निर्णय नं. २११ - हकदार कायम गरी पाउँ भन्ने

निर्णय नं. २११ ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
दे.फु.नं. १४५
निवेदक, प्रतिवादी : सीतादेवी नापितनी
विरुद्ध
विपक्षी : पुण्यश्वरी नापितनी
मुद्दा : हकदार कायम गरी पाउँ भन्ने
(१) नातेदार साक्षी सरजमिन र व्यवहारबाट देखिने एकासँग विवाह भएको विवाहिता स्त्रीलाई निजसँग विवाह भएको छैन भनी दावी लिनेले निज स्त्री विवाहिता वा अविवाहिता के हुन् ? सबुद दिनुपर्ने ।
शुरु प्रतिवादीमा दाज्यु कृष्णमानको विवाह नै भएको थिएन भन्ने जिकिर लिन नसकी पछि मात्र विवाह नभएको भनी जिकिर लिएकी । साधारणतः स्वास्नी मानिसले आफ्नो लोग्ने नभएकोले लोग्ने हो भन्न कठिनै पर्ने र वादी कृष्णमानको स्वास्नी नभए अरु कसैको स्वास्नी वा अविवाहिता के हुन् ? त्यस कुरा खुलाई लेख्न, सबुद दिन अहिलेसम्म प्रतिवादीले नसकेकी । बुझिएका नातादारहरूले कृष्णमान मेरो साख्खै भानिज हुन् कृष्णमानले पुण्यश्वरीलाई १७।१८ बर्ष अघि विवाह गरी ल्याएको हो । ५।६ बर्ष पछि कृष्णमान मरेका हुन् । निजको श्राद्धसमेत वादीले नै गरी आएकी छन भन्ने राममाया, हेरामाया नापितनी, कृष्णमान । मेरो फुपूको छोरा दाज्यु र पुण्यश्वरी भाउज्यू हुन् । विवाह भएको १७।१८ बर्ष भयो भन्ने नाती नापितनी । कृष्णमानको ३ पुस्ता भित्रको बाजे नाताको हुँ । कृष्णमानले पुष्यश्वरीलाई विवाह गरेको १८।१९ बर्ष भयो । पुरोहित मानकाजी थियो । विवाह भोज खाएको छु भन्ने हरिलाल । कृष्णमानको ३ पुस्ता भित्रको काका नाता पर्ने हुँ । कृष्णमानले विवाह गरेको स्वास्नी पुष्यश्वरी हो भन्ने कृष्णमानसमेत इत्यादि नातादार सरजमिनहरूले लेखिदिएकोमा घुस खाई झुट्टा बके भन्नेसमेत प्रतिवादीले उजुर गर्दा घुस खाए जालसाज गरेको नठहरी अपील तेश्रोबाट ०१६।९।२९।४ मा फैसला भईसकेको र मुर्दा गुठीका गुठीयार वादीका साक्षीहरूले पुष्यश्वरी कृष्णमानको स्वास्नी हुन् भनी बकी लेखिदिएको समेत मिसिल प्रमाणपत्रबाट पुण्यश्वरी कृष्णमानको स्वास्नी भन्ने नै सिद्द हुन आएकोले निवेदकतर्फको जिकिर मनासिव देखिएन ।
निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी, प्लिडर कुलराज
विपक्षी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, प्लिडर नारायणप्रसाद
फैसला
१. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०१८।१०।१० को फैसलाउपर मुद्दा दोहराईपाउँ भन्ने प्रतिवादी सीतादेवीले श्री ५ महाराजाधिराजका हजुरमा दिनुभएको बिन्तीपत्रमा उल्लेखित मुद्दा फुल बेञ्चबाट दोहराई हेरी किनारा गरी दिनु भन्ने हुकुम बक्स भई दायर हुन आएको प्रस्तुत मुद्दा दुवै पक्ष राखी हेर्दा,
२. ससुरा अष्टमान सासु मिश्रीको अरु सन्तान नभई मेरो लोग्ने कृष्णमान र छोरी सीतादेवी जन्म भई सासु ससुरा देहान्त हुनुभएको, गते बारको सम्झना भएन । जातको रीतपुर्याई अन्यायीको दाजु कृष्णमानसँग मेरो विवाह भएको गर्भ धारण नहुँदै बर्ष दिन बाद खसम ०१ सालमा परलोक हुनुभएको । नन्द सीतादेवी र म मिली बसेको थियौं । त्यस्तैमा मेरा माइती घरमा बाबु आमा बाहेक अरु कोही नहुँदा हेरविचार मैले नै गर्नुपर्ने भई बराबर घर माइती गरी आएको । ०५ सालमा हाम्रा घरमा अघि देखि बाहालमा बसेको कर्णमानलाई सालको मोहरू १००। को कबुलियत गराई लिई त्यसपछि सालको बाहाल मोहरू ३०१। दिने व्यहोराको ०१० सालमा कबुलियत गरी दिएको सो घरको बाहाल बारे ०११ सालको बाहाल म लिन्छु भन्ने सीतादेवी म लिन्छु भन्ने पुण्यश्रवरी भई बुझी नदिएकाले बाहाल बुझाई पाउँ भन्ने कर्णमानले मेरा नाउँमा र सीतादेवीका नाउँमा समेत नालेस गरेकोमा सीतादेवीले म बसेको कोठामा अर्को मानिस राखी दाइजो पेवासमेत जत्रतत्र गरेको र कर्णमानको बाहाल बुझाईपाउँ भन्ने मुद्दामा सीतादेवीले दिएको प्रतिवादीको ०११।११।१४ मा नक्कल लिई हेर्दा पुण्यश्ररी मेरा भाउज्यू नै होइन भनी लेखेकीले ३५ दिन भित्र नालेस गर्न आएकी छु । मेरो हक नभए घरमा बस्नेले समेत मेरा नाउँमा कबुलियत गरिदिन नपर्ने, मैले दावी लिन पनि असम्भव र जनसंख्यामा मेरोसमेत नाउँ हुनुनपर्ने, जन्ति भताहासमेत बुझी उमेर २५ की ले ३३ बर्ष देखाएकी, अंशमा निजको दावी नै लाग्न नसक्ने हुँदा सजाय गरी कृष्णमानको स्वास्नी कायम गरी पाउँ भन्ने पुण्यश्वरीको फिराद ।
३. ०१ सालमा दाजु कृष्णमान परलोक हुनुभएको । कर्णमानसँग मुद्दा पर्दा मैले लेखेको प्रतिवादीको व्यहोरा थाहा पाई दाज्यु परलोक हुनुभएको सालसम्म लेखेको हो । साँचै दाजु कृष्णमानको स्वास्नी भए विवाह भएको साल मिति र घर जेथा हक गराउने बजै सानीमायाँको नाउँमा लालमोहर भएको परिबन्द देखाउन र यो पुरेत भई विवाह गराएको भन्ने सबुद दिन सक्नुपर्ने । विवाह भएको मितिसम्म पनि सम्झना नभएको, दाजु परलोक हुँदा मेरो उमेर ३० बर्ष भई सकेकोलाई १३।१४ बर्ष भनी कहीं मौका परे भाउजु कायम हुन पाए मेरो अंशको अवस्था नपुग्ने बेइमानी बाटो खोजेको देखिने । मेरो ब्लक नम्बर ६।६८ को पसलमा ०५ सालमा रु. १००। को कबुलियत गराई पछि ०१०।७।८ मा मोहरू ३०१ बुझाउने बाहाल कबुलियत दरी दिएको साल सालको बाहाल बुझाई कर्णमानलाई भरपाई गरेको छु भनी मिलाई नभएको भाउजु कायम गराई कबुलियत गरी कर्णमानलाई आफ्ना नाउँमासमेत उजुर गर्न लगाई त्यसको आधारमा भाउजु नाता बनी जालसाज गरी परिपञ्च गरेका छन । अरु घरको भोग चलन गुठी माना तिथि श्राद्धको सबुद दिन नसकेकीबाट मौका परे जेथा हात लगाउँला भन्ने हेतुले चलेकी हो । भाउजु होईन । जनसंख्यामा मेरो नाउँ छ । पौषमा झगडीया तुल्याई सकेपछि फाल्गुणमा थाहा पाएको भनी ३५ दिन म्याद भित्र कायम गराई दर्ता गरेको वादी खारेज गरी पाउँ भन्नेसमेत सीतादेवीको प्रतिवादी।
४. मेरो उमेर यो छँदा यो मितिमा यो लमी भई यो पुरेतले कृष्णमानसँग मेरो विवाह गराएको यो यो जन्ति भई यो मितिमा विवाह भएको भन्नेसमेत सबुद वादीले केही दिन नसकेकी । प्र.ले आई.जी.पी.मा बाहालमा उजुर गरेपछि पसलबाट उठ्न नपरोस भनी चलाखीले वादीका नाउँमा कबुलियत मिलाई वादीलाई हकदार देखाउन कर्णमानकै जरियाबाट मुद्दा उठेको देखिएको । गुठीयारलाई हात लिई साक्षी बकाउने व्यवस्था भएको । वादीले खुलाउन नसकेको कुरा साक्षीले बकेको देखिएको । मेरो धनमाल रहेको कोठामा जत्रतत्र गरी मानिस राखेकोमा पछि उजुर गर्नेछु भन्ने लेखेबाट वादी घरमा रहे बसेको नदेखिएको । प्र. ले ०११।८।२४ मा मणिप्रसादलाई भोगबन्धकी दिएकोमा उजुर गरी बदर गराउनसमेत नसकेकी प्र. सीतादेवीका साक्षीले हकदार होईन भनी किटानीसाथ बकेको । वादीको दावीबमोजिम जनसंख्यामा दर्ता नभई कृष्णमानकै नाउँमा भएको । वादी सक्कली हकदार भए प्र. सितादेवीले नभएको हकदार भएर आएकोले बदर बातिल गराउन उजुर बाजुर गर्नुपर्ने, सो नगराएको कारणबाट कृष्णमानको स्वास्नी नभएको सिद्द हुन आएको समेतबाट प्रतिवादीको वादी हकदार कायम हुननसक्ने ठर्हछ भन्नेसमेत देवानी पहिलाको हाकिम र अ.डि. को फैसला ।
५. प्र. ले बाहाल मुद्दामा प्रतिवादी दिँदा हकदार होईन भन्ने लेखेबाटसम्म भाउजु हकदार हुन् भनी दावी गरेको । वादी भाउजु नभए प्र. ले मेरो दाजुको विवाह गरेको छैन वा दाजुको स्वास्नी होईन दाजु भाइ र पुरेतसमेत बुझी पाउँ भनी लेख्न नसकेको । कर्णमानले कृष्णमानको स्वास्नी भन्न नपर्ने । कर्णमानउपर प्रतिवादीले उजुर गर्नुपर्ने जनसंख्या फाराममा मर्दना १ जनाना २ भएको देखिएबाट वादी, प्रतिवादी २ जना देखिएको । वादी नभए फलाना भनी लेख्न सक्नुपर्ने, सो नसकेको । वादीका साक्षीहरूले कृष्णमानको विवाहिता स्वास्नी भनी बकेका । प्रतिवादीको साक्षीहरू मानिस देखिएको । वादीको विवाह प्र. को दाजुसँग नभएको भए प्र. ले वादीको विवाह भएको छैन अथवा यसको साथ विवाह भएको भन्ने लेख्न नसकेको । खाली भाउजु होईन भनी लेखेको । वादी प्रतिवादी भैयाद दाजु भाइ गुठीयार पुरोहित कुस्ले उसतर्फका सरजमिनसमेत बुझी किनार गर्नुपर्नेमा हाकिमले मुद्दा किनारा लगाउनु भएबाट बुझ्न नपाएको । वादी कृष्णमानको स्वास्नी नभए स्वास्नी बनी उजुर गर्न असम्भव सम्झनुपर्ने । प्रमाणबाट कृष्णको विवाहित स्वास्नी ठहर्न आएकोले हकदार कायम गर्नुपर्नेमा हाकिम असिष्टेण्टले हकदार काम गरी ठहराएकोमा राय पर्चा गरेको छु भन्नेसमेत वि.कृष्णध्वजको राय पर्चा ।
६. मुर्दा गुठीका हरेक मानिसले उपकारका निमित्त गुठीयार बन्न सक्ने जनसंख्यामा २ जनामा २ मर्दाना लेखेकोमा नोकर्नी र म समेत २ जना भएको । वादीको माइती भ.पु.इ. बालाछे शिवदासको जनसंख्या बुझिएमा यथार्थ हुने । कर्णमानले उजुर गरेपछि मात्र हकदार बन्ने उद्योग गरेको भाउजु भन्ने कतैबाट नदेखिने । बीचका मानिसलाई भाउजु नाता कायम गराई पर्चा गरेमा चित्त बुझेन भन्ने सीतादेवीले अपील ।
७. विवाह भएको १ बर्षको बाद ०१ साल आषँढमा लोग्ने कृष्णमान परलोक हुनुभई लोग्नेको दागबत्ति काजक्रिया विवाहिता स्वास्नी पुण्यश्वरीले गरेकी भनी किटानीसाथ बकपत्र गर्ने उपर उजुर नपरेको । नन्द भाउजु दुवैको रोहवरमा बाहाल बुझाउनु भन्ने आई.जी.पी. अफीसबाट सुनाई पठाएकोमा ऐनका म्याद भित्र म र कर्णमानउपर हुँदै नभएको भाउजु खडा गरी जालसाजी कबुलियत भरपाई खडा गरेको बदर गरी पाउँ भनी उजुर गर्न सक्नु पर्ने । मणिप्रसादलाई भोगबन्धकी दिएको मलाई थाहा नहुँदा थाहा पाएपछि नालेससमेत गरी सकेकी छु । विचारीको पर्चा सदर गरी पाउँ भन्नेसमेत पुण्यश्वरीको अपील ।
८. प्रतिवादीले कर्णमानउपर बाहालबारे आई जी.पी. मा उजुरगर्दा दुवैजनाको रोहवरमा बुझाएको छु भनी कागज गरी दिएको नक्कल प्रतिवादीले पेश गरेको । त्यसपछि मात्र बाहाल बुझाउन पाउँ भनी उजुर गरेको । वादीका साक्षी जम्मै स्वजातीय भई त्यसमध्ये धिर्जमान ठूलो कान्छा कृष्णमान मुर्दा गुठीका गुठीयारसमेत भएको । यिनीहरूले वादी कृष्णमानको स्वास्नी भनी किटानीसाथ बकेको देखिएको । प्रतिवादीका साक्षी जम्मै अरु जात भई गुठीयारले बोलेको जस्तो अरुको भनाई मान्न नहुने । त्यसमा पनि बाबु काजी सिकर्मी १ जनाले भाउजु हकदार होईन भनी प्र.सीतादेवीले भनेको भनी लेखेको । अरु जम्मैले थाहा छैन भन्ने लेखेको र वादीले कृष्णमानको स्वास्नी भन्न आएपछि सो कुरा साँचो नभए लोग्ने फलानो यस ठाउँमा छ अथवा विवाह भएकै छैन भनी लेख्न सक्नुपर्ने सो नसक्नु नै सबुद प्रमाण बेगर कृष्णमानको स्वास्नी वादी हकदार भाउजु होईन भन्न नहुने समेतबाट विचारीका राय पर्चामा लेखिएका बुँदा प्रमाणबाट विचारीको राय पर्चा मनासिव । हाकिम असिष्टेण्टको गल्ती ठहर्छ भन्नेसमेत अपील पहिलाको फैसला ।
९. मणिप्रसादलाई भोग दिएको कुरा गुम पारी अपीलले कृष्णमानको स्वास्नी पुण्यश्वरी भनी ठहराएको गल्तीछ । आई.जी.पी. बाट कर्णमानलाई पक्राउ भएपछि १०।११ सालको बाहाल २ थरको रोहवरमा पुण्यश्वरीलाई बुझाई भरपाई लिएको छु भनेपछि मेरोसमेत भरपाई हुनुपर्ने । घरको गुठी गाना चलाउनु पर्ने बिर्ता जग्गाको पोता मबाट तिरी आएको र एउटा जनाना हात लिई कर्णमानले उजुर हाल्न लगाई दावा गर्दैमा वादी भाउजु हुने ठहरेको । म विवाह नभई कन्या बसी अरु हक खाने कोही नभई मेरो हक हुन आएको सो घर पुण्यश्वरीको हुन पाउने होईन । पुण्यश्वरीलाई हकदार कायम गरेको बदर गरी पाउँ भन्नेसमेत सीतादेवीको अपील ।
१०. वादीले विवाह भएपछि सीतादेवी सँग सँगै बसेकी भनेको जिकिर गरेकोमा निजकै साक्षीहरूका बकाईबाट लोग्ने कृष्णमान मरेपछि वादी माइती घरमा बसेको भन्ने भएबाट कुरा बाझिन गएकोले वादी सच्चा कुरामा चलेको भन्न नहुने र ९८ सालका जनसंख्यामा मेरो नाउँसमेत दर्ता छ भन्ने वादी जिकिर भई उक्त फाराम नक्कलसमेत दाखिल गरेको छ तापनि वादीले शुरुउपर अपील गर्दा लोग्ने कृष्णमान मेरो विवाह भएको १ बर्षबाद देहान्त भएको भन्ने जिकिर लिएकोबाट सो जिकिरले निजको विवाह २००० सालमा भएको भन्नु पर्ने । त्यस्ता व्यक्तिको नाम सो अगावैका जनसंख्यामा कसरी लेखिन सक्छ र निजको कुरा प्रतित हुने हो ? सो हुनै नसक्ने र प्रमाण निमित्त आएको वादी कर्णमान र प्र. यिनै वादी पुण्यश्वरी समेत भएको बाहाल बुझाई पाउँ भन्ने मुद्दा समेतको मिसिल हेर्दा ११ साल भाद्रमा सीतादेवीले पसलको बाहालबारे कर्णमानउपर उजुर गरी आई.जी.पी. बाट कर्णमानलाई झिकाई बुझ्दा वादी सीतादेवी निजको भाउजु पुण्यश्वरीका रोहवरमा बाहाल बुझाई आएको भन्ने र सो पसलको बाहाल ०५ सालमा मोहर १००। र ०१० सालमा मोहरू ३०१। बुझाउने व्यहोराबाट पुण्यश्वरीलाई कबुलियत गरी ०१० सालसम्मको बाहाल बुझाई पुण्यश्वरीबाट भरपाई लिएको छु भन्ने कर्णमानले लेखेकोमा पुण्यश्वरीले पनि सोही कुरा समर्थन गरी प्रतिवादी दिएको देखिएको । सो कुरा मौकैको र सच्चा व्यवहार भए पुण्यश्वरीलाई कबुलियत गरी बसी ०१० सालसम्मको बाहाल पनि पुण्यश्वरीलाई नै बुझाई बसेको व्यक्ति कर्णमानले पुण्यश्वरी सीतादेवीको रोहवरमा बुझाउने भनी आई.जी.पी. अफिसमा सो कागज गर्नु र ०११ सालको बाहाल बुझाई पाउँ भनी सीतादेवी समेतउपर नालेस गर्नुपर्नेसमेत कारण नभएको हुनाले सो पसल बाहालमा बस्ने कर्णमानले बाहाल नदिई सीतादेवीको उजुर परेपछि पसलबाट उठ्न पर्ला भन्ने चलाखीबाट बीचको आफ्नो मिलेमत गफको वादी पुण्यश्वरीलाई उठाई यो हकदार कायम गराई पाउँ भन्ने झुट्टा नालेस गरे गराएको रहेछ भन्ने देखिएको । त्यसो गर्दा अपीलको रायसँग राय नमिलेकाले छलफलमा वादी पुण्यश्वरीलाई झिकाइ निर्णय निमित्त डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश।
११. वादीका साक्षी कृष्णमान, धिर्जमान ठूलो कान्छा समेतका नापितहरू स्वजातीय र मुर्दा गुठीकै गुठीयार भनी बकपत्र गरेको । यी साक्षीहरूले पुण्यश्वरीको विवाह कृष्णमानसँग भएको भनी किटानीसाथ बकी लेखिदिएकोमा सो होईन भनी प्रतिवादीले कुनै किसिमको उजुर खण्डन गरेको पनि नदेखिएको । मेरो मुद्दाको प्वाइन्ट नै बिगार्ने गरी सरजमिन गरे भनी कर्णमान समेत १२ जनाका नाउँमा दिएको घुस खाई बक्यो भन्ने मुद्दामा पनि घुस खाएको नठहराई छिनेको ०१६।९।२४ को अपील तेश्राको फैसलाबाट देखिएको । उता प्र. सीतादेवीको साक्षीहरूले यो वादी कृष्णमानको विवाहिता स्वास्नी हुँदै होईन भनी किटानी बकपत्र नगरी खाली छैन भन्ने कुराको बकपत्रसम्म गरेको र यिनै प्रतिवादीले पुण्यश्वरी समेतउपर दिएको जालसाजी मुद्दामा जालसाजी नठहरी आजै फैसला भएकोले समेत उपरोक्त कारण प्रमाण परिवन्दबाट र शुरुको विचारीको रायपर्चामा र अपीलको फैसलामा लेखेको बुँदा प्रमाणबाट समेत यो वादी कृष्णमानको विवाहिता स्वास्नी ठहर्ने हुँदा शुरु देवानीको विचारीको राय पर्चा सदर गरी अपीलले गरेको इन्साफ मुनासिफ ठर्हछ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१८।१०।१०।३ को फैसला ।
१२. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहराई फुल बेञ्चबाट हेरी पाउँ भन्नेसमेत व्यहोराको सीतादेवी नापितनीले दिनु भएको तो.नं. १२१४ को बिन्तिपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए निवेदनपत्रमा उल्लेखित मुद्दा फुल बेञ्चबाट दोहराई हेरी ऐन सवालबमोजिम किनारा गरिदिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसूफको प्रमुख सचीवालयबाट ०१९।३।३१ मा लेखी आएको व्यहोरा पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम दोहोराई हेर्ने निस्सा गरी दिएको छ । मुद्दाको लगतमा दर्ता गरी दुवै थर झगडीया झिकाई फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।४।३।४ को आदेश ।
१३. निवेदकका निवेदनमा बक्स भई आएको ०१९।३।३१ को हुकुम प्रमांगी र श्री माननीय प्रधान न्यायाधीशज्यूको ०१९।४।३।४ का आदेशबमोजिम मुद्दा हेरी निर्णय गर्नुपर्ने देखिन आएकोले कजलिष्ट चढाई पेश गर्नु भन्ने सर्वोच्च अदालत फुल बेञ्चको ०१९।८।१६। को आदेश ।
१४. निवेदक, प्रतिवादीतर्फबाट रहनुभएको विद्वान वकील एडभोकेट कृष्णप्रसाद भण्डारी प्लिडर कुलराजले वादीले २००० सालमा विवाह भएको भनी शुरु र अपीलमा लेखेकी । अर्को मुद्दामा ९७ सालमा भएको भनी लेखेबाट वादीकै कुरा र साक्षीको कुरासमेत बाझिएको । विवाह भएको मिति नै निश्चित दिन नसकेकीले वादी झुट्टा देखिने । साक्षी मानकाजी ऐन विरुद्ध बुझिएको । वादी घरको मुख्य भाउजु भए तिरो भरो इत्यादि गरेको हुनु पर्ने । सो सबै प्रतिवादीले गरेको समेतबाट वादी झुट्टा भन्ने सिद्ध छ भनी र वादी पुण्यश्वरीतर्फबाट रहनुभएका विद्वान वकील सिनियर एडभोकेट देवनाथ बर्मा र प्लिडर नारायणप्रसादले हकदार कायम गरी पाउँ भन्ने मुद्दामा पुरोहित इत्यादि बुझ्न नहुने भन्ने विपक्षको भनाइ मनासिव होईन । विवाह भएको ५ बर्ष पछि लोग्ने कृष्णमान मरेको भनेकोमा १ बर्ष भनी लेख्नेलेसम्म लेखी दिएको । भताहा साराले वादी कृष्णमानको स्वास्नी हो भनेका । फिराद लेख र साक्षीको भनाई केही फरक परेको कुराको मात्र विपक्षबाट बहस आएको । वादी कृष्णमानको स्वास्नी होईन भन्नेतर्फ खास कुनै सबुद पेश गर्न नसकेकोले डिभिजन बेञ्चबाट भएको फैसला न्यायसङ्गत हुँदा सोही सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१५. उपरोक्त विवरणहरूबाट प्रस्तुत मुद्दामा वादी पुण्यश्वरी, कृष्णमानको पत्नी हुन् होईनन ? भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आयो ।
१६. डिभिजन बेञ्चका आदेशबमोजिम बुझिएको विवाह गराउने पुरोहित भनेका वादी प्रतिवादीका दोहरो साक्षी मानकाजीले जुद्ध सडकको अष्टमान नापितको घरमा मैले नै पुरोहित्याहीँ गरी आएको थिएँ । कृष्णमानको विवाह गर्ने भएको हुनाले ९६।९७ साल के मा हो, फाल्गुण महिना जस्तो लाग्छ । वादीको कृष्णँमानसँग विवाह गरी ल्याएको हो । मैले कर्म गरी दिएको हुँ भन्नेसमेत बकपत्र गरेको । सो बकपत्र घुस खाई बकेको हुनाले निजउपर नालेस गर्ने हुँदा मुद्दा स्थगित गरीपाउँ भनी निवेदन गर्दा रोकिएन भन्ने निवेदकको मुख्य जिकिर भएको । सो मानकाजीको बकपत्रको आधारमा मात्र डिभिजन बेञ्चबाट फैसला गरेको नदेखिएकाले अरु सबुद प्रमाणतर्फ विचार गर्दा,
१७. म खास कृष्णमानको स्वास्नीलाई भाउजु होईन भनी लेखेकीले कृष्णमानको स्वास्नी कायम गराइ पाउँ भन्ने वादी र नभएको भाउजु गराई कबुलियत गरी कर्णमानलाई आफ्ना नाउँमासमेत उजुर गर्न लगाई त्यसको आधारमा हकदार बन्न आएकी भन्ने प्रतिवादी जिकिर भएको । पसलमा बस्ने कर्णमानउपर घर बाहालमा प्रतिवादी सीतादेवीले गरेको उजुरीबाट कर्णमान बुझिंदा ०८ साल देखि ०१० सालसम्मको ८० का दरले र ०१० साल फुलपाती देखि ०११ साल फुलपाती सम्मलाई रु. ३०१। का दरले पेश्की बाहाल सीतादेवी र निजको भाउजु पुण्यश्वरीका रोहवरमा बुझाई पुण्यश्वरीको भरपाई लिएको छु भनी ०११।५।१५ मा आई.जी.पी. अफिसमा कागज गरेको । सो कागज ०११।६।१७ मा सीतादेवीतर्फबाट सारी लिएको निजैले पेश गरेको कागजबाट देखिएको । ०११ साल बडादशैंदेखि ०१२ साल बडादशैं तकको बाहाल बुझाउन जाँदा म बुझ्छु भन्ने पुण्यकेश्वरी म बुझ्छु भन्ने सीतादेवी भएकाले बुझेमा दुबैजनाबाट नबुझेमा जस्ले बुझ्नु पर्ने ठहर्छ, उसलाई बुझाई पाउँ भनी कर्णमानले नालिस गरेकोमा सो मुद्दाको म्याद ०११।६।५ मा प्रतिवादीले पाएको देखिएकोले साँचै वादी पुण्यश्वरी, कृष्णमानको स्वास्नी नभई बेसरोकारी मानिस भए त्यस्तो बेसरोकारवालालाई आफ्नो घर सम्पत्तिमा हक हुने व्यहोरा देखाएको कुरा आफुलाई जानकारी भएपछि जालसाजीबाट नभएको भाउजु खडा गरे सजाय गरी पाउँ भन्ने दावी लिएको देखिएन ।
१८. अघि देखि नै कर्णमानलाई बाहालमा राखेकोमा प्रतिवादी सावितै भएकी । आफ्नो मात्र हक हुने घर भए आफ्नै नाउँमा कबुलियत हुनुपर्ने । ०८ साल देखि ०११ सालसम्मको बाहालमा दावी गरी प्रतिवादीले कर्णमानउपर दिएको फिरादमा कबोल जमानबमोजिम भन्नेसम्म लेखी लिखत कबुलियत छ भन्न नसकेकी र वादी पुण्यश्वरीबाट कबुलियतहरू पेश भएको ।
१९. शुरु प्रतिवादीमा दाजु कृष्णमानको विवाह नै भएको थिएन भन्ने जिकिर लिन नसकी पछि मात्र विवाह नभएको भनी जिकिर लिएकी । साधारणतः स्वास्नी मानिसले आफ्नो लोग्ने नभएकोलाई लोग्ने हो भन्न कठिनै पर्ने र वादी कृष्णमानको स्वास्नी नभए अरु कसैको स्वास्नी वा अविवाहिता के हुन ? त्यस कुरा खुलाई लेख्न सबुद दिन अहिलेसम्म प्रतिवादीले नसकेकी । बुझिएका नातेदारहरूले कृष्णमान मेरो साख्खै भानिज हुन् । कृष्णमानले पुण्यश्वरीलाई १७।१८ बर्ष अघि विवाह गरी ल्याएको हो । ५ बर्ष पछि कृष्णमान मरेका हुन् । निजको श्राद्धसमेत वादीले नै गरी आएकी छन् भन्ने राममायँँ, हेरामायाँ नापितनी, कृष्णमान मेरो फुपूको छोरा दाजु र पुण्यश्वरी भाउजू हुन । विवाह भएको १७।१८ बर्ष भयो भन्ने नानी नापितनी, कृष्णमानको ३ पुस्ता भित्रको बाजे नाताको हुँ । कृष्णमानले पुण्यश्वरीलाई विवाह गरेको १८।१९ बर्ष भयो । पुरोहित मानकाजी थियो । विवाह भोज खाएको छु भन्ने हरीलाल, कृष्णमानको ३ पुस्ता भित्रको काका नाता पर्ने हुँ । कृष्णमानले विवाह गरेको स्वास्नी पुण्यश्वरी हो भन्ने कृष्णमानसमेत इत्यादि नातादार सरजमिनहरूले लेखी दिएकोमा घुस खाइ झुट्टा बके भन्नेसमेत प्रतिवादीले उजुर गर्दा घुस खाए जालसाज गरेको नठहरी अपील तेश्राबाट ०१६।९।२९।४ मा फैसला भईसकेको र मुर्दा गुठीका गुठीयार वादीका साक्षीहरूले पुण्यश्वरी, कृष्णमानकी स्वास्नी हुन भनी बकी लेखिदिएकोसमेत मिसिल प्रमाणबाट पुण्यश्वरी कृष्णमानको स्वास्नी भन्ने नै सिद्ध देखिन आएकाले निवेदकतर्फको जिकिर मनासिव देखिएन ।
२०. तसर्थ, उक्त कारणहरूबाट र डिभिजन बेञ्चका फैसलामा उल्लिखित बुँदा प्रमाण समेतबाट डिभिजन बेञ्चको ०१८।१०।१०।३ को फैसला मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
निवेदक, प्रतिवादी सीतादेवी नापितनी के ईन्साफ दोहराएमा शुरु दण्ड ने.रु. ५। को हा.का. ११ नं. ले दशौंद ने.रु. ।५० दण्ड हुन्छ । रुजु हुँदा असूल गर्न तहसीलमा लगत दिनु .....................१
मिसिल नियमबमोजिम गरी बुझाई दिनु .......................२
इति सम्वत् २०१९ साल पौष ६ गते रोज ६ शुभम् ।