शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०८ - अबण्डा धन बण्डा गराई पाउँ

भाग: साल: २०२० महिना: बैशाख अंक:

 निर्णनं. नं. २०८     ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फू.नं. ३६

निवेदक, वादी : लिलाकुमारी, चन्द्रकुमारी आचाज्र्यनी

विरुद्ध

विपक्षी, प्रतिवादी : लक्ष्मीप्रसाद, गणेशप्रसाद आचार्य

मुद्दा : अबण्डा धन बण्डा गराई पाउँ

(१)   अबण्डा रहेको धनमाल बण्डा गराई माग्न लिखत भए लिखतमा उल्लेखित शर्तको पालना गर्नुपर्ने ।

(२)   विधवाले आफूखुस गर्न पाउने भन्दा बढी आफू खुसी गरे विधवा अंशधनको ८ नं. बमोजिमको म्याद भित्र उजुर गर्नुपर्ने ।

            ...८८ साल भाद्र २० गते रोज ७ को बण्डा पत्रमा माथि लेखिएकोबाट जेठी आमालाई तिर्थ बस्दा खर्च नपठाई हिमायत गरे जुन छोराले हिमायत गर्छौ, उसले मदेश अबण्डा रहेको लिने छैनौं भन्ने शर्त उल्लेख भएको । वादीहरूका लोग्ने वेदप्रसाद, बोधप्रसादले उक्त शर्त पुरा नगरेको भन्ने कुरा धनमायाँले प्र.गणेशप्रसाद, लक्ष्मीप्रसादलाई ९८ सालमा गरी दिएको बकसपत्र बाटै देखिएको छ । अबण्डा रहेको धनमाल बण्डा गरी पाउँ भन्ने वादी दावी भएकोले विधवा अंशधनको ८ नं. लगाई खारेज गरेको मनासिव होइन भन्ने वादीतर्फको जिकिरलाई ०११ सालमा यिनै वादीहरूले दिएको फिरादमा लिखत बदर गराई अबण्डा रहेको धनमालसमेत बण्डा गरी पाउँ भन्ने दावी लिएको । ९८ सालमा धनमायाँले प्रतिवादीहरूलाई गरिदिएको बकसपत्रउपरसमेत वादी दावी भएकोले अंश बण्डाको ६१ नं. को विचार भई उक्त ऐनको म्याद कायम गर्नुपर्ने भन्नेसमेत जिकिर लिए पनि ९८ सालमा गरिदिएको बकसपत्र हेर्दा अबण्डा रहेको पहाड र मदेशको जेथा केही हालै देखि खान पाउने केही शेष पछि खान पाउने पनि निजैहरूले कमाई त्यसबाट धनमायालाई खर्च पुर्‍याउने शर्त राखी निजैहरूको भोगमा राखेको देखियो । विधवाले आफ्नो धन के कति आफ्नो खुस गर्न पाउँछ ? भन्ने कुरा सोही विधवा अंशधनको महलमा लेखिएको र विधवाले आफू खुसी गर्न पाउने भन्दा बढी आफूखुशी गरेकोमा उजुर गर्नलाई पनि विधवा अंशधनको महलको हदम्याद विचार गर्नुपर्ने हुन आउँछ । विधवा अंशधनको ८ नं. मा सो गरेको २ बर्ष भित्र उजुर गर्नुपर्ने भनी प्रष्ट उल्लेख भएको पाईन्छ । धनमायँँले प्र. गणेशप्रसाद लक्ष्मीप्रसादलाई गरी दिएको बकसपत्रको श्रीसम्पत्ति विधवा धनमायाको एकलौटी अंश भई ९८ सालमा बकस गरी दिईसकेको लिखत उपर ०११ सालमा मात्र वादीहरूको उजुर परेको देखिन आएकोले लिखत बदरतर्फ उजुर खारेज भई त्यसबाट जग्गाको समेत हक नपुग्ने ठहराएको ०४१।९।१९ को सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिव देखिन्छ ।

 (प्रकरण नं. १५)

प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय

फैसला

      १.     डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याई पाउँ भनी निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को नियम ६२ अन्तर्गत निवेदन परी ऐ. नियमावली नियम ६३ बमोजिम दोहर्‍याउने निस्सा भई पेश हुन आएको यो मुद्दा हेर्दा,

      २.    हाम्रा ससुरा दातारामको विवाहीता स्वास्नी ३ मध्ये जेठी धनमाया माहिली अन्यायीकी आमा र कान्छी भद्रसिला हाम्री सासु हुन । जेठी धनमायातर्फ छोरा छोरी नभएको । माहीलीतर्फ अन्यायीको गणेशप्रसाद १ लक्ष्मीप्रसाद १ समेत २ र हाम्री सासु भद्रसिलातर्फ म लिलाकुमारीको लोग्ने वेदप्रसाद म चन्द्रकुमारीको लोग्ने बोधप्रसाद भएको । सासु ससुराहरू जिवित छँदै ८७ साल भाद्र २७ गते भाइ छोरा राखी केही धन जेथा पहाडतर्फको हाम्रो लोग्नेहरूलाई र माहिली सासुतर्फका अन्यायीहरूलाई समेत अंश दिई अरु पाहाडतर्फका कर्जी आसामी र जग्गा जमिन नगदी मोरङतर्फको कर्जि आसामी जग्गासमेत अबण्डा सजिया राखी आएकोमा पछि मुद्दा परेबाट ९७।२।६ मा श्री कम्याण्डर इन्चीफबाट भएको १ छापेमा जेठी धनमायाँको शेषपछि मात्र अबण्डा सजिया धनबाट हक हुने भन्ने १ छापे तोक सदर भएको । ०१० साल मार्गमा जेठी सासु परलोक हुनुभएकोले अंशबण्डामा भएको सजिया अबण्डाको धनहिसाब गरिदिनुहोस भनी भन्दा आलटाल गरी आखिर यहि भाद्र ५ गते जाँदा जेठी आमाले हामीलाई बकसपत्र गरी दिएकोले अबण्डा रहेको पाउँदैनौ भनी अन्यायी जेठान देवरले जवाफ दिएकोले ०११ साल भाद्र १३ गते सासु भद्रसिलाले मञ्जुरी इच्छापत्र गरिदिनुभएको । उता ७५ बर्ष नाघेको हुँदा हामी अन्यायीउपर नालेस दिन आएकाछौं । बण्डापत्र झिकी अबण्डा रहेको हामीहरूको भाग दिलाई जेठी सासु धनमायाँ हात लिई गरे गराएको कागज बदर बातेल गरी पाउँ भन्नेसमेत ०११।५।३१ को लिलाकुमारी, चन्द्रकुमारीको फिराद ।

      ३.    वादीहरूका दावीबमोजिम कान्छी आमा भद्रसिलाको ७५ बर्षको उमेर नभई ७२ बर्षको उमेर भएको र जुन मुख्य हकमा दावी गर्ने आमा भद्रसिलाको उजुरी नभई भाउजु बुहारीको मात्र उजुरी भएको । उसमा पनि अबण्डा भएको भनेको धन के कति हो ? सो समेत नखोलिएको र आमा भद्रसिला जिवितै हुँदा यी वादीहरूको दावी नलाग्नेमा पनि अघि साजा पिता दातारामको ३ स्वास्नी मध्ये जेठी धनमायाको कोही पनि सन्तान नभएको र माहिली हामीहरूको आमा कान्छी वादीहरूको सासु भद्रसीला पट्टि बोधप्रसाद वेदप्रसाद भएकोले हामी ४ भाइ छोरालाई पितजीले नै भिन्न गरी दिनु भएको वादीहरूका लोग्ने बोधप्रसाद वेदप्रसादसमेत कालगतीले मरी सन्तानसमेत नभएका र निज जेठी आमा धनमायाको काशीबास खर्च हेरविचारसमेत हामीहरूले दिए गरेको । पिताजीको र जेठी आमा धनमायाँको जिउनी जेठी आमा धनमायाँले हामीहरूलाई ९८ साल भाद्र २ गते ६ थुम मालमा पाससमेत गरी दिएबाट हाम्रा नाउँमा दर्ता दाखिल खारेजसमेत गरी आएको सो कुरा यी वादीहरूले मौकैमा थाहा पाएको अबण्डा भनी लेखेको धन जो हो सो यिनीहरूको र हाम्रो बाँडफाड हुन बाँकी रहेको अबण्डा सम्पत्ति होइन । काशीबास खर्च हेरविचार पालताल गर्नेले खान पाउने बाबु आमाको जिउनी भई हामीले नै काशी खर्च हेरविचार गरेको अरुले नगरेको हुँदा हामीहरूलाई सो बाबु मरी आमा धनमायाको हक भएको जिउनी बकसपत्र पास गरी दिएको हो । सो बकसपत्र कागजसमेत बदर गरी सो अबण्डा धन बण्डा गरी पाउँ भन्नेसमेत वादी, दावी झुट्टा हो भन्नेसमेत प्रतिवादी डि. गणेशप्रसाद डि.लक्ष्मीप्रसादहरूको प्रतिउत्तर ।

      ४.    वादी लिलाकुमारी, चन्द्रकुमारी बुहारी भएको । सासु भद्रसिला छँदै बुहारीको दावी पुग्न नसक्ने । अबण्डा रहेको यो यति भन्ने कुरासमेत खुलाई नालेस गर्न नसकेको । भद्रसिला गणेशप्रसाद समेतको अंश पेवा रोके भन्ने मुद्दामा ९४ साल चैत्र २३ गते भद्रसिलाको उमेर ५५ बर्षको भनी बयानमा लेखेको देखिएबाट ७२ बर्षकै मात्र उमेर देखिएकोले समेत अ.बं. १०७ नं. ले यो मुद्दा चल्न नसकी खारेजहुने ठर्हछ भन्ने मो.वि. अमिनीको फैसला ।

      ५.    चित्त बुझेन भन्नेसमेत व्यहोराको वादी लिलाकुमारी, चन्द्रकुमारीको अपील ।

      ६.    सो जिउनी रहेको धनमायाको आर्जन नभई बाबु जेठी आमाको देहान्त भएपछि बराबर दुवैतर्फका छोराहरूले बण्डा गरी लिन खान पाउने । अकेला धनमायाँको एकलौटी पाउने नदेखिएको । बकसपत्र बदर गरेको बदर हुनेलाई जनाउ दिएको नदेखिएकोले ९८।५।२ मा पास गरेको बकसपत्र थाहा पाएको भन्न नमिल्ने र बण्डा पाउने कुरामा मालले २ छापे काटी पास गरी दिनुसमेत नहुने र तिर्थ बस्ता खर्च नपुर्‍याएको नाताबाट पाउने हो कि भन्नालाई धनमायाँको मौकैमा उजुर हुनुपर्ने । प्रतिवादीले मात्र पालन पोषण तिर्थ ब्रत गराएको सबुद नपुग्ने बण्डाबाटै काशी तिर्थवास बसी सालको रु. १५०० दुवैथरले दिन पर्नेमा दाताराम अघि नै देहान्त भईसकेकोले आधा खर्च दिए हुने । आधा आयस्ताबाटै पुग्ने हुनाले समेत आधा आधा भाग बण्डा छुट्टयाई दिनु पर्ने ठर्हछ । आयस्ताको हकमा यो सालको यति भन्ने किटानी नभएकोले किटान गरेका बखत ठहरेबमोजिम हुने भन्नेसमेत मोरङ विराटनगर अपीलको फैसला ।

      ७.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मीप्रसाद गणेशप्रसाद समेतको अपील ।

      ८.    भद्रसिला, गणेश प्रसाद समेतको अंश पेवा रोक्का गरे भन्ने मुद्दामा ९४ सालमा २ छापेबाट भएको तोक फैसलासमेतबाट भद्रसिलाको उमेर ७५ बर्ष पुगेको नदेखिएको र निज सजीवै देखिनाले समेत अ.बं. १०७ नं. बमोजिम नभई खारेज गर्ने गरेको इन्साफ शुरुको मनासिव देखिई तहकिकात गरी इन्साफ गरेको मो.वि. अपीलको गल्ती देखिँदा छलफलमा झगडीया वादीलाई झिकाई पेशगर्नु भन्नेसमेत सिंगलबेञ्चको राय आदेश ।

      ९.    आफ्नो हक जतिमा ऐनका म्याद सम्ममा अ.बं. १०६ नं. ले हकदैया लाग्नेको उजुर लाग्ने हुँदा वादीको हक जतिमा दावी पुग्ने नपुग्ने ऐनको म्याद भित्रको उजुर छ छैन ? त्यसतर्फ इन्साफ दिनु पर्ने ठर्हछ । दाताराम धनमायाँको जिउनी मदेशको जग्गा विगाहा ११७ समेत निजहरूको शेषपछि प्रतिवादी र वादीतर्फको २ अंशियारले बण्डा गरी खाने गरी अबण्डा रहेको बण्डापत्रबाट देखिन्छ । सो बण्डापत्र होइन र वादीहरू अंशियार होइन भनी प्रतिवादीहरूले भनेको देखिदैन । त्यसो हुँदा सो शेषपछिको बण्डा हुने ११७ विगाहा र धनमालसमेतमा वादीहरूको अंश हक लाग्ने जति वादीहरूको हक पुग्ने केही अपीलको राय मनासिव हो कि भन्ने शंका उपस्थित हुनआउँछ । तर यिनै प्रतिवादी र वादीको सासु भद्रसिलाको यसै जग्गा बिषयसमेतमा झगडा भई ९७ सालमा १ छापेबाट किनारा भएको मिसिल फैसलाबाट यो जग्गामा अपुताली पर्ने धनमायाँको पूर्ण हक भएको र त्यसपछि बण्डा गर्ने बण्डापत्रमा हेरचाह खर्च नदिने अंशियारले बण्डा नपाउने भन्ने शर्त भई सो शर्तबमोजिम वादीतर्फबाट अंशियारले खर्च नदिई हक छाडी लिखत गरी दिएको प्रतिवादीतर्फबाट हेरचाह पालनपोषण खर्च दिएको जरियाबाट जग्गाको हक भएको धनमायाले शेषपछि वादीतर्फले पनि बाँडी खान पाउने बण्डापत्रको शर्त दानदातव्यको १२ नं. लगाई ६ थुम मालबाट बदर गराई ९८ सालमै आधा मौकै देखि र आधा शेषपछि प्रतिवादीले खान पाउने बकसपत्र गरी पास गरिदिएको प्रमाणबाट देखियो । सो जग्गामा धनमायाँको पूर्ण हकछैन । लिखत गरी दिन लिन नपाउने बदर गरी पाउँ भनी ऐन ऐनका म्याद भित्र वादीतर्फबाट उजुर परी सो लिखत बकसपत्र बदर गराएको देखिन आएन । ९८ सालको लिखत उपर ११ बर्षपछि बदर गराई पाउँ भन्ने वादी दावी लाग्ने यो ऐन छ भनी वादीले ऐन देखाई दावी गरको देखिएन । र आफ्नु हक पुग्ने कुरा जनानाले लिखत गरी दिएमा २ बर्षसम्ममा उजुर गर्न पाउने विधुवा अंश धनको ८ नं. देखि बाहेक अरु कानून पाएन र सो म्याद नाघेपछि सोही ऐनले वादीहरूको सो बकसपत्र कागज उपर हाल दावी पुग्न सत्तैmन । कागज सदरै हुन्छ । अपुताली खान पाउने हकदारले नपाले दिदी बहिनीले पालेकोमा पनि अपुतालीको कुरामा लिखत भए लिखतैबमोजिम हुन्छ भन्ने अपुतालीको ७ नं. मा उल्लेख भएको र धनमायाकै लिखतबाट वादीतर्फबाट हेरचाह स्हायार सम्हार नगरेको भनी प्रतिवादीहरूलाई लिखत गरी दिईसकेको लिखतबमोजिम सो ऐनले पनि अपुतालीमा वादी दावी नपुग्ने कुरा भई सो बकसपत्र बण्डापत्रसमेतका लिखतबमोजिम प्रतिवादीको हक भएको । ऐनको म्याद नाघेपछि लिखत बदर गराई जग्गा बिगोमासमेत हक गराई पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन । सो नसक्नाले लिखततर्फ ऐनको म्याद नाघेको उजुरै नलाग्ने भई त्यसतर्फ उजुर खारेज भई त्यसबाट जग्गामा समेत हक नपुग्ने भई वादी दावीमा यो यती तिराको यति जग्गा बिगो दिलाई पाउँ भन्ने वादी दावी नदेखिँदा नपाउने भन्नेसमेत व्यहोराको डिभिजन बेञ्चको फैसला ।

      १०.    बण्डापत्रमा लेखिएका पाहाडको अबण्डा चलअचल विषय कुनै राय जिकिर नलेखी मदेश अबण्डा ११७ विगाहा जग्गामा वादीको हक पुग्दैन भनी लेख्नु भएको उक्त डिभिजनको फैसलाबाटै गल्ती भएको देखिएकै छ । सो डिभिजनको फैसलामा चित्त बुझेन । रिभ्यू गरी पाउँ भन्ने वादी चन्द्रकुमारीको र लिलाकुमारीको निवेदनमा यसमा रिभ्यूको निस्सा हुने नहुने निर्णयको लागि आदेशबमोजिम झिकिएको बकसपत्र बदर गरे भएको भन्ने बारेको प.कि.६ थुम मालको पुर्जी र मिसिल हेर्दा ३ भागको १ भाग र खर्च भई बाँकी रहेको नगद मध्येशको जमिनसमेत दाताराम, धनमायाँका शेषपछि बोधप्रसाद वेदप्रसाद समेतले खानु भन्नेसमेत ८८ साल भाद्र २७ गते बण्डापत्र लिखत भएकोमा निज बोधप्रसाद बेदप्रसादले हेरविचार नगरी खर्च पनि नदिएकाले सो लिखतको व्यहोरा बदर गरी पाउँ भन्नेसमेत धनमायाँ अचाज्र्येनीले ९७ साल कार्तिक बेगते दर्खास्त दिएकोमा दानदातव्यका १२ नं. का ऐनबमोजिम लिखत बदर भएकोले बदर गरी दिएको छ भन्ने धनमायालाई र लिखत बदर गरी दिएको छ भनी बोधप्रसाद बेदप्रसाद मरी सकेकोले निजहरूका आमा स्वास्नीलाई जनाउ दिने भन्नेसमेत प.कि. ६ थुम मालबाट ९७।७।२८।४ मा पर्चा भएको । सो पर्चाबमोजिम दुवै थरलाई दिने देखिएकोमा दर्खास्तवाला धनमायाँलाई सम्म लिखत बदर गरिएको छ भन्ने जनाउ दिई बोधप्रसाद देवप्रसादका आमा स्वास्नीलाई जनाउ दिएको नदेखिएको उक्त हाल झिकाई आएको प.कि. ६ थुम मालको मिसिलबाट देखिएकोले नयाँ र महत्वपूर्ण विषय देखिँदा रिभ्यूको निस्सा भएको छ । लगतमा दर्ता गरी नियमबमोजिम पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१८।८।२२।४ को आदेश ।

      ११.    निवेदक, वादीतर्फको वारेस छलफलमा रुजु रही हक इन्साफ होस भन्ने जिकिर र प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वकील एकभोकेट कृष्णप्रसाद उपाध्यायले ०१० सालसम्म धनमायाँ जिवीत भएकोले निजलाई वादीले बण्डापत्रको शर्तबमोजिम खर्च दिएको र अरु कुनै व्यवहार गरेको हुनु पर्ने नभएको, सो नभएबाट ९८ सालमा धनमायाँले बण्डाको शर्त बदर गरेको । बण्डापत्रमा हकको साथै कर्तव्य पनि तोकिएको । सो कर्तव्य नगर्ने वादीको हक नभएको । वादीले नै वादीमा हेरविचार गर्न आवश्यक नभएको भनी लेखेकोले बण्डाको शर्तको पालन नगरेकोलाई स्वीकार गरेको देखिन्छ । ९८ सालदेखि प्रतिवादीका नाउँमा दर्ता भई भोग चलन गरेको । सो देखेपछि वादीले आफ्नो हक कायम गराउनुपर्ने नगरेबाट मायामारेको देखिने । विधवा अंश धनको ८ नं. दानदातव्यको १५ जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं. बमोजिमको म्याद भित्र उजुर नभएको समेतबाट वादी दावा पुग्न नसक्ने भनी बहस गर्नुभयो ।

      १२.   प्रस्तुत मुद्दामा भद्रसिलाकोतर्फबाट वादी लिलाकुमारी, चन्द्रकुमारी आएको देखियो । अबण्डा रहेको श्रीसम्पत्तिमा वादीहरूको हकदैया पुग्छ पुग्दैन बण्डा भाग पाउने नपाउने के हो ? म्याद भित्रको यो उजुर हो होइन ? त्यसतर्फ विचार गरी निर्णय गर्नुपर्ने देखिन आएको छ ।

      १३.   ८८ सालको बण्डापत्रमा तपसीलमा देखिएबमोजिम ४ भाग गरी म बोधप्रसाद वेदप्रसादको दुई भाग अंशमा ३ भागको १ भागको १ भाग बाबा र जेठी आमाको अंश रही म बोधप्रसादले जिम्मा बुझिलिएको । तपाँई दाजु गणेशप्रसाद र लक्ष्मीप्रसादको दुई भागमा पनि सोहीबमोजिम ३ भागको १ भाग बाबा जेठी आमाको अंश रही तपाँई दाजु गणेशप्रसादको जिम्मा रहेकोभन्ने उल्लेख भएकोले छोरा स्वास्नीहरू समेतको बीच दातारामले श्रीसम्पत्ति बण्डा गरी आफू र जेठी स्वास्नी धनमायाँको अंश जीउनी मिसाई सगोलमा राखेको देखियो ।

      १४.   दातारामको शेषपछि निजको अंश भागको जिउनी अपुतालीको ६ नं. ले धनमायाले व्यहोर्न पाउने श्रीसम्पत्ति देखिन्छ । धनमायाले त्यसरी व्यहोर्न पाउने दातारामको अंश भागमा निजको शेषपछि वादीहरूको सासु भद्रसिलाको हक लाग्छ लाग्दैन भन्ने कुरातर्फ उक्त ६ नं. ऐनमा भिन्न बस्ने स्वास्नी छोरा बुहारीले पाउँदैननभन्ने उल्लेख भएबाट दातारामको जिउनीमा निजको शेषपछि भद्रसिलाको हकवादी नलाग्ने प्रष्ट देखिएकै र २ छापे फैसलाबाट पनि सो कायम भएको पाईन्छ ।

      १५.   भद्रसिलाको हक दावी नपुगे पछि निजको छोरा बुहारीको हक लाग्छ लाग्दैन भन्नेतर्फमा पनि ८८ साल भाद्र २० गते रोज ७ को बण्डापत्रमा माथि देखिएकोबाट जेठी आमालाई तिर्थ बस्ता खर्च नपठाई हिमायत गरे जुन छोराले हिमायत गर्छौ उसले मदेश अबण्डा रहेको लिने छैनौं भन्ने शर्त उल्लेख भएको । वादीहरूका लोग्ने वेदप्रसाद, बोधप्रसादले उक्त शर्त पूरा नगरेको भन्ने कुरा धनमायाले प्र. गणेशप्रसाद, लक्ष्मीप्रसादलाई ९८ सालमा गरी दिएको बकसपत्रबाटै देखिएकै छ । अबण्डा रहेको धनमाल बण्डा गरी पाउँ भन्ने वादी दावी भएकोले विधवा अंशधनको ८ नं. लगाई खारेज गरेको मनासिव होइन भन्ने वादीतर्फको जिकिरलाई ०११ सालमा यिनै वादीहरूले दिएको फिरादमा लिखत बदर गराई अबण्डा रहेको धनमालसमेत बण्डा गरी पाउँ भन्ने दावी लिएको । ९८ सालमा धनमायाले प्रतिवादीहरूलाई गरी दिएको बकसपत्रउपरसमेत वादी दावी भएकोले अंशबण्डाको ६१ नं. को विचार भई उक्त ऐनको म्याद कायम गर्नुपर्ने भन्नेसमेत जिकिर लिए पनि ९८ सालमा गरी दिएको बकसपत्र हेर्दा अबण्डा रहेको पहाड र मदेशको जेथा केही हालै देखि खान पाउने केही शेषपछि खान पाउने र शेषपछि खान पाउने पनि निजैहरूले कमाई त्यसबाट धनमायालाई खर्च पुर्‍याउने शर्त राखी निजैहरूको भोगमा राखेको देखियो । बिधवाले आफ्नो धन के कति आफ्नु खुश गर्न पाउने भन्ने कुरा सोही विधवा अंशधनको महलमा लेखिएको र विधवाले आफू खुशी गर्न पाउने भन्दा बढी आफू खुशी गरेकोमा उजुर गर्नलाई पनि विधवा अंशधनको महलको हदम्याद विचार गर्नुपर्ने हुन आउँछ । विधवा अंशधनको ८ नं. मा सो गरेको २ बर्ष भित्र उजुर गर्नुपर्ने भनी प्रष्ट उल्लेख भएको पाईन्छ । धनमायाले प्र.गणेशप्रसाद, लक्ष्मीप्रसादलाई गरी दिएको बकसपत्रको श्रीसम्पत्ति विधवा धनमायाको एकलौटी अंश धन भई ९८ सालमा बकस गरी दिईसकेको लिखत उपर ०११ सालमा मात्र वादीहरूको उजुर परेको देखिन आएकोले लिखत बदरतर्फ उजुर खारेज भई त्यसबाट जग्गामासमेत हक नपुग्ने ठहाराएको ०१४।९।१९ को सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिव देखिन्छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

निवेदक, वादी देहायका मानिसकै इन्साफ दोहराएमा शुरु दण्ड जनही भा.रु. ५ को हा.क. का ११ नं. ले दशौंद भा.रु. । को भा.रु. १०० को ने.रु. १६०। ले ने.रु. ।८० का दरले दण्ड हुन्छ वारेस हुँदा असूल गर्नु भनी तहसीमा लगत दिनु ......................१

लिलाकुमारी आचाज्र्येनी १, चन्द्कुमारी आचाज्र्येनी १

नियमबमोजिम मिसिल बुझाई दिनु ......................२

 

इति सम्वत् २०१९ साल पौष २० गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु