निर्णय नं. २०४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

निर्णय नं. २०४ ने.का.प. २०२०
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री गु.पो.उपेन्द्रराज पण्डितज्यू
री.नं. २४/७९
निवेदक : मनिराम भुसाल
विरुद्ध
विपक्षी : गुल्मी गौंडाका बडाहाकिम समेत
आदेश
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
(१) कस्तो स्थितिमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने ?
गुल्मी गोश्वरा र मालले कानून विरुद्ध डर त्रास देखाई ०१९।६।२१ मा मिलापत्र गराएको बदर गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर भएकोमा माल गोश्वारा दुवै प्रतिवादी इन्कारी देखिएको । तथ्य सबुद प्रमाण नबुझी डर त्रास देखाई मिलापत्र गराए नगराएको यकिन हुन नसक्ने र टायम पनि धेरै लाग्ने हुनाले यस्तो स्थितिमा संविधानले सर्वोच्च अदालतलाई प्रदान गरेको असाधारण अधिकार क्षेत्रको प्रयोग गरी रीट जारी गर्न मिल्दैन । चित्त नबुझेको विषयमा प्रचलित कानूनबमोजिम निजामति कर्मचारीलाई आजका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र जो चाहिने सूचना दिंदा नालेस गर्नु भनी निवेदकलाई सुनाई दिनु ।
(प्रकरण नं. ६)
आदेश
१. विपक्षी मनकलाको लोग्ने थानेश्वरले ८ कित्ता जग्गा रु. ५०००१। मा विष्णुप्रसादलाई पास गरी दिएकोमा शिवकुमारको उजुर परे पनि राजिनामा सदर भई अपील लगायतबाट फैसला भई विष्णुप्रसादले नै १० बर्ष भोग गरिसकेपछि सो लिखत मध्येको १३६।१३७।८७ मा दर्ता भएको ४ कित्ता जग्गा रु. १०००१। मा ०१५।७।१७।१ मा रजिष्ट्रेशन पास गरी मैले लिई ०१५।१६।१७ सालको तिरो तिरी भोग गरेको थिएँ । विपक्षी मनकला, विष्णुप्रसादसमेत मिली ०१८ सालमा विशेष अधिकार सम्पन्न दोैडाहा जाँदा मनकलाको दौडहामा उजुर पारी विष्णुप्रसाद सावित भई मलाई बिक्री गरेको कुरा नदेखाई मनकलालाई नै वापस दिएछ । त्यसैको आधारमा मनकला वा बकस पाएको जग्गामा खिचोला गर्यो भनी विपक्षी जाल्पा, म्यानुकाले गुल्मी गौंडाका बडाहाकिम कहाँ उजुर पारी विपक्षी गौंडा र मालका कर्मचारीहरूले पनि कानूनको मर्यादा नराखी मलाई डरत्रास देखाई कसैको बयानै नगराई मेरो उक्त जग्गा त्यसै मबाट छुटाउने गरी ०१९।६।१९।५ मा मिलापत्र गराएकोमा उजुर गर्ने कानूनमा कुनै उपाय नभएकोले सो मिलापत्र बदर गर्न उत्प्रेषणको रीट वा जो उपयुक्त छ सो रीटद्वारा उक्त मिलापत्र बदर गरी मेरो जग्गा मलाई थामी पाउँ भन्नेसमेत मनिराम भुसालको ०२०।१।९।२ को निवेदनपत्र ।
२. यसमा के भएको हो ? १५ दिनभित्र कैफियत रिपोर्ट पठाउनु भनी निवेदनपत्रको १ प्रति नक्कल साथै राखी बडाहाकिम गुल्मी गौडा र हाकिम गुल्मी माललाई लेखि पठाईदिनु भन्नेसमेत ०२०।१।११।४ को सिंगलबेञ्चको आदेश ।
३. मनिराम भुसाल जैसी जाल्पा जैश्यानी मेनका भडारनीसमेतको सहीछाप गरेको मिलापत्र गराई पाउँ भन्ने दर्खास्त गुल्मी गौडामा परेको रहेछ । गौंडाबाट ०१९।६।११।५ मा मिलापत्र गराई साक्षी निमित्त मालमा पठाएकोमा पढी बाची सुनाई मजबुन बुझाउँदा मिलापत्र रोपकार सनाखतमा सहीछाप गरेका हुन् । पक्राउ गरी डरत्रास देखाई मिलापत्र गराएको होईन भन्नेसमेत ०२०।२।१६।५ को गुल्मी मालको त.ख. रुद्रबहादुरको रिपोर्ट ।
४. अञ्चलाधीश भ्रमण तम्घासबाट जाल्पा मेनकाका निवेदनमा दुवै थरी झगडीया झिकाई मिले मिलाई दिने भनी सुनाई दिनु भन्ने तोक आदेशानुसार मनिराम जाल्पा मेनका समेतलाई झिकाई सम्झाई बुझाई गर्दा जाल्पा, मेनकाले लेखेको बिगो रु. १५।५५ मनिरामलाई माफ दिने मनिरामले जग्गा छाडि दिने गरी दुवै थरि मञ्जुर भई दर्खास्त साथ मिलापत्र गर्न आई गुल्मी माल साक्षी राखी मिलापत्र गरेको मिसिलबाट देखिँदा उस बखतका बडाहाकिमले करकापबाट मिलापत्र गराएको भन्न उचित नहुने भन्नेसमेत ०२०।४।३१।५ को बडाहाकिम गुल्मी गौंडाको रिपोर्ट ।
५. डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०२०।९।८।२ को का.मु प्रधान न्यायाधिशज्यूको आदेश ।
६. प्रस्तुत बिषय निवेदकतर्फबाट रहेका प्लिडर इच्छाहर्षले गर्नुभएको बहससमेत सुनी विचार गर्दा, गुल्मी गोश्वारा र मालले कानून विरुद्ध डरत्रास देखाई ०१९।६।११ मा मिलापत्र गराएको बदर गरीपाउँ भन्ने निवेदकको मुख्य जिकिर भएकोमा माल गोश्वारा दुवै प्रतिवादी इन्कारी देखिएको । तथ्य सबुद प्रमाण नबुझी डरत्रास देखाई मिलापत्र गराए नगराएको यकिन हुन नसक्ने र टायम पनि धेरै लाग्ने हुनाले यस्तो स्थितिमा संविधानले सर्वोच्च अदालतलाई प्रदान गरेको असाधारण अधिकार क्षेत्रको प्रयोग गरी रीट जारी गर्न मिल्दैन । चित्त नबुझेको विषयमा प्रचलित कानूनबमोजिम निजामति कर्मचारीलाई आजका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र जो चाहिने सूचना दिई नालेस गर्नु भनी निवेदकलाई सुनाई दिनु र दर्तामा लगत काटी मिसिल नियमबमोजिम बुझाई दिनु ।
इति सम्वत् २०२० साल ..............शुभम् ।