निर्णय नं. ९०६६ - कर्तव्य ज्यान

नेकाप २०७० अङ्क १० नि.नं.९०६६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की
फैसला मिति : २०७०।९।१७।४
०६७–CR–०२०९
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, भुटानी शरणार्थी शिविर बेलडाँगी–२ सेक्टर एफ ३, हट नं. ९९ बस्ने हाल कारागार शाखा, झापामा थुनामा रहेको ज्ञानबहादुर भट्टराई
विरूद्ध
प्रत्यर्थी/वादी : आइतसिं विश्वाको जाहेरीले नेपाल सरकार
§ एउटा अपराध गर्ने उद्देश्यले गरिएको आपराधिक कार्यबाट अर्को आपराधिक कार्य हुन गएमा पछिल्लो आपराधिक कार्य गर्ने मनसाय नभएको भन्ने आधारमा प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन सक्दैन, सरेको मनसाय (Transferred malice) को सिद्धान्तअन्तर्गत कसूरदार कायम हुने ।
(प्रकरण नं.४)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता दिननाथ पराजुली
प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे
अवलम्बित नजीर :
§ नेकाप २०६१, नि.नं.७४६६, पृ.१४८६,
§ नेकाप २०६४, नि.नं.७८४४, पृ.५४९
सम्बद्ध कानून :
§ प्रमाण ऐन, २०३१ को दफा ९(१)
§ ज्यानसम्बन्धी महलको १ र १३(३), अ.बं.१८८ नं.
शुरू तहमा फैसला गर्ने :– मा.न्या.श्री शालिग्राम कोइराला
पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री पुरूषोत्तम पराजुली
मा.न्या.श्री विष्णुदेव पौडेल
फैसला
न्या.प्रा.डा.श्री.भरतबहादुर कार्की : न्याय प्रशासन ऐन, २०४८ को ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :–
सन् २९।१०।२००८ बेलुका देउसी खेल्न गएकी मेरी छोरी वर्ष १० की अनिता विश्वालाई बेलडाँगी एफ ३ का प्रतिनिधिको घरमा देउसी खेल्दै गरेका बखत एच ४/१ हट नं.९९ बस्ने ज्ञानबहादुर भट्टराईले सेक्टर एफ ४ बस्ने भीमबहादुर विष्टलाई फलामको पाईपले हिर्काउने क्रममा मेरो छोरीको टाउकोमा उक्त फलामे पाईपले हिर्काई गम्भीर घाइते बनाएको हुँदा पक्राउ गरी आवश्यक कारवाही गरी पाऊँ भन्ने श्रीमती फुलमाया विश्वाले दिएको मिति २०६५।७।१४ को निवेदन ।
मिति २०६५।७।१३ गते साँझ बेलडाँगी सेक्टर एफ ३ नं., हट नं. १/२ बस्ने ऐ.सेक्टरका प्रतिनिधि बलराम उप्रेतीको घरमा देउसी खेल्न गएकी बेलडाँगी–२ सेक्टर एफ ३, हट नं. ५४ बस्ने आइतसिंह विश्वाको छोरी वर्ष १० की अनिता विश्वालाई अभियुक्त ज्ञानबहादुर भट्टराईले अन्दाजी १ मिटर लम्बाई ७ इन्च गोलाईको फलामे पाईपले निधारदेखि केही माथि दाहिने साइड टाउकोमा प्रहार गरी सख्त घाईते बेहोस बनाएको घटनास्थल र उक्त चोटबाट खसेको रगतका दागहरू भूईंमा देखिएको एवं घटनामा प्रयोग गरेको फलामे पाईपलगायतका अन्य चीजवस्तु खोजतलास गर्दा फेला नपरेको भन्ने घटनास्थल मुचुल्का ।
टाउकामा परेको गम्भीर चोटका कारण यस अस्पतालमा उपचार हुन नसक्ने भनी बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रिफर गरेको पूर्जी, निजको सिटी स्क्यान रिर्पोटअनुसार चोट लागेको स्थानमा टाउकाको हड्डी फुटेर भित्र दबेको कारण अप्रेशन गर्नुपर्ने भएकाले वेष्ट बंगाल न्यूरो अस्पतालमा रिफर गरेको भन्ने व्यहोराको कोशी अञ्चल अस्पतालको रिपोर्ट, सम्बन्धित चिकित्सकको रायअनुसार निज अनिता विश्वाको टाउकोको अप्रेसन गर्ने क्रममा मृत्यु भएको भन्ने North Bengal Neuro Research Centre को Death certificate समेतका कागजातहरू मिसिल संलग्न रहेको ।
मिति २०६५।७।१३ गते बेलुका देउसी खेल्न गएकी मेरी छोरी वर्ष १० की अनिता विश्वालाई बेलाडाँगी–२ सेक्टर एफ ३ का प्रतिनिधिका घरमा देउसी खेल्दै गर्दा ज्ञानबहादुर भट्टराई र भीमबहादुर विष्टसमेतका बीच झगडा हुँदा सोही स्थानमा उभिई रहेका बखत बिना कारण फलामको पाईपले ज्ञानबहादुर भट्टराईले हिर्काई सख्त घाइते बनाएकोले विभिन्न अस्पताल हुँदै भारतको सिलगुढी न्यूरो अस्पतालमा उपचार गराउने क्रममा मिति २०६५।७।२४ गते बिहान सोही कुटाईको चोटका कारणबाट मृत्यु भएकाले निज अभियुक्त ज्ञानबहादुर भट्टराईलाई पक्राउ गरी आवश्यक कारवाही गरी पाऊँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।
बेलडाँगी–२ सेक्टर एफ ३, हट नं. ५४ स्थित घरमा ल्याई राखेको वर्ष १० की अनिता विश्वाको लाशको टाउकाको दाहिनेपट्टि निधारमा चोट लागी उपचारको क्रममा टाँका लागेको भन्ने लास जाँच प्रकृति मुचुल्का ।
मिति २०६५।७।१३ गते बेलडाँगी–२ सेक्टर एफ ४ बस्ने भीमबहादुर विष्ट र मेरो झगडा हुँदा निजलाई हिर्काउन प्रहार गरेको फलामे पाईपले निज तत्काल छलिएका कारणले निज पछाडि रहेकी अनिता विश्वालाई लाग्न गई निज घाइते भई विभिन्न अस्पतालमा उपचार गराउँदागराउँदै मिति २०६५।७।२४ गते भारतको सिलगुढी स्थित न्यूरो अस्पतालमा निजको मृत्यु भएको हो । मृतकसँग मेरो चिनजान रिसइबि केही थिएन । उनी के कसरी झगडा परेको स्थानमा आइन् थाहा भएन । भीमबहादुर विष्टले मलाई कुटपीट गरेको हुँदा मैले सहन नसकी फलामको पाईपले निज भीमबहादुरलाई प्रहार गर्दा अनिता विश्वालाई लाग्न गएको हो । अनिता विश्वालाई मैले मार्ने उद्देश्यले हिर्काएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी ज्ञानबहादुर भट्टराईले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६५।७।१३ गते बेलुका देउसी खेल्न गएकी मेरी छोरी वर्ष १० की अनिता विश्वालाई बेलडाँगी–२ सेक्टर एफ ३ का प्रतिनिधि बलराम उप्रेतीको घरमा देउसी खेल्दै गरेका बखत बिना कारण फलामको पाईपले ज्ञानबहादुर भट्टराईले हिर्काएका कारण सख्त घाइते भई उपचारको क्रममा विभिन्न अस्पताल हुँदै भारतको सिलगुढी स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निज ज्ञानबहादुर भट्टराईको कुटाईको चोटका कारण निज घाईतेको मिति २०६५।७।२४ मा मृत्यु भएको हो । घटनास्थलभन्दा १ कि.मि. टाढा घर भएको मानिस कुटपीट गर्ने उद्देश्यले नै फलामको पाईप बोकेर आएको हुनुपर्छ । निज अभियुक्त ज्ञानबहादुर भट्टराईलाई कानूनबमोजिम आवश्यक कारवाही गरी पाऊँ भन्ने श्रीमती फुलमाया विश्वाको कागज ।
मिति २०६५।७।१३ गते बेलुकी बेलडाँगी–२ सेक्टर एफ ४ स्थित भीमबहादुर विष्टको घरछेउको बाटोमा के कुन विषयमा भीमबहादुर विष्ट र अभियुक्त ज्ञानबहादुर भट्टराईबीच कुटपीट भई स्थानीय मानिसहरूले छुट्याई दिएपछि मलाई बिना कारण ज्ञानबहादुर भट्टराईले कुटपीट गर्यो भनी प्रतिनिधिकोमा रिपोर्ट गर्न जाँदा प्रतिनिधि बलराम उप्रेती नभएकाले निजका श्रीमतीसँग गफ गरेका बखतमा निज अभियुक्त ज्ञानबहादुर भट्टराईले एक्कासी फलामको पाईपले भीमबहादुर विष्टलाई प्रहार गर्दा सो पाईपले निज भीमबहादुर विष्टलाई नलागी सो घरमा देउसी खेल्न गएकी मृतक अनिता विश्वाको टाउकोमा लागी घटनास्थलमा ढली बेहोस भएकाले घाइतेलाई उठाई हेल्थ सेन्टरमा लगेको हो । त्यसपछि उपचारको क्रममा निजको मृत्यु भएको हो । नियोजित तवरले करीब १ मिटर लामो ६/७ इन्च मोटो फलामको पाईपले बालिकालाई हिर्काएको हो भन्ने बुझिएका नरध्वज राईको कागज ।
२०६५।७।१३ गते बेलुकी म, हाल मृत्यु हुने अनिता विश्वा र निजको बहिनी सुनितासमेत साँझ ७ बजेतिर बेलडाँगी–२ सेक्टर एफ ३ का प्रतिनिधि बलराम उप्रेतीकोमा देउसी खेल्दै गर्दा भीमबहादुर विष्ट र ज्ञानबहादुर भट्टराईबीचका झगडाको विषयमा कुरा हुँदै गर्दा ज्ञानबहादुरले फलामे पाईपले भीमबहादुर विष्टलाई हिर्काउँदा उनी छलिएका कारण अनिता विश्वालाई टाउकोमा लाग्न गई बेहोस भई ढलेपछि उपचारार्थ पठाएकोमा पछि निजको मृत्यु भएको सुनेको हो । प्रतिवादीले जानाजान कर्तव्य गरी मारेकाले निजलाई कारवाही होस् भन्नेसमेत व्यहोराको बुबा भीमबहादुर घिमिरेको रोहवरमा उमादेवी घिमिरेले गरेको कागज ।
मिति २०६५।७।१३ गते साँझ मादक पदार्थ सेवन गरी बिना कारण अभियुक्त ज्ञानबहादुर भट्टराईले भीमबहादुर विष्टलाई हिर्काएको भनी अन्यायमा परी प्रतिनिधिलाई रिपोर्ट गर्न जाँदा प्रतिनिधि घरमा नभएकाले पर्खी बसेका बखत निज ज्ञानबहादुर भट्टराई उक्त स्थानमा आई भीमबहादुर विष्टलाई एक्कासी फलामको पाईपले प्रहार गर्दा भीमबहादुरले थाहा पाई छलिएका कारण निजको छेउमै देउसी खेली रहेकी हाल मृतक अनिता विश्वालाई लागी निज सोही स्थानमा ढली उपचारको क्रममा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको भीमबहादुर विष्टलगायतका मानिसहरूले लेखाई दिएको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
टाउकोसमेतमा गम्भीर चोट परेका कारण मृतकको मृत्यु भएको हो भन्ने प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे, मोरङबाट भएको शव परीक्षण प्रतिवेदन ।
मिसिल संलग्न कागजातको आधारमा प्रतिवादी ज्ञानबहादुर भट्टराईले भीमबहादुर विष्टलाई मार्ने उद्देश्यले फलामे पाईपले प्रहार गर्दा अनिता विश्वालाई लाग्न गई उपचारको क्रममा निजको मृत्यु भएको पुष्टि भएकाले प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को कसूरमा सोही महलको ऐ. १३(३) नं.बमोजिम सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
२०६५।७।१३ गते साँझ देउसी खेल्ने कार्यक्रम बनाउन नाम थाहा नभएका दाहालको पसलमा भेला भएको अवस्थामा भीमबहादुर विष्टले एक्कासी मलाई हिर्काएकाले एकदमै रिस उठ्न गई मसँग केही नभएकाले भागेर गई नाम थाहा नभएका राईका घरबाट ल्याएको फलामको पाईपले निज भीमबहादुरलाई हिर्काउन खोज्दा अनिता विश्वालाई लागेकाले निजको उपचार गराउँदागराउँदै मृत्यु भएको हो । उपचारको क्रममा एकलाख बीस/तीस हजार खर्च भयो । मैले मार्ने नियतले कुटेको होइन । अरूको उक्साहटमा लागेर झूट्ठा उजुरी दिएको हो । मैले जाहेरीमा लेखेबमोजिम कर्तव्य गरी मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी ज्ञानबहादुर भट्टराईले अदालतमा गरेको बयान ।
प्रतिवादी ज्ञानबहादुर भट्टराई र भीमबहादुर विष्टको वादविवाद भई प्रतिवादीले फलामको पाईपले भीमबहादुरलाई हिर्काउँदा उछिट्टिएर मृतक अनिता विश्वालाई लागेको र निजको उपचारका क्रममा सिलगढी लगेकोमा अहिले दवाई खानु, पछि अप्रेसन गरे पनि हुन्छ भनी डाक्टरले भनेकोमा जाहेरवालालाई कसले के भनी दियो तत्कालै अप्रेसन गर्ने भनी जाहेरवालाले भनेकाले तत्कालै अप्रेसन गरेकोमा साह्रै भई आइ.सि.यु.मा राखेपछि मृत्यु भएको हो । घटना मेरो घर आँगनमा भई मैले प्रत्यक्ष देखेको हो । अप्रेसनकै कारणले मृतकको मृत्यु भए जस्तो लाग्छ भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी भोलानाथ उप्रेतीले गरेको बकपत्र ।
२०६५।७।१३ गते देउसी खेल्ने क्रममा प्रतिवादी ज्ञानबहादुर भट्टराईले फलामको पाईपले मेरो छोरी अनिता विश्वालाई हिर्काएको र सोही चोटका कारण मृत्यु भएको हुँदा कानूनबमोजिम सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको जाहेरवाला आइतसिंह विश्वाले अदालतमा गरेको बकपत्र ।
न्युरो हस्पिटल विराटनगरको रिपोर्ट, टाउकोको दाहिनेपट्टि निधारमा चोट लागी उपचारको क्रममा टाँका लगाएको भन्ने घटना विवरण मुचुल्का, शव परीक्षण प्रतिवेदन, जाहेरवालाको जाहेरीलाई समर्थन गरी गरेको बकपत्र, प्रतिवादीको अदालतमा भएको साबिती बयान, सर्वोच्च अदालतबाट प्रतिपादित नजीरसमेतका आधार प्रमाणबाट यी प्रतिवादीले अभियोग दावीबमोजिम मृतकको ज्यान मारेको ठहर्नाले निज प्रतिवादी ज्ञानबहादुर भट्टराईलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्छ भन्ने झापा जिल्ला अदालतबाट मिति २०६६।३।१४ मा भएको फैसला ।
मृतकको मृत्यु मेरो प्रहारबाट भएको भए तापनि घटनाको प्रकृति र अवस्थाबाट उक्त घटना भवितव्यबाट भएको हो । मृतकलाई मार्ने मनसाय छैन । प्रहार भएको हतियार जोखिमी नभएको र पीडकले पीडितलाई बचाउन भरमग्दुर प्रयास गरेको अवस्था छ । घटनाको प्रकृतिबाट ज्यान मार्ने मनसाय तत्त्वको विद्यमानता भएको भनी अर्थ गर्न नमिल्ने एवं भीमबहादुरले मलाई प्रहार गरेपछि प्रतिकारका लागि प्रहार गर्न खोज्दा लट्ठी उछिट्टिएर मृतक बालिकालाई भवितव्यबाट लाग्न गएको हो भने उपचारको लागि मैले रू.१,१५,०००।– भन्दा बढी खर्च गरेको छु । साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत गई म निर्दोष हुँदाहुँदै मेरो सबूद प्रमाणको मूल्याङ्कन नगरी मलाई सजाय गर्ने गरी भएको शुरूको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ र ६ नं.को अवस्थालाईसमेत मध्यनजर गरी इन्साफ गरी पाऊँ भन्ने प्रतिवादीको तर्फबाट पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइबि रहे भएको कुरा जाहेरवालाले बकपत्रसमेतमा खुलाउन सकेको नदेखिएको र प्रतिवादीले बयान गर्दा भीमबहादुर विष्टलाई हिर्काउन प्रहार गरेको पाईपले निज तत्काल छलिएको कारण मृतकलाई लाग्न गई मृत्यु भएको हो, निज मृतकलाई मार्ने मनसायले हिर्काएको होइन भनी बयान गरेको परिप्रेक्ष्यमा प्रतिवादीउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर गरेको शुरू झापा जिल्ला अदालतको फैसला विचारणीय हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि प्रत्यर्थी/वादी नेपाल सरकारलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६६।११।२३ को आदेश ।
भवितव्य र आवेश प्रेरित हत्या दुबैमा गरेको कार्यको परिणामस्वरूप ज्यान मारेको अवस्था विद्यमान रहने हुँदा गरेको कार्यको गम्भीरता हेरी कसूर कायम गर्नुपर्ने देखिएकाले प्रस्तुत मुद्दामा पुनरावेदकले कुनै साधारण चोट प्रहार गरेको नभई फलामे पाईपजस्तो मानिसको ज्यान जान सक्ने जोखिमी साधन प्रहार गर्दा उछिट्टिएर लाग्न गई त्यसैको जरियाबाट मृतकको मृत्यु भएको देखिएको अवस्थामा पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय हुने ठहर्याई भएको शुरू झापा जिल्ला अदालतको मिति २०६६।३।१४ को इन्साफ मुनासिबै देखिँदा सदर हुने ठहर्छ ।
पुनरावेदक प्रतिवादीको मृतक नाबालिकासँग कुनै रिसइबि नदेखिएको, धारिलो हतियार प्रयोग गरेको नभई तत्काल उठेको रिसको कारण भेटिएको फलामे पाईप प्रहार गरेको र प्रतिवादीले मृतकको ज्यान बचाउन उपचार गराउने क्रममा सक्दो प्रयास तथा खर्चसमेत गर्दागर्दै पनि शल्यक्रिया सफल हुन नसकी मृतकको मृत्यु हुन गएको भन्ने देखिएकाले अपरिपक्व उमेरका पुनरावेदकलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने र घटी सजाय गर्दा पनि कानूनको मकसद पूरा हुन सक्ने चित्तमा लागेकाले निज पुनरावेदक प्रतिवादीलाई कैद वर्ष १० को मात्र सजाय गर्नु मनासिब सम्झी सोबमोजिम हुन साधक जाहेर गर्नेसमेत ठहर्छ भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६७।१।१९ को फैसला ।
मैले घटनाको सम्बन्धमा भएको वास्तविक वस्तुस्थिति दर्शाएको हुँदा त्यसलाई कसूरमा साबिती रहेको भन्न मिल्दैन । भीमबहादुर विष्टलाई हानेको फलामको पाईप निज छलिएका कारणले मृतकलाई लागेको सम्म हो । मृतकलाई मार्ने मेरो मनसाय थिएन र मृतकसँग कुनै रिसईबिसमेत थिएन । मैले मृतकलाई बचाउनका लागि भरमग्दुर प्रयत्न गरी उपचार गर्दा लागेको खर्चसमेत व्यहोरोको छु । पुनरावेदन अदालतले फैसलामा उल्लेख गरेको नजीर र प्रस्तुत मुद्दाको तथ्य फरक भएकोले यस मुद्दामा उक्त नजीर आकर्षित हुन सक्दैन । त्यसकारण पुनरावेदन अदालत, इलामको फैसला त्रुटीपूर्ण हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ र ६ नं. को व्यवस्थालाई समेत ध्यान दिई इन्साफ गरी पाऊँ भन्ने व्यहोराको प्रतिवादीले यस अदालतमा दिएको पुनरावेदनपत्र ।
दशी भनेको चीज वस्तु बरामद भएको नदेखिएको र प्रतिवादीले भिमबहादुर विष्टलाई मार्नेसम्मको कारण भई उक्त दशी भनेको वस्तु प्रयोग भएको भन्ने तथ्य स्पष्ट नभएको अवस्थामा शुरू झापा जिल्ला अदालतको राय सदर गरेको पुनरावेदन अदालत, इलामको फैसला फरक पर्न सक्ने हुनाले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०७०।१।२ को आदेश ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट विद्वान अधिवक्ता दिनानाथ पराजुलीले प्रतिवादीले मृतकलाई मार्ने नियतले प्रहार गरेको नभई भिमबहादुर विष्टसँग परेको झगडाका कारण निज भिमबहादुर विष्टलाई प्रहार गरेको फलामको पाईप उछिट्टिएर मृतकलाई लाग्न गएको हो । मृतकलाई मार्ने योजना र मनसाय प्रतिवादीको रहेको छैन । मृतक घाइते रहेको अवस्थामा निजको उपचार खर्च प्रतिवादीले व्यहोरेको छ । त्यसकारण प्रतिवादीलाई भवितव्यतर्फ सजाय गर्नुपर्नेमा १३(३) नं.बमोजिम सजाय हुने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छैन भनी बहस गर्नुभयो । यस्तै प्रत्यर्थी/वादी नेपाल सरकारका तर्फबाट विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरेले प्रतिवादीले भिमबहादुर विष्टलाई प्रहार गरेको फलामको पाईपले निज भिमबहादुर विष्ट छलिएका कारणले मृतकको टाउकोमा लाग्न गएको र सोही चोटका कारणले मृतकको मृत्यु भएको देखिन्छ । प्रतिवादीले फलामको पाईप जस्तो जोखिमी हतियार प्रयोग गरेको छ । यस्तो स्थितिमा ज्यानसम्बन्धी महलको ५, ६ नं.आकर्षित हुन नसक्ने हुँदा प्रतिवादीलाई १३(३) नं.बमोजिम सजाय हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेको छ भनी बहस गर्नुभयो ।
अब पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले मृतक अनिता विश्वाको टाउकोमा फलामको पाईपले हिर्काएको र सोही चोटका कारणले मृतकको मृत्यु भएकोले निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गरी पाऊँ भन्ने अभियोग माग दावी रहेको छ ।
२. प्रतिवादीले आफू र भिमबहादुर विष्टका बीचमा झगडा परेकोले नचिनेका राईको घर आँगनमा रहेको फलामको पाईप ल्याई भिमबहादुर विष्टलाई हान्दा निज भिमबहादुर विष्ट छलिएका कारणले सो फलामे पाईपको चोट मृतकका टाउकामा पर्न गई निज मृतकलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको र उपचारको क्रममा अपरेसन गर्दा निजको मृत्यु भएको भन्ने व्यहोराको बयान अनुसन्धान अधिकारी र अदालतमा समेत गरी आफूले प्रहार गरेको फलामको पाईपको चोटका कारणले मृत्यु भएको तथ्यलाई स्वीकार गरेको देखिन्छ । टाउकोमा गम्भीर चोट परेको भन्ने कोशी अञ्चल अस्पतालको रिपोर्ट, टाउकोको हड्डी फुटेर भित्र दबेका कारण अप्रेसन गर्नुपर्ने भन्ने बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिपोर्ट, अप्रेसन गर्ने क्रममा मृत्यु भएको भन्ने पश्चिम बंगाल न्यूरो रिसर्च सेन्टर प्रा.लि.को मृत्यु प्रमाणपत्र एवं टाउकोमा गम्भीर चोटका कारण मृतकको मृत्यु भएको भन्ने प्राविधिक स्वास्थ्य केन्द्र मंगलबारे, मोरङको मिति २०६५।७।२४ को शव परीक्षण प्रतिवेदनबाट देखिएको छ । यस्तै प्रतिवादीका साक्षी भोलानाथ उप्रेतीले प्रतिवादीले भिमबहादुर विष्टलाई फलामको पाईपले हिर्काउन लाग्दा पछाडि रहेकी मृतक अनिता विश्वालाई लाग्न गएको तथ्य खुलाई अदालतमा बकपत्र गरेको देखिन्छ भने जाहेरवालाले अदालतमा बकपत्र गर्दा जाहेरी दरखास्तमा भएको व्यहोरा ठीक हो भनी जाहेरी दरखास्तलाई स्वीकार गरी बकपत्र गरेको देखिन्छ । यसरी माथि उल्लेखित आधार प्रमाणहरूबाट प्रतिवादीले भिमबहादुर विष्टलाई प्रहार गरेको फलामको पाईप मृतक अनिता विश्वाको टाउकोमा लाग्न गई सोही चोट पीरबाट मृतकको मृत्यु भएको पुष्टि हुन आयो ।
३. पुनरावेदकले आफूले भिमबहादुर विष्टलाई हानेको फलामको पाईप झुक्किएर मृतकको टाउकोमा लाग्न गएकोले भवितव्यबाट मृतकको मृत्यु भएको हुँदा ज्यानसम्बन्धीको ५ नं. र ६ नं.बमोजिम सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकीर लिएको पाइन्छ । ज्यानसम्बन्धी महलको ५ नं. मा “ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने व्यवस्था रहेको छ । फलामको पाईप जस्तो जोखिमी वस्तुले प्रहार गर्दा त्यसको चोटबाट मानिस मर्न सक्छ भन्ने कुरा सामान्य समझको मानिसले सम्झन र बुझ्न सक्दछ । वयस्क यी प्रतिवादीलाई पनि फलामको पाईपले हान्दा त्यसको चोटबाट मानिस मर्न सक्छ भन्ने कुराको ज्ञान थिएन भन्न नसकिने हुँदा ज्यानसम्बन्धीको ५ नं. मा उल्लेखित व्यवस्था प्रस्तुत मुद्दामा आकर्षित हुने देखिएन । यस्तै ज्यानसम्बन्धी महलको ६ नं. मा उल्लेख भएअनुसार प्रतिवादीले एउटा कामको निमित्त सावधानीसँग प्रहार गरेको वा होस् नपुर्याई वा हेलचेक्रयाई गरी प्रहार गरेको वा रक्षा शिक्षा गर्ने उद्देश्यले प्रहार गरेको भन्ने कुरा पनि मिसिलबाट नदेखिएको हुँदा सोही महलको ६ नं. बमोजिम सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकीरसँग पनि सहमत हुन सकिएन ।
४. प्रतिवादी र भिमबहादुर विष्टका बीचमा झगडा परेको कुरामा विवाद छैन । सोही विवादका कारण प्रतिवादीलाई भिमबहादुर विष्टसँग रिस उठेको र सो रिसका कारण नाम थाहा नभएको राईको घरबाट फलामको पाईप ल्याई सो फलामको पाईपले भिमबहादुरलाई प्रहार गर्दा निज भिमबहादुर छलिएका कारणले मृतकको टाउकोमा लाग्न गई मृतकको मृत्यु भएको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको छ । प्रमाण ऐन, २०३१ को दफा ९(१) मा “मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजका विरूद्ध प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्था रहेकोले प्रतिवादी ज्ञानबहादुर भट्टराईले अनुसन्धान अधिकारी र अदालतसमक्षसमेत स्वीकार गरेको उक्त बयान निजका विरूद्ध प्रमाणमा लिन मिल्ने हुन्छ । प्रतिवादीको मृतकलाई मार्ने मनसाय नरहेको भए पनि निज प्रतिवादीले भिमबहादुर विष्टसँग झगडा भएपछि झगडा भएको ठाउँबाट भागेर गई फलामको पाईप ल्याई भिमबहादुर विष्टलाई प्रहार गर्ने कार्यबाट नै निजको भिमबहादुर विष्टलाई मार्ने नियत रहेको थियो भन्ने देखिन्छ । किनभने झगडा भएको ठाउँबाट भागेर गई ल्याएको फलामको पाईप जस्तो जोखिमी वस्तुले प्रहार गर्ने कार्यलाई ज्यान मार्ने नियतले नभई असल नियतले गरेको कार्य मान्न मिल्दैन । एउटा अपराध गर्ने उद्देश्यले गरिएको आपराधिक कार्यबाट अर्को आपराधिक कार्य हुन गएमा पछिल्लो आपराधिक कार्य गर्ने मनसाय नभएको भन्ने आधारमा प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन सक्दैन, सरेको मनसाय (Transferred malice) को सिद्धान्तअन्तर्गत कसूरदार कायम हुन्छ भन्ने फौजदारी न्यायको सिद्धान्त रहेको छ ।
५. “लक्षित व्यक्तिउपर कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्को अनिच्छित व्यक्तिउपर भएमा पनि सोही अपराध मानिन्छ । एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्को अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अवस्थामा कर्ताको अपराधिक मनसाय समाप्त भएको मानिने नभई सरेको (Transferred) मानिने हुँदा मनसाय प्रेरित हत्या हुने भनी” नेपाल सरकार विरूद्ध टेकबहादुर रेउलेसमेत भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०६१, फागुन, नि.नं. ७४६६, पृष्ठ १४८६) र “आफ्नो कामको दायित्त्वबाट उन्मुक्ति पाउनलाई आफ्नो काम कानूनसम्मत छ भनी देखाउनै पर्ने हुन्छ । यदि कामको प्रकृति नै गैरकानूनी छ र त्यसले दुष्परिणाम ल्याउँछ भने त्यहाँ उसको गैरकानूनी मनसाय र काम विस्तृत भई पीडित भएको अन्य व्यक्तिसम्म सरेको हुन्छ भनी मान्नु पर्ने” भनी नेपाल सरकार विरूद्ध कन्हैया राय कुर्मीसमेत भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०६४, भदौ, नि.नं. ७८४४, पृ. ५४९) मा यस अदालतबाट सरेको मनसायको व्याख्या भएको छ ।
६. प्रस्तुत मुद्दामा पनि प्रतिवादीले भिमबहादुर विष्टलाई मार्ने नियतले फलामको पाईपले हिर्काएकोमा भिमबहादुर विष्ट सो फलामको पाईपको चोटबाट छलिएका कारणले उक्त फलामको पाईप मृतकका टाउकोमा लाग्न गई सोही चोटबाट मृतकको मृत्यु हुन गएको देखिन आएकोले उक्त व्याख्या प्रस्तुत मुद्दामा समेत आकर्षित हुन आयो । तसर्थ मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा भएको व्यवस्था, यस अदालतबाट भएको व्याख्या र मुद्दाको तथ्य तथा सबूद प्रमाणहरूसमेतका आधारमा प्रतिवादीले ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को कसूर गरेको देखिएकोले निज प्रतिवादी ज्ञानबहादुर भट्टराईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्याई पुनरावेदन अदालत, इलामबाट मिति २०६७।१।१९ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन ।
७. प्रतिवादीलाई १० वर्ष कैद हुन उपयुक्त हुने भनी पुनरावेदन अदालतबाट साधक जाहेर गरी व्यक्त गरेको रायका सम्न्धबमा विचार गर्दा भिमबहादुर बिष्टसँग उठेको तत्कालको रिसका कारणले फलामको पाईपले निज भिमबहादुरलाई प्रहार गर्दा मृतकलाई लाग्न गएको कारणले मृतकको मृत्यु हुन गएको देखिँदा प्रतिवादीको मृतकलाई मार्ने मनसाय रहेको देखिँदैन । प्रहार गरेको हतियार धारिलो रहेको छैन । घाईते अवस्थामा रहेकी मृतकलाई बचाउन भरमग्दूर प्रयत्न गरी उपचार खर्चसमेत यी प्रतिवादीले गरेकोमा उपचारको क्रममा गरिएको शल्यक्रिया पश्चात् पनि निको नभई मृतकको मृत्यु भएको देखिन्छ । यसरी घटना हुँदाको परिस्थिति र घटनापश्चात् प्रतिवादीको कार्य र व्यवहार हेर्दा निजलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने देखिएको र १० वर्ष कैद गर्दा ऐनको मकसदसमेत पूरा हुने भएकोले निज प्रतिवादी ज्ञानबहादुर भट्टराईलाई मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैद सजाय हुने भनी व्यक्त भएको रायसमेत मनासिब हुँदा सदर हुने ठहर्छ । फैसलाको जानकारी प्रतिवादीलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.रामकुमार प्रसाद शाह
इति संवत् २०७० साल पुस १७ गते रोज ४ शुभम् ......
इजलास अधिकृतः- किशोर घिमिरे