शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१९ - जग्गा जालसाजी

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. २१९      ने.का.प. २०२०

फुल बेञ्च

माननीय का.मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

फौ.फु.नं. ३९

निवेदक, वादी : पन्नालाल थारु समेत

विरुद्ध

विपक्षी, प्रतिवादी : उमालाल थारु समेत

मुद्दा : जग्गा जालसाजी

(१)   विधवा अंशधनको २ नंपोइल गइसकेपछि अघिल्लो लोग्नेको सम्पत्तिमा लिनुदिनु गरेको व्यवहार सदर मान्न नमिल्ने ।

            ...निवेदकहरूकी आमा छरवैन ०७ सालमा पोइल गएको देखिन ठर्हन आएकोले विधवा अंशधनका २ नं.ले पोइल गैसकेपछि अघिल्लो लोग्नेको सम्पत्ति लिई जान नहुने हकवालाको हुने । त्यस्तो सम्पत्ति ०६।३।३। को दृष्टिबन्धकी तमसुक १०००१ मा ०७ सालमा पोइल गईसकेपछि ०८ साल आषाढ २७ गतेमा थप लिएको ८४२१ लिनु दिनु गरेको व्यवहार सदर मान्न नमिल्ने हुनाले सो ८४२१ आठहजार चारसय एक्काइस रुपैयाँ बदर हुने ।

(प्रकरण नं. १८)

निवेदक तर्फबाट : एडभोकेट मधुप्रसाद

विपक्षी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा

फैसला

      १.     यसमा डिभिजन बेञ्चबाट ०१८।१२।२०।२ मा फैसला भएउपर दोहर्‍याईपाउँ भन्ने निवेदकहरूको सर्वोच्च अदालत नियमावली, २०१३ को शंसोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐ नियम ६३ अन्तर्गत दोहरिने निस्सा भई दायर भएकोबाट दुवै पक्ष राखी पेश हुन आएको प्रसतुत मुद्दा हेर्दा,

      २.    बाजे छली परलोक भएपछि बाबुहरू भाइ भिन्न भई बाबु कैलुका भागमा मदनपुर बजेलिया २ मा मौजाको जग्गा बिगाहा ६६।३।।।४ भागमा परी बाबुका नाउँमा दर्ता भईरहेको र बाबुले २ स्वास्नीमा जेठी आमापट्टि अन्यायीको खोलुटु कुसम्लाल २ भाइ र कान्छीपट्टि हामी पन्नालाल दसनलाल २ भाइ भएकोमा बाबु जीवीत छँदै मदनपुरको ६।।।२ जग्गा बाबुले जीविका लिई बाँकी जग्गा विगाहा ५६।।१।।।४ मा दुवै मौजाको गरी जम्मा ३० विगाहा जेठीआमा पट्टिका अन्यायवाला २ जनाले अंश लिई दर्तासमेत गराई मानु छुट्टी बेगलै बसेको र बाँकी हामी नाबालकहरूको भाग मदनपुरको २९।।१।।।४ र बाबुको जिविकाको ६।।।२ समेत ३६।३ ।।।४ बाबुको नाउँमा दर्ता कायम राखी बाबुसमेत सगोलै बसी भोगेको । बाबु परलोक भएपछि २०।२५ बर्ष उमेरकी हाम्री आमा झगरु माझीसंग पोईल गईसकेपछि हामी नाबालक हुँदा बाबुकै नाउँमा दर्ता कायम रहेकोमा जेठीआमा पट्टिको दाजु अन्यायवाला खोलटु कुसमलालले हाम्रो जग्गा धनमालसमेत रेखदेख गरी आएको पछि दाजु खोलटु माहिला बाबु तेजनारानको छोरा उमालाल पोइला गईसकेकी हाम्रो आमा छेर्नीसमेत मिली बाबुका नाउँमा दर्ता रहेको जग्गा पोइल गई छोरा छोरी समेत पाईसकेकी आमा छेर्नीका नाउँमा दर्ता गराई नमालुम कुन मितिमा हो दाजु खोलटु साक्षी र उमालाल साहु भई आमाबाट लिखत गराएको बुझिएको हाम्रो स्याहार गर्ने दाजु कुसमलालले ०६।७।३।, ६।७।२।३ समेतमा बिन्तिपत्र दिँदा दिँदै त्यसको वास्तै नगरी हामीहरूको जम्गा ४।५ बर्ष देखि उमालालले खाईरहेकोले निवेदन गरेका छौं । पोइला गएकी आमाबाट गरेको व्यवहार बदर गरी हाम्रो जग्गा फिर्ता गराई दाखेल दर्ता गरी पाउँ भन्ने वादीहरूको ०१३।९ बेगतेको निवेदनपत्रमा सर्वोच्च अदालत दौडाहा श्री माननीय न्यायाधीश रंगनाथबाट विराटनगर अमिनीकै व्यहोरा साँचो भए ठाडै बुझी ऐन सवालबमोजिम गर्नु भन्ने ०१३।९।२१ को आदेश ।

      ३.    हाम्रो बाबु मरेको ८ बर्ष भयो भनी गाउँका मानिस भन्छन । आमा पनि सोही सालमा पोइल गएकी हुन । जग्गा आमा पोइल गएपछि दाजु खोल्टुले खाएको र ४।५ बर्षदेखि उमालाले खाएको छ । जालसाज गरी खाए खुवाएको जग्गा हामीलाई दिलाई पाउँ भन्नेसमेत वादीहरूको १४।१।२८ को बयान ।

      ४.    वादीको बाबुको नाउँको जग्गा मैले लिएको छैन । वादीको आमा छेर्नीले रुद्रप्रसादको कर्जा तिर्न र घर खर्चगर्नसमेत भनी रु. १०००१ कर्जा लिई निजका नाउँको मदनपुरको जग्गा विगाहा ३६।३।।।४ मध्ये ३५द्र४।।।४ जग्गा ०६।३।३ मा दृष्टी पास गरी दिएकीमा पछि रु. ८४२१। थप लिई सोही जग्गा दृष्टि लेखि ०८।३।२८ मा पास गरी दिएकी । जग्गामा चलन गर्न नदिँदा मेरो उजुर परी विराटनगर अमिनीबाट चलन पाउने ठहरी ०९।६।२२ मा फैसला भई चलन चलाउने दर्खास्त परी कारवाई चलिरहेको छ । मैले चलन पाएको र चलन गरेको छैन । उनीहरूले नै चलन गरेका छन । ९ साल जेष्ठमा निज छेरवैन पोईला गइन भन्ने कुरा ०९।६।२२ को यस अड्डाको फैसलाबाट थाहा पाएकोले बुझ्दा झगरु थारुसँग पोइल गएकी थाहा भएको हो । निज हाल झगरुको साथमा बसेकी छ । पोइल जानु भन्दा पहिले नै मलाई लिखत गरी दिएकीले जालसाज गरेको होइन भन्ने उमालालको बयान ।

      ५.    लोग्ने कैलुले रुद्रप्रसादसँग रुपैयाँ कर्जा लिएको लोग्ने मरेपछि सो कर्जा तिर्न र घर खर्च गर्न लोग्नेका नाउँको लोग्ने मरेकोले मेरा नाउँमा दर्ता गराएको ३६।३।।।४ जग्गामध्ये ३५द्र४।।।४ उमालाललाई दृष्टि दिई ०६।३।३ मा रु. १०००१ लिएको फेरी ०८।३।२७ मा रु. ८४२१ थप लिई त्यही जग्गा दृष्टी पास गरी दिएको छु । म ०९ सालमा झगरुसँग पोइल जानु भन्दा अगावै सौताने छोरा साक्षी राखी लिखत गरी दिएकी हुँ । अरुको उच्याटमा लागी झुट्टा उजुर गरेका हुन भन्ने छरवैनको वा.देवीबहादुरको ०१५।४।७ को बयान ।

      ६.    छरवैन झगरुसँग कुन साल मितिमा पोइल गएकी हुन ? सो यकीन गर्न छरवैन र निज पोइल गएकी झगरु बुझ्ने मो.वि. अमिनीबाट पर्चा भई बुझिएकोमा झगरुसँग पोइल गएको १ बर्ष पछि पहिले जन्मेकी छोरी ६ बर्षमा पोहर साल मरी २ बर्षकी अर्की छोरी छ । पोइल गएको अहिले ७ बर्ष भयो भन्ने छरवैनको १५।८।१६ को बयान । झगरुले म्याद गुजारेको ।

      ७.    छरवैनले रुद्रप्रसादलाई गरी दिएको ०४।३।११ को लिखतमै यो जग्गा छरवैनका नाउँमा दर्ता भएको भन्ने लेखिएको हुँदा उमालाललाई लेखि दिनु भन्दा पहिले नेै छरवैनका नाउँमा दर्ताभएको भन्ने लेखिएको हुँदा उमालाललाई लेखिदिनु भन्दा पहिले नै छरवैनका नाउँमा दर्ता भएको देखिनाले पोइल गई सकेपछि जालसाज गरी लिएको भन्ने भनाई अमिल्दो देखिएको । पोइल गएपछि लिखत गरी दिएको सबुद कतैबाट गुज्रन नआएको । बाबुका पालाको कर्जासमेत गभाई बराबर व्यवहार गरी आएकी प्रमाणको लिखतबाट देखिएको । पोइल नजाँदै थपसमेत लिई उमालाललाई दृष्टि लिखत गरी दिएकोमा जग्गा चलन चलाईपाउँ भन्ने मुद्दा परी चलन पाउने ठहरी ०९।६।२२।३ मा फैसला भई उमालाललाई तहसीलबाट जग्गा चलनसमेत चलाई दिईसकेको देखिन आएकोले वादी दावी झुट्टा ठर्हछ भन्ने मो.वि. अमिनीको ०१६।३।३१।४ को फैसला ।

      ८.    सो उपर चित्त बुझेन भन्ने वादीहरूको अपील ।

      ९.    जुनसुकै महिनामा पोइल गएकी भए पनि सालको मात्र हिसाब गर्दा गएको सालसमेत जोड्दा २ साल बढी पर्न आउने दिनले पाँच साल मात्र भएकोमा सिर्फ सालमात्र गन्दा ७ साल हुन आउँछ । पोइल चैत्रमा गएको भए बैशाखमा २ साल हुन आउँछ । त्यस्तै हिसाबबाट अपील जिकिर गरेको मनासिव देखिदैन । ०६ सालमै सो कुराको जाहेरी दाजु कुसुमलालले माल गोश्वारामा दिएका छन भन्ने वादीमा लेखेको माल गोश्वरा बुझ्दा नआएको र सगोलमा उमेर पुगेको कोही नभएका नाबालकको हकमा ३ पुस्ताका हकवालाहरूले नालेस उजुर गर्न पाउने अ.बं. १०७ नं. मा व्यवस्था भएको । ०६ सालमै पोइल गईसकेकी र नाबालकको धन हिनामीना गर्न खोजेको भए उसै बखत कुसुमलालले उजुर गर्नुपर्ने, गरेको नदेखिएको । वादीहरूकी आमाले गरी दिएको लिखतमा दाजु खोलटु साक्षी बसी व्यवहार भएको देखिएको । जालसाजीको सबुद प्रमाण नपुगेको विधवा अंशधनको ऐनमा बन्धकी दिन पाउँदैन भन्ने उल्लेख नहुनाले समेत इन्साफ शुरुको मनासिव छ भन्ने विराटनगर जिल्ला अदालतको ०१६।१२।५।६ को फैसला ।

      १०.    सो उपर चित्त बुझेन भन्ने वादीहरूको अपील ।

      ११.    ०१।८।१५ मा कैलुले रुद्रप्रसादलाई रु. ३१०० लिई गरी दिएको दृष्टी तमसुक सक्कलै मो.वि. मालबाट झिकाई छरवैनका नाउँमा छलफलको म्याद पठाई आएपछि पेश गर्नु भन्ने पु.उ.अ. डिभिजन बेञ्चको ०१८।२।८।१ को आदेश ।

      १२.   अपीलाटकी आमा ०६ सालमै पोइल गईसकेकी र नाबालकको धन हिनामिना गर्न गराउन खोजेको भए अ.बं.१०७ नं.बमोजिम उसै बखत उजुर गरे गराएको भए लिखत हुन गर्न नै नपाउने भएको र वादीहरूको आमा छरवैनको बयानबाट निज ०९ सालमा मात्र पोइल गएकी देखिन आएकोले समेत इन्साफ शुरुको सदर गरेको अपीलको मनासिव छ भन्ने सर्वोच्च अदालत पूर्व दौडाहा डिभिजन बेञ्चको ०१८।१२।२०।२ को फैसला ।

      १३.   सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादीहरूको निवेदन ।

      १४.   मेरो १४ सालमा विराटनगर अमिनीमा भएको बयानको नक्कलबाट १४ सालमा १३ बर्षको उमेर देखिएको हुनाले ०८ सालमा ६ बर्षको उमेर भएको र म मुनीको बालक भाइसमेत भएकोमा अनाथ नाबालकको केही विचारै नराखी लिखत सदर गरी फैसला हुँदा उचित न्याय पाएनौं भनी निवेदकले रोहवरमा जिकिरसमेत गरेकोले व्यहोरा साँचो भए आमा पोइल गए पनि नगए पनि यस्तो अवस्थामा नाबालकको हक मेटिन्छ मेटिदैन ? त्यसको निर्णय गर्नुपर्ने हुनाले दोहर्‍याई हेर्ने निस्सा दिएको छ । दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।५।२७।४ को आदेश ।

      १५.   निवेदकहरूको वा. हर्कलाल श्रेष्ठ प्रतिवादी उमालालको वा. अगहनलाल खोलटु विस्वाशको वा.सूर्यबहादुरहरूलाई २० माघ १७ गतेको पेशीको तारेख तोकिएको । निजहरूलाई रोहवरमा राखी निवेदक पक्षका विद्वान वकील एडभोकेट मधुप्रसाद र प्रतिवादी उमालालतर्फबाट रहनुभएको विद्वान वकील सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा समेतले गर्नुभएको बहस सुनी आज निर्णय सुनाउने पेशीको तारेख तोकिई पेश हुनआएको प्रस्तुत मुद्दामा मिसिल कागजसमेत हेरी बुझी निर्णयतर्फ विचार गर्दा, पोइल जानु भन्दा अघि वा पछि कहिले लेनदेन व्यवहार गरेका हुन ? पछिको व्यवहार भए सो बदर हुने नहुने के हो ? भन्ने कुराको निर्णय गर्नुपर्ने देखियो ।

      १६.    निवेदककी आमा छरवैन पोइल गएकी भन्ने कुरामा वादी प्रतिवादी दुवै पक्षको मुख मिलेकोले त्यसतर्फ कुनै तर्क गर्नु परेन । कहिले पोइल गएकी हुन भन्ने कुरालाई मिसिल हेर्दा हाम्री आमा झगरु माझीसँग पोइल गईसके पछी खोलटु उमालाल र पोइल गई सकेकी आमासमेत मिली पोइल गई छोरा छोरीसमेत पाइसकेकी । आमा छरवैनका नाउँमा दर्ता गराई कुन मितिमा हो दाजु खोलटु र उमालाल साहु भई आमाबाट लिखत गराएकोमा दाजु कुसुमलालले ०६।५।७।३ र ०६।७।२।३ समेतमा निवेदन दिएको भन्नेसमेत यसै मुद्दाको ठाडै बुझिने आदेश लागेको निवेदनमा उल्लेख गरेको । पोइल गएको समयको मुख नमिलेको कारण देखाई शुरु अदालतबाट वादी प्रतिवादीहरूको साक्षी बुझिँदा प्रतिवादीका साक्षीहरूले तामेल भएको समनको म्याद गुजारेका र वादीका साक्षी महारले वादीकी आमा अहिले ७ बर्ष भयो साल मितिको सम्झना छैन पोइल गइ भन्ने र वादीकै आमा छरवैन थरुनी ०७ सालमा वादीहरूलाई छाडी पोइल गएकी भन्नेसमेत ०१४।५।२७ मा बकपत्र गरेका र पोइल गएकी खुद कारणी छरवैन बुझिदा म पोइल गएपछि पहिले एउटा छोरी जन्मेकी थिइ । यो ६ बर्षकी भई पोहोर साल मरी भन्ने ३ सवालको जवाफमा र अहिले ७ बर्ष भयो जेष्ठ महिनामा जन्मी पोहोर साल मेरी छोरी मरेकी हुन भनी ५ सवालको जवाफमा १५।८।१६ गते लिएको बयानमा लेखिएकोले सो बयान भएको मितिले ७ वर्ष अगाडिको जेष्ठ महिना ८ साल हुन आउने । सो ०८ सालको जेष्ठ महिनामा जन्मी सो भन्दा अगाडि नै अर्थात कमसेकम ०७ सालमा पोइल गई गर्भ रहेको हुनपर्ने स्वतः सिद्ध हुन आएकोले प्रतिवादीहरूको जिकिरबमोजिम ०९ सालमा पोइलगएको ठहर्न आएन ।

      १७.   आमा पोइल गएकी हुनाले ०६ सालमा निवेदन दिएको भन्ने यो मुद्दाको निवेदनमा उल्लेख भएको देखिए पनि सो निवेदन पत्ता लाग्न नसकेको । वादीका साक्षीहरूले ०७ सालमा पोइल गएको देखाई बकपत्र गरेका र सो कुरा यिनै छरवैनको बयानबाट पनि समर्थित हुन आएको । प्रतिवादीतर्फबाट ०७ साल भन्दा पछी पोइल गएको भन्ने कुराको सबुद पुराउन नसकेकोले ०७ सालमा नै पोइल गएको देखिन आयो ।

      १८.   के कतिको लिखत पोइल गईसकेपछिको हो ? त्यसतर्फ विचार गर्दा, धनी रुद्रप्रसाद ऋणी निवेदककै बाबु कैलु थारु भई कं.रु. ३१००। मा ०१ साल मार्ग १८ गते रजिष्ट्रेशन पास गरी जग्गा विगाहा ३५द्र४।।।४ दृष्टिबन्धक लेखिदिएको ०४।२।१।४ मा सो ३१०० गभ्याई २०४५ थप लिई रुद्रप्रसादलाई नै निवेदकको आमा छरवैनले सोही जग्गा दृष्टि लेखि दिएकी । त्यसपछि ०६।३।३ मा सो ०४ सालको दृष्टिबन्धकी तमसुकी थैली तिर्न र घर खर्च गर्न भन्ने ब्यहोरा जनाई छरवैनले प्र.उमालाललाई १०००१ मा दृष्टिबन्धकी दिई ०८ साल आषाढ २७ गते ८४२१ थप लिई ०६।३।३ को दृष्टिबन्धकी तमसुकी थैलीसमेत गभ्याई १८४२२ मा उमालाललाई सोही जग्गा छरवैनले दृष्टिबन्धकी पास गरिदिएको देखियो । माथि उल्लेख भएबमोजिम निवेदकहरूकी आमा छरवैन ०७ सालमा पोइल गएको देखिन ठहर्न आएकोले विधवा अंशधनका २ नं. ले पोइल गईसकेपछि अघिल्लो लोग्नेको सम्पत्ति लिई जान नहुने । हकवालाको हुने । त्यस्तो सम्पत्ति ०६।३।३ को दृष्टिबन्धकी तमसुक १०००१ मा ०७ सालमा पोइल गईसकेपछि ०८ साल आषाढ २७ गतेमा थप लिएको ८४२१ लिनु दिनु गरेको व्यवहार बदर मान्न नमिल्ने हुनाले सो ८४२१ आठ हजार चारसय एक्काईस रुपैयाँ बदर हुने हुँदा लिखत पुरै सदर गरेको शुरु अपील र डिभिजन बेञ्चको समेत इन्साफ केही उल्टी हुने ठर्हछ ।

      १९.    अ.बं. १०७ नं. बमोजिम कुसुमलालले मौकैमा उजुर गरेको भए लिखत हुन नपाउने भनी जिल्ला अदालतले र सर्वोच्च अदालत डिभिजन बेञ्चले समेत गरेको अं.बं. १०७ नं. को व्याख्याको हकलाई उक्त अ.बं. १०७ नं. मा नाबालक वा बौलाएका समेत उल्लेखित अवस्थाका व्यक्तिहरूको हक अधिकार संरक्षणको लागि निजहरूको हकमा हकवालाले पनि उजुर गरी दिन हुने अधिकार प्रदान गरेको देखिन्छ । उपरोक्त अवस्थामा हकवालाले उजुर गर्नैपर्ने गरी बाध्य गराइएको नदेखिने । यसरी हकवालाले उजुर नगरी दिएको कारणबाट नाबालकको हक अधिकार लोप हुननसक्ने । १६ बर्ष नाघेपछि हदको म्याद शुरु हुने अ.बं. ६४ नं.मा व्यवस्था भएको देखिएकोले प्रस्तुत मुद्दामा अ.बं. १०७ नं. लगाई जिल्ला अदालतले र सर्वोच्च अदालत डिभिजन बेञ्चले गरेको व्यवस्था पनि उपयुक्त देखिएन । तपसीलका कुरा तपसीलबमोजिम गर्न तहसीलमा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।

     

तपसील

निवेदक, वादी पन्नालाल तथा दसनलाल थारु के शुरु मो.वि.अमोनीका ०१६।३।३१ का फैसलाले फैसला गरेको दण्ड कं.रु. १। का दरको दण्ड विराटनगर जिल्ला अदालतका ०१६।१२।५ का फैसलाले गरेको दण्ड कं.रु.  र ०१८।१२।२० का सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलाले गरेको दण्ड रु. ।२० समेत कं.रु. २।।। को सटही रु दर रु. १६० ले ने रु. मा परिणत गर्दा हुने रु. ४।३० समेत जम्मा रु. ४।५० चार रुपैयाँ पचास पैसा असूल भईसकेको भए दामासाहीले फिर्ता र नभए लगत काटी दिनु भनी लेखि पठाउन तहसीलमा लगत दिनु ...................१

प्र.छरवैन थारुनीले पोइल गईसकेपछि लेनदेन व्यवहार गरेको ठहरेकोले दण्ड सजायको महलको १२ नं. ले रु. ५। पाँच जरिवाना हुन्छ । रुजु नहँदा ऐन सवालबमोजिम असूल गर्नु भनी लेखि पठाउन ऐ.ऐ ............................२

झुठ्ठा बक्ने भनी मो.वि. अमिनीका फैसलाले देहायका व्यक्तिलाई गरेको दण्ड नलाग्ने हुँदा असुल भए फिर्ता नभए लगत काटी दिनु भनी ऐ.ऐ ...............३

महगु माझी थारु के भा.१ को हुने रु. एक रुपैयाँ साटी पैसा १।६०, दिलबहादुर के ऐ. ऐ. १।६०, कडी माझी थारु के. ऐ. ऐ १।६०

 

इति सम्वत् २०२० साल माघ २४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु