शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१४ - जग्गा जालसाजी

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. २१४            ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. २३

निवेदक, प्रतिवादी : सिद्धिमान समेत

विरुद्ध

विपक्षी, वादी : मोतीप्रसाद श्रेष्ठ समेत

मुद्दा : जग्गा जालसाजी

(१)   हद भित्र नालेस गर्नपर्ने मानिस १६ बर्ष नाघेको रहेनछ भने १६ बर्ष नाघेको दिन देखि म्याद भित्र उजुर दिए उजुर लाग्दैन भन्न नहुने ।

            हदभित्र नालेस गर्नुपर्ने मानिस १६ बर्ष नाघेकोे रहेनछ भने १६ बर्ष नाघेको दिन देखि हदको म्यादसम्म नालेस दिए लाग्छ भन्ने अ.बं. ६४ नं. मा उल्लेख भएको र यस मुद्दामा अघि नालेस गर्ने गोविन्दप्रसादले गरेको नभई जालसाजी लिखतबाट हाम्रो हक नजावस भनी वादी नाबालकहरूले नालेस दायर गराएको देखिएकोले यस्तोमा अ.बं. ११० नं. ले नालेस लाग्न सक्तैन भन्न मिलेन । अघि गोविन्दप्रसाद र झुमाकुमारी समेतको लिखत जालसाजी मुद्दामा प्रधान न्यायालय बक्यौता फाँटबाट भएको ०७।२।३ को फैसला लिखत जालसाजी ठहर्दैन भनी फैसला भए पनि सोही फैसलामा हाललाई लिखत जालसाजी नठहराएको पाल्पा अपीलको मनासिवै र वादी झुमा समेतको यो मुद्दाबाट नाबालकहरूको उमेर नपुगेसम्म हद नजाने हुनाले नाबालकहरूको उमेर पुगी म्याद भित्र उजुर परेका बखत ठहरेबमोजिम हुने भन्नेसमेत उल्लेख भएको भनी त्यसपछि भएको फैसलाहरूमा लेखिएको हुनाले त्यसबाट यो वादी नाबालकहरूको जालसाजीमा नालेस गर्ने अधिकार छैन भन्न र नालेस लाग्न सक्तैन भन्न भएन ।

(प्रकरण नं. २१,२२)

(२)   साहु तिरेको ऐनबमोजिम न्हेडिक फट्टाहरू पेश हुन नसके र व्यवहारमा पनि ऋण लिन पर्ने अवस्था र वापतसमेत नजनिए ऋण लिन पर्ने अवस्था नदेखिएमा व्यवहार शुद्ध मान्न नहुने।

            अब लिखततर्फ विचार गर्दा, घरमा सौतीनी छोरा र आफ्नो छोरीसमेत नाबालक भएको अवस्थामा भएको घर जग्गाहरू रु. २३०३। मा रुमबहादुरलाई राजिनामा गरी दिएको देखियो । सो रुपैयाँ मध्ये रु. २०४२। साहु तिर्न भनी र रु. २६१। नगद लिएको भन्ने लेखिएको देखिन्छ । साहु तिरें भनेकोमा साहु तिरेको ऐनबमोजिम न्हेडिक फट्टाहरू समेत केही पेश नभएको र सो रु. २०४२ मध्ये रु. १०५०। उनै रुमबहादुरको तिरेको भन्ने लेखिएको र सो नगद रु. २६१। लिन पर्ने अवस्था र वापतसमेत केही जनिएको नदेखिएको हुनाले सो लिखत शुद्ध व्यवहारको देखिन नआउनेमा पनि यी वादीहरूका आमा झुमाकुमारीको कुनै आर्जन नभई आर्थिक अवस्थाले कर्जा लिनपर्ने कारण परि लिएको रहेछ कि भन्नालाई भएको घर जग्गाहरू सबै रुमबहादुरलाई राजिनामा गरी दिएको केही पछि उनै झुमाकुमारीसँग उनै रुमबहादुरले रु. १६००। कर्जा लिई लिखत गरी दिएमा रुमबहादुर सावित र लिखतसमेत पेश हुन आएको हुनाले त्यतिको कर्जा दिन सक्ने झुमाकुमारीले उक्त लेखिएबमोजिम शुद्ध व्यवहारबाट लिखत गरेको रहेछ भन्न मनासिव नदेखिएकोबाट समेत लिखत जालसाजी ठहराई प्र.न्याय. सिंगलबेञ्चबाट ०१२।२।२७ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१४।९।११ मा भएको फैसला मनासिव छ । बादिहरूको उजुर नलाग्ने भनी सर्वोच्च अदालत सिंगलबेञ्चबाट ०१४।४।१४ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट १८।९।८ मा गरेको राय मनासिव देखिएन ।

(प्रकरण नं. २३)

वादी तर्फबाट : एडभोकेट मधुप्रसाद शर्मा

प्रतिवादी तर्फबाट : प्लिडर पुरेन्द्रकुमार मैनाली

फैसला

      १.     हाम्रा बाबु जितबहादुरका २ स्वास्नी मध्ये जेठीबाट म मधुप्रसाद जन्मेपछि आमा मरेकी र कान्छी झुमाबाट म विष्णुकुमारी जन्मे पछि बाबु जितबहादुर मरेकोले आमा झुमा र हामी नाबालक मोतीप्रसाद विष्णुकुमारी ३ जवान मात्र थियौं । पछि प्र. सिद्धिमान बाहालमा हाम्रो घरमा कोठी थापी बसेको र आमासँग नाजायजसम्बन्ध राखी घर जग्गाहरू मोहरू २३०१। मा सिद्दिमानको ज्वाई रुमबहादुरका नामबाट राजिनामा लेखाई लिएको बाजे गोविन्दप्रसादले थाहा पाई जालसाजी गरेको समेत आमा झुमा र सिद्धिमान समेतका नाउँमा नालेस गर्दा आमा झुमाले पनि आफ्नो सम्पत्ति लुकाई बाजे गोविन्दप्रसादका नाउँमा लुटपीटमा नालेस दिएको जग्गा जालसाजीतर्फ नाबालकहरूको उमेर पुगी नालेस गरेको ठहरेबमोजिम हुने भनी प्र.न्या बक्यौताबाट फैसला भएको रहेछ । सो मुद्दा परी रहेको अवस्थामा आमा झुमा मरेकाले बाकस खोली हेर्दा आमा झुमा साहु रुमबहादुर आसामी भएको मोहरू १६०० को जालसाजी कपाली तमसुक पाइएको थियो । हाल ०८।५।५ गते प्र. सिद्धिमानले भण्डारी पोखरा भन्ने जग्गाको बाली लुटी ऐ. ८ गते हामीहरूलाई घरबाट समेत निकाली दिएकोले नालेस गर्न आएका छौं । रुमबहादुर साहु झुमा आसामी भएको मोहरू २३०१। को राजिनामा आमा झुमा साहु रुमबहादुर आसामी भएको मोरु १६००। को कपाली तमसुक र भण्डारी पोखरा जग्गासमेत प्र. सिद्धिमानले राजिनामा वा भोगबन्धकी के गराई दिएको रहेछ ? सो लिखतसमेत बदर गराइ सो जग्गाहरूमा हाम्रो चलन चलाई पाउँ भन्नेसमेत व्यहारोराको मोतीप्रसाद श्रेष्ठ समेतको वादी रहेछ ।

      २.    भण्डारी पोखरा भन्ने जग्गा मोरु. २३०।५० मा सिद्धिमानले र अरु घर जग्गा रुमबहादुरले मोरु. २३०१। मा राजिनामा भोगबन्धकी गरी लिएको र साहु झुमा भएको मोरु. १६००। को कपाली तमसुकबमोजिमको रुपैयाँ पनि लिनु दिनु भएको साँचो भए तापनि सो मोरु. १६००। रुपैयाँ तिरी भरपाई लिएकोले अब बुझाउनु पर्ने बाँकी छैन । राजिनामा भोगबन्धकीमा अघि नै मुद्दा परी फैसलाबाट रजिष्ट्रेशन पाससमेत भईसकेकोले वादी दावी झुट्टा हो । वादीको जग्गाको बाली लुटेको होईन भन्नेसमेत व्यहोराको सिद्धिमान खत्रीसमेतको प्रतिवादी रहेछ ।

      ३.    अघि गोविन्दप्रसादको जालसाजीमा उजुर पर्दा वादीको आमा झुमाले बिक्री गरेको सदरै भई प्रधान न्यायालय बक्यौताबाट फैसला भईसकेको वादीको उजुर लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भन्ने शुरु प्यूठान अदालतको फैसला रहेछ ।

      ४     वादीले उमेर नपुग्दै उजुर गरेकोले अहिलेलाई खारेज हुने ठहर्छ भन्ने सल्यान अपीलको ०९।३।१३ को फैसला ।

      ५.    वादीले हकदार साक्षी राखी नालिस गरेकोले यसै मुद्दाबाट किनारा गरी दिने भनी मिसिल सल्यान अपीलमा पठाई दिने ठहर्छ भनी प्र.न्या. सिंगलबेञ्चबाट ०९।९।२९।२ मा फैसला भएको रहेछ ।

      ६.    रुमबहादुरको मोरु. २३०१। को राजिनामा सिद्धिमानको मोरु. २३०।५० को भोगबन्धकी र झुमाको मोरु १६००। को कपाली तमसुकसमेत सद्दे साँचो हुँदा वादीले झुट्टा उजुर गरेको ठहर्छ भन्नेसमेत सल्यान अपीलबाट ०१०।९।७।२ मा फैसला भएको रहेछ ।

      ७.    अपीलको फैसलामा चित्त बुझेन भन्नेसमेत वादीको अपील ।

      ८.    साहु रुमबहादुर आसामी झुमा श्रेष्ठनी भएको मोरु. २३०१। को राजिनामामा भएका न्हेडिक साहुको फट्टा तमसुकसमेतका प्रमाणका कागजहरू लिई आउनु भनी रुमबहादुर समेतका प्रतिवादीहरूलाई १५ दिने म्याद दिई छलफलमा झिकाई आएपछि यो मुद्दा पेश गर्नु भन्ने प्र.न्या. सिंगलबेञ्चको ०११।९।६।३ को आदेश रहेछ ।

      ९.    प्र.वा. समेतको सिद्धिमानले मोरु. २३०१। को न्हेडिकका साहुको फट्टा तमसुकहरू पेश गरेको नदेखिएकाले भए निज सिद्धिमानबाट सो तमसुकहरू पेश गराइ र नभए सोहीबमोजिम निजको कागज गराइ यो मुद्दा पेश गर्न ल्याउनु भन्ने प्र.न्या. सिंगलबेञ्चको ०१२।१।२१ को आदेशानुसार निज सिद्धिमानलाई सोधेमा सो २३०१। को न्हेडिकका साहुका फट्टा तमसुकहरू अघिको मुद्दामा पेश गरेको लिन बाँकी भएकोले मेरा साथमा छैन र दाखिल गर्न सक्तिन भन्नेसमेत निज सिद्धिमानको ०१२।१।२५।१ मा कागज भएको रहेछ ।

      १०.    झुमाले रुमबहादुरलाई गरी दिएको रु. २३०१। को राजिनामा र सिद्धिमानलाई गरी दिएको मोरु २३०।५० को भोगबन्धकी लिखत व्यवहार जालसाजी ठहर्छ भन्नेसमेत प्र.न्या. सिंगलबेञ्चको ०१२।१।२७।३ को फैसला रहेछ ।

      ११.    सिंगलबेञ्चबाट भएको फैसलामा चित्त बुझेन । दोहराई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सिद्धिमान समेतको निवेदनमा ०१४।१।१० का शाही आदेशबमोजिम मुद्दा दोहर्‍याई हेर्न लगतमा दर्ता गरी पेश गर्नु भन्ने ०१४।३।२९ मा सिंगलबेञ्चबाट आदेश रहेछ ।

      १२.   प्रतिवादीको राजिनामा भोगबन्धकी जालसाजी भन्ने वादीको उजुरलाई रुमबहादुर साहु भएको रु. २३०३। को राजिनामा जालसाजी भन्ने अघि नै मुद्दा पर्दा जालसाजीको सबुद पुर्‍याउन नसकेको भन्ने बुँदा लगाई प्र.न्या. बक्यौताबाट फैसला भएको मिसिल सामेल रहेको फैसला नक्कलबाट देखिएको र पछि नाबालकको उमेर पुगी म्याद भित्र उजुर परेका बखत ठहरेबमोजिम हुने भन्ने अघिको फैसलामा बोली परेको हकमा पनि जालसाजीतर्फ अघि नै सोही फैसलाले टुंगो लागेकोले जालसाजीतर्फको वादीको उजुर लाग्ने नभई उमेर पुगेपछि जग्गामा आफ्नो हक निखन्ने र धनमाल हिनामिना गरेतर्फसम्म वादीहरूको उमेर नपुगेसम्म उजुर गर्ने हक कायम राखी छिनेको हुनाले त्यसतर्फ वादीको उजुर नपरी लिखत जालसाजीतर्फ वादीको उजुर लाग्न नसक्ने र रु. २३०।४० को भोगबन्धकीतर्फ पनि जालसाजी भन्ने वादीले सबुद केही दिन नसकेकोले वादीको दावी पुग्न नसक्ने हुनालेसमेत प्र.न्या. सिंगलबेञ्चका फैसलासँग राय नमिलेकोले छलफलमा वादीहरूलाई झिकाई नियमबमोजिम यो मुद्दा डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको ०१४।४।१३।१ को आदेश रहेछ ।

      १३.   जालसाजी गरी लिनु दिनु गरे भन्ने अघि यही २३०१। को राजिनामा उपर वादीको बाजे गोविन्दप्रसादको उजुर पर्दा प्र.न्या. बक्यौता फाँटबाट हाललाई अपीलको इन्साफ मनासिव भनी प्र. को राजिनामा पास गर्ने गरी इन्साफ खण्ड पुछारमा समेत यस मुद्दाबाट नाबालकहरूको उमेर नपुगेसम्म हक नजाने हुनाले नाबालकहरूको उमेर पुगी म्याद भित्र उजुर परेका बखत ठहरेबमोजिम हुने भन्नेसमेत लेखिएकोले लिखत जालसाजीतर्फ वादीहरूको उजुर गर्ने हदम्याद छैन भन्न नहुने र उक्त लिखत जालसाजी हो कि होईन भन्नेतर्फलाई लिखतमा लेखिएको जग्गा घर बिक्री भए पछि झुमा अर्कैै घरमा बसेकी भन्न अथवा यसकारणले सो घरमा बसेकी भनी प्र.हरूले लेख्न नसकेकोले झुमा लिखत भए भन्दा पछि पनि सोही घरमा बसेको देखिएको । साँचो व्यवहारले लिनु दिनु गरेको भए बिक्री गरी सकेको घरमा प्र. हरूले झुमालाई बस्न दिन नपर्ने । मो.रु १६०० को तमसुक जालसाजी भनी वादीले नै सो रुपैयाँ दिन लिन नपर्ने भनी लखेकोले सो मोहरू १६००। दिन लिन नपर्ने हुँदा उक्त मोहरू २३०१। को राजिनामा र सिद्धिमान साहु झुमा आसामी भएको मोरु २३०।५० को भोगबन्धकी समेत जालसाजी खडा गरेको ठहराएको प्र.न्या. सिंगलबेञ्चको इन्साफ मनासिव छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१४।९।११।४ को फैसला रहेछ ।

      १४.   डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहराई पाउँ भन्नेसमेत व्यहोराको रुमबहादुरको हकमा र आफ्ना हकमा समेत सिद्धिमान खत्रीले दिनुभएको निवेदनपत्रमा बिन्तिपत्रको व्यहोरा मौसुफका हजुरमा जाहेर हुँदा उक्त मुद्दा दोहराई दिनु भन्ने हुकुम बक्सेबमोजिम बिन्तिपत्र यसैसाथ पठाएको छ भन्नेसमेत व्यहोराको श्री ५ महाराजाधिराजका प्रमुख निजी सचीवालयको ०१६।९।२२।४ को पत्र रहेछ ।

      १५.   यसमा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्नु होला भन्ने का.मु. प्रधान न्यायाधीशबाट ०१६।१०।१४।५ मा आदेश भएको रहेछ ।

      १६.    गोविन्दप्रसादको र यही प्रतिवादी समेतको यही लिखत जालसाजी मुद्दा अघि पर्दा प्रधान न्यायालय बक्यौता फाँटबाट लिखत जालसाजी नठहरी ०७।२।३।३ मा अन्तिम फैसला भएको । नाबालकको हकमासम्म उजुर परेका बखत ठहरेबमोजिम हुने भन्ने भएको । हाल प्र.न्या. सिंगलबेञ्चबाट सो अघि पास हुने ठहराएको लिखत जालसाजी ठहराएको । सोही इन्साफ सदर गरी सर्वेाच्च अदालत डिभिजन बेञ्चबाट ०१४।९।११।४ मा फैसला भएको देखिएकोले एकपटक लिखत जालसाजी नठहरी अन्तिम निर्णय भईसकेकोमा फेरी सोही कुरामा नालेस अ.बं. ११० ले लाग्नै नसक्ने हुँदा सो ०१४।९।११।४ का डिभिजन बेञ्चको फैसलासँग उक्त लिखत जालसाजी ठहराएको रायतर्फ राय सहमत नभएकोले विपक्षी, वादीहरूसमेत राखी छलफल गर्नुपर्ने भएकोले विपक्षी, वादीहरूलाई ऐनबमोजिम दिन १५ को छलफलको म्याद दिई झिकाई आएपछि पेश गर्नुपर्ने भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१८।९।८।६ को आदेश रहेछ ।

      १७.   यसमा तारेखमा रहेका दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पक्षका विद्वान वकील एडभोकेट मधुप्रसाद शर्माको र निवेदक प्रतिवादी पक्षका विद्वान वकील प्लिडर पुरेन्द्रकुमार मैनालीसमेतको बहस सुनी विचार गर्दा, रुपैयाँ लेनदेन नगरी गराएको जालसाजी लिखत बदर गरी घरबारी खेत हाम्रो कायम गरी पाउँ भन्ने वादी र खास रुपैयाँ लिई दिई भएको लिखत हो । जालसाजी हैन भन्ने प्रतिवादी पक्षको जिकिर भएकोमा वादी दावीको लिखत जालसाजी ठहराई प्रधान न्यायालय सिंगलबेञ्चबाट ०१२।१।२७ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१४।९।११ मा फैसला भएको र लिखत जालसाजी नठहरी अन्तिम निर्णय भईसकेकोमा फेरी सोही कुरामा नालेस अ.बं. ११० नं.ले लाग्नै नसक्ने भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१८।९।८ गते राय भई झगडीया झिकाई नियमबमोजिम पेश हुन आएको हुनाले वादी पक्षहरूको उजुर लाग्ने नलाग्ने वा उजुर लागेमा लिखत जालसाजी हो हैन भन्ने निर्णय गर्नुपर्ने देखिन्छ ।

      १८.   वादीहरूका बाजे गोविन्दप्रसादको र यिनै प्रतिवादी पक्षको, सोही लिखत जालसाजी भन्ने मुद्दा परेकोमा लिखत जालसाजी ठहर्दैन भनी पाल्पा अपीलबाट भएको फैसलाउपर परेकोमा जालसाज गरेको परिबन्द पुर्‍याई नालेस गर्न नसकेको र साहु आसामीको ६ नं. ले आमाले बिक्री गरेको सदर हुने हुनाले समेत हाललाई इन्साफ पाल्पा अपीलको मनासिवै र नाबालकको आमा झुमाकुमारी मरीसकेको हुनाले नाबालकहरूको धन हिनामिना हुने हुनाले वादी र झुमा समेतको यो मुद्दाबाट नाबालकहरूको उमेर नपुगेसम्म हक नजाने हुनाले उमेर पुगी म्याद भित्र उजुर परेका बखत ठहरेबमोजिम हुने भन्नेसमेत प्रधान न्यायालय बक्यौता फाँटबाट २००७।२।३ गते फैसला भएको भन्ने कुरामा दुवै पक्ष सावित र फैसलाको नक्कल पेश भई सो फैसला प्रधान न्यायालय सिंगलबेञ्च र सर्वोच्च अदालत सिंगलबेञ्च, डिभिजन बेञ्चको फैसला आदेशहरू समेतमा उल्लेख भएको देखियो ।

      १९.    लिखत जालसाजी नठहराइ अघि प्रधान न्यायालय बक्यौता फाँटबाट फैसला भएको भन्ने उल्लेख भएको र अड्डा अदालतमा मामिला परी फैसला भएपछि सोही मुद्दामा छिन्ने हाकिमका नाउँको ऐनबमोजिमको अपील नभई उसै झगडीयाका नाउँको फिरादपत्र लिई सुन्न हुँदैन भन्ने अ.बं. ११० नं. मा उल्लेख भएकोले वादी पक्षहरूको उजुर नलाग्ने भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१८।९।८ मा भएको राय मनासिव हो कि भन्नालाई लिखत जालसाजी भनी अघि नालेस दिई फैसला गराउने यस मुद्दाको वादी नाबालक मोतीप्रसाद, विष्णुकुमारी नभई सो मुद्दामा गोविन्दप्रसादले नालेस गरेको देखिएकोले नालेस गर्ने व्यक्ति एकै नभई पृथकपृथक देखिन्छ ।

      २०.   सोही मुद्दामा छिन्ने हाकिमका नाउँको अपील नभई उसै झगडीयाका नाउँको फिरादपत्र लिन सुन्न हुँदैन भन्ने उक्त ऐनमा उल्लेख भएकोले यी प्रतिवादीहरूउपर सोही लिखत जालसाजी भनी उनै गोविन्दप्रसादको नालेस परेको भए लाग्न नसक्ने प्रष्ट देखिन्छ ।

      २१.   हद भित्र नालेस गर्नुपर्ने मानिस १६ बर्ष नाघेको रहेनछ भने १६ बर्ष नाघेको दिन देखि हदको म्यादसम्म नालेस दिए लाग्छ भन्ने अ.बं. ६४ नं. मा उल्लेख भएको र यस मुद्दामा अघि नालेस गर्ने गोविन्दप्रसादले नालेस गरेको नभई जालसाजी लिखतबाट हाम्रो हक नजावस् भनी वादी नाबालकहरूले नालेस दायर गराएको देखिएकोले यस्तोमा अ.बं. ११० नं. ले नालेस लाग्न सक्दैन भन्न मिलेन ।

      २२.   अघि गोविन्दप्रसाद र झुमाकुमारी समेतको लिखत जालसाजी मुद्दामा प्रधान न्यायालय बक्यौता फाँटबाट भएको ०७।२।३ को फैसला लिखत जालसाजी ठहर्दैन भनी फैसला भए पनि सोही फैसलामा हाललाई लिखत जालसाजी नठहराएको पाल्पा अपीलको मनासिवै र वादी र झुमा समेतको यो मुद्दाबाट नाबालकहरूको उमेर नपुगेसम्म हक नजाने हुनाले नाबालकहरूको उमेर पुगी म्याद भित्र उजुर परेका बखत ठहरेबमोजिम हुने भन्नेसमेत उल्लेख भएको भनी त्यसपछि भएको फैसलाहरूमा लेखिएको हुनाले त्यसबाट यो वादी नाबालकहरूको जालसाजीमा नालेस गर्ने अधिकार छैन भन्न र नालेस लाग्न सक्तैन भन्न भएन ।

      २३.   अब लिखततर्फ विचार गर्दा, घरमा सौताने छोरा र आफ्ना छोरीसमेत नाबालक भएको अवस्थामा भएको घर जग्गाहरू रु. २३०३। मा रुमबहादुरलाई राजिनामा गरी दिएको देखियो । सो रुपैयाँ मध्ये रु. २०४२ साहु तिर्न भनी र रु. २६१ नगद लिएको भन्ने लेखिएको देखिन्छ । साहु तिरें भनेकोमा साहु तिरेको ऐनबमोजिम न्हेडिक फट्टाहरूसमेत केही पेश नभएको र सो रु. २०४२। मध्ये रु. १०५०। उनै रुमबहादुरको तिरेको भन्ने लेखिएको र सो नगद रु. २६१ लिन पर्ने अवस्था र वापतसमेत केही जनिएको नदेदिखएको हुनाले सो लिखत शुद्ध व्यवहारको देखिन नआउनेमा पनि यी वादीहरूको आमा झुमाकुमारीको कुनै आर्जन नभई आर्थिक अवस्थाले कर्जा लिनुपर्ने कारण परी लिएको रहेछ कि भन्नालाई भएको घर जग्गाहरू सबै रुमबहादुरलाई राजिनामा गरी दिएको केही पछि उनै झुमाकुमारीसँग उनै रुमबहादुरले रु. १६००। कर्जा लिई लिखत गरी दिएमा रुमबहादुर सावित र लिखतसमेत पेश हुन आएको हुनाले त्यतिको कर्जा दिन सक्ने झुमाकुमारीले उक्त लेखिएबमोजिम शुद्ध व्यवहारबाट लिखत गरेको रहेछ भन्न मनासिव नदेदिएकोबाट समेत लिखत जालसाजी ठहराई प्र.न्या सिंगलबेञ्चबाट ०१२।१।२७ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१४।९।११ मा भएको फैसला मनासिव छ । वादीहरूको उजुर नलाग्ने भनी सर्वोच्च अदातल सिंगलबेञ्चबाट ०१४।४।१३ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१८।९।८ मा गरेको राय मनासिव देखिएन । अरु तपसीलबमोजिम गर्नु ।

तपसील

निवेदक, प्रतिवादी देहायका मानिस के मनासिव इन्साफ दोहार्‍याएमा देहायबमोजिमको शुरु दण्डको हा.का.१२ नं. ले सयकडा १० ले देहायबमोजिम दण्ड हुन्छ । देहायबमोजिम गर्नु ..............................१

प्यूठान थुम्नारीकोट मौजे माझकोट माना गाउँ बस्ने रुमबहादुर थापा क्षेत्री के शुरु दण्ड २८७।६२।२ को सयकडा १०। ले ने.रु. २८।७७ दण्ड हुन्छ । वारेस हुँदा असूल गर्नु भनी तपसीलमा लगत दिनु ................................२

ऐ.लुमगाउँ बस्ने सिद्धिमान खत्री क्षेत्री के शुरु दण्ड ने.रु. ५७।६३ को सयकडा १०। ले ने.रु. ५।७७ दण्ड हुन्छ । रुजु नहुँदा असूल गर्नु भनी ऐ.ऐ .........................३

नियमबमोजिम मिसिल बुझाई दिनु .........................४

 

इति सम्वत् २०१९ साल भाद्र ५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु