निर्णय नं. २१६ - बकसपत्र बदर

निर्णय नं. २१६ ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. १७४
निवेदक, प्रतिवादी : मोहनमाया महर्जन्नी समेत
विरुद्ध
विपक्षी, वादी : पुननारायण महर्जन
मुद्दा : बकसपत्र बदर
(१) अचलको सम्पत्तिले बर्ष दिन खान नपुगे मात्र ४० बर्ष नाघेकी विधवाले चल अचल सबैमा आफूखुस गर्न पाउने । बाजेका पालाको आर्जनमा अचलमा आधामात्र आफुखुस गर्न पाउने ।
विधवा अंशधनको १ नं. को देहाय ४ दफामा “बर्ष दिन अचलका आम्दानीले खान पुग्ने रहेनछ भने ४० पुगेकाले चलअचल सबैमा खुस गर्न पाउँछे” भनी लेखिएको । दुवै बकसपत्र गर्दा पुतलीको उमेर ४० बर्ष नाघेको देखिएको । सालको धान मुरी २५। उब्जनी हुने भनी प्रतिवादीतर्फबाटै लुटपिट मुद्दामा दावी लिएको । पुतली आफैले खेती गर्न नसक्ने बृद्धावस्थाकी हुनाले खेती गर्नेको मोहीबोटी आधा परसारे पनि आधा धान मुरी १२।१० आउने घर बाहाल र गहुँ समेत जग्गाको अन्य आयस्ता समेतको हिसाब गर्दा किसानी गर्ने १ स्त्रीलाई खान नपुग्ने भन्ने नदिखिएकोले निवेदकतर्फबाट वकीलको बहस मनासिव देखिएन ।
(प्रकरण नं. १४)
(२) मुद्दा समेत परी अरुले नै हेरविचार गरी बकससमेत पाएको देखिएमा ऐनबमोजिम हेरविचार गरेको भन्न नमिल्ने । वादीसँग बकस दिने पुतलीको अघि मुद्दा समेत परेको र छोरीहरू आई पालन पोषण हेरविचार गरेकोबाट बकस समेत दिएको देखिएकोले वादीले हेरविचार गरेको भन्न नमिलेको हुँदा चलतर्फ सवै बकसपत्र दिएको सदरै हुने ।
अचलका हकमा बाजेका पालाका आर्जन होईन भन्ने सबुद प्रमाण निवेदकतर्फबाट पेश हुन नसकेको र आधा बकस बदर गरी डिभिजन बेञ्चबाट किनारा भए उपर वादीले चित्त बुझाई सोही फैसला कायम होस भनी बहसमा समेत जिकिर लिएको समेत उपरोक्त कारणहरूबाट डिभिजन बेञ्चको फैसला न्यायोचित नै देखिँदा निवेदकको जिकिर पुग्न सक्तैन ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट : प्लिडर मायानाथ
वादी तर्फबाट : प्लिडर मुक्तिलाल झा
फैसला
१. यसमा डिभिजन बेञ्चबाट ०१९।३।२०।४ मा फैसला भएउपर दोहराई पाउँ भन्ने निवेदकहरूको सर्वोच्च अदालत नियमावली, २०१३ संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐ. संशोधित नियम ६३ अन्तर्गत दोहोरिने आदेश भई दायर भएकोबाट दुवै थर झगडीया राखी पेश हुन आएको यो मुद्दा हेर्दा,
२. मेरो बाबु जितमान र कान्छा महर्जन २ भाइ परलोक भएपछि म र कान्छा बाबुकी स्वास्नी मेरी कान्छी आमा पुतली समेतसंगै बसी आएका थियौं । ०१५।१०।५ मा बण्डापत्र हुँदा कान्छी आमाको भागमा पूर्खाको आर्जन बिर्ता रोपनी ९।।ऽ।। र काठमाण्डौ हिम्मत टोलको घर १ टोकन बाहालको घर १ समेत परेको थियो । कान्छी आमाले बिर्ता रोपनी ६।।।ऽ।। आफैले कमाएकी अरु मोहियामा कमाउन दिएकी जग्गाको आयस्ता र घर बाहाल समेतबाट निजै कान्छी आमालाई प्रसस्त खान लाउन पुग्ने र निजलाई मैले हेरविचार स्याहार सम्भार गरी आएको थिएँ । निज कान्छी आमा १६।८।१५ गते परलोक भएकोले म समेत भई घाटमा लगेको मौका निज कान्छी आमाकी छोरी अन्यायवाली २ बहिनीले ढुकुटी खोली नगदी र भाँडा वर्तन समेत ओसारी लगेछन् । काजकृया गरी सकेपछि धनमालमा नालेस दिन तयार भएको थाहा पाई अन्यायवालीहरूले लुटपीट करकाप मुद्दा फौजदारीमा दिएका त्यसमा ०१२।६।३१ मा र ०१६।६।८।१ मा समेत शेषपछिको बकसपत्र लेखाई लिएको भन्ने लेखेकाले रजिष्ट्रेशनबाट ०१६।११।३ मा नक्कल लिंदा हकवालाले हेरविचार नगरेको आयस्ताले बर्ष दिन खान लाउन नपुग्ने र छोरीहरूले स्याहार सम्भार पालनपोषण गरी आएको भन्ने झुट्टा कुरा लेखी पास गराई लिएको समेत थाहाभयो । आयस्ताले प्रसस्त खान लाउन पुग्ने हुँदा कसैले पालन पोषण गर्नै नपर्ने र स्याहार संभारका हकमा मैले नै गरी लोग्ने छँदैको हिसाबसँग इज्जत साथ राखेको थिएँ । अन्यायवालाहरूले हेरविचारसम्म पनि गरेको थिएन । ०१६।८।८।१ को बकसपत्रमा काजकृया गरी गराई खानु भन्ने शर्त लेखिएको । निजहरूले काजकृया पनि नगराएको र ऐनले पुर्खाको पालाको चल अचलमा ४० बर्ष पुगेकीले जम्मै आफू खुश गर्न नपाउने चलमा दशौंद बाँकी राखी अचलमा आधीसम्म आफू खुश गर्न पाउनेमा बकसपत्र लेखिएको अचल आधी भन्दा बढी भई ऐनले सदर नहुने हुँदा ३ पुस्ता भित्रको हकवाला मेरो मञ्जुरी बेगर गराई लिएको सो दुबै बकसपत्र बदर हुने हुँदा बदर गरी सजाय गरी पाउँ भन्नेसमेत ०१७।२।७।६ को पुननारायणको फिराद ।
३. वादीले आमा पुतलीलाई खान लाउन नदिई दुःख दिएकाले ०१२ सालमा अंश मुद्दा परी इवीवाला भईरहेको वादीले हेरविचार कुनै गरेको होइन । हामीहरूले आमाको टहल चाकरी पालन पोषण गरी आएको रिझ वापत ०१२।६।३।२ मा खेत रोपनी ५–।। र हिम्मत टोलको घर त्यसपछि ०१६।८।८।२ मा बाँकी अरु घर खेत चल अचल गैह्र दुवै बहिनीले पाउने गरी शेषपछिको बकसपत्र लेखी रजिष्ट्रेशन पाससमेत गरिदिनु भएको । विधवा अंशधनको १ नं. ४ दफाले ६५ बर्ष पुगीसकेकी विधवाले सबै आफू खुश गर्न पाउने भई बकसपत्र लेखाई लिएको हुँ । ०१६।८।१५ मा हाम्रो आमा परलोक हुनुभएको र ०१६।९।१३ मा फौजदारीमा निज वादीसमेतका नाउँमा हामीहरूले नालेस दिएको । त्यसमा ०१६ सालमा फाल्गुणमा निजले प्रतिवादी लगाएको । सो मितिले ३५ दिन भित्र वादीको उजुर नपरेकोले खारेज हुनुपर्छ । आमाको काजक्रिया हामीले नै गराएको हौं । ढुकुटी खोली धनमाल ओसारे भन्ने कुरा झुट्टा हो । बकसपत्र कायमै राखी पाउँ भन्नेसमेत ०१७।५।६।१ को मोहनमाया, श्रीमायाको प्रतिउत्तर ।
४. वादी र पुतलीको अंश मुद्दा परेको देखिएकोले वादीले हेरविचार गरेको भन्ने कुरा अनपत्यार छ । आयस्ताले बर्ष दिन खान लाउन पुग्छ भन्ने कुरा मनासिव पर्दैन । किनकि बिर्ता जग्गा रोपनी ९।।ऽ।।। र २ वटा घरको आयस्ता भनी वादीले देखाएकोलाई निजको साक्षीले नै खम्बिर गरेको देखिंंदैन । वादी लेखबाटै उमेर ढल्की सकेकी देखिएको पुतलीले आफै खेती गरेकी भन्न विश्वास पर्दैन । घर जग्गाको आयस्ता अन्दाज लगाउँदा बर्ष दिन खान लाउन पुग्छ भन्न बेमनासिव छ । बिधवा अंशधनको १ नं. ४ दफाले अचलको आयस्ताले बर्ष दिन खान नपुग्ने हुँदा बकसपत्र बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्नेसमेत का.दे.ई.अ. को ०१७।१०।७।६ को फैसला
५. सो उपर चित्त बुझेन भन्ने पुननारायणको अपील ।
६. बकस दिने पुतली एक्ली बृद्ध अवस्थाकी र नोकर राख्ने प्रश्स्त सम्पत्ति औकातकी नभएकीले आफ्नो श्रीसम्पत्ति बाँचुन्जेल आफूले खाई शेषपछि बकस पाउनेले खान पाउने गरी आफ्नो आधारको लागि बकस दिएको देखियो । बकसपत्र झुट्टा व्यहोराको भए बकस दिनेको जीउ छँदै दावी गर्नसक्नु पथ्र्यो । वादीको र पुतलीको अंश मुद्दा परेकोले हेरविचार गरी आएको देखिएन । आयस्ताले खान लाउन पुग्ने भन्ने वादीको देखाईलाई १५।१६ मुरी धानको आयस्ताले सबै व्यवहारलाई पुग्छ भन्न नहुने । एक व्यक्तिलाई बर्ष दिन खान धान मुरी ९। दिनको नगदी १।२ रुपैयाँ चाहिने र चाडबाड बिरामी खर्च समेतलाई नपुग्ने देखिएको । पुग्छ भन्ने सबुद पनि वादीले दिन नसकेकोले इन्साफ शुरुको मनासिव छ भन्ने ०१७।१२।२८।२ को का.जि.अ. को फैसला ।
७. सो उपर चित्त बुझेन भन्ने वादी पुननारायणको अपील ।
८. छलफललाई प्रतिवादीहरूलाई म्याद दिई झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१९।१।११।२ को आदेश
९. प्रतिवादीहरूले वादीका नाउँमा दिएको लुटपीट मुद्दाको नालेसमा साल १ को आलु गहुँ समेतको अलावा २५, मुरी चानचुन धान उब्जा हुने भनी लेखिएको । फिराद नक्कल वादीले छलफलमा देखाएकोबाट आलु गहुँ र धान त्यतिसम्म उब्जा हुनसक्ने मोहिया हक पनि आफ्नै भएको उपत्यकाको ९। रोपनी चानचुन बिर्ता जग्गा र घर २ को आयस्ताले एक्ली बृद्धा पुतलीलाई खान लाउन नपुग्ने जेथा हो भन्न नभएको । पुर्खाको पालाको आर्जन हो भनी वादीले जिकिर लिएकोमा होईन भन्न प्रतिवादीले नसकेकोले बाजेका पालाको अचलमा आधा र चलमासम्म सबै पुतलीको हक विधवा अंशधनको १ नं. ३ दफाले उठाउन पाउने हुँदा बकसपत्रमा परेको अचलमा आधीको बकसपत्र बदर हुने अरु सदर हुने ठर्हछ भन्नेसमेत डिभिजन बेञ्चको ०१९।३।२०।४ को फैसला ।
१०. जग्गा रोपनी ९।।ऽ भएको भनी लेखे पनि ८।ऽ।।। मात्र भएको सो जग्गा एकै चक्ला नभई २०।२१ चक्ला भएको । १।२ चक्लासम्म दोयम र अरु जम्मै चाहार जग्गा हुँदा आकाश पानीका भरमा रोपनी भई रोपनी १ मा मुरी १०।१२ पाथी भन्दा बढी उब्जा हुँदैन । त्यस हिसाबले १२।१५ मुरी सिवाय धानै नहुने । लेख्नेका भूलले वादीमा २०।२५ मुरी लेखिदियो भन्दैमा जग्गाको हालत नबुझी २५ मुरी उब्जा कायम गर्न नहुने र खान लाउन खेती गराउनसमेत सालको नगदी रु. १२६२ जति खर्च लाग्ने हुनाले समेत त्यति धानको आयस्ताले बर्ष दिन पुग्नै नसक्ने हुँदा डिभिजन बेञ्चबाट भएको इन्साफमा चित्त बुझेन दोहराई पाउँ भन्ने मोहनमायाँ, श्रीमायाँको निवेदनपत्र ।
१२. २५। मुरी उब्जनी पनि नहुने भए पनि त्यतिले मात्र आमा पुतलीलाई बर्षदिनसम्म खानै नपुग्नेमा डिभिजन बेञ्चबाट मुरी २५। ले खान पुग्ने भनी बकसपत्र बदर हुँदा उचित न्याय पाईन भनी निवेदकले रोहवरमा समेत जिकिर गरेको र बृद्ध अवस्थाकी पुतलीले आफैले दश कर्म गरी उब्जायो होला भन्न व्यवहारमा नमिल्ने । मोहीबोटी काटी कटाई बाँकी मुरी १२।१० सम्मले एक जवानको जीविका चल्छ, चल्दैन ? त्यसको निर्णय गर्नुपर्ने देखिएकोले दोहराई हेर्न निस्सा दिएको छ । दुवैथर राखी फुल बेञ्चमा पेश गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।५।७।५ को आदेश ।
१२. यसमा निवेदक, प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वकील प्लिडर मायानाथले विपक्षीका भनाईबमोजिम धान मुरी २४। आयस्ता माने पनि पुतली बृद्ध अवस्थाकी हुनाले खेती गर्न नसक्ने । मोहिया लगाउँदा आधा मात्र आयस्ता आउने आधा १२। ले खान लाउन नपुग्ने ५।।–।। साल १२ मै बकस दिएकोमा उजुर गर्न नसकेको । निजको कृया मेरै पक्षतर्फबाट भएको समेतबाट कानूनबमोजिम मेरो पक्षले पाएको बकस सदरै हुने भन्ने र वादी र पुननारायणतर्फबाट रहनुभएका विद्वान वकील प्लिडर मुक्तिलाल झाले हकवालाको हकै नराखी उसको मञ्जुरी बेगर पुर्खाको आर्जन सबै खुस गर्ने विधवा अंश धनको ऐन र दानदातव्यको ऐनले नपाउने लुटपिट मुद्दामा सो जग्गाको उब्जनी धान मुरी २५। देखाई यिनै प्रतिवादीले नालेस दिएको । सो घर बाहालसमेतको आयस्ताबाट बकस दिने पुतली १ व्यक्तिलाई बर्ष दिन खान पुग्ने हुनाले अचलमा आधी बदर गर्ने गरेको डिभिजन बेञ्चको फैसला कानूनबमोजिम भएकोले सदर हुनु पर्ने भन्नेसमेत बहस गर्नु भयो ।
१३. उपरोक्त विवरणबाट प्रस्तुत मुद्दामा शेषपछि बकसपत्र दिने विधवा पुतलीको घर जग्गाका आयस्ताले निजलाई बर्षदिन खान पुग्ने नपुग्ने के हो ? शेषपछिको बकसपत्र दिएको सबै सदर हुने नहुने के हो ? भन्ने निर्णय गर्नुपर्ने देखिन आयो ।
१४. विधवा अंशधनका १ नं. को देहाय ४ दफामा बर्ष दिन अचलका आम्दानीले खान पुग्ने रहेछ भने ४० बर्ष पुगेकीले चलअचल सबैमा खुश गर्न पाउछे भनी लेखिएको । दुवै बकसपत्र गर्दा पुतलीको उमेर ४० बर्ष नाघेको देखिएको । सालको धान मुरी ५२ उब्जनी हुने भनी प्रतिवादीतर्फबाटै लुटपीट मुद्दामा दावी लिएको । पुतली आफैले खेती गर्न नसक्ने बृद्ध अवस्थाकी हुनाले खेती गर्नको मोहीबोटी आधा पर सारे पनि आधा धान मुरी १२।१० आउने घर बाहाल र गहुँसमेत जग्गाको अन्य आयस्तासमेतको हिसाब गर्दा किसानी गर्ने १ स्त्रीलाई खान नपुग्ने भन्ने नदेखिएकोले निवेदकतर्फको वकीलको बहस मनासिव देखिएन ।
१५. वादीसँग बकस दिने पुतलीको अघि मुद्दासमेत परेको र छोराहरू आई पालन पोषण हेरविचार गरेकोबाट बकससमेत दिएको देखिएकाले वादीले हेरविचार गरेको भन्न नमिलेको हुँदा चलतर्फ सबै बकसपत्र दिएको सदरै हुने । अचलका हकमा बाजेका पालाको आर्जन होईन भन्ने सबुद प्रमाण निवेदकतर्फबाट पेश हुन नसकेको र आधा बकस बदर गरी डिभिजन बेञ्चबाट किनारा भए उपर वादीले चित्त बुझाई सोही फैसला कायम होस भनी बहसमा जिकिर लिएको समेत उपरोक्त कारणहरूबाट डिभिजन बेञ्चको फैसला न्यायोचित नै देखिँदा निवेदकको जिकिर पुग्न सक्तैन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
निवदेन प्रतिवादी देहायका मानिसको इन्साफ दोहर्याएमा शुरु कोर्टफी ने.रु. ५। को हा.क.का.११ नं. ले दशौद ने.रु. ।५० दण्ड हुँन्छ । रुजु हुँदा देहायबमोजिम बराबरको दरले असुल गर्न भनी तहसीलमा लगत दिनु.................१
का.ई ज्याठा टोल बस्ने मोहन मायाँ महर्जननी के.ने.रु. पच्चिस पैसा ।२५ ऐ.टेबहाल बस्ने श्रीमायाँ महर्जननी के.ने.रु. पच्चिस पैसा ।२५
नियमबमोजिम मिसिल बुझाई दिनु ..........................२
इति सम्वत् २०१९ साल कार्तिक २१ गते रोज ३ शुभम् ।