालीको २५ नं. को म्याद ३ बर्ष भित्रै वादीहरूले खोजी गरी उजुर दिएको देखिनाले म्याद नाघेको भन्न मिलेन ।

(प्रकरण नं. १४)

(२)   शेषपछिको बकसपत्र दिने व्यक्ति पोइला गएमा बकसपत्र दिने जिवितै रहे पनि अघिल्लो कुलको लागि कानूनको तात्पर्यको लागि मरेकै सरह हुने हुँदा बकसपत्र सदरै हुने ।

            अब ३ सालमा सुवेदार पहलमान मरेपछि विधवा नन्दकुमारीले ०।५।७।५ मा निवेदक, प्रतिवादी डम्बरकुमारीलाई शेष पछिको बकसपत्र दिई १० साल मार्गमा निज पोइला गएकीले बकस सदर बदर के हुने हो ? भन्नेतर्फ विचार गर्दा, सो बकसपत्र उपर यिनै वादीमध्येको देवीप्रसादको उजुर पर्दा आखिर प्रधान न्यायालय सिंगलबेञ्चबाट चलमा आधी र अचलमा ३ खण्डको १ खण्ड मात्र आफूखुस गर्न पाउने हुनाले सोबमोजिम सदर ठहराई १९।९।१८।१ मा अन्तिम किनारा लागेको मिसिल सामेल रहेको फैसला नक्कलबाट देखिएको । दानदातव्यको ९ नं. मा उल्लिखित अवस्था पारी बकस दिएको पनि नदेखिएकाले फैसलाले कायम गरेको चलमा आधी र अचलमा ३ खण्डको १ खण्ड सदरै हुने । नन्दकुमारी पोइला गए पनि जिवितै हुनाले शेषपछि मात्र बकस पाउने डम्बरकुमारीको हक नहुने हो कि भन्न पनि माथि लेखिएबमोजिम अघिल्लो पतिको कुल छाडी पोइला गएपछि सो कुलका निमित्त मरेकै सम्झनु पर्ने भई निजको शेषपछि सरह नै हुन आएकोले कायम ठहरेको बकसपत्रबमोजिम निवेदक डम्बरकुमारीको हक हुने।

(प्रकरण नं. १६)

निवेदक तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी

फैसला

      १.     सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्‍याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,

      २.    खिकामाछा पैयापानीको पं. गङ्गाप्रसादका घर छेउमा जग्गा लिई घर बनाई नगद सुन र आसामीहरूको तमसुकसमेत रहेको बन्दी सेप र अरु धनमालसमेत जेथा महेन्द्रबहादुरले निजको आमाबाट बुझी लिई बसेको मौका बाबा केही बिरामी भएको र छोराहरू बस्ने ठाउँबाट बिरामीको हेरचाह नपुगकोले नजिक बलबहादुरको घरमा सर्दा कान्छी आमा पनि सर्नु परेकोबाट सेप आधा बलबहादुरकै घरमा सारिएकोमा थोरै दिनमै बाबुको चोला उठी कान्छी आमा उमेर नपुगेकी र छोरा छोरी पनि नभएकोले श्रीसम्पत्ति जिम्मा लिई धान्न नसक्ने भएबाट सारा श्रीसम्पत्ति जेठा बलबहादुरकै घर जिम्मा राखी शरणार्थीका रूपमा बसेको । बाबाका जिउनी जग्गाहरू स्वास्नीका नाउँमा बकसपत्र गराई धन आफ्नो गराई सकेपछि ०१० साल मार्ग महिनामा पोइल लगाई बाबाको जिउनी जग्गा हामी अंशियारले नपाउने पेच पुर्‍याईसकेकाले हामी बाहेक जेठी काइली रत्नबहादुर डम्बरबहादुरका छोरा जन्तरे दलबहादुरसमेत खडै हुनाले यिनीहरूले खोजे खान पाउने नखोजे हामी २ भाइ र बलबहादुरसमेत ३ भाइले ३ भाग पारी डम्बरकुमारीको बकसपत्रका हकमा देवीप्रसादले दिएका उजुरीबाट बदर भएकोले बकसबमोजिमको र अरुसमेत तपसीलको रु. ६४८९९ र जग्गा जमिनसमेत दिलाई पाउँ भन्नेसमेत देवीप्रसाद कार्की क्षेत्री समेतको फिराद ।

      ३.    ०३ साल लागेपछि बाबु बिरामी भई मेरा घर ल्याई बाहिरै दलानमा बस्दा बेथाले चाप्दै लाँदा अन्त्य अवस्था दान गर्दा रु. ५००। खर्च भएको र ०३ साल भाद्र ३१ गते स्वर्गीय हुँदा घरका धनले नपुगी जग्गा बिक्री गरेको । १९८५ सालमा छुट्टी भिन्न हुँदा बण्डापत्र पासमा बाबुको जिउनी आमाको पेवासँग बस्ने भाइले शेषपछि खानु भन्ने लेखिदिएको । त्यसमा यी वादी जुद्धवीर साक्षी बसेको छ । त्यस बण्डापत्रमा बाबुको पनि मञ्जुरी सही भएपछि जिउनीमा वादी भाइहरूको हक नपुग्ने बाबु र सौतेनी आमाबाट अरु धनमाल म जिम्मा दिएको छैन । भरपाई बेगर दिने चलन छैन । झुट्टा दावीबाट फुर्सत गराई पाउँ भन्नेसमेत व्यहोराको डि.बलबहादुर कार्की समेतको प्रतिवादी ।

      ४.    ८५ सालमा बलबहादुरसमेत छुट्टि भिन्न हुँदा बाबुको जिउनी पेवा जोसँग बस्यो, उसैले खानु भन्ने लेखिएको । बण्डापत्रमा वादी जुद्धवीर पनि साक्षी बसेको भन्ने प्रतिवादीको जिकिरबमोजिम पेश भएको बण्डापत्रमा साक्षी जुद्धवीर भन्ने पनि देखिएको र पहिला समरबहादुरसँग बसी त्यसपछि बेग्लै त्यसपछि जम्मै श्रीसम्पत्ति लिई बाबु बलबहादुरका घरमा गई बसेको भन्ने जम्मै श्रीसम्पत्ति बलबहादुरका जिम्मा दिई बसेको भन्ने वादी लेखबाट देखिएको र अपुतालीका ९ नं. मा साथमा लिई गए पनि पछि बस्ने छोराले खान पाउँछ भन्ने लेखिएको भएपछि सो अपुताली पछि बस्ने छोराले मात्र खान पाउने देखिँदा त्यस्तो ऐनले नपाउने अपुताली दिलाई पाउँ भन्ने उजुरी लिई कारवाई चलाएमा जरिवाना गरी यो उजुरी वादीरुपबाटै खारेज हुने ठहर्छ भन्ने शुरु भोजपुर अदातलको खारेजी फैसला ।

      ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी जुद्दवीर कार्की क्षेत्री समेतको अपील ।

      ६.    नगदी धनमाल बलबहादुरले लिए खाएको सबुद प्रमाण केही देखिन नआएको । नन्दकुमारी पोइला गैसकेको देखिंदा त्यसतर्फ शुरुले खारेज गरेको मनासिवै र अ. तर्फ ९० सालमा बाबु पहलमानसँग अंशबण्डा भई पहलमान र स्वास्नी नन्दीकुमारीलाई नगद सुन चाँदी जग्गा जमिन जिउनी राखेको सो जिउनी शेषपछि यो यसले खानु भनी लेखिएको नदेखिएको । महलमान मरेपछि स्वास्नी नन्दकुमारीले ०५ सालमा बुहारी डम्बरकुमारीलाई बकसपत्र लेखि दिएकोमा यही वादी देवीप्रसादले उजुर गर्दा ३ खण्डको १ खण्डसम्म दिएको सदर भई २ खण्ड बदर भएको । ०१२ साल पौष १८ गतेको प्रधान न्यायालय सिंगलबेञ्चको फैसलाबाट देखिएको । बाबु पहलमान र सानी आमासँग वादी प्रतिवादीहरू अंशबण्डा गरी छुट्टिसके पछि फेरी बाबु सानी आमासँग बलबहादुरले अंश मिसाई धन सम्पत्ति गोश्वरा राखी सँगै बसी आएको कुनै लिखत पक्का सबुद प्रमाण दिन नसकेको र नन्दकुमारीले डम्बरकुमारीलाई बकसपत्र दिँदा कसैले हेरविचार नगरेको भनी लेखेकोबाट पनि बलबहादुरसँग बसेको नदेखिने । अंश मिलाई बसी आएको भनी बलबहादुरको जिकिर पनि नदेखिई कृया गरेको प्रमाणसम्मबाट मेरो हक भएको भन्ने जिकिर भएको । पहलमान बिरामी भएपछि मात्र बलबहादुरका घरमा लगी वादीसमेत सबै छोराहरूले हेरविचार गरी आएको देखिएकोले समेत ९० सालमा जिउनीबमोजिमको जग्गा धनमाल सम्पत्ति प्र. बलबहादुर र वादी देवीप्रसाद, जुद्धवीरसमेत ३ जनाले बराबरका दरले पाउने ठर्हछ भन्नेसमेत धनकुटा अपीलको फैसला ।

      ७.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी देवीप्रसाद कार्की समेतको र प्रतिवादी डि. बलबहादुर समेतको अपील ।

      ८.    जिउनी धनमाल नगदी जग्गा जेथाहरू लिई वादी प्रतिवादी समेतका छारोहरूसँग सुवेदार पहलमान अलग बसेको र अलग भईसकेपछि वादी प्रतिवादीहरूको आमा सुवेदार पहलमान कार्कीको श्रीमतीले चोला बदली पहलमान कार्कीले नन्दकुमारीसँग विवाहको रीतपुर्‍याई लोग्ने स्वास्नी भई पहलमान र नन्दकुमारी अलग घरमा बसेको मिसिल प्रमाणहरूबाट देखिन गुज्रन आएको र वादी प्रतिवादी अपीलाटहरूको बाबु पहलमान कार्की क्षेत्री र सबै छोराहरूले आफ्नो आफ्नो अंशबण्डा लिई गैसकेपछि पनि धर्म कार्यमा खर्च गर्दै दान पुन्य इत्यादि गरेको प्रतिवादीहरूकै लेख जिकिरहरूबाट देखिन आएको । अलग घरमा बसेको नन्दकुमारी कच्चा उमेरको अरु औषधी उपचार हेरविचार गर्ने केही भएको मिसिलबाट नदेखिने । त्यस अवस्थामा भिन्नै भएको भए पनि बृद्ध अवस्थाको मानिस छोराको घरमा गई बस्नु स्वभाविकै कुरा भएको हुनाले बिरामी परी अवस्था बिग्रदै गएपछि मात्र डि.बलबहादुरको घरमा गई बसेको रहेछन भन्ने सिद्ध हुन आउने भई बलबहादुरसँग सगोल बसेको भन्न नमिल्ने र जिउनी छुट्याई बसेको बाबु कुनै छोरासँग सगोल नहुँदै चोला बदली पछि विवाहको रीतपुर्‍याई ल्याएको स्वास्नी नन्दकुमारी लोग्नेको सत्यमा नबसी पोइल गएको वादी प्रतिवादीको लेख जिकिरबाट देखिएपछि पछि पोइल गएकी नन्दकुमारीले लोग्नेको अन्त्य टायममा आई बसेको छोरा बलबहादुरको स्वास्नी डम्बरकुमारीलाई नन्दकुमारी पोइल नजाँदै भए पनि बकसपत्र लेखिदिएको सदर हुन्छ भन्न नभई वादी प्रतिवादीका बाबु पहलमान कार्कीको सम्पत्ति जिउनीमा निजका छोरा अंशियारहरमा अपुतालीका म्यादभित्र उजुर गर्नेले पाउँदैन भन्न नमिल्ने र वादीहरूको उजुरीबमोजिम नगदीतर्फमा मैले यति जिम्मा लिएको छु भन्ने बलबहादुरको कागज भएको मिसिलबाट नदेखिएको हुनाले बलबहादुरको जिम्मामा रहेछ भन्न नमिल्ने भई जग्गा जमिनमा म्याद भित्र उजुर गर्नेहरूले पाउँदैन भन्न नमिल्ने हुनालेसमेत इन्साफ धनकुटा अपीलको मनासिव छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०१८।१२।१७ को फैसला ।

      ९.    सो इन्साफमा चित्त बुझेन । मुद्दा दोहर्‍याईपाउँ भन्ने प्रतिवादी डि.बलबहादुर डम्बरकुमारी समेतको निवेदनपत्र ।

      १०.    २० बर्षका उमेरकी सासु नन्दकुमारीले डम्बरकुमारीलाई शेषपछिको बकसपत्र दिएकोमा मुद्दा परी ३ खण्डको १ खण्डमात्र बकसपत्र दिए लिएको सदर भई प्रधान न्यायालय लगायतबाट फैसला भएकोमा म्याद नाघेको उजुरीको राम्रो विचारै नभई नन्दकुमारी पोइला गएकोले जम्मा बकसपत्र बदर हुन्छ भनी डिभिजन बेञ्चबाट फैसला हुँदा चित्त बुझेन भनी निवेदकले निवेदनसमेत रोहवरमा गरेकोले व्यहोरा साँचो भए दानदातव्यको ९ नं. बमोजिम बकसपत्र दिने दाता पोइला गएपछि बकसपत्र बदर गर्न मिल्छ मिल्दैन, म्याद भित्रको उजुरी हो होइन ? भन्नेसमेत विचार गर्नुपर्ने देखिनाले दोहर्‍याई हेर्ने निस्सा दिएको छ । दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।५।२७।४। को आदेश ।

      ११.    डम्बरकुमारीलाई गरी दिएको बकसपत्रको सम्बन्धमा प्रधान न्यायालयको फैसला गुम गरी वादीहरूले दावी गरेको । प्रस्तुत मुद्दा विधवा अंशधनका ऐन अन्तर्गत किनारा हुनुपर्छ । अपुतालीका ऐनबमोजिम होइन । विधवा अंशधनको ८ नं. ऐनको म्याद भित्रको उजुर छैन । तसर्थ, खारेज हुनुपर्छ । जग्गा जमिनसम्बन्धी कुरा भएकाले जग्गा मिच्नेका ऐनका म्याद लाग्नु पर्ने । दानदातव्यको १२ नं.९ नं. ले समेत नन्दकुमारीले गरी दिएको शेषपछिको बकसपत्र सदर हुनुपर्ने हो भन्नेसमेत निवेदक, प्रतिवादीतर्फबाट रहनुभएका विद्वान एडभोकेट श्री कृष्णप्रसाद घिमिरेले र विधवा स्वास्नी मानिस पोइल गयो भने विधवा अंशधनको २ नं. ले सम्पत्ति हकवालाको हुन्छ । डम्बरकुमारीको हातमा १३ सालमा आएको सो भन्दा अगावै आएको छैन । फिराद १३ सालमा परेकोले म्याद भित्रै पर्छ । विधवा अंशधनको १ नं. को व्यवहारलाई मात्र विधवा अंशधनको ८ नं. को हद लाग्ने । विधवा अंशधनको २ नं. को निमित्त अ.बं. ६० नं. लाग्ने भन्नेसमेत वादीतर्फबाट रहनुभएका विद्वान एडभोकेट श्री कृष्णप्रसाद भण्डारीले बहस गर्नुभयो ।

      १२.   दुवै पक्षका विद्वान वकीलहरूको बहस र मुद्दाको उपरोक्त विवरणहरूबाट प्रस्तुत मुद्दामा उजुरी म्याद भित्रको हो होइन ? प्रधान न्यायालयको फैसलाबमोजिम ३ खण्डको १ खण्ड सम्पत्ति बकसबमोजिम निवेदक, प्रतिवादी डम्बरकुमारीको हक पुग्ने नपुग्ने के हो ? र वादीहरूको दावा पुग्नसक्ने नसक्ने के हो ? भन्ने कुराको निर्णय दिनुपर्ने हुन आयो ।

      १३.   सुवेदार पहलमान समेतका जिउनी जग्गा समेतमा निज मरी स्वास्नी नन्दकुमारी १० साल मार्गमा पोइल गएपछि १३।७।२६ मा वादीहरूले उजुर गरी दावी गरी आएको देखियो । विधवा अंशधनको ऐनको म्याद नाघी उजुर परेको भन्ने र जग्गा विषयमा जग्गा मिच्ने ऐन लाग्नु पर्ने भन्ने निवेदनतर्फको जिकिर देखिन्छ । विधवा अंशधनको ८ नं. ऐनमा म्याद लेखिएकोमा सोहीबमोजिम हुन्छ । अरु यस महलमा लेखिएको ऐनले लिन दिन नहुने लिए दिएकोमा २ बर्ष भित्र उजुर नालेस दिए सुन्नु भन्नेउल्लेख भएको । विधवा नन्दकुमारीले ५ सालमा डम्बरकुमारीलाई बकस दिएकोमा वादी देवीप्रसादको उजुर पर्दा विधवा अंशधनको ऐनले दिन पाउने भन्दा बढी बकस दिएको बदर गरी १२ सालमा प्रधान न्यायालयबाट निर्णय भईसकेको देखिएको प्रस्तुत मुद्दाबाट ऐनले लिन दिन नहुने लिए दिएको भन्ने कुराको निर्णय दिनपर्ने अवस्था नहुनाले विधवा अंशधनको ऐनको म्याद नाघेको भन्न र बाबुको जिउनी रहेको कान्छी आमा पोइल गई हक हुने सम्पत्ति दिलाई पाउँ भन्ने मुद्दामा जग्गा मिच्ने समेतको ऐन लाग्ने भन्ने उचित देखिदैन ।

      १४.   पहल सिं मरेपछि निजको सम्पत्ति सत्यमा रहे बसेसम्म बेगल बस्ने वादी प्रतिवादीको हक नपुगी साथमा बस्ने स्वास्नी नन्दकुमारीको हक पुग्ने र निज १० सालमा पोइल गएपछि विधवा अंशधनको २ नं. ले हकवालाको हकमा आउने कुरा प्रष्टछ । यस्तोमा यो यति म्याद भित्र खोजी गर्नु भन्ने प्रष्ट कानूनी व्यवस्था पनि नदेखिएको र नन्दकुमारी पोइला गैसकेपछिको अवस्थाको विचार गर्दा, हुन त साधारणतया कुनै व्यक्ति मरेपछि मात्र अपुताली परेको भन्नु पर्ने कानूनी व्यवस्था भएको । कुनै स्वास्नी मानिस आफ्नो पतितर्फको कुललाई छाडी अन्यत्र पोइला गइछ भने निज पोइला जाने स्वास्नी मानिस अघिल्लो पोइको कुलका निमित्त निजको जुन अस्तित्व थियो, सो सदाको लागि मेटिने हुँदा कानूनका तात्पर्यका लागी मरेकै सरह सम्झनु पर्ने हुनआउँछ । यस्ता अवस्थामा अपुतालीको म्याद भित्र खोजी गर्न आउने हकदारहरूलाई अपुताली खानबाट बन्चित गर्ने न्यायोचित देखिन्न । तसर्थ, नन्दकुमारी पोइला गयो भनेको मितिबाट अपुतालीको २५ नं. को म्याद ३ बर्ष भित्रै वादीहरूले खोजी गरी उजुर दिएको देखिनाले म्याद नाघेको भन्न मिलेन ।

      १५.   अब ०३ सालमा सुवेदार पहलमान मरेपछि विधवा नन्दकुमारीले ०५।७।५ मा निवेदक, प्रतिवादी डम्बरकुमारीलाई शेषपछिको बकसपत्र दिई १० साल मार्गमा निज पोइला गएकीले सो बकस सदर बदर के हुने हो ? भन्नेतर्फ विचार गर्दा, सो बकस उपर यिनै वादीमध्येको देवीप्रसादको उजुर पर्दा आखिर प्रधान न्यायालय सिंगलबेञ्चबाट चलमा आधी र अचलमा ३ खण्डको १ खण्ड मात्र आफु खुस गर्न पाउने हुनाले सोबमोजिम सदर ठहराई ०१२।९।१८।१ मा अन्तिम किनारा लागेको मिसिल सामेल रहेको फैसला नक्कलबाट देखिएको । दानदातव्यको ९ नं. मा उल्लिखित अवस्था पारी बकस दिएको पनि नदेखिएकाले फैसलाले कायम गरेको चलमा आधी र अचलमा ३ खण्डको १ खण्डको सदरै हुने । नन्दकुमारी पोइला गए पनि जिवीतै हुनाले शेषपछि मात्र बकस पाउने डम्बरकुमारीको हक नहुने हो कि भन्न पनि माथि लेखिएबमोजिम अघिल्लो पतिको कुल छाडी पोइल गएपछि सो कुलका निमित्त मरेकै सम्झनु पर्ने भई निजको शेषपछि सरह नै हुन आएकोले कायम ठहरेको बकसपत्रबमोजिम निवेदक डम्बरकुमारीको हक हुने र त्यसतर्फ वादी दावी पुग्न सक्दैन ।

      १६.    बकसपत्रका उल्लेखित रु. ४००० ऋण निवेदक डम्बरकुमारीले तिरी ०८ सालमा लख लिएको भन्ने हकमा यसैबाट तिर्ने भन्ने बकसपत्रमै उल्लेख भएको र बकसपत्र हेर्दा खेत पाखा जग्गाहरू प्रशस्त देखिएकाले सोही आयस्ताबाटै तिरे पुग्ने नै देखिएकोले मैले तिरेको भन्ने निवेदक डम्बरकुमारीको जिकिर मनासिव देखिएन ।

      १७.   उक्त बकसपत्रबमोजिम डम्बरकुमारीको हक हुने चलमा आधी र अचलमा ३ खण्डको १ खण्ड बाहेकको सम्पत्तिको हकमा नगदी धनमालतर्फ वादी उजुरी खारेज गरी डिभिजन बेञ्च लगायतबाट किनारा गरेउपर वादीको निवेदन परेको नदेखिएकोले त्यसतर्फ विचार गरी रहनुनपर्ने । २ खण्ड अचल जग्गा जमिनतर्फ वादीहरूको दावी पुग्न सक्ने नसक्ने के हो ? भन्नेतर्फ विचार गर्दा, अपुतालीको ९ नं. बमोजिम निवेदक, प्रतिवादी बलबहादुरको हक पुग्ने किसिमसँग सगोलमा बसेको पक्का सबुद निवेदकले गुजार्न नसकेकोले समेत म्याद भित्र खोजी दावी गर्ने वादीहरू र प्रतिवादी बलबहादुरले बराबरका दरले हक चलन गर्न पाउने ठहर्छ । तसर्थ, बकस बदर गरेकोसम्म डिभिजन बेञ्चको बेमनासिव र अरु बण्डा लगाई खान पाउनेसमेत ठहराई छिनेको १८।१२।१७ को डिभिजन बेञ्चको फैसला मनासिवै ठहर्छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

इन्साफ दोहर्‍यायमा समेत हाल कसैलाई केही गर्नु पर्दैन......................१

नियमबमोजिम मिसिल बुझाई ..........................२

 

इति सम्वत् २०२० साल बैशाख १० गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु