शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०९ - थैली तिरी जग्गा उकास गरी पाउँ

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. २०९      ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

दे.फु.नं. ९८

निवेदक, प्रतिवादी : हरि शर्मा पाध्या समेत

विरुद्ध

विपक्षी, वादी : छत्रवीर लिम्बुको मुद्दा सकार गर्ने कृष्णबहादुर लिम्बु

मुद्दा : थैली तिरी जग्गा उकास गरी पाउँ

(१)   कानून विरुद्ध बेरीतबाट भएको दर्तालाई मान्यता दिन नमिल्नेरैकरमा दर्ता नगरी लिम्बुवानको किपट जग्गा छिन्ती राजिनामा लिनु दिनु गर्न नहुने ।

            ८० सालको लालमोहर ८४ सालको सनदबाट जसकर्णको नाती छत्रवीरको नाउँमा रैकरमा परिणत भई दर्ता हुन आएको सो हर्राबोटे खेत ।४५ लालमोहर सनद हुनुभन्दा अगावै ७९ सालमा मकर पाध्याबाट लिने हरि शर्माको नाउँमा तेह्रथुम मालमा दर्ता भएको भनी दर्ता उतार आएको । सो दर्ता कानूनबमोजिम भएको भन्न भई कानून विरुद्ध बेरीतबाट दर्ता भएको देखिएकोले त्यस्तो बेरीतको दर्तालाई मान्यता दिन मिलेन । सो दर्ता कायम गरी वादीलाई झिकाउने गरी ०१८।६।१६ मा सिंगलबेञ्चबाट भएको आदेश मनासिव देखिएन । लिम्बुवानको किपट जग्गा छिन्ती राजिनामा गरी लिनु दिनु हुदैन भन्ने ५८ सालमा ठेक्का थितिको सनद भईरहेको भन्ने कुरा मिसिलमा उल्लेख भईरहेको सो सनदको विपरीत पछि रैकर हुने भनी जसकर्णबाट मकर पाध्याले ७०।७४ सालमा र मकर पाध्याबाट ७७।७८ सालमा र हरि शर्माले फार्छे गरी लिनु दिनु गरेको भनी जिकिर गरेको सनदको विपरीत देखिएकाले मनासिव भन्न भएन । लेखिएका कारणबाट रैकरमा दर्ता नहुँदै किपट जग्गा छिन्ति राजिनामा गर्न नहुने र जसकर्णबाट गराई लिएको ७४ सालको लिखतबाट छिन्ति राजिनामा समेत भएको नदेखिएको हुनाले बन्धकी कायम हुन आउने र बन्धकीको थैली तिराई पाउँ भन्ने वादीको दावीसमेत देखिएकाले लिखतहरूबाट देखिन आएको सो हर्राबोटे खेतको थैली रु. ५९५। तिरी वादीले निखन्न पाउने ठहर्छ ।

(प्रकरण नं. २२, २३, २४)

फैसला

      १.     मेरा बाजे जसकर्णले सुवांगी पाउँ भनी छवीलालका दर्ताको तिरो रु. १६।४२ लागेको रैकर ढुड्डे र हर्राबोटे किपट खेत ।६० मध्ये माटो मुरी ।४५ तिरो रु. २२।५० लागेको जग्गा ६५ सालमा सरकारमा रिपोर्ट जाहेर गरेको । ७८ सालमा बाजे जसकर्ण मरेको । ८०।८४ सालमा लालमोहर तिर्जा भई आएबाट बुझ्दा मकर पाध्याले भोगेको छ भनेबाट निजलाई भन्दा मबाट हरि शर्माले सो ढुङ्गे र हर्राबोटे हडिक सौंपुवा गरी लिएको छ, भन्दा परेको थैली बुझी जग्गा छोडी देउ भन्न जाँदा तेरा बाजेले अछिन्न भोगबाट दिएको छ । थैली बुझ्न करलाग्दैन भनी थैली बुझी नलिएकोले नालेस गर्न आएको छु । सो जग्गाको थैली यति भन्ने थाहा भएन । सो हर्राबोटे र ढुड्डे खेतको मकर, हरि शर्मालाई जति रुपैयाँ लिएको ठहर्छ, बुझाई लालमोहर तिर्जाबमोजिम र लिम्बुवानको ठेक्का थितिबमोजिम उकास गरी दरान तिरान गरी खानपाउँ भन्नेसमेत फिरादपत्र ।

      २.    वादीले दावी गरेको ढुड्डे हर्राबोटे रैकर जग्गामा ढुड्डे पुरानु रैकर छवीलाल दर्ता भई निजका छोरा पुर्नध्वजबाट राजिनामा पाई पद्मलालले भोगेको मौका वादीको जिज्यू बाजेहरूले मबाट कं.रु. ९९०। थैली खाइ ०७।११।७ गते राजिनामा गरिदिएतापनि ढुड्डे सो राजिनामाले खान नभई ७१ सालमा पद्मलाल, शिवनिधिबाट राजिनामा गरी लिएको र हर्राबोटे उक्त राजिनामाले भोगी आउँदा ७४ सालमा ५२ बाहाली तिर्न वादीका बाजेले कं.रु. २०० लिई ढड्डा तिर्जामा तिम्रै नाउँमा दुरी दिउँला भन्ने कवोल गरी दिएको हो । ७५ सालमा वादीको बाजेले हर्राबोटेको बाली लुटी खाँदा उजुर परेकोमा राजिनामा सदर भएको यसै अदालतमा छ । ७७ सालमा वादीको कान्छा बाजे हरिलालले एक खला जग्गा वापसपाउँ भनी अमालमा उजुर गर्दा जम्मै जग्गाको राजिनामाबमोजिम हक छाडी मिलापत्र भएको छ । ७८ सालमा हरि शर्माबाट थैली सौंपुवा गरी राजिनामा दिएकोले ७९ सालदेखि हरि शर्माले भोगी खाएको छ भन्ने मकर पाध्याको र वादीका जिज्यू ज्ञानध्वज बाजे जसकर्ण, कान्छा बाज्ये, हरिलालसमेत ३ जनाका राजिनामा र ढुड्डेतर्फ पद्मलाल, शिवनिधिका राजिनामाबमोजिम ७७ सालमा हर्राबोटे र ७८ सालमा ढुड्डेसमेतको प्र. मकरबाट राजिनामा सौंपुवा पाई भोगी आएको । ७९ सालमा बक्यौता उत्री ६६ साल देखिको तिरो मैले तिरी ढड्डामा मेरा नाउँमा दर्ता भई तिरो बुझाई छिन्तिबाटै पाई खाई आएको हो । ९५ सालमा छोरा भिन्न हुँदा देवीभक्तलाई हर्राबोटे र टेकनाथलाई ढुड्डे भाग दिएको । दरान तिरान मेरा नाउँमा गरी आएको छ । चन्द्रलाल पाध्यायले ढुड्डे रैकरको थैली बुझी लिएन भनी उजुर गर्दा राजिनामा सदर भई मैले जितेको मिसिल यसै अड्डामा छ । वादी लेखाइबमोजिम बन्धकी भए आजसम्म सो जग्गा चर्तीफिर्ती हुनुपर्ने नभएको र वादीकै हस्ताबाट तिरो बुझी रसीद गरी दिएको समेत हुनाले थैली बुझ्नुपर्ने होइन भन्ने हरि शर्मासमेतको प्रतिवादी रहेछ ।

      ३.    बन्धकीको सबुद वादीले दिन नसकेको । ७० साल देखि राजिनामा भएको लिखत पेश हुन आएको । जसकर्णले हर्राबोटे ।६० माटो सरकारमा चढाई ६६ सालमा नापजाँच भएको र ७०।७४ सालको राजिनामाबमोजिम प्रतिवादीतर्फबाट बक्यौता तिरी जसकर्णको नाती वादीले रसीद गरिदिएको । सो रसीदहरूमा बन्धकी भन्ने नलेखिएको । ८४ सालको तिर्जाबाट हर्राबोटे जसकर्णका नाउँमा दर्ता देखिएको भए पनि ८४ सालमा मात्र तिर्जा उठेको हुँदा जसकर्णको नाउँ दर्ताहुनु मनासिवै देखिएको । बक्यौता तिरी खानु भनी राजिनामा लेखिएको बक्यौतासमेत प्रतिवादीले नै तिरेको । ७६ सालमा हरिध्वजको र मकर पाध्यायाको अमालमा मुद्दा परी भएको मिलापत्र र चन्द्रलाल र हरि शर्माको थैली बुझाईपाउँ भन्ने मुद्दा परी १३ सालमा भएको फैसलासमेतबाट बन्धकी थैली बुझाई जग्गा निखन्नपाउँ भनी वादी उजुर झुट्टा ठहर्छ । राजिनामाबमोजिम प्रतिवादीले जग्गा भोग गर्न पाउँछ भन्नेसमेत ०१४।४।२१ मा ताप्लेजुङ्ग अमिनीबाट फैसला भएको ।

      ४.    हर्राबोटे खेत ६५ सालको बिन्तिपत्र ६६ सालको नापजाँच हो । तापनि लालमोहर तिर्जा बाँधी नआएसम्म ठेगाना नभई राजिनामा लेख्न हक नपुग्ने लिम्बुवानलाई भएका सनदले फार्छे छिन्ति राजिनामा हक मेटाइ दिनु नहुने लिएको हुनाले बदर गर्नुपर्ने । बदर नगरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको अपील ।

      ५.    छवीलाल दर्ताको ढुड्डे रैकर भनेको कित्ताको हकमा वादीको उजुरीबाट राजिनामा सदर नहुने भन्न नभई त्यसका हकमा छवीलालकै उजुर परेमा ठहरेबमोजिम हुने । हर्राबोटे किपटका हकमा सुवांगी खान्गी फुटाउनालाई वादीको बाजे जसकर्णले ६५ सालमै रैकरमा चढाइ जाहेर गरेको । सो हर्राबोटे ७० सालमा जसकर्णले राजिनामा गरी दिएको । ८० सालमा मात्र ५२ बाहाली रैकरको लालमोहर सदर भई आएको । सो लालमोहरमा अघिको व्यवहारमा यसो गर्नु भन्ने नखुलेको । रैकरको लालमोहर हुनुभन्दा अघि सो हर्राबोटे ठेक्का थितिको सनदले किपट नै कायम ठहर्ने हुँदा माललाई भएका ५८ सालको सदनले छिन्ति राजिनामा गरी दिन नहुने दिएको भए पनि सदर नहुने । छिन्ति राजिनामामा भई आफ्नु हक भईसकेको जग्गामा पछि थप रुपैयाँ दिईरहनु नपर्ने । दिएको देखिएकोले साहुहरूले नै राजिनामा कायम नमानी बन्धकी गरेको र रैकर भई आईसकेपछि अर्को राजिनामा गरी लिएको समेत नदेखिएको हुनाले सनद बर्खिलाफको फैसला सदर नहुने हुनाले हर्राबोटेको रु. ५९५ ढुड्डेको रु. ५९५ कायम हुने भई हर्राबोटे खेतको रु. ५९५ थैली बुझाएको बखत हर्राबोटे खेत निखन्न दिनुपर्नेमा निखन्न नपाउने गरी ईलाका अमिनीबाट भएको फैसला केही गल्ती ठहर्छ भन्ने ०१४।९।२४ को धनकुटा अपीलको फैसला ।

      ६.    वादी दावीको हर्राबोटे रैकर जग्गा निजको बाजे जसकर्णले ६० सालमा सरकारलाई चढाइ ६६ सालमा नापी भई ७० सालमा राजिनामा गरी मकरलाई दिएको । सरकारको जंजीर लागि नापी भईसकेपछि जग्गा किपटै रहेछ भन्न नहुने । उसमा पनि ५८ सालको सनद हामी ४ दामे राजिनामाबाट खाने रैतीलाई र रैकर विषयमा भएको होइन । किपटीयाले किपट जग्गा छिन्ति फार्छे गरी लिन नहुने भनी किपटीयालाई भएको सनद हो । यस मुद्दामा लागू नै नहुने रैकर जग्गा राजिनामाबाट खाने रैतीलाई ५८ सालको सनद लाग्ने हो भने अन्य रैतीको जीवनवृत्ति हरण भई मुगलान बास हुने सम्भव देखिन्छ । ७६।७७ सालमा मुद्दा परी राजिनामा सदर भई फैसला मिलापत्र भएको । ६६ साल देखि बक्यौता तिरो तिरेको मोठ ढड्डामा मेरै नाउँमा दर्ता भएकोमा धनकुटा अपीलले हराइ फैसला गरेमा चित्त बुझेन भन्नेसमेत ०१५।१।१३ मा प्र. हरि शर्माको अपील ।

      ७.    ७० सालमा राजिनामा गराउँदा रैकरमा दर्ता भईसकेको नदेखी किपटतर्फ परेको लिखतबाटै देखिएकाले त्यस्तो जग्गा ५८ सालका ठेक्का थितिका सनदले राजिनामा लिनु दिनु गर्न नहुने भई अपीलका फैसलामा लेखिएबमोजिम इन्साफ अपीलको मनासिव छ भनी ०१५।७।१४ मा सिंगल बेञ्चबाट फैसला भएको रहेछ ।

      ८.    दर्ता ढड्डा नबुझी फैसला भएकोले सो बुझी दोहर्‍याइ दिनु भन्ने आदेश गरी पाउँ भन्ने हरि शर्माको निवेदनपत्र ।

      ९     दर्ता बुझी आएपछि पेश गर्नु भनी ०१६।४।२३ गते सिंगलबेञ्चको आदेश ।

      १०.    झिकाइ आएका दर्ता उतारबाट ६६ साल देखि बाली आउने भनी ७९ सालमा हर्राबोटे रैकर छेउ भनी दर्ता भएको देखिएकोले किपट किन बेच गरेको भन्न नहुने । सो दर्ताबाट महत्वपूर्ण नयाँ प्रमाण देखिएकाले रिभ्यूको निस्सा गरी दिएको छ भन्ने ०१६।८।२१ को सिंगलबेञ्चको आदेश ।

      ११.    जग्गाको नक्सा गरी आएपछि पेश गर्नु भन्ने ०१७।८।१ को सिंगलबेञ्चको आदेश।

      १२.   ०१७।९।२४ मा जग्गाको नक्सा मुचुल्का भई आएको रहेछ ।

      १३.   थैली बुझाई पाउँ भन्ने मुद्दामा ०१३ जेष्ठमा छिनेको छिनुवा मिसिल झिकाइ आएपछि पेश गर्नु भन्ने ०१८।१।१३ को सिंगलबेञ्चको आदेश ।

      १४.   किपटिया जग्गा भन्न नहुने हुँदा थितिरितीमा घटबड पर्नेसमेत गरी अपील र सिंगलबेञ्चबाट भएको फैसला रायसँग यसबेञ्च सहमत नभएकोले छलफलमा झगडीयालाई झिकाइ निर्णय निमित्त डिभिजन बेञ्चमा पेश गर्नुभन्ने ०१८।६।१६ को सिंगलबेञ्चको आदेश ।

      १५.   ०१६।८।२१ को सिंगलबेञ्चको आदेशबाट दोहरिने भई टुंगो लागि नसकेको देखिएकाले सर्वोच्च अदालत नियमावली संशोधन, २०१८ को नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने ०१९।१।४ को डिभिजन बेञ्चको आदेश ।

      १६.    यसमा वादी प्रतिवादी दुवै पक्षको दावी जिकिरसमेत बुझी विचार गर्दा, निखनाइ पाउँ भनी वादी पक्षले दावी गरे मध्येका तिरो रु. १६।४२ लागेको ढुड्डे खेतको हकमा सो खेत छवीलालको नाउँमा ५० सालमा दर्ता भएको भन्ने कुरामा वादी सावितै भएको । दर्तावालाबाट यो परिबन्दले लिई मेरो हक भएको भनी वादीमा उल्लेख भएको नदेखिएको र ढुड्डे खेततर्फ दर्तावाला छवीलालको उजुर परेका बखत ठहरेबमोजिम हुने भनी धनकुटा अपीलबाट भएको फैसलाउपर वादीको अपील परेको समेत नदेखिएकाले त्यसतर्फ इन्साफ धनकुटा अपीलको मनासिव छ ।

      १७.   हर्राबोटे खेत मुरी ।४५ को हकमा सो खेत ७०।११।७ गते वादीको बाजे जसकर्ण लिम्बुसमेत ३ जनाले रु. ९९०। मा मकर पाध्यालाई फार्छे भन्ने शब्द परी गरिदिएको लिखत र त्यसपछि ७४।११।२५ गते जसकर्ण लिम्बुले उनै मकर पाध्यासँग बढ भनी रु. २००। लिई अघिको तमसुकी रु. ९९०। समेत गभाई जम्मा रु. ११९०। मा सोही हर्राबोटे खेत मुरी ४५। पाखुरे निब्र्याजी तमसुक लेखी दियौं भन्ने लिखत भएको देखियो ।

      १८.   ७०।११।७ गतेको रु. ९९०। को लिखतबाट फार्छे कायम भईसकेको भए त्यसपछि थप रुपैयाँ दिई ७४।११।२५ मा अर्को तमसुक गराउनै नपर्ने गराएबाट सो ७०।११।७ को लिखतलाई साहु स्वयं आफूले फार्छे कायम गरेको देखिएन ।

      १९.    ७१।१२।२५ गते बढ भनी थप रु. २००। लिई जम्मा रु. ११९०। को लिखत भएको । सो लिखतबाट फार्छे कायम हुन्छ कि भन्नालाई सो लिखतमा फार्छे भयो भन्ने शब्द परेको नदेखी उक्त लेखिएबमोजिम पाखुरे निब्र्याजीको तमसुक भन्ने लेखिएकोबाट सो लिखत बन्धकी रहेछ भन्ने देखिन आयो ।

      २०.   सो लिखतहरूमा सुवांगी पगरी पाउन निमित्त आफ्ना हर्राबोटे किपट खेतसमेत रैकरमा दर्ता गराउन ६५ सालमा सरकारमा निवेदन दिएको छु । सरकारबाट ढड्डा तिर्जा उत्री आएका दिन दर्ता गरी दिउला भन्ने व्यहोरा लेखिएको हुनाले सरकारबाट रैकरमा दर्ता गरी दिनु भन्ने निकासा नहुँदै किपट जग्गालाई फार्छे लेखी दिएको भए पनि सदर मान्नु भएन ।

      २१.   हर्रावोटे खेत ।४५ को ठेक रु. २२।५० ठेकी मोही जसकर्णका नाउँमा सुवांगी पगरीको लालमोहर ८०।९।५ गते भएकोले सुब्बा राईहरूको नाउँका तेरिजबमोजिम निजहरूबाट असूल तहसील गर्नु भनी तेह्रथुम मालका नाउँमा सनद गरिदिने ठहराई जाहेर गरेको ८४।९।९ मा तोक सनद भएको भनी पहाड बन्दोबस्त रिपोर्ट फाँटबाट ८४।९।१० मा जसकर्णको नाती छत्रवीर लिम्बुका नाउँमा जिम्मावालीको तेरिज गरी दिएको देखियो ।

      २२.   उक्त लेखिएबमोजिम ८० सालको लालमोहर ८४ सालको सनदबाट जसकर्णको नाति छत्रवीरमा नाउँमा रैकरमा परिणत भई दर्ता हुन आएको सो हर्राबोटे खेत ।४५ लालमोहर सनद हुनुभन्दा अगावै ७९ सालमा मकर पाध्याबाट लिने हरि शर्माका नाउँमा तेह्रथुम मालमा दर्ता भएको भनी दर्ता उतार आएको । सो दर्ता कानूनबमोजिम भएको भन्न नभई कानून विरुद्ध बेरीतबाट दर्ता भएको देखिएकाले त्यस्तो बेरीतको दर्तालाई मान्यता दिन मिलेन । सो दर्ता कायम गरी वादीलाई झिकाउने गरी ०१८।६।१६ मा सिंगलबेञ्चबाट भएको आदेश मनासिव देखिएन ।

      २३.   लिम्बुवानको किपट जग्गा छिन्ति राजिनामा गरी लिनु दिनु हुँदैन भन्ने ५८ सालमा ठेक्का थितिको सनद भईरहेको भन्ने कुरा मिसिलमा उल्लेख भईरहेको । सो सनदको विपरीत पछि रैकर हुने भनी जसकर्णबाट मकर पाध्याले ७०।७४ सालमा र मकर पाध्याबाट ७७।७८ सालमा हरि शर्माले फार्छे गरी लिनु दिनु गरेको भनी जिकिर गरेको सनदको विपरीत देखिएकाले मनासिव भन्न भएन ।

      २४.   लेखिएका कारण परिबन्दबाट रैकरमा दर्ता नहुँदै किपट जग्गा छिन्ति राजिनामा गर्न नहुने र जसकर्णबाट गराई लिएको ७४ सालको लिखतबाट छिन्ती राजिनामा समेत भएको नदेखिएको हुनाले बन्धकी कायम हुन आउने र बन्धकी हो थैली तिराई पाउँ भन्ने वादीको दावी समेत देखिएकाले लिखतहरूबाट देखिन आएको सो हर्राबोटे खेतको थैली रु. ५९५। तिरी वादीले निखन्न पाउने ठहर्छ ।

      २५.   बन्धकी कायम गरी वादी पक्षले निखन्न पाउने ठहराई धनकुटा अपीलबाट ०१४।९।२४।३ मा भएको फैसला मनासिव छ तपसीलको कुरामा तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी छत्रवीरको मुद्दा सकार गर्ने कृष्णबहादुरले प्र हरिशर्मालाई बन्धकी थैली रु. ५९५ तिरी निखन्न पाउने ठहरेको वादी दावीको हर्राबोटे खेत मुरी ।४५ निखनाई पाउँ भनी यो मिसिल दाखिल भएका मितिले २५ दिन भित्र धरौट राख्न ल्याएमा लिई ऐनसवालको रीतपुर्‍याई प्र. हरिशर्मालाई झिकाई सो रुपैयाँ दिलाई वादीलाई निखनाई दिई दशौद विशौद लाग्दैन नलिनु भनी ताप्लेजुङ इलाका अदालतमा लेखी पठाइ दिनु भनी का.दे.त मा लगत दिनु...............१

प्र. हरिशर्माले झार्नु पर्ने थैली रु. ५९५ नबुझेमा सा.अ.को ५२ कं.नं. बमोजिम सयकडा २ । ले रु. १५।८७।२ दण्ड हुनेमा निज हरिशर्मालाई धनकुटा । अपील अड्डाका १४।९।२४ का फैसलाले लिने गरेको दण्ड रु. १ कटाई बाँकी रु. १३।८७।२ र मुद्दा दोहर्‍याएमा हा.का १० नं. ले सो हुने दण्डको दशौद रु. १।४९ थप दण्डसमेत जम्मा ने.रु. १५।३६।२ दण्ड असूल गर्नु भनी ताप्लेजुङ इलाका अदालतलाई लेखि पठाई दिनु भनी ऐ. लगत दिनु...................२

उल्टीमा देहायका मानिसको रेकर्ड राख्नु भनी रजिष्ट्रार अफिसमा लेखि पठाई दिनु .................३

ना.स.तेजप्रसाद धिताल हाल जिल्ला १, न्यायाधीश विरगञ्ज जिल्ला अदालत १, त.ख.इन्द्र नारायण श्रेष्ठ १

मिसिल नियमबमोजिम गरी बुझाई दिनु ..............................४

 

इति सम्वत् २०१९ साल जेष्ठ २ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु