निर्णय नं. २४९ - जालसाजी

निर्णय नं. २४९ ने.का.प. २०२१
सर्वोच्च अदालत फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री
न्यायाधीश श्री भैरबप्रसाद उपाध्याय
न्यायाधीश श्री वासुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
फौ.फु.नं. ६१
निवेदकतर्फ : देवलक्ष्मी अमात्यनी जिल्लै बुटौल तप्पे खुटहट मोजे परासी
विरुद्ध
प्रतिवादी : गंगाकुमारी अमात्यनीसमेत जिल्लै बुटौल तप्पे खुटहट मौजे सवारी कर
मुद्दा : जालसाजी
(१) लेनदेन मुद्दामा अन्तिम टुङ्गो नलागी डिग्री नभई साहुले असामीको जेथा रोक्का राख्न जेथाउपर दावा गर्न नपाउने ।
सावाँ व्याजमा नालेस दिंदा रोक्कासमेत रहेकोमा प्रतिवादीहरूले जालसाजबाट बेदामे राजिनामा खडागरे भन्ने वादी दावी पुग्न सक्ने नसक्ने के हो भनी हेर्दा, आसामीउपर साहुले कपालीमा सावाँ व्याज भराई पाउँ भनी दावा गरेको मुद्दामा असामीको जेथा रोक्का हुने र अन्तिम डिग्री नहुँदै जेथामा साहुको दैया पुग्न सक्ने कानूनी व्यवस्था नदेखिएको दर्तावाला प्रतिवादी गंगाकुमारीले बिक्री गरेको जेथा धितो रहेको भन्ने पनि देखिन नआएको र छलफलमा निवेदककातर्फबाट नजीरमा देखाइएको राजदेवी हलवाइनीको र जोगबहादुर तुलाधरको धनमाल मुद्दा र अर्को सम्झावती, जग साहु रौनिहारको जालसाजी मुद्दाहरू यही मुद्दा अनुरुप नदेखिएको, कपाली साहु निवेदीकाको धितो रहेको अचल जेथामा दावी पुग्न सक्ने कुनै कानूनी आधार बेगर वादी दावी पुग्छ भन्न नमिलेकोले वादी उजुर खारेज गर्ने गरेको सदर ठहराएको इन्साफ १९।१०।२८।१ को डिभिजन बेञ्चको मनासिव ठर्हछ ।
(प्रकरण नं. १३)
निवेदकतर्फ : प्लीडर मिनमर्दन बस्नेत ।
प्रतिवादीतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी ।
फैसला
१. यसमा प्र.गंगाकुमारीले मबाट जम्मा कं.रु. ६८५० लिएकी सावाँ व्याज नबुझाएमा मैले नालेस दिंदा मुद्दा किनारा नलागेसम्म सवा टिकर मौजा रोक्कासमेत गरी पास नगर्नु भन्ने जनाउ पालीमालमा गएकोमा के जाल गरेछन भने कल्पित अङ्क ९२९८।। मा सो जिमिदारी ०३१।११।२० गते गंगाकुमारीको छोरी रुकमिणी जग्गा लिने निजको ससुरा विष्णुभक्त रामहर्ष साहु बनी गणेशनारायण साक्षी नरेन्द्रकुमार लेखक भई कपाली तमसुक खडा गरी ०१३।११।२१।२ मा रौतहट मालमा पास गरेका रहेछन सो कुरा ऐ.२२ गते नक्कल सारी थाहा पाएकोले नालेस गर्न आएको छु । रुकमिणीको नाउँमा दर्ता बाहालसमेत गरी नदिनु भन्ने र जालसाज गरी बेदामे राजिनामा खडा गरे गराउमा सजायसमेत गरी पाउँ भन्नेसमेत वादी ।
२. जालसाज गरी बेदामे लिखत पास गराएको हैन लिनु दिनु भई लिखत भएको हो भन्नेसमेत गङ्गाकुमारी, गणेशनारायण, रुकमिणी, विष्णुभक्त, खगेश्वर मिश्र, शिवनारायण मल्लिक, नरेन्द्रकुमारसमेत जना ७ को प्रतिवादी ।
३. लेनदेन मुद्दा थैली भरी पाउने भइ अन्तिम टुङ्गो लागी भराई पाउँ भन्ने दर्खास्त परेका बखतमात्र दावी पुग्न सक्ने वादीको दावी नै नभएको जग्गा दर्तावालाले बिक्री गरेकोमा जालसाजी भन्न नहुनेसमेतबाट हाल दावी नै पुग्न नसक्ने जग्गा जालसाजबाट लिनु दिनु गरेको बदर हुनुपर्ने भन्ने वादीको यो उजुर खारिज हुने ठर्हछ भन्नेसमेत परासी अमीनीको ०१४।८।९।१ को फैसला ।
४. मेरो रुपैयाँ झुस्याउनाको लागी अन्याय गंगाकुमारी, गणेशनारायण, रुकमिणीसमेत मिली बेदामे जालसाजी राजिनामा खडा गरी बेइलाका रौतहट मालमा गई पास गरेको सोझै जालसाजी देखिने हुनालेसमेत शुरुको इन्साफ चित्त बुझेन भन्नेसमेत वादीको अपील ।
५. गंगाकुमारीको हकको हाल सुक्रीबिक्री भएको जिमिदारी जग्गा दर्तावाला गंगाकुमारीले आवश्यक परी बिक्री गरेकोमा बिक्री गर्न नपाउँदा जालसाजी गरेको भन्ने ठहराउन मनासिव नपरेकोसमेतबाट वादीको उजुर खारेज गर्ने ठहराएको इन्साफ शुरुको मनासिव छ भन्ने बुटौल अपीलको ०१५।१।२२।१ को फैसला ।
६. सच्चा व्यवहार भए कान्छो छोरा गणेशनारायणलाई साक्षी राख्ने गंगाकुमारीले आफ्नो जेठो छोरा मेरो लोग्ने हरिनारायणलाई पनि साक्षी राख्नु पर्ने नसकेकीबाटै जालसाजी गरेको देखिएकोसमेतबाट अपीलको इन्साफ चित्त बुझेन भन्नेसमेत वादीको अपील ।
७. शुरुको सदर गरी बुटौल अपीलले छिनेको इन्साफ मनासिव छ भन्ने सर्वोच्च अदालत पश्चिम दौडाहा सिंगलबेञ्च भैरहवा मुकामबाट भएको ०१५।१०।२१।३ को फैसला ।
८. पश्चिम दौडाहा सिंगलबेञ्चले गरेको इन्साफ चित्त बुझेन रिभ्यू गरी पाउँ भन्ने वादीको निवेदनमा प्रमाणलाई आएको लेनदेन मुद्दामा प्र.गंगाकुमारीको जेथा जिरायत गंगाकुमारीले अरुलाई कुनै किसिमको पास गर्न आए पास गरी नदिनु भन्ने पाल्ही माललाई ०१३।३।३० मा परासी अमीनीबाट लेखी गई रोक्का रहेको देखिन आएकोसमेतबाट रिभ्यूको निस्सा गरी दिएको छ भन्ने ०१६।६।१६।६ को सिंगलबेञ्चको आदेश ।
९. जालसाजबाट बेदामे राजिनामा खडा गरे भन्नेसमेत वादीले कुनै सबुद प्रमाण पुर्याउन गुजार्न नसकेकोलेसमेत शुरु अपीलले खारेज गर्न गरेको इन्साफ मनासिव गरी छिनेको सर्वोच्च अदालत पश्चिम दौडाहाको इन्साफ मनासिव छ भन्ने ०१७।३।९।४ को सिंगलबेञ्चको फैसला ।
१०. सिंगलबेञ्चले गरेको फैसला चित्त बुझेन इन्साफ जाँची पाउँ भन्ने वादीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए मुद्दा दोहर्याई हेरी ऐन सवालबमोजिम इन्साफ जाँची किनारा गरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०१८।९।१३।४ को हुकुम प्रमांगी ।
११. प्रतिवादीहरूले गरेको राजिनामा बदर गर्नलाई हकदारको तहबाट भएको नभई साहुको तहबाट उजुर गर्न आएको यस्तो कुनै साहुले आफ्नो लेनदेनमा दावा दिंदा साथै असामीको जेथा रोक्का गर्न गराउन पाउने कानूनी व्यवस्था नभएको र कपालीको साहुले कपाली रुपैयाँको डिग्रीसम्म पनि नभई असामीको अरु जेथाको हकदैया पुग्ने मानिस हुन भनी नालेस गरेकोबाट इन्साफ दिन पनि मनासिव नभएकोले खारेज गर्न गरेको शुरु अपील सर्वोच्च अदालत पश्चिम दौडाहा सिंगलबेञ्च तथा सर्वोच्च अदालत सिंगलबेञ्चको मनासिव ठर्हछ भन्ने ०१९।१०।२८।१ को डिभिजन बेञ्चको फैसला ।
१२. अन्यत्र जेथा बिक्री गर्लान भनी जेथा रोक्कासमेत गरी राख्नु भन्ने मालमा रोक्कासमेत भईसकेपछि इलाका छली रौतहट मालमा गई जालसाजबाट पास गरेको देखिएको । त्यसको ख्यालै नगरी मलाई हराई फैसला गरेको डिभिजन बेञ्चको फैसला चित्त बुझेन दोहर्याई पाउँ भन्नेसमेत वादी देवलक्ष्मीको निवेदनपत्र परी श्रीमाननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा मबाट सासु गंगाकुमारीले कं.रु. ६८५० लिनु भएको नदिएकीले त्यसको सावाँ व्याज भराई पाउँ भनी मैले इलाका अदालत परासीमा फिराद गरेपछि जालसाज गरी जायजेथा दवाई मेरो रुपैयाँ खाई दिने विपक्षीले कुनै षडयन्त्र गर्न नपाउने भनी निज सासु गंगाकुमारीका नाउँको जग्गा रोक्का राखी पाउँ भनी इलाका अदालतमा निवेदन गरी रोक्का रहेपछि सासु गंगाकुमारीले दिने निजकै छोरी रुकमिणीले लिने रुकमिणीको ससुरा विष्णु भएको, रुपैयाँ परेको देखाउनेसमेत गरी ०१३।११।२१ मा बेइलाका रौतहट मालमा गई नभएको कं.रु. ९२९८।। थैली देखाई रोक्का रहेको मौजाको बेदामे जालसाजी राजिनामा पास गरी लिनु दिनु गरेछन् । सो कुरा थाहा पाई म्यादै भित्रै उजुर गरेकोमा खारेज हुँदा डिग्री भएको रुपैयाँ मैले भराई माग्न नपाएकी र छोराको नाउँमा बेदामे पास गराई मेरो रुपैयाँ टोली विपक्षी सासुले जग्गा अद्यावत आफै चलन गरेकी हुँदा उचित न्याय पाइन भनी निवेदकले रोहवरमा जिकिरसमेत गरेकीले व्यहोरा साँचो भए अन्याय परेकै जस्तो देखिनाले दोहर्याई हेर्न निस्सा दिएको छ । दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत ०१९।११।१९।१ को आदेश ।
१३. तारेखमा रहेका निवेदीका देवलक्ष्मी र प्रतिवादीहरूको वारेससमेत राखी गत आश्विन ७ गते पेश भएकोमा निवेदीककातर्फका विद्वान प्लीडर मिनमर्दन बस्नेतको र प्रतिवादीतर्फका विद्वान एडभोकट कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा सावाँ व्याजमा नालेस दिंदा रोक्कासमेत रहेकोमा प्रतिवादीहरूले जालसाजबाट बेदामे राजिनामा खडा गरे भन्ने वादी दावी पुग्न सक्ने नसक्ने के हो भनी हेर्दा, आसामीउपर साहुले कपालीमा सावाँ व्याज भराई पाउँ भनी दावा गरेको मुद्दामा आसामीको जेथा रोक्का हुने र अन्तिम डिग्री नहुँदै जेथामा साहुको दैया पुग्न सक्ने कानूनी व्यवस्था नदेखिएको दर्तावाला प्रतिवादी गंगा कुमारीले बिक्री गरेको जेथा धितो रहेको भन्ने पनि देखिन नआएको र छलफलमा निवेदीकातर्फबाट नजीरमा देखाइएको राजदेवी हलवाइनीको र जोगबहादुर तुलाधरको धनमाल मुद्दा र अर्को सम्झावती जग साहु रौनियारको जालसाजी मुद्दाहरू यही मुद्दा अनुरुप नदेखिएको, कपाली साहु निवेदीकाको धितो नरहेको अचल जेथामा पुग्नसक्ने कुनै कानूनी आधार बेगर वादी दावी पुग्छ भन्न नमिलेकोले वादी उजुर खारेज गर्ने गरेको सदर ठहराएको इन्साफ १९।१०।२८।१ को डिभिजन बेञ्चको मनासिव ठर्हछ । निवेदक देवलक्ष्मी को इन्साफ दोहराएमा यस अघिको डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रु. ३।९९ को अ.बं. २०४ नं. ले दशौंद रु. ।४० पैसा जरिवाना लाग्छ रुजु हुँदा असुल गर्न तहसिलमा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०२१ साल आश्विन १४ गते रोज ३ शुभम्