निर्णय नं. २७१७ - सार्जजनिक अपराध

निर्णय नं. २७१७ ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ३७०
फैसला भएको मिति : २०४३।५।५।५ मा
पुनरावेदक/प्रतिवादी : लमजुङ जिल्ला चिती गा.पं.वडा नं.७ बस्ने रामचन्द्र सेढाई
विरुद्ध
विपक्षी/वादी : गा.पं.सचिव गौरीराज पन्तको जाहेरीले श्री ५ को सरकार
मुद्दा : सार्जजनिक अपराध
(१) शंकारहित किसिमको सबूद प्रमाणको अभावमा पुनरावेदक प्रतिवादीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत जरिवाना गर्ने गरी गरेको इन्साफ उल्टी हुने ।
(प्रकरण नं. १५)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला
विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ ।
२. ०३५।७।२० गते पानी योजनामा गई पानी के कस्तो हिसाबले बाँडिएको छ भनी निरीक्षण गरी फर्कदा रायचन्द्र सेढाई दमाई डाँडामा भेट भई मलाई अचानक गाली गरी यस गाउँमा बसेमा तेरो ज्यानको माया मारे हुन्छ भनी हात हाली कपालमा समेत समाती लछार पछार पारी इज्जतमा धक्का पुग्ने गरी बेइज्जती र हातपात गरेकाले सार्वजनिक अपराध गरेमा कारवाही गरिपाउँ भन्ने समेत गा.पं.सचिव गौरीराज पन्तको जाहेरी दर्खास्त ।
३. यो दर्खास्त मैले दिएको हो निज रामचन्द्रले जाहेरीम लेखिए बमोजिम सार्वजनिक स्थान दमैडाँडामा चलाई कुटपिट लछार पछार समेत पारी बेइज्जती गरी सार्वजनिक अपराध गरेका हुन भन्ने समेत गौरीराजको सनाखत कागज ।
४. मेरो जग्गा सम्झी मुद्दाका झगडीया सेरबहादुर खत्री, भीमबहादुर खत्री समेतलाई जाहेरवालाले बोकी हिंडेका र फैसला बमोजिमको धान बाली मैले थन्क्याउन पाउनमा निजहरू समेत भई धान काट्न सहयोग पुर्याउन जाहेरवाला समेत गएका ०३५।७।१९ गते विहान घटनास्थल भनिएका ठाउँमा जाहेरवाला र मेरो भेट भएसम्म पनि मैले हिजो तपाईले सेरबहादुर समेतलाई किन सहयोग गरी धानबाली सम्बन्धमा किन त्यस्तो गर्नुभयो भन्दा निजले आफ्नो हातमा लिई राखेको खूर्पाले मलाई ताकी तँलाई काटी मारी दिएपछि सबैलाई सुःख र आनन्द हुन्छ भनी भनेर मैले लौ काट भनी गर्धन थापे सो अवस्था गाउँले काले नेवार आएर खूर्पा खोसी दिए त्यसपछि जाहेरवालाले २ थप्पड मेरा गालामा हाने व्यहोरा यत्तिकै हो मैले सार्वजनिक अपराध गरेको होइन । वारदात भएको दिन ०३५।७।२० गते नभई ०३५।७।१९ गते हो भन्ने समेत प्र.रामचन्द्रले प्रहरीमा गरेको कागज ।
५. मिति ०३५।७।२० गते घटनास्थल भनिएका धौनी दमैडाँडामा काम विशेषले जाँदा जाहेरवाला गौरीराजलाई रामचन्द्रले लछार पछार गरिरहेको रहेछन् मैले छुट्याई दिएको हुँ भन्ने समेत महाप्रसाद समेतका केही व्यक्तिहरू र धान लुटेको विषयमा गौरीराज र रामचन्द्रको बीचमा भनाभन भई रामचन्द्रले गौरीराजलाई लछार पछार परे पारे अरे भन्ने सुनेको हुँ भन्ने कुनै र रामचन्द्रलाई गौरीराजले खूर्पा ताके अरे भन्ने सुनेको हुँ भन्ने कोही व्यक्तिहरू भएको सरजमीन मुचुल्का ।
६. पानी प्रेशर गाउँ खटिएका गौरीराजलाई रामचन्द्रले हातपात समेत गरी अश्लिल शब्द समेत बोलेको थाहा हुन आएको र प्रतिवादी रामचन्द्रले पनि वारदात भएकै होइन भन्न नसकी जाहेरवालासँग भनाभन झगडा भएको थियो भनी वारदात भएको अर्थ नगरी कागज गरेको आधारमा रामचन्द्रलाई केही सार्वजनिक अपराध सजायँ ऐन अन्तर्गतको दफा २(क) अनुसार अपराध गरेको देखिन आएकोले निजलाई ऐ.ऐनको दफा ६ अनुसार पहिलापटक पेश गरी सजायँ गरिपाउँ भन्ने समेत कुरा प्रहरी प्रतिवेदन ।
७. मैले जाहेरवाला गौरीराजलाई लछार पछार पारी चुट्यो भन्ने समेत कुरा झुठ्ठा हो । उनीहरू सबै मिति ०३५।७।१९ गते मलाई नै चुटेका हुन् भन्ने समेत प्रहरीमा गरेको बयानको मिलान रामचन्द्रले जिल्ला कार्यालय लमजुङ्गमा गरेको बयान ।
८. रामचन्द्र सेढाईले मलाई कुटपिट गरी अश्लिल शब्द बोली सार्वजनिक अपराध गरेको हो । निजले गरेको बयान झुठ्ठा हो भन्ने समेत गौरीराजको बकपत्र र सो बकपत्र झुठ्ठा हो भन्ने गौरीराजको जिरह ।
९. मेघराज गोविन्द र बृजमान श्रेष्ठ र महाप्रसाद श्रेष्ठ समेतको बयान मिसिलमा समेत रहेछ । सरजमीनका केही व्यक्तिहरूले पनि कुटपिट गाली बेइज्जती समेत गरेको कुरा सुनेका हौं भन्ने समेत सरजमीन मुचुल्काबाट देखिएकोले अभियुक्त रामचन्द्र पूर्पक्षमा रहँदा रहँदै पनि तारेख गुजारी बसेको समेत देखिएकाले निजले सार्वजनिक अपराध सजायँ ऐनको दफा २(क) अनुसार अपराध गरेको ठहरेकाले ऐ.ऐनको दफा ६ बमोजिम रु.३५०।– जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको जिल्ला कार्यालय लमजुङ्गको फैसला ।
१०. उक्त फैसलामा चित्त बुझेन भन्ने रामचन्द्रले गण्डकी अञ्चल अदालतमा गरेको पुनरावेदन यसमा शुरु जिल्ला कार्यालय लमजुङ्गले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको गण्डकी अञ्चल अदालतको फैसला ।
११. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी रामचन्द्रले प.क्षे.अ.मा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरेको रहेछ ।
१२. यसमा गण्डकी अञ्चल अदालतले शुरु जिल्ला कार्यालयको इन्साफ सदर गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को फैसला ।
१३. सो फैसला चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा प्र.रामचन्द्रले दिएको निवेदनमा यसमा निवेदक प्रतिवादी रामचन्द्रले प्र.जि.अ.सु.भ.ले ०३५।८।९ मा गरेको बयानको प्रकरण नं. ६ मा जाहेरवाला गौरीराज पन्तले खूर्पा ताकेको अवस्थामा सुकमान हामी समेतका मानिसले खोसेको हुम् भनी बयान गरेको र प्रकरण नं. ७ मा गुहार गरेपछि छविलाल समेतका मानिस आएका हुन् भनी बयान गरेको देखिन्छ प्रकरण नं. १६ मा समेत उल्लिखित मानसिंह समेत बुझी पाउँ भनी बयान गरेकोमा प्रतिवादीको साक्षी प्रमाण नै नबुझी गरेको प.क्षे.अ.को निर्णयमा अ.बं. ८४(क) १८५ नं. तथा प्रमाण ऐन, ०३१ को दफा ५४ समेतको त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजनबेञ्चको आदेश ।
१४. पुनरावेदक रामचन्द्र तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले र विपक्षी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः पुनरावेदकको पुनरावेदन जिकिर अनुसार प.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१५. यसमा पुनरावेदक प्रतिवादी र जाहेरवालका बीचमा प्रतिवादीको धान लुटेको विषयमा मनमुटाव भएकोमा र भनाभन भई जाहेरवालाले प्रतिवादी उपर जोखीम हतियार खूर्पा उठाएकोमा सरजमीनहरूले समेत किटानी लेखिदिएको पाइन्छ । प्रतिवादीले जिल्ला कार्यालयमा गरेको बयानमा अपराधमा पूर्ण इन्कारी गरी बयान गरेको देखिन्छ । सो बयानमा प्र.रामचन्द्रले मलाई कुटपिट गरी अश्लिल शब्द बोलेको हो भन्ने जाहेरवालाको जिरह र जाहेरीलाई पुष्टि गर्न अन्य पत्यारलायक भरपर्दा कानुनी प्रष्ट प्रमाण जाहेरवालाबाट देखाउन पेश हुन समेत आएको पाईदैन । यस्तो स्थितिमा शङ्कारहित किसिमको सबूद प्रमाणको अभावमा पुनरावेदक प्रतिवादी रामचन्द्र सेढाईलाई सार्वजनिक अपराध ऐन अन्तर्गत जरिवाना गर्ने गरी शुरु जिल्ला कार्यालय लमजुङ्गले गरेको इन्साफ सदर गरी गण्डकी अञ्चल अदालतले गरेको इन्साफलाई मनासिब ठहराई प.क्षे.अदालतले गरेको इन्साफ नमिलेकोले उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक रामचन्द्र सेढाईके माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ उल्टी भई निजलाई शुरुले गर्ने गरेको जरिवाना रु.३५०।– र सो इन्साफ सदर गरी गण्डकी अञ्चल अदालतले गर्ने गरेको थप जरिवाना रु.३५।– र सोही इन्साफ सदर गरी प.क्षे.अ.ले गर्ने गरेको थप जरिवाना रु.३५।– जम्मा रु.४२०।– चार सय बीस रुपैयाँ फिर्ता पाउँ भनी म्यादमा प्रतिवादीको दर्खास्त परे कानुन बमोजिम फिर्ता दिनु भनी शुरु जिल्ला कार्यालय लमजुङ्गमा लेखी पठाउनु भनी का.जि.अ.मा लगत दिनु......१
शुरु जिल्ला कार्यालयको फैसलाले प्रतिवादीलाई गर्ने गरेको जरिवाना रु.३५०।– को गण्डकी अञ्चल अदालतले गर्ने गरेको थप जरिवाना रु.३५।– को र प.क्षे.अ.ले पुनरावेदन गरे बापत गर्ने गरेको थप जरिवाना रु.३५।– समेत इन्साफ उल्टी फैसला भई नलाग्ने भएको हुँदा सो सम्पूर्ण फैसलामा लेखिएका जरिवानाको लगत कट्टा गरी दिनु भनी जिल्ला कार्यालय लमजुङ्गमा लेखी पठाउनु भनी का.जि.अ.मा लगत दिनु.....२
मिसिल नियमानुसार गरी बुझाइदिनू ..........३
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४३ साल भाद्र ५ गते रोज ५ शुभम् ।