शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०२ - उत्प्रेषणको रीट जारी गरी पाउँ

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. २०२      ने.का.प. २०२०

डिभिजन बेञ्च

श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिंह

श्री माननीय न्यायाधीश वाशुदेव शर्मा

रीट नं. ११/३१

निवेदक : ख. गजेन्द्रलाल बैद्य

विरुद्ध

विपक्षी : विशेष पुलिस विभाग

विषय : उत्प्रेषणको रीट जारी गरी पाउँ

(१)   अपील दिने कानूनले दिएको बाटो छँदै उत्प्रेषणको रीट जारी गर्न नमिल्ने ।

            विशेष पुलिस विभागले आफ्नु ठहर निर्णय गरी सो निर्णयमा चित्त नबुझे अपील दिनु भनी मलाई अपील म्याद दिएको छ भनी निवेदकले निवेदनमा लेख्नु भएकै देखिन्छ । सो पाएका अपीलको म्यादभित्र विशेष पुलिस विभागबाट कारवाही निर्णय भएका कुरामा चित्त नबुझेको भए चित्त नबुझेको सबै व्यहोरा दर्शाई सबुद प्रमाण दिई अपील दिएमा विशेष पुलिस विभागको कारवाई निर्णय गल्ती देखिन आए अपील सुन्ने अड्डाबाट कानूनबमोजिम हुन सक्ने कानूनले दिएको बाटो छँदै झमेलाबाट उम्कन प्रचलित कानूनमा अन्य उपाए नभएको भनी निवेदकले दिनु भएको यो निवेदन खारेज हुन्छ ।

(प्रकरण नं. ३)

निवेदक तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी

आदेश

      १.     मधुसुदन मरेको ज्यान मुद्दा पर्न आएबाट मौका तहकिकात सरजमिन मुचुल्कासमेत काम मसमेतले गरी सकेपछि चुडामणिको उजुर लिई झापा गोश्वराका बडाहाकिमले अधिकार बेगर ट्रिबुनल गठन गरी मनमानी कारवाई गरेमा वनवारीलाल भन्नेको उजुर पर्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट अवैध गैरकानूनी र अख्तियार बिना भए गरेको काम भन्ने ठहराई रद्द बदर गरी सकेको कागजहरूलाई अगाडि विशेष पुलिस विभागले निवेदकसमेत उपर भ्रष्टाचारको अभियोग लगाई कारवाई चलाई ठहर निर्णय समेत गरी मलाई भविष्यमा सरकारी नोकरीबाट सामान्यतः अयोग्य ठहराई चित्त नबुझे अपील दिनु भनी अपीलको म्याद पठाएको रहेछ । आफ्नु अधिकार भित्रको कुरामा निर्णय गरेको भए अपील दिनु पर्ने हो । उक्त केशमा चलाउनै नहुने अनाधिकार कारवाई चलाई निर्णय गरेको हुनाले सो निर्णय नै गैरकानूनी र अनाधिकार हुँदा त्यस्तोमा अपील दिन जानु नपरी निवेदन गर्न आएको छु ।

            उक्त कारवाई अवैध र गैरकानूनी घोषित गर्ने तथा अनाधिकार काम गरेको देखि अपीलसमेत कानूनले गर्नुनपर्ने झमेलाबाट उम्कन प्रचलित ऐन कानूनमा अन्य उपाय नभएको हुनाले सर्वोच्च अदालत ऐन, २०१३ को दफा ११ बमोजिम उत्प्रेषण वा जुन उपयुक्त हुन्छ । आज्ञा आदेश वा पुर्जी जारी गरी विशेष पुलिस विभागको गैरकानूनी अनाधिकार काम बदर बातेल गरी प्रदत्त अधिकार सुरक्षित गरी पाउँ भन्नेसमेत निवेदक ख.गजेन्द्रलाल बैद्यको निवेदन ।

      २.    विशेष पुलिस विभागले परिच्छेद २ का कसुरमा विभागीय कारवाई गर्ने र त्यस उपर परेको अपील श्री ५ को सरकारबाट हरिने । सो अपील किराना भईसकेपछि सरकारी वकीलको रायसमेत लिई अदालतमा मुद्दा दायर गर्ने । सो अदालतले इन्साफ उपर सर्वोच्च अदातलमा अपील लाग्नेसमेत भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३४।२०।२१।२४ मा प्रष्ट व्यवस्था भएको छँदाछँदै सो ऐनलाई मान्यता नदिई अरु सो ऐनबमोजिम गर्नुपर्ने सबै कारवाई अवैधानिक तवरबाट रोक्का राख्ने उद्देश्यमा कुनै मर्का परेको समेत देखाउन नसकेको यो बीचैमा गैरकानूनी ढंगबाट दिएको निवेदन हुनाले खारेज हुनपर्ने हो भन्ने विशेष पुलिस विभागबाट दिनु भएको जवाफी पत्र ।

      ३.    यसमा तारिखमा रहेका निवेदकको वारिस डोरनाथ उपाध्याय राखी निजतर्फबाट रहनुभएको विद्वान वकील एडभोकेट कृष्णप्रसाद भण्डारीले गर्नु भएको बहससमेत सुनी प्रस्तुत रीटको माग गरिएको केश हेरिएमा विशेष पुलिस विभागले आफ्नु ठहर निर्णय गरी सो निर्णयमा चित्त नबुझे अपील दिनु भनी मलाई अपील म्याद दिएको छ भनी निवेदकले निवेदनमा लेख्नु भएकै देखिन्छ । सो पाएको अपीलको म्याद भित्र बिशेष पुलिस विभागबाट कारवाई निर्णय भएका कुरामा चित्त नबुझको भए चित्त नबुझेको सबै व्यहोरा दर्शाई सबुद प्रमाण दिई अपील दिएमा विशेष पुलिस विभागको कारवाई निर्णय गल्ती देखिन आए अपील सुन्ने अड्डाबाट कानूनबमोमजिम हुनसक्ने कानूनले दिएको बाटो छँदै झमेलाबाट उम्कन प्रचलित कानूनको अन्य उपाय नभएको भनी निवेदकले दिनु भएको यो निवेदन खारेज हुन्छ । तामेलीमा राखी दिन नियमबमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०२० साल आश्विन ६ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु