निर्णय नं. २७३५ - अंश

निर्णय नं. २७३५ ने.का.प. २०४३ अङ्क - ५
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४१ सालको दे.पु.नं. ६८५
फैसला भएको मिति : २०४३।५।१।१ मा
पुनरावेदक/प्रतिवादी : पोखरा न.पं.वडा नं.८ बस्र्याङ बस्ने कृष्णप्रसाद कोइराला
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने नन्दप्रसाद अधिकारीको अविवाहिता छोरी जानुकादेवी अधिकारी
मुद्दा : अंश
(१) मिसिल संलग्न लिखतको प्रमाणबाट नै लोग्ने स्वास्नी कायम गरेको देखिँदा क्षेत्रीय अदालतको इन्साफ मनासिब छ ।
(प्रकरण नं. १६)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गाना
विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
फैसला
न्या.प्रचण्डराज अनिल : पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी निवेदक कृष्णप्रसादले यस अदालतमा दिएको निवेदनमा पुनरावेदको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्यको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. मेरा पति कृष्णप्रसादले मलाई सौता माथि ०२८ सालमा विवाह गरेका हुन् । निजले पुनः अर्को विवाह गरेका छन् । जायजन्म भएको छैन । कहिले घर कहिले माइत बसी आएकीमा यही ०३८।३।२८ का दिन मलाई विपक्षीले घरमा खान सुत्न नदिई निकाला गरेकोले लोग्नेको अंश मध्येबाट ४ अंशको १ अंश दिलाई पाउँ भन्ने जानुकादेवी कोइरालाको मुख्य फिराद दावी रहेछ ।
३. मेरो पहिलो विवाह ०२१ सालमा गंगाकुमारीसंग र दोश्रो विवाह ०३८ सालमा निर्मलासँग भएको हो । वादी जानुकासंग मेरो वैवाहिक सम्बन्ध र बोलचाल समेत छैन । वादी नेपाल बाल मन्दिरमा शिक्षिका भएकी र सो स्कूलको हाजिर कापीमा वादीले सुश्री जानुकादेवी अधिकारी भनी लेख्नु भएको छ । अन्य कतिपय स्थानहरूमा लेखिएका पत्रहरूमा प्रतिवादीले आफूलाई सुश्री जानुकादेवी अधिकारी भनी सहिछाप गर्नुभएको छ । वादी अविवाहिता नै रहेको भएको प्रष्ट हुँदा हुँदै पनि वादीले झुठ्ठा दावा गरेकोबाट छुट्कारा पाउँ भन्ने समेत व्यहोराको प्र.कृष्णप्रसाद कोइरालाको प्रतिउत्तर रहेछ । विपक्षीसँग मेरो ०२८।३।२९ मा बाराही मन्दिरमा विवाह भएको थियो । सो विवाहमा म तर्फबाट मेरा दाजुहरू र विपक्षीतर्फबाट अरु कोही थिएनन् विवाह पछि भोज खाने र फोटो खिच्ने काम भयो । तत्पश्चात २।३ दिन घरमा बस्दा विपक्षीको बाबु आमाले विरोध गरेकाले २।३ महीना डेरा गरी यही पतिले परिस्थिति नमिलेसम्म माइत बस भनेकाले माइत घरमा बसें । विपक्षीसँग बारम्बार भेटघाट हुने गथ्र्यो र पछि घर माइत जाने क्रम पनि चल्यो । यही ०३८।३।२८ मा विपक्षीले बाबु आमाको कुरा सुनी मलाई कुटपिट गरी घरबाट निकाला गरी पुनः अर्को श्रीमती ल्याउनु भयो । गाउँ भलाद्मीहरू रोहवरमा भएको विपक्षी पतिले सहिछाप गरेको र मलाई कृष्णप्रसादको श्रीमती स्वीकारिएको कागज जिल्ला कार्यालयमा छ । बुझी पाउँ भन्ने समेत वादी जानुकादेवीको नाता कायम तर्फको बयान कागज ।
४. वादी प्रतिवादीको श्रीमती नहुँदा अंश दिनुपर्ने होइन । पिता हरिश्चन्द्र पूर्वको पैतृक सम्पत्ति नभएको हुँदा पिता हरिश्चन्द्रको निजी आर्जनको सम्पत्तिमा ४ बण्डा लाग्नु पर्ने हो अंशबण्डा भएको छैन । अंशियार मध्येका कृष्णप्रसादको गंगादेवी र निर्मला २ श्रीमती हुन् भन्ने समेत अ.बं. १३९ नं. बमोजिम बुझिएका हरिश्चन्द्र कोइराला धर्मकुमारी समेतको वा.दुर्गाप्रसाद कोइरालाको कागज ।
५. प्र.बाट पेश भएको विभिन सुश्री लेखिएका कागज वादीलाई सुनाउँदा वादीले ०२६ साल देखि नै नोकरी गरेको र ०२८।३।२८ मा मात्र बाराही मन्दिरमा प्रेम विवाह भएको र यस समयमा विपक्षी पोखरा न.पं. वडा नं.५ का वडाध्यक्ष भएको हुँदा बहुविवाह र आफ्नो बाबुको डरले समेत विपक्षी पतिदेवकै अनुरोधले मैले विभिन्न कागजहरूमा सुश्री र अधिकारी थर भनी लेखी दिएको हो भन्ने समेत वादीको बयान ।
६. वादीबाट पेश हुन आएको कागज देखें सुनें ०३८।४।१० मा गराई दिएको कागज मेरो मञ्जूरबाट भएको नभई प्र.जि.अ.का.बाट डर त्रास देखाई गराइएको हो भन्ने प्रतिवादीको बयान कागज ।
७. जि.का.बाट प्राप्त भएको सम्पूर्ण कागजातहरू देखें सुनें सो मध्ये २०३८।४।१० को कागजको मिलापत्रको व्यहोरा हस्ताक्षर मेरो हो तर इति सम्वत् ०३८ साल श्रावण १० गते भनी लेखिएको अक्षर मेरो होइन सो मितिमा सो कागज मैले लेखेको होइन भन्ने समेत हरिश्चन्द्र कोइरालाको बयान कागज ।
८. हाम्रो पुर्खौली सम्पत्ति नहुनाले आ–आफ्नो निजी आर्जन कमाई आएका छौं । मेरो निजी आर्जनको सम्पत्तिबाट कुनै पनि परिवारलाई अंश दिन कर नलाग्ने हुनाले मैले अंशको फाँटवारी दाखेल गर्न कानुनी बाध्यता छैन भन्ने हरिश्चन्द्र कोइरालाको दर्खास्त र म जिम्मा चल अचल सम्पत्ति केही छैन भन्ने कृष्णप्रसादको दर्खास्त ।
९. वादी प्रतिवादीको र ०३८।४।१० को मिलापत्रको कागजमा लेखिएको साक्षीहरूको बकपत्र मिसिल सामेल रहेछ ।
१०. ०३८।४।१० को कागजमा हरिश्चन्द्र कोइरालाले जालसाजी कीर्तेतर्फ प्रष्ट गरी दावी नलिएकोले त्यसतर्फ निर्णय दिई रहनु परेन । त्यस कागजमा वादीलाई श्रीमती स्वीकारेकै छ । प्रतिवादीका साक्षीले वादी प्रतिवादी बीचमा विवाह भएको होइन थाहा छैन भने पनि वादीले उजूर गर्नुपर्ने कारण दर्शाई तथ्यसाथ बकेको देखिन्छ भने वादीका साक्षीले वादी भनाइलाई पुष्टि हुने गरी बकेका छन् । वादी जानुकादेवी एक हिन्दु नारीले लोग्ने नभएको प्रतिवादी कृष्णप्रसादलाई लोग्ने भनी दावी लिनु पर्ने कुनै अवस्था नदेखिएकोले वादी मेरी श्रीमती होइनन् भन्ने प्रतिवादीको भनाई न्यायसंगत नदेखिँदा वादी प्रतिवादीकी श्रीमती कायम हुने ठहर्छ, अंशतर्फ बण्डा हुने सम्पत्तिको फाँटवारी दाखिल हुन आएन । निजी आर्जन भनिएको विवरण नखुलाएको सम्पत्तिमा वादीले उजूर दावी गर्न पाउने हक सुरक्षितै हुँदा उजूर परेमा उसै बखत कानुन बमोजिम हुने हुँदा हाल बण्डा छुट्याउनु पर्ने अवस्था भएन । तसर्थ, अंश दिलाई पाउँ भन्ने वादीको दावी हाल पुग्न नसक्ने ठहर्छ । भन्ने समेत व्यहोराको कास्की जिल्ला अदालतको फैसला । सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.कृष्णप्रसाद कोइरालाले प.क्षे.अ.मा दिएको पुनरावेदन ।
११. शुरु कास्की जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को फैसला ।
१२. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अुनमति पाउँ भनी प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा “यसमा जायजन्म नभएकोमा विवाद देखिएन । वादीले आफ्नो विवाह भएको प्रष्ट मिति देखाएको पनि छैन । केवल ०२८ सालमा विवाह भएको भनेको छ तर ०३६ सालमा त्यसको बहुदल निर्दलको चुनावमा र त्यस अघि नोकरी गर्दा समेत आफूलाई सुश्री र अधिकारी भनी लेखेको पाइन्छ । यस स्थितिमा वादीले आफूलाई सुश्री र अधिकारी स्वीकार गरेको श्रेस्ता प्रमाणहरू बुझ्दै नबुझी कृष्णप्रसादकी श्रीमती ठहराई गरेको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति दिइएको छ” भन्ने समेत व्यहोराको डिभिजनबेञ्चको आदेश ।
१३. पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गानाले र विपक्षी वादी जानुकादेवी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः प.क्षे.अ.को निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१४. यसमा पुनरावेदक प्रतिवादी कृष्णप्रसाद कोइरालाका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गानाले वादी जानुकादेवीले सुश्री भनी लेखेकी छिन् । थरमा पनि अधिकारी भनी लेखिएको छ । २०२८ सालमा विवाह भएको मानेमा त्यसपछि सुश्री लेख्नु पर्ने होइन । प्र.जि.अ. मा भएको लिखतलाई प्रमाणमा लिन मिल्दैन भनी बहस गर्नुभएको छ ।
१५. प्रत्यर्थी वादीका तर्फबाट विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले लोग्ने स्वास्नीको आपसी सम्झौता अनुरुप र स्कूलको पुरानु रिकर्ड अनुसार जानुका अधिकारी लेखिएको हो । हिन्दू नारीले अनाहकमा लोग्ने भन्नु पर्ने अवस्था छैन । गाउँ घरमा भएको लिखतबाट पनि सो कुरा पुष्ट्याई भएको छ । क्षेत्रीय अदालतको इन्साफ मनासिब हुनुपर्ने भनी बहस गर्नुभएको छ ।
१६. मिसिल अध्ययन गर्दा विष्णुचन्द्र कोइरालाको घरमा पञ्च भलाद्मी र प्रतिष्ठीत व्यक्तिहरू बसी छलफल भएको र कृष्णप्रसाद र जानुकादेवीलाई लोग्ने स्वास्नी कायम गरेको देखिन्छ । प्रतिवादीका बाबु हरिश्चन्द्र कोइरालाले लिखत तयार पारेकोमा अदालतमा पनि स्वीकार गरेको देखिन्छ । सो लिखतबाट जानुकादेवीलाई कृष्णप्रसादको स्वास्नी कायम गरेको देखिन्छ । प्रतिवादीले हस्ताक्षर सहिछाप गरेको र सो कुरालाई स्वीकार गरेको देखिन्छ । मिसिल संलग्न लिखतको प्रमाणबाट नै लोग्ने स्वास्नी कायम गरेको देखिँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब छ । मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४३ साल भाद्र १ गते रोज १ शुभम्