शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०६४ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ५५ साल: २०७० महिना: माघ अंक: १०

नेकाप २०७०        अङ्क १०           नि.नं.९०६४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री सुशीला कार्की

फैसला मिति : २०६९।१०।१७।४

०६७-CR-०४८९ र ०६७-CR-१०९९

 

मुद्दा :मानव बेचबिखन तथा ओसारपसार ।

 

पुनरावेदक/वादी : सुष्मा दनुवार राईको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक, कात्तिके देउराली गाउँ विकास समिति वडा नं. ७ घर भई हाल काठमाण्डौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर बस्ने दिनेश परियार भन्ने सनमान नेपाली

पुनरावेदक/प्रतिवादी : जिल्ला सिन्धुपाल्चोक, सिखरपुर गाउँ विकास समिति वडा नं. ७ घर भई हाल कारागार कार्यालय, पर्सा वीरगञ्जमा थुनामा रहेको काले दमाई

विरूद्ध

प्रत्यर्थी/वादी : सुष्मा दनुवार राईको जाहेरीले नेपाल सरकार

 

§  घटनाबाट पीडित व्यक्तिले घटनाको तत्कालपछि व्यक्त गरेको कुरा अदालतले प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा लिनुपर्ने ।

§  आफूलाई बिक्री गरेको ठाउँबाट भागी काठमाण्डौ आई प्रहरीसमक्ष व्यक्त गरेको कुरा अदालतमा सनाखत गरी दिएको र पछि साक्षी सरह अदालतमा उपस्थित भई सोही बमोजिम बकपत्र गरी दिएकोसमेत अवस्थामा निजको सो कथन प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रमाणमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो प्रत्यक्ष प्रमाणको विद्यमानतामा प्रतिवादीको इन्कारी बयान मात्र निजको निर्दोषिता प्रमाणित हुन नसक्ने ।

(प्रकरण नं.५)

§  प्रतिवादीले पीडितलाई काठमाण्डौंबाट कलकत्ता लगी सोबापत रकमसमेत प्राप्त गरेको देखिएबाट निजले बिक्री गरेको मान्नुपर्ने र सो कुरा अदालतमासमेत स्वीकार गरेको देखिएको र अदालतमा स्वइच्छापूर्वक व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम अभियुक्तको विरूद्ध प्रमाणमा लिनुपर्ने ।

(प्रकरण नं.७)

पुनरावेदक/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता लिलामणि पौडेल

अवलम्बित नजीर :

सम्बद्ध कानून :

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४  (१) क

प्रमाण ऐन, २०३१ को दफा ९

 

शुरू तहमा फैसला गर्ने :–          

      मा.न्या.श्री लेखनाथ घिमिरे

पुनरावेदन तहमा फैसला गर्ने :–              

      मा.न्या.श्री तेजबहादुर के.सी.

      मा.न्या.डा.श्री आनन्दमोहन भट्टराई

     

फैसला

न्या. रामकुमार प्रसाद शाह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६६।९।२१ को फैसलाउपर वादी, प्रतिवादी दुबैपक्षबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय निम्नानुसार रहेको छ :

      म जाहेरवालीको श्रीमानले कान्छी श्रीमती ल्याई बेवास्ता गरेपछि बच्चाहरूलाई माइतीमा राखी गलैँचा कारखानामा काम गरी पैसा पुर्‍याई मिति २०६४।५।२८ गते काठमाडौं आउँदा ढीलो भै प्रतिवादी दिनेशको कोठामा गई बसेँ । त्यसको केही बेरपछि प्रतिवादी आई परिचय गराइदिए र कालेले मलाई गलैँचामा काम गर्न हुँदैन, रोग लाग्छ म तिमीलाई काँकडभिट्टामा चिनेको मान्छको घरमा काम लगाई दिन्छु, तलब पनि राम्रो हुन्छ भनी त्यस रात त्यहीँ कालेको कोटेश्वरस्थित कोठामा बसी भोलिपल्ट बिहान त्यहाँबाट बौद्ध दक्षिणढोकामा लगी त्यहाँबाट बेलुकी अं. ३:०० बजेतिर काठमाण्डौं कलंकीसम्म दिनेश परियारसमेतले पुर्‍याउन गए । कलंकीबाट प्रतिवादी काले दमाईले साथमा एकजना राम भन्नेको अं. ५ वर्षको छोरासमेतलाई साथमा लिई भारत कलकत्तामा पुर्‍याई कान्छी तामाङको जिम्मा लगाएपछि निज कान्छीले कोठामा पुर्‍याई पुरूषहरूले मलाई दुर्व्यवहार गर्न खोज्दा मलाई एक लाख भारतीय रूपैँयामा बिक्री भएको थाहा पाई रोईकराई गरेको ३ दिनपछि सो कोठीमा प्रहरीले छापा मार्न आएपछि मलाई घुम्न जाने भनी अर्को कोठामा लुकाउन लाग्दा बहना बनाई भाग्न सफल भएको र पछि म माइती नेपालमा आउन सफल भएको हुँदा निज प्रतिवादीहरूउपर आवश्यक कारवाही गरी पाऊँ भन्नेसमेत व्यहोराको सुष्मा दनुवार राईको जाहेरी दरखास्त ।

मेरो श्रीमानले कान्छी श्रीमती ल्याई मलाई वेवास्ता गरेपछि उदयपुरबाट काठमाण्डौं आई कोटेश्वरस्थित गलैँचा कारखानामा काम गरी बच्चाहरूलाई पैसा पुर्‍याई आफूले काम गर्ने गलैंचा कारखानामा फर्कँदा कारखानाको ढोका बन्द भएको हुँदा राती भइसकेकोले पहिलेदेखि चिनजान भएका दिनेश परियारको कोठामा गई बसेको बखत प्रतिवादी काले दमाईसमेत उक्त कोठामा आई काँकडभिट्टामा चिनेको मानिसको घरमा राम्रो काम लगाई दिन्छु भनी भोलिपल्ट निज कालेसमेत भई बौद्ध पुर्‍याई दिनभरी त्यहीँ बसी बेलुकापख कलंकीबाट काँकडभिटृा हुँदै भारतको कलकत्ता पुर्‍याई कान्छी तामाङको जिम्मा लगाई काले दमाई गए, त्यसपछि निज कान्छीले ३।४ तलाको घरमा पुर्‍याई थुप्रै नचिनेको केटीहरूलाई समेत देखी आफू बेचिएको थाहा पाएको हुँ । त्यहाँ बेचिएको अवस्थामा प्रहरीले छापा मार्दा मलाई अर्कै कोठीमा लगी लुकाएको बखत भाग्न सफल भएको हुँ भन्नेसमेत व्यहोराको जाहेरीवाली पीडित सुष्मा दनुवार राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

      म भारतको कलकत्ताको प्लाष्टिक कारखानामा काम गरी विदामा काठमाण्डौं आउँदा कान्छी तामाङले घरमा काम गर्ने मान्छे ल्याईदिनु तपाईंलाई बाटो खर्च दिउँला भनेकीले मैले दिनेशसमेतलाई सो कुरा बताई सिन्धुपाल्चोक स्थित घरमा गई दिनेश नेपालीको कोठामा जाँदा कोठा नजिक बसी चुरोट खाइरहेको बखत सुष्मा दनुवारसमेत उक्त स्थानमा आएको हुँदा निजसँग परिचय गरी निजले दुःखसमेत पाएको थाहा पाई मैले भारत कलकत्तामा कान्छी तामाङको घरमा काम गर्न लिएर गई भारत कलकत्ता पुर्‍याई निजलाई जिम्मा लगाएको हुँ । निज जाहेरवालीलाई घरमा काम गर्न जिम्मा लगाएवापत कान्छी तामाङले मलाई भारतीय रू. १०,०००।दिएकी थिइन्, उक्त रकम खाईमासी सकेँ भन्नेसमेत व्यहोराको प्रतिवादी काले दमाईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

      म र काले दमाई मेरो कोठामा जाँदा कोठा नजिक चुरोट खाई बसेका बखत जाहेरवाली सुष्मासमेत सोही स्थानमा आई पुगेको हुँदा निज र मेरो श्रीमती कान्छी नेपाली मेरो कोठामा         गए । म र काले दमाई कोटेश्वरमा गई मासु बनाई कोठामा पुगी कुराकानी हुँदै जाँदा निज सुष्माले निकै दुःख परेको कुरा सुनी काममा लगाई दिनुपर्‍यो भनी कालेलाई भनेपछि निज सुष्माले कान्छी तामाङको घरमा काम गर्ने कुरामा सहमत भई भोलिपल्ट काले दमाईको भाइको कोठा जोरपाटी बसी भोलिपल्ट बिहान खाना खाई दिनको तीन बजेतिर कलंकी पुगी काले दमाई र जाहेरवाली सुष्मासमेतलाई कलंकीमा छाडी म आफ्नो कोठामा आएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिनेश भन्ने सनमान नेपालीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

      मिति २०६४।५।२८ गते म काठमाण्डौं जिल्ला, कोटेश्वरस्थित ढुङ्गे धारामा पानी लिन गएका बखत कोठामा मेरो श्रीमान दिनेश र काले दमाई त्यहीँ आईपुगी चुरोट खान बसेको अवस्थामा सुष्मा पनि त्यहीँ आई पुगिन्, निजसँग चिनजान भएकोले म पानी भरी निज र म मेरो कोठामा गयौं । केही समयपछि मेरो श्रीमान् र काले दमाई पनि कोठामा आई सँगै बसी खानपीन गरी कुराकानी हुँदा निज सुष्माले आफूले दुःख पाएको कुरा बताएपछि निजलाई कलकत्तास्थित कान्छी तामाङको घरमा लगी काममा लगाई दिने सल्लाह भई जाहेरवाली सुष्मा दनुवार पनि जान सहमत भई भोलिपल्ट बिहान मेरो श्रीमान् दिनेश, काले दमाई कोठामा गए । बेलुका मेरो श्रीमान् कोठामा फर्की आएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी कान्छी नेपालीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान  कागज ।

      पीडित जाहेरवाली सुष्मा दनुवारलाई प्रतिवादी काले दमाईसमेतले काममा लगाई दिने प्रलोभनमा पारी भारतको कलकत्तास्थित कान्छी तामाङको कोठामा लगी जिम्मा लगाई मानव बेचबिखन गरेकोमा मलाई विश्वास लाग्छ भन्नेसमेत व्यहोराको अनिता स्याङ्तानसमेतले गरिदिएको एकै मिलानको छुट्टाछुट्टै कागज ।

      मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीतको कसूर ऐ. ४(१)(क) बमोजिम गरेको हुँदा निज प्रतिवादीहरूउपर सोही ऐनको दफा १५(१)(क) बमोजिम सजाय हुन र दफा १७ बमोजिम पीडित सुष्मा दनुवारलाई क्षतिपूर्तिसमेत भराई पाऊँ भन्नेसमेत व्यहोराको अभियोग मागदावी ।

      जाहेरवालीसँग मेरो अर्का प्रतिवादी सनमान नेपालीमार्फत सामान्यरूपमा चिनजान भएको, म पनि कलकत्तामा काम गर्ने भएकोले त्यहीँ एकजना कान्छी तामाङनीसँग चिनजान भएको र निजले काम गर्न कोही मानिस ल्याईदिनु भनेको र जाहेरवालीले पनि जाने इच्छा गरेकीले मैले जाहेरवालीलाई कलकत्ता लगी कान्छी तामाङनीको जिम्मा लगाएकोसम्म हो । मैले बेच्ने उद्देश्य लिएर गएको होइन । त्यसपछि के कसो भयो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी काले दमाईले अदालतमा गरेको बयान ।

      जाहेरवाली मेरो कोठामा एकरात सुतेकी हुन् । मेरो कोठा र जाहेरवालीको कोठा नजिकै रहेकोले हामीबीचमा चिनजान थियो । उनले दुःख पाइरहेको र प्रतिवादी काले दमाईले आफ्नै काम गर्ने ठाउँमा कान्छी तामाङको घरमा काम लगाई दिने भनी कलकत्तामा लिएर जानु भएको हो । उहाँले लगेपछि के कसो भयो मलाई थाहा भएन । मैले निजलाई बेच्ने कार्यमा कुनै किसिमको सहयोग गरेको होइन । त्यसपछि सुष्मा काठमाण्डौं फर्की मेरो कोठामा आई सबै कुरा भनेपछि मात्र मलाई थाहा भएको भन्नेसमेत व्यहोराको प्रतिवादी सनमान नेपालीले अदालतमा गरेको बयान ।

      मैले एकछाक मेरो परिवार, कालु दमाई र सुष्मा दनुवारलाई भात पकाएर खान दिएकोसम्म    हो । त्यसपछि के के भयो मलाई केही पनि थाहा छैन । सुष्मा मेरोमा भात खाएर गएको धेरै दिनपछि एक्कासी प्रहरीसमेत लिई मेरो कोठामा काले दमाई खोई भन्दै आइन्, कालेलाई नभेटाएपछि हामी श्रीमान् श्रीमती दुबै जनालाई पक्राउ गरी ल्याएको हो । निजलाई कसले किनबेच गर्‍यो मलाई थाहा भएन । यस विषयमा म निर्दोष छु भन्नेसमेत व्यहोराको प्रतिवादी कान्छी नेपालीले अदालतमा गरेको बयान ।

      जाहेरवाली सुष्मा दनुवार, बुझिएका मानिस माया मोक्तान र अनिता स्याङ्तानले अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।

      प्रतिवादी काले दमाईले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ तथा ४(१)(क) विपरीत कसूर गरेको देखिँदा निजलाई २० वर्ष कैद र रू.२ लाख जरीवाना हुने ठहर्छ । जरीवानाको ५० प्रतिशतले हुने रू.१ लाख पीडितले क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ र प्रतिवादी सनमान नेपाली र कान्छी नेपालीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६५।१०।२९ को फैसला ।

      साक्षीबाट व्यक्त गरिएका अस्पष्ट कथनको भरमा मानव बेचबिखन जस्तो गम्भीर कसूर गरेको भनी मलाई सजाय गर्ने गरी भएका फैसला त्रुटीपूर्ण हुँदा बदर गरी पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी काले दमाईको पुनरावेदन ।

      प्रतिवादी काले दमाईलाई गलत दफा प्रयोग गरी सजाय गर्ने भनिएको र अन्य प्रतिवादी सनमान नेपाली र कान्छी नेपालीलाई कसूरबाट सफाइ दिने गरी भएको उक्त फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदावी बमोजिम सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र । 

      प्रतिवादीमध्ये काले दमाईलाई अभियोग मागदावी बमोजिम नै मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(क) को कसूरमा दफा १५(१)(२) बमोजिम २० वर्ष कैद र अन्य प्रतिवादीहरू दिनेश परियार भन्ने सनमान नेपाली र कान्छी परियार भन्ने कान्छी नेपालीलाई अभियोग दावीबाट सफाइ दिने गरी शुरू काठमाण्डौं जिल्ला अदालतले मिति २०६५।१०।२९ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६६।९।२१ को फैसला । 

      काले दमाईले जाहेरवालीलाई बेच्न लादैं गरेको भन्ने कुरा जाहेरवालीको अगाडि भनेको नदेखिए पनि आफ्नो घरमा बस्न आएकी जाहेरवालीलाई काले दमाई इमान्दार र असल मान्छे हो, काँकडभिट्टामा लगी राम्रो काम लगाई दिन्छ, शङ्‍का मान्न पर्दैन भनी यी प्रतिवादी सनमान नेपाली र कान्छी नेपालीले जाहेरवालीलाई विश्वासमा पारी आफ्नै घरमा काले दमाई तथा जाहेरवालीलाई खानपीन गराई त्यहीँ बसाई भोलिपल्ट प्रतिवादी जना दुईलगायत कलंकीसम्म गई जाहेरवालीलाई प्रतिवादीमध्येका काले दमाईले रात्री बस चढाई काँकडभिट्टा हुँदै कलकत्ताको कान्छी तामाङको कोठीमा पुर्‍याई भा.रू. एक लाखमा बेचेको कुरा पीडितको अनुसन्धान अधिकारीसमक्ष भएको बयान तथा अदालतमा भएको बकपत्रबाटसमेत खुल्न आएको र भारत जानु पठाउनु अगाडि पीडित र निज प्रतिवादी काले दमाईलाई यी प्रतिवादीहरूले आफ्नो घरमा राखी खाना खुवाई भोलिपल्ट कलंकी लगी गाडी चढाई पठाएको कुरालाई निज प्रतिवादीहरूले स्वीकार गरी बयान गरेको अवस्थामा प्रतिवादीहरूको कुनै भूमिका नै छैन भन्ने गलत अर्थ गरी सफाइ दिने गरी भएको फैसला भएको तर काले दमाई कलकत्ता जाने आउने गर्दछ भन्ने कुरा थाहा जानकारी हुँदाहुँदै प्रतिवादी दिनेश भन्ने सनमान नेपाली र निजकी श्रीमती कान्छीले पीडितलाई निज काले दमाईसँग जान उत्प्रेरित गरेको पुष्टि भएकोले घर गाउँमा सामान्य श्रम गरी आफ्ना बालबच्चा पालन पोषण गरी जीवन गुजारा गरी आएकी सोझी ग्रामीण महिलालाई अनेक बहना बनाई प्रलोभनमा पारी भारतको वेश्यालयमा लगी बेच्ने जस्तो गलत कार्यमा संलग्न निज प्रतिवादीहरूलाई असल नियतले प्रतिवादी काले दमाईसँग कामको लागी सिफारिश सम्म गरेको भन्ने जस्तो अत्यन्त हलुका एवं सतही तर्क हो । मिसिल संलग्न पीडितको बयान तथा बकपत्र एवं प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्ष भएको बयानमा अभिव्यक्त कुराहरूलाई प्रमाणको रोहमा मूल्याङ्कन नगरी भएको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला उल्टी गरी माग दावी बमोजिम सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

      पीडित स्वयं आफू रोजगारी र कामको खोजीमा जान जागरूक भई विदेश भारतमा वैदेशिक रोजगारीको लागि जान तयार भएकाले निजको अनुरोधलाई मानी निजलाई सहयोगसम्म गरी दिएकोमा पछि निजले वाञ्छित प्रतिफल प्राप्त नगरेपछि म पुनरावेदक प्रतिवादीलाई प्रतिशोधको भावनाबाट ग्रस्त भई प्रस्तुत उजूरी दिएको छ । जाहेरवालीको जाहेरी तथा निजको अदालतमा भएको बकपत्रको आधारमा मात्र निजको भनाइ वास्तविक वा साँचो हो भनी मान्न मिल्ने अवस्था हुँदैन । कलकत्तामा लगी वेश्यालयमा बिक्री गरेको मानिस बिक्री भएको ३ दिनपछि सो वेश्यालयबाट भाग्न सफल हुने कुरा स्वाभाविक र पत्यारलायक हुने होइन । महावाणिज्य दूतावासको पत्रमा म पुनरावेदक प्रतिवादीले नै पीडितलाई वेश्यालयमा बिक्री गर्नको लागि लगेको भन्ने किटानी यकीन नाम, थर, वतनसमेत उल्लेख भएको छैन । केवल सिन्धुपाल्चोक जिल्लातर्फको मानिस भनी उल्लेख गरेको आधारमात्र उक्त कसूर अपराधमा मेरो संलग्नतासमेत रहेभएको भन्ने कुराको ठहर गर्न मिल्ने हुँदैन । कान्छी तामाङनीले कलकत्तामा वेश्यालय नै सञ्चालन गरेको हो भन्ने कुराको तथ्ययुक्त भौतिक प्रमाण मिसिलमा नहुँदा केवल पीडितको भनाइको आधारमा वेश्यालय सञ्चालन गरेको भनी निष्कर्षमा पुग्न मिल्ने अवस्था हुँदैन । जाहेरवाली पीडितलाई राम्रो रोजगारी र कमाईको प्रलोभन देखाई विदेश भारतको कलकत्तामा लगी वेश्यालयमा बिक्री गरेको भन्ने निजको भनाइलाई सत्य मान्दा पनि सो कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) अनुसारको कसूर मात्र हुनेमा मलाई बढी सजाय गराउने उद्देश्यले तथ्य बाहिर गई दफा ४(१)(क) बमोजिमको कसूर गरेको भनी दायर भएको अभियोग बमोजिम पीडित जाहरवालीलाई बिक्री गरेको भनी कसूर ठहर गर्न नमिल्ने भई सो फैसला कानूनी त्रुटीपूर्ण हुँदा म पुनरावेदकलाई उच्चतम् सजाय गरी भएका दुबै फैसलाहरू बदर गरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी काले दमाईको पुनरावेदनपत्र ।

      नियमबमोजिम पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सह न्यायाधिवक्ता श्री रेवती राज त्रिपाठीले प्रस्तुत मुद्दामा प्रतिवादी मध्येका काले दमाईले पीडित जाहेरवालीलाई कलंकीबाट काँकडभिट्टा हुँदै कलकत्ता पुर्‍याई वेश्यालयमा बिक्री गरेको र कलंकीबाट काँकडभिट्टातर्फ लानुपूर्व प्रतिवादीहरू सनमान नेपाली र निजकी श्रीमती कान्छी नेपालीले आफ्नो घरमा आएकी पीडितलाई काले दमाई असल मान्छे हो, काँकडभिट्टा लगी राम्रो काम लगाई दिन्छ, शङ्‍का गर्नु पर्दैन भनी पीडितलाई विश्वासमा पारी आफ्नै घरमा खानासमेत खुवाई पीडितलाई कलंकीसम्म पुर्‍याउन गएको छ । यी प्रतिवादीहरूलाई प्रतिवादी काले दमाई कलकत्ताको कान्छी तामाङको कोठीमा आउनेजाने गरेको थाहा जानकारीसमेत भएको अवस्थामा एउटी ग्रामीण महिलालाई निजको जिम्मा लगाउने र निजसँग जानको लागि विश्वासमा पार्ने कार्य गरेको मिसिलबाट देखिएको अवस्था हुँदा पीडितलाई बिक्री गर्ने कार्यमा निजहरूको समेत संलग्नता पुष्टि  हुन्छ । यस्तो अवस्थामा यी प्रतिवादीहरूलाई समेत सजाय गर्नु पर्नेमा प्रतिवादी काले दमाईलाई मात्र सजाय गरी प्रतिवादीहरू दिनेश भन्ने सनमान नेपाली र कान्छी नेपालीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म त्रुटीपूर्ण हुँदा उल्टी गरी यी प्रतिवादीहरूलाई समेत अभियोग माग दावीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नु भयो । 

      प्रतिवादी काले दमाईको तर्फबाट विद्वान अधिवक्ता श्री लिलामणि पौडेलले यी प्रतिवादी काले दमाईले पीडित सुष्मा दनुवारलाई बिक्री गर्ने उद्देश्यले लगेको होइन । पीडित स्वयंले वैदेशिक रोजगारमा जान इच्छा गरेको आधारमा सहयोगसम्म गरेको हो । कान्छी तामाङको घरमा घरेलु काम गर्ने प्रयोजनको लागि मात्र लगिदिएको हो, वेश्यालयमा काम गर्न लगेको होइन । यी पीडितलाई कान्छी तामाङले काले दमाईलाई पैसा दिई खरीद गरेको भनेपछि आफू बिक्री भएको भनी थाहा पाएको भन्ने पीडितको भनाइले नै यी प्रतिवादीले बिक्री गरेको पुष्टि हुँदैन । कलकत्तामा वेश्यालयमा बिक्री भएको मानिस ३ दिनपछि भागी नेपाल आएको भन्ने भनाइ स्वंयमा विश्वसनीय छैन । कलकत्तास्थित महावाणिज्य दूतावासको पत्रमा यी प्रतिवादीले बिक्री गरेको भन्ने खुल्दैन । पीडितले मौकामा गरेको कागजमा आफू बेचिएको भनी उल्लेख गर्न सकेको अवस्था छैन । कान्छी तामाङको घरमा काम गर्नको लागि लगिदिएको अवस्थामा निजले वेश्यावृत्तिको लागि लगिदिएको भनी अर्थ गर्न मिल्दैन । घरमा काम गर्न लगिदिएको अवस्था मात्र मिसिलबाट स्थापित भएकोले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसूरमा सो ऐनको दफा १५(१)(ङ)(१) अनुसार मात्र सजाय हुनेमा अभियोग मागदावीबमोजिम पीडितलाई बिक्री गरेको ठहर्‍याई यी पुनरावेदक प्रतिवादीलाई २० वर्ष कैद सजाय गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी पाऊँ भन्नेसमेत बहस जिकीर प्रस्तुत गर्नु भयो ।

      प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी वादी प्रतिवादीका विद्वान कानून व्यवसायीहरूको बहससमेत सुनी पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।९।२१ मा भएको फैसला मिलेको छ, छैन र पुनरावेदक वादी एवं प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

      २. मिति २०६४।५।२८ गते म काठमाडौमा गलैँचा कारखानामा काम गरी आएकोमा प्रतिवादी दिनेशको कोठामा जाँदा काले दमाई आई मलाई गलैँचामा काम गर्न हुँदैन, काँकडभिट्टामा चिनेको मान्छेको घरमा काम लगाई दिन्छु भनी भोलिपल्ट बेलुकी काठमाण्डौं कलंकीसम्म दिनेश परियारसमेतले पुर्याइ दिएको र कलंकीबाट प्रतिवादी काले दमाईले भारत कलकत्ता स्थित कान्छी तामाङको कोठीमा पुर्‍याई मलाई एक लाख भारतीय रूपैँयामा बिक्री गरेको र ३ दिनपछि सो कोठीमा प्रहरीले छापा मार्न आएपछि अर्को कोठामा लुकाउन लाग्दा बहना बनाई भाग्न सफल भएको हुँदा निज प्रतिवादीहरूउपर कारवाही गरी पाऊँ भन्नेसमेत पीडित सुष्मा दनुवारको जाहेरी दरखास्त परी पीडितले अदालतसमक्ष सनाखत बयानसमेत गरेकोले प्रतिवादीहरू काले दमाई, सनमान नेपाली, कान्छी नेपाली र कान्छी तामाङलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३, दफा ४(१)(क) को कसूरमा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १५(१)(क) बमोजिम सजाय हुन र ऐ. दफा १७ बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाँऊ भनी अभियोग दावी रहेको छ ।

३. प्रतिवादी काले दमाईलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १४(१)(क) बमोजिम २० वर्ष कैद र दुई लाख जरीवाना हुने र पीडितले क्षतिपूर्ति रू. एक लाख भराई पाउने र अन्य प्रतिवादीहरूउपरको अभियोग दावी पुग्न नसक्ने ठहराएकोमा प्रतिवादीहरू दिनेश नेपाली र कान्छी नेपालीलाई सफाइ दिएको फैसलाउपर वादी नेपाल सरकारको र कसूरदार ठहर्‍याई सजाय गर्ने गरेको फैसलाउपर प्रतिवादी काले दमाईको पुनरावेदन परेकोमा पुनरावेदन अदालत, पाटनले शुरू फैसला सदर गरेको छ ।

४. उक्त फैसलाउपर दुबै पक्षको यस अदालतमा पुनरावेदन पर्न आएकोले सर्वप्रथम पुनरावेदक प्रतिवादी काले दमाईको पुनरावेदन जिकीरतर्फ विचार गर्दा प्रतिवादी काले दमाईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा कलकत्तामा काम गर्ने कान्छी तामाङले घरमा काम गर्ने मान्छे ल्याई दिनु बाटो खर्च दिउँला भनेकीले विदामा काठमाण्डौं आएको बखत सुष्मा दनुवारसँग परिचय गरी निजले दुःख पाएको थाहा पाई भारत कलकत्तामा कान्छी तामाङको घरमा पुर्‍याई निजलाई जिम्मा लगाएको र काम गर्न जिम्मा लगाएबापत कान्छी तामाङले आफूलाई भारतीय रू.१०,०००।दिएकी भन्नेसमेतका तथ्य स्वीकार गरेको देखिन्छ । निजले अदालतमा बयान गर्दा पनि आफू कलकत्तामा काम गर्ने भएकोले कान्छी तामाङनीले काम गर्न कोही मानिस ल्याई दिनु भनेको र जाहेरवालीले पनि जाने इच्छा गरेकीले मैले निजलाई कलकत्ता लगी कान्छी तामाङनीको जिम्मा लगाएकोसम्म हो । मैले बेच्ने उद्देश्य लिएर गएको होइन भन्नेसमेत उल्लेख गरी पीडितलाई कलकत्ता पुर्‍याई कान्छी तामाङलाई जिम्मा लगाएको र सो बापत पैसासमेत लिएको भनी कसूरजन्य कुरालाई स्वीकार गरेको देखिन्छ ।  

५. घटनाबाट पीडित सुष्मा दनुवारले यी प्रतिवादीले काम लगाइदिन्छु भनी आफूलाई भारतको कलकत्ता लगी कान्छी तामाङलाई रू. एक लाखमा बिक्री गरेको र सो ठाउँ वेश्यालय भएकोले एकदिन प्रहरीले छापा मार्दा अन्य केटीसमेत आफूलाई लुकाउन लाग्दा त्यँहाबाट भागी काठमाडौं आई सो जाहेरी दिई प्रहरीमा बयान गरेको र सो बयान अदालतमा सनाखत गरी दिएकोसमेत देखिन्छ । घटनाबाट पीडित व्यक्तिले घटनाको तत्कालपछि व्यक्त गरेको कुरा अदालतले प्रत्यक्ष प्रमाणको रूपमा लिनु पर्ने र प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रूपमा लिनुपर्ने हुन्छ र  पीडितको त्यस्तो कथनलाई अमान्य गर्ने वस्तुनिष्ठ कारण देखिँदैन । आफूलाई बिक्री गरेको ठाउँबाट भागी काठमाण्डौ आई प्रहरीसमक्ष व्यक्त गरेको कुरा निजले अदालतमा सनाखत गरी दिएको र पछि साक्षी सरह अदालतमा उपस्थित भई सोही बमोजिम बकपत्र गरी दिएकोसमेत अवस्थामा निजको सो कथन प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रमाणमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो प्रत्यक्ष प्रमाणको विद्यमानतामा प्रतिवादीको इन्कारी बयान मात्रबाट निजको निर्दोषिता प्रमाणित हुन सक्ने हुँदैन । यी प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष आफूले निज सुष्मा दनुवारलाई कलकत्ता लगेको कान्छी तामाङलाई जिम्मा लगाएको र सोबापत रकम लिएको तथ्य स्वीकार गरेको तथा कान्छी तामाङले पीडितलाई वेश्यावृत्तिमा लगाएकोमा निज सो स्थानबाट उम्किन सफल भएको अवस्था देखिएको हुँदा यी प्रतिवादीले आरोपित कसूर गरेको पुष्टि हुन आउँछ।

      ६. अब प्रतिवादीहरू दिनेश नेपाली र कान्छी नेपालीलाई सफाइ दिएको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन जिकीरतर्फ विचार गर्दा निज प्रतिवादीहरूउपर जाहेरवाला सुष्मा दनुवारलाई बिक्री गर्ने कार्यमा मतियार र सहयोग गरेको भनी निजहरूउपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(क) को दावी लिएको देखिन्छ । निज प्रतिवादीहरूले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमासमेत आरोपित कसूरमा इन्कार रही बयान गरेको देखिन्छ । यी प्रतिवादीहरूसँग पीडित पूर्व परिचित भएको कारणले निज यी प्रतिवादीहरूको कोठामा आएको अवस्थामा प्रतिवादी काले दमाई पनि सो ठाउँमा आई पीडितसँग निजको परिचय भएको देखिन्छ । निज काले दमाईले नै यी पीडितलाई गलैँचा कारखानामा काम गर्नु हुँदैन, म राम्रो काम लगाइदिन्छु भनी पीडितलाई आफूसँग लानको लागि निजको सहमति लिएको देखिन्छ । यी प्रतिवादीहरूले पीडितलाई प्रतिवादी काले दमाईसँग जानीजानी भेटघाट गर्ने र विदेश जाने कार्यमा सहयोग गरेको वा षड्‍यन्त्र गरेको वा मिलेमतोमा पसेकोलगायत अन्य कसूरजन्य कार्य गरेके मिसिलबाट देखिन आउँदैन । यी प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको बयानअनुसार पीडित फर्किएर आई उक्त कुरा भनेपछि मात्र यी प्रतिवादीहरूलाई घटनाबारे जानकारी भएको देखिन आउँछ । यस्तो अवस्थामा यी प्रतिवादीहरूले पीडित र प्रतिवादी काले दमाईलाई आपराधिक मनसायले भेट गराई दिएको वा विक्री गर्ने कार्यमा सहयोग गरेको वा मतियारको अन्य कार्य गरेको भन्ने नदेखिएकोले निजको घरमा पीडित र प्रतिवादी काले दमाईको बीच कुराकानी भएको मात्र आधारमा मानव बेचबिखनको आपराधिक कार्य निज प्रतिवादीहरूको संलग्नता वा मिलेमतोमा भएको भन्ने देखिन नआउँदा यी प्रतिवादीहरूलाई आपराधिक मन तथा कार्यको अभावमा कसूरदार ठहराउनु मनासीब देखिन आएन ।

७. तसर्थ, विवेचित आधार र कारणबाट प्रतिवादी काले दमाईले निज पीडित सुष्मा दनुवारलाई काठमाण्डौंबाट कलकत्ता लगी कान्छी तामाङकहाँ पुर्‍याई सोबापत रकमसमेत प्राप्त गरेको देखिएबाट निजले बिक्री गरेको मान्नुपर्ने र सो कुरा अदालतमासमेत निजले स्वीकार गरेको देखिएको र अदालतमा स्वइच्छापूर्वक व्यक्त गरेको उक्त कुरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम अभियुक्तको विरूद्ध प्रमाणमा लिनुपर्ने तथा किन्ने कान्छी तामाङले निज पीडितलाई वेश्यावृत्तिमा लगाएको हुँदा निज काले दमाईलाई कसूरदार ठहर्‍याई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम निजलाई २० वर्ष कैद र रूपैयाँ २ लाख जरीवाना हुने तथा दफा १७ बमोजिम निज प्रतिवादीबाट पीडितलाई रू. एक लाख क्षतिपूर्तिसमेत भराई दिने र अन्य प्रतिवादीहरू दिनेश भन्ने सनमान नेपाली र निजकी पत्नी कान्छी नेपालीलाई तथ्यपूर्ण एवं ठोस प्रमाणाको अभावमा सफाइ दिने गरी भएको काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।९।२१ को फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी काले दमाई र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा करी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.सुशीला कार्की

 

इति संवत् २०६९ साल माघ १७ गते रोज ४ शुभम् .......

 

इजलास अधिकृत :श्रीप्रकाश उप्रेती

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु