शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९८ - बन्धकी थैली बुझाई पाउँ

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. १९८            ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह

माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. ६४

निवेदक, प्रतिवादी : भवीलाल पाध्या

विरुद्ध

विपक्षी, वादी : झगरी पाध्यानी

मुद्दा : बन्धकी थैली बुझाई पाउँ

(१)   मनासिव माफिकको कारण नभई बन्धकी खाने साहुले जग्गा निखन्न दिन्न भन्न नहुने ।

                        तेरो मेरोमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा मालबाटै निर्णय भयो । मेरो खेत मुरी ३४। समेत किल्ला भित्र परेको छ भन्ने जिकिरका हकमा साहु म्यादभित्र हाजिर हुन आई मनासिव माफिकको कारण बताई थैली बुझिलिन मुन्जुर नगरे सोही व्यहोराको कागज गराई निखन्न आउनेलाई ३५ दिन भित्र अदालत अमिनीमा नालेस गर्न जानु भनी सुनाउनु भन्ने ०४।४।६ को सनदमा उल्लेख भएकोले माल गोश्वाराले गरेको निर्णय बेठीक भनी भन्न मिलेन ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : प्लिडर मायानाथ

विपक्षी तर्फबाट      : एडभोकेट कृष्णप्रसाद घिमिरे

फैसला

      १.     डिभिजन बेञ्चबाट भएको फैसलाउपर चित्त बुझेन । दोहराई पाउँ भन्ने निवेदकको निवेदनमा सर्वोच्च अदालत नियमावली नियम ६३ को संशोधित उपनियम ४ अन्तर्गत दोहरिने निस्सा भई दायर भएकोबाट दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दा हेर्दा,

      २.    मेरा एकासगोलका कान्छा ससुरा गोविन्द पाध्याले अन्यायवालाबाट ने.रु. १००१ कर्जा लिई सो वापतमा पदमपाणी जिम्माको निज गोविन्दका नाउँमा दर्ता भएको खेत मुरी ६० मध्ये पूर्व रवीलालको खेत पश्चिम प्रेमनारायणको खेत उत्तर कपले निरादलीको खेत दक्षिण कुलो यति ४ किल्ला भित्रको तिरो रु. १।४२।१ लागेको पिपले भन्ने खेत मुरी ।६।१५ को कित्ता १ पूर्व यामनारायणको खेतसमेत ४ किल्ला भित्रको तिरो रु. ५।६२।३ लागेको पिपले भन्ने खेत मुरी ।२० को कित्ता १ समेत २ कित्ता जग्गा ८३।१२।५ गते घरसारमा भोगबन्धकी तमसुक गरी दिएको सो भोगबन्धकी थैला बुझाउन १७।११।५ गते निज अन्यायवाला कहाँ जाँदा बुझी नलिएकोले उक्त थैली १००१।दर्खास्तसाथ धरौट राख्न आएकी छु । निज अन्यायवालालाई बुझाई पाउँ भन्ने उजुरी दर्खास्त ।

      ३.    ने.रु. १००१ मा भोगबन्धकी लिएको हुँ । निज उजुरवाली मेरा घरमा थैली बुझाउन गएकी थिई । निजको एकाघरसँगको देवर ऋतुनाथ विदेश गएको । निज आई बुझाएमा बुझी लिने थिएँ । निजबाट बुझी लिएमा अर्कैलाई राजिनामा दिने हुनाले बुझी लिन्न भनेको हुँ । झगरीबाट थैली बुझी लिई फट्टा दरपिट गरी दिन मञ्जुर छैन भन्नेसमेत भवीलालको प्रतिवादी सरहको ठाडो कागज ।

      ४.    बुझिएसम्मबाट बन्धकी भन्ने कुरामा विपक्ष लाचारैे भएको देखिएपछि बुझी लिन पर्ने थैली विपक्षीले बुझिनदिएकै ठर्हछ भन्नेसमेत १८।४।२४।३ को स्याङ्गजा मालको पर्चा ।

      ५.    निज झगरीबाट जालसाजबाट धरौट राखे रखाएको ठेली बुझ्न कर नलाग्नेमा बुझ्नुपर्छ भनी अन्यायमा हराउँदा चित्त बुझेन भन्नेसमेत प्रतिवादी भवीलालको अपील ।

      ६.    मुख्य दामकाम गर्ने वादी देखिएकोले इन्साफ शुरु स्याङ्गजा मालको मनासिव भन्ने पं.४ नं. गोश्वाराबाट १८।८।७।४ मा फैसला भएको ।

      ७.    आफ्ना घरमा नबसी नाता स्नेहसमेत नपर्ने खेमकान्तको घरमा गई बसेकोले निखन्न दिनु नपर्ने भन्नेसमेत प्र. भवीलालको अपील ।

      ८.    प्रतिवादीले मेरो हकको खेत मुरी ३४ को जग्गासमेत किल्ला भित्र बारेको भन्नेतर्फ थैली बुझाई पाउँ भन्ने यो मुद्दामा वादी प्रतिवादीमा लेखिएको किल्लाको कुरा निर्णय दिन मिल्ने देखिएन बन्धकी निखनाई पाउँ भन्नेतर्फ भोगबन्धकीको लिखतबमोजिमको जग्गा ससुराले बन्धकी दिएको बुहारीले निखन्न न्यायोचित हुन नजाने भएकाले लिखतबमोजिमको जग्गासम्म थैली तिराई निखनाई दिने गरेको इन्साफ स्याङ्गजा मालको सदर गरी स्याङ्गजा गोश्वाराले छिनेको मनासिव छ भन्ने १८।११।१७।४। को डिभिजन बेञ्चको फैसला ।

      ९.    तेरो मेरोमा हक बेहक हुन अदालतमा जान पर्नेमा मुद्दामा किल्लाको निर्णय दिन नमिल्ने भई इन्साफ स्याङ्गजा माल गोश्वाराको मनासिव भन्ने जो फैसला लेखियो । त्यसमा अघि पटकपटक झगडा पर्दा पनि हाल वादीले दावी गरेको मुरी ।२७ भन्ने कतै र मुरी ।२६ भन्ने कतै उल्लेख भएको र दर्खास्तवाला झगरीको देवर भन्ने ऋतुनाथको मञ्जुरी बेमञ्जुरी नबुझी बन्धकी रु. १००१ नतिरी राजिनामा सदर नहुने भन्ने ०१४।९।४।४ मा डिभिजन बेञ्चबाट फैसला भएकोमा ऋतुनाथ हालसम्म परदेशमै भएको र यो वादीले मेरो ।३४ मुरीसमेत भित्र पारी उक्त डिभिजन बेञ्चबाट सदर गरेको चित्त बुझेन भन्नेसमेत प्र. भवीलालको निवेदनपत्र ।

      १०.    ।२९ मुरी माटोको लिखतले ।३४ मुरी माटो निखन्न पाउने गर्दा मेरो हकको जग्गा पनि त्यस भित्र परी अन्याय भयो । लिखतमा ४ किल्ला पनि छैन । बुझ्नु पर्ने अघि परी छिनिएको प्रमाणको मिसिलसमेत झिकी बुझिएको छैन । लिखतबमोजिमको माटो मुरी खुलाई निखानाई दिनु पर्ने भनी निवेदकले रोहवरमा निवेदन गरेकाले समेत व्यहोरा साँचो भए यो मुद्दामा दोहराई हेर्न निस्सा गरी दिएको छ । लगतमा दर्ता गरी निवेदनमा उल्लेख गरेको प्रमाणको मिसिलहरू र दुवै थर झगडियासमेत झिकाई राखी फुल बेञ्चमा पेश गर्नु भनी मुद्दा फाँटमा दिन अपील दर्तामा बुझाई दिनु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट १८।१२।६।२ मा आदेश भएको ।

      ११.    बन्धकी लिखतमा किल्ला नभएको । उजुरवालीले २ कित्ता जग्गा देखाई किल्लासमेत हालेकी । त्यसमा मेरो पक्षको ।३४ मुरी जग्गासमेत पर्दछ । सो छुट्याई मात्र भोगबन्धकी कायम हुनुपर्ने भनी निवेदक प्रतिवादीतर्फबाट विद्वान प्लिडर मायानाथले र भोगबन्धकी निखनाई पाउँ भन्ने प्रस्तुत मुद्दाबाट तेरो मेरो छुट्याई रहनुनपर्ने । भोगबन्धकी दिएको जग्गा निखनी लिन पाउनुपर्दछ । कसैको जग्गा मिची खाएमा उजुर गर्न पाउने छुट्टै कानूनी व्यवस्था भएकोले लिखतबमोजिमको जग्गा निखनाई दिने गरेको डिभिजन बेञ्चको फैसला कायम रहनुपर्छ भन्नेसमेत वादीतर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले बहस गर्नुभयो ।

      १२.   मुद्दाको उपरोक्त विवरण र विद्वान वकीलहरूको बहससमेत सुनी प्रस्तुत मुद्दामा विचार गर्दा, वादी दावीबमोजिमको बन्धकी जग्गा निखनाई दिनु पर्ने नपर्ने के हो ? भन्ने कुराको निर्णय दिनुपर्ने देखिन्छ ।

      १३.   कान्छा ससुराले अन्यावालालालाई बन्धकी दिएको तिरो रु. १।४२।१ लागेको पिपले भन्ने खेत मुरी ।६।१५ को कित्ता १ र तिरो रु. ५।६२।३ लागेको पिपले भन्ने खेत ।२० समेत कित्ता २ जग्गा निखनाई पाउँ भन्ने वादी । वादीको एकाघरसँगको देवर ऋतुनाथ विदेश गएकाले र ०६ सालमा खेमकान्तलाई रु. ९०००। मा यो जग्गा राजिनामा गरी दिएकोमा मैले नै उजुर गरी बदर गराएको हुनाले तंँ बदमास्नीसँग मैले बुझी लिन्न भनेको हुँ । उजुरवाली झगरीबाट थैली बुझी लिई फट्टा दरपिठ गरी दिन मञ्जुर छैन । उजुरीमा लेखिएको ४ किल्ला भित्रमा मेरो हक भोग दर्ताको खेत मुरी ।३४ को माटोसमेत भित्र पारेको छ भन्ने प्रतिवादी जिकिर भएकोले वादी हकवाला हो भन्ने कुरामा र जग्गा बन्धकी दिएको भन्ने कुरामा प्रतिवादी सावितै रहेको देखिएकाले जग्गा बन्धकी दिएको होइन र वादी हकवाला पनि होइन भन्ने विचार गरी रहन परेन।

      १४.   तेरो मेरोमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा मालबाटै निर्णय भयो । मेरो खेत मुरी ।३४ समेत किल्ला भित्र परेको छ भन्ने जिकिरका हकमा साहु म्याद भित्र हाजिर हुन आई मनासिव माफिकको कारण बताई थैली बुझी लिन मञ्जुर नगरे सोही व्यहोराको कागज गराई निखन्न आउनेलाई ३५ दिन भित्र अदालत अमिनीमा नालेस गर्न जानु भनी सुनाउनेभन्ने ०४।४।६ को सनदमा उल्लेख भएकोले प्रतिवादीले थैली बुझी लिन मञ्जुर नगर्ने मनासिव माफिकको कारण बताउन सकेको नदेखिएकोले माल गोश्वाराले गरेको निर्णय बेठीक भनी भन्न मिलेन ।

      १५.   मेरो ।३४ मुरी जग्गा समेत किल्ला भित्र परेको छ भन्ने निवेदकको जिकिरतर्फ बन्धकी दिएको लिखतमा किल्ला लेखिएको नदेखिएकोबाट किल्लातर्फ यसबाट निर्णय गर्नुपर्ने नदेखिएको हुँदा लिखतबमोजिमको जग्गासम्म माथि लिखिएका कारणबाट निखन्न पाउने ठहराएको डिभिजन बेञ्चको ०१८।११।१७।४ को इन्साफ मनासिव छ । अरु तपसीलबमोजिम गर्नु।

 

तपसील

निवेदक, प्रतिवादी भवीलाल पाध्याको शुरु दण्ड रु. २५।३ को हा.क.का.११ नं. बमोजिम दशौद ने.रु. २५१ इन्साफ दोहर्‍याए वापत दण्ड हुन्छ । रुजू हुँदा ऐनबमोजिम असूल गरी तहसिलमा लगत दिनु .................................१

मिसिल नियमबमोजिम बुझाई दिन ................................२

 

इति सम्वत् २०२० साल आषाढ २८ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु