निर्णय नं. ९०६५ - जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग

नेकाप २०७० अङ्क १० नि.नं.९०६५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री सुशीला कार्की
फैसला मिति : २०६९।१०।१७।४
०७६-CR-१२५० र ०६७-CR-१३०५
मुद्दा :– जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग ।
पुनरावेदक/वादी : नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : कैलाली जिल्ला, मोहन्याल गाउँ विकास समिति वडा नं. १ बस्ने रमेश भन्ने बीरबहादुर सार्की
पुनरावेदक/प्रतिवादी : जिल्ला कैलाली, मोहन्याल गाउँ विकास समिति वडा नं. १ घर भई हाल कारागार कार्यालय, डोटीमा कैदमा रहेको वर्ष २१ को रमेश भन्ने बीरबहादुर सार्की
विरूद्ध
प्रत्यर्थी/वादी : नेपाल सरकार
§ जबर्जस्ती करणीको कसूर स्थापित हुन पीडितको कन्याजाली च्यातिएको हुनुपर्ने अवस्थालाई पूर्वशर्तको रूपमा लिन मिल्दैन । Hymen is intact भएको अवस्थामा पनि जबर्जस्ती करणीको कसूर स्थापित हुन सक्ने ।
§ घटनाबाट पीडित व्यक्तिले घटनाको सम्बन्धमा अदालतमा व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्ने ।
(प्रकरण नं.३)
§ ज्यानसम्बन्धी अपराधहरूमध्ये कर्तव्य ज्यान (Murder) र यसको उद्योग (Attempt to Murder) को बीचमा अपराधका तत्त्वहरूको रूपमा रहेका आपराधिक कार्य (Actus reus) र आपराधिक मनसाय (Mens reus) को संयोजनात्मक उपस्थितिको दृष्टिबाट भिन्नता रहेको हुँदैन । दुबै प्रकृतिका अपराधमा सो अपराध गर्ने व्यक्तिले पीडितको मृत्युको मनसाय राखेर आफ्नो कार्यबाट आपराधिक कार्य सम्पन्न गरेको हुन्छ । तर ज्यान मार्ने उद्योगको अपराध कायम हुनको लागि कुनै कारणले कर्ताको अपेक्षाअनुसार पीडितको मृत्यु भएको हुँदैन । ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम मनसाय तत्त्वको विद्यमानता आवश्यक हुन्छ र यस्तो मनसाय अभियुक्तको क्रियाबाट स्पष्ट हुन्छ । ज्यान मार्ने मनसाय रहेको अवस्थामा ज्यान मार्न नपाएको स्पष्ट कारण र अवस्था देखिनुपर्ने ।
(प्रकरण नं.४)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं., जबर्जस्ती करणीको महलको ३(2)
शुरू तहमा फैसला गर्ने :–
मा.न्या.श्री हिमालयराज पाठक
पुनरावेदन तहमा फैसला गर्ने :–
मा.न्या.श्री दीपकराज जोशी
मा.न्या.श्री रामप्रसाद खनाल
फैसला
न्या.रामकुमारप्रसाद शाह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, दिपायलको मिति २०६७।१०।५ को निर्णयउपर वादी एवं प्रतिवादी दुबैतर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :–
मेरी छोरी वर्ष ११ की कमलाकुमारी साउद मिति २०६५।९।२२ गतेका दिन बाख्रा चराउन भनी गाउँकै जङ्गलमा गएको अवस्थामा दिउँसो १२ बजेको समयमा जिल्ला कैलाली, मोहन्याल गाउँ विकास समिति वडा नं. १ विरखेत बस्ने वर्ष २१ को बीरबहादुर सार्कीले जबर्जस्ती करणी गरी छोरीको टाउको, हात, खुट्टामा ढुङ्गाले हानी सख्त घाइते बनाई छोरीको बायाँ गालामा दाँतले टोकेको र वेहोश अवस्थामा घटनास्थलमै भेटिएकीले छोरीको स्वास्थ्य परीक्षण, घाँउजाँच, केश फाराम गरी निज बीरबहादुर सार्कीलाई पक्राउ गरी कानूनबमोजिम गरी पाऊँ भन्नेसमेत व्यहोराको मिति २०६५।९।२४ गतेको नरमीदेवी साउदको ठाडो निवेदन ।
मिति २०६५।९।२४ गतेको जिल्ला प्रहरी कार्यालय, डोटीमार्फत जिल्ला स्वास्थ्य कार्यालय, डोटीमा गराएको घाउजाँच, केश फाराम ।
जिल्ला डोटी, वछैन गाउँ विकास समिति वडा नं. ४ विनेसाङ जङ्गलस्थित पूर्वमा खहरेखोला, पश्चिममा अं. २० मिटर टाढा हल्दुको रूख, उत्तरमा अं. १० मि. टाढा सालको रूख, दक्षिणमा अं. ८ मि. टाढा रूइनाको रूख यति चार किल्लास्थित वासिङ्गको झाडीमा प्रतिवादी बीरबहादुर सार्कीले पीडित कमलाकुमारी साउद उक्त जङ्गलमा गाई बाख्रा चराईरहेको अवस्थामा सोही स्थानमा जबर्जस्ती समाती लछारपछार गरी भूईंमा सुताई निजको मुख च्यापी जबर्जस्ती करणी गरेको भनिएको स्थान, उक्त स्थानको अवस्था हेर्दा बासिङ्गको स्याउला सुकेको अवस्थामा रहेको, सुकेको स्याउला पातहरूमाथि मानिस वा चीजबस्तु सुतालेको जस्तो देखिई पातहरू मडारिएको धुलो भएका ढुङ्गाहरू उखेलिएका स-साना झारहरू मडारिएको, माटो खुइरिएको भन्नेसमेत मिति २०६५।९।२६ को घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०६५।९।२२ गतेका दिन मेरा छोरीहरू वर्ष ११ की कमला साउद र वर्ष ७ की टिकासरी साउद खाना खाई बाख्रा चराउन जङ्गलमा गएको अवस्थामा जिल्ला कैलाली, मोहन्याल गाउँ विकास समिति वडा नं. १ बस्ने वर्ष २१ को बीरबहादुर सार्कीले मेरो छोरी कमलाकुमारी साउदलाई जबर्जस्ती समाई जीउमा लगाई रहेको कुर्ता च्याती, सुरूवाल खोली जथाभावी दाँतले गाला, बाँया औंलासमेत टोकी रगताम्मे पारी जबर्जस्ती करणी गरिसकेपछि ढुङ्गाले टाउकोमा प्रहार गरी मर्यो भनी विनीगाउँ खोलामा फालेपछि सँगै गएकी अर्को छोरी टिकासरी साउदले घरमा आई भनेपछि सो स्थानमा गई हेर्दा छोरी बेहोश अवस्थामा टाउको, गाला, औँला तथा योनीबाट रगत बगिरहेको, तत्काल सामान्य औषधि उपचार गर्न विपीनगरस्थित मेडिकलमा जचाउँदा टाउकोमा टाँका लगाई दुख्न कम हुने औषधि खान दिइरहेको अवस्थामा महिला विकास कार्यालय, डोटीका कर्मचारीहरूले देखी तत्कालै थप उपचारका लागि पीडित छोरी र मसमेतसँगै उजूरी गर्नका लागि सिलगढी आई यो जाहेरी दिएका हौं । मेरी नाबालक छोरी कमलाकुमारी साउदलाई जबर्जस्ती करणी गरी ढुङ्गाले टाउकोमा हानी मर्यो भन्ने ठानी भाग्ने बीरबहादुर सार्कीलाई जबर्जस्ती करणीको महल तथा ज्यानसम्बन्धी महलबमोजिम हदैसम्मको सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको मिति २०६५।९।२५ को नरमीदेवी साउदको जाहेरी दरखास्त ।
म जिल्ला डोटी, श्री जनता प्राथमिक विद्यालय सडेखानमा कक्षा ४ मा अध्ययनरत छात्रा हुँ । मिति २०६५।९।२५ गतेका दिन मेरी आमा विमारी भएका कारण म स्कूल गइन । बिहान खाना खाई बाख्रा चराउन भनी म र मेरो सहोदर बहिनी ७ वर्षकी टिकासरी साउद गाउँको विनीगाड खोलामा गई बाख्राहरू चराइरहेको अवस्थामा अ. १२.०० बजेको समयमा बीरबहादुर सार्कीले रक्सी खाएको अवस्थामा मलाई एक्कासी समाती मेरो बायाँ गालामा दाँतले टोकेको, मैले लगाएको शुरूवालको नडो तानी खोली आफ्नो सुरूवाल कट्टु खोली नाङ्गै भएको र मलाई जबर्जस्ती भूईमा पल्टाई आफू मेरोमाथि चढेको हो । मैले इन्कार गरी उम्किन खोज्दा मेरो टाउकोमा ढुङ्गाले हानेको हो । सो चोटबाट म बेहोश भएकी हुँ । उक्त बेला बहिनी बाख्रा फर्काउन गएकी थिई । म बेहोश भएपछि निजले के गर्यो मलाई केही थाहा भएन । पछि मलाई औषधि उपचार गर्न विपीनगर मेडिकलमा ल्याएपछि होश आएको हो भन्नेसमेत व्यहोराको पीडित कमलाकुमारी साउदले गरेको कागज ।
मिति २०६५।९।२२ गतेका दिन म घरमा थिएँ । सो दिन मेरै गाउँको तिलक भाट भन्ने व्यक्तिले मेरो चामल ल्याई दिनुपर्यो भनी भन्दा म सोही दिन बिहान ७ बजे चामल लिन एक्लै विपीनगर गएको हुँ । बछैन गाउँ विकास समिति वडा नं. ४ स्थित सैनरीखेतमा पसल गरी बस्ने गोरख सार्कीको पसलमा ऐ.ऐ. बस्ने पवन मगरसँग भेट भयो र दुबै जनाले ३ बोतल घरेलु रक्सी खाएका हौं । मलाई बढी नशा भएका कारण म एक्लै विनासाउ खेत जङ्गलबाट जाँदा बाख्रा चराई राखेकी एकजना सानी केटी र एकजना अलि ठूली केटी थिए । म रक्सीको नशामा भएको हुँदा अलि ठूली केटी, पछि नाम थाहा भएकी, पीडितलाई झ्याम्मै समाती भूईंमा पछारेको हुँ । भूईंमा पछारी सकेपछि मेरो पेन्टको चेन खोली लिङ्ग बाहिर निकालेको थिएँ । लिङ्ग पूरा उत्तेजित थियो । निजको माथि चढेकै हुँ, तर निजको सुरूवाल चाही खोलेको होइन, निजको शरीरमाथि चढी निजको दायाँ गालामा दाँतले टोकेको हुँ । निजको टाउकोमा मैले भूईंमा पछार्दा चोट लाग्न गई रगत बग्न गएको हो । मैले कुटपीट चाहीँ गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी बीरबहादुर सार्कीले प्रहरी तथा सरकारी वकीलसमक्ष गरेको बयान कागज ।
म मिति २०६३ चैत्र महिनादेखि बछैन गाउँ विकास समिति वडा नं. ९ पुलबजारमा मेडिकल पसल खोली बस्दै आएको छु । मिति २०६५।९।२२ गतेको राती ८ बजेको समयमा बछैन गाउँ विकास समिति वडा नं. ४ बस्ने नरमीदेवी साउदको छोरीलाई बेहोश अवस्थामा गाउँलेहरूले बोकी मेरो मेडिकलमा पुर्याएका थिए । निज बालिका रगताम्य अवस्थामा थिइन्, तत्काल टाउकोपछाडि २।३ ठाउँमा टाँका लगाई दिएको हुँ, निधारमा दाहिनेतर्फ ठूलो घाउ थियो र हातको औँलामा समेत चोट लागेको थियो । मैले प्रारम्भिक उपचार मात्र गरेको हुँ । जबर्जस्ती करणीसम्बन्धी निजको योनी हेरेन, करणी भयो भएन सोबारे मलाई थाहा छैन भन्नेसमेत व्यहोराको जर्नबहादुर बमले गरेको कागज ।
मिति २०६५।९।२२ गतेको दिन खाना खाई म र मेरी दिदी पीडित बाख्रा चराउन विनीसाउको जङ्गलमा गएका थियौं । एक्कासी बीरबहादुर सार्कीले रक्सी खाई आई दिदीको कपाल तानी भूईंमा सुताई दिदीको माथि चढेको थियो । मैले आमालाई भनी दिन्छु भनी त्यहाँबाट भाग्न खोज्दा मेरो कपाल तानेको हो, तर म त्यहाँबाट भाग्न सफल भएँ । निजले मेरी दिदीलाई जबर्जस्ती करणी गरेको हो । निजले दिदीको बायाँ गालामा समेत दाँतले टोकी ठूलो घाउ बनाएको हो । नाइनास्ती गरी उम्किन खोज्दा निजले ढुङ्गाले टाउको तथा हातको औँलामा समेत हानेको हो । म घरमा गई आमालाई खबर गर्दा तत्काल आमासमेत गाउँका व्यक्तिहरू सो स्थानमा जाँदा दिदी रगताम्य भई अचेत अवथामा फेला पारेकी हो भन्नेसमेत व्यहोराको टिकासरी साउदले गरेको कागज ।
मिति २०६५।९।२२ गतेका दिन म स्कूलमा थिएँ । गाउँभरी हो होल्ला हुँदा सबै गाउँका मानिसहरूसँगै म पनि उक्त घटनास्थलतर्फ गएकी हुँ । त्यहाँ गई हेर्दा पीडित रगतले लतपतिएकी बेहोश अवस्थामा थिइन् । निजको टाउकापछाडि ढुङ्गाले हानी फुटेको घाउबाट रगत बगिरहेको, बायाँ गालामा दाँतले टोकेको घाउ थियो । घटनास्थलमा बालिकाको शारीरिक अवस्था हेर्दा निजलाई जबर्जस्ती करणी गरेपश्चात मार्ने योजना रहेको देखिन्छ भन्नेसमेत व्यहोराको तुलसीदेवी ओलीले गरेको कागज ।
मिति ३०६५।९।२२ गतेका दिन म आफ्नै घरमा थिएँ । अं. १२.०० बजेको समयमा टिकासरी साउदले आमा दिदीलाई चोरले लग्यो, मार्यो भनी जङ्गलबाट रोइकराई आउँदा हाम्रो गाउँका सबैजना घटनास्थलतर्फ गएका हुन् । निज बालिकालाई बेहोश भई रगताम्य भएको अवस्थामा बोकी ल्याइरहेको मैले देखेको हुँ । घटनास्थलमा रगतै रगत थियो । निज बालिकालाई करणी गरी मार्ने उद्देश्य भएका कारण ढुङ्गाले टाउकोमा हानेको हुनुपर्दछ भन्नेसमेत व्यहोराको रम्भी मलाईले गरेको कागज ।
मिति २०६५।९।२२ गतेका दिन घरमै थिएँ । तिलुवा साउदको विवाह हुने भएकोले निजको विवाहको लागि आवश्यक पर्ने मालसमान जुटाउन त्यहाँ गइरहने हुँदा मोहन्याल गाउँ विकास समिति वडा नं. १ विरखेतबाटै मैले घरेलु रक्सी बोकी ल्याएको थिएँ । ऐ. गतेको बिहान सैतरी खेतमा खुद्रा पसल गरी बस्ने गोरख सार्कीको पसलमा मैले रक्सी आफैँले ल्याएको हो । रमेश भन्ने बीरबहादुर सार्कीले रक्सी खाँदै गरेको अवस्थामा निजसँग भेट भयो । मसँग भेट हुनअगाडि नै निजले रक्सी खाएको थियो । ऊ नशामा थियो । मैले निजलाई रक्सी दिएको होइन । मसँग बसी खाएको पनि होइन । त्यसले म पनि विपीनगर जाने हुँ भनेको थियो । ऊ नशामा भएको र मेरो विपीनगर आउने काम भएको हुँदा म हिँडिहालेँ । विनिसाउको गाउँमा पुगिसकेपछि नास्ता गर्न त्यहीँ पसलमा बसेको हुँ । केही क्षणपछि कमलाकुमारी साउदलाई जबर्जस्ती करणी गरी भाग्यो भन्ने कुरा सुनी थाहा पाएको हुँ । घाइते भएकी पीडितलाई मैले पनि देखेको हुँ । निज रगताम्य भई गालामा टोकेको घाउ भएको बेहोश अवस्थामा बोकी ल्याएका हुन् । करणी गरेको मैले देखिन भन्नेसमेत व्यहोराको पवन पुन मगरले गरेको कागज ।
म मिति २०६५।९।२२ गतेका दिन सैनरीखेत रहेको मेरो खुद्रा पसलमा बसेको थिएँ । म रक्सी बिक्री वितरण गर्दै बिहान ७।८ बजेको समयमा पवन पुनमगरले कहाँबाट लोकल रक्सी ल्याई आएको थियो थाहा भएन । मेरो पसलमा बसी खाएको हो । त्यसैक्रममा बीरबहादुर सार्की रक्सी खाएर आएको थियो । निजले रक्सी आफैँ खाएको हो । बीरबहादुर सार्कीले बढी रक्सी खाई नशामा भएको हुँदा पवन पुनमगर त्यहाँबाट उठी विपीनगरतर्फ गएको हो । केही समयपछि विस्तारै बीरबहादुर सार्की पनि विपीनगर जान्छु भनी मेरो पसलबाट हिँडी गएको हो । निजले के कसरी मैले गोरख सार्कीको पसलमा रक्सी खाएँ भन्यो त्यो थाहा छैन । ऐ. गतेको बेलुकी निजले कमला साउदलाई जबर्जस्ती करणी गरी बेहोश अवस्थामा छोडी भागेको भनी सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको गोरख सार्कीले गरेको कागज ।
मिति २०६५।९।२२ गतेका दिन म आफ्नै घरमा थिएँ । दिउँसो अ.१२.०० बजेको समयमा टिकासरी साउद रुँदैकराउँदै आमा दिदीलाई चोरले लग्यो भन्दै आउँदा तत्कालै म पनि घटनास्थलमा गएको हुँ । त्यहाँ पीडित बेहोश अवस्थामा पल्टेकी थिई । टाउकोमा धेरै घाउहरू थियो । बायाँ गालामा दाँतले टोकेको थियो । हातका औँलाहरूमा चोट लागेको थियो । कपडा सबै रगतले बिग्रिएका, भिजेका थिए । घटनास्थलबाट बेहोश अवस्थामा हामीहरूले बोकी विपीनगर मेडिकलमा ल्याई प्राथमिक उपचार गराएका हौँ । निज बीरबहादुर सार्कीले पीडितलाई जबर्जस्ती करणी गरेको हुनुपर्छ । घटनास्थल तथा बालिकाको स्वास्थ्य हेर्दा प्रतिवादीले जबर्जस्ती करणी गरेको लाग्दछ भन्ने एउटै व्यहोराको केशवबहादुर ओली, मानबहादुर साउद, कमलबहादुर ओली, डिलबहादुर ओली, नन्दबहादुर साउदसमेतका व्यक्तिहरूले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी बीरबहादुर सार्कीले पीडितलाई नाङ्गो पारी आफू नाङ्गै भई आफ्नो लिङ्ग उत्तेजित गराई जबर्जस्ती करणी गरेको पुष्टि भई निज प्रतिवादीले मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नम्बर विपरीत कसूर गरेको पुष्टि भएकाले निज प्रतिवादी बीरबहादुर सार्कीलाई ऐ. महलको ३ नम्बरको देहाय २ नं. बमोजिम सजाय गरी पाउन र ११ वर्षकी नाबालिकाको भावनामा चोट पुर्याई भविष्यमा समेत सामाजिक असर पर्ने गरी जबर्जस्ती करणी गरी ढुङ्गासमेतले हानी रगताम्य बनाएको देखिएको र औषधि उपचारसमेत गर्न परेको देखिँदा निज प्रतिवादीबाट पीडितलाई ऐ. १० नं. बमोजिम क्षतिपूर्ति भराई पाऊँ । साथै निज प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरिसकेपछि जाहेर प्रकाश नगरून् भन्ने उद्देश्यले पीडितको टाउकोसमेतमा ढुङ्गाले हानी घाउजाँच केश फाराम लेखिएको घाउ चोट पारी मरिन् भन्ने ठानी भागी गएको देखिई निजले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसूर अपराध गरेकोले निज प्रतिवादीलाई ऐ. ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजायसमेत गरी पाऊँ भन्नेसमेत व्यहोराको अभियोग दावी ।
मिति २०६५।९।२२ गते म सिलगढी भन्ने गाउँमा विवाहको लागि चामल लिन भनेर गएको थिएँ । तहाँ गोरखबहादुर सार्कीको पसलमा म र पवन मगरसमेत दुईजना मिलेर घरेलु रक्सी ३ बोतल खाएका थियौं । पछि निज पवन मगरले मलाई छोडेर गएपछि घर जाउँ भनी फर्केर आउँदाको अवस्थामा कमलाकुमारी साउदलाई एक्कासी समातेर निजको दाहिने गालामा दाँतले टोकेको हुँ । नशामा भएका कारण मैले निजलाई जबर्जस्ती करणी गर्ने उद्देश्यले समातेर टोकेको हुँ । निजको साथमा निजको बहिनी पनि थियो । कमलालाई समात्ने वित्तिकै निजको बहिनी भागेर गैसकेकी थिइन् । निजको टाउकोमा मैले ढुङ्गाले पनि हिर्काएको हुँ । चोट लागी रगत बगेको थियो । पेन्टको चैन खोली लिङ्ग बाहिर निकालेको थिएँ भनी मैले प्रहरीमा गरेको बयान साँचो हो । पीडितको गालामा टोकेको हुँ । करणी गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रमेश भन्ने बीरबहादुर सार्कीले अदालतमा गरेको बयान ।
मिति २०६५।९।२२ गते १२ बजे बीरबहादुर सार्कीले पीडित कमलाकुमारी गाई बाख्रा चराउन गएको अवस्थामा कुटपीट गरी जबर्जस्ती करणी गरेको हो । म घरमा बसी रहेको अवस्थामा कमलाको बैनी मेरो घरमा कराउँदै आई हामीलाई भनेबाट हामी त्यहाँ गई हेर्दा कमला रगताम्य भएकी थिइन् भन्नेसमेत व्यहोराको मानबहादुर साउदले अदालतमा गरेको बकपत्र ।
मिति २०६५।९।२२ गते दिनको १२ बजे प्रतिवादीले कमलाकुमारी साउदलाई जबर्जस्ती करणी गरेकै हो । पछि निजलाई रगताम्यै भएको अवस्थामा देखी थाहा पाएको हुँ भन्ने व्यहोराका कर्णबहादुर ओलीले अदालतमा गरेको बकपत्र ।
मेरो दिदी कमलाकुमारी साउदलाई प्रतिवादी बीरबहादुर सार्कीले हामी गोठाला गएको अवस्थामा कपालमा समातेर गालामा टोकेर ढुङ्गाले दिदीको कपालमा हानेर घाउ पारेको थियो भन्नेसमेत व्यहोराको टिकासरी साउदले अदालतमा गरेको बकपत्र ।
मिति २०६५।९।२२ गते दिउँसो १२.०० बजेको समयमा मेरी छोरी कमलाकुमारी साउदलाई प्रतिवादी बीरबहादुर सार्कीले विनीसाउ भन्ने ठाउँको जङ्गलमा गाई बाख्रा चराउन गैरहेको अवस्थामा जबर्जस्ती करणी गरी कुटपीटसमेत गरी ज्यानै मार्ने उद्योगसमेत गरेका हुन् भन्नेसमेत जाहेरवाला नरमीदेवी साउदले अदालतमा गरेको बकपत्र ।
मलाई मिति २०६५।९।२२ गते दिनको १२ बजे विनीसाउको जङ्गलमा गाई चराउन गएको अवस्थामा प्रतिवादी म भएको ठाउँमा आएर जबर्जस्तीरूपमा मलाई जबर्जस्ती करणी गरी कुटपीट गरेको र प्रतिवादीले मलाई गालामा टोकी ढुङ्गाले हानी लडाई जबर्जस्ती करणी गरेकै हो भन्नेसमेत व्यहोराको पीडित कमलाकुमारी साउदले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष साबिती बयान गरेको र सोही व्यहोरालाई समर्थन हुने गरी अदालतमा समेत साबिती बयान दिएको तथा सो साबिती बयानलाई पीडित कमलाकुमारी साउदले अनुसन्धान अधिकारी प्रहरीसमक्ष गरेको किटानी कागज र निजकै जाहेरीलाई समर्थन हुने गरी अदालतमा गरेको कागज, जाहेरवाली नरमीदेवी साउदले जाहेरीलाई समर्थन हुने गरी किटानी बकपत्र गरी दिएको तथा पीडित कमलाकुमारीको घाउजाँच केश फारामलगायतका प्रमाणका आधारमा अभियोग दावीबमोजिम प्रतिवादी रमेश भन्ने बीरबहादुर सार्कीले पीडित कमलाकुमारी साउदलाई जबर्जस्ती गरेको ठहर्छ । ज्यान मार्ने उद्योग गरेको आशय नदेखिँदा र मार्नेसम्मको काम नगरेको पुष्टि हुँदा निज प्रतिवादीउपर लिइएको ज्यान मार्ने उद्योगको दावी पुग्ने सक्दैन । पीडित ११ वर्षकी कमलाकुमारी साउदलाई जबर्जस्ती करणी गरेको ठहर हुँदा प्रतिवादी रमेश भन्ने बीरबहादुर सार्कीलाई जबर्जस्ती करणीको महलको दफा ३(२) बमोजिम १२ वर्ष कैद हुने ठहर्छ तथा ऐ. १० नं. बमोजिम प्रतिवादीबाट क्षतिपूर्तिबापत रू.५०,०००।– कमलाकुमारी साउदलाई भराई दिने ठहर्छ भन्नेसमेत व्यहोराको शुरू डोटी जिल्ला अदालतको मिति २०६७।३।२१ गतेको फैसला ।
पीडित ११ वर्षकी कमलाकुमारी बाख्रा चराउन जङ्गलमा गएको अवस्थामा प्रतिवादीले जबर्जस्ती करणी गरी सोपश्चात् उक्त आपराधिक कार्यबाट छुटकारा मिलोस् भन्ने मनसायले पीडितलाई ढुङ्गाले टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी मर्यो भन्ने ठानी छोडी गएको अवस्था हो । घाउजाँच केश फाराममा पीडितको Left Supraorbital area मा (4×3) cm2, Left occipital area मा (5×2) cm2 चोट रहेको र कपडामा रगत लागेको कुरा उल्लेख छ । जाहेरवाली नरमीदेवी साउदसमेतका बुझिएका पीडित कमलाकुमारी, टिकासरीकुमारी साउदसमेतले अनुन्धान अधिकारी र अदालतसमक्ष ज्यान मार्ने उद्योग गरेको भनी बकपत्र गरी दिनुका साथै प्रतिवादी स्वयंले अदालतमा बकपत्र गर्दा पीडितलाई मैले ढुङ्गाले टाउकोमा हिर्काएको हुँ भनी कसूर स्वीकार गरेको अवस्था छ । उपरोक्त आधारहरूबाट कसूर पुष्टि भै रहेको अवस्था हुँदाहुँदै केवल अनुमानको आधारमा करणी गर्ने मनसाय मात्र रहेको भनी ज्यान मार्ने उद्योग नठहर्याउने गरी शुरू डोटी जिल्ला अदालतबाट त्रुटिपूर्ण फैसला भएकोले ज्यान मार्ने उद्योगको हदसम्मको फैसला बदर गरी पाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
म प्रतिवादीले अदालतसमक्ष कमलाकुमारी साउदलाई जबर्जस्ती करणी गरेँ भनी कहिँकतै भनेको अवस्था छैन, यस्तो अवस्थामा कसूरमा साबित भएको भनी जबर्जस्ती करणी जस्तो गम्भीर फौजदारी दायित्त्व म विरूद्ध ठहर गर्नु न्यायोचित हुँदैन । मैले जबर्जस्ती करणी गर्ने उद्देश्य मात्रै राखेको भए पनि कमलाको प्रतिकार र निजको बहिनीको उपस्थितिको कारणले जबर्जस्ती करणी नगरेको भनी अदालतसमक्ष बयान गरेकोमा आपराधिक घटनालाई स्वीकार गरेको भनी निर्णयमा पुग्नु न्यायोचित छैन । पीडितको कागजबाट पनि मैले निजलाई जबर्जस्ती करणी गरेको हो भन्ने कुरा उल्लेख गर्न सकेको छैन । मौकामा बुझिएकी टिकासरी साउदको उमेर ७ वर्षको छ । निजको भनाई प्रमाणयोग्य हुन सक्दैन । अन्य बुझिएका व्यक्तिले घटनाबारे सुनी थाहा पाएका हौँ भनी बकपत्र गरेको अवस्था छ । घाउजाँच केश फाराममा उल्लेख गरेका बुँदाहरू निर्णयाधारमा राख्नु पर्नेमा सो उल्लेख छैन । अतः जबर्जस्ती करणीको वारदात पुष्टि भएको भनी लिएको निर्णयाधार न्यायसङ्गत नभएकाले सो हदसम्मको शुरू डोटी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी रमेश भन्ने बीरबहादुर सार्कीको पुनरावेदनपत्र ।
प्रतिवादी रमेश भन्ने बीरबहादुर सार्कीले ११ वर्षकी पीडित कमलाकुमारी साउदलाई जबर्जस्ती करणी गरेको ठहरेकोले मुलुकी ऐन जबर्जस्ती करणीको महलको ३(२) नं. बमोजिम प्रतिवादीलाई १२ वर्ष कैद तथा ऐ. १० नं. बमोजिम प्रतिवादीबाट क्षतिपूर्तिबापत रू. ५०,०००।– पीडित कमलाकुमारी साउदलाई भराई दिने ठहर्छ, ज्यान मार्ने उद्योगको कसूरको हकमा प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भनी शुरू डोटी जिल्ला अदालतबाट मिति २०६७।३।२१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, दिपायलको मिति २०६७।१०।५ को फैसला ।
प्रस्तुत मुद्दामा पीडित ११ वर्षकी कमलाकुमारी बाख्रा चराउन जङ्गलमा गएको अवस्थामा यी प्रतिवादीलाई जबर्जस्ती करणी गरी सोपश्चात् उक्त आपराधिक कार्यबाट छुटकारा मिलोस् भन्ने मनसायले पीडितलाई मार्न ढुङ्गाले टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरी मर्यो भन्ने ठानी छोडी गएको अवस्था रहेको र सो ढुङ्गा प्रहारबाट पीडितको Left Supraorbital area मा (4×3) cm2, Left occipital area मा (5×2) cm2 को घाउचोट लागेको, कपडामा रगत लागेको भन्ने घाउजाँच केश फाराममा स्पष्टरूपमा उल्लेख हुनाको साथै तत्काल घटनास्थलमा पुगेका जाहेरवाली नरमीदेवी साउदसमेतका बुझिएका पीडित कमलाकुमारी, टिकासरीकुमारी साउदसमेतले अनुसन्धान अधिकारी र अदालतमा आई ज्यान मार्ने कार्य गरेको भनी बकपत्र गरी दिएको, जबर्जस्ती करणी गरी कुटपीट गरेको भनी जाहेरवालीले बकपत्र गरी दिएको साथै प्रतिवादी स्वयंलेसमेत अदालतमा बयान गर्दा पीडितलाई मैले ढुङ्गाले टाउकोमा हिर्काएको, पीडितको गालामा टोकेको भनी कसूर स्वीकार गरी बयान गरेको र सो कुरा पीडितको घाजाँच केश फारामबाटसमेत पुष्टि भइरहेको अवस्था विद्यमान हुँदाहुँदै केवल अनुमानको आधारमा करणी गर्ने मनसाय मात्र रहेको भनी पीडितको शरीरमा लागेको घाउचोटतर्फ कुनै विचार नगरी ज्यान मार्ने उद्योग नठहर्याउने गरी भएको फैसला सो हदसम्म नमिलेको हुँदा बदर गरी शुरू मागदावीबमोजिम सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
कुनै पनि जाहेरी दरखास्त आफैँमा प्रमाण हुँदैन । जाहेरवाली नरमीदेवी साउदले पीडितसँगै गएकी वर्ष ७ की टिकासरी साउदले भनेको आधारमा जाहेरी दरखास्त दिएको अवस्था छ । मैले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा कहिँकतै पनि निज कमलाकुमारी साउदलाई जबर्जस्ती करणी गरेँ भनी भनेको छैन, मैले नशाको सुरमा एक्कासी निजलाई समाती निजको गालामा दाँतले टोक्दा निज रोईकराई र प्रतिकार गर्दा छोडिदिएको छु । जबर्जस्ती करणी गर्ने कार्य मबाट भएको छैन र निजले लगाएका कपडाहरू च्यातेको पनि छैन, आफ्नो पाइन्ट पनि खोलेको छैन भनी बयान गरेको छु । निज कमलाकुमारी बलात्कृत भएकी हुन् भन्ने ठोस र भरपर्दो प्रमाणको अभाव छ । पीडित स्वयंले मौकामा कागज गर्दाका अवस्थामा समेत मलाई लडाएपछि म बेहोश भएँ तत्पश्चात मलाई के गर्यो थाहा भएन भनी कागज गरेको अवस्था छ । वर्ष ११ की कमलाकुमारीको कन्या जाली च्यातिएको छ छैन, योनी वरपर कुनै घाउखत नीलडाम छ छैन, लुगामा रगत वीर्य लागेको छ छैन सोतर्फ विश्लेषण नै नगरी केवल बायाँ गालामा र शरीरका अन्य भागमा देखाएका घाउ चोटपटकको हवाला दिई घाउजाँच केश फारामसमेतले जबर्जस्ती करणी पुष्टि गरेको भनी लिएको निर्णयाधारमा न्यायिक मनको अभावमा भएकोले मेरो पुनरावेदन जिकीरबमोजिम इन्साफ दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी रमेश भन्ने बीरबहादुर सार्कीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेलले यी प्रतिवादीले जबर्जस्ती करणी गरेको ठहर्याएको हदसम्म पुनरावेदन अदालत, दिपायलको फैसला मिलेको छ । तर प्रतिवादीलाई ज्यान मार्ने उद्योगतर्फ सफाइ दिएको फैसलालाई सदर गरेको मिलेको छैन । यी प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरिसकेपछि सो आपराधिक दायित्त्वबाट बच्नको लागि पीडितलाई मार्न टाउकोलगायत शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरी निज मरेको ठानी छोडी गएको अवस्था छ । पीडितको घा जाँच केश फारामबाट घाउ चोट लागेको, कपडामा रगत लागेको भन्ने देखिएको छ । पीडितलाई ज्यान मार्ने उद्योग नगरेको भन्ने फैसला त्रुटीपूर्ण हुँदा पुनरावेदन अदालतको उक्त फैसला बदर गरी यी प्रतिवादीलाई माग दावीबमोजिम ज्यान मार्ने उद्योगतर्फ पनि सजाय हुनुपर्छ भन्नेसमेत बहस जिकीर प्रस्तुत गर्नु भयो ।
वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत भएको बहस जिकीरसमेत सुनी पुनरावेदन अदालत, दिपायलबाट भएको मिति २०६७।१०।५ को निर्णय मिलेको छ, छैन र पुनरावेदक वादी एवं प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
यी प्रतिवादी बीरबहादुर सार्कीले मिति २०६५।९।२२ का दिन नाबालिका कमलाकुमारी साउदलाई बाख्रा चराउन जङ्गलमा गएको बखत जबर्जस्ती करणी गरी ढुङ्गा प्रहार गरी मार्ने प्रयास गरेकोले मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को कसूरमा निजलाई ऐ. महलको ३(२) नं. बमोजिम सजाय गरी प्रतिवादीबाट पीडितलाई ऐ. १० नं. बमोजिम क्षतिपूर्ति भराई पाऊँ, साथै प्रतिवादीले जबर्जस्ती करणी गरिसकेपछि पीडितको टाउकोसमेतमा ढुङ्गाले हानी ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसूर अपराध गरेकोले उक्त महलको १५ नं. बमोजिम सजायसमेत गरी पाऊँ भन्ने अभियोग मागदावी भएकोमा यी प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको ठहर्याई निजलाई मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ३(२) नं. बमोजिम प्रतिवादीलाई १२ वर्ष कैद हुने तथा १० नं. बमोजिम क्षतिपूर्तिबापत रू. ५०,०००।– प्रतिवादीबाट पीडितलाई भराई दिने ठहर्याई ज्यान मार्ने उद्योगको कसूरको हकमा प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने ठहर्याई शुरू डोटी जिल्ला अदालतबाट फैसला भएको र पुनरावेदन अदालत, दिपायलबाट शुरू अदालतको फैसला सदर हुने ठहर्याई फैसला गरेकोमा दुबै पक्षको पुनरावेदन पर्न आएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६५।९।२२ गते बाख्रा चराउन जङ्गल गएकी ११ वर्षकी छोरी कमलाकुमारी साउदलाई प्रतिवादी बीरबहादुर सार्कीले जबर्जस्ती करणी गरी ढुङ्गाले प्रहार गरी मर्यो भन्ने ठानी विनीसाउ खोलामा फालेको भनी पीडितकी आमा नरमीदेवी साउदले जाहेरी दिएको छ । यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा घरेलु रक्सी खाएको अवस्थामा कमलाकुमारी साउदलाई भूईंमा पछारी आफ्नो पेन्टको चैन खोली लिङ्ग बाहिर निकाली निजमाथि चढेको हुँ, बाँया गालामा दाँतले टोकेको हुँ, निजलाई पछार्दा ढुङ्गाले निजको टाउकोमा चोट लागी रगत बगेको हो, मैले कुटपीट गरेको होइन भनी बयान गरेको देखिन्छ भने अदालतसमक्ष बयान गर्दा पीडितको टाउकोमा मैले ढुङ्गाले हिर्काएको हुँ, चोट लागी रगत बगेको थियो, पेन्टको चेन खोली लिङ्ग बाहिर निकालेको थिएँ भनी प्रहरीमा गरेको बयानलाई स्वीकार गरेको तर करणी गरेको होइन भन्ने व्यहोरा उल्लेख गरी करणी गरेको भन्ने अभियोगमा सम्म इन्कार रही आफूले करणीको प्रयास गरेको भनी स्वीकार गरेको देखिन आउँछ ।
३. पीडितको मिति २०६५।९।२४ मा भएको घाउ जाँचकेश फारामबाट “पीडितको बाँया गालामा टोकेको तथा Left Supra orbital area, Left occipital area लगायतका शरीरमा विभिन्न स्थानमा घाउ चोट देखिएको र Hymen is intact” भनी उल्लेख भएको देखिन्छ । पीडितले अदालतमा बकपत्र गर्दा प्रतिवादीले मलाई गालामा टोकी ढुङ्गाले हानी लडाई जबर्जस्ती करणी गरेको हो भनेर बकपत्र गरी दिएको देखिन्छ भने जाहेरवाली पीडितकी आमा नरमीदेवी साउद तथा अनुसन्धानको क्रममा बुझिएका टिकाकुमारी साउद, घटनास्थल मुचुल्काका कर्णबहादुर वली र वस्तुस्थिति मुचुल्काका मानबहादुर साउदसमेतले पीडितलाई प्रतिवादीले जबर्जस्ती करणी गरेको हो भनी अदालतमा आई बकपत्र गरिदिएको पाइन्छ । घाउ जाँचकेश फाराममा Hymen is intact भनी उल्लेख भएको भन्नेसमेत आधारमा जबर्जस्ती करणीको कसूर स्थापित हुन नसक्ने भन्ने प्रतिवादीको जिकीर रहेको छ । जबर्जस्ती करणीको १ नं. को स्पष्टीकरणको (ग) मा योनीमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिनेछ भन्ने व्यवस्था गरिएको पाइन्छ । प्रस्तुत व्यवस्थाबाट जबर्जस्ती करणीको कसूर स्थापित हुन पीडितको कन्याजाली च्यातिएको हुनुपर्ने अवस्थालाई पूर्वशर्तको रूपमा लिन मिल्दैन । Hymen is intact भएको अवस्थामा पनि जबर्जस्ती करणीको कसूर स्थापित हुनसक्ने देखिन्छ । यी पीडित ११ वर्षकी भएको मिसिलबाट देखिएको र निज नाबालिकाको अदालतमा भएको बकपत्रमा निजले मलाई मिति २०६५।९।२२ गते दिनको १२ बजे विनीसाउको जङ्गलमा गाई चराउन गएको अवस्थामा प्रतिवादी म भएको ठाउँमा आएर मलाई जबर्जस्ती करणी गरी कुटपीट गरेको र प्रतिवादीले मलाई गालामा टोकी ढुङ्गाले हानी लडाई जबर्जस्ती करणी गरेकै हो भन्ने व्यहोरा उल्लेख गरी बकपत्र गरेको देखिन्छ । घटनाबाट पीडित व्यक्तिले घटनाको सम्बन्धमा अदालतमा व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्ने हुन्छ । त्यसमा पनि यी प्रतिवादीले आफूले यी पीडितलाई भूईंमा पछारी आफ्नो पेन्टको चेन खोली लिङ्ग बाहिर निकाली पीडितमाथि चढेको तथ्यलाई स्वीकार गरी अदालतमासमेत बयान गरेको छ भने जबर्जस्ती करणी गरेको तथ्यलाई अनुसन्धानको क्रममा पनि स्वीकार गरेको देखिएको अवस्थामा यी प्रतिवादीले आरोपित जबर्जस्ती करणीको कसूर गरेको देखिन आयो ।
४. ज्यान मार्ने उद्योगको कसूरमा अभियोग दावीबाट सफाइ दिने ठहराएको मिलेन भनी परेको वादी नेपाल सरकारको पुनरावेदन जिकीरतर्फ विचार गर्दा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. मा ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गै बचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था गरिएको पाइन्छ । ज्यानसम्बन्धी अपराधहरूमध्ये कर्तव्य ज्यान (Murder) र यसको उद्योग (Attempt to Murder) को बीचमा अपराधका तत्त्वहरूको रूपमा रहेका आपराधिक कार्य (Actus reus) र आपराधिक मनसाय (Mens reus) को संयोजनात्मक उपस्थितिको दृष्टिबाट भिन्नता रहेको हुँदैन । दुबै प्रकृतिका अपराधमा सो अपराध गर्ने व्यक्तिले पीडितको मृत्युको मनसाय राखेर आफ्नो कार्यबाट आपराधिक कार्य सम्पन्न गरेको हुन्छ । तर ज्यान मार्ने उद्योगको अपराध कायम हुनको लागि कुनै कारणले कर्ताको अपेक्षाअनुसार पीडितको मृत्यु भएको हुँदैन । ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम मनसाय तत्त्वको विद्यमानता आवश्यक हुन्छ र यस्तो मनसाय अभियुक्तको क्रियाबाट स्पष्ट हुन्छ । ज्यान मार्ने मनसाय रहेको अवस्थामा ज्यान मार्न नपाएको स्पष्ट कारण र अवस्था देखिनुपर्छ, जो प्रस्तुत मुद्दामा देखिँदैन ।
५. यी प्रतिवादीले जबर्जस्ती करणी गर्ने मनसाय राखी पीडितलाई भूईंमा पछारी जबर्जस्ती करणी गरेको देखिए पनि यी प्रतिवादीमा पीडितलाई मार्ने मनसाय रहेको देखिन आउँदैन । यी प्रतिवादीले पिडितमाथि गरेको कार्यबाट निजलाई जबर्जस्ती करणी गर्ने मनसायलाई कार्यरूप दिने उद्देश्यसम्म रहेको देखिएको छ । जबर्जस्ती गर्ने क्रममा केही चोटपटकसमेत लाग्न गएको अवस्था हुँदा निजले यी प्रतिवादीलाई मार्ने मनसायले टाउकोलगायत शरीरका अन्य भागमा आक्रमण गरेको मिसिल संलग्न प्रमाणहरूबाट स्थापित हुन आएन ।
६. तसर्थ, माथि उल्लेखित आधार र कारणबाट यी प्रतिवादीले ११ वर्षकी पीडितलाई जबर्जस्ती करणी गरेको देखिएकोले निजलाई मुलुकी ऐन, जबर्जस्ती करणीको महलको दफा ३(२) नं. बमोजिम १२ वर्ष कैद तथा ऐ. १० नं. बमोजिम क्षतिपूर्तिबापत रू.५०,०००।– (पचास हजार) पीडितलाई भराई दिने ठहराएको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत दिपायलको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । ज्यान मार्ने उद्योग गरेको अभियोग स्थापित र प्रमाणित भएको नदेखिएकोले पर्याप्त निश्चयात्मक प्रमाणको अभावमा सो अभियोग दावीबाट सफाइ पाउने ठहर्याई शुरू डोटी जिल्ला अदालतबाट मिति २०६७।३।२१ मा भएको फैसला सदर हुने ठहर गरको पुनरावेदन अदालत, दिपायलको मिति २०६७।१०।५ को फैसला सदर हुने ठहर्छ । वादी, प्रतिवादी दुबै पक्षको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सुशीला कार्की
इति संवत् २०६९ साल माघ १७ गते रोज ४ शुभम् .....
इजलास अधिकृत :– श्रीप्रकाश उप्रेती