शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०६२ - कर्तव्यज्यान

भाग: ५५ साल: २०७० महिना: माघ अंक: १०

नेकाप २०७०        अङ्क १०           नि.नं.९०६२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

फैसला मिति : २०६९।१२।२३।६

०६८–RC–०११५

मुद्दा : कर्तव्यज्यान ।

 

वादी : सुकमाया विश्वकर्माको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : खोटाङ जिल्ला, खाल्ले गा वि स वडा नं ९ बस्ने रामबहादुर विश्वकर्मासमेत

 

§  मृतकसँगको सम्बन्धको कारण मृतकको मृत्यु आफ्नो कर्तव्यबाट भएको कुरालाई स्वीकार गर्दै प्रतिवादीले अनुसन्धानमा आफूले कसूर गरेकोमा साबिती बयान गरी सो वारदातमा अन्य कसैको मद्दत नरहेको र पछि अदालतमा समेत सोही बयानलाई पुष्ट्‍याइँ गर्ने गरी बयान गरेको देखिएको कुरालाई शव परीक्षण प्रतिवेदनले पुष्ट्‍याइँ गरेको हुँदा प्रतिवादीको साबिती बयान सर्वोत्कृष्ट प्रमाण भएको र त्यसको मिसिलसंलग्न अन्य वस्तुगत प्रमाणहरूबाट पुष्ट्‍याइँ भएको देखिएबाट प्रतिवादी कसूरदार हैनन् र निर्दोष नै हुन् भनी भन्न नसकिने ।

(प्रकरण नं.)

 

वादीका तर्फबाट :

प्रतिवादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून :

ज्यानसम्बन्धी महलको १३()

शुरू खोटाङ जिल्ला अदालतमा फैसला गर्ने :  मा.न्या.श्री दयानाथ खरेल

पुनरावेदन अदालत, राजविराजमा फैसला गर्ने : मा.न्या.श्री शम्भुबहादुर खड्का

      मा.न्या.श्री कुमार चुँडाल

 

फैसला

     न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०६८।१।२८ को फैसला साधक जाँचको लागि यस अदालतमा प्राप्त भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

      मिति २०६६।१।२८ गते मेरी जेठी श्रीमती देशविरा विश्वकर्मा घरबाट सरसमानसहित बेपत्ता भएकी हुँदा खोजतलास गरीपाऊँ भन्नेसमेत व्यहोराको खाल्ले ९ बस्ने रामबहादुर विश्वकर्माले मिति २०६६।२।१ गते दिएको हुलिया निवेदन ।

      खोटाङ जिल्ला, दिक्तेल गा.वि..वडा नं. ६ स्थित वातलको लखुरी जङ्गलमा बेवारिसे अवस्थामा महिलाको लास फेला परेको, सो लासको अनुहारमा कालो माटोले पोतिएको, रगत लागेको, नाकको दुबै प्वालमा रगत माटो लागि बन्द भएको, बायाँ कानको लोती च्याती झुण्डिएको, दायाँ लोती च्यातिएको, मुख अर्ध खुल्ला रहेको, घुँडाहरूमा घस्रिएको नीलडामहरू देखिएको, टाउकाको थाप्लोको बायाँ भागमा धारिलो हतियारले काटिएकोजस्तो चोट र टाउकाको पछाडिपट्टिको भाग घुच्चुकमा २ वटा चोट देखिएको भन्ने व्यहोराको मिति २०६६।२।५ मा भएको घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का ।

      खोटाङ जिल्ला, दिक्तेल गा.वि.स.वडा नं. ६ स्थित वातलको लंखुरी जङ्गलमा महिलाको बेवारिसे अवस्थामा लास फेला परेको हुँदा उक्त लासको मुचुल्कासमेत गरी लासलाई पोष्टमार्टम गर्न जिल्ला अस्पतालमा ल्याई राखिएको हुँदा कानूनबमोजिम जाहेर गरेको छु भन्ने व्यहोराको प्र..नि.मनिष थापाको प्रतिवेदन ।

      गहुँगोरी ५ फिट उचाई, बाक्लो लामा कपाल, मझौला शरीर, रातो कुर्था सुरूवाल, रातो रबरको चप्पल, निलो हरियो पोते लगाएकी, सेतो सल ओडेकी धर्के लेडिज ब्यागभित्र रातो फिक्का सारी, निलो ब्लाउज, ऊनीको रातो बर्को, लेडिज रातो छाता बोकेकी अं.वर्ष ३०।३५ को बेवारिसे महिलाको लास दिक्तेल६ स्थित वातलको लंखुरी जङ्गलमा फेला परेको उक्त लासको अविभावक खोजतलास गरी लास सनाखतको लागि जिल्ला प्रहरी कार्यालय, खोटाङबाट मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूमा तत्काल गरिएको परिपत्र सञ्चार र स्थानीय एफ.एम.समेतमा प्रचारप्रसार गरी दिने भनी लेखिएको पत्र ।

      खोटाङ जिल्ला, दिक्तेल गा.वि.स.वडा नं. ६ स्थित वातलको लंखुरी जङ्गलमा फेला परेको अं. ३०।३५ वर्षे बेवारिसे महिलाको लास अस्पतालको लास घरमा भएको अवस्थामा गई हेर्दा सो लास मेरै श्रीमती काली भन्ने देशविरा विश्वकर्माको हो भनी खाल्ले ९ बस्ने रामबहादुर विश्वकर्माले मिति २०६६।२।७ मा गरी दिएको सनाखत कागज र लास सद्‍गत् गर्न बुझाएको भरपाई ।

      मेरी छोरी काली भन्ने देशविरा विश्वकर्मालाई मेरो ज्वाइँ रामबहादुर विश्वकर्मा,निजकै कान्छी श्रीमती विमला विश्वकर्मा र खोटाङ दुवेकोल ४ बस्ने मनोज भन्ने खिलबहादुर खड्कासमेतको मिलेमतोमा दिक्तेल६ स्थित वातलको लंखुरी जङ्गलको एकान्त ठाउँमा लगी कर्तव्यबाट मारी फालेको हुँदा निजहरूलाई पक्राउ गरी कर्तव्यज्यानमा कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको खोटाङ, मात्तिम गा.वि.स वडा नं.४ बस्ने सुकमाया विश्वकर्माले मिति २०६६।२।१० मा दिएको जाहेरी दरखास्त ।

      खाल्ले ९ बस्ने रामबहादुर विश्वकर्मा, निजको कान्छी श्रीमती विमला विश्वकर्मा र दुवेकोल ४ बस्ने मनोज भन्ने खिलबहादुर खड्कासमेतलाई पक्राउ गरी दाखेल गर्ने भनी प्र.ना.नि.दिलबहादुर दनुवार र प्र..नि.कैलु सरदारलाई छुट्टाछुट्टै खटाइएका पत्रहरू ।

      प्रतिवादी खिलबहादुर खड्कालाई खाल्ले गा.वि.स.अन्तर्गत फेला पारेको हुँदा दाखिल गरेको छु भन्ने कैलु सरदारको प्रतिवेदन ।

      मनोज भन्ने खिलबहादुर खड्कालाई खाल्ले ८ स्थित सार्वजनिक स्थानमा हिँडडुल गर्दैको अवस्थामा फेला पारी निजको शरीर तलाशी गर्दा पेन्टको दायाँपट्टिको गोजीबाट महिलाले कानमा लगाउने सुनको रिङ् जोर १ बरामद भएको जसमध्ये एउटा रिङ्को एकापट्टिको टुप्पाको भाग भाँचिएको अवस्थामा रहेको भन्ने मिति २०६६।२।११ मा भै आएको बरामदी मुचुल्का ।

      मनोज भन्ने खिलबहादुर खड्काको साथबाट बरामद भएको सुनको कानमा लगाउने रिङ् (कुण्डल) जोर १ मेरी छोरी देशविरा विश्वकर्माले लगाएको रिङ् हो भनी सुकमाया विश्वकर्माले मिति २०६६।२।१२ मा सनाखत गरी दिएको कागज ।

      टाउकोमा चोट लागेको कारण दिमागमा रक्तस्राव भै मृत्यु भएको (Cause of death is due to brain haemorrhage following blunt injury to head) भन्नेसमेत व्यहोराको मृतक महिला पछि नाम खुल्न आएकी देशविरा विश्वकर्माको शव परीक्षण प्रतिवेदन ।

      काली भन्ने देशविरा मेरै माहिली दिदीकी आमाजू दिदी हुन् । निज देशविरा विश्वकर्मा र खाल्ले९ बस्ने रामबहादुर विश्वकर्माको विवाह भएको १० वर्ष बितिसक्दा पनि बालबच्चा नभएको कारण देशविरासमेत मेरो माइतीघरमा २०५८ सालमा गएर मलाई मागी रामबहादुर विश्वकर्मासँग मेरो विवाह भएको हो । विवाह भएर २०६२ सालसम्म राम्ररी बस्दै आएका थियौं । २०६२ सालमा पहिलाको पूरानो सानो घर भत्काएर अलि ठूलो नयाँ घर बनाएपछि दिदी देशविराले हामी जेठी कान्छीलाई दुई ओटा कोठाहरू छुट्टाछुट्टै राखी दिनु भनेकाले त्यही नयाँ घरलाई २ वटा बनाएर एक एक कोठामा बसी पतिले दुवैतिर हेरविचार गर्दै आउनु भएको थियो । २०६५ साल चैत्र महिनामा हाम्रो घरको दलिन मक्किएको हुँदा फेर्नको लागि मान्छे खोज्दा खोटाङ, दुवेकोल ४ बस्ने मनोज भन्ने खिलबहादुर खड्कालाई पतिले भेटी ल्याएर काठ फेर्न लगाएको हो । त्यसपछि खड्का भाइ हाम्रोमा आउने जाने गर्दथे । त्यसैबीचमा खड्का त रामबहादुरको जेठी श्रीमती देशविरासँग लागेको छ भन्ने गाउँमा हल्ला भएपछि एक पटक गाउँमा समाज बसेको थियो । त्यस समयमा खड्का र देशविरालाई एकै ठाउँमा अभद्र व्यवहार गर्दै गरेको देखेको हो भन्ने कुनै मानिस फेला नपरेकोले प्रमाण नपुग्ने कुरा गर्न हुँदैन, प्रमाण पुर्‍याएरमात्र बोल्नुपर्छ भन्दै समाज उठेको थियो । समाज उठेर गएपछि दिदी समाजको सामुन्ने खड्कासँग मलाई बात लागेकोले बेइज्जत सहेर बस्नुभन्दा माइतीघर गएर बस्छु भन्दै हुनुहुन्थ्यो । यस्तैमा मिति २०६६।१।२८ गते म र पति खेतमा बीउ राख्नलाई दिदीलाई खाजा लिएर आउनु भन्दै गएका थियौँ । खाजा ल्याउनु भएन । बेलुका घरमा आउँदा ढोकामा ताल्चा लागेको थियो । ताल्चा खोली घरभित्र हेर्दा दिदीको सरसामानसमेत थिएन । वरपर सोद्धा माइती जान्छु भनेर सामानसहित हिडेकी भन्ने  सुनियो । पतिले मात्तिम ५ देशविराको माइती घरमा फोनबाट सोद्धा माइतीमा नपुगेकी तर आउँदै छ भनेर फोन गरेको भन्ने सुनियो । फेरि मिति २०६६।१।३० गते सोद्धा माइतीमा देशविरा विश्वकर्मा पुगेको जानकारी पाइयो । सोपछि मिति २०६६।२।१ गते दिदी हराएको भनी हुलिया दिएको थियो । मिति २०६६।२।४ गते देशविरा विश्वकर्मा खिलबहादुर खड्कासँगै मुडेतर्फ जाँदै गरेको देखेको भनी खोटाङ दिक्तेल १ घर भई हाम्रैमा बसी अध्ययन गर्ने श्रीधन विश्वकर्मासमेतले भनी थाहा पाएको हो । मिति २०६६।२।५ गते दिक्तेल ६ वातालको लंखुरी एकान्त जङ्गलमा ३०।३५ वर्षे महिलाको लास फेला परेको कुरा एफ.एम. रेडियोसमेतबाट सुनियो तर मिति २०६६।२।४ गते जिउँदै मान्छेसँग हिडेको भनी भनेको हुँदा दिदीकै लास हो भन्ने कुनै शङ्का नभएको हो । मिति २०६६।२।७ गतेपछि रामबहादुर विश्वकर्माले लास अस्पतालमा गएर हेर्दा देशविरा विश्वकर्माको रहेछ भनी सनाखत गरी दाहसंस्कार गराएको  हो । पति रामबहादुरलाई जण्डीस विरामीले चापेको कारण काजकिरियामा अरू मान्छे राखी मेरो माइती गाउँ चिउरीडाँडा दोर्पातिर जडिबुटीबाट जण्डिस विमारको उपचार गराउने क्रममा माइतीगाउँबाटै हामी पक्राउ परेका हौं । देशविरा विश्वकर्मालाई मैले मारे मराएको होइन । दुवेको४ बस्ने खिलबहादुर खड्काले मैले मारेको हुँ भनी मुख साबित भएकाले निजले के कस्तो परिबन्दबाट कर्तव्य गरी मारे मराएका हुन् निजै जानून् भन्नेसमेत व्यहोराको प्रतिवादी विमला विश्वकर्माले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

      मेरो घर खोटाङ, दुवेकोल ४ मा हो । जनवनि (खेतला) गरी कमाएर खानको लागि खाल्ले गा.वि.स.मा आएको अवस्थामा रामबहादुर विश्वकर्मासँग भेट भई निजको घरको सरा काठहरू फेरिदिएपछि निजकी जेठी श्रीमती देशविरासँग चिनजान हिमचिम  भयो । निजसँग एकपटक शारीरिक सम्पर्कसमेत भएको र नजिकिँदै गएको देखी गाउँका मानिस तथा रामबहादुरले पनि शङ्का गरी मानिससमेत भेला गरी छलफल हुँदा शङ्काको भरमा आरोप लगाउन हुँदैन भन्दै समाजको छलफल उठेको हो । निज देशविरा विश्वकर्मा मिति २०६६।१।२८ गते निजको घरबाट माईतितिर गएको छ भन्ने सुनेकोले म पनि आफ्नो घर पुगेर आउनु पर्यो भन्दै घर दुवेकोल पुगी मिति २०६६।२।४ गते खाल्लेतर्फ आउनलाई दिक्तेल हाटडाँडामा आईपुग्दा देशविराले पछ्याउँदै गरेको र घरतिर जान्छु भनी घरतिर लाग्दा पनि पछ्याई आउँदा दुबैजना लंखुरी जङ्गलमा पुगेपछि मलाई विराटनगर कि काठमाडौ लगेर राख भन्दै मेरो सर्टमा समाएर तानातान गरेबाट दुईजनाबीच भनाभन भयो । मलाई पनि रिस उठ्दै गयो र नजिकै भएको ढुङ्गा उठाई देशविरा विश्वकर्माको थाप्लो घुच्चुकसमेतमा हानी मारी बाटोभन्दा अलि तल फाली निजले कानमा लगाएको सुनको रिङ् (कुण्डल) जोर १ कानको लोतीसमेत च्यातिने गरी लुछी मेरै पेन्टको गोजीमा हाली खाल्लेतिर आएको अवस्थामा प्रहरीले फेला पारी सो सुनको रिङ् (कुण्डल) जोर १ सहित मलाई पक्राउ गरेको हो । वारदातस्थलबाट बरामद भएको बायाँ खुट्टामा लगाउने ९ नं को गोल्डस्टार जुत्ता मेरै हो । दायाँपट्टिको जुत्ता र निलो रङ्गको मोजा जोर १ तथा वारदातको अवस्थामा प्रयोग गरेको ढुङ्गासमेत वारदातस्थान आसपसमा फालेको थिएँ । सोही ठाउँमा हुनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी खिलबहादुर खड्काले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

      जेठी श्रीमती देशविरा विश्वकर्माबाट विवाह गरेको धेरै वर्षसम्म पनि जायजन्म नभएकोले विमला विश्वकर्मासँग दोस्रो विवाह गरेको हुँ । मैले दुबै श्रीमतीलाई बराबर माया गर्दै आईराखेको थिएँ । कान्छीसँग सँगै नबस्ने भन्दै जेठी छुट्टिएर एउटै घरको अर्को कोठामा बसेता पनि दुबैतिर रेखदेख गर्दै आइराखेको थिएँ । यस्तैमा मिति २०६५ साल चैत्र महिनामा मेरो घरको दलिन काठ सरा फेर्नलाई दुवेकोले४ बस्ने खिलबहादुर खड्कालाई बोलाई काम लगाएको थिएँ । केही समयदेखि निज खिलबहादुर मेरो घरमा आउने जाने गर्दथे । खिलबहादुर र मेरी जेठी श्रीमती हिंडडुल गर्दा गाउँलेहरूले शङ्का गरी हल्ला गरेको हुँदा समाज बसी छलफल हुँदा शङ्काको भरमा कुरा गर्न ठीक हुँदैन भनी समाज उठेको थियो । यस्तैमा खड्कासँग बात लगाएर मेरो गाउँमा बदनाम भयो अब म यहाँ बस्दिन माईत जान्छु भन्दै देशविराले निउँ खोज्न थालिन् । मिति २०६६।१।२८ गते म र कान्छी श्रीमती खेतमा गएको अवस्थामा निज देशविराले सरसामानहरू सबै लिएर जान्छु भन्दै हिंडी बेपत्ता भएको हुँदा मैले हुलिया दिएको हुँ । खिलबहादुर खड्कासँग हिंड्दै गरेको देखेको भनी श्रीधन विश्वकर्माले भनेकोले मिति २०६६।२।५ गते दिक्तेल६ वातल लंखुरी जङ्गलमा भेटिएको बेवारिसे लास देशविराकै हो भन्ने शङ्कासम्म नभएको कारण लास सनाखत गर्नलाई ढीलो हुनगएको हो । मिति २०६६।२।७ गते अस्पतालमा भएको लास मेरै जेठी श्रीमती देशविरा विश्वकर्माको भएकाले सनाखतसमेत गरी लासको दाहासंस्कारसमेत गरी काजक्रियाको लागि मानिस राखी मलाई जण्डीस विमार भएकोले जुडीबुटी उपचारको लागि खोटाङ चिउरीडाँडा५ तिर गएको अवस्थामा कान्छी श्रीमती विमला र मलाई पक्राउ गरी ल्याइएको  हो । देशविरा विश्वकर्मालाई मैले मराएको होइन निज खिलबहादुर खड्काले के कस्तो परिबन्दबाट मारे मराएको हो निजै जानून् । मलाई थाहा छैन भन्ने व्यहोराको प्रतिवादी रामबहादुर विश्वकर्माले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

      दिक्तेल ६ स्थित वातलको लंखुरी जङ्गल वारदातस्थान नजिकै दायाँ खुट्टामा लगाउने ९ नं.को गोल्डस्टार जुत्ता १, निलो मोजा ढजुराफण् जोर १ समेत फेला परी हामीहरूको रोहबरमा बरामद भएको ठीक हो भन्नेसमेत व्यहोराको मिति २०६६।२।१९ मा भैआएको बरामदी मुचुल्का ।

      पक्राउ परी हिरासतमा रहेका खिलबहादुर खड्का अत्तालिदै मेरो सुन पसलमा आएर यो सुनको रिङ् जोर १ को तौल कति छ जोखिदिनु भनेको हुँदा मैले सुन जोखेर दिएको हो, सुनको कुण्डल लिएर आई सुन तौल गराई उक्त सुन बेच्न खोज्ने व्यक्ति यही हो भनी खिलबहादुर खड्कासहितको सुनलाई सनाखत गर्ने दिक्तेल २ स्थित बजारमा पसल गरी बस्ने नीरकुमार विश्वकर्माले गरी दिएको कागज ।

      मिति २०६६।२।४ गते दिउँसो देशविरा विश्वकर्मा र खिलबहादुर खड्कालाई दिक्तेलको कारागार नजिक आर्मी क्याम्पतिर सँगै जाँदै गरेको देखेको हो भन्ने व्यहोराको बाबुराम बस्नेत र श्रीधन विश्वकर्माले गरी दिएको कागज ।

      प्रतिवादी रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माको मिलेमतोसमेतबाट खिलबहादुर खड्कासमेत भएर देशविरा विश्वकर्मालाई कर्तव्यबाट मारे मराएकोमा विश्वास लाग्छ । निजहरूलाई कारवाही होस् भन्ने निसना राई, नैनादेवी बास्तोलासमेत जना २ ले गरी दिएको कागज ।

      देशविरा विश्वकर्माले मृत्युपूर्व मलाई पति तथा सौताले कुटेको भन्दै नीलडाम देखाउने गरेको, कहिले रूँदै हिड्ने गरेको, कहिले पति र सौता मिली मलाई मार्छन् होला भन्ने गरेकोले निजको मृत्युहुनुमा प्रतिवादी विमला विश्वकर्मा र रामबहादुर विश्वकर्मासमेतको मिलोमतो र परिपञ्चबाट खिलबहादुर खड्कासमेत भएर देशविरा विश्वकर्मालाई कर्तव्यबाट मारे मराएकोले निजहरूलाई कडा कानूनी कारवाही होस् भन्ने व्यहोराको खिल आचार्य र राधिका आचार्यले गरी दिएको कागज ।

      प्रतिवादी रामबहादुर विश्वकर्माले विमला विश्वकर्मालाई कान्छी श्रीमती बनाई ल्याएपछि मृतकसँग रामबहादुरको झगडा भईरहन्थ्यो । मिति २०६५ साल फाल्गुनदेखि यता देशविरा खिलबहादुर खड्कासँग लागेको भन्ने कुरा गाउँमा हल्लासमेत चलेको कारण समाजका मानिसहरू भेला भएर छलफल हुँदा निजहरूबीच सम्बन्ध रहेको भन्नेबारे कुनै प्रमाण नभएकोले झूठ्ठा कुरा भएको भनी समाज उठेको थियो । मिति २०६६।१।२५ गते रामबहादुर र निजकी कान्छी श्रीमती विमला विश्वकर्माले देशविरा विश्वकर्मालाई कुटेको हुँदा निजको शरीरमा नीलडामसमेत थियो । उनी मलाई लोग्ने र सौता भएर मार्छन् होला अब म यहाँ बस्दिन माईत जान्छु भन्दै सरसामानहरू लिएर दिक्तेलतर्फ लागेकी थिईन् । केहीछिन सम्झाउँदा पनि नमानेकी हुन् । त्यसपछि कता गईन् थाहा भएन । मिति २०६६।२।५ गते वातलको लंखुरी जङ्गलमा बेवारिसे महिलाको लास फेला परेको छ भन्ने एफ.एम.समेतबाट खबर सुनियो । उक्त लास देशविराको भन्ने शङ्का गरिएन । मिति २०६६।२।७ गते उक्त लास हेर्दा लासको हात खुट्टा, पोतेसमेतबाट देशविराको लास भन्ने थाहा भएर देशविरालाई दिक्तेलमा फेला पारी लंखुरी जङ्गलमा लगी कर्तव्यबाट मारी फालेकोमा शङ्का लाग्छ । अपराधीहरूलाई कडाभन्दा कडा कारवाही होस् भन्ने व्यहोराको टङ्कमाया बस्नेतले गरी दिएको कागज ।

      देशविरा विश्वकर्मालाई रामबहादुर विश्वकर्मा र निजकी कान्छी श्रीमती विमला विश्वकर्मासमेत भएर पटकपटक कुटपीट गर्ने गरेको नीलडाम पहिले देखाउने गर्थिन् । मिति २०६६।२।५ गते लंखुरी जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको देशविराको लास सनाखत गर्नलाई रामबहादुर विश्वकर्माले ढीलो गरेको कारण निज, निजकी कान्छी श्रीमती विमला वि.. र खिलबहादुर खड्काको मिलेमतोमा लंखुरी जङ्गलमा लगी कर्तव्य गरी मारी लासलाई फालेकोमा पूर्ण विश्वास लागेको हुँदा निज तीनैजनालाई कडा कारवाही होस् भन्ने व्यहोराको घनकुमारी श्रेष्ठ, सुनिता भट्टराई र गोमा अधिकारीले गरी दिएको कागज ।

      रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माले देशविरा विश्वकर्मालाई पटकपटक पिट्ने गरी नीलडामसमेत पारेको अवस्थामा माईतिमा गएर सबै कुरा भनी प्रहरीमा खबर गर्नु इन्साफ पाइन्छ भन्दा त्यसो नगरी नीलडामहरू केही निको भएपछि पुनः घरमा जाने गर्थिन् । पति र सौताले कुटपीट गरे भन्दै मिति २०६६।१।३० गते पति देशविरा माईतिमा गएकी थिइन् र मिति २०६६।२।४ गते अब त पतिको रिस मर्‍यो होला भन्दै घर जान्छु भनी घरतिर आएकी थिईन् । मिति २०६६।२।५ गते दिक्तेल६ स्थित वातलको लंखुरी जङ्गलमा बेवारिसे महिलाको लास फेला परेको बारेको सूचना एफ.एम.बाट प्रसारित भएकोमा रामबहादुरले समयमा सनाखत नगरेको कारण र पहिला पनि कुटपीट गरी यातना दिने गरेको कारणसमेतबाट रामबहादुर विश्वकर्माले कर्तव्यबाट मारी फालेको हो भन्ने व्यहोराको शान्ता विश्वकर्मा, उर्मिला विश्वकर्मा, नईन्द्र राई, सन्तोषी राईसमेतले गरी दिएको कागज ।

      मनोज भन्ने खिलबहादुर खड्काको घरबाट पानासोनिक कम्पनीको क्यासेट प्लेयर थान १, अङ्ग्रेजीबाट स्काईएन लेखिएको ब्ल्याङ्केट थान १समेत बरामद भएको भन्ने मिति २०६६।२।२७ गतेको खानतलाशी बरामदी मुचुल्का ।

      बरामद भईआएको ब्ल्याङ्केट मैले जेठी श्रीमती देशविरालाई विदेशबाट ल्याएर दिएको  हो । बरामद क्यासेटप्लेयर माईतीपक्षले देशविरालाई दिएको निजकै क्यासेटप्लेयर हो भनी रामबहादुर विश्वकर्माले सामान सनाखत गरी दिएको मिति २०६६।२।२८ को कागज ।

      देशविरा विश्वकर्मा मेरी भान्जी हुन् । निजलाई निजको पति रामबहादुर विश्वकर्मा सौता विमला विश्वकर्माले बेलाबखत लछारपछार गर्दै कुटपीट गर्ने गरेको बताउने गरेकी थिईन् । मैले पनि सम्झाई बुझाई गरी पठाउने गरेको थिएँ । पति र सौताले कुटेको नीलडामहरू माईतिमा गई देखाउँदै रूने  गर्थिन । मिति २०६६।१।२५ गते सिस्नु पानीले कुटपीट गरेछन् । सधै कुटपीट गर्ने पति रामबहादुर विश्वकर्मा र सौता विमला विश्वकर्मा र खिलबहादुर खड्काको मिलेमतोमा देशविरालाई वातलको लंखुरी जङ्गलमा लगी कर्तव्यबाटै मारे मराएकोमा विश्वास लाग्छ भन्ने व्यहोराको बलराम विश्वकर्माले मिति २०६६।२।२८ मा गरी दिएको कागज ।

      अनुसन्धानको सिलसिलामा पक्राउ परेका रामबहादुर विश्वकर्मा, विमला विश्वकर्मा र खिलबहादुर खड्काको मिलोमतोबाट देशविरा विश्वकर्मालाई कर्तव्यबाट मारेको पूर्ण विश्वास लाग्छ । निजहरूलाई कडा कारवाही होस् भन्ने व्यहोराको टीका थापा र शशीकला बानियाँले मिति २०६६।३।१ मा गरी दिएको वस्तुस्थिति मुचुल्का ।

      उपर्युक्त सबूद र आधारहरूबाट प्रतिवादीहरू रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माले मनोज भन्ने खिलबहादुर खड्कासँग मिलोमतो गरी विभिन्न बहना बनाई दिक्तेल ६ स्थित वातलको एकान्त जङ्गलमा पुर्‍याई जाहेरवालीकी छोरी देशविरा विश्वकर्मालाई कोही कसैले पनि थाहा नपाओस् भनी तीनैजना मिली कर्तव्य गरी मारेकोमा निजहरूउपर के कस्तो सजायको मागदावी लिने हो भन्नेतर्फ हेर्दा निज अभियुक्तहरूद्वारा घटित कर्तव्य ज्यानसम्बन्धी वारदात मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं., १३नं. विपरीतको कसूर अपराध हो भन्ने देखिनआएको हुँदा निज अभियुक्त रामबहादुर विश्वकर्मा, विमला विश्वकर्मा र मनोज भन्ने खिलबहादुर खड्कालाई सोही महलको १३() नं. बमोजिम सजाय हुन अनुरोध छ भन्नेसमेत व्यहोराको जिल्ला सरकारी वकील कार्यालयको मिति २०६६।३।४ को अभियोगपत्र ।

      मेरो घर खोटाङ जिल्ला, दुवेकोल गा.वि.स.वडा नं. ४ मा पर्दछ । म जनवनि (खेताला) गरी कमाएर खानको लागि मिति २०६५ साल पौष महिनामा खाल्ले गा.वि.स. आएको थिएँ । यसैक्रममा मृतकको घरको काठको सरा धमिराले खाएको रहेछ र मलाई उक्त सरा फेरिदिनु पर्यो भनी मृतकका लोग्ने रामबहादुर विश्वकर्माले मलाई बोलायो र म नजिकको घरको सरा फेरिदिएँ । सोही अवस्थामा  मृतकसँग मेरो चिनजान भएको हो । त्यसपछि कहिलेकाँही निजको घरमा जाने गर्दथेँ । यसैक्रममा प्रतिवादी रामबहादुर विश्वकर्माको दाजु गोपाल विश्वकर्मा र दिलबहादुर विश्वकर्मासमेतले रामबहादुरलाई तेरो श्रीमती देशविरालाई खिलबहादुरले घुमाउँदै थियो लान लागेको छ भनी सुनाएछन् । त्यो कुरा मलाई पत्यार लागेन र मेरो निज देशविरासँग त्यस्तो शारीरिक सम्पर्क चाहिं भएको थिएन र म मिति २०६६ साल बैशाख २८।२९ गतेतिर आफ्नो घरमा गई घरमा ३,४ दिन बसी ऐ।जेष्ठ ४ गते घरबाट आउँदै गर्दा हाटडाँडामा पुगेपछि देशविरा विश्वकर्मासँग भेट भयो र निजले मसँग मलाई मेरो लोग्नेसमेतले तिमीसँग बात लगाई मलाई कुटपीट गर्ने गर्छ, अब म तिमीसँग जान्छु । तिमीले मलाई लानुपर्छ भनिन् र मैले त्यस्तो कुरा नगर मेरो घरमा श्रीमती छोरीहरू छन् । त्यसमा पनि तिमी विश्वकर्माको छोरी म क्षेत्री भएकाले म लान्न भनी भन्दा पनि जान्छु भनिन् र छलिएर भाग्न खोजी हिडी घरमा जाउँकि खाल्ले जाउँ भनी दोधार भएर घरमा जान्छु भनी म बजारैबजार घरतर्फ जाँदै गर्दा म दिक्तेल क्याम्पस माथि डाँडामा पुगें, निज मृतक पनि म पछिपछि आएकी रहिछन् र त्यहाँ पनि मसँग जान्छु भनी भनेकी र मैले म लान सक्दिन भन्दा मलाई काठमाडौं वा विराटनगर लगेर राख्नुपर्छ तिमीसँग म जान्छु भनेपछि म घरतर्फ हिंडे मृतक पनि म पछिपछि आइन् र म वातल भन्ने ठाउँको लंखरी जङ्गलमा पुगेपछि निजले मलाई लानुपर्छ भनी मेरो  सर्टमा समाएपछि म लडें र केही तल पुगेपछि फेरि त्यहाँ पनि मलाई समाई लडाएपछि मलाई पनि रिस उठी निजलाई लडाई नजिक रहेको ढुङ्गाले टाउकोको पछाडिपट्टि हानें त्यसपछि जत्रतत्र हानें र कपालमा समाई तलतिर झट्टि         हानें । त्यस समयमा निज मरेकी थिइनन् । पछि मरिछन्, निजलाई मार्छु भन्ने थिएन । मलाई लडाई रिस उठेपछि मैले ढुङ्गाले हान्दा निजको मृत्यु भएछ । त्यसपछि म खाल्लेमा आई नाम थाहा नभएको खतिवडाकोमा खोल्मा बनाई बसें । मृतकलाई मैले मिति २०६६।२।४ गते बेलुकी ४स्३० बजेतिर मारेको हुँ । निज मृतकलाई मैलेमात्र मारेको हुँ । निजलाई मार्नमा मबाहेक अन्य कोही कसैको सल्लाह सहमतीसमेत छैन भन्नेसमेत व्यहोराका प्रतिवादी मनोज भन्ने खिलबहादुर खड्काले शुरू अदालतमा गरेको बयान ।

      मृतक देशविरा विश्वकर्मा मेरो सौता हुन् । उनलाई मिति २०६६।१।२८ गते खाजा लिएर आउनु भनी हामी खेतमा गएका थियौं । सौता खाजा नल्याईकन माइत जाने भनेर सबै लुगा लिएर गइछन् । हामीले बेलुका घरमा आएपछि छिमेकीले भन्दा थाहा पायौं । माइत जाँदा उनको कोठाका सबै सामान लिएर गएकी रहिछन् र मिति २०६६।१।३१ गते सौता देशविराको माइतमा फोन गर्दा आज आउँदैछु भनेर फोन गर्नु भएको थियो तर अझै आईपुग्नु भएको छैन भनेर जवाफ दिनु भएपछि हामी माइत जानु भएको रहेछ भनी चुप लागेर बसी मिति २०६६।२।१ गते माइत जानु भएको छ की छैन भनी हामीले जिल्ला प्रहरी कार्यालयमा हुलिया दियौं । मिति २०६६।२।४ का दिन प्रतिवादी मनोज भन्ने खिलबहादुर खड्काले नै मारेको हो, मृतकलाई मार्नमा कुनै पनि तरिकाको संलग्नता नभएकोले सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी विमला विश्वकर्माले शुरू अदालतमा गरेको बयान ।

      देशविरा विश्वकर्मा मेरो जेठी श्रीमती हुन् । मिति २०६६।१।२८ गते हामी धानको बीउ राख्न भनी मृतकलाई घरमा छोडी खाजा लिएर आउन भनी खेतमा गएका थियौँ । सोही दिनको बेलुकी ६:०० बजेसम्म पनि जेठी श्रीमतीले खाजा लिएर खेतमा गइनन् र बेलुकी ६:०० बजे हामी घरमा आयौं । घरमा आईपुग्दा मेरी जेठी श्रीमती बस्ने ठाउँमा ताला लगाई राखेको रहेछ । छरछिमेकीलाई सोधखोज गर्दा तिमीहरू हिडेपछि समानहरू ओसार्दै थिइन् । यहाँ बस्दिन माइत गएर बस्छु भन्दै ३:३० बजेतिर हिडिंन् भने र मैले सो दिन कोठामा ताला लगाई राखेको हुँदा हेरिन । भोलिपल्ट २९ गते गाउँलेहरूसँग आज बाम्राङ्ग जान्छु भोलि माइत जान्छु भनेको रहेछ र २० गते बाम्राङ्गमा फोन गरे आएकी छैनन् भनेपछि ससुराली मात्तिममा फोन गरेँ सो दिन आएकी छैनन् भनेपछि मैले मिति २०६६।२।१ गते मेरो श्रीमती देशविरा विश्वकर्मा हराएकोले खोज तलास गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा हुलिया दिएको थिएँ र ऐ ४ गते श्रीधन विश्वकर्माले घरबाट यता आउँदा दिक्तेलको आर्मीक्याम्प मुनी मेरी जेठी श्रीमती र खिलबहादुर खड्कालाई उभोतिर जाँदै गरेको भेटेको रहेछ पछि लास फेला परी रूपाकोटबाट प्रचारप्रसार भएछ तर मैले सुनिन । मलाई जण्डिस भएकोले उपचारको लागि दोर्पा गएको थिएँ । त्यसैक्रममा मिति २०६६।२।७ गते हामीलाई ससुरालीबाटै पक्राउ गरी दिक्तेल ल्याएको हो । पछि बुझ्दा हाल पक्राउमा परेको प्रतिवादी खिलबहादुर खड्काले कर्तव्य गरी मारेको भन्ने सुनेको हुँ । निजले किन कसरी मारे मलाई केही थाहा भएन । निजलाई मैले मारेको होइन र मार्नमा मेरो संलग्नता छैन । मृतकलाई मार्नमा कुनै कर्तव्य नगरेको हुँदा र निर्दोष हुँदा मलाई दावीबमोजिम सजाय हुने होइन, सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर विश्वकर्माले शुरू अदालतमा गरेको बयान ।

      प्रतिवादी खिलबहादुर खड्का, रामबहादुर विश्वकर्मा र विमला विश्वकर्मासमेतको मिलोमतोबाट मृतक देशविरा विश्वकर्मालाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने मानिसहरूले लेखाई दिएका र वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूले सुनी सोही कुरा पुष्टि हुने गरी लेखाइ दिएको हुँदा यी प्रतिवादी रामबहादुर विश्वकर्मा, विमला विश्वकर्मा र खिलबहादुर खड्कासमेत कसूरदार हुन् भन्ने कुरा पुष्टि हुन आएकोले तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीहरूलाई अ.बं. ११८ को देहाय २ को अवस्था विद्यमान देखिएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई यी प्रतिवादीहरूलाई कानूनबमोजिम सिधा खान पाउने गरी अ.बं. १२१ नं.बमोजिम थुनुवा पूर्जि दिई कारागार शाखा, खोटाङमा  पुर्पक्षको निमित्त थुनामा राख्नु भन्ने शुरू अदालतका निमित्त जिल्ला न्यायाधीशको मिति २०६६।३।५ को थुनछेक आदेश ।

      प्रतिवादी खिलबहादुर खड्का मौकामा साबित भै बयान गरेको र अदालतसमक्षको बयानमा पनि मृतक देशविरा विश्वकर्मालाई आफूले कर्तव्य गरी मारेको कसूरमा साबित भएको अवस्था छ । मृतक देशविरा टाउकाको चोटका कारण रक्तस्राव भै कर्तव्यबाट मारिएको भन्ने पोष्टमार्टममा मृत्युको कारण उल्लेख भएको छ । मृतकका कानका सुन प्रतिवादी खिलबहादुरबाट बरामद भएको र निजका जुत्तामोजासमेत लास रहेकै वारदातस्थलबाट बरामद भएको समेत देखिएकोले घटनास्थल लास प्रकृति मुचुल्का,बरामद भएका सुनसमेतका प्रत्यक्ष प्रमाणबाट निजको बयानलाई पुष्टि हुनआएको देखिंदा प्रतिवादी खिलबहादुर तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिन आएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अ.बं. ११८ को देहाय २ अनुसार पुर्पक्षको लागि थुनामा राख्ने गरी मिति २०६६।३।५ मा नि.जिल्ला न्यायाधीशले गरेको आदेश समर्थन गरी दिएको छ ।

      प्रतिवादी रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माका हकमा ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ अनुसार कै मागदावी छ । दुबैजना प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्षको बयानमा कसूर र अपराधमा पूर्ण इन्कारी भै बयान गरेको अवस्था छ । वादी पक्षको अभियोगपत्रमा जाहेरीमा नाम उल्लेख भएको र मौकामा कागज गर्ने मानिसहरूसमेतका आधारमा प्रतिवादी रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माले निजको चरित्रका सम्बन्धमा शङ्का गरी हेला गर्ने र कुटपीट गर्नेसमेत गर्थे भन्ने वारदातपूर्वको अवस्थासमेतको परिबन्दबाट मृतकको मृत्युको वारदातमा निजहरू संलग्न भएको भन्ने आधारमा अभियोग आधारित छ । मृतकको मिति २०६६।१।२८ देखि मृत्यु भएको अवस्थासम्म यी प्रतिवादीहरूसँग देखाभेट भएको कुनै कागज व्यहोराबाट देखिन     आउँदैन । प्रतिवादी रामबहादुरले मिति २०६६।२।१ मा श्रीमती हराएकोसमेत भन्ने हुलिया निवेदन जिल्ला प्रहरी कार्यालय, खोटाङमा दिएको देखिन्छ । पछि फोनबाट माइत गएको भन्ने भै मृतक मिति २०६६।२।४ सम्म माइतीघरमा नै गएको भन्ने तथ्यमा विवाद छैन । ४ गते बिहान माइतबाट हिंडेपछि प्रतिवादी खिलबहादुरसँग भेट भै सँगै वारदातस्थलमा गएको भन्ने प्रतिवादी खिलबहादुर खड्काको भनाई छ । मृतक र खिलबहादुरमात्र बाटोमा जाँदै थिएँ भन्ने श्रीधनसमेतको कागज देखिन्छ । लास प्रकृति मुचुल्काबाट बरामद जुत्ता र मोजासमेत प्रतिवादी खिलबहादुर र अरू साडी ऐनासमेतका सामान मृतकका भन्ने भै प्रतिवादी रामबहादुर र विमला विश्वकर्माका विरूद्ध प्रमाणमा लाग्ने कुनै वस्तु घटनास्थलमा देखिंदैन । मौकामा कागज गर्ने शान्ता विश्वकर्मासमेतले मौकामा खोज तलास नगरेकोसमेत भन्ने आधार पनि लिएको देखिन्छ । मिसिल संलग्न कागजात हेर्दा मिति २०६६।२।४ मा वारदातपछि मिति २०६६।२।६ गते एफ.एम.रेडियोमा प्रहरी कार्यालयको सूचना जारी भएको र प्रतिवादी रामबहादुरले मिति २०६६।२।७ मा आफ्नो श्रीमती भनी लास सनाखत गरी कर्तव्यवालालाई कारवाहीको माग गरी सद्रगत गर्न लास बुझिलगेको अवस्था देखिन्छ । मिति २०६६।२।१० गते मृतककी आमा माइतीपक्षले जाहेरी दिएपछि प्रतिवादी रामबहादुर र विमला विश्वकर्मालाई पक्राउ गरे पनि निजहरूको घर वा साथबाट कर्तव्यज्यान वारदातमा समावेश भएको दशीप्रमाण बरामद नगरेको, वारदातस्थलमा उपस्थित थिए भन्ने मिसिल संलग्न कुनै कागजबाट देखिन नआएको, प्रतिवादीहरू अधिकारप्राप्त अधिकारी र अदालतको बयानमा पूर्ण इन्कारी भएको र साबित हुने प्रतिवादी खिलबहादुरले अधिकारप्राप्त अधिकारी र अदालतको बयानमा प्रतिवादी रामबहादुर र विमलालाई पोल नगरेको हुनाले यी प्रतिवादीहरू कर्तव्यज्यानको वारदातस्थलमा रहे भएको वा मृतकलाई मार्ने समयमा जीउमा हात हालेकोसमेत तत्काल प्राप्त प्रमाणबाट देखिन आएन । वारदातस्थलमा नै नगै प्रतिवादी खिलबहादुरमार्फत् मृतकलाई मार्न मराउन षड्‍यन्त्र गरे गराएको हो कि भन्दा पनि सो देखाउने प्रमाण हाल देखिन नआई ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ को मागदावी भएको दखिँदा प्रस्तुत कसूर र सजायको अपराधमा तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी रामबहादुर र विमला विश्वकर्मा कसूरदार देखिने वा कसूरदार हुन् भन्नेसमेत विश्वास गर्ने मनासिब आधार नदेखिएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल अ.बं. ४७ नं. अनुसार तारेखमा राख्ने आदेश दिई नि. जिल्ला न्यायाधीशले मिति २०६६।३।५ मा गरेको आदेश प्रतिवादी रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माको हकमा सम्म बदर गरी दिएको छ भन्ने जिल्ला अदालतको आदेश ।

      प्रस्तुत मुद्दामा प्रतिवादी चुक्ता भैसकेको देखिँदा वादी र प्रतिवादीका साक्षीसमेत बुझ्नु भन्ने शुरू अदालतको मिति २०६६।४।६ को आदेशानुसार वादी प्रतिवादीहरूको साक्षीको बकपत्र भै मिसिल संलग्न रहेको छ ।

      प्रतिवादी खिलबहादुर खड्काले मृतक देशविरा विश्वकर्मालाई कर्तव्य गरी मारेर ज्यानसम्बन्धी महलको १ नं. को कसूर गरेको देखिंदा निजलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद ठहर्ने हुनाले साधक जाहेर गरी निकासा भएबमोजिम हुने ठहर्छ । प्रतिवादी रामबहादुर विश्वकर्मा र प्रतिवादी विमला विश्वकर्माले मागदावीबमोजिम कसूर अपराध गरेको पुष्टि हुन नआएको हुनाले अभियोगदावी पुग्न सक्तैन । दुबै प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भन्ने शुरू खोटाङ जिल्ला अदालतको मिति २०६६।१०।१८ को   फैसला ।

      मृतक देशविरा विश्वकर्मा प्रतिवादी रामबहादुर विश्वकर्माकी जेठी श्रीमती र प्रतिवादी विमला विश्वकर्माको सौतेनी दिदी भएकोमा विवाद छैन । अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतसमक्ष उपस्थित भै गरेको बकपत्रसमेतबाट देशविरा विश्वकर्मालाई यी प्रतिवादीहरूले निजको मृत्युपूर्व मानसिक र शारीरिक पीडा दिने गरेको तथ्य उजागर गरी दिएको पाईन्छ । यी प्रतिवादीहरू कसूर अपराध गरेमा अनुसन्धानको क्रममा र अदालतसमेतमा इन्कार रहेता पनि वारदातपूर्व घट्ने पीडाजन्य घटनाले वारदातमा यी प्रतिवादीहरूको समेत षड्‍यन्त्रमूलक योजना, सल्लाह र मिलोमतो रहेको पुष्टि हुन्छ । अपराधीले अपराध देखाएर गर्न चाहँदैन । कसूर अपराधको सजायबाट बच्न धेरै प्रयत्न गर्दछ र सो प्रयत्न प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले गरेका छैनन् होला भनी भन्न सकिने अवस्था छैन । सामान्य ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने सामान्य व्यक्तिलाई आर्थिक प्रलोभनमा पारी कसूर अपराध म एक्लैले गरेको हुँ भनी खिलबहादुर कसूर अपराधमा साबित रहेता पनि देशविरा विश्वकर्मालाई मार्ने मराउने षड्‍यन्त्रपूर्ण कार्यमा यी प्रतिवादीहरूको संलग्नता छैन भन्न सकिने अवस्था नभए नरहेबाट परिस्थितिजन्य प्रमाणको उपेक्षा गरी शुरू खोटाङ जिल्ला अदालतले रामबहादुर विश्वकर्मा र विमला विश्वकर्मालाई अभियोग दावीबाट सफाइ दिएको फैसला वस्तुपरक तथ्यमा आधारित नभएको देखिँदा त्रुटिपूर्ण हुँदा बदर गरी यी दुबै प्रतिवादीहरूलाई अभियोग मागदावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

      म पुनरावेदकलाई तत्काल रिस उठेको झोकमा ढुङ्गाले हान्दा सोही चोटबाट निजको मृत्यु हुनगएको  हो । सो कुरा मेरो बयान तथा अन्य प्रमाणबाट पुष्टि हुँदाहुँदै मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. र ७ नं. को मागदावी नलिई १३() नं. को मागदावी लिई सजाय गरिएको छ । मनसाय र मार्ने योजनाको तयारी बिना मर्न गएकोले शुरू खोटाङ जिल्ला अदालतबाट भएको सजाय चर्को भएकाले अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी खिलबहादुर खड्काको पुनरावेदनपत्र ।

      प्रतिवादी खिलबहादुर खड्काले मृतक देशविरा विश्वकर्मालाई कर्तव्य गरी मारेर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसूर गरेको देखिंदा निजलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय () बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादी रामबहादुर विश्वकर्मा र प्रतिवादी विमला विश्वकर्मालाई अभियोग दावीबाट सफाइ प्रदान गर्नेगरी खोटाङ जिल्ला अदालतबाट मिति २०६६।१०।१८ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रतिवादी खिलबहादुर खड्कालाई सर्वस्वसहित जन्मकैदको सजाय गर्नेगरी शुरूबाट भएको फैसला सदर भएकोले अ.बं. १८६ नं. बमोजिम सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भन्ने पुनरावेदन अदालत, राजविराजको मिति २०६७।११।१५ को फैसला ।

      नियमानुसार दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष साधक जाँचको लागि पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, राजविराजको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने देखियो ।

      खिलबहादुर खड्का, रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माउपर ज्यानसम्बन्धी महलको १ नं. को कसूरमा ऐ.१३ नं. को देहाय ३ नं. बमोजिम सजाय माग गरिएको अभियोगदावी भएको प्रस्तुत मुद्दामा प्रतिवादी खिलबहादुर खड्कालाई अभियोगदावीबमोजिम र प्रतिवादीद्वय रामबहादुर विश्वकर्मा र विमला विश्वकर्मालाई आरोपित कसूरबाट सफाइ दिने गरी भएको शुरूको फैसलाउपरको पुनरावेदनमा पुनरावेदन अदालतले शुरू सदर गरेको फैसला साधक जाँचको लागि यस अदालतमा पेश भएको देखिन्छ ।

. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाका प्रतिवादीहरूमध्ये रामबहादुर विश्वकर्मा र विमला विश्वकर्मालाई कसूरदार नठहर्‍याई सफाइ दिने र प्रतिवादी मनोज भन्ने  खिलबहादुर खड्कालाई सर्वस्वसहित जन्मकैद हुने गरी भएको शुरू खोटाङ जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत, राजविराजले सदर गरेको देखिएबाट उल्लिखित ३ जना प्रतिवादीहरूमध्ये को कसूरदार हुन् र को कसूरदार होइनन् भन्ने सम्बन्धमा नै विवेचना गर्नुपर्ने देखियो ।

. सर्वप्रथम शुरू र पुनरावेदन दुबै तहबाट कसूरको अभियोगबाट सफाइ पाएका प्रतिवादी रामबहादुर विश्वकर्मा र प्रतिवादी विमला विश्वकर्मा कसूरदार हुन् हैनन् भनी हेर्दा मृतक काली भन्ने देशविरा विश्वकर्माको कर्तव्यबाट मृत्यु भएकोमा विवाद भएको अवस्था नभएको र उक्त हत्याको वारदातमा यी दुईजना प्रतिवादी र अर्का प्रतिवादी खिलबहादुर खड्कासमेत गरी ३ जनाउपर संलग्नताको अभियोग लगाइएको देखिएको छ । उल्लिखित ३ अभियुक्तहरूमध्येका रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माको मृतक देशविराको हत्यामा भएको संलग्नताको सम्बन्धमा हेर्दा प्रतिवादीमध्येका मनोज भन्ने खिलबहादुर खड्काले अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीसमक्ष आफूले कसूर गरेकोमा साबिती बयान गर्दै सो वारदातमा अरू कसैको सहयोग वा मद्दत नरहेको भनी स्पष्ट गरेको व्यहोरालाई पूर्ण समर्थन हुने गरी निजले शुरू अदालतसमेतमा आई आफ्नो बयानमा लेखाइदिएको पाइयो । अनुसन्धानको क्रममा र अदालतमा भएको उल्लिखित व्यहोराको साबिती बयानलाई मिसिल संलग्न लास जाँच प्रकृति मुचुल्का, घटनास्थलमा बरामद भएको प्रतिवादी खिलबहादुर खड्काको जुत्ता, प्रतिवादी खिलबहादुर खड्काबाट बरामद भएको मृतकले कानमा लगाएको सुन र सो सामान मृतककै हो भनी सनाखत भएको देखिएसमेतका प्रमाणहरूले पुष्ट्‍याइँ नै गरिरहेको अवस्था देखिएको छ । प्रतिवादी खिलबहादुर खड्काले नै मृतकलाई मार्नुपर्नेसम्मको कारणका सम्बन्धमा आफू श्रीमान् र पितासमेत भएको व्यक्तिसँग मृतक पछि लागी मलाई श्रीमती बनाई घरमा होइन काठमाडौं वा विराटनगरमा लगी राख भनी मृतकले मेरो सर्टमा समाती तानेकोले तत्काल भुईँको ढुङ्गा टिपी हानी मारी लास छोडेको हुँभनी अनुसन्धानको क्रममा र अदालतमा समेत बयान गरिदिएको देखिएको र सो व्यहोरालाई "टाउकोमा चोट लागेको कारण दिमागमा रक्तस्राव भई मृत्यु भएको (Case of death is due to brain haemorrhage following blunt injury to head)" भन्ने शवपरीक्षण प्रतिवेदनको व्यहोराले पुष्ट्‍याइँ नै गरेको पाइयो ।

. उल्लिखित प्रतिवादीहरू रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माले अनुसन्धानको क्रममा र अदालतसमेतमा आफ्नो उक्त वारदातमा आफूहरूको संलग्नता नरही आरोपित कसूर गरेकोमा इन्कारी भई बयान गरेको पाइएको र मिति २०६६।१।२८ पछि मृतक देशविरा र यी  प्रतिवादीहरू रामबहादुर  विश्वकर्मा र विमला विश्वकर्माको आपसमा भेट भएको पनि मिसिलबाट देखिँदैन । यी प्रतिवादीहरूको देशविराको हत्याको वारदातमा संलग्नता रहेको भनी देखिने कुनै पनि वस्तुगत प्रमाण पनि मिसिलबाट देखिँदैन । यी प्रतिवादीहरूउपरको अभियोग मृतकको हत्याको वारदातपूर्वको प्रतिवादीहरू र मृतकको आपसी सम्बन्धमा आधारित भएको देखिन्छ । मृत्युपूर्वको मृतकसँगको सम्बन्धमा आधारित भई जाहेरी दरखास्तमा यी प्रतिवादीहरूलाई कसूरदारको रूपमा गरिएको उल्लेखन र अनुसन्धानको क्रममा भएको टंकमायासमेतका व्यक्तिहरूले यी २ प्रतिवादीहरूको कसूरमा संलग्नता रहेको भनी गरिदिएको कागजबाहेक त्यसलाई प्रमाणित गर्ने वस्तुगत तथ्य र प्रमाणहरूको अभावमात्र हैन सो वारदात नै अर्का प्रतिवादी खिलबहादुर खड्काले आफूले घटाएको र अन्य कुनै व्यक्तिको संलग्नता नभएको भनी अनुसन्धान एवं अदालतमा गरेको साबिती बयानबाट देखिइरहेको र त्यसलाई मिसिल संलग्न अन्य प्रमाणहरूले पुष्ट्‍याइँ गरिरहेको अवस्थामा उल्लिखित प्रतिवादीहरू कसूरदार रहेछन् भनी मान्न सकिने भरपर्दो र अकाट्य प्रमाण मिसिलमा रहेको देखिएन । यी प्रतिवादीहरूको मृतकसँगको मृत्युपूर्वको व्यवहार र सम्बन्धको आधारमा लगाइएको अभियोग जुन एकातिर वस्तुगत प्रमाणहरूद्वारा संपुष्टि हुन नसकेको र मृत्युपूर्वका सम्बन्ध । व्यवहारहरूलाई मृत्युको वारदात र अभियोगसँग मिसिलसंलग्न प्रमाणहरूले आपसमा जोड्न सकेको पनि देखिँदैन भने अर्कोतिर मृतक देशविरा मिति २०६६।१।२८ मा घरबाट हिंडेपछि खोजी गर्ने क्रममा प्रतिवादीमध्येका रामबहादुर विश्वकर्माले देशविरा बेपत्ता भएकीले खोजी गरी पाऊँ भनी प्रहरीमा निवेदनसमेत दिएको अवस्था देखिएको छ । यी प्रतिवादीहरू उपर्युक्त वारदातमा वारदातस्थलमा रहे भएको वा निजहरूले मृतकलाई मार्न मराउन अर्का प्रतिवादीमार्फत् षड्‍यन्त्र गरेको भन्ने कुराको अनुमान नै गर्ने हो भने पनि सो अनुमानको पुष्ट्‍याइँ मिसिलसंलग्न प्रमाण कागजातबाट हुनसकेको देखिँदैन न त सहअभियुक्त खिलबहादुर खड्काले यी प्रतिवादीहरूलाई उक्त ज्यानसम्बन्धी वारदातमा संलग्न रहेको भनी पोल गरेको अवस्था नै देखिन्छ । यसबाट प्रस्तुत मुद्दाका प्रतिवादीहरू रामबहादुर विश्वकर्मा र विमला विश्वकर्मा कसूरदार देखिने विश्वसनीय  र वस्तुगत प्रमाणको अभावमा निर्दोष नै रहेको देखिन आएकाले मनोगत आधारमा अभियोग माग दावीबमोजिम निजहरूलाई कसूरदार ठहर्याउन न्यायोचित हुने नदेखिएबाट उल्लिखित अभियोग दावीबाट सफाइ पाउने नै देखियो ।

. अर्का प्रतिवादी मनोज भन्ने खिलबहादुर खड्काको सम्बन्धमा यी प्रतिवादी कसूरदार हुन् कि हैनन् भनी मिसिल संलग्न कागज प्रमाणको आधारमा हेर्दा उल्लिखित प्रतिवादीहरू रामबहादुर विश्वकर्मा र विमला विश्वकर्माको कसूर र संलग्नताको सम्बन्धमा विवेचित तथ्य र प्रमाणसमेतले यस सम्बन्धमा धेरै कुरा स्पष्ट पारेको अवस्था छ । उल्लिखित विवेचना एवं मिसिल संलग्न प्रमाण कागजको आधारमा हेर्दा यी प्रतिवादी खिलबहादुर खड्कासँग मृतक काली भन्ने देशविरा विश्वकर्माको सम्बन्ध रहेको सम्बन्धमा गाउँमा चर्चा रहेको, सो सम्बन्धका बारेमा गाउँमा समाज बसी छलफल पनि भएको, यी प्रतिवादीले देशविरासँग शारीरिक सम्पर्कसमेत भएको भनी अनुसन्धानको क्रममा भएको बयानमा लेखाइदिएको, मार्नुपर्ने कारणको सम्बन्धमा यी प्रतिवादीले अनुसन्धानको क्रममा भएको र अदालतमा भएको बयानमा मलाई श्रीमती बनाई लैजाउ भनी मृतकले भनी सँगै जान जिद्दी गरी पछिपछि लागेकी र वारदात भएको जङ्गलमा पुगेपछि मेरो सर्ट तानी लडाएपछि सो रिस सहन नसकी ढुङ्गाले टाउकोसमेतमा पटकपटक हानी निजको मृत्यु भएपछि निज मृतकले लगाएका कानका कुण्डलसमेत लुछी आफू लास छोडी हिँडेको हुँभनी लेखाइदिएबाटसमेत मृतक र यी प्रतिवादीबीच सम्बन्ध रहेको र सोही सम्बन्धको कारण मृतकलाई मार्नु परेको तथ्यको पुष्ट्‍याइँ भएको देखिएको    छ । मृतकसँगको यस्तो सम्बन्धको कारण मृतकको मृत्यु आफ्नो कर्तव्यबाट भएको कुरालाई स्वीकार गर्दै यी प्रतिवादीले अनुसन्धानमा आफूले कसूर गरेकोमा साबिती बयान गरी सो वारदातमा अन्य कसैको मद्दत नरहेको र पछि अदालतमा समेत सोही बयानलाई पुष्ट्‍याइँ गर्ने गरी बयान गरेको देखिएको सो कुरालाई शव परीक्षण प्रतिवेदनले टाउकोमा चोट लागेको कारण दिमागबाट रक्तस्राव भई मृतकको मृत्यु भएको भनी पुष्ट्‍याइँ गरेको पाइयो । यसका साथै मृतकले कानमा लगाएको सुनको रिङ ढकुण्डलण् समेतका यी प्रतिवादीबाट बरामद भएका सामान मृतककै भएको सनाखतसमेत भई यी प्रतिवादीले त्यसलाई स्वीकार नै गरेको देखिएको र यी प्रतिवादीउपरको किटानी जाहेरीसमेत परेको र त्यसलाई अन्यथा प्रमाणित गर्न नसकी यी प्रतिवादीबाट आफूउपरको कसूरलाई स्वीकार नै गरेको अवस्थासमेत स्पष्ट देखिएको छ । प्रतिवादीको साबिती बयान सर्वोत्कृष्ट प्रमाण भएको र त्यसको मिसिलसंलग्न अन्य वस्तुगत प्रमाणहरूबाट पुष्ट्‍याइँ भएको देखिएबाट र यी प्रतिवादी मनोज भन्ने खिलबहादुर खड्का कसूरदार हैनन् र निर्दोष नै हुन् भनी भन्न सकिने वस्तुगत आधार रहेको नदेखिएसमेतका आधारमा प्रतिवादी खिलबहादुर खड्का कसूरदार नै भएको पुष्टि हुनआएको देखिन्छ ।

. अतः उल्लिखित तथ्य र मिसिल संलग्न प्रमाणको समग्र विवेचनाबाट प्रतिवादीहरूमध्येका रामबहादुर विश्वकर्मा र विमला विश्वकर्मा कसूरदार नदेखिएकाले अभियोग दावीबाट तिनले सफाइ पाउने ठहर्‍याएको र प्रतिवादी मनोज भन्ने खिलबहादुर खड्काले कसूर गरेको पुष्टि हुनआएकाले निजलाई ज्यानसम्बन्धी महलको १३ढ३ण् बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको खोटाङ जिल्ला अदालतको मिति २०६६।१०।१८ को फैसलालाई सदर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६७।१२।१५ को फैसला मनासिब नै देखिएकाले साधक सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।                                     

 

उक्त रायमा सहमत छु ।

न्या.रामकुमार प्रसाद शाह

 

इति संवत् २०६९ साल चैत २३ गते रोज  ६ शुभम् ।

इजलास अधिकृत : कृपासुर  कार्की

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु