शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०६७ - अंश चलन

भाग: ५५ साल: २०७० महिना: माघ अंक: १०

नेकाप २०७०        अङ्क १०           नि.नं.९०६७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

फैसला मिति : २०७०।३।१९।४

०६७-CI-०००१

 

मुद्दा : अंश चलन ।

 

पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने सूर्यमानको छोरा वर्ष ७६ को लालबहादुर महर्जन

विरूद्ध

प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने शेरबहादुरको छोरा उमेश महर्जन

०६७-CI-०००३

पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने लालबहादुरको छोरा बाबुकृष्ण महर्जन

विरूद्ध

प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने शेरबहादुरको छोरा उमेश महर्जन

 

§  वादी पक्षको नाममा कुनै सम्पत्ति दर्ता रहेको छ भन्ने मात्रै आधारले अंशबण्डाको ३० नं. आकर्षित हुने र वादीले अंश नपाउने भनी अर्थ गर्न नमिल्ने ।

§  वादी प्रतिवादीहरूका बीचमा अंशबण्डा भई सकेको भन्ने सम्बन्धमा अंशबण्डाको लिखत पनि नभएको र व्यवहार प्रमाणबाट अंशबण्डा भई सकेको भनेर देखिने कुनै कागज प्रमाण पनि दाखिल हुन नसकेको अवस्थामा प्रत्यर्थी वादीले अंश नपाउने भन्न नमिल्ने ।

(प्रकरण नं.२)

§  प्रतिवादीले मोहीयानीमा प्राप्त गरेको भनेको जग्गा निजले निजीरूपमा प्राप्त गरेको भन्ने नदेखिई बाबुको नाममा रहेको मोहीयानीको जग्गा मोही नामसारी गराई प्राप्त गरेको अवस्था देखिँदा बाजेको मोहीयानी जग्गाबाट सगोलको अंशियार वादीले पनि अंश नपाउने भन्न नमिल्ने ।

(प्रकरण नं.३)

 

 

शुरू फैसला गर्ने :           

      मा.न्या.श्री मेघनाथ भट्टराई

पुनरावेदन तहमा फैसला गर्ने :              

मा.न्या.डा.श्री हरिवंश त्रिपाठी

      मा.न्या.श्री दिनेशकुमार कार्की

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र विद्वान अधिवक्ता पुरूषोत्तम ढुंगाना

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता बद्रीप्रसाद शर्मा र विद्वान अधिवक्ता राधेश्याम पराजुली

अवलम्बित नजीर :

§  सर्वोच्च अदालत बुलेटिन, वर्ष १७, अङ्क ९, २०६५

सम्बद्ध कानून :

§  मुलुकी ऐन, अंश बण्डाको ३० नं.

 

फैसला

न्या.कल्याण श्रेष्ठ : शुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदन परी उक्त निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएकोले पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार      :–

      बाजे सूर्यमानका ३ छोराहरूमा जेठो जगतबहादुर भन्ने सुर्जबहादुर, माइलो विपक्षी लालबहादुर, कान्छो म फिरादीका पिता शेरबहादुर हुन् । जेठो जगतबहादुर भन्ने सुर्जबहादुरको विवाह नहुँदै मृत्यु भै सकेको छ । माइलो विपक्षी लालबहादुर र कान्छो म फिरादीका पिता शेरबहादुरका बीचमा अंशबण्डा नहुँदै पिता शेरबहादुरको मिति २०४७।३।१२ मा र आमा ज्ञानी महर्जनको मिति २०५९।५।१७ मा मृत्यु भै सकेको छ । पिता शेरबहादुरको हक खाने हकदारमा म फिरादी उमेश महर्जन, विपक्षीहरू हरिबहादुर, रामकृष्ण, अविवाहित छोरी सिरमै र राममायासमेत जना ५ छौँ । हामी अंशियारका बीच अंशबण्डा भएको छैन । यसरी हामी अंशियारका जिम्मामा रहेका बण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्री सम्पत्ति दुई भागको एक भाग म फिरादीका पिता शेरबहादुरको अंश लाग्दछ भने सो एक भागमा माथि उल्लेख भएबमोजिम हामी ५ अंशियार रहेकोले विपक्षीहरूबाट बण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्री सम्पत्तिका तायदाती फाँटवारी लिई कानूनबमोजिम पिता शेरबहादुरको अंश भागबाट पाँच भागको एक भाग अंश दिलाई चलनसमेत चलाई पाऊँ भन्नेसमेत व्यहोराको मिति २०५९।८।२० को फिरादपत्र ।

      वादीले लिएको तथ्य एवं नाता सम्बन्धमा हामीहरूले खण्डन गरी रहनुपर्ने अवस्था छैन । हामीहरू पनि वादीसरहकै अंशियार भएकोले दण्ड सजायको १८ नं.बमोजिम हामीहरूले पनि अंशभाग छुट्‍याई लिन पाउने हुँदा हाम्रोसमेत अंश भाग छुट्‍याई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू हरिबहादुर महर्जन र रामकृष्ण महर्जनको संयुक्त प्रतिउत्तर जिकीर ।

      विपक्षीको फिराद दावी झूठ्ठा हो । वादीलाई मैले अंश दिनुपर्ने होइन । जेठो जगतबहादुर भन्ने सुर्जबहादुर महर्जनलाई मैले नै पालन पोषण गरेको हुनाले निजको अपुताली मैलेमात्र पाउने हो । मसँग बण्डा गर्नुपर्ने सम्पत्ति छैन । काठमाडौ जिल्ला, चोभार भुतखेल गा.वि.स. वडा नं. ८(क) कि.नं. २६२, २६३ र ३५६ को जग्गाहरू मैले भूमिसुधार कार्यालयको मिति २०५२।११।११ को निर्णयबमोजिम मालपोत कार्यालय, कलंकीबाट मिति २०५२।११।१५ र.नं. ४६११ को मोही छोडपत्रको लिखतबाट प्राप्त गरेको हो । उक्त जग्गा सम्मानीत सर्वोच्च अदालतको मिति २०५२।५।८ को फैसलाबमोजिम मेरो हक हुन आएको हो । मसँग तहतह मुद्दा गरी मोहियानी बापतबाट प्राप्त जग्गाहरू मात्र रहेको छ । मोहीयानीबाट प्राप्त जग्गा अंशबण्डा लाग्दैन । यी वादीका बाबु शेरबहादुर र मेरोबीचमा पहिले नै अंशबण्डा भै आआफ्नो खती उपती गरी खाई आएका छौँ । यी वादीको समेत साक्षी राखी काठमाडौं जिल्ला, चोभार भुतखेल गा.वि.स.वडा नं. ८(ख) कि.नं १ को जग्गा कित्ताकाट गरी कि.नं ४३० क्षे.फ १० जग्गा मिति २०५२।२।५ को र.नं. ७६३१ को हा.ब. को लिखत पारीत गरी अर्जुन बस्नेतलाई दिईसकेको छ र हाल पनि यी वादीको आमाको नाममा क्षे.फ.३३ जग्गा रहेको छ । परम्परामा नरम गरम मिलाई अंशबण्डा भै सकेकोले वादीलाई मैले अंश दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लालबहादुर महर्जनको प्रतिउत्तर जिकीर ।

      यी वादीका बाबु शेरबहादुर र मेरो पिता लालबहादुरको बीचमा पहिले नै अंशबण्डा भै आआफ्नो खती उपती गरी खाई आएका छौं । यी वादीको आमाको नाममा नै पैत्रिक सम्पत्ति रहेको छ । यी वादीको आमाको नाममा काठमाडौ जिल्ला, चोभार भुतखेल गा.वि.स.वाड नं. ८(ख) कि.नं २, १४, ४३१ जग्गा रहेको छ । सोही जग्गाबाट यी वादीले अंश पाउने हो । परम्परामा नरम गरम मिलाई अंशबण्डा भै सकेकोले वादीलाई मैले अंश दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी बाबुकृष्ण महर्जनको प्रतिउत्तर जिकीर ।

      हामी वादीको अविवाहित बहिनीहरू हौं । वादीबाट हामीले अंश पाउनुपर्ने हो भन्नेसमेत व्यहोराको अ.बं १३९ नं.बमोजिम बुझिएका राममाया महर्जन र सिरमै महर्जनले गरेको बयान ।

      शुरू अदालतको आदेशानुसार मिति २०५२।२।५ को र.नं. ७६३१ को हा.ब.को लिखतको प्रमाणित प्रतिलिपि सम्बन्धित कार्यालयबाट प्राप्त भै मिसिल संलग्न रहेको कि.नं. ३५७, २६२ र २६३ को जग्गाहरू जग्गाधनी र मोहीका बीचमा मुद्दा चली सम्मानीत सर्वोच्च अदालतबाट भएको फैसलाको प्रतिलिपि प्रतिवादीबाट दाखेल भै मिसिल संलग्न रहेको ।

      कि.नं. ३५७, २६२ र २६३ को जग्गाहरू जग्गाधनी र मोहीका बीचमा मुद्दा चली सम्मानीत सर्वोच्च अदालतबाट भएको फैसलाको प्रतिलिपि प्रतिवादीबाट दाखेल भै मिसिल संलग्न रहेको ।

      शुरू अदालतको मिति २०६३।६।३० मा भएको आदेशानुसार वादी प्रतिवादीबाट अंशियारबीच बण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी पेश भै तायदाती फाँटवारीमा उल्लेखित केही घरजग्गाहरूको दर्ता स्रेस्ता सम्बन्धित मालपोत कार्यालयबाट प्राप्त भै मिसिल संलग्न रहेको ।

      यसमा वादी प्रतिवादीहरू अंशियारनाताको भएकोमा विवाद नहुँदा र लालबहादुरले बाबु सुर्जबहादुरका नामबाट मोही नामसारी गराएका जग्गा प्रतिवादी लालबहादुर महर्जनको निजी मान्न नमिल्ने हुँदा वादी प्रतिवादीबाट पेश भएको तायदाती फाँटवारीमा उल्लेखित दर्ता स्रेस्ता कायम रहेको सम्पत्तिलाई २ खण्ड गरी सो २ खण्ड वादीका बाबु शेरबहादुरको भाग हुने र शेरबहादुर महर्जनको १ भागलाई ५ खण्ड गरी ५ खण्डको १ खण्ड अंश हक यी वादीले छुट्‍याई लिन पाउने ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतको मिति २०६४।११।२९ को  फैसला ।

      शुरूको फैसलामा चित्त बुझेन । विपक्षी वादीलाई मैले अंश दिनुपर्ने होइन । विपक्षीका पिताले पहिले नै अंश लिई भिन्न भएका हुन् । अंश बण्डा नै हुने मानेकै खण्डमा पनि मेरो कि.नं २६२ र २६३ को जग्गा बण्डा हुने कुरा कत्ति पनि मिलेको छैन । विपक्षीको आमाका नाउँमा रहेका जग्गाको सम्बन्धमा फैसलामा कही कतै उल्लेख भएको छैन । तसर्थ शुरूले एकतर्फी गैर कानूनीरूपमा गरेको फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकीरबमोजिम गरिपाऊँ भन्नेसमेत प्रतिवादी लालबहादुर महर्जनको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

      शुरूको फैसलामा चित्त बुझेन । तहतह अदालतबाट फैसला भई पिता लालबहादुर मोही कायम भै मोहीहक बापत प्राप्त जग्गा बण्डा लाग्ने होइन र प्रतिवादीका आमाका नामका जग्गाको विषयमा फैसलामा केही बोलिएको छैन र लालबहादुरको नाउँको कि.नं. २६२ र २६३ को जग्गामात्र बण्डा हुने ठहर गरेको शुरूको त्रुटिपूर्ण फैसला बदर गरी मेरो प्रतिउत्तर जिकीरबमोजिम गरिपाऊँ भन्नेसमेत प्रतिवादी बाबुकृष्ण महर्जनको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

      यसमा पुनरावेदक प्रतिवादी लालबहादुर महर्जनले मोही हकबापत प्राप्त निजी आर्जनको जग्गामा समेत बण्डा लाग्ने गरी शुरू अदालतबाट भएको फैसला फरक पर्न सक्ने देखिएकोले अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने लालबहादुरको पुनरावेदन मिसिलमा मिति २०६६।१।२९ मा र यसै लगाउको दे.पु.नं. २२८३ को मुद्दामा आजै प्रत्यर्थी झिकाउने आदेश भएकोले उक्त मुद्दासँग प्रस्तुत मुद्दा अन्तर्प्रभावी हुँदा यसमा पनि अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने बाबुकृष्ण महर्जनको पुनरावेदन मिसिलमा मिति २०६६।१।२९ मा पुनरावेदन अदालत, पाटनबाट भएको आदेश ।

      सम्मानीत सर्वोच्च अदालतबाट प्रकाशित बुलेटिन वर्ष १७ अङ्क ९, २०६५, पूर्णाङ्क ३८७ को पृष्ठ २ मा प्रकाशित पुनरावेदक।प्रतिवादी सानु महर्जनसमेत प्रत्यर्थी।वादी जानुका महर्जन भएको अंश चलन मुद्दामा विवादका कि.नं १३४४ र २०९९ को जग्गा सानु महर्जनले मोहीहक बापत प्राप्त गरेको भनी सो जग्गा र त्यसमा बनेको घरसमेत निजी आर्जनको भएको बण्डा गर्नु नपर्ने सम्पत्तिको महलमा समावेश गरी तायदाती फाँटवारी प्रस्तुत गरिएकोमा मूल पुरूषले त्यसरी सबै अंशियारहरू एकासगोलमा नै रहे भएको अवस्थामा प्राप्त गरेको त्यस्तो सम्पत्ति निजी आर्जनको भै निजबाट अंश प्राप्त गर्ने अंशियारहरूमा बण्डा गर्नु नपर्ने भनी अर्थ लगाउने हो भने अंश हक र अंशबण्डाको औचित्य नै नरहने अवस्थाको सिर्जना हुन जान्छभन्नेसमेत फैसलामा व्याख्यान भएको देखिंदा पुनरावेदक प्रतिवादी लालबहादुरले निजीरूपमा मोहीयानी प्राप्त गरेको नभै आफ्ना बाबुको नामको मोही नामसारी गराएको हुँदा प्रतिवादीका बाबु तथा वादीका बाजे सूर्यमान महर्जनको नाममा रहेको मोहीयानीको जग्गा निजका सन्तानका लागि पैतृक सम्पत्ति भएको मानिने हुँदा बाजे सूर्यमान महर्जनका नाममा रहेको मोहीयानी रहेको जग्गाबाट यी प्रत्यर्थी।वादीले अंश पाउने नै देखिन आएबाट यी पुनरावेदक/प्रतिवादीले मोही नामसारी गराएको भरमा मात्र बण्डा नलाग्ने भन्न मिल्ने देखिंदैन । अतः माथि विवेचित आधार प्रमाणबाट वादीले अंश पाउने देखिंदा तायदाती फाँटवारीमा उल्लेखित दर्ता स्रेस्ता कायम रहेका सम्पत्तिलाई २ खण्ड गरी सो २ खण्डको १ खण्ड वादीका बाबु शेरबहादुरको भाग हुने र शेरबहादुर महर्जनको १ भागलाई ५ खण्ड गरी ५ खण्डको १ खण्ड अंशहक यी वादीले छुट्‍याई लिन पाउने ठहर्‍याई काठमाडौ जिल्ला अदालतले मिति २०६४।११।२९ मा गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।२९।२ को फैसला ।

      पुनरावेदन अदालतले फैसला गर्दा वादी प्रतिवादी भिन्न भएको प्रमाणहरूलाई बेवास्ता गरी अंशबण्डाको ३० नं. को कानूनको व्याख्यामा गम्भीर कानूनी त्रुटी गरिएको छ । व्यवहारमा अंशबण्डा भै सकेको भनी उल्लेख गर्नुको अर्थ विपक्षीका बाबु र हामीबीच मिति २०३४।९।२७ अघि नै घरसारमा बण्डा भई सकेको भन्ने नै हो । पुनरावेदन अदालतको फैसलामा अंशबण्डाको १८ नं. को कानूनी व्यवस्थासमेत गम्भीर कानूनी त्रुटि छ । निजी आर्जनको मोहीयानी जग्गा बण्डा लगाउने गरी भएको उक्त फैसला ने.का.प.२०५७, नि.नं ६९१९, अङ्क ६, , पृष्ठ ५५० मा प्रतिपादित नजिरसमेतको विपरीत छ । अतः विपक्षीका जग्गाहरू बण्डा नलगाई मेरो सम्पत्तिबाट मात्र बण्डा लगाउने गरी भएको फैसलाबाट मुलुकी ऐन, अंशबण्डाको १, , ३ र २० नं. समेतको व्याख्यामा गम्भीर कानूनी त्रुटि भएको र सर्वोच्च अदालतबाट प्रतिपादित नजीरसमेतको त्रुटि गरी फैसला भएको पुनरावेदन अदालत, पाटनको फैसला दोहोर्‍याई हेरिपाऊँ भनी प्रतिवादी लालबहादुर महर्जन र प्रतिवादी बाबुकृष्ण महर्जनले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्‍याई पाऊँ भन्ने विषयको छुट्टाछुट्टै निवेदनपत्र ।

      यसमा पेश भएको लालबहादुर महर्जनले नानी रैकाबाट प्राप्त गरेको मोहियानी हकको प्रमाणको विवेचना नगरी बाजे सूर्यमानबाट आएको मोहीयानी हकको सम्पत्ति पैतृक ठहरिने भन्ने र वादीको आमाको नाममा अलग सम्पत्ति रही निजले बिक्री वितरण गरेतर्फको सम्पत्तिको प्रमाणको मूल्याङ्कन नगरी वादी दावी ठहर गर्ने गरी जिल्ला अदालत, काठमाडौंबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको इन्साफमा अंशबण्डाको १८ नं., ३० नं., प्रमाण ऐन, २०३१ को दफा ३, ५४, अ.बं. को १८४(क) नं., १८५ को व्याख्यात्मक त्रुटि र ने.का.प.२०४०, अङ्क ७, नि.नं. ३२७८, ने.का.प.२०४४, अङ्क ११, पृष्ठ ११९२, ने.का.प. २०५०, नि.नं. ६९१९, अङ्क ६, ७ पृष्ठ ५५० मा प्रतिपादित सिद्धान्त विपरीत भई इन्साफ फरक पर्ने देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने २०६६–RI–०५५१ र ०६६–RI–०५५० का दुबै निवेदनमा यस अदालतबाट मिति २०६७।३।२३।४ मा भएको आदेश ।

      यसमा अदालतबाट मिति २०६७।३।२३ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याई पाऊँ भन्ने दुबै निवेदन नै पुनरावेदनको रूपमा दर्ता हुन आएको ।

      नियमबमोजिम मुद्दा पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का र विद्वान अधिवक्ता श्री पुरूषोत्तम ढुंगाना तथा प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री राधेश्याम पराजुलीले गर्नु भएको बहस जिकीरसमेत सुनियो ।

      उल्लिखित बहस जिकीरलाई मनन गर्नुका साथै मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरी पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन र पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

      यसमा हामी वादी प्रतिवादीका बीचमा अंशबण्डा नभएको हुँदा हामी जिम्मामा रहेको बण्डा गर्नुपर्ने चल अचल सम्पत्ति दुई भाग लगाई सोमध्ये एक भाग सम्पत्ति हामी वादीका पिताको अंश भाग लाग्ने हुँदा सो एक भाग मध्येबाट पिता शेरबहादुरको अंश खाने हामी ५ अंशियार हुँदा सो सम्पत्तिलाई पाँच भाग लगाई सोमध्येको एक भाग अंश म वादीलाई दिलाई चलनसमेत चलाई पाऊँ भन्ने वादीको फिराददावी देखिन्छ । हामी पनि वादीसरहकै अंशियार हुँदा हामीले पनि अंश छुट्‍याई पाऊँ भन्ने प्रतिवादीहरू हरिबहादुर महर्जन र रामकृष्ण महर्जनको प्रतिउत्तर जिकीर रहेको देखिन्छ । मसँग बण्डा गर्नुपर्ने सम्पत्ति छैन । मसँग मोहीयानीबाट प्राप्त जग्गाहरूमात्र हुँदा त्यस्तो जग्गा बण्डा लाग्दैन । वादीका बाबु र मेराबीच पहिला नै अंशबण्डा भई सकेको छ । वादीको आमाकै नाममा पैतृक सम्पत्ति छ । वादीका आमाले निज वादीलाई साक्षी राखेर हा.ब. गरी जग्गासमेत हस्तान्तरण गरेको प्रमाण हुँदा अंशबण्डा भई सकेको अवस्थामा वादीलाई अंश दिन पर्ने होइन भन्ने व्यहोराको प्रतिवादी लालबहादुरको प्रतिउत्तर जिकीर रहेको देखिन्छ । प्रतिवादी लालबहादुर महर्जनले निजीरूपमा मोहियानीमा जग्गा प्राप्त गरेको नभई बाबुको मोहीयानीबापतको जग्गा प्राप्त गरेको हुँदा सो सम्पत्तिलाई प्रतिवादीको निजी आर्जनको भनी मान्न नमिल्ने र त्यस्तो सम्पत्तिबाट वादीले अंश नपाउने भन्नसमेत नमिल्ने भनी वादीले प्रतिवादीबाट पेश भएको तायदाती फाँटवारीमा उल्लेखित सम्पत्तिबाट वादीले अंश पाउने ठहर्‍याई काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालत, पाटनले सदर गरेको अवस्था प्रस्तुत मुद्दामा देखिन्छ । उक्त दुबै अदालतको फैसलामा अंशबण्डाको ३० नं. को कानूनी व्याख्यात्मक त्रुटि हुँदा मुद्दा दोहोर्‍याई  इन्साफ पाऊँ भनी परेको निवेदनमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रूपमा दायर हुन आएको अवस्था देखियो ।

      २. निर्णयतर्फ विचार गर्दा वादी प्रतिवादीहरू अंशियार रहेकोमा विवाद देखिंदैन । पुनरावेदक प्रतिवादीले अ.बं. ३० नं. बमोजिम वादीका पितासँग घरसारमै अंशबण्डा भई आआफ्नो भागको सम्पत्ति खती उपती गरी भोगचलन गरेको भनी जिकीर लिएको भए पनि सो कुरालाई तथ्यसहित कुन मितिमा बण्डा भएको हो भन्ने कुरालाई पुष्टि गर्न सकेको देखिंदैन । वादी पक्षको नाममा कुनै सम्पत्ति दर्ता रहेको छ भन्ने मात्रै आधारले अंशबण्डाको ३० नं. आकर्षित हुने र वादीले अंश नपाउने भनी अर्थ गर्न पनि  मिल्दैन । वादी प्रतिवादीका बीचमा अंशबण्डा भई सकेको भन्ने कुराको प्रमाणस्वरूप रजिष्ट्रेशन पास भएको कुनै लिखत वा घरसारको कुनै व्यवहार प्रमाण पुनरावेदक प्रतिवादीको तर्फबाट प्रस्तुत गरी प्रतिउत्तर जिकीरलाई प्रमाणित गराउन सकेको देखिँदैन । वादी प्रतिवादीहरूका बीचमा अंशबण्डा भई सकेको भन्ने सम्बन्धमा अंशबण्डाको लिखत पनि नभएको र व्यवहार प्रमाणबाट अंशबण्डा भई सकेको भनेर देखिने कुनै कागज प्रमाण पनि दाखिल हुन नसकेको अवस्था हुँदा प्रत्यर्थी वादीले अंश नपाउने भन्न मिल्ने भएन ।

      ३. मोहीयानीबाट प्राप्त गरेको जग्गा बण्डा नलाग्ने भनी पुनरावेदकले जिकीर लिएतर्फ हेर्दा प्रतिवादी लालबहादुरले मोहीयानीमा प्राप्त गरेको भनेको जग्गा निजले निजीरूपमा प्राप्त गरेको भन्ने नदेखिई बाबु सूर्यमान महर्जनको नाममा रहेको मोहीयानीको जग्गा मोही नामसारी गराई प्राप्त गरेको अवस्था देखिंदा बाजे सूर्यमानको मोहीयानी जग्गाबाट सगोलको अंशियार वादीले पनि अंश नपाउने भन्न मिलेन । मूल पुरूषबाट मोहीयानीको जग्गा प्राप्त गरेको विषयमा यस अदालतबाट पुनरावेदक।प्रतिवादी सानु महर्जनसमेत प्रत्यर्थी।वादी जानुका महर्जन भएको अंश चलन मुद्दामा फैसला हुँदा मूल पुरूषले त्यसरी सबै अंशियारहरू एकासगोलमा नै रहे भएको अवस्थामा प्राप्त गरेको त्यस्तो सम्पत्ति निजी आर्जनको भै निजबाट अंश प्राप्त गर्ने अंशियारहरूमा बण्डा गर्नु नपर्ने भनी अर्थ लगाउने हो भने अंश हक र अंशबण्डाको औचित्य नै नरहने अवस्थाको सिर्जना हुन जान्छभनी सिद्धान्त प्रतिपादन भई सर्वोच्च अदालत बुलेटिन वर्ष १७, अङ्क ९, २०६५, पूर्णाङ्क ३८७, पृष्ठ २ मा प्रकाशित रहेको समेत हुँदा यी पुनरावेदक प्रतिवादी लालबहादुरका पिता तथा प्रत्यर्थी वादी उमेश महर्जनका बाजे सूर्यमानले मोहीयानीमा प्राप्त गरेको जग्गा नै प्रतिवादी लालबहादुरले मोही नामसारीबाट प्राप्त गरेको अवस्था देखिन्छ । वादी प्रतिवादीका बीच अंशबण्डा भएको पारीत लिखत पनि नभएको र घरसारमा अंशबण्डा भई सकेको भन्ने प्रमाण पनि नभएको अवस्था हुँदा वादी प्रतिवादीका बीच अंशबण्डा भै सकेको भन्न नमिली प्रतिवादीले पेश गरेको तायदाती फाँटवारीमा उल्लेखित सम्पत्तिबाट वादीले अंश पाउने नै देखिन आयो ।

      ४. अतः प्रतिवादीबाट पेश भएको तायदाती फाँटवारीमा उल्लेखित दर्ता स्रेस्ता कायम रहेका सम्पत्तिलाई २ खण्ड गरी सो २ खण्डको १ खण्ड वादीका बाबु शेरबहादुरको भाग हुने र शेरबहादुर महर्जनको १ भागलाई ५ खण्ड गरी ५ खण्डको १ खण्ड अंश हक यी प्रत्यर्थी वादीले छुट्‍याई लिन पाउने ठहर्‍याई शुरू काठमाडौ जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।२९ को फैसला मिलेकै देखिंदा उक्त फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाश वस्ती

 

इति संवत् २०७० साल असार १९  गते रोज ४ शुभम्.......

इजलास अधिकृतः बाबुराम सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु