शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

भाग: साल: २०२१ महिना: बैशाख अंक:

निर्णय नं. २५२           ने.का.प. २०२१

डिभिजन बेञ्च

न्यायाधीशज्यू श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री स.ईश्वरीराज मिश्र

रीट नं. ३/

निवेदक : हरिलाल विष्ट मार्मा मटेला ।

विरुद्ध

विपक्षी : डोटी अपीलका का.मु. हाकिम ना.सु.कोषराज उपाध्यायसमेत ।

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१)   जग्गाको हक बेहकसम्बन्धी झगडा मालको अधिकार क्षेत्र भित्र नपरी अदालतको अधिकार क्षेत्र भित्र पर्ने ।

            “९५ सालमा नापीमा बबा सुना सिंका दर्ता बाबु मरी म पवन सिंका हक भएको कुलादेखी पूर्व, कान्ला ढुङ्गा जाने मल्लाबाटादेखि पश्चिम ठाडा धारदेखि दक्षिण दली विष्टदेखि उत्तरको कि.नं. १६१ को तिरो रु. ।५।१ को बडो गडोसमेतलाई सिमाना फरक पारिबाटादेखि पूर्व डिलदेखि पश्चिम, ठाडाबाटादेखि दक्षिण, सानो बडार ठाडोबाटो उत्तरको ढुग्याडी गडो भनी हरिलाल विष्टले दोहरा पारी नाप जाँच गराएको लगत कट्टी गरी पाउँभन्ने विपक्षी जयबहादुरको बाबु पठान सिंको उजुरी बयान भई साविक दर्ता र हाल अवादीमा तेरो मेरो परेको प्रष्टै देखिन आएपछि तत्कालै मुलुकी सवाल फुटकर बारेको दफा ४ समेतको सवाल र कानूनबमोजिम तेरो मेरोमा हक बेहक गराई माग्न अदालतमा उजुर गर्न जानु भनी सुनाउन पर्ने । सोबमोजिम तेरो मेरोमा हक बेहक गराई माग्न अदालतमा उजुर गर्न जानु भनी सुनाउन पर्नेबमोजिम नगरी आफूलाई भएको अधिकार भन्दा बढी कुरामा ठहर र जरिवानासमेत गरी बैतडी मालबाट ०१४।१२।५ मा गरेको पर्चालाई मान्यता नदिई जग्गा तेरो मेरो परेको कुरामा अदालतबाट इन्साफ गरेको अदालतको अधिकार भित्रकै देखिएबाट सो अदालतको इन्साफ बदर गरी पाउँ भन्ने यो रीटको निवेदन माग मनासिव नदेखिएकोले खारेज हुने ठर्हछ ।

(प्रकरण नं. १०)

निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी

 

आदेश

      १.     तिरो रु. ।५।१ को बले गडो पाखो जग्गा हरिलालले दोहरा पारे भनी बैतडी मालमा उजुर परेको मेरो वारेसलाई मिलाई किल्ला सच्याउने तवरबाट बयान गराइ मेरो जग्गा हरिलालको हक गराई पर्चा खडा गरेकोले दोहरा दर्ता बदर गरी पाउँ भनी विपक्षी दार्चुला अमिनीमा फिराद गरेकोमा मैले दोहरा दर्ता गरेको छैन, आवाद लायकको जग्गा हुँदा दर्ता गराएको हुँ र बैतडी मालबाट पर्चा भएको हो भनी प्रत्युत्तर दिएपछि दोहरा दर्ता गरेकै ठहर्छ भनी अमिनीले गरेको फैसला सदर गरी अपीलबाट ०१६।८।१४ मा फैसला भएको ।

      २.    अ.बं. ११० नागरिक अधिकार ऐनको दफा ११(२) र संविधानको ३(४) अनुसार छिन्ने हाकिमउपर अपील नभई उसै झगडियाउपर फिराद नलाग्ने । एक व्यक्तिउपर त्यसै अपराधमा एकपटक भन्दा बढ्ता मुद्दा नचलाइने र दण्ड सजाय नलाग्नेमा उक्त ०१४।१२।५ को बैतडी मालको पर्चाबमोजिम अपील उजुर गर्न नसकी सोही कुरामा अमीनी, अपीलबाट जरिवाना गरी फैसला गरेको ऐन विरुद्ध हो र माल अड्डाबाट भएको जरिवाना लगत कट्टा नगरेसम्म सदरै हुने अपील गर्न नसकी अकाट्य भएको फैसला छँदाछँदै दोहरा फिराद पत्र दर्ता गरी फैसला गरेको उक्त ऐनले बदर हुने ।

      ३.    मालबाट भएको पर्चाउपर उजुर सुनी बदर गर्न अमीनीलाई अधिकारसमेत नभएको हुँदा उल्लेखित ऐन कानूनको मर्यादा कायम राखी अधिकार नाघी गरेको कारवाई फैसला बदर गर्नुपर्ने हुँदा सर्वोच्च अदालत ऐनको दफा ११ संविधानको धारा ९ अनुसार उत्प्रेषणको रीट वा जुन उपयुक्त छ जारी गरी मालको पर्चा सदर गरी मेरो प्रदत्त अधिकारको वास्ता नगरी हदमुनी गरी अपील फैसला गरेको हुनाले अमीनी अपीलको गैरकानूनी फैसला बदर गरी मेरा उपरोक्त अधिकार संरक्षण गरी पाउँ भन्नेसमेत हरिलाल विष्टको ०१६।११।२।१ को निवेदनपत्रमा यो निवेदनपत्र सिंगलमा दर्ता गरिदिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      ४.    हरिलाल विष्टले उत्प्रेषणको रीट जारी गरी पाउँ भनी निवेदन दिनुभएको हुनाले त्यसको १ प्रति नक्कल यसैसाथ पठाई दिएको छ । सबै व्यहोरा त्यसबाट बिदितै गर्नु भई केके भएको हो सबै विवरण खुलाई यो आदेश दाखिल भएको मितिले ७ दिन भित्र लिखित जवाफ पठाइ दिनु भनी विपक्षीहरूलाई लेखी पठाई जवाफ आएपछि पेश गर्नु भन्ने ०१६।११।२।१ को सिंगलबेञ्चको आदेश ।

      ५.    पठान सिंको मञ्जुरनामासमेत पेश गरी दुवैको मञ्जुरीबाट किल्ला सच्याएको भन्ने नदेखिएको, वारेसले मिलापत्र गर्न हक छोड्ने मञ्जुरनामा लिखत गरी दिन अ.बं. ८९ नं. ऐनको ३ दफा (क) र अरु कुनै कानूनले पनि नपाउने । त्यसरी अर्काको हक जानेमा थाहा पाएको ३५ दिन भित्र नालेस गर्न पाउने हक अ.बं. १११ नं. मा उल्लेख भईरहेकै, नक्साबाट झगडा परेका जग्गा वादीको जग्गाको किल्ला भित्रै परेको देखिएको दर्ता तिरो भोग गरी घर धुरीसमेत खडा गरी बस्ने वादीले नपाइ साविक तिरोको जग्गामा दोहरा पारी हाल अवादीमा दर्खास्त गर्ने यो निवेदकले जग्गा पाउँछ भन्न नपर्ने भएको हुनाले वादीको जग्गा कायम गरी इन्साफ गर्ने दार्चुला अमीनीको इन्साफ सदर गरी फैसला भएको हुँदा उजुरी दावीबाट फुर्सद पाउने हुँ भन्नेसमेत ०१६।१२।२८।१ को जि.न्या.का.मु. कोषराज उपाध्यायको लिखित जवाफ ।

      ६.    झगडियाको हक मेटिइ गरेको वारेसका कागजले पर्चा भएको झगडिया र वारेसका नाउँमा नालेस गरे जालसाजी गरेको ठहरे मालको पर्चा बदर हुने जालसाज नठहरे मालको पर्चा बदर हुने जालसाज नठहरे मालको पर्चा सदर हुने निवेदकको भाईले चलाएको जालसाजी मुद्दा निवेदनमा नलेखिएबाट भाईले चलाएको मालउपरको जालसाजी मुद्दा स्वीकार गरेका झगडा परेको जग्गा नक्सा दर्ता उतारसमेतका प्रमाण परिबन्दबाट जालसाज गरी वादीको जग्गा हडप गर्ने प्रयास गरेको ठहराई फैसला भएको यस मुद्दामा निवेदकले दर्शाएको हाकिमका नाउँमा कराउनेको ऐन र दण्ड सजायको ऐनलेसमेत झगडिया हक मेटाइ गरेको वारेसको कागजले उक्त ऐनबमोजिम रीटको माग जायज देखिदैन । निवेदकले मेरो बिरुद्ध अन्याय गर्यो भनी एकचोटी उजुर दिई सकेपछि मैले गरेको फैसला बदर भएको भए सजाय पाउने भएपछि सोही मुद्दामा फेरी मेराउपर रीटको माग हुन नपर्ने, अपीलबाट हदमुनी भएकोलेसम्म निजले रीटको माग गरेको हो भन्नेसमेत ०१७।१।७।३ को का.मु. न्यायाधीश नारायणप्रसाद क्षेत्रीको लिखित जवाफ ।

      ७.    मञ्जुरनामा नदिएकोमा मञ्जुरनामा दिएको भन्नेसमेत उल्लेख गरी झुट्टा निवेदन दिएको हो । मेरा बाबुको मञ्जुरनामा नै नहुनाले र वारेसले मिलेमतोबाट दिएको दर्खास्त सदर नहुने हुनाले मिसिल थान ४ बुझी अपील, अमीनीको इन्साफ सदर कायम राखी पाउँ भन्नेसमेत मार्मा मटेला बस्ने जयबहादुर सिंहको लिखित जवाफ ।

      ८.    यही पठान सिंको र हरिलालको जग्गा दोहरा दर्ता मुद्दा ०१४।१२।५ गते बैतडी मालबाट पर्चा गरेको छिनुवा मिसिल उक्त मालबाट र जयबहादुर विष्टको र हरिलाल विष्टको जग्गा जालसाजी छि.प.नं. २८८ को मुद्दा १, करवीर विष्टको र हरिलाल विष्टको जग्गा जाजसाजी छि.प.नं. २७१ को मुद्दा १, पठान सिंहको र हरिलालको छि.प.नं. ४२ को खारेजी मुद्दा १ समेत उक्त छिनुवा मिसिल दार्चुला इलाका अदालतबाट प्रमाण निमित्त झिकाइ आएपछि पेश गर्नु भन्ने ०१७।३।१४।२ को सिंगलबेञ्चको आदेश ।

      ९.    निवेदकलाई पेशीको तारेख तोकी ०१७।३।१४।२ सिंगलबेञ्चका आदेशमा उल्लेख भएको ०१४।१२।५ मा बैतडी मालबाट भएको पर्चा सहितको मिसिल ल्याउनु भनी पेशहुने दिन टायमसमेत दिइ लगत फाँटलाई लेखी पठाइ दिनु र नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०२०।११।४।१ को प्रधान न्यायाधीशज्यूको आदेश ।

      १०.    निवेदकको वा कुवेरबहादुर रोहवरमा रही पेश हुन आएकोमा निजतर्फका विद्वान वकिल एडभोकेट कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहस सुनी लगत फाँटबाट झिकाइ आएको मिसिलसमेत अध्ययन गर्दा ९५ सालका नापीमा बुबा सुना सिंहका दर्ता बुबा मरी म पठान सिंको हक भएको कुलादेखि पुर्व कान्ला ढुङ्गा जाने मल्लाबाटदेखि पश्चिम ठाडा धारदेखि दक्षिण, दली, विष्टदेखि उत्तरको कि.नं. १६१ को तिरो रु. ।५।१ को बडो गडोसमेतलाई सिमाना फरक पारिबाटादेखि पूर्व डिलदेखि पश्चिम ठाडाबाटादेखि दक्षिण सानो बडार ठाडोबाट उत्तरको ढुंग्याडी गडो भनी हरिलाल विष्टले दोहरा पारी नाप जाँच गराएको लगत कट्टी गरी पाउँ भन्ने विपक्ष जयबहादुरको बाबु पठान सिंको उजुरी बयान भई साविक दर्ता र हाल अवादीमा तेरो मेरो परेको प्रष्टै देखिन आएपछि तत्कालै मुलुकी सवाल फुटकरबारेको दफा ४ समेतका सवाल र कानूनबमोजिम तेरो मेरोमा हक बेहक गराई माग्न अदालतमा उजुर गर्न जानु भनी सुनाउन पर्ने । सोबमोजिम नगरी आफूलाई भएको अधिकार भन्दा बढी कुरामा ठहर र जरिवानासमेत गरी बैतडी मालबाट ०१४।१२।५ मा गरेका पर्चालाई मान्यता नदिई जग्गा तेरो मेरो परेको कुरामा अदालतबाट इन्साफ गरेको अदालतको अधिकार भित्रकै देखिएबाट सो अदालतको इन्साफ बदर गरी पाउँ भन्ने यो रीटको निवेदन माग मनासिव नदेखिएकोले खारेज हुने ठहर्छ । दायरीमा लगत काटी मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०२१ साल भाद्र ११ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु