निर्णय नं. ९०६३ - कर्तव्यज्यान

नेकाप २०७० अङ्क १० नि.नं.९०६३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
फैसला मिति : २०६९।१२।२३।६
०६८–RC–००८३
मुद्दा : कर्तव्यज्यान ।
वादी : कामसिंह माझीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : रामेछाप जिल्ला, राकाथुम गा वि स वडा नं १ बस्ने केदार माझी
§ अ.वं. १८८ नं. को व्यवस्थाअनुसार सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि भवितव्य हो कि भन्नेसम्मको शङ्काको अवस्था विद्यमान हुनुपर्ने र अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को पर्ने भई घटी सजाय हुनुपर्ने देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्याई आफ्ना चित्तले देखेको कारणसहितको राय व्यक्त गर्नुपर्ने ।
§ भवितव्य हो कि भन्नेसम्मको शङ्काको अवस्था विद्यमान भएको मुद्दामा मात्र घटी सजाय गर्नुपर्ने कारणसहितको राय व्यक्त गर्नुपर्ने ।
(प्रकरण नं.७)
§ मुद्दाको वारदातमा प्रतिवादीद्वारा मृतकका टाउकामा प्रहार गरी मृतक भूईंमा ढलेपछि पनि पुनः पेटमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको र त्यसमा विवाद भएको अवस्था नदेखिएको हुँदा टाउकोमा भएको प्रहारले मृतक भूईंमा ढलेपछि पनि पुनः निज मृतकको पेटमा भएको प्रहारले प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय नभएको भनी पुष्टि गर्नसक्ने अवस्था नभएकाले त्यसलाई भवितव्य भनी भन्न सकिने अवस्था नदेखिने ।
(प्रकरण नं.९)
§ अ.बं. १८८ नं. बमोजिम सजाय चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्याइँ (Justification) हुनुपर्ने ।
(प्रकरण नं.११)
वादीका तर्फबाट :
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजीर :
§ नेकाप २०६१, नि.नं. ७३९९, नेकाप २०६३, नि.नं.७७५२, नेकाप २०६९, नि.नं.८८५३
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३), अ.बं.१८८
शुरू रामेछाप जिल्ला अदालतमा फैसला गर्ने : माननीय न्यायाधीश श्री कैलाश के.सी.
पुनरावेदन अदालत जनकपुरमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल
माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर
फैसला
न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत जनकपुरको मिति २०६८।१।२८ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक जाँचको लागि यस अदालतमा प्राप्त भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :
रामेछाप जिल्ला, राकाथुम १ खैरनी स्थित पूर्व सिंचाई कुलो, पश्चिम सुनकोसी नदी, उत्तर मोटर बाटो र दक्षिण टोकलाबहादुरको खेतको चार किल्लाभित्र मृतकको लास रहेको, टाउकोमा पछ्यौरा, कानमा टप, नाकमा बुलाकी, घाटीमा पोतेसमेत लगाएकी महिला मृत अवस्थामा रहेको, निजले प्रयोग गरेको जाँडखाने बटुका, जाँड छान्ने झुल, प्लाष्टिकको बालटीन, डोको, नाम्लोसमेत रहेको पूर्व खुट्टा र पश्चिम टाउको उत्तानो अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का र सोही स्थानमा २ इन्च मोटाई १.२५ से.मी. लम्बाई भएको र्याफ्टिङ्ग चलाउने बहना बरामद गरी लगेको भन्नेसमेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
मिति २०६६।६।१ गते दिउँसो १२ बजेको समयमा राकाथुम १ स्थित खैरनी सुनकोसी नदी किनारामा मेरी श्रीमती वर्ष ६३ की चमेली माझी जाँड बेची रहेकीमा ऐ.घर भै हाल सिन्धुली कुशेश्वर १ दुम्जा बस्ने केदार माझीले श्याम माझीसँग झगडा गरी मेरी श्रीमती रहेको चौतारोमा पुगी डुङ्गा चलाउने बहनाले मेरी श्रीमतीलाई टाउको तथा पेटमा प्रहार गरी घटनास्थलमा नै श्रीमतीको मृत्यु भएकोले निज केदार माझीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको मृतकका पति कामसिंह माझीको जाहेरी ।
Cause of death is due to cervical injury massive internal haemorrhage भन्ने पोष्टमार्टम रिपोर्ट ।
मिति २०६६।६।१ गते बिहान ११ बजेको समयमा म सिन्धुलीस्थित घरबाट राकाथुमस्थित घरतर्फ आउने क्रममा सुनकोसीमा डुङ्गा तरी रामेछापतर्फ आएपछि मलाई डुङ्गा चलाउने श्याम माझीले मुख छोडी ढुङ्गाले हानेपछि निजलाई कुटपीट गरी निजको डुङ्गाको बहना बोकी सो ठाउँबाट अं.५० मिटर टाढा रहेको पिपलको चौतारोमा पुग्दा मृतक त्यही रहिछिन् र निजले मलाई तिमीहरू किन झगडा गरेको भन्दा मलाई रिस उठी मैले बोकेको बहनाले निज मृतक चमेली माझीको टाउकोमा हान्दा सोही ठाउँमा लडिन् र पुनः निजको पेटमा हान्दा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी केदार माझीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६६।६।१ गते दिउँसो ११ बजे म र केदार माझी राकाथुमतर्फ आउने क्रममा सुनकोसी नदी डुङ्गाबाट तरी रामेछापतर्फको किनारमा पुग्नासाथ श्याम माझी र केदार माझीबीच झगडा हुँदा निज केदारले श्यामलाई कुटपीट गर्यो र मैले छुट्याई दिई म आफ्नो खेततर्फ लागें । केदार माझी डुङ्गाको बहना बोकी पिपलबोटतिर लागे, दिउँसो १२ बजेको समयमा पिपलबोट चौतारीमा मृतक र केदार माझीको बीचमा विवाद भै केदारले निज मृतकलाई बहनाले हानेको देखी दौडदै जाँदा मृतक बेहोस अवस्थामा थिइन् र तत्कालै मृत्यु भएको हो भन्नेसमेत व्यहोराको रामबहादुर माझीले अनुसन्धानमा गरी दिएको कागज ।
जाहेरीमा उल्लिखित मिति र समयमा म सुनकोसीमा डुङ्गा तान्ने काम गरिरहेको अवस्थामा प्रतिवादी केदार माझीले मसँग विवाद गरी मलाई कुटपीट गरी बेहोस पारी केही पर रहेकी मेरी हजूरआमा नाता पर्ने चमेली माझीलाई डुङ्गा चलाउने बहनाले हिर्काइ मारेछन्,मलाई उपचार गराई घरमा ल्याएपछि निजले कर्तव्य गरी मारेको कुरा थाहा पाएको हो भन्ने श्यामबहादुर माझीले अनुसन्धानमा गरेको कागज ।
मिति २०६६।६।१ गते केदार माझीले चमेली माझीलाई मार्यो भन्ने हल्ला सुनी हेर्न गै बुझ्दा केदार माझीले मृतक चमेलीलाई डुङ्गा चलाउने बहनाले टाउको र पेटमा हानी मारेको कुरा तत्काल थाहा पाएको हो भनी सुरेश माझीले र देवचन्द्र माझीले अनुसन्धानमा गरी दिएको कागज ।
मिति २०६६।६।१ गते केदार माझी र श्याम माझीको बीचमा झगडा भयो र त्यसको केही समयपछि केदार माझीले चमेली माझीलाई डुङ्गा चलाउने बहनाले कुट्यो भनेको सुन्नासाथ त्यहाँ जाँदा प्रतिवादीले मृतकलाई बहनाले हानेको देखी नकुट भन्दै दौडदै जाँदा मृतक चमेलीको घटनास्थलमा नै मृत्यु भैसकेको रहेछ । कुटपीट गरी मार्नुपर्ने कारण थाहा भएन भनी मेघबहादुर माझी, रामबहादुर माझी, कर्णबहादुर माझीसमेतले गरी दिएको घटनाविवरण कागज ।
घटनास्थल लास जाँच मुचुल्का, बरामदी मुचुल्का, जाहेरी दरखास्त, पोष्टमार्टम रिपोर्ट प्रतिवादीको बयान, अनुसन्धानको क्रममा बुझिएका मानिसहरूको कागजसमेतका आधार प्रमाणबाट प्रतिवादी केदार माझीले मिति २०६६।६।१ मा रामेछाप जिल्ला, राकाथुम १ खैरनीघाट स्थित पिपलबोट भन्ने स्थानमा जाँड बेचिरहेकी मृतक चमेली माझीलाई डुङ्गा चलाउने बहनाले कुटपीट गरी निज मृतक चमेली माझीको घटनास्थलमा नै मृत्यु भएको तथ्य सिद्ध हुन आएकोले निज प्रतिवादी केदार माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय होस् भन्ने अभियोगपत्र ।
मैले मिति २०६६।६।१ गते डुङ्गा चलाउने बहनाले जाँड बेचिरहेकी चमेली माझीलाई रामेछाप राकाथुम १ स्थित खैरनी घाटमा एक पटक टाउकोमा र एक पटक पेटमा हान्दा सोही स्थानमा नै मृतक चमेली माझीको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी केदार माझीको अदालतमा भएको बयान ।
यस अदालतको मिति २०६६।६।२५ को आदेशानुसार प्रतिवादी केदार माझी पुर्पक्षको निमित्त थुनामा रहेको र यस अदालतबाट पटकपटक आदेश हुँदासमेत साक्षी बकपत्रको लागि उपस्थित नभएको ।
प्रतिवादी केदार माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसूर गरेकोमा निजलाई सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्छ र उक्त ऐनबमोजिम सजाय दिंदा चर्को पर्ने चित्तमा लागेकोले निजलाई १०(दश) वर्ष मात्र कैदको सजाय हुनुपर्ने देखी अ.बं १८८ नं. बमोजिम आफ्नो रायसहित साधक जाहेर गर्नुभन्ने मिति २०६६।१२।१२ को रामेछाप जिल्ला अदालतको फैसला ।
मृतकलाई कर्तव्य गरी मार्नुपर्ने कुनै पूर्व कारण र योजनाबद्ध कार्य गरेको भनी नदेखाई हचुवा तवरबाट ज्यानसम्बन्धीको १३(३) नं.को कसूर गरेको ठहर्याउन नमिल्ने हुँदा शुरू फैसला गर्दा कुनै विचार गरिएको छैन । न्यायिक मनको अभाव रहनुका साथै तथ्य, कानून र प्रतिपादित सिद्धान्तसमेत प्रतिकूल रही त्रुटिपूर्ण रहेकोले शुरू फैसला बदर गरी इन्साफ गरी न्याय गरिपाऊँ भन्ने प्रतिवादी केदार माझीको पुनरावेदनपत्र ।
प्रतिवादीको प्रहरी र अदालतसमक्ष भएको कसूरमा साबिती बयान लास जाँच मुचुल्का तथा अटोप्सी रिपोर्टसमेतबाट समर्थित भएको हुँदा प्रतिवादी केदार माझीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय गरी प्रतिवादीको मृतकसँग पूर्व रिसइबि रहेको भन्ने नदेखिएको र मृतकले प्रतिवादीलाई सन्केका हुन् भनेकीले रिस उठी काठको बहनाले मृतकलाई प्रहार गर्दा मृतकको मृत्यु भएको वारदातको परिस्थितिलाई विचार गर्दा सर्वस्वसहित जन्म कैदको सजाय गर्दा चर्को पर्ने देखिएकोले अ.बं १८८ नं. बमोजिम १० वर्षमात्र कैद सजाय हुने भनी रायसमेत व्यक्त गरेको रामेछाप जिल्ला अदालतको मिति २०६६।१२।१२ को फैसला मिलेकै देखिंदा सदर हुने र अ.बं १८६ नं. बमोजिम साधक जाहेरी गर्नेसमेत ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।२।२६ को फैसला ।
नियमानुसार दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष साधक जाँचको लागि पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, जनकपुरको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने देखियो ।
प्रतिवादी केदार माझीले चमेली माझीलाई डुङ्गा चलाउने बहनाले कुटपीट गरी निज चमेली माझीको घटनास्थलमा नै मृत्यु भएकाले प्रतिवादी केदार माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय होस् भन्ने अभियोग मागदावी भएको प्रस्तुत मुद्दामा अभियोग माग दावीबमोजिम प्रतिवादी केदार माझीलाई शुरू रामेछाप जिल्ला अदालतलले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरी अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायको रायसमेत व्यक्त गरेकोमा पुनरावेदन अदालतबाट सो कैद सजाय र रायसमेत सदर भएको फैसला साधक जाँचको रोहमा यस अदालतमा निर्णयार्थ पेश भएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मृतक चमेली माझीको कर्तव्यबाट मृत्यु भएकोमा विवाद नदेखिएको प्रस्तुत मुद्दामा एकमात्र प्रतिवादी केदार माझीको कसूरका सम्बन्धमा हेर्दा मृतकको मृत्यु यी प्रतिवादी केदार माझीको डुङ्गाको बहनाको टाउको र पेटमा भएको प्रहारबाट भएकोमा विवाद देखिँदैन । प्रस्तुत वारदातमा यी प्रतिवादीबाहेक अन्य कुनै व्यक्तिको संलग्नता नदेखिई एक्लो यी प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको तथ्यको यी प्रतिवादीको अनुसन्धानको क्रममा भएको साबिती बयान र निजले अदालतमा आएर गरेको साबिती बयानबाट पुष्ट्याइँ भएको देखिन्छ । कुटपीट गरी मृतकको मृत्यु भएको भनी गरेको यी प्रतिवादीको साबिती बयान यस घटनाको जरियाको रूपमा देखिएको उक्त वारदात हुनुपूर्वको श्याम माझीसँगको यी प्रतिवादीको झगडाको प्रत्यक्ष साक्षी जसले श्याम माझीसँगको झगडामा दुबैलाई छुट्याइदिने र यस वारदातका पनि प्रत्यक्ष साक्षी रहेका रामबहादुर माझीले अनुसन्धानको क्रममा र अदालतसमेतमा आई यी प्रतिवादीको बहनाको प्रहारद्वारा मृतकको मृत्यु भएको कुरा लेखाइदिएको, सोही कुरालाई पुष्टि गर्ने गरी २०६६।६।१ को प्राथमिक स्वास्थ्य चौकी, मन्थलीको शव परीक्षण प्रतिवेदनमा "Bleeding from nostrils भन्ने र Bruises on lt. thigh. 20 cm. long bruise on left chest and abdomen s/o impression of blunt long weapon भन्नेसमेत उल्लेख भएको र Cause of death is due to cervical injury and massive internal haemorrhage" भनी उल्लेख भएको देखिएबाट समेत पुष्टि हुनआएको छ । यसबाट यी प्रतिवादीको एकल प्रहारबाट मृतकको मृत्यु भएकामा विवाद गर्ने ठाउँ देखिदैन ।
३. यसरी जाहेरी दरखास्तको व्यहोरा समर्थित हुने गरी एवं अभियोगलाई स्वीकार गरी यी प्रतिवादी केदार माझीले अनुसन्धानको क्रममा लेखाइदिएको साबिती बयानलाई पूर्ण समर्थन गर्दै अदालतमा बयानसमेत गरेको, प्रत्यक्ष साक्षीको रूपमा रहेका रामबहादुर माझीसमेतले पनि प्रतिवादीको साबितीको पुष्ट्याइँ हुने गरी लेखाइदिएको र शवपरीक्षण प्रतिवेदन (Autopsy Report) ले समेत मृतकको टाउको, छाती र पेटमा चोट पुग्ने गरी भएको प्रहार र मस्तिष्कको चोटको कारण भएको आन्तरिक रक्तस्रावको कारणबाट मृतकको मृत्यु भएको भनी उल्लेख गरेको देखिएबाट यी प्रतिवादी निर्दोष रहेछन् कि भन्ने अवस्था नरही यी प्रतिवादीकै प्रहारको कारणले मृतकको मृत्यु भएको देखिएकाले अभियोग माग दावीबमोजिम यी प्रतिवादी केदार माझीलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको मिति २०६६।१२।१२ को शुरू रामेछाप जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।१।२८ को फैसला मिलेकै देखिन्छ ।
४. जहाँसम्म शुरू जिल्ला अदालतले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरी सो सजाय चर्को पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम १० वर्षमात्र कैद सजाय हुने गरी व्यक्त गरेको रायलाई सदर गरेको पुनरावेदन अदालतको फैसलाका सम्बन्धमा विचार गर्दा उक्त वारदातको जरियाको रूपमा रहेको यस वारदातपूर्वको कुटपीटको वारदातलाई पनि सान्दर्भिक भएकाले त्यसतर्फ हेर्दा सुनकोसी नदी डुङ्गाबाट तरेपछि श्यामबहादुर माझी र यी प्रतिवादी केदार माझीका बीच कुटपीट भई श्यामबहादुर माझी घाइते भएका र यी प्रतिवादीसँगै गएका रामबहादुर माझीले सो वारदातमा श्यामबहादुर माझी र यी प्रतिवादीलाई छुट्याइदिएपछि यी प्रतिवादीले श्यामबहादुर माझीको बहना बोकेर अन्दाजी ५० मीटरअघि आई चौतारीमा जाँड बेच्दै गरेकी मृतक चमेली माझीसँग उक्त श्यामबहादुर माझीसँगको कुटपीटको सम्बन्धमा कुरा हुँदा विवाद भई यी प्रतिवादीले श्यामबहादुर माझीकी हजूरआमा नाता पर्ने ६३ वर्षिया चमेली माझीको टाउकोमा बहनाले प्रहार गरेको र त्यो प्रहारबाट निज मृतक चमेली भूईंमा ढलेपछि पुनः सोही बहनाले पेटमा हानेपछि मृतकको मृत्यु भएको कुरालाई यी प्रतिवादीले अनुसन्धानको क्रममा स्वीकार गरेको र पछि अदालतसमेतमा उपस्थित भई त्यसलाई समर्थन गरी बयान गरेको देखिन्छ । प्रतिवादीसँगै रहेका रामबहादुर माझीसमेतले पनि यी प्रतिवादीले मृतकलाई बहनाले प्रहार गरेको देखी दौडदै जाँदा मृतक बेहोस अवस्थामा भएको र तत्कालै मृतकको मृत्यु भएको भनी अनुसन्धानमा गरिदिएको कागजले पनि उक्त वारदातमा यी प्रतिवादीको संलग्नता र निजको प्रहारले मृतकको मृत्यु भएको कुरालाई पुष्ट्याइँ गरिरहेको देखिन्छ ।
५. यसरी उल्लिखित वारदातको घटनाक्रमलाई हेर्दा मृतक चमेलीसँग सम्बन्धित वारदातपूर्व पनि यी प्रतिवादीले श्यामबहादुर माझीलाई बहनाले हिर्काइ घाइते बनाएको, मृतकलाई सामान्य विवादको क्रममा बहनाले टाउकोमा हिर्काएको र टाउकोमा हिकाई सो प्रहार सहन नसकी मृतक भूईंमा ढलेपछि पुनः पेटमा बहनाले हिर्काएको तथ्यको पुष्ट्याइँ भएको एकातिर देखिन्छ भने अर्कोतिर मृतकको उमेर (कामसिंह माझीको जाहेरी व्यहोरा अनुसार) ६३ वर्ष देखिएको र यस्ती ६३ वर्षकी वृद्धालाई टाउकोमा प्रहार गरी ढलेपछि पनि क्रूरतापूर्वक पुनः पेटमा बहनाले प्रहार गरी मृतकको मृत्यु भएको देखिएबाट उक्त वारदातको अवस्थालाई भवितव्य होकि भनी शङ्का गर्ने अवस्था देखिएन ।
६. यस सन्दर्भमा अ.बं. १८८ नं. को व्यवस्थालाई हेर्नु उपयुक्त हुनेछ । यसमा “ऐनले सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्नेसम्मको शङ्काले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्याई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ” भनी उल्लेख भएको देखिन्छ ।
७. अ.बं. १८८ नं. को उपर्युक्त व्यवस्थाअनुसार सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि भवितव्य हो कि भन्नेसम्मको शङ्काको अवस्था विद्यमान हुनुपर्ने र अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को पर्ने भई घटी सजाय हुनुपर्ने देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्याई आफ्ना चित्तले देखेको कारणसहितको राय व्यक्त गर्नुपर्ने कानूनी व्यवस्था देखिन्छ । यसबाट के स्पष्ट हुनगएको छ भने उल्लेख भएबमोजिम राय व्यक्त गर्दा मूलतः भवितव्य हो कि भन्नेसम्मको शङ्काको अवस्था विद्यमान भएको मुद्दामा मात्र घटी सजाय गर्नुपर्ने कारणसहितको राय व्यक्त गर्नुपर्ने गरी यससम्बन्धी व्यवस्थालाई सीमित गरिएको दखिन्छ ।
८. यसै प्रसङ्गलाई थप स्पष्ट पार्नका लागि मुलुकी ऐनको ज्यानसम्बन्धी महलको ५ नं. लाई हेर्दा त्यसमा “ज्यान लिने इविलाग वा मनशाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्लाजस्तो नदेखिएको कुनै काम गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भनी उल्लेख भएको र त्यसलाई सोही महलको ६ नं. मा थप स्पष्ट पार्दै देहाय १–५ सम्म एउटा कामको लागि सावधानीसँग हातहतियार उठाएकोमा केही व्यहोराले अर्कालाई लागेमा, होस नपुर्याई वा हेलचेक्र्याइँ गरी कुनै काम गरी भवितव्य परेमा, रक्षा शिक्षाको क्रममा कुटपीट गर्दा भवितव्य परेकोमा भवितव्य हुनेजस्ता अवस्थाको बारेमा उल्लेख गरिएको छ ।
९. उपर्युक्त कानूनी व्यवस्थाको आधारमा हेर्दा प्रस्तुत मुद्दाको वारदातमा प्रतिवादीद्वारा मृतकका टाउकामा प्रहार गरी मृतक भूईंमा ढलेपछि पनि पुनः पेटमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको र त्यसमा विवाद भएको अवस्था नदेखिएको हुँदा टाउकोमा भएको प्रहारले मृतक भूईंमा ढलेपछि पनि पुनः निज मृतकको पेटमा भएको प्रहारले प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय नभएको भनी पुष्टि गर्नसक्ने अवस्था नभएकाले त्यसलाई भवितव्य भनी भन्न सकिने अवस्था देखिएन ।
१०. यसका साथै यसै अदालतबाट शान्ति वि.क. विरूद्ध नेपाल सरकार भएको कर्तव्यज्यान मुद्दामा (ने.का.प. २०६१, नि.नं. ७३९९) प्रतिपादित सिद्धान्तअनुसार अ.बं. १८८ नं. को प्रयोगका सम्बन्धमा समान प्रकृतिको अपराध र समानस्तरका अपराधी भएको मुद्दामा फरक सजाय निर्धारण गर्नु नहुने र एकरूपता कायम गर्न मार्गदर्शनको रूपमा १४ वटा आधारहरूको निर्धारण गरिएको देखिन्छ । यसैगरी नेपाल सरकार विरूद्ध जुगत सदासमेत भएको मुद्दामा (ने.का.प.२०६३, नि.नं.७७५२) थप केही आधारहरू उल्लेख गरिएको छ भने वीरमान लुङ्गेली (मगर) विरूद्ध नेपाल सरकार भएको मुद्दामा (ने.का.प.२०६९, नि.नं.८८५३) चित्तमा लाग्ने कुरा मनोगत नहुने भएकोले चित्तमा लागेकोले सजाय घटाइयो भन्नु अ.बं. १८८ नं. को लागि पर्याप्त नहुने भन्ने कुरालाई स्वीकार गरिएको देखिन्छ ।
११. यसरी यस अदालतबाट प्रतिपादित उपर्युक्त सिद्धान्तहरू र अ.बं. १८८ मा उल्लिखित प्रावधानसमेतका आधारमा सामान्यतः अ.बं. १८८ नं. बमोजिम सजाय चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्याइँ (Justification) हुनुपर्नेमा प्रस्तुत मुद्दामा शुरू र पुनरावेदन तहका अदालतले आफूले उपर्युक्त अ.बं. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्दा मनासिब आधारहरूको उल्लेखन गरेको पनि नपाइएको र ज्यानसम्बन्धी महलको ५ नं. बमोजिम उक्त वारदात भवितव्यजस्तो पनि नदेखिई मृतकलाई टाउकोलगायत पेटमा पटकपटक प्रहार गरी मृतकको मृत्यु भएको देखिएसमेतका आधार र कारणबाट यी प्रतिवादी केदार माझीलाई ठहर भएको सजाय घटाउनुपर्ने अवस्था नदेखिँदा अ.बं.१८८ नं. बमोजिम दश वर्षमात्र कैद सजाय हुनुपर्ने भनी शुरूको रायलाई सदर गरेको पुनरावेदन अदालतको रायसँग सहमत हुनसक्ने अवस्था देखिएन ।
१२. अतः उपर्युक्त विवेचित आधारबाट शुरू जिल्ला अदालतले प्रतिवादी केदार माझीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गरी अ.बं. १८८ नं. बमोजिम उक्त सजाय चर्को पर्ने भनी १० वर्षमात्र कैद सजाय गर्ने गरी व्यक्त गरेको रायसमेतलाई सदर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।१।२८ को फैसला ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको हदसम्म सदर हुने ठहर्छ र रायको हकमा सहमत हुन सकिएन । अरूमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहरखण्डमा उल्लेख भएबमोजिम शुरू रामेछाप जिल्ला अदालतको मिति २०६६।१२।१२ को रायसहितको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।१।२८ को फैसला साधक जाँचका लागि प्रस्तुत भएकोमा पुनरावेदन अदालतको उक्त मिति २०६८।१।२८ को फैसला सदर भई अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद सजाय गर्ने गरी उक्त अदालतबाट व्यक्त गरेको रायसम्मको हकमा असहमत भई यस अदालतबाट फैसला भएकाले शुरूको सर्वस्वसहित जन्मकैद सजाय हुने गरी राखेको लगत यथावत् राखी सोको जानकारी थुनामा रहेका प्रतिवादी केदार माझीलाई दिनु भनी शुरू रामेछाप जिल्ला अदालतमा लेखी पठाइदिनू .............................................१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.......................२
उक्त रायमा सहमत छु ।
न्या. रामकुमार प्रसाद शाह
इति संवत् २०६९ साल चैत २३ गते रोज ६ शुभम् ।
इजलास अधिकृत : कृपासुर कार्की