शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१२ - अंश

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. २१२            ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. ५४

निवेदक, प्रतिवादी : द्रोणबहादुर खड्का क्षेत्री

विरुद्ध

विपक्षी, वादी : देवकुमारी खड्केनी

मुद्दा : अंश

(१)   भोग तिरो दर्ताबाट हक भईसकेकोमा बण्डापत्र पास नभएबाट हक पुग्दैन भन्न नहुने ।

            ८७ सालको बण्डापत्रबमोजिम बण्डा लिई छुट्टिएमा वादी र निजका जेठाज्यू समेत सावित भएको हुनाले त्यस्तो कुरा कायम हुंदैन भन्न न्यायोचित नपर्नेमा पनि दर्ता तिरो भोग प्रतिवादी पक्षका भद्रकुमारीको देखिएकोले दर्ता तिरो भोग भएका जग्गा बण्डापत्र पास नगरेका कारणले मात्र भोग तिरो दर्ताबाट हक भईसकेको घर जग्गा भोग गरी आउनेको हक पुग्दैन भन्न मनासिव नपरेकोले ८७ सालका बण्डापत्रबमोजिम निज भद्रकुमारीको अंश हकको निजको बकसपत्रबमोजिम प्र. द्रोणबहादुरको ठहर्छ ।

(प्रकरण नं. ३०)

प्रतिवादी तर्फबाट : प्लिडर नारायणप्रसाद

फैसला

      १.     ससुरा जगतबहादुरको छोरा पुण्यबहादुर, इन्द्रबहादुर हुन् । मेरा खसम इन्द्रबहादुर र ससुरासमेत परलोक भएपछि जेठाज्यू पुण्यबहादुरसमेतले खान लाउन नदिई हेला गरेबाट अंश देउ भनी भन्दा अंश समेत नदिइ ०६।१२।१ गते निकाला गरेकाले तायदाती लिई अंश दिलाई पाउँ भन्ने ०७।२।१ को देवकुमारीको निवेदनमा कोर्ट फी राख्न सक्दैन भनी बिन्तिपत्रवालाले रोहवरमा बिन्ति चढाएकोले यसमा व्यहोरा साँचो भए हाल कोर्टफी नलिई ठाडै बुझी ऐन सवालबमोजिम गर्नु भन्ने ०७।२।१७ को देवानीका नाउँमा हुकुम प्रमांगी भएको रहेछ ।

      २.    मेरा सासु मरेपछि ससुराले सुगा विधवा र मैयाँ विवाह गरी ल्याएको हो । लोग्ने ९० सालमा र ससुरा ९१ सालमा परलोक हुनुभएको हुन् । मानु छुट्टिएको अघिल्लो दिनसम्मको तायदाती लिई अंश छुट्टायाईपाउँ भन्ने वादीको बयान ।

      ३.    सुगा भन्ने भद्रकुमारीलाई बाबुले बिधवा ल्याएको हो । निजलाई ल्याए देखि भिन्दै राखेको मैयाँलाई बाबुले विवाह गरी ल्याएको हुन् । ९१ सालमा बाबु परलोक भएपछि वादी धेरैजसो माइत र कहिले कँँही घरमा बस्ने गरेकी थिएँ । मैले निकाला गरेको छैन । ०६ साल चैत्र कृष्ण दशमीका दिन वादी माइत गएकी हुन् । सोही दिन देखि मानु छुट्टिएको हो । माहिली आमा बाबु छँदै बेगलै बसेकी हुनाले कान्छी आमा १ म १ वादी १ समेत ३ जना छौं । अंश छुट्ट्याइ दिनमा मञ्जुरी छु । माहिली आमाले अंश पाईसकेकी छन भन्नेसमेत सुवेदार पुण्यबहादुरको बयान ।

      ४.    मेरा खसमको जेठी खड्गकुमारी माहिली म कान्छी मैयाँ समेत ३ स्वास्नी हुन । जेठी पट्टि पुण्यबहादुर र वादीका लोग्ने हुन् । मैले पाउने अंश जग्गा जमिन छुट्याई दिनुहोस भन्दा सौताका छोरा वादीका लोग्नेसमेतको मञ्जुरीले ८७।३।९ गते घरसारमा बण्डा छुट्याई दिएको हुनाले मसँग सगोलको केही छैन । मैले अंश दिनु पर्ने होईन भन्नेसमेत ०८।३।१५ को सुगा भन्ने भद्रकुमारीको बयान ।

      ५.    भद्रकुमारी ८७ सालमा अंश लिई छुट्टिएको भन्ने भएको ८७ सालको बण्डापत्र पास नभएको हुनाले रजिष्ट्रेशनको ऐनले सदर नहुने भई भद्रकुमारी समेतबाट तायदाती लिई अंश गरी दिनुपर्ने देखिन आएको । मानु छुट्टिएको मितितर्फ रजिष्ट्रेशनको ३ (क) नं. बमोजिम पास नभएको हुनाले वादीको उजुर परेको ०७।२।१ गते मानु छुट्टिएको ठहर्छ । त्यसको अघिल्ला दिनसम्मको तायदाती लिई बण्डा गरी दिने भन्नेसमेत ०९।१२।१३ को देवानी अदालतको पर्चा ।

      ६     बण्डा गर्नुपर्ने मसँग केही छैन भन्ने वादीको कागज ।

      ७.    पुण्यबहादुरले दाखिल गरेको तायदाती कागज ।

      ८.    वादीको लोग्नेसमेत साक्षी राखी मलाई लोग्नेले अंश छुट्ट्याई दिएको । त्यसपछि मेरो दाइजोबाट ३ कित्ता जग्गा खरीद गरी भोग गरी आएकोमा देवानीबाट सगोल ठहराई पर्चा गरी दिएको । ८७ सालमा मानु छट्टिएको पास गर्नुसमेत नपर्ने कुरामा २० बर्ष पछिको मानु छुट्टिएको मिति कायम गरेको हुनाले तायदातीमा पक्राउ गर्नु पर्दैन भन्नेसमेत आदेश पाउँ भन्ने भद्रकुमारीको निवदनमा यो मुद्दाको मिसिल झिकी फुल बेञ्चमा पेश गर्नु भन्ने ०१०।३।९ को डिभिजन बेञ्चको आदेश ।

      ९.    चित्त नबुझ्नेले पछि मुद्दा छिनिएपछि अपील गर्न पाउने हुनाले र पर्चा उपर अपील नलाग्ने ०१०।८।२४ मा फुल बेञ्चबाट निकासा भईसकेकोले पर्चा उपर अपील लाग्दैन भन्नेसमेत ०१०।९।९ को फुल बेञ्चको आदेश ।

      १०.    भद्रकुमारीबाट दाखिल भएको तायदाती ।

      ११.    दाखिला हुन आएको तायदातीबाट देखिएको ऋण धनमा जम्मा ४ अंशियारको खण्डे भाग समेत गरी ७८ खण्डको २० खण्ड वादीले अंश पाउने ठहर्छ भनी ०११।७।५ मा देवानी दोश्रा फाँटबाट फैसला भएको ।

      १२.   वादीको लोग्नेसमेत साक्षी राखी लोग्नेले बण्डा गरी दिएको जग्गासमेत बण्डा हुननपर्ने । सो बण्डामा चित्त नबुझे उसै बखत उजुर गर्नुपर्ने । दाखिल खारेज गर्नुपर्ने जग्गा २ रोपनी देखि बढी भएमा मात्र पास गर्नुपर्ने भएकोले सो बण्डापत्र पास गर्न नपर्ने भएकाले अघिको बण्डापत्र सदर गरी पाउँ भन्नेसमेत भद्रकुमारीको अपील ।

      १३.   भद्रकुमारी ८७ सालमा छुट्टिएको कायम भएपछि भद्रकुमारी भिन्न भईसकेपछि लगाएको ऋण मलाई लगाउ नै नहुने । पुण्यबहादुरले देखाएको ऋण पनि झुट्टा खडा गरेकाले नलाग्ने भन्नेसमेत देवकुमारीको अपील ।

      १४.   ८७ सालमा भद्रकुमारी छुट्टिएको भन्ने दुवैथरको मुख मिलेकोले बण्डापत्र पास नभए तापनि मानु छुट्टिएको मिति कायमै मान्नु पर्ने हुनाले त्यसपछिको ऋण बण्डा लगाएको शुरुको गल्ती र अरु इन्साफ मनासिव भन्ने ०१२।५।३१ मा अपील पहिला फाँटबाट फैसला भएको।

      १५.   मानु छुट्टिएको मिति ८७ साल कायम भएपछि बण्डापत्र किन सदर नहुनु ? मानु छुट्टिएपछि पुण्यबहादुरले लगाएको ऋण मैले तिर्नुपर्ने गरेकोमासमेत चित्त बुझेन भन्ने भद्रकुमारीको अपील ।

      १६.    ८७ सालको बण्डापत्र पास नभएको रजिष्ट्रेशनको ३।७ नम्बरले सदर नहुने । मानु छुट्टिएको मिति ८७ साल कायम भए पछि पुण्यबहादुरले देखाएको ऋण पनि भद्रकुमारीलाई बण्डा नलाग्ने गर्नुपर्ने सो बण्डा लाग्ने गरेतर्फ शुरु र अपीलसँग राय नमिलेकाले झगडीया झिकाई नियमानुसार डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१३।५।१२ को सिंगलबेञ्चको आदेश ।

      १७.   सिंगलबेञ्चका रायबमोजिम झगडीया झिकाउन मनासिव देखिनाले झगडीया झिकाई आएपछि पेश गर्नु भन्ने १३।८।४ को डिभिजन बेञ्चको आदेश ।

      १८.   ८७ सालको बण्डापत्र हेर्दा खाई जीविका गरी बिक्री गर्न पाउने गरी केही जग्गा र महिना महिनामा खर्च लिनेसमेत लिने गरी लोग्नेका साथ बस्ने खाने लिखतबाट देखिएको । पास नभएकाले सदर नहुने । भद्रकुमारीले देखाएको ऋण बण्डा नहुने भएपछि पुण्यबहादुरले देखाएको ऋण पनि भद्रकुमारीलाई लगाउन नहुने भनी सिंगलबेञ्चबाट राय गरेको मनासिव छ भन्नेसमेत ०१४।४।१७ मा डिभिजन बेञ्चबाट फैसला भएको रहेछ ।

      १९.    डिभिजन बेञ्चबाट भएको फैसला चित्त बुझेन । मुद्दा दोहराइ पाउँ भन्नेसमेत ०१४।५।१९ को भद्रकुमारीको निवेदनपत्रमा महत्वपूर्ण कुरा र नयाँ प्रमाणसमेत केही नदेखिँदा रिभ्यूको निस्सा हुन सक्दैन भनी ०१५।३।२० मा आदेश भएको ।

      २०.   मुद्दा रिभ्यू गरी पाउँ भनी मेरा बज्यू भद्रकुमारीले निवेदन दिएको । बज्यू ०१५।१।२९ मा परलोक हुनुभएको र निज बज्यू भद्रकुमारीले उहाँको अंश सबै मलाई शेषपछिको बकसपत्र गरिदिनु भएकोले उहाँको हक सबै मेरो हक हुन आएको हुँदा मुद्दा मेरो नाउँमा सकार गरी पाउँ भन्ने द्रोणबहादुरको निवेदनपत्रमा रिभ्यूको बिन्तिपत्र पेश हुँदा यो निवेदनपत्रको व्यहोरा समेत पेश गरी दिनु भन्ने रजिष्ट्रारज्यूबाट ०१५।३।५ मा आदेश भएको ।

      २१.   डिभिजन बेञ्चका फैसलाबमोजिम बण्डा गरी दिने भनी ०१५।५।२४ मा देवानीबाट पर्चा ।

      २२.   भद्रकुमारीलाई ८७ सालमा बाबु पुण्यबहादुरसमेत साक्षी बसी घर खेत छुट्याइ दिनु भएको रहेछ । बज्यूले मलाई शेष पछिको बकसपत्र गरी दिनु भएको सो ८७ सालको बण्डापत्र प्रमाण नलगाइ २०।२५ बर्ष अघि देखि बेगल बेगल बसी भोगी आएको घर खेत समेत बण्डा गरी दिनु पर्ने गरी डिभिजन बेञ्चबाट फैसला गरी दिनु भएको बज्यूले दिएको निवेदन बज्यु परलोक हुनुभएकोले मुद्दा सकार गरी हाजिर हुँदा मुद्दा नदोहरिने आदेश भएकोले निवेदन गर्न आएको छु । अघिको बण्डापत्र सदरै मान्नपर्ने । यस्तै पास नभएको बण्डापत्र सदर मानी सर्वोच्च अदालतबाट पनि फैसला भएको छ । एकपटक मुद्दा दोहर्‍याई दिनु भन्ने सर्वोच्च अदालतका नाउँमा आदेश पाउँ भनी ०१५।६।२६ मा द्रोणबहादुरले दिएको निवेदनपत्रमा, यसमा व्यहोरामा साँचो भए मुद्दा दोहराई ऐन सवालबमोजिम गर्नु भन्ने हुकुम बक्सको छ भन्ने १६।४।१५ को श्री ५ महाराजाधिराजको निजी सचीवालयको पत्र ।

      २३.   बेसरोकारवाला द्रोणबहादुरले बिन्ति चढाई मुद्दा दोहराइ दिनु भन्ने प्रमांगी भई आएको बेसरोकारवाला मानिसले झुट्टा बिन्ति चढाएकोबाट मुद्दा दोहरिनै नसक्ने हुँदा खारेज गरी पाउँ भन्नेसमेत १७।९।६ को देवकुमारीको निवेदनमा यो निवेदनपत्र मिसिल सामेल राखी मुद्दा पेश हुँदा निवेदनको व्यहोरा समेत पेश गर्नु होला भन्ने ०१७।१२।१ को श्री माननीय का.मु.प्रधान न्यायाधीशज्यूको आदेश रहेछ ।

      २४.   प्रस्तुत मुद्दामा प्रतिवादी पक्षका विद्वान वकील प्लिडर नारायणप्रसादको बहस समेत सुनी विचार गर्दा, वादीको ससुरा जगतबहादुरले वादीको जेठाज्यू पुण्यबहादुर वादीको लोग्ने ठगेन्द्रबहादुर समेत साक्षी राखी वादीको माहिली सासु भद्रकुमारीलाई ८७ साल आषँढ १५ गते घरसारमा बण्डापत्र लेखिदिएको देखियो ।

      २५.   सो बण्डापत्र भएको र भद्रकुमारी छुट्टिएको होईन भन्न प्र. पुण्यबहादुर र वादी देवकुमारीले समेत नसकी सो कुरामा सावितै भई बयान र अपीलपत्रमा लेखिएको देखिन आयो ।

      २६.   सो बण्डापत्र रजिष्ट्रेशनको ३।७ नं.बमोजिम पास नभएको कारणबाट सदर नभए पनि सोही बण्डापत्र लिखतबाट भद्रकुमारी ८७ सालमा मानु छुट्टिएको ठहराई तहतह फैसला भएको पनि देखियो ।

      २७.   बण्डापत्र पास नभए पनि सो बण्डापत्रमा लेखिएको जग्गा दर्ता र भोग तिरो गरी आएको हुनाले बण्डा भएको सदर हुनु पर्ने भन्ने प्रतिवादी पक्षको जिकिर देखिन आयो ।

      २८.   वादी इन्द्रगोपाल विरुद्ध कैलास श्रेष्ठ समेतको अंश मुद्दामा प्रधान न्यायालय फुल बेञ्चबाट २०१०।११।२७।५ गते भएको फैसलामा रजिष्ट्रेशनबाट झिकाइ आएको सनदसमेत हेरी बुझ्दा २००० सालमा घरायसमा बण्डा गरी आफ्ना आफ्ना भाग दर्ता तिरो भोग बिक्री व्यवहार समेत गरी सकेको सो व्यवहार बदर गरी दिन मनासिव नपर्ने हुँदा बण्डापत्र सदर गर्ने ठहराई फैसला भएको देखियो ।

      २९.   प्रतिवादी पक्षले दाखिल गरेको ८७।३।१५ को बण्डापत्रमा लेखिएको जग्गा दर्ता भोग तिरो गरी आएको छु भनी प्र. भद्रकुमारीको बकसवाला द्रोणबहादुरले दाखिल गरेका रसीदहरू हेर्दा बण्डापत्रमा लेखिएको ६ खला जग्गा मध्ये श्री ३ सरकार रक्षँ गुठीमा दरिएको खेत रोपनी २ को तिरो धान मुरी ३।१३।४ गहुँ ।४।२ ध्यू रु. ।२५ तिरो लागेको खला १ कुसले खान्गीको तिरो धान ।१०।६ लागेको खला १ समेत खला २ बाहेक अरु ४ खलाको तिरो गरेको काठमाडौ मालको र बिर्ताबारलाई बुझाएको रसीद दाखिल गरेको देखिएको र सो रसीद दाखिल नगरेको २ खलाको हकमा पनि सो खलाहरू हाम्रो भोग तिरो छ भनी वादी र प्र. पुण्यबहादुरसमेतले जिकिर लिन नसकी ८७ सालमा बण्डापत्र भई प्र. भद्रकुमारी छुट्टिएको भनी लेखिएको देखिएकोले सो ८७ सालको बण्डापत्रबमोजिमको जग्गामा भोग प्र. भद्रकुमारीकै रहेछ भन्ने देखिन आयो ।

      ३०.   ८७ सालको बण्डापत्रबमोजिम बण्डा लिई छुट्टिएमा वादी र निजका जेठाज्युसमेत सावित भएको हुनाले त्यस्तो कुरा कायम हुँदैन भन्न न्यायोचित नपर्नेमा पनि दर्ता तिरो भोग प्रतिवादी पक्षका भद्रकुमारीको देखिएकोले दर्ता तिरो भोग भएका जग्गा बण्डापत्र पास नगरको कारणले मात्र भोग तिरो दर्ताबाट हक भईसकेको घर जग्गा भोग गरी आउनेको हक पुग्दैन भन्न मनासिव नपरेकाले ८७ सालका बण्डापत्रबमोजिम निज भद्रकुमारीको अंश हकको निजका बकसपत्रबमोजिम प्र. द्रोणबहादुरको ठहर्छ ।

      ३१.   प्र. भद्रकुमारीको अंश हक ठहरेको सो ८७।३।१५ का बण्डापत्रको घर जग्गासमेत भद्रकुमारीबाट तायदाती लिई सबै अंशियारलाई बण्डा गरी दिने गरी अघि भएको फैसला बण्डापत्र सदर हुन सक्दैन, बदर हुन्छ ।

      ३२.   भद्रकुमारीको अंश हक टुटीसकेको ठहरेकाले पुण्यबहादुरबाट दाखिल भएको तायदाती बमोजिमको श्रीसम्पत्ति वादी देवकुमारीले प्र. पुण्यबहादुर १ प्र. मैयाँ भन्ने मिश्री १ समेत जना ३ लाई ऐन सवालको रीतपुर्‍याई बण्डा गरी दिनु भनी र उक्त उल्लेख गरिएका प्र. द्रोणबहादुरबाट तिरोको रसीद दाखिल नभएको कुसले खान्गी समेतको २ खला जग्गाको तिरो बाँकी देखिए ऐन सवालबमोजिम गर्नु भनी सम्बन्धित अड्डामा लेखी पठाइ दिनु भनी मिसिल काठमाडौ देवानी इलाका अदालतमा पठाइ दिनु ।

      ३३.   सो ८७ सालको बण्डापत्रमा लेखिएको उक्त लेखिएबमोजिम घर जग्गा प्र. भद्रकुमारीको अंश हकको ठहराउनु पर्ने नठहराएको ०१४।४।१७।५ को डिभिजन बेञ्चको फैसला सदर हुँदैन । अरु इन्साफ मनासिव छ । तपसीलका कुरामा तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्र. भद्रकुमारीको बण्डा छुट्टी सकेको ठहरेकाले निजबाट कोर्टफी भराउन नपरी निजबाट वादीलाई कोर्टफी भराउने गरी देवानी अदालत दोश्रो फाँटबाट ०११।७।५ का फैसला ०१२।२।२५।४ का.अ.त.दे. मा दिएका लगत र ०१२।४।२७ मा अ.त.बिगो फाँटमा दिएको लगत कायम हुंदैन । सो लगत काटी दिनु भनी का. देवानी तहसीलमा लगत दिनु....................१

मिसिल नियमबमोजिम बुझाई दिनु ...................२

 

इति सम्वत् २०१९ साल बैशाख २९ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु