निर्णय नं. २१० - हाल आवादी

निर्णय नं. २१० ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. १६५
निवेदक, वादी : सोहरत तेली
विरुद्ध
विपक्षी, प्रतिवादी : कृष्णप्रसाद उपाध्याय समेत
मुद्दा : हाल आवादी
(१) खोलाले आफू हिंडेको बाटो छोडी आर्को बाटो लाग्यो भने खोलो हिंडेको बगर रैकर हुन्छ–त्यस्तो जग्गा हाल आवादीमा पाउँ भनी रैकर तिरो असूल हुने आफ्नो इलाका मालमा दर्खास्त दिनुपर्ने ।
तिनाउ नदीले छाडी बिर्तातिर बगर पर्न आएको नाप जाँचबाट ठहरेको जग्गा विगाहा १६।।। का हकमा वादी सोहरतले अगाडि बिर्ता मालमा दर्खास्त दिई चलनीसमेत पाई सकेकोमा प्रतिवादी रामप्रसाद कृष्णप्रसादले हाल आवादीमा पाउँ भनी माझखण्ड मालमा दर्खास्त दिएकोले प्रतिवादीको दर्खास्त दोहरा भई कारवाई चल्न सक्ने नसक्ने के हो भन्नेतर्फ विचार गर्दा, जग्गा मिच्नेको ३ नं. मा “खोलाले आफू हिंडेको बाटो छोडी आर्को बाटो लाग्यो भने त्यो खोलो हिंडेको बगर रैकर हुन्छ” भन्ने उल्लेख भएको । त्यस्तो जग्गा हाल आवादीमा पाउँ भनी रैकर तिरो असुल हुने आफ्नो इलाका मालमा दर्खास्त दिनु पर्ने प्रष्ट छ । प्रतिवादीहरूले अधिकार प्राप्त इलाका माझखण्ड मालमा दर्खास्त दिएको भन्ने वादीको भनाई नभई बिर्ता मालमा मैले पहिले दर्खास्त दिएको भन्ने दावी भएको । बिर्ताको तिरो असूल गर्ने बिर्ता मालले रैकर जग्गाको हाल आवादीमा दर्खास्त लिई सो अड्डाबाट बाहाली दिएकै भए पनि रैकर जग्गा हाल आवादीमा पाउँ भन्ने बिर्ता मालमा दिएको दर्खास्तलाई पहिला भनी मान्यता दिन नमिल्ने हुनाले अधिकार प्राप्त मालमा कानूनबमोजिम पहिले दर्खास्ता दिने प्रतिवादी रामप्रसाद, कृष्णप्रसादको दर्खास्तबाट कारवाई चल्न नसक्ने भन्ने निवेदक, वादीतर्फको बहस जिकिर पुग्न सक्तैन ।
(प्रकरण नं. १६, १७)
फैसला
१. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा,
२. सक्रौ बिर्ता माल तालुकको मौजे भर्थापुरको जमिनमध्ये नदीले छोडेको पर्ती जग्गा अं.२० विगाहा हाल आवाद गरी पाउँ भनी मेरो सक्रौ बिर्ता मालमा दर्खास्त परी सरजमिन बुझ्दा जग्गा आवाद लायक ठहरी आवाद गर्न बिर्ता मालबाट चलानी पुर्जी पाएकोमा जिमिदारको कारिन्दा खगराजले आफ्ना मेलका भर्थापुरका रैती उठाई मसमेतका नाउँमा झुक्याई मुचुल्का गरायो भन्ने बेथरी अमिनीमा मुद्दा दायर गराएमा मेरोसमेत प्रतिवादी परी कारवाई चलीरहेकोछ । निज खगराजले आफ्ना मानिस परासी इलाकामा रामप्रसाद, कृष्णप्रसादबाट सो मेरो दर्खास्त परेकै जग्गामध्ये रैकर बगधुरवाको जमिन पर्यो भनी हाल आवादीमा दर्ता गराउन हालै दर्खास्त दिलाई माझखण्ड मालबाट मुचुल्का गराई लगेको कुरा हालै मैले थाहा पाएकोले एक ठाउँबाट हाल आवादीको दर्खास्त परी कारवाई हुँदा हुँदा उसै जग्गाको अर्को ठाउँमा दर्खास्त दिई चलाएको कारवाई ऐनले नचल्ने । मेरो दर्खास्तको जग्गामा रैकर जग्गा पर्न गएको ठहरे पनि ज.मि.का.नं. ३ ले सरकारमा तिरो भरो गरी जग्गा मैले नै खान पाउने र बिर्तातर्फ बगर परेको हुँदा बिर्तावालबाट कारवाई भएको छँदाछँदै माझखण्ड मालबाट दोहरी कारवाई चल्नुनपर्ने हुनाले पछि परेको दर्खास्र्तबाट कारवाई चलेको माझखण्ड मालको कारवाई खारेज गरी पाउँ भन्नेसमेत व्यहोराको ०१५।३।१८ को वादी सोहरत तेलीको बिन्तिपत्र बयान ।
३. बगधुरवाको सिमाना काटी तिनाउ नदीले लगी पश्चिमतर्फ भाटा पर्न गएकोले सो भाटा पर्न गएको अं. १२ विगाहा हामी सुकुम्बासी भएकोले दर्ता गरी पाउँ भन्नेसमेत कृष्णप्रसाद उपाध्याय रामप्रसाद उपाध्यायको ०१५।१।९ गतेको दर्खास्त परेमा माल, गोश्वारा अमिनी सक्रौ बिर्ता माल साक्षी राखी सरजमिन नापजाँच गर्दा तप्पे सक्रौ मौजे भर्थापुर बिर्ता मेठ बन्दीभित्रको तिरो नलागेको पर्ती जग्गा विगाहा १०।२।।२ र नदी तिनाउले छाडेको बगर जग्गा बगधुरवाको सिमाना काटी बगर पर्न आएको जग्गा विगाहा १६।।। समेत जम्मा जग्गा विगाहा २७९।।२ पूर्ति देखिन आएको रहेछ ।
४. बिर्ताको मेठ बन्दीभित्र परेको जग्गा विगाहा १०।२।।२ को हकमा बिर्तावारले नैे ठहरेबमोजिम गर्ने हुँदा त्यसमा केही विचार गर्नु नपर्ने बिर्ता बाहेक नदीले छाडेको बगर हुन आएको जग्गा विगाहा १६।।। बिर्ता जग्गा नभई बगधुरुवाको सिस्वाको जग्गा तिनाउ नदीले काटी बिर्ता भर्थापुरमा पारी दिएको देखिएकोले सो जग्गा कृष्णप्रसाद रामप्रसादको दर्खास्त परी नाप जाँच सरजमिन भई आएको र सोहरत तेलीको मौजे सिस्वामा शिर जिरायत जिमिदारी भए पनि ज.मि. को ३ नं. ले खोलो पसी वारी पारी भएको जग्गा बिर्ताबारकातर्फबाट आफ्ना बिर्ता भन्दा बढी जग्गाको सरकारमा तिरो भरो गरी खान पाउने कृष्णप्रसादसमेतको दर्खास्त बगधुरुवाको जग्गाबाट बिराउने देखिएको । उसमा पनि सो जग्गासमेत बिराउन पाउँ भनी बिर्ता मालमा सोहरतको दर्खास्त परी नाप जाँचबाट ठहरेबमोजिम गर्ने गरी बिर्तामालबाट चलन पुर्जी भईसकेकोले बिर्ता जग्गामा गाभिएको जग्गा रैकर मालबाट दर्ता गर्न नमिल्ने भन्नेसमेत माझखण्ड मालको ०१६।२।२६ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत रामप्रसाद उपाध्याय कृष्णप्रसाद उपाध्याय समेतको अपील ।
६. हाल आवादी दिनेतर्फ ०८।१२।१९ मा प्रकाशित आदेशानुसार सक्रौ माल र माझखण्ड मालबाट समेत भई आएको नदेखिएको । जुन विषयलाई लिएर सरकारबाट जुन नियम लागू गर्ने आदेश भएको छ त्यसको पालन नगरी नगराई जग्गाको हक बेहक गर्नु अनुचित मात्र होइनकी भएका आदेश अडरको ख्याल नगरेको भन्न पनि अत्युक्ति नहुनाले यस मुद्दामा हाल आवादीतर्फबाट कारवाही हुन आएको जग्गा विगाहा २७९।२।।२ आवाद गर्नु नहुनाले भन्ने कसैको उजुर परी आएको नहुनाले जग्गा हाल आवादीमा दर्ता गर्न मनासिव छ । दर्ता गर्ने हकमा ०८।१२।१९ का गजेट भूमि वितरण नियमले हाल आवादी स्थानीय सुकुम्बासीलाई नै प्राथमिकता दिएकोले जिमिदारी जग्गा भएको सोहरतका हकमा विशेष विचार गर्नु परेन । यो जग्गा मेठबन्दीमा पर्ने भर्थापुरको जग्गा विगाहा १०।२।।२ जग्गा र बगधुरुवाको विगाहा १६।।। लाई निज मौजका सुकुम्बासीको दर्खास्त पर्न आए निजहरूका हकमा र म्यादमा दर्खास्त पर्न नआए निवेदक कृष्णप्रसाद रामप्रसादका नाउँमा निजहरूले नियमले पाउने जग्गासम्म र बाँकी जग्गालाई त्यस्तै अरु मौजाको सुकुम्वासीलाई दिने बन्दोबस्त गरी सदर गर्न जाहेर गर्नु भनी माझखण्ड मालमा मिसिल पठाई दिने भन्नेसमेत पाल्ही माझखण्ड गोश्वराबाट भएको ०१७।३।४।६ को फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भन्नेसमेत वादी सोहरत तेलीको अपील र रामप्रसाद समेतको अपील ।
८. यस्तो झगडा परेकोमा सक्रौ बिर्ता मालसमेत मुछिएको हाल आवादी मुद्दामा रामप्रसाद, कृष्णप्रसादको दर्खास्तबमोजिम आवाद गर्नलाई सक्रौ बिर्ता मालले चलानी दिएकोबाट सोहरतको हक भईसकेको भनी दावा गर्ने सोहरतको उजुरी मनासिव हो होइन भनी निर्णय दिने अधिकार माललाई मात्र भएको नदेखिएकोले अदालतबाट फैसला गराई आफ्नो हक गराई रामप्रसाद समेतले लिनुपर्छ । माल, गोश्वराबाट भएको फैसलाको लगत काटी शुरुको कारवाईको निमित्त यो मिसिल तौलिहवा जिल्ला अदालतमा पठाई दिनु भन्नेसमेत पश्चिमाञ्चल उच्च अदालत सिंगलबेञ्चबाट भएको ०१७।१०।२५ को फैसला ।
९. सोहरतले दर्ता तिरो गरेको भर्थापुरको जग्गा विगाहा १०।२।।२ सदरै र बगधुरुवाको जग्गा विगाहा १६।।। सुकुम्वासी रैती रामप्रसाद कृष्णप्रसादले पाउँछ भन्नेसमेत तौलिहवा जिल्ला अदालतबाट भएको ०१८।२।२२ को फैसला
१०. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी सोहरत तेलीको अपील ।
११. ज.मि.को ३ नं. ऐनले नदीले छोडेको बगर रैकर हुने भई रैकरको तिरो गरी आवाद गर्न पाउने हो । सोहरत तेलीले माझखण्ड मालमा दर्खास्त नगरेको र उसबखतको सक्रौ बिर्ता मालमा मात्र दर्खास्त गरेको हुनाले निजको दर्खास्तबाट रैकर पट्टिका जमिन आवाद गर्न पाउने देखिएन । रामप्रसादका कृष्ण प्रसादका रैकर पट्टि बगधुरुवाको जमिन पाउँ भनी उचित दर्खास्त माझखण्ड मालमा र ज.मि.३ नं. का ऐनबमोजिम दर्खास्त गरेकोलाई बदर होस भन्ने सोहरत तेलीको उजुर पुग्न सक्तैन । तसर्थ, रामप्रसादहरूले माझखण्ड मालमा दिएको दर्खास्त कायम रहेको हुनाले कानूनबमोजिम गर्नु भनी माझखण्ड मालमा मिसिल पठाई दिने भन्नेसमेत सर्वोच्च अदालत पश्चिम दौडाहा मुकाम भैरहवा डिभिजन बेञ्चबाट भएको ०१८।१२।५।१ को फैसला
१२. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याई पाँउ भन्नेसमेत वादी सोहरत तेलीको निवेनपत्रको व्यहोरा पेश हुँदा खोलाले छाडेको जग्गा बिर्ता पट्टिको भई मैले बिर्ता मालमा दर्खास्त दिई चलानी पुर्जी पाई आवाद गरी भोग चलन गरेको र तिरोसमेत तिरेको जग्गालाई विपक्षीले रैकर हुन्छ भनी पाल्ही मालमा पछि दर्खास्त दिई बिर्ता मालबाट चलानी पाएको कुरा गुम गरी चलानी पुर्जी लिएको भन्ने निवेदकको जिकिर हुनाले निवेदकको दर्खास्त पहिले परेको हो र व्यहोरा साँचो रहेछ भने दोहर्याई हेर्ने निस्सा गरी दिएको छ । दुवै थर झगडीया राखी फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।२।२५।५ को आदेश ।
१३. निवेदक, वादीतर्फबाट रहनुभएको विद्वान वकील एकभोकेट कृष्णप्रसाद घिमिरेले बिर्ताको र रैकरको तिनाउ नदी साँध हो भन्ने कुरामा झगडा नहरहेको मेरो पक्षले ०१४ साल पौषमा हाल आवादीको दर्खास्त दिएको । विपक्षीको ०१५ साल बैशाखमा मात्र परेको । मधेश माल सवालको १५४ दफाको रीत नपुगेको र माझखण्ड मालमा दर्खास्त नदिएकोले जग्गा मिच्नेको ३ नं.बमोजिम प्रतिवादीले दिएको दर्खास्त बदर हुन नसक्ने भनी मेरा पक्षलाई हराइयो । हाल आवाद गर्न पाउँ भनेको जग्गा बिर्तातर्फ बगर परेको र जग्गा मिच्नेको ३ नं. ले बिर्ताबारलाई पहिला सहुलियत दिएको । बिर्ताबारले कबुल नगरेको भन्ने प्रतिवादीको भनाई नभएको । माल सवालको १५४ दफा यस्तोमा नलाग्ने यस्तोमा माल सवालको ११५ दफा लाग्नेसमेत हुनाले मेरो पक्षले बिर्ता मालबाट चलानी पाई सकेको भन्ने र प्रतिवादीतर्फबाट रहनुभएको विद्वान वकील एडभोकेट कृष्णप्रसाद भण्डारीले बिर्तावाल बाहेकको बीचको मानिसले जग्गा मिच्नेको ३ नं. को सुविधा प्राप्त गर्न नसक्ने अधिकार प्राप्त मालमा दिएको दर्खास्तबाट मात्र कुन पहिले कुन पछिको भन्न मिल्ने कानूनले अधिकार नभएको । बिर्ता मालमा दिएको निवेदनबाट पहिले दिएको भन्न मिल्दैन । वादीले चलानी पाएको भनेको केबल मेरो निवेदनमा असर पार्नको लागि मात्र बनाइएको हो । तसर्थ, डिभिजन बेञ्चबाट भएको फैसला न्यायसङ्गत छ । सोही सदर रहनु पर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१४. दुवै पक्षको विद्वान वकीलहरूको बहस र उपरोक्त विवरणहरूबाट प्रस्तुत मुद्दामा वादीको बिर्ता मालमा पहिले परेको दर्खास्तको आधारले पछि माझखण्ड मालमा प्रतिवादीहरूको दर्खास्त परी कारवाही चल्न नसक्ने भन्ने वादीको दावी पुग्नसक्ने नसक्ने के हो ? भन्ने कुराको निर्णय दिनुपर्ने देखिन्छ ।
१५. निवेदक, वादीले सक्रौ बिर्ता मालमा हाल आवादी गरीपाउँ भनी दर्खास्त दिई बाहाली लिएको जग्गामध्येमा मिसिल सामेल रहेको नक्सा समेतबाट जग्गा विगाहा १०।२।२ बिर्ता पट्टिकै पर्ति देखिन आएको । त्यसमा बिर्ताबारको अधिकार भित्रकै भई बिर्ता मालबाट चलानी पाई तिरोसमेत चली सकेको देखिएको । सो जग्गासमेत रैकरतर्फको पर्ति हो । हाल आवादीमा पाउँ भनी प्रतिवादीहरूको दर्खास्त परेको समेत नदेखिएको र तौलिहवा जिल्ला अदालतबाट वादीलाई दिलाई दिएको सर्वोच्च अदालत डिभिजन बेञ्चबाट बदर भएको समेत नदेखिनाले त्यसतर्फ केही विचार गर्नुपर्ने देखिएन ।
१६. अब तिनाउ नदीले छाडी बिर्ता तिर बगर पर्न आएको नाप जाँचबाट ठहरेको जग्गा विगाहा १६।।। का हकमा वादी सोहरतले अगाडी बिर्ता मालमा दर्खास्त दिई चलानीसमेत पाई सकेकोमा प्रतिवादी रामप्रसाद, कृष्णप्रसादले हाल आवादीमा पाउँ भनी माझखण्ड मालमा दर्खास्त दिएकोले प्रतिवादीको दर्खास्त दोहरा भई कारवाई चल्न सक्ने नसक्ने के हो ? भन्नेतर्फ विचार गर्दा, जग्गा मिच्नेको ३ नं.मा खोलाले आफू हिंडेको बाटो छोडी अर्को बाटो लाग्यो भने त्यो खोलो हिंडेको बगर रैकर हुन्छ भन्ने उल्लेख भएको त्यस्तो जग्गा हाल आवादीमा पाउँ भनी रैकर तिरो असुल हुने आफ्नो इलाका मालमा दर्खास्त दिनु पर्ने प्रष्ट छ ।
१७. प्रतिवादीहरूले अधिकार प्राप्त इलाका माझखण्ड मालमा दर्खास्त दिनु भन्दा पहिले मैले पनि माझखण्ड मालमा दर्खास्त दिएको भन्ने वादीको भनाई नभई बिर्ता मालमा मैले पहिले दर्खास्त दिएको भन्ने दावी भएको । बिर्ताको तिरो असूल गर्ने बिर्ता मालले रैकर जग्गाको हाल आवादीमा दर्खास्त लिई सो अड्डाबाट बाहाली दिएकै भए पनि रैकर जग्गा हाल आवादीमा पाउँ भन्ने बिर्ता मालमा दिएको दर्खास्तलाई पहिला भन्न, मान्यता दिन नमिल्ने हुनाले अधिकारप्राप्त मालमा कानूनबमोजिम पहिले दर्खास्त दिेने प्रतिवादी रामप्रसाद कृष्णप्रसादको दर्खास्तबाट कारवाई चल्न नसक्ने भन्ने निवेदक, वादीतर्फको बहस जिकिर पुग्न सक्दैन । तसर्थ, ०१८।१२।५।१ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ठहराई छिनेको इन्साफ मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
निवेदक, वादी सोहरत तेलीको मुद्दा दोहर्याएमा शुरु दण्ड ने.रु १।६० को हा.क. का.११ न. ले दशौद ने.का.ने.रु १६ दण्ड हुन्छ रुजु हुँदा असूल गर्नु भनी तहसीलमा लगत दिनु....................१
नियमबमोजिम मिसिल बुझाई दिनु..........................२
इति सम्वत् २०१९ साल फाल्गुण १५ गते रोज ४ शुभम् ।