निर्णय नं. २५५ - थैली बुझाई हक सफा गरी पाउँ

निर्णय नं. २५५ ने.का.प. २०२१
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. ३००
निवेदक : सुरेन्द्रबहादुर शाही
बिरुद्ध
विपक्षी, प्रतिवादी : जेउदे कामीसमेत
मुद्दा : थैली बुझाई हक सफा गरी पाउँ
(१) सुक्री बिक्री गरी दिएको जग्गामामात्र हकवालाले हक सफा गर्न पाउने ।
हक सफा गर्न पाउँ भनेको जग्गा विषयको किर्तिवीर शाही आगे भइ प्रतिवादी जेउदे लोहारसमेतलाई ०१२।९।१२।३ मा गरिदिएको लिखतमा ‘तिमी धनीले नै मानि खाई आएको भुलबाट मेरा नाउँमासमेत दर्ता भएकोमा दस्तुर खाइ दिए मैले र मेरा सन्तानले दावी गर्ने छैन । तपसीलमा लेखिएका खाइकरलाईसमेत अंश दिई तिमीले र तिम्रा सन्तानकोसमेत हक भइ हाम्रो र हाम्रा सन्तानको हक छुट्टाई चलन भोग गरी खानु भन्नेसमेत उल्लेख भएको देखियो ।’ सुक्रिबिक्रीको राजिनामामा यस किसिमसँग लेखिने अवस्थै नपर्ने, साहु हुने जेउदेसमेतले राजिनामा लिएको भए अरु खाइकरसमेतलाई अंश दिनु भन्ने प्रयोजन नै नपर्ने हुनाले सुक्रिबिक्री गरी राजिनामा दिएको भन्ने नदेखिइ प्रतिवादीहरूले नै अघि देखि खाइ आएको जग्गा भूलबाट दर्ता भएको भनी निजहरूको जग्गा निजहरूलाई छाडिदिएको भन्ने सिद्ध हुन आएकोले यस्तोमा हक सफा गर्ने प्रश्नै नउठ्ने हुनाले हक सफा गर्न पाउँ भन्नेसमेत निवेदकको जिकिर पुग्न सक्तैन । हक सफा गरी निखनी लिन नपाउने ठहराएकोसमेत ०१५।१०।१२ को डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. १०)
निवेदकतर्फ : प्लीडर ठाकुरप्रसाद ।
विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे ।
फैसला
१. सर्वोच्च अदालत पश्चिम दौडाहा डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याइ हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको निवेदक, वादीले दिनु भएको बिन्तीपत्रमा भइ आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुन आएको प्रस्तुत मुद्दा मिसिल हेर्दा,
२. दाजु कृतवीरका नाउँमा दर्ता भएको जग्गा निजले ०१२।९।१२ मा कं.रु. ६०० मा जेउदेसमेत ३ जनालाई राजिनामा पास गरी दिएछन् । म ०६ सालमै भिन्न भइ ०९ सालमा मोगलान गई ०१३ साल आश्विन २५ गते आइ थाहा पाएँ । दाजु निज कृतवीरले लिएका कं.रु. ६०० बुझाइ हक सफा गरी पाउँ भन्नेसमेत वादीको उजुरी दर्खास्त ।
३. राजिनामा मटिया हक भन्ने देखिएको, मटिया हक भन्नाले मोहियानी हक बेचेको, सोही सफाइ गर्न चाहेको प्रतिवादीले म्यादै गुजारी बसेका हुँदा रुपैयाँ बुझाइ मोहियानी हकको हक सफा गर्न दिने भन्ने डोटी अछाममालको ०१३।९।३०।१ को पर्चा ।
मेरो दावाको विचारै नगरी गरेको मालको पर्चा बदर गरी हकदारले निखन्न पाउने लिखतको जग्गा निखनाइ पाउँ भन्नेसमेत वादी सुरेन्द्रबहादुरको अपील ।
४. हकदारले रुपैयाँ तिरेपछि जग्गा निखन्न पाउँदैन भन्न नहुनेमा मोहियानी हक बेचेको भन्ने नलेखिएपछि मटिया हक भन्नाले मोहियानी हक बेचेको भन्ने मालले गल्ती इन्साफ गरेको ठहर्छ जग्गै निखन्न पाउँछ भन्नेसमेत डोटी गौंडाको ०१४।८।२१ को फैसला ।
५. जग्गा निखन्न पाउने गरी भएको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी जेउदेसमेतको र शुरु म्याद गुजार्ने प्रतिवादीलाई अपीलको म्याद दिन नहुने दिएकोमा चित्त बुझेन भन्नेसमेत वादी सुरेन्द्रबहादुरकोसमेत अपील ।
६. प्रस्तुत मुद्दामा मुखिया कृतवीर शाहीले लिखत गरी दिंदा जेउदे कामी, टगुवा कामी, तिलुवा लुहारासमेतबाट कं.रु. ६०० लिई तिमी मोहियारहरूले नै खाइ आएको जग्गा भूलबाट दोहरा दर्ता भएको छ तापनि दस्तूर खाइ तिमीहरूलाई हक छुटाइ दिए आफ्नो बाबुती जानी ममार्फत तिरो बुझाइ तपसीलमा लेखिएका खाइकरलाईसमेत अंश दिइ खानु भन्ने बोली लेखिएको देखिन आउँछ । तपसीलमा खाइकर १८ को संख्याले दिएकोसमेत हुँदा उक्त ३ जनाले लिएको जग्गा १८ जना खाइकरलाई अंश दिन पर्ने प्रयोजन केही नभए उक्त व्यक्तिहरूको पनि नाम किन लेखिएको रहेछ भनी विचार गर्दा, त्यस जिल्लाका तालुकदार वा प्रतिष्ठित कुनै मानिसका नाउँमा दर्ता गरी जग्गाका हकमा ज–जसको चलन भोग छ उसले चलन भोग गर्ने स्थिति चलन भएको बुझिएको र यसमा पनि मु.कृतवीरसमेतका नाउँमा उक्त जग्गा दर्ता रही लिखतमा उल्लेख गरिएका खाइकरहरूले भोगचलन गरी आएको रहेछ भन्ने लिखतको व्यहोराबाटै प्रष्ट देखिन आउँछ । किनकी व्यहोरामा मटियाले खान पाउने दै–दस्तूर खाइ तिमीहरूलाई दिए मेरा र मेरा बाबुका नाउँमा दर्ता भएको भनी लाग दावी गर्ने छैन भन्नेसमेत उक्ति पारी दिएको हुँदा पनि जग्गा खास लिखतमा लेखिएको धनी र खाइकरहरूको देखिन आएकोले दर्ता नाउँ सारी गरी दिन दस्तुर खाइ साक्षी प्रमाण राखी लेखा गरी दिएकोमा ढड्डावाला तालुकदारका हकवालाले निखन्न पाउँछ भन्ने साहु असामीको ९ नं. ऐनले पनि नहुने हुँदा मटियानी हक निखन्न पाउँछ भन्ने शुर डोटी अछाममाल र जम्मै हक निखन्न पाउँछ भनी डोटी गौंडालेसमेत गल्ती इन्साफ गरेको ठहर्छ । विपक्षले अपीलको म्याद नपाउने भन्ने सुरेन्द्रबहादुरको अपीलको हकमा शुरु माललेसमेत बुझ्नुपर्ने खाइकरसमेत नबुझी गल्ती कारवाई फैसला गरेकोमा अपीलको म्याद दिएको अनुचित भन्न नभइ अपिलाट सुरेन्द्रको भनाइ मनासिव नदेखिने हुँदा गौंडाको फैसलासँग सहमत नभएको र दुवै थरको अपील हुँदा झगडिया झिकाउन नपर्ने । सर्वोच्च अदालत नियमावलीबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सर्वोच्च अदालत पश्चिम दौडाहा सिंगलबेञ्चको २०१५।१०।५।१ को आदेश ।
७. सिंगलबेञ्चको राय मनासिव छ भन्ने सर्वोच्च अदालत पश्चिम दौडाहा डिभिजन बेञ्चको ०१५।१०।१२ को फैसला ।
८. सर्वोच्च अदालत पश्चिम दौडाहा डिभजिनबेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्याइ हेरी पाउँ भनी निवेदक, वादीले दिनु भएको बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए दोहर्याइ दिनु भन्ने हुकुम बक्सेका भन्ने मौसुफका प्रमुख निजी सचीवालयको ०१६।११।३० को हुकुम प्रमांगी ।
९. बक्स भई आएको हुकुम प्रमांगीबमोजिम गर्र्नु भन्ने का.मु.प्रधान न्यायाधीशज्यूको ०१६।१२।९ को आदेश ।
१०. तारेखमा रहेका निवेदक, वादीको वारिस र प्रतिवादीको वारिससमेत राखी गत श्रावण ६ गते पेश भइ निवेदक, वादीतर्फका विद्वान प्लीडर ठाकुरप्रसादले र प्रतिवादीतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम थैली तिरी वादीले हक सफा गर्न पाउने नपाउने के हो भन्नेतर्फ विचार गर्दा हक सफा गर्न पाउँ भनेको जग्गा बिषयको कृतिवीर शाही आगे भइ प्रतिवादीका जेउदे लोहारसमेतलाई ०१२।९।१२।३ मा गरी दिएको लिखतमा “तिमी धनीले नैमानी खाइ आएको भूलबाट मेरो नाउँमासमेत दर्ता भएकोमा दस्तुर खाइ दिएँ । मैले र मेरो सन्तानले दावी गर्ने छैन । तपसीलमा लेखिएका खाइकरलाईसमेत अंश दिई तिमीले र तिम्रा सन्तानकोसमेत हकभइ हाम्रो र हाम्रा सन्तानको हक छुटाउ चलन भोग गरी खानु भन्नेसमेत उल्लेख भएको देखियो । सुक्रिबिक्रीको राजिनामामा यस किसिमसँग लेखिने अवस्थै नपर्ने, साहु हुने जेउदेसमेतले राजिनामा लिएको भए अरु खाइकरसमेतलाई अंश दिन भन्ने प्रयोजननै नपर्ने हुनाले सुक्रिबिक्री गरी राजिनामा दिएको भन्ने नदेखिइ प्रतिवादीहरूले नै अघिदेखि खाइ आएको जग्गा भूलबाट दर्ता भएको भनी निजहरूको जग्गा निजहरूलाई छाडी दिएको भन्ने सिद्ध हुन आएकोले यस्तोमा हक सफा गर्ने प्रश्नै नउठ्ने हुनाले हक सफा गर्न पाउँ भन्नेसमेत निवेदकको जिकिर पुग्न सक्दैन । हक सफा गरी निखन्नी लिन नपाउने ठहराएकासमेत ०१५।१०।१२ को डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । निवेदक सुरेन्द्रबहादुर शाहीके इन्साफ दोहर्याएमा यस अधिकार डिभिजन बेञ्चका फैसलाले गर्ने गरेको दण्ड भा.रु. १७ को अ.बं. २०४ नं. ले दशौंद भा.रु. १।७० नयाँ पैसा हुनेमा भा.रु. १००। को ने.रु. १६० ले रु. २।७२ जरिवाना हुन्छ । वारिस हुँदा असूल गर्नु भनी तहसीलमा लगत दिई मिसिल नियमबमोजिम बुझाइ दिनु ।
इति सम्वत् २०२१ साल श्रावण १३ गते रोज ३ शुभम् ।