निर्णय नं. २५१ - बन्दी प्रत्यक्षीकरणको रीट जारी गरी पाउँ भन्ने

निर्णय नं. २५१ ने.का.प. २०२१
डिभिजन बेञ्च
न्यायाधीश श्री रत्नबहादुर विष्ट
नयायाधीश श्री स.इश्वरीराज मिश्र
रीट नं. ३३
निवेदक : डम्बरबहादुर खत्री क्षेत्रीका हकमा भोलाबहादुर खत्री ।
विरुद्ध
विपक्षी : श्री ५ को सरकार उ.का.डि.एस.पी. अफिस ।
विषय : बन्दी प्रत्यक्षीकरणको रीट जारी गरी पाउँ भन्ने
(१) ऐनको अख्तियार बेगर बेरीतसँग थुनिएको भए बन्दी प्रत्यक्षीकरणको रीट जारी गर्न मिल्ने ।
का.मे.अ.को ०२१।६।७।३ को जवाफबाट निवेदकको बाबु डम्बरबहादुर खत्रीलाई यो ऐन अन्तर्गत पक्राउ गरी अड्डा सार चलान गरेको भन्ने र का.डि.पि. अफिसले यो कानूनको रीत पुर्याई पूर्जि दिन पक्री थुनेको र चलान गरेको भनी जवाफ दिन नसकेको देखिएकोबाटसमेत ऐनको आधार बेगर बेरीतसँग थुनेको देखिन आएको हुँदा संविधानको धाराहरू अन्तर्गत रीट जारी गर्नुपर्ने देखिएकोले निज डम्बरबहादुर खत्री अझै थुनामै भए तुरुन्तै रिहाई गरिदिनु ।
(प्रकरण नं. ७)
आदेश
१. डि.एस.पी. अफिसका नाउँ नजानेका पुलिसहरू जवान ३ ले मेरा बाबुलाई यही भाद्र १७ गते अन्दाजी ९ बजेको टायममा डेरामा आई पक्राउ गरी लगी अन्न पानीसमेत बन्द गरी थुनी राखेका र कुन अभियोगमा थुनेको हो ? थाहा नभएको, बाबु पेटको बेथाले बिरामी भई औषधी गरी आएकोमा लेखिएबमोजिम खानसमेत नदिई थुनी राखेको र बाबुको हालत सारै खराब भईसकेको छ भन्ने बुझिएकोले संविधानको धारा ७१ र धारा ११ को उपधारा ६।७ नागरिक अधिकार ऐन, २०१२ को दफा १५ को उपदफा १।२ बमोजिम नगरी थुनामा राखेकोले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट फुर्सत गराई पाउँ भन्नेसमेत ०११।५।२४।३ को भोलाबहादुर खत्रीको निवेदनपत्र ।
२. पेटको बेथाले बिरामी भई औषधीउपचार गरी आएकोमा थुनी केही खान भेट गर्नसमेत नदिएको भन्ने निवेदनमा उल्लेख भएको हुनाले के कसो भएको हो ? र निवेदकका मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले ७ दिनभित्र एटर्नी जनरल अफीसमार्फत लिखित जवाफ पठाउनु होला, निवेदनपत्रको उल्लेख गरिएबमोजिम थुनामा रहेको डम्बरबहादुर बिरामी भए निजको स्वास्थको पनि उचित विचार गर्नु होला भनी रीटको निवेदन पत्रको १ प्रति नक्कल साथै राखी विपक्षीलाई सूचना पठाई बोधार्थ एटर्नी जनरल अफीसमा पनि दिनु र जवाफ आएपछि यो म्याद नाघेपछि पेश गर्नु भन्ने ०२१।५।२५।४ कोमाननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
३. मु. डम्बरबहादुर खत्रीक्षेत्रीलाई पक्राउ गरी पू. १ नं. सिं.पा.ई. (चौतारा) जिल्ला पञ्चायत कार्यालयमा बुझाई दिनु भन्ने ०२१।५।४।४ का काठमाडौं मेजिष्ट्रेटका पत्रानुसार डिल्लीबजार पुलिस थानामा लेखि पठाएकोमा उक्त थानाबाट पक्राउ गरी ०२१।५।२० का पत्र साथ दाखिल गरेकोले मेजिष्ट्रेटको अफीसका पत्रबमोजिम पूर्व १ नं. सिं.पा.इं (चौतारा) जिल्लापञ्चायत कार्यालयमा अड्डासारा पठाएको हो भन्ने समेत ०२१।५।३१ को डि.एस.पी. अफीसको लिखित जवाफ ।
४. मू. डमबरबहादुरलाई के अपराधमा कुन कानून अन्तर्गत पक्राउ गरी अड्डासारा पठाएको हो ? हाल निज कुन स्थितिमा छ र निजलाई बन्दीबाट छाडि दिनु भनी किन आदेश नहुनुपर्ने हो ? ३ दिन भित्र एटर्नी जनरल अफीसमार्फत प्रष्टिकरण सहितको लिखित जवाफ पठाउनु होला र बहसमा सरकारी वकील उपस्थित गराउनु होला रीटको निवेदनपत्रको एकप्रति नक्कल साथै राखी का.मे.अ.लाई सूचना पठाई बोधार्थ एटर्नी जनरल अफीसमा दिनु र पेश गर्नु भन्नेसमेत ०२१।६।२।५ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
५. पूर्व १ नं. सि.पा.ई. पहुल्सी आलामछाप बहुमुखी सहकारी संस्था सभापति ऐन आलामछाप बस्ने मू. डम्बरबहादुर खत्रीसमेतले ०२०।२।८ को कबुलियत अनुसार लिएको ऋण रु. २००००। जिल्ला पञ्चायत कार्यालय बनेपाबाट सयकडा २ ले व्याज र ६ महिनाको एक किस्ता रु. ६६६६।६७ का दरले डेढवर्ष भित्रमा ३ किस्ता गरी बुझाउन पर्ने नबुझाएको र संस्थाको कार्य सञ्चालन राम्ररी नचलेको भन्ने ज्ञात भएको हुँदा सोधपुछ निमित्त जिल्ला पञ्चायत कार्यालयबाट पुर्जी पठाई झिकाउँदा हाजिर नभई वेपत्ता भएको र हाल नक्साल भगवती बाहालमा बसेको छ भन्ने ज्ञात भएको हुँदा पक्राउ गरी पठाई दिनु भनी लेखि आएकोले डि.एस.पी. अफीसद्वारा नै जिल्ला पञ्चायत कार्यालयमा अड्डा सारा चलन भई गएको हो भन्नेसमेत ०२१।६।७।३ को मेजिष्ट्रेट अफीसको लिखित जवाफ ।
६. “के अपराध कुन कानून अन्तर्गत पक्राउ गरी अड्डासारा पठाएको हो हाल निज डम्बरबहादुर कुन स्थितिमा छ ३ दिन भित्र एटर्नी जनरल अफीसमार्फत स्पष्टिकरण सहित लिखित जवाफ पठाउनु होला बहसमा सरकारी वकिल पनि उपस्थित गराउनु होला भनी मेजिष्ट्रेट अफीसमा आदेश भई गएकोमा जिल्ला पञ्चायत कार्यालय सिन्धुपाल्चोकका ०२१।५।४।४ का पत्रबमोजिम निज डम्बरबहादुर अड्डासारा पठाएको हो भन्नेसमेत पत्रसाथ जिल्ला पञ्चायत कार्यालयको सक्कल पत्रसमेत सोझै यस अदालतमा पठाएको देखिनाले बहसमा सरकारी वकिल उपस्थित हुनु होला भनी एटर्नी जनरल अफीसमा पेश हुने दिन टायमसमेत दिई सूचना पठाई दिनु र डिभिजन बेञ्चमा पेश गर्नु भन्नेसमेत ०२१।६।८।४ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
७. यसमा का.मे.अ. को ०२१।६।७।३ को जवाफबाट निवदकको बाबु डम्बरबहादुर खत्रीलाई यो ऐन अन्तर्गत पक्राउ गरी अड्डासारा चलान गरेको भन्ने का.डि.एस.पी. अफीसले यो कानूनको रीत पुर्याई पूर्जी दिई पक्रे थुनेको र चलान गरेको भनी जवाफ दिन नसकेको देखिएकोबाटसमेत ऐनको आधार बेगर बेरीतसँग थुनेको देखिन आएको हुँदा संविधान धारा ७१ अन्तर्गत रीट जारी गर्नुपर्ने देखिएकोले निज डम्बरबहादुर खत्री अझै थुनामै भए तुरन्त रिहाई गरी दिनु र सहकारी संस्थाको धन बेहिसाब गरेको भए कानूनको रीत पुर्याई कारवाई गर्नु भनी जि.पं.आ चौतारालाई लेखी पठाउनु र आदेशानुसार कारवाई भए नभएको सर्वोच्च अदालतलाई सूचना दिनु भनी का.मे.अ. लाई लेखी पठाई नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०२१ साल कार्तिक २६ गते रोज ४ शुभम् ।