निर्णय नं. ३१३४ - अंश दपोट

निर्णय नं. ३१३४ ने.का.प. २०४४ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं.७२९
मुद्दा : अंश दपोट ।
पुनरावेदक/वादी: जि.दाङ पवन नगर गाउँ पञ्चायत वडा नं.१ एकली बस्ने डिल्ली राज कडेल ।
विरुद्ध
विपक्षी/प्रतिवादी: जि. दाङ पवन नगर गाउँ पञ्चायत वडा नं. १ एकली बस्ने नीमराज कडेल ।
फैसला भएको मिति:२०४४।५।२।३ मा
न्या.प्र.सु. ऐन, ०३१ को दफा १५ मा भएको व्यवस्थाबाट त्यस्तो प्रतिवादीको पेटबोलीबाट बुझ्नु पर्ने प्रमाणका मानिसहरुलाई पुनरावेदन सुन्ने अदालतबाट बुझ्न सक्ने सम्म व्यवस्था भएको तर पुनरावेदन सुन्ने अदालतबाटै बुझी निर्णय गर्नु पर्ने भनी अनिवार्य व्यवस्था गरेको नदेखिने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षी,प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधान: पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ आज यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यस प्रकार छ ।
२. प्रतिवादी निमराज, विष्णुप्रसाद, म वादी डिल्लीराज, आमा रामकुमारी समेत हामी ४ समेत ४ अंशियार एकासगोलमा बसी आएकोमा छुटी भिन्न हुने विचार भई आमालाई जिउनी दिई हामी ३ भाइ अंशियारले बण्डा गर्दा व्यवहार चलाउने निमराजले फाँट दिनु भयो दण्डपानीलाई बिक्री भई गएको जग्गा बाहेक अरु जग्गा जेथा बाँडफाँट गरी २०३८।३।२७ मा घरसारमा बण्डापत्रको कागज खडा भई २०३८।५।१४ मा पास समेत भएको थियो । अंशबण्डा गर्नुपर्ने दांग पवन नगर गा.प. वडा नं. १(ख) कि.नं. १५०, १५१ समेतको ज.वि. ०–१९–१८ जग्गा नदेखाई दवाई खाने नियत गरेको कुरा २०३८।७।१५ मा जानकारी भएकोले फिराद गरेको छु । अंशबण्डाको २७ नं. बमोजिम दिलाई पाउँ भन्ने फिरादपत्र ।
३. हामी अंशियार बीच मौखिक वोल कवोल अनुसार मेरा नाउँमा दर्ता भएको जग्गा पारीत गरिदिनु पर्नेमा दण्डपानी घरमा नहुँदा पारीत हुन नसकेकोले बिक्री गरी साहू ऋण तिर्न बण्डापत्र खडा हुनु भन्दा अगाबै बिक्री गर्नु परेकोले बण्डापत्रमा उल्लेख हुन नसकेको हो । सगोलमै बसी आएको अवस्था बिक्री गरेको कार्यलाई दपोटको संज्ञा दिन मिल्दैन, फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. अदालतमा नालेश परी तायदाती लिइसकेपछि दवाए छिपाएमा मात्र अंश दपोट नालेश लाग्ने हुँदा अंशबण्डाको २७ नं. प्रतिकूल पर्न आएको प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेत दाङ दे.जि.अ. को फैसला ।
५. शुरुको इन्साफमा चित्त बुझेन, सो फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने डिल्लीराजको रा.अं.अ. मा परेको पुनरावेदनपत्र ।
६. नालेश गर्ने अंशियारको नालेशमा इन्साफ नगरी खारेज गर्ने गरेको शुरु जि.अ. को इन्साफ मिलेको नहुँदा बदर हुन्छ । अब जो जे बुझ्नु पर्छ बुझी इन्साफ गर्नु भनी मिसिल शुरुमा पठाई दिने ठहर्छ भनी रा.अं.अ. बाट भएको फैसला ।
७. राजीनामाको प्रतिलिपिबाट अरु अंशियारलाई साक्षी राखेको नदेखिएकोले र यसै लगाउको जालसाजी मुद्दामा प्र.निमराजले जालसाजी गरेको ठहरी आज फैसला भएकोले अंश लाग्ने जग्गा बण्डापत्रमा नदेखाई दबाएको हुँदा दपोट गरेको ठहर्छ भनी शुरु दाङ दे.जि.अ. बाट भएको फैसला ।
८. शुरु दाङ दे.जि.अ. को फैसलामा चित्त बुझेन हक इन्साफ गरिपाउँ भन्ने निमराजको पुनरावेदनपत्र ।
९. पुनरावेदक निमराज समेत विपक्षी डिल्लीराज भएको जालसाजी मुद्दाको एक लगाउको हुँदा पक्षलाई तारेख तोकी मिसिल प.क्षे.अ. मा पठाई दिनु भन्ने रा.अं.अ. बाट भएको आदेश ।
१०. प्रतिउत्तरपत्रको पेटबोलीमा उल्लेख भएका शिवलाललाई बुझ्नु पर्नेमा निजलाई नबुझी गरेको शुरुको फैसला बदर हुन्छ । अ.बं. १३९ नं. बमोजिम निजलाई बुझी कानून बमोजिम निर्णय गर्नु भनी पक्षहरूलाई तारेख तोकी मिसिल शुरुमा पठाई दिनु भनी म.प.क्षे.अ.बाट भएको फैसला ।
११. म.प.क्षे.अ. को सो फैसलामा चित्त बुझेन, सो फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदनको अनुमति पाउँ भनी डिल्लीराजको यस अदालतमा परेको निवेदनपत्र ।
१२. बुझ्नु पर्ने मानिसलाई पुनरावेदन सुन्ने अदालतबाट नै बुझ्न सकिने नै हुँदा सोही कारणबाट मात्र सम्पूर्ण फैसला बदर गरेको म.प.क्षे.अ. को निर्णयमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) र १५ समेतको त्रुटि भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजको समेत अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले गर्नु भएको बहस समेत सुनियो ।
१४. विद्वान वरिष्ठ अधिवक्ताले आफ्नो पुनरावेदन जिकिरलाई समर्थन गर्दै गर्नु भएको बहस समेतलाई ध्यानमा राखी क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ भनी त्यसतर्फ हेर्दा यसमा क्षे.अ.बाट प्रतिवादीको पेटबोलीबाट देखाएको शिवलाललाई नबुझी फैसला गरेको भन्ने आधारमा शुरु जि.अ. को फैसला बदर गरी निजलाई समेत बुझी ठहर गर्न शुरु जि.अ.मा पठाएकोमा वादी डिल्लीराजको पुनरावेदन गर्ने अनुमति पाउँ भनी निवेदन परेकोमा मुद्दामा यदि अ.बं. १३९ नं. बमोजिम बुझ्नु पर्ने भए पुनरावेदन सुन्ने अदालतबाटै बुझ्न सक्नेमा सो नबुझेकै आधारमा सम्पूर्ण फैसला बदर गरेको न्या.प्र.सु. ऐन, २०३१ को दफा १५ को त्रुटि भएको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान भई विपक्षी समेत झिकाई पेश हुन आएकोमा विपक्षीले म्यादमा हाजिर भई तारेख गुजारी बसेको र पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताले पनि सोही बमोजिम जिकिर लिई बहस गर्नु भएकोबाट क्षे.अ. को ठहर मिले नमिलेको के हो भन्ने तर्फ विचार गरेमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १५ मा भएको व्यवस्थाबाट त्यस्तो प्रतिवादीको पेटवोलीबाट बुझ्नु पर्ने प्रमाणका मानिसहरूलाई पुनरावेदन सुन्ने अदालतबाटै बुझ्न सक्ने सम्म व्यवस्था भएको तर पुनरावेदन सुन्ने अदालतबाटै बुझी निर्णय गर्नु पर्ने भनी अनिवार्य व्यवस्था गरेको नदेखिएको उसमा पनि प्रतिवादीको पेटबोलीमा देखाइएका शिवलाल प्रमाण सरहको मानिस मात्र नभई वादी दावी कायम भई ठहर भएमा निजको हकमा समेत असर पर्ने हुँदा प्रतिवादी सरहकै मानिस देखिन आएकोले यस्तो अवस्थामा निजलाई पुनरावेदन तहबाटै बुझी ठहर गर्नु अनिवार्य भएको भनी भन्न सकिने अवस्था नदेखिएकोले क्षे.अ.ले निजलाई नबुझी गरेको जि.अ. को ठहर बदर गरी निजलाई समेत बुझी कानून बमोजिम ठहर गर्न शुरु जि.अ. मा पठाएकोमा त्रुटि भएको भन्न नमिलेकोले क्षे.अ. को ठहर मनासिब ठहर्छ । कोर्ट फी रही दायर रहेको मुद्दा हुँदा केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इतिसम्वत् २०४४ साल भाद्र २ गते रोज ३ शुभम् ।