शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१७७ - आफूलाई फाइदा रा.बा. बैंकलाई हानी पुर्या४ई भ्रष्टाचार गरेको

भाग: २९ साल: २०४४ महिना: मंसिर अंक:

निर्णय नं. ३१७७   ने.का.प. २०४४ अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

सम्वत् २०४२ सालको फौ.पु.नं. ४८१

मुद्दा : आफूलाई फाइदा रा.बा. बैंकलाई हानी पुर्‍याई भ्रष्टाचार गरेको ।

 

पुनरावेदक/प्रतिवादी: ललितपुर जिल्ला अरुवा राखी गा.पं. वा.नं. ५ भरुवा राखी बस्ने टंकबहादुर खत्री क्षेत्री ।

विरुद्ध

विपक्षी/वादी: श्री ५ को सरकार (विशेष प्रहरी विभाग) ।

फैसला भएको मिति: २०४४।५।२९।२ मा

    आरोपपत्रमा यस ऐनको हदम्यादभित्र दायर गरेको भन्ने उल्लेख भएको पाइँदैन यसरी अनिश्चित कालसम्म मुद्दा दायर गर्न पाउने व्यवस्था नदेखिएको हुँदा वादी दावी खारेज गर्ने गरेको वा.वि.अ.को फैसला मनासिब हुँदा सदर हुने ।

(प्रकरण नं. १७)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लवदेव भट्ट

विपक्षी, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्र कोइराला

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन गर्ने अनुमति पाई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यसप्रकार रहेछ ।

२.  टंकबहादुर खत्री क्षेत्रीले शिवकुमार अग्रवाल भन्ने व्यक्तिको नामबाट मिति ०३०।२।२८ मा रु. ५००।जम्मा गरी चल्ती खाता नं. १९४८ खोली खोल्न लगाई चेक बुक र पास बुक लिई त्यस दिन कर्जा विविध ८।१३९ को रु. १,२१,२२५।४७ कृत्रिम भौचर  तयार गरी सो कृत्रिम भौचर अनुसारको शिवकुमार अग्रवालले नं. ०३७।२२७ को रु. १,१८,०००।चेक काटी भुक्तानी दिई आफूलाई फाइदा राष्ट्रिय बाणिज्य बैंकलाई हानी पुर्‍याई भ्रष्टाचार पूर्ण कार्य गरी आएको छन् । राष्ट्रिय बाणिज्य बैंक काठमाडौं अफिसको चल्ती विभागमा बसी काम गरेको छु । ०३०।२।२८ का दिन खाता चेक गर्न दस्तखत भिडाउने काम मैले गरेको हुँदा देखाइएको नं. ०३७।२२७ मिति ०३०।२।२८ को रु. १,१८,०००।को चेक भुक्तानी दिने सिलसिलामा मैले दस्तखत भिडाएको हो । हि.नं. १९४८ को दस्तखत नमुना  कार्डमा एस.के.अग्रवालले अंग्रेजी अक्षरमा गरिएको दस्तखत र नं. ०३७।२२७ को चेकमा भएको दस्तखत भिडाई हेर्दा शिवकुमार अग्रवालको खाता खोल्ने फाराम मेरो टेबुलमा आएकोले खाता खोल्नलाई मैले मोहन सिंहलाई दिएको हो । सो खाता खोलेको फाराम र कार्ड म संग रहन्छ । ०३९।२।२८ को रु. १,२१,२२५।४७ को भौचरलाई दुर्गामान र मेनेजर गंगाप्रसादको दस्तखत भएकोले पोष्टिड्ड गरेको हुँदा भनी शिवकुमार भन्ने व्यक्तिको नामबाट नं. १९४८ को चल्ती खाता आफैंले खोली निजको कर्जा विविध ८।१०९ का रु. १,२१,२२५।४७ को भौचर अनुसारको उक्त खाता नं. १९४८ मा जम्मा भएको रकम झिक्न भुक्तानी लिन व्यक्तिको नामबाट काटिएको नं. ०३७।२२७ को रु. १,१८,०००।मिति ०३०।२।२८ को चेकमा भए गरेको सही दस्तखतसंग नमुना  कार्डमा भएको दस्तखत आफैंले भिडाई हेरी जाँची भुक्तानी दिनको लागि चेक पास गरी मेनेजर समक्ष पठाएकोमा आफूले जाँच गरेको चेकमा भएको दस्तखत मुनी अण्डर लाइन भएको दस्तखत नमुना  कार्डमा दस्तखत नमुना  मुनी अण्डर लाइन नभएको त्यस्तो चेकको भुक्तानी दिई भ्रष्टाचार पूर्ण कार्य गरी आएकोमा निज टंकबहादुर खत्री क्षेत्री साविती हुनुको अतिरिक्त गैरकानूनी तरिकाले भुक्तानी लिने कार्यमा निज टंकबहादुरले परीपञ्च मिलाई चेकमा गरेको दस्तखत र दस्तखत नमुना  कार्डमा भएको दस्तखत भिडाई हेरी जाँची ठिक मिलेमा मात्र भुक्तानीको लागि चेकपास गर्नु पर्नेमा सो नगरी दस्तखत नमुना  कार्डमा भएको दस्तखतसंग चेकमा गरेको दस्तखत नभिडाई नजाँची नहेरी भुक्तानीको लागि पास गरी दिनुबाट निज टंकबहादुर दोषी भएको प्रमाणित हुन आएको छ । कसूरमा निजले बदनियतपूर्ण तवरबाट भ्रष्टाचार नगरेको भए दस्तखत नमुना  कार्डमा भएको दस्तखतसंग नमिल्ने गरी दस्तखत गरी भुक्तानी के को लागि पेश गरेको चेक मौकैमा फिर्ता गरी भुक्तानी रोक्नु पर्ने थियो । सो केही नगर्नुको साथै दस्तखत नमुना  कार्ड नं. १९४८ मिति ०३०।२।२८ को रु. १,१८,०००।को चेक र अन्य बुझिएका असिमप्रसाद प्रधान, मोहन सिंह हमाल समेतले गरेको बयानबाट निज टंकबहादुर उपरको आरोप प्रमाणित हुन आएको छ । लेखा अधिकृत जस्तो ओहदामा बसेका निज टंकबहादुर के.सी.लाई कर्जा सम्बन्धी रकमको अंश राउण्ड फिगरमा हुन्छ भन्ने कुरा थाहा नहुने भन्ने पत्यार लाग्दो कुनै कुरा होइन केबल कसूरबाट उम्कने दुष्प्रयास गर्दै निजले कर्जाको रकम राउण्ड फिंगरमा मात्र हुन्छ भन्ने कुरा मलाई थाहा थिएन भनी आउनुका साथै त्यस्तो अस्वभाविक र कृत्रिम तवरबाट उठाइएको राउण्ड फिंगर नभएको रु. १,२१,२२४।४७ को कर्जा भौचरलाई मान्यता दिई पोष्टिङ गरिआउनुको अतिरिक्त उसै दिन खाता खोल्ने फाराम भर्ने भौचर भरी नगद जम्मा गर्ने लेजर पोष्टिङ गर्ने गराउने चेक बुक पास बुक दिने बुझ्ने शाखाको माल धितो राखी माल गन्ती गर्नको साथै मूल्यांकन गरी कर्जाको तमसूक, भौचर आदि बनाई भौचर पास गराई उक्त रकम चल्ती खातामा जम्मा गरी पुनः चेकबाट रुपैयाँ झिक्ने समेतको काम एकै दिनमा गर्न भ्याउन नसकिनेमा निजको बदनियती नभएको भए त्यसतर्फ सोच विचार गरी मौकैमा चेक जाँच बुझ गर्नु पर्ने गहन उत्तरदायित्व भएका निज के.सी.ले बदनियतपूर्ण तवरबाट बैंकका अन्य अरु कर्मचारी समेतलाई झोर झुकानमा पारी दस्तखत नमुना  कार्डमा भएको सहिसित समेत नमिल्ने दस्तखतलाई  मान्यता दिई भिडान गरी गैरकानूनी तवरबाट रु. १,१८,०००।झिक्ने काम गरी आउनुबाट निज टंकबहादुर के.सी. उपरको आरोपलाई पुष्ट्याई मिल्न आएको छ । उपरोक्त सबुद प्रमाणको आधारमा टंकबहादुर खत्री क्षेत्री उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अन्तर्गत कारवाही भई हदैसम्म सजायँ हुनुको साथै उक्त ऐनको दफा २९ अन्तर्गत बिगो रु. १,१८,०००।निज टंकबहादुर खत्री क्षेत्रीबाट असूल उपर गरी राष्ट्रिय बाणिज्य बैंक काडमाडौं अफिसलाई भराई दिन हुन अनुरोध छ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोपपत्र मिति ०३९।३।२१।२ मा यस अदालतमा दर्ता हुन आएको रहेछ ।

३.  रा.बा. बैंक काठमाडौं अफिसमा बसी चल्ती विभागमा काम गरेको छु । खाता चेक गर्ने र दस्तखत भिडाउने काम मैले गरेको छु । न.सि. २०३७।२२७ मिति ०३०।२।२८ को रु. १,१८,०००।को चेक हेर्दा मैले दस्तखत भिडाएको हो । शिवकुमार अग्रवालको खाता खोल्ने फाराम मेरो टेबुलमा आएकोले हेर्दा मैनेजरको दस्तखत देखि खाता खोल्नलाई मोहन सिंहलाई दिएको हो। सो खाता खोलेको फाराम भए दुई दिन पछि फाइल गरेको हुँदा खाता खोलेको फाराम र कार्ड मसंग रहन्छ । रु. १।२१।२२५।४७ को भौचरलाई दुर्गामान र मे.गंगाप्रसादको दस्तखत भएकोले पोष्टिङ गरेको हुँ सो २८ गतेको दिन खाता चेक गर्न जोशी नआएकोले उहाँको काम पनि मैले नै गरेको हुँ । रु. १,१८,०००।भुक्तानी भएको चेकको दस्तखत मैले भिडाएको हुँ । त्यस्तो चेकमा भुक्तानी गएमा मेरो केही मात्रामा गल्ती हुन्छ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा सम्मानीत सर्वोच्च अदालत डिभिजन बेञ्जबाट सफाई दिई हालसम्म बैंकको सेवा गर्दै रहेछु । विशेष प्रहरी विभागमा मिति मितिको ततिम्बा सहितको बयान स.नं. ३ को जवाफ देखी आफ्नो हस्ताक्षरबाट जवाफ लेखिएको नं. ३७ को जवाफ र नं. ५५ को जवाफहरू विशेष प्रहरी विभागले डर त्रास धम्की दिई लेखाएका हुन् । बयानमा परेको हस्ताक्षर मेरो राजी खुशी आफ्नै हो भनी सनाखत गर्दछु । खाता खोल्ने फाराममा मैनेजरको परिचय भएपछि निजलाई खाता खोलिदेउ भनेको हुन सक्दछ । मै.गंगाप्रसाद यी दुर्गामनि निजहरूले सही गरेको देखिएकोले इन्चार्जको हैसियतले सो भौचरको रिमा (र्ट) भन्ने अक्षर रातो मसीले मैले लेखी दिएको आफ्नो हस्ताक्षर हो भनी सनाखत गर्दछु । नगद विभागबाट रकम बुझी रु. ५००।को भौचरमा क्यास इन्चार्ज प्रचन्द्रमनि सिंह र क्यासियरको प्रतिनिधि राधादेवीले दस्तखत गरी पठाएको । खाता खोल्ने फाराममा मैनेजरले परिचय गरी सो इस्पेशीमेन कार्ड समेत पठाएको हो । दस्तखत भिडेर नै ठिक दुरुस्त भएर नै भुक्तानीको लागि सिफारिश गरिएको हो दस्तखत बैंकको मैनेजर गंगाप्रसाद भण्डारीको छोटकरी दस्तखत हो । सो सही पनि मैनेजर गंगाप्रसादकै हो निजले सही अंग्रेजी लिपिमा गर्नु भएको हो भन्ने समेत व्यहोराको यस अदालतमा टंकबहादुर खत्री क्षेत्रीले गरेको बयान कागज रहेछ ।

४.  विशेष प्रहरी विभागमा मिति मितिमा मैले गरेको बयान आफ्नो राजीखुशीको जवाफमा आफ्नै हस्ताक्षरबाट लेखिदिएको हुँ । सो बयानमा परेको हस्ताक्षर सही मेरो आफ्नै हो भनी सनाखत गर्दछु । यसबारे मलाई केही पनि थाहा छैन करिब १२, १३ दिन पछि यो घटना भयो भन्ने कुरा डेबुक विभागबाट डेबुक नमिल्दा सो घटना भएको कुरा थाहा पाएको हुँ हि.नं. १९४८।१४ मिति ०३०।२।२८ मा कर्जा विविधबाट जम्मा हुन आएको रकम रु. १,२१,२२५।४७ को भौचर लेखिएको अंश अक्षर हाम्रो कर्जा शाखाको कुनै पनि कर्मचारीले लेखेको जस्तो देखिँदैन र मेरो हस्ताक्षर होइन तथा इन्चार्ज भन्ने ठाउँमा गरेको हस्ताक्षर सही मेरो होइन कस्ले गरेको हो मलाई थाहा छैन शिवकुमार अग्रवाललाई म चिन्दिन भन्ने समेत व्यहोराको यस अदालतमा दुर्गामान श्रेष्ठले गरेको बयान कागज रहेछ ।

५.  अनियमित रुपबाट रु. १,१८,०००। भुक्तानी भएको देखिन आएकोले म तत्कालिन रा.बा. बैंक काठमाडौं शाखाका मैनेजर भएको नाताले अधिकार प्राप्त अधिकारी विशेष प्रहरी विभागमा अनुसन्धानको लागि अनुरोध गरेको हुँ सबै कुरा जाहेरीमा खुलाएको छु धेरै पुरानो कुरा भएकोले मलाई त्यति सम्झना हुन सकेन टंकबहादुर के.सी. जहाँसम्म मलाई लाग्छ मेरो अनुभवमा निजको अफिस सम्बन्धी कारवाही हेर्दा अनियमित काम गर्ने कर्मचारी होइन अन्य कुरा मिसिल कागजबाट ठहरे बमोजिम हुने नै हुँदा यस भन्दा अरु बढी भन्नु केही छैन । त्यसमा परेको हस्ताक्षर सहिछाप मेरो आफ्नो हो भनी सनाखत गर्दछु । कस्को हात रहेको भन्ने कुरा पत्ता लाग्न नसकी छानबीनको लागि अनुरोध गरेको छु भन्ने समेत व्यहोराको यस अदालतमा जाहेरवाला गंगाप्रसाद भण्डारीले गरेको बयान कागज रहेछ ।

६.  बयान कागज मैले गरेको हुँ र बयानमा परेको हस्ताक्षर मेरो हो हेरी सनाखत गर्दछु बयान व्यहोरा मेरो राजीखुशीको हो । उक्त व्यक्तिलाई म चिन्दिन यस विषयमा मलाई केही पनि थाहा छैन र भन्नु पर्ने केही छैन भन्ने समेत व्यहोराको यस अदालतमा खेम चन्द्र चौडरियाले गरेको बयान कागज रहेछ ।

७.  मेरो भएको व्यहोरा विशेष प्रहरी विभागमा बयान गर्दा लेखाई सकेको छु निजले किन त्यस्तो बयान लेखे म भन्न सक्दिन । निवेदन दस्तखत कार्ड र भाउचरमा भएको दस्तखत तथा हस्ताक्षरहरू को कस्का हुन् म भन्न सक्दिन २०३०।२।२८ का बीच म बिदामा बसेको हुनाले ती कागजमा मेरो दस्तखत परेको छैन । दस्तखत कार्ड नमुना  चल्ती विभागको इन्चार्जको जिम्मा रहने हो त्यति बेला सो इन्चार्जमा टंकबहादुर नै हुनु हुन्थ्यो दस्तखत कार्ड बाहेकका अरु कागजहरू मध्ये खाता खोल्ने निवेदन चल्ती विभाग नरहने र चेक तथा भाउचरहरू को कस्ले जिम्मा लिनु भएको थियो मलाई थाहा छैन भन्ने समेत व्यहोराको यस अदालतमा दुर्गाप्रसाद जोशीले गरेको बयान कागज रहेछ ।

८.  दस्तखत हेरी सो दस्तखत कस्ले लेखेको हो र त्यसमा भएको एस.एच. अग्रवाल भन्ने दस्तखत कस्को हो मलाई थाहा छैन दस्तखतमा लेखिएको मितिमा नै चल्ती विभागमा दस्तखत नमुना  कार्ड प्राप्त हुन आयो कुन व्यक्तिले उक्त विभागमा ल्यायो मलाई सम्झना भएन । उक्त निवेदन कार्ड मलाई टंकबहादुरले दिंदै मैले प्रमाणित गरी दिएको हुँ खाता खोल्नु होस भनेकाले मैले खाता खोली दिएर खाता नम्बर साथ संलग्न भइआएको रु. ५००।बुझाउने गरी लेखिएको चल्ती पूर्जामा मैले चल्ती हिसाब नम्बर लेखेर पाटीलाई नै मैले पैसा बुझाउन भनी उक्त बैंक भाउचर पूर्जा मैले फिर्ता दिएर पैसा जम्मा भएर आएपछि चेक बुक र पास बुक मैले पाटीलाई दिएको थिएँ । सो पुर्जीमा भएको दस्तखत मध्ये इन्चार्ज भन्ने लेखिएको ठाउँमा भएको दस्तखत पुर्जी विभागका इन्चार्ज दुर्गामान श्रेष्ठको हो र गंगा भन्ने दस्तखत मैनेजरको हो पुर्जाको माथि ६२।१४ लेखी दस्तखत मैले गरेको हुँ उक्त पुर्जा पोष्टिङ गरेर मैले सही गरेको हुँ । उक्त पुर्जा मेरै हातमा पर्न आयो । कुन व्यक्तिले मलाई ल्याएर दिएको हो मलाई थाहा छैन । रजिष्टर्डको मिति २०३०।२।२८ मा शिवकुमार अग्रवाल भनी लेखिएको लाइनका सबै अक्षर मेरा हुन् । चल्ती विभागमा पोष्टिङ गर्ने खाता खोल्ने आदि काम गर्न व्यक्तिहरू एकजना र सरोज ढुंगाना, असिम प्रधान, नारायणबहादुर कपाली समेतका व्यक्तिहरू थिए । हामीहरूलाई यो काम गर्ने भनी निश्चित नतोकिएकोले परिस्थिति अनुसार जे काम पर्छ त्यही गर्नु पर्दथ्यो यसै कारण २८ गते खोलिएका चल्ती खाताहरू म र अर्को एक बैंकको कर्मचारीको हस्ताबाट खाता खोल्ने काम भएको हो । शिवकुमार अग्रवाल भनी लेखिएको ठाउँमा अंश अक्षरहरू मेरो हुन चेक बुक पाटीलाई दिई सो वहीमा चढाएको हुँ छेउमा एस.एच. अग्रवाल भनी लेखिएको दस्तखत पार्टीको हो निजले यो दस्तखत मेरो आफ्नो अगाडि चेक बुक बुझी लिए भनी सही गरेको हो भन्ने समेत व्यहोराको यस अदालतमा मोहन सिंह हमालले गरेको बयान कागज रहेछ ।

९.  बयान कागजमा भएको हस्ताक्षर सही मेरो हो हेरी सनाखत गरिदिएको छु मेरो आफ्नै हस्ताले लेखेको हुँ बयान मेरो खुशीराजीको हो शिवकुमार अग्रवाल व्यक्तिलाई म चिन्दिन कागजातहरूमा भएका हस्ताक्षर तथा दस्तखतहरू को कसका हुन मलाई थाहा छैन । मलाई बैंकले ०३०।२।२ मा नियुक्ति दिई काम गराउन थालेकाले म ०३०।२।२८ मा चल्ती विभागमा नै भए तापनि म कोरा भएकाले कामको जिम्मा दिई नसकेको हुँदा उक्त दिनमा भएको काम कुरा विषयमा मलाई केही पनि थाहा छैन भन्ने समेत व्यहोराको सरोजप्रसाद उपाध्याय ढुंगानाले गरेको बयान कागज रहेछ ।

१०.  २०३०।४।१७ का वि.प्र.विभागमा भएको बयान कागजमा भएको हस्ताक्षर सही हो म आफैंले लेखिदिएको हुँ हेरी सनाखत गरिदिएको छु मेरो खुशीराजीको हो यी कागजहरू मैले बैंकमा काम गर्दा म संग सम्बन्धित हुन नआएको हुनाले को कस्को हस्ताले लेखी दस्तखत गरी पेश गरे म उक्त समयमा डेबुक अथवा बैंकको दिन दिनको कारोवार हिसाब राखिने रेकर्ड मिलाउने शाखाको प्रमुख भई काम गरेको थिएँ । ०३०।२।२८ मा मेरो विभागमा शिवकुमार अग्रवालको चल्ती हि.नं. १९४८ कर्जाबाट रु. १,२१,२२५।४७ जम्मा भएको पुर्जा आयो । त्यस पुर्जाको कट्टा भौचर आएको नदेखिएकोले कर्जा विभागमा प्रमुख दुर्गामान श्रेष्ठसंग सोद्धा यो पुर्जामा भएको सही मेरो होइन भन्नु भयो सो दिन बेलुका उक्त पुर्जा मैले सुरक्षा साथ राखी भोलिपल्ट आइतवार मैनेजर र जनरल मैनेजर सहितका व्यक्तिहरू आउनु भयो उहाँहरूलाई सबै कुरा बताएँ कट्टा भौचर नभई डेबुक मिलाउन नसकिने व्यहोरा स्पष्ट पारे उक्त पुर्जा मैले प्रशासन विभागमा सुम्पें चेकको दस्तखत भिडाई मिलेमा भुक्तानी दिने काम टंकबहादुरको हो भन्ने समेत व्यहोराको यस अदालतमा कृष्णराज श्रेष्ठले गरेको बयान कागज रहेछ ।

११.  यी कागज मध्ये ५००।कौ भौचर र चेकमा भएको सही मेरो हो हेरी सनाखत गरिदिएको छु उक्त कागजहरू कुन व्यक्तिले बैंकमा पेश गरेको हो कसले लेखेको हो मलाई थाहा छैन यी कागजहरूमा भएको गंगा भन्ने सही मैनेजरको सहीसंग केही मिल्ला जस्तो देखिए पनि यस विषयमा मलाई थाहा नभएकोले यही भन्न सक्तिन । यस अदालतमा भएको बयान सुनें ०३०।२।२८ का दिन क्यासियर अनुपस्थित भएकाले मैले क्यासियरको काम गरेको थिएँ । सो दिन रकम भुक्तानी भएका सबै मेरो टेबुलमा जम्मा हुन आयो । चेकमा सही गरी प्राप्त भएको सबै डेबुक शाखालाई डेबुक मिलाउन चेक दिएँ मैले दिँदा सो चेकको सही मुनी तेश्रो धर्को भए नभएको याद गरिन प्रतिवादीको भनाई बमोजिम बैंकका कर्मचारीले सो धर्को तानेर मलाई थाहा छैन मैले तानेको होइन भन्ने समेत व्यहोराको यस अदालतमा राधा देवी भट्टराईले गरेको बयान कागज रहेछ । प्रस्तुत मुद्दामा आरोपित वादी दावी कुन ऐनको हो कुन हदम्याद भित्र दायर हुन आएको हो, सो कुरा आरोप पत्रमा स्पष्ट हुनसकेको देखिँदैन । आरोप व्यहोरा हेर्दा शिवकुमार अग्रवालको कल्पित नाममा चल्ती खाता खोली खोल्न लगाई वा चेक काटी काट्न लगाई भुक्तानी दिई दिलाई त्यस आधारमा आफूलाई गैरकानूनी फायदा पुर्‍याएको भन्ने भएबाट उक्त वादी दावी प्रचलित कीर्ते कागजको ऐन अन्तर्गतको भन्नु परी सो ऐन विरुद्ध कसूर गरेको भन्ने कुरामा सोही महलको १८ नं. को हदम्याद भित्र दायर हुनुपर्ने देखिन आउँछ । प्रस्तुत मुद्दा सो हदम्याद भित्र पनि दायर हुन आएको नदेखिएबाट दायर रहन नसकी अ.बं. १८० नं. बमोजिम प्रस्तुत वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको वागमती विशेष अदालतको ०४०।४।२६ को फैसला ।

१२.  उक्त वागमती विशेष अदालतको इन्साफमा चित्त बुझेन । उक्त इन्साफ उल्टाई आरोपपत्र बमोजिम प्रतिवादीलाई सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकारले यस अदालतमा गरेको पुनरावेदन ।

१३.  अ.बं. ३६ नं. ले नालेश लाग्न सक्ने  हुँदा वागमती विशेष अदालतले वादी दावी खारेज गर्ने गरेको फैसला बदर गरिएको छ । कानून बमोजिम ठहर इन्साफ गर्नु भनी मिसिल वागमती विशेष अदालतमा पठाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४२।७।१९ को फैसला ।

१४. म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी टंकबहादुर क्षेत्रीको निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई फौज्दारी पुनरावेदन दायरीमा दर्ता भएको रहेछ ।

१४. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी पक्षबाट उपस्थित विद्वान अधिवक्ता श्री लवदेव भट्टको र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्र कोइरालाको बहस जिकिर समेत सुनियो ।

१५. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ त्यसमा निर्णय दिनु पर्ने देखिन आएको छ ।

१६.  निर्णयतर्फ विचार गर्दा प्रतिवादी टंकबहादुर के.सी.ले कल्पित व्यक्तिको नामबाट मिति ०३०।२।२८ मा चल्ती खाता खोली चेक बुक पास बुक दिई त्यसै दिन कर्जा विविध नं. च. १३९ को रु. १,२१,२२५।४७ कृत्रिम भौचर तयार गरी सो भौचर बमोजिमको रुपैयाँ शिवकुमार अग्रवालको कल्पित नामबाट खोलेको खातामा जम्मा गरी सोही दिन शिवकुमार अग्रवाल भन्ने कल्पित नामबाट रु. १,१८,०००।को चेक काटी काट्न लगाई भुक्तानी दिलाई आफूलाई गैरकानूनी फाइदा रा.वा. बैंक काठमाडौंलाई गैरकानूनी हानी पुर्‍याई भ्रष्टाचार पूर्ण कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अन्तर्गत कारवाही भई हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको मुख्य दावी देखियो ।

१७. भ्र.नि. ऐन, २०१७ अन्तर्गत दायर हुने मुद्दामा दफा २०(३) मा संगठित संस्थामा बहाल रहेको कुनै राष्ट्र सेवकले परिच्छेद २ अन्तर्गत सजायँ हुने कसूर गरेको अभियोगको सिलसिलामा विशेष प्रहरी अधिकृतले मौका तहकिकात र अनुसन्धान गरेपछि विशेष प्रहरी विभागले त्यस्तो राष्ट्र सेवकलाई विभागीय सजायँ दिन राय ठहरसाथ सम्बन्धित संगठित संस्थाको अधिकार प्राप्त अधिकारी छेउ पठाउन सक्नेछ भन्ने र दफा २४(१) मा सरकारी राष्ट्र सेवक भए त्यस्तो सजायँ उपर पुनरावेदन परेकोमा सोको निर्णय भएपछि वा म्याद नाघे पछि मुद्दा दायर गर्ने कुरा उल्लेख भएको र दफा २४(२) मा गैरसरकारी राष्ट्रसेवक उपर मुद्दा चलाउन श्री ५ को सरकारको स्वीकृति लिइरहनु पर्दैन भन्ने प्रष्ट व्यवस्था भएको देखियो । प्रस्तुत मुद्दामा जुन राष्ट्र सेवकले परिच्छेद २ अन्तर्गतको कसूर गरेको छ त्यसमा सर्वप्रथम निजलाई विभागीय सजायँ दिई तत्पश्चात निजका उपर अदालती कारवाही चलाउनु पर्नेमा प्र.टंकबहादुरलाई जुन विभागीय सजायँ दिइएको थियो त्यो सर्वोच्च अदालतबाट बदर भई निज प्रतिवादी पुनः नोकरीमा स्थापित भई कायम नभएको र त्यसपछि प्रस्तुत मुद्दामा मिति ०३०।२।२८ मा वारदात देखाई विशेष प्रहरी विभागमा मिति ०३४।५।२४ मा अनुसन्धान कार्यवाही पूरा भइसकेकोमा ०३९।३।२१ मा मात्र विशेष प्रहरी विभागबाट भ्र.नि. ऐन, ०१७ को दफा २ अन्तर्गत वागमती विशेष अदालतमा मुद्दा दायर भएको देखियो । तर उक्त आरोपपत्रमा यस ऐनको हदम्याद भित्र दायर गरेको भन्ने उल्लेख भएको पाइँदैन । यसरी अनिश्चित कालसम्म मुद्दा दायर गर्न पाउने व्यवस्था नदेखिएको हुँदा वादी दावी खारेज गर्ने गरेको वा.वि.अ.को फैसला मुनासिव हुँदा सदर हुने ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु।

 

उक्त रायमा मेरो सहमती छ ।

 

न्या.रुद्र बहादुर सिंह

 

इतिसम्वत् २०४४ साल भाद्र २९ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु