शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१५१ - कर्तव्य ज्यान ।

भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक:

निर्णय नं. ३१५१ ने.का.प. २०४४  अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४२ सालको फौ.पु.नं. ३८६

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी:घनश्याम अर्यालको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: गुल्मी जिल्ला आँपचौर गा.पं. वडा नं. २ बस्ने टिकाराम अर्याल ।

       ऐ.ऐ बस्ने पूर्णकला अर्यालनी ।

       ऐ.ऐ कौशिला बोटेनी ।

 

फैसला भएको मिति: २०४४।२।२२।६ मा

स्वतन्त्र सबुद प्रमाणको अभावमा आफ्नै स्वास्नी छोरा नाति बुहारी समेतलाई मार्नु पर्ने सम्मको रिसइवी रहे भएको समेत पुष्टि हुन नसकेको अवस्थामा केवल प्रहरीमा भएको साविती तथा पोललाई मात्र आधार बनाई ज्यान जस्तो गम्भीर कसूरमा दोषी ठहर गर्न मिल्ने नभई शंकाको सुविधा अभियुक्तहरूले पाउने ।

(प्रकरण नं. २३)

पुनरावेदक, वादीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी.

विपक्षी,प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.महेशरामभक्त माथेमाः पश्चिमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन सहित मिसिलको संक्षिप्त विवरण यसप्रकार छन् :गुल्मी आँपचौर गा.पं. वार्ड नं. २ बस्ने टीकारामकी श्रीमती निजकै कान्छो छोरा वर्ष ५ को निजकै माहिलो छोरा डिल्लीराज समेतलाई २०३४।३।१७ गते राती कस्का कर्तव्यबाट  फलामको घनले हानी गोठमा मारेको र माहिलो छोरा मुर्छित भइराखेको रहेछ ऐ.१८ गते गुमान सिंको छोराले देखी गुहार पुकार गरी छिमेकी जुटी हेर्दा उक्त घटना देखिएको र छिमेकी नन्दरामले गुहार नगरेको र टिकारामकी श्रीमतीसंग झगडा कहिलेकाँही हुने गरेकाले यस्तो कर्तव्य नन्दरामकै भए जस्तो शंका लाग्छ भन्ने समेत २०३४।३।२० को जाहेरी दर्खास्त ।

२.  २०३४।३।१७ गते राती टिकारामकी श्रीमती र निजको छोरा कृष्णप्रसादलाई कर्तव्य गरी मारेको र डिल्लीराजलाई मुर्छित पारी छाडेको र डिल्लीराज उपचार गर्न तम्घास तर्फ लगेका छन् कस्ले कर्तव्य गर्‍यो हामीले देखेनौं भन्ने समेत ठाकुरप्रसाद समेत ६८ जना र नन्दराजसंग मृतकको झगडा हुने हुँदा निजलाई मारेमा नन्दराम उपर शंका लाग्छ भन्ने प्रेमप्रसाद समेत जना ३२ को भनाई भएको सरजमीन मुचुल्का ।

३.  २०३४।३।१७ गते म मेरा घरमा थिएँ । १८ गते बिहान गोठमा जाँदा त्यो हालत देख्दा म बेहोश भएछु छोरा डिल्लीराजलाई अस्पतालमा लगेछन् श्रीमती र कान्छो छोरालाई कसले कर्तव्य गरी मार्‍यो भन्ने सम्बन्धमा घरायसी रीसबाट नन्दरामले घन प्रहार गरी मारे होला भन्ने विश्वास लाग्छ, घरका परिवार सबैसंग मेल थियो भन्ने मृतकको लोग्ने टिकारामको प्रहरीमा भएको कागज ।

४.  २०३४।३।१७ गते दिउँसो ३ बजे देखि ऐ.१८ गते बिहान १० बजे सम्म मालिके खोला भजन किर्तनमा छ भनेको सोते सासुसंग अमेल भई बेसी गोठमा बस्ने गरेको झगडाको कारणबाट सासु समेतको कर्तव्यबाट घटना भएको मलाई विश्वास लाग्छ भन्ने समेत प्रहरीमा नन्दरामको कागज ।

५.  २०३४।३।१७ गते बेलुका टिकाराम र निजको सौतेनी आमा पूर्णकला गोठमा गई मर्नेहरूलाई मार्नु पर्छ भनी घन झिकी मलाई समेत जाउँ भनी टिकाराम पूर्णकला म समेत गोठमा आई मलाई घन दिई मानकादेवीलाई हान्नु त्यसपछि अरुलाई हान्नु भनी पूर्णकलाले सिकाएकोले तलामा चढी मानकादेवीलाई कृष्ण प्रसादले हानी मृत्यु भयो माहिलो छोरालाई हान्दा हात काँपी २, ३ पटक छट्पटाएको थियो त्यसपछि घन झ्यालबाट Çयाँकी ३ जना भई घर आयौं भन्ने टिकारामको घरमा काम गरी बस्ने कान्छी भन्ने कौशिल्या बोटेनीको ततिम्बा सहितको प्रहरीमा भएको कागज ।

६.  म मेरै घरमा थिएँ मृतक बुहारी र निजका छोरा छोरी गोठमा बसेका थिएँ लाश पर्‍यो भन्ने कुरा ऐ.१८ गते ९ बजे थाहा पाएको हुँ म बुहारी बीच झगडा छैन निजहरूलाई कर्तव्य गरी मारेमा मलाई कसै उपर शंका छैन भन्ने पूर्णकलाको बयान ।

७.  नन्दरामको बयान अनुसार पूर्णकला सावित नभए पनि कौशिला बोटेनीको बयानबाट निजले बयान दिएको र कौशिला आफूले कर्तव्य गरी मारेमा सावित देखिँदा कौशिल्यालाई ज्यानसम्बन्धी महलको नं. १३(१) बमोजिम र पूर्णकला, टिकारामलाई ऐ.१३(४) नं. बमोजिम सजायँ हुनुपर्ने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

८.  मलाई कुट्दै चुल्ठो समाउँदै प्रहरीले बयान गराएका हुन् मैले मानकादेवी समेतलाई मार्न र डिल्लीराजलाई भनी उद्योग गरेको होइन टिकाराम पूर्णकलाले मार्न लगाएको होइन, प्रहरी प्रतिवेदन दावीबाट फुर्सद पाउँ भन्ने कौशिला बोटेनीले अदालतमा गरेको बयान ।

९.  गाउँकै साहिला साहूको छोरा जेठाले बेसिमा डाँका पर्‍यो केटाकेटी विचेत छन् भन्यो त्यसपछि बेसी झरें गोठमा पुगेपछि डिल्लीराजले पानी खान्छु भन्यो बुहारी र कृष्णराज मरी सकेको रहेछन् मर्ने र मेरो बीच झगडा थिएन । मैले समेत मिली कर्तव्य गरी मारेको होइन प्रतिवेदन दावीबाट सफाई पाउँ भन्ने समेत पूर्णकलाले अदालतमा गरेको बयान ।

१०. गाउँको लिलाधर खरेलले बेसीमा डाँकाद्वारा दुर्घटना घटन गएछ भन्ने खबर दिएपछि तुरुन्त बेसी गएँ घटना देखेपछि बेहोश भएँछु त्यसपछि गाउँको मानिसले जीवित छोरालाई तम्घास अस्पतालमा ल्याएछ  घटना घटने समयमा म घरमा हुँदा आमा पूर्णकलाले कौशिलासंग सल्लाह समेत गरी मार्न लगाइएको होइन, आफ्नै श्रीमती छोरालाई मार्नु पर्ने कारण पनि छैन कसको कर्तव्यबाट निज मरेका हुन् भन्न सकिँदैन नजिक गोठमा बस्ने नन्दराम उपर शंका लाग्छ । श्रीमती गर्भेनी समेत थिइन् जहान परिवारमा गोठाल्नी समेतमा केही झगडा भए परेको थिएन । झुठ्ठा प्रहरी प्रतिवेदन दावाबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी टिकारामको अदालतमा गरेको बयान ।

११. कौशिलाको प्रहरीमा भएको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको अभावमा निजको स्वइच्छाले गरेको बयान भन्न नमिल्ने र शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरूले कसूर गरेको ठहर्‍याई सजायँ भागी बनाउन नमिल्ने भई अभियुक्तहरूले प्रहरी प्रतिवेदन दावाबाट सफाई पाउने ठहर हुँदा प्रहरी प्रतिवेदन दावी कौशिलाको हकमा ज्यानसम्बन्धी महलको १३(३) बमोजिम टीकाराम, पूर्णकलाको हकमा ज्यानसम्बन्धीको १३(४) बमोजिम सजायँ माग भएकोले अ.बं. १८६ नं. बमोजिम जाहेरी गरी पठाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३६।७।९ को गुल्मी जिल्ला अदालतको फैसला ।

१२. मर्ने मनकादेवी र मेरो झगडा भई रहन्थ्यो भनी निज प्रतिवादी पूर्णकलाले स्वीकार गरेकी छिन् र सो कुरा निज कौशिलाले पनि देखाई दिएको देखिन्छ । यस्तो अवस्थामा पनि प्रतिवादीहरूको इन्कारी बयानको आधार लिई सफाई दिएको न्यायोचित छैन, तसर्थ प्रतिवादीहरूलाई शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदनपत्र ।

१३. कौशिलाले घनको प्रहार गरी घन मलखादमा फालिदिएको भनेको सोही ठाउँमा घन बरामत भएको पूर्णकला ऐ. मनका बीच झैझगडा हुने गरेको भनी सौतेनी सासू पूर्णकलाले स्वीकार गरेको तथा कौशिलाले टीकारामलाई पोल गरेको देखिँदा शुरु अदालतको फैसला फरक पर्ने भएबाट अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम प्र.टीकाराम पूर्णकलालाई झिकाउने कौशिला थुनामा हुँदा आदेशको जानकारी दिने निजको तर्फबाट वैतनिक वकिल मुकरर गरी नियम बमोजिम पेश गर्नु भन्ने मिति ०३८।३।९ को डिभिजन बेञ्जको आदेश ।

१४. शुरु जिल्ला अदालतको फैसला फरक पर्ने देखिएपछि विचार गर्न नपर्ने भनी ठहर भएको नन्दराम समेतलाई अ.बं. २०२ नं. बमोजिम छलफलमा सूचना म्याद दिई झिकाउनु पर्नेमा सफाई पाएका टीकाराम र पूर्णकलालाई मात्रै झिकाइएको देखिएकोले निज नन्दराम समेतलाई अ.बं. २०२ नं. र क्षे.अ.नि., ०३६ बमोजिम छलफलको लागि नियम बमोजिम सूचना म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्ने मिति ०३८।८।२१ को डिभिजन बेञ्जको आदेश ।

१५. निज नन्दरामलाई अ.बं. १३९ नं. बमोजिम म्याद दिई झिकाई निजको बयान गराई थुनछेक तर्फ समेत कानून बमोजिम गरी निजले दिएका साक्षी प्रमाण तथा निजसँग सम्बन्धित अघि बुझिसकिएका साक्षीहरूको सम्बन्धमा समेत प्रमाण ऐनको रीत पुर्‍याई जो गर्नुपर्ने कारवाही गरी कानून बमोजिम गर्नु भनी झिकाई तारेखमा रहेका अभियुक्तहरूलाई समेत तारेख तोकी यो मिसिल शुरु गुल्मी जिल्ला अदालतमा पठाई दिनु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्जको मिति ०३८।१२।४ को फैसला ।

१६. म हरिकिर्तनबाट फर्कदाँ टीकारामकी श्रीमती मनकादेवी र निजको कान्छो छोरा वर्ष ५ को कृष्णप्रसाद नजाने कस्को कर्तव्यबाट मरिसकेछन् मैले लाश मात्र देखेको हुँ । मेरो माहिला छोरालाई मार्ने प्रयास गरेका रहेछन । घाइते अवस्थामा तम्घास अस्पतालतिर लगिसकेका थिए पछि बाँचेर आएको हो उक्त हत्या काण्ड कसरी कसले गर्‍यो मलाई थाहा छैन मैले गरेको होइन भन्ने प्र.नन्दरामको ०४३।३।३ को अदालतमा गरेको बयान ।

१७. सरजमीनका सम्पूर्ण व्यक्तिले समेत प्र.कौशिलाको प्र.पूर्णकला प्र.टीकारामसंग राम्रो मेलमिलाप थियो कुनै झैझगडा थिएन भन्ने लेखाएको हुँदा अन्य कुनै पनि स्वतन्त्र प्रमाणबाट कौशिला बोटेनीले प्रहरीमा गरेको साविती बयान समर्थित नहुँदा सो बयान स्वइच्छाले गरेको भन्न नमिल्ने र हेर्दैमा पनि एकदम सिधासाँधा खालको आइमाई हुँदा प्र.कौशिलाले कसूर गरेको नठहरी सफाई पाउने ठहर्छ प्र.नन्दराम अर्यालको हकमा कुनै आधारभूत प्रमाण नदेखिँदा निज प्र.नन्दरामले पनि सफाई पाउने ठहर्छ भन्ने गुल्मी जिल्ला अदालतको मिति ०४०।५।१६ को फैसला ।

१८. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१९. मनकादेवी समेत कर्तव्य परी मरेको देखिन्छ तर मार्नुपर्ने कारण खुल्न सकेको पाइएन । टीकाराम र पूर्णकलालाई मार्नु पर्ने रिसइवी परेको पनि देखिएन । नन्दरामसँग झैझगडा परेको भन्ने आधारमा नावालख समेतलाई ज्यान मारेको ठहर गर्न पनि मिलेन । कौशिला बोटेनी प्रहरीमा साविती भए पनि सो साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको पाइएन । यस स्थितिमा सबुदको अभावमा प्रतिवादीहरूलाई सफाई दिने गरेको गुल्मी जिल्ला अदालतको इन्साफ मनासिब छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।१।५।४ को फैसला ।

२०. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२१. वादी श्री सरकारको तर्फबाट खटिई उपस्थित हुन भएका विद्वान उप-न्यायाधिवक्ता श्री वलराम के.सी. ले अभियुक्त प्रतिवादीहरूलाई सफाई दिने गरेको क्षेत्रीय अदालतको इन्साफ उल्टी हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

२२. प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।

२३. यसमा यसैको कर्तव्यबाट मनकादेवी समेतको मृत्यु भएको हो भन्ने किटानी जाहेरी दर्खास्त नभएको सरजमीनका व्यक्तिहरूले यी प्रतिवादीहरू र मृतक एउटै परिवारका व्यक्तिहरु भएका र निजहरुको मृतकहरुसँग कुनै रिसइवी नभई यी प्रतिवादीहरू बाहेकको नन्दरामसँग यी मृतकहरुको बरोबर झैझगडा हुने भएकोले निज उपर शंकासम्म लाग्छ भनी सरजमीनमा लेखाई दिएको देखिन्छ । प्रतिवादी मध्येको टीकाराम र पूर्णकला अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत कसूरमा इन्कार रहेका छन् । प्रतिवादी मध्येकी कौशिला बोटेनीले आफू कसूरमा सावित भई मार्नको लागि टीकाराम र पूर्णकलाले बचन दिएका हुन् भनी पोलेकी भए पनि अदालतमा आई बयान गर्दा कसूरमा इन्कार रही टीकाराम र पूर्णकलाले बचन दिएको समेत होइन भनी बयान गरेकी छिन् भने अर्कोतर्फ पूर्णकलाले आफ्नै बुहारी तथा नाति र टीकारामले आफ्नै श्रीमती तथा छोराहरूलाई यसरी मार्न बचन दिनु पर्ने सम्मको कुनै रिसइवी थियो भन्ने कुरा कहीँ कतैबाट खुल्न सकेको छैन । सरजमीनका व्यक्तिहरूले पनि यी प्रतिवादीहरूको मृतकहरूसँग कुनै रिसइवी झैझगडा भएको थियो भनी लेखाई दिएको नभई उल्टो यिनीहरूलाई कसूरमा सफाई दिएको देखिन्छ । अतः स्वतन्त्र सबुद प्रमाणको अभावमा आफ्नै स्वास्नी छोरा नाति बुहारी समेतलाई मार्नु पर्ने सम्मको रिसइवी रहे भएको समेत पुष्टि हुन नसकेको अवस्थामा केवल कौशलाको प्रहरीमा भएको साविती तथा पोललाई मात्र आधार बनाई ज्यान जस्तो गम्भीर कसूरमा दोषी ठहर गर्न मिल्ने नभई शंकाको सुविधा अभियुक्तहरूले पाउने नै हुँदा प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिने ठहर्‍याएको शुरुको सदर गरेको प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल  नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्र केशरी बास्तोला

 

इतिसम्वत् २०४४ साल ज्येष्ठ २२ गते रोज ६ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु