निर्णय नं. ९०६१ - कीर्ते जालसाज

नेकाप २०७० अङ्क १० नि.नं.९०६१
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
फैसला मिति : २०७०।३।३१।२
०६८–CR–०३९६
मुद्दाः– कीर्ते जालसाज ।
पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी, गाउँ विकास समिति रामनगर वडा नं. ८ बस्ने धर्मनाथ यादवको मु.स.गर्ने बुधनी देवी यादव
विरूद्ध
विपक्षी/वादी : जिल्ला सप्तरी, गाउँ विकास समिति मधुपट्टि वडा नं. ७ बस्ने अक्षमित चौधरीको जाहेरीले नेपाल सरकार
§ भिन्नभिन्न निकायका भिन्नभिन्न विशेषज्ञले एउटै राय प्रस्तुत गरी लिखतको आधिकारिताका र त्यसको वैधानिकताका सम्बन्धमा उल्लेख गरेका तथ्यगत र वैज्ञानिक प्रमाणलाई अन्यथा भन्न मिल्ने कुनै आधार र विवाद देखाउने ठाउँ नहुने ।
(प्रकरण नं.५)
§ लिखत कीर्ते भनी विशेषज्ञले दिएको रायलाई प्रतिवादीले आधार र कारणसहित अन्यथा भनी खण्डन गर्न नसकेको अवस्थामा सम्बन्धित विषयका विशेषज्ञको विज्ञतालाई कानूनीरूपबाट इन्कार गर्न नमिल्ने ।
(प्रकरण नं.७)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता लेखनाथ अधिकारी
विपक्षी/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता खगराज पौडेल
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ अदलको महलको ३ नं.,
§ प्रमाण ऐन, २०३१ को दफा २३
§ कीर्ते कागजको महलको १, ३, ७, १० नं.
शुरू सप्तरी जिल्ला अदालतमा फैसला गर्ने :– मा.न्या.श्री गोपालप्रसाद भट्टराई
पुनरावेदन अदालत, राजविराजमा फैसला गर्ने :– मा.न्या.श्री दीपककुमार कार्की
मा.न्या.श्री शम्भुबहादुर खड्का
फैसला
स.का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
विदेश भारत, जिल्ला छपरा, प्रगन्ना गोठना थाना भरोंडा मौजे झकरा बस्ने विलट सिंह र गणेश सिंहसमेत २ जनाको नाममा दर्ता रहेको जिल्ला सप्तरी, गा.वि.स.मधुपट्टि वडा नं.६ कि.नं. ५१, १२५, १२६, १२७, १६१ र ऐ वडा नं.७ (क) कि.नं. १६१, ऐ वडा नं.७ (ख) कि.नं. २२ र ५० समेत जम्मा ३–६–५ जग्गा धर्मनाथ यादवले मिति २०३६.११.२९ मा र.नं. ४३५१ बाट पारीत गराई लिएको भनेकोमा निजहरू विदेशी भन्ने २०२१.१.२३ को र.नं. ९४० र २०२१.१२.२४ को र.नं. १५१५ को राजीनामाबाट देखिन्छ । निज विलट सिंह र गणेश सिंहको २०३१ र २०३३ सालमा मृत्यु भएकोमा मृतकका नामको अर्को व्यक्ति खडा गरी प्रतिवादी धर्मनाथ यादवसमेतले आफ्नो नाममा जग्गाहरू पारीत गराई कीर्ते कसूर गरेको हुँदा कीर्ते कसूर गर्ने प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।
विलट सिंहको २०३१ सालमा र गणेश सिंहको २०३३ सालमा स्वर्गवास भई निजहरूको हक अपुताली खाने कोही नभएको र विदेशी मानिसको अपुताली परेको जग्गा नेपाल सरकारको हुनुपर्नेमा कीर्ते गरी धर्मनाथ यादवले पारीत गरी लिएकोले लिखत बदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको सर्जमिन मुचुल्का ।
विलट सिंह र गणेश सिंहले मोहीलाई जग्गा बिक्री गर्न मालपोत कार्यालयमा आएकोमा मोहीले पैसा दिन नसक्दा सो जग्गाको मोल दिई पारीत गराई लिएको हुँ । मलाई जग्गा बिक्री गर्ने व्यक्ति जीवित छन् वा मरिसके मलाई थाहा छैन । मैले कार्यालयको रोहबरमा जग्गा खरीद गरिलिएको हुँ । लिखतमा रहेका विलट सिंह र गणेश सिंहको वतन भारत देखिएकोले र उमेरसमेत फरक देखिँदा एउटै व्यक्ति हुन् भन्न सक्दिन । मैले नेपाली व्यक्तिसँग जग्गा खरीद गरी लिएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी धर्मनाथ यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जग्गाधनी विलट सिंह र गणेश सिंहको क्रमशस् २०३१ र २०३३ मा मृत्यु भइसकेको र निजहरूको कोही हकदार नभएकोले उक्त जग्गा मुलुकी ऐन, अदलको महलको ३ नं. बमोजिम नेपाल सरकारको हुनेमा प्रतिवादी धर्मनाथ यादवले झूठ्ठा मानिस खडा गरी मरिसकेका विलट सिंह र गणेश सिंहको नामबाट कीर्ते जालसाजी गरी जग्गा विगाहा ३–६–५ पारीत गराई लिएका छन् । विलट सिंह र गणेश सिंहले २०२१ सालमा राजीनामा गरिदिंदा निजहरूले गरेको सहीछापसँग हाल प्रतिवादी धर्मनाथले २०३६ सालमा लिएको राजीनामामा भएको सहीछाप एक आपसमा नभिडेको भन्ने रोनाष्टको प्रतिवेदनसमेतबाट पुष्टि हुन आएकोले प्रतिवादी धर्मनाथ यादवउपर कीर्ते कागजको १ र ३ नं. को परिभाषित कसूरमा ऐ.को ७ र १० नं. अनुसार सजाय हुन र प्रतिवादी धर्मनाथ यादवले कीर्ते जालसाजी गरी पारीत गराउँदा लिने दिने व्यक्ति चिनेका नेपाली नागरिक हुन् नाम, थर, वतन ठीक छ भनी सनाखत गरिदिने साक्षी प्रतिवादी रामेश्वर ठाकुर र सीतारामप्रसाद साहले मद्दत गरेको देखिँदा ऐ.को १४ नं. अनुसार सजाय गरिपाऊँ । मुलुकी ऐन, अदलको महलको ३ नं. ले नेपाल सरकारमा आउने उक्त जग्गा प्रतिवादी धर्मनाथले कीर्ते जालसाज गरी आफ्नो नाममा पारीत गराई लिएको हुँदा जग्गाको दर्ता बदर गरी नेपाल सरकारको हक कायम गराउन छुट्टै देवानी विषयको फिराद गरिने व्यहोरा अनुरोध छ भन्नेसमेत व्यहोराको अभियोग दावी ।
मैले कीर्ते जालसाज गरेको छैन । जिल्ला सप्तरी, गा.वि.स.मधुपट्टि वडा नं. ६ बस्ने गणेश सिंह र विलट सिंहबाट ज.वि.३–६–५ जग्गा मिति २०३६.११.२९ मा खरीद गरेको हुँ । मैले खरीद गरेको जग्गामध्ये कि.नं. १६१ को ०–१०–१० जग्गा आफ्नै हल गोरूबाट आवाद गरेको छु । अन्य जग्गाहरूमध्ये सोनाई चौधरी, सुखीलाल चौधरी, फागु चौधरी र जोखन चौधरीसमेतका व्यक्ति मोही भै कमाई आएका थिए । निजहरूले समयमा कूत नबुझाएकोले मैले मोही निष्काशन मुद्दा चलाई पुनरावेदन अदालत, राजविराजबाट मिति २०५१.२.१० मा मोही निष्काशन हुने ठहरी फैसला भएको छ । उक्त जग्गा मोहीहरूले बिक्री गर्न कर लगाएका थिए । रूपैयाँ दिन आलटाल गरेकोले पारीत हुन सकेन । विलट सिंहको मृत्यु २०४१ सालमा र गणेश सिंहको मृत्यु २०४३ सालमा भएको हो । र.नं. ९४० को लिखत मेरो रोहबरमा भएको नहुँदा गणेश सिंह र विलट सिंहको सहीछाप परेको भनिएको सहीछाप गलत छ भन्नेसमेत प्रतिवादी धर्मनाथ यादवले शुरू अदालतमा गरेको बयान ।
गणेश सिंह र विलट सिंहलाई पहिले पनि जग्गा बेच बिखन गर्न राजविराज मालपोत कार्यालयमा आउँदा जाँदा चिनेको थिए । निजहरू कहिले मरे वा जीवितै छन् थाहा छैन । म लेखापढी गर्ने मानिस भएको र मालपोत कार्यालयमा पारीत भएको लिखत हुँदा सनाखतसम्म बसेको छु । मउपरको अभियोग झूठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामेश्वर ठाकुरले शुरू अदालतमा गरेको बयान ।
प्रतिवादी सीतारामप्रसाद साहले मिति २०५५।११।१४ मा तामेल भएको शुरू म्यादै गुजारी बसेको रहेछ ।
प्रतिवादी धर्मनाथले झूठ्ठा व्यक्ति खडा गराई विवादित जग्गाको मूल्य रू.२५०००.– कायम गरी मृतक भारतीय व्यक्तिहरूको नामबाट राजीनामा पारीत गरी लिई दावीअनुसारको कसूर गरेको ठहर्छ । अन्य प्रतिवादीहरू रामेश्वर ठाकुर र सीतारामप्रसाद साहले मुख्य कारणी धर्मनाथ यादवले लिने दिने व्यक्ति उपस्थित गराएका आधारमा सनाखत गरेको हुन सक्ने परिस्थितिलाई विचार गरी कसूर कायम हुन सक्ने अवस्था नहुँदा सफाइ पाउने र प्रतिवादी धर्मनाथ यादवलाई हुने सजायका हकमा राजीनामाबाट प्राप्त गरेको भनिएको जग्गा नै निजका नाउँमा नरहने अवस्था आएको तथा लगाउको दर्ता बदरसमेत मुद्दाबाट नेपाल सरकारका नाउँमा कायम हुने ठहरेकोले बिगो असूलतर्फ केहि कारवाही गरिरहनु परेन । जग्गाको मूल्य रू.२५०००।– कायम गरी विवादित राजीनामामा उल्लेख भएको देखिँदा कीर्ते कागजको ७ नं.बमोजिम प्रतिवादी धर्मनाथ यादवलाई रू.२५०००।– जरीवाना हुन्छ भन्ने व्यहोराको शुरू सप्तरी जिल्ला अदालतको मिति २०६०.१२.८ को फैसला ।
मलाई जग्गा बिक्री गर्ने विलट सिंह र गणेश सिंह नेपालको नागरिक हुन् । निजहरूले जग्गा बिक्री गर्ने बखत जिउँदै रहेको व्यहोरा जग्गाधनी प्रमाण पूर्जाबाट प्रमाणित हुन्छ । कुनै व्यक्तिले अदालतभन्दा बाहिर भनेको र अदालतमा आई बकपत्र नगरेकोमा त्यस्तो व्यक्तिको भनाइको आधारमा विलट सिंह र गणेश सिंह मरेको मान्न सकिन्न । कीर्ते मुद्दा हदम्यादभित्र दायर भएको छैन । २०४६ सालमा सरकारवादी देवानी मुद्दाको अनुसन्धानका लागि जाहेरी परी उही बखत कीर्ते मुद्दाका बारेमा जानकारी हुन आई २ वर्षभित्र नालेस गर्नुपर्नेमा कीर्ते कागजको १८ नं. को हदम्यादविपरीत मुद्दा दर्ता भई फैसला भएको छ । विवादास्पद लिखतको आधारमा भएको त्रुटिपूर्ण फैसला उल्टी गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादी धर्मनाथ यादवको तर्फबाट मु.स.गर्ने बुधनी देवीको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदनपत्र ।
प्रतिवादी धर्मनाथ यादवउपर कीर्ते कागजको ७ र १० नं.बमोजिम सजायको माग दावी लिएकोमा सो महलको ७ नं. बमोजिम रू.२५०००।– मात्र जरीवाना गरी कीर्ते कागजको १० नं. बमोजिम बिगोको सयकडा पच्चीस रूपैयाँका दरले जालसाजीतर्फसमेत सजाय गरेको देखिएन । प्रतिवादीहरू रामेश्वर ठाकुर र सीतारामप्रसाद साहको हकमा सफाइ पाउने गरी फैसला भएको देखिन्छ । निजहरूले लिखत पास हुँदा लिने दिनेलाई राम्ररी चिन्दछु नेपाली नागरिक हुन् भनी सनाखत गरेको कारण लिखत पास भएको छ । यस्तो अवस्थाका प्रतिवादीलाई सफाइ हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदनपत्र ।
यसमा शुरू म्याद गुजारी बस्ने प्रतिवादी सीतारामप्रसाद साहलाई समेत सफाइ दिने गरी भएको फैसला विचारणीय हुँदा छलफलको लागि प्रत्यर्थी सीतारामप्रसाद साह र रामेश्वर ठाकुरलाई अ.बं.२०२ नं.बमोजिम झिकाई आएपछि वा म्याद गुजारेपछि पेश गर्नु भन्ने पुनरावेदन अदालत, राजविराजको मिति २०६३.५.४ को आदेश ।
गणेश सिंह र विलट सिंहको मृत्यु क्रमशः २०३१ र २०३३ सालमा भैसकेको भन्ने कुरा जाहेरी, निज जाहेरवालाको बकपत्र र मिति २०४७।१०।१४ को सर्जमिनबाट सो कुरा समर्थित हुन आएको छ । मिति २०२१।१।२३ मा हरि चौधरी र २०२१।१२।२४ मा खेदन चौधरीलाई विलट सिंह र गणेश सिंहले जग्गा राजीनामा गरिदिएकोमा सो कुरा खण्डित हुन आएको छैन । यसरी २०२१ सालको लिखतमा विवाद नभएपछि २०२१ सालको राजीनामामा लागेको गणेश सिंह र विलट सिंहको सहीछापसँग प्रतिवादी धर्मनाथले जिकीर लिएको २०३६ सालको राजीनामामा उल्लेख भएको सहीछाप नभिड्ने भन्ने रेखा विशेषज्ञको राय भैरहेको परिप्रेक्षमा २०३६ सालको सो राजीनामा सहीरूपबाट खडा भएको भन्न मिलेन । धर्मनाथले झूठ्ठा व्यक्ति खडा गराई मृतक भारतीय व्यक्तिहरूको नामबाट राजीनामा पारीत गरी लिई दावीअनुसार कसूर गरेको ठहर गरेको शुरू सप्तरी जिल्ला अदालतको मिति २०६०।१२।८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । २०३६ सालको राजीनामा लिखत कीर्ते कायम भै कीर्ते कागजको ७ नं.बमोजिम लिखतमा उल्लेख भएको बिगो रू.२५,०००।– जरीवाना हुने ठहरी निर्णय भैरहेको परिप्रेक्षमा पुनः कीर्ते कागजको १० नं.बमोजिम सजाय हुनुपर्ने भन्ने सो हदसम्म वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्तैन । प्रतिवादी रामेश्वर ठाकुर र सीतारामप्रसाद साहले लिखत कीर्ते हो भनी जानी जानी साक्षी बसेको भन्ने अवस्था नदेखिएकोले निजहरूको हकमा दावी नपुग्ने ठहर गरेको सप्तरी जिल्ला अदालतको मिति २०६०।१२।८ को फैसला मिलेकै देखिँदा सदर हुन्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।७।११ को फैसला ।
विलट सिंह र गणेश सिंहको घर जिल्ला सप्तरी, मधुपट्टी गा.वि.स.वडा नं. ६ भई निजहरू नेपाली नागरिकहरू हुन् । निजहरूसँग नै मैले जग्गा खरीद गरेको हो । मिति २०२१।१।२३ र २०२१।१२।२४ का नमूना लिखतमा निजहरू विदेशी भन्ने देखिएता पनि २०२८ सालको सर्भे नापी हुँदा निजहरूको वतन नेपालमा नै छ । जग्गाधनी प्रमाणपूर्जाबाट निजहरू नेपालको नागरिक भएको प्रमाणित भएको अवस्थामा असम्बद्ध भारतीय व्यक्तिको ल्याप्चेसँग विवादको लिखत मिल्ने कुरा भएन । प्रस्तुत विवादमा अदलको महलको ३ नं. को अवस्थासमेत छैन । यस्तो अवस्थामा आकर्षित नहुने दफालाई प्रयोग गरी मुद्दा दायर गरिएको कानूनी प्रक्रिया नै गलत छ । कानूनी प्रक्रियाविपरीत तथा हदम्याद नघाई दायर भएको अभियोगबमोजिम कीर्ते ठहर गरेको शुरू सप्तरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, राजविराजको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीको तर्फबाट यस अदालतमा परेको निवेदन पत्र ।
यसमा विवादित लिखत परीक्षण गर्ने नाष्टका विशेषज्ञ सेवकराम भण्डारीको प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम परीक्षण नभै निजले पेश गरेको प्रतिवेदन प्रमाणको लागि ग्राह्य हुन नसक्ने हुँदा यस स्थितिको विशेषज्ञको प्रतिवेदनलाई आधार लिई मुलुकी ऐन, कीर्ते कागजको ७ नं.बमोजिम जरीवाना हुने ठहर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।७।११ को फैसला प्रमाण ऐन, २०३१ को दफा २३(७), अ.बं. १८४ क र १८५ नं.समेतको त्रुटि विद्यमान देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । विवादित लिखत जाँच्ने नाष्टका विशेषज्ञ सेवकराम भण्डारी स्वदेशमा नरहेको भन्ने देखिएबाट अब विधि विज्ञान प्रयोगशालाबाट मिति २०४९।५।१ मा परीक्षण भएका २०२१।१।२२, २०२१।१२।२२ र २०३६।११।२९ को राजीनामाको लिखतमा लागेका सहीछाप पुनः सर्वोच्च अदालतका विशेषज्ञबाट लिखत जँचाई निजलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम जिरहसमेत गराई पेश गर्नु भन्ने यस अदालतको मिति २०६९।६।१६ को आदेश ।
यसमा आदेशानुसार लिखत जाँच भई लेखा तथा रेखा विशेषज्ञ केशवबहादुर थापाको बकपत्रसमेत भएको ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री लेखनाथ अधिकारी र प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री खगराज पौडेलले प्रस्तुत गर्नु भएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा विलट सिंह र गणेश सिंह भारतीय व्यक्ति भएका र निजहरूको नाममा जिल्ला सप्तरी, गा.वि.स.मधुपट्टि वडा नं.६ कि.नं. ५१, १२५, १२६, १२७, १६१ र ऐ वडा नं.७ कि.नं. १६१, ऐ वडा नं.७ ढखण् कि.नं. २२ र ५० समेत जम्मा ३–६–५ जग्गा भएकोमा विलट सिंहको २०३१ सालमा र गणेश सिंहको २०३३ सालमा मृत्यु भइसकेकोले उक्त जग्गा मुलुकी ऐन, अदलको महलको ३ नं.बमोजिम नेपाल सरकारको हक कायम हुनेमा प्रतिवादी धर्मनाथ यादवले झूठ्ठा मानिस खडा गरी मरिसकेका व्यक्ति विलट सिंह र गणेश सिंहको नामबाट कीर्ते जालसाजी गरी उक्त ज.वि.३–६–५ जग्गा मिति २०३६.११.२९ मा पारीत गराई लिएका हुँदा प्रतिवादी धर्मनाथ यादवलाई कीर्ते कागजको महलको १ र ३ नं. को कसूरमा ऐ.को ७ र १० नं. अनुसार तथा उक्त लिखतमा साक्षी बस्ने प्रतिवादी रामेश्वर ठाकुर र सीतारामप्रसाद साहलाई ऐ.को १४ नं. अनुसार सजाय हुन अभियोग मागदावी भएकोमा प्रतिवादी धर्मनाथ यादवले अभियोग दावीबमोजिमको कसूर गरेको ठहर गरी लिखतमा साक्षी बस्ने अन्य प्रतिवादीहरू रामेश्वर ठाकुर र सीतारामप्रसाद साहले अभियोग दावीबाट सफाइ पाउने ठहर गरेको शुरू सप्तरी जिल्ला अदालतको मिति २०६०।१२।८ को फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।७।११ को फैसलाउपर प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्याई पाउन निवेदन परी यस अदालतको मिति २०६९।६।१६ को आदेशबमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई निर्णयार्थ पेश हुन आएको पाइयो ।
३. लिखत साक्षीहरू रामेश्वर ठाकुर र सीतारामप्रसाद साहले अभियोग दावीबाट सफाइ पाउने ठहर गरेको शुरू सप्तरी जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, राजविराजको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट कुनै जिकीर नहुँदा निज प्रतिवादीहरूको हकमा प्रस्तुत पुनरावेदनको रोहबाट केही बोलिरहन परेन ।
४. मिति २०२१।१२।२४ को नमूना लिखतमा विलट सिंह र गणेश सिंह विदेशी व्यक्ति भन्ने तथ्य देखिएता पनि २०२८ सालको सर्भे नापी हुँदा निजहरूको वतन नेपालमा भएको र निजहरूबाट नै २०३६।११।२९ मा आफूले जग्गा खरीद गरी लिएको हुँदा उक्त लिखत कीर्ते नभएकोले अभियोग दावीबमोजिम सजाय हुनु नपर्ने र अदलको महलको ३ नं. को अवस्थासमेत नभएको भन्ने कुरा प्रतिवादी धर्मनाथ यादवको तर्फबाट दायर भएको पुनरावेदनमा उक्त कुराको जिकीर लिएको देखिन्छ । अब, यी प्रतिवादीले दावीबमोजिम कसूर गरेका हुन् होइन र पुनरावेदन जिकीर पुग्न सक्ने नसक्ने के हो भन्ने विवादित कुराको निरोपण गरिनुपर्ने प्रश्न रहेको छ ।
५. विलट सिंह र गणेश सिंहले मिति २०२१।१।२३ मा हरि चौधरीलाई र.नं.९४० बाट र मिति २०२१।१२।२४ मा खेदन चौधरीलाई र.नं.१५१५ बाट लिखत गरिदिएको र उक्त मितिका दुबै लिखतहरू तथा सो मितिमा लिखत हुँदा निजहरू भारतीय व्यक्ति भएको तथ्यमा यी प्रतिवादीले अन्यथा भन्न नसकी स्वीकार गरेका छन् । तर, मिति २०३६।११।२९ को लिखत पनि निजहरूले नै गरिदिएको भन्ने यी प्रतिवादीको प्रतिवाद र पुनरावेदन जिकीर रहेकोमा विलट सिंहको मिति २०३१ सालमा र गणेश सिंहको २०३३ सालमा नै मृत्यु भैसकेको हुँदा २०३६।११।२९ मा निजहरूको नामबाट लिखत भएबाट उक्त मिति २०३६।११।२९ को लिखत कीर्ते कार्यबाट खडा भएको भन्ने अभियोग छ । २०३६।११।२९ को लिखत प्रतिवादीले दावी गरेबमोजिम सद्दे व्यहोराबाट पारीत भएको हो वा वादी नेपाल सरकारले दावी लिएबमोजिम कीर्ते व्यहोराबाट पारीत भएको भन्नेतर्फ विचार गर्दा विलट सिंहको मिति २०३१ सालमा र गणेश सिंहको २०३३ सालमा नै मृत्यु भैसकेको भनी जाहेरवाला अक्षमित चौधरीले जाहेरी दिएको र उक्त आफ्नो जाहेरी व्यहोरा समर्थन हुने गरी अदालतमा समेत बकपत्र गरेको अवस्था छ । त्यसै गरी २०४७।१०।१४ मा भएको सर्जमिनबाटसमेत यस तथ्यलाई थप पुष्टि गरेको छ । प्रतिवादी धर्मनाथले आफ्नो निर्दोषिताको लागि निजले नै पेश गरेको AFFIDAVIT मा विलट सिंह र गणेश सिंह भारतीय भएको र निजहरूको वतनमा गाउँ झखरा भनी उल्लेख छ । यसरी प्रतिवादीले आफ्नो प्रमाणस्वरूप पेश गरेको कागजमा नै निजको दाता भनिएका व्यक्ति तत्कालीन २०२१ सालमा लिखत हुँदा निजहरूको वतन भारत उल्लेख भई निजहरू विदेशी नागरिक भन्ने देखिएको र जाहेरी, अभियोग र सर्जमिनबाट यी प्रतिवादीले २०३६ सालमा लिखत गरिलिनुपूर्व नै निजहरूको मृत्यु भैसकेको भन्ने विवाद सिर्जना भएको हुँदा यी प्रतिवादीले जुन व्यक्तिहरूबाट आफूले जग्गा पारीत गरिलिएको भनी जिकीर लिएका छन् ती व्यक्तिहरूले २०२१ सालमा हरि चौधरी र खेदन चौधरीलाई लिखत पारीत गर्दा गरेको सहीछाप र २०३६।११।२९ लिखतमा गरेको भनिएको सहीछापको परीक्षणद्वारा त्यसको आधिकारिता पुष्टिका लागि मिति २०२१।१।२३ र २०२१।१२।२४ को लिखतमा लागेको सहीछापसँग २०३६।११।२९ को राजीनामाको लिखतमा लागेको सहीछाप एकापसमा नभिड्ने भनी रोनाष्टका रेखा विशेषज्ञको राय छ । उक्त रायको सम्बन्धमा लिखत पुनः जाँचका लागि यस अदालतको मिति २०६९।६।१६ को आदेशबमोजिम यस अदालतका लेखा तथा रेखा विशेषज्ञ केशवबहादुर थापाले विवादित लिखतहरू परीक्षण गरी मिति २०६९।१०।१७ मा व्यक्त गरेको राय रोनाष्टको मिति २०४९।६।१ को च.नं.२०० को पत्रसाथ प्राप्त व्यक्त भएको विशेषज्ञको रायसँग पृथकता नभई एकरूपता देखिएको छ । भिन्नभिन्न निकायका भिन्नभिन्न विशेषज्ञले एउटै राय प्रस्तुत गरी लिखतको आधिकारीकताका र त्यसको वैधानिकताका सम्बन्धमा उल्लेख गरेका तथ्यगत र वैज्ञानिक प्रमाणलाई अन्यथा भन्न मिल्ने कुनै आधार र विवाद देखाउने ठाउँ छैन ।
६. २०२१।१।२३ र २०२१।१२।२४ को लिखतलाई यी प्रतिवादीले अन्यथा नभनी स्वीकार गरेको अवस्था एकातिर छ भने अर्कोतर्फ तिनै व्यक्तिहरूबाट नै आफूले मिति २०३६।११।२९ मा लिखत गरिलिएको भनी जिकीर लिए पनि विलट सिंह र गणेश सिंहको २०३६ सालपूर्व नै मृत्यु भइसकेको स्थापित भइसकेको स्थितिमा तिनै व्यक्तिहरूबाट मिति २०३६।११।२९ मा लिखत पारीत हुन सक्ने कुरा भएन । यस तथ्यको पुष्टि विशेषज्ञको परीक्षण प्रतिवेदनबाट स्थापित भएको छ । यसरी २०२१ सालमा लिखत गरिदिने व्यक्ति र २०३६ सालमा लिखत गर्ने व्यक्तिको सहीछाप नै एकापसमा नमिली फरक देखिएको हुँदा मिति २०३६।११।२९ को राजीनामाको कानूनी अस्तित्व नै शून्य हुन गएको छ ।
७. २०३६।११।२९ को र.नं.४३५१ को लिखत कीर्ते भनी विशेषज्ञले दिएको रायलाई प्रतिवादीले आधार र कारणसहित अन्यथा भनी खण्डन गर्न नसकेको अवस्थामा सम्बन्धित विषयका विशेषज्ञको विज्ञतालाई कानूनीरूपबाट इन्कार गर्न मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा २३ ले विशेषज्ञको रायलाई प्रमाणमा लिन हुने प्रावधान राखेको छ । यसरी कुनै लिखतको आधिकारिकता सम्बन्धमा आफ्नो राय व्यक्त गर्ने विशेषज्ञ अदालतमा साक्षीका रूपमा उपस्थित भई बकपत्र गरेमा त्यस्तो राय प्रमाण ग्राह्य हुन्छ । २०२१ सालको राजीनामाको आधिकारिकता पुष्टि भइरहेको र २०३६ सालको राजीनामा लिखतको प्रामाणिकताको आधार नदेखिएको हुँदा प्रतिवादी धर्मनाथ यादवले झूठ्ठा व्यक्ति खडा गरी मृतक भारतीय नागरिकहरू विलट सिंह र गणेश सिंहको नामबाट विवादित जग्गाको राजीनामा लिखत कीर्ते गरी दावीबमोजिम कसूर गरेको कुरा तथ्य, लिखत र विशेषज्ञको रायसमेतबाट पुष्टि भएको देखिँदा पुनरावेदन अदालत, राजविराजको फैसलालाई अन्यथा भन्न मिलेन ।
८. अतः माथि विवेचित आधार कारणबाट प्रतिवादी धर्मनाथ यादवले र.नं.४३५१ मिति २०३६।११।२९ को राजीनामा लिखत कीर्ते गरी दावीअनुसारको कसूर गरेको ठहर गरेको शुरू सप्तरी जिल्ला अदालतको मिति २०६०।१२।८ को फैसला सदर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।७।११ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । मुद्दा सकार गर्ने बुधनी देवी यादवको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० साल असार ३१ गते रोज २ शुभम् ।
इजलास अधिकृत : दिपक ढकाल