शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०६८ - राजीनामा लिखत बदर

भाग: ५५ साल: २०७० महिना: माघ अंक: १०

नेकाप २०७०        अङ्क १०           नि.नं.९०६८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

फैसला मिति : २०७०।३।१९।४

विषय :राजीनामा लिखत बदर ।

 

०६७–CI–०००५

पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २१ छायबहाल बस्ने ज्ञानु महर्जन

विरूद्ध

प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने उमेश महर्जन

 

०६७–CI–०००४

पुनरावेदक/प्रतिवादी : तनहुँ जिल्ला, रूपाकोट गा.वि.स. वडा नं. ८ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं. १३ बस्ने सुकमाया गुरूङ

विरूद्ध

प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने उमेश महर्जन

 

०६७–CI–०००६

पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने मिनु श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने उमेश महर्जन

 

०६७–CI–०००२

पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने लालबहादुर महर्जन

विरूद्ध

प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने उमेश महर्जन

 

§  वादीसमेतको अंश हक लाग्ने जग्गा निजको मञ्जुरी बेगर हक छाडी गरीदिएको देखिँदा त्यसरी हक छाडी दिंदा खडा भएका लिखतहरूलाई कानूनअनुरूप खडा भएको भनी भन्न नमिल्ने ।

(प्रकरण नं.२)

§  अंश मुद्दा चल्दाचल्दै उक्त मुद्दामा रोक्का रहेको जग्गालाई कानूनबमोजिम फुकुवा नहुँदै प्रतिवादीले अन्य पुनरावेदक प्रतिवादीहरूलाई र.नं.१२६६, १२६७ र १२६८ को लिखतबाट बिक्री गरी हकहस्तान्तरण गरेको अवस्था देखिन्छ । मुलुकी ऐन, जग्गा मिच्नेको ९ नं. मा भएको कानूनी व्यवस्थाले "कानूनबमोजिम रोक्का भएको जग्गा फुकुवा नभई आफ्नो हक पुग्ने भएपनि अर्कालाई केही व्यहोराले दिने र लिनेले पनि जानी जानी लिन हुँदैन दिए लिएको भए बदर हुन्छ" भनी गरेको कानूनी व्यवस्थाविपरीत पुनरावेदकहरूले रोक्का रहेको जग्गालाई लिखत गरी पारीत गरे गराएको अवस्थासमेत देखिँदा उक्त विवादित र.नं का लिखतहरूले कानूनी मान्यता पाउने भन्न नमिल्ने ।

(प्रकरण नं.३)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता प्रेमबहादर खड्का, विद्वान अधिवक्ता पुरुषोत्तम ढुङ्गाना

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता बद्रीप्रसाद शर्मा, विद्वान अधिवक्ताद्वय डिलहरी शर्मा र राधेश्याम पराजुली

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, जग्गा मिच्नेको ९ नं.

 

शुरू फैसला गर्ने माननीय न्यायाधीश :                  

श्री मेघनाथ भट्टराई

पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीशहरू :       

डा.श्री हरिवंश त्रिपाठी

श्री दिनेशकुमार कार्की

फैसला

न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई पाऊँ भनी दायर भएको प्रस्तुत मुद्दामा यस अदालतबाट मुद्दा दोहोर्‍याई दिने निस्सा प्रदान भएपछि पुनरावेदनको रूपमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहायबमोजिम छ :

बाजे सूर्यमानका ३ छोराहरूमा जेठो जगतबहादुर भन्ने सुर्जबहादुर, माहिलो विपक्षी लालबहादुर र कान्छो म फिरादीका पिता शेरबहादुर हुन् । जेठो जगतबहादुर भन्ने सुर्जबहादुरको विवाह नहुँदै मृत्यु भै सकेको छ । माहिलो विपक्षी लालबहादुर र कान्छो म फिरादीका पिता शेरबहादुरका बीचमा अंशबण्डा नहुँदै पिता शेरबहादुरको मिति २०४७।३।१२ मा र आमा ज्ञानी महर्जनको २०५९।५।१७ मा मृत्यु भै सकेको छ । पिता शेरबहादुरको हक खाने हकदारमा म फिरादी उमेश महर्जन, विपक्षी हरिबहादुर, रामकृष्ण अविवाहित छोरी सिरमैं र राममायासमेत जना ५ छौं । हामी अंशियारका बीच अंशबण्डा भएको छैन । यसरी हामी अंशियारका जिम्मामा रहेका बण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्री सम्पत्ति दुई भागको एक भाग म फिरादीका पिता शेरबहादुरको अंश लाग्दछ भने सो एक भागमा माथि उल्लेख भएबमोजिम हामी ५ अंशियार रहेकोमा विपक्षीहरूबाट बण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्री सम्पत्तिको तायदाती फाँटवारी लिई कानूनबमोजिम पिता शेरबहादुरको अंश भागबाट पाँच भागको एक भाग अंश दिलाई चलनसमेत चलाई पाऊँ भनी मिति २०५९।८।२० को फिराद दायर गरी सकेपछि विपक्षी लालबहादुर महर्जनको नाममा दर्ता भएको काठमाडौं जिल्ला, चोभार भुतखेल गा.वि.स. वडा नं. ८ (क) कि.नं. २६३ को क्षेत्रफल १० को जग्गा रोक्का राख्नु भनी शुरू अदालतबाट मिति २०५९।१०।६ मा भएको आदेशानुसार शुरू अदालतको च.नं. ६०२० मिति २०५९।१०।८ को पत्रबमोजिम मालपोत कार्यालय, कलंकीको प.सं. ९३५० मिति २०५९।१०।९ को पत्रबाट रोक्का राखिएको जानकारी प्राप्त भएकोमा सो जग्गा मुद्दा चल्दाचल्दैको अवस्थामा दिने विपक्षी लालबहादुर महर्जन लिने क्रमशः ज्ञानु महर्जन, सुकमाया गुरूङ र मिनु श्रेष्ठ र.नं. क्रमशः १२६६, १२६७, १२६८ मिति २०६३।१०।२५ को राजीनामा लिखत पारीत गरी लिनुदिनु गरेको जग्गाको मेरो हकको ५ भागको १ भाग पश्चिमतर्फको भागको लिखत बदर गरिपाऊँ भन्नेसमेत बेहोराको फिरादपत्र ।

      विपक्षीको फिराद दावी झूठ्ठा हो । वादीलाई मैले अंश दिनु पर्ने होइन । मसँग बण्डा गर्नुपर्ने सम्पत्ति छैन । काठमाडौं जिल्ला, चोभार भुतखेल गा.वि.स. वडा नं. ८(क) कि.नं. २६३ को क्षेत्रफल  १० को जग्गा मैले भूमिसुधार कार्यालयको मिति २०५२।११।११ को निर्णयबमोजिम मालपोत कार्यालय, कलंकीबाट मिति २०५२।११।१५ र.नं. ४६११ को मोही छोडपत्रको लिखतबाट प्राप्त गरेको                 हो । उक्त जग्गा सम्मानित सर्वोच्च अदालतको मिति २०५२।५।८ को फैसलाबमोजिम मेरो हक हुन आएको हो । मसँग तहतह मुद्दा गरी मोहियानीबापतबाट प्राप्त उक्त कि.नं. २६३ समेतका जग्गाहरूमात्र रहेको छ । वादीको हक नै नभएको जग्गामा लिएको फिराद दावी अ.बं. ८२ नं. बमोजिम हकदैयाबिहीन छ । विभिन्न र.नं. बाट पारीत लिखतको सम्बन्धमा छुट्टाछुट्टै फिराद दायर गर्नुपर्नेमा एउटै फिरादबाट लिएको प्रस्तुत फिराद दावी अ.बं. ७२ नं. बमोजिमसमेत खारेजभागी छ । मोहीयानीबाट प्राप्त जग्गा अंशबण्डा लाग्दैन भन्नेसमेत बेहोराको प्रतिवादी लालबहादुर महर्जनको प्रतिउत्तर जिकीर ।

      विपक्षीको फिराद दावी झूठ्ठा हो । हामीले खरीद गरी लिएको विवादित कि.नं. २६३ को जग्गा मेरो दाताले र.नं. ४६११ मिति २०५२।११।१५ को पारीत मोहियानी छोडपत्रको लिखतबाट प्राप्त गरेको निजको एकलौटी हकभोगको जग्गा हो । मेरा दाता र विपक्षीको बीचमा भएको अंशबण्डाको मुद्दाको बारेमा मलाई थाहा जानकारी हुने कुरा होइन । मालपोत कार्यालयमा उक्त जग्गा रोक्का नभएको कारणबाट नै हामीले जग्गाको मूल्य तिरी लिखत कानूनबमोजिम पारीत गरी लिएको हो । मेरा दाताको निजी स्वआर्जनको आफू खुश गर्न पाउने जग्गा खरीद गरी लिएकोले वादी दावीबमोजिम लिखत बदर हुने होइन विभिन्न र.नं. बाट पारीत लिखतको सम्बन्धमा छुट्टाछुट्टै फिराद दायर गर्नुपर्नेमा एउटै फिरादबाट लिएको प्रस्तुत फिराद दावी अ.बं. ७२ नं.बमोजिमसमेत खारेजभागी छ । वादीको हक नै नभएको जग्गामा लिएको फिराद दावी अ.बं. ८२ नं.बमोजिम हकदैयाबिहीन                                             छ । वादी दावी खारेज गरिपाऊँ भन्नेसमेत बेहोराको प्रतिवादी ज्ञानु महर्जन, मिनु श्रेष्ठ र सुकमाया गुरूङको संयुक्त प्रतिउत्तर जिकीर ।

      शुरू अदालतको आदेशानुसार मिति २०५२।११।१५ को र.नं. ४६११ को मोही छोडपत्रको लिखतको प्रमाणित प्रतिलिपि तथा विवादित र.नं. १२६६, १२६७, १२६८ मिति २०६३।१०।२५ को राजीनामा लिखतको प्रमाणित प्रतिलिपि सम्बन्धित कार्यालयबाट प्राप्त भै मिसिल संलग्न रहेको ।

यसमा अदालतबाट कि.नं. २६२, २६३ का जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राखी दिनु भनी मालपोत कार्यालय, कलंकीलाई २०५९।१०।८ मा रोक्का राख्न पत्र पठाएकोमा मिति २०५९।१०।९ मा रोक्का रहेको जानकारी प्राप्त भएको जग्गा अ.बं. १७१(ख) वा अ.बं. १७ नं. अन्य कुनै कानूनी प्रक्रियाबाट फुकुवा नभैकन र.नं. १२६६, १२६७ र १२६८ मिति २०६३।१०।२५ मा पारीत राजीनामा लिखतहरू बदर हुनेसमेत ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतको मिति २०६४।११।२९ को फैसला ।

      शुरूको फैसलामा चित्त बुझेन । वादी दावीका छुट्टाछुट्टै लिखत र र.नं. भएकोमा मुलुकी ऐन, अ.बं. ७२ नं. बमोजिम छुट्टाछुट्टै लिखत र व्यक्ति विरूद्ध छुट्टाछुट्टै फिराद गर्नुपर्नेमा एउटै फिराद गरी सबै प्रतिवादीहरूको राजीनामाको लिखत बदर माग गरेकोमा सो कानूनविपरीतको फिरादीबाट इन्साफ नभै वादी दावी खरोज गर्नुपर्नेमा लिखतहरू बदर गरेको शुरूको फैसला सर्वथा कानूनविपरीत भएकोले उल्टि गरी लिखत बदर नहुने गरिपाऊँ भन्नेसमेत प्रतिवादी ज्ञानु महर्जनको पुनरावेदनपत्र ।

      शुरूको फैसलामा चित्त बुझेन । वादी दावीका छुट्टाछुट्टै लिखत र र.नं. भएकोमा मुलुकी ऐन, अ.बं. ७२ नं.बमोजिम छुट्टाछुट्टै लिखत र व्यक्ति विरूद्ध छुट्टाछुट्टै फिराद गर्नुपर्नेमा एउटै फिराद गरी सबै प्रतिवादीहरूको राजीनामाको लिखत बदर माग गरेकोमा सो कानूनविपरीतको फिरादबाट इन्साफ नभै वादी दावी खारेज गर्नुपर्नेमा लिखतहरू बदर गरेको शुरूको फैसला सर्वथा कानूनविपरीत भएकोले उल्टि गरी लिखत बदर नहुने गरिपाऊँ भन्नेसमेत प्रतिवादी सुकमाया गुरूङको पुनरावेदनपत्र ।

      शुरूको फैसलामा चित्त बुझेन । वादी दावीका छुट्टाछुट्टै  लिखत र र.नं. भएकोमा मुलुकी ऐन, अ.बं. ७२ नं. बमोजिम छुट्टाछुट्टै लिखत र व्यक्ति विरूद्ध छुट्टाछुट्टै फिराद गर्नुपर्नेमा एउटै फिराद गरी सबै प्रतिवादीहरूको राजीनामाको लिखत बदर माग गरेकोमा सो कानूनविपरीतको फिरादबाट इन्साफ नभै वादी दावी खारेज गर्नुपर्नेमा लिखतहरू बदर गरेको शुरूको फैसला सर्वथा कानूनविपरीत भएकोले उल्टि गरी लिखत बदर नहुने गरिपाऊँ भन्नेसमेत प्रतिवादी मिनु श्रेष्ठको पुनरावेदनपत्र ।

      शुरूको फैसलामा चित्त बुझेन । मालपोत कार्यालयले नै रोक्का छैन भनी बिक्री भएको सम्पत्तिलाई फुकुवा गरिरहन पर्ने अवस्था नै हुँदैन । विपक्षी वादी मेरो अंशियार नै होइनन् र स्वीकृति लिनुपर्ने पनि होइन । यस मुद्दामा ३ वटा छुट्टाछुट्टै लिखत भएकोमा ३ वटै लिखत बदर मुद्दा नहाली एउटै गोश्वारा दावी गरेको फिराद अ.बं. ७२ नं. विपरीत हुँदा शुरूको फैसला उल्टि गरी मेरो प्रतिउत्तर जिकीरबमोजिम गरिपाऊँ भन्नेसमेत प्रतिवादी लालबहादुर महर्जनको पुनरावेदनपत्र ।

      यसमा लगाउको दे.पु.नं. २२८३ को अंश मुद्दासँग प्रस्तुत मुद्दा अन्तर्‍प्रभावी हुँदा अ.बं. २०२ नं.बमोजिम विपक्षी झिकाउनु भन्ने उपरोक्त चारैवटा पुनरावेदनमा मिति २०६६।१।२९ गते यस अदालतबाट भएको आदेश ।

      वादी उमेश महर्जन प्रतिवादी लालबहादुर महर्जनसमेत भएको दे.नं. ३४७।३९०७ को अंश चलन मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भै विचाराधीन रहेको अवस्थामा जग्गा रोक्का सम्बन्धमा वादीको निवेदन परी कि.नं. २६३ को जग्गासमेत कुनै पनि व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी अ.बं. १७१क नं. अनुसार रोक्का राखी दिने काठमाडौं जिल्ला अदालतको आदेशानुसार च.नं. ६०२० मिति २०५९।१०।८ को पत्रानुसार मालपोत कार्यालय, कलंकीबाट उक्त कि.नं. २६३ को जग्गा रोक्का राखी सो कार्यालयको प.सं. ९३५० मिति २०५९।१०।९ को पत्रबाट शुरू अदालतलाई जानकारीसमेत गराएको पाइन्छ । जग्गा मिच्नेको ९ नं. हेर्दा कानूनबमोजिम रोक्का भएको जग्गा फुकुवा नभै आफ्नो हक पुग्ने भए पनि अर्कालाई केही व्यहोराले दिने र लिनेले पनि जानी जानी लिन हुँदैन । दिए लिएको भए बदर हुन्छ ।भन्ने व्यवस्था भएको समेत देखिन्छ । अदालतको आदेशानुसार त्यसरी रोक्का रहेको जग्गालाई जग्गा मिच्नेको उक्त ९ नं. को विपरीत प्रतिवादीहरूले पारीत गरे गराएको कारणसमेतबाट विवादित लिखतहरू बदरभागी देखिन आउँछ । तसर्थ र.नं. १२६६, १२६७ र १२६८ का विवादित राजीनामा लिखतहरूलाई बदर हुने ठहर्यार्इ शुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।११।२९ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदन जिकीर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।२९ को फैसला ।

      हाम्रो दाता र विपक्षीको पिताबीच २०३४ सालभन्दा अगाडि नै अंशबण्डा भई आआफ्नो अंश भाग बुझिलिएको र हाम्रो दाताले मोही हकबाट प्राप्त गरेको अरू कसैको अंश हक नलाग्ने जग्गा राजीनामा गरी लिएको हो । दाताको एकलौटी हक लाग्ने जग्गा खरीद गरी लिएकोमा विपक्षीलाई मुद्दा गर्ने अ.बं. ८२ नं. ले हकदैया नै छैन । यस्तो जग्गाको हकमा लिखत बदर गर्ने गरी भएको फैसलामा न्यायिक मनको अभाव छ । अ.बं ७२ नं.बमोजिम छुट्टाछुट्टै लिखत र व्यक्ति विरूद्ध छुट्टाछुट्टै फिराद गर्नुपर्नेमा एउटै फिराद गरी सबै प्रतिवादीको राजीनामाको लिखतबदर माग गरेकोमा सो कानूनविपरीतको फिरादबाट कानूनी कारवाही हुन नसक्ने भनी फिराद खारेज गर्नुपर्नेमा सो कुरा स्पष्टरूपमा उठाउँदाउठाउँदै हेर्दै नहेरी स्पष्ट कानूनी व्यवस्थाको पूर्ण उल्लङ्घन हुने गरी केवल रोक्का रहेको जग्गा हस्तान्तरण गरेको भन्दै भएको फैसला अन्यायपूर्ण छ । अतः मुद्दा दोहोर्‍याई हेरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू ज्ञानु महर्जन, सुकमाया गुरूङ, मिनु श्रेष्ठबाट परेको छुट्टाछुट्टै निवेदन ।

      रोक्का रहेको जग्गा जग्गा मिच्नेको ९ नं. विपरीत पारीत गराएकोले बदर हुन्छ भनी पुनरावेदन अदालतले काठमाडौ जिल्ला अदालतको फैसला बदर गरेको कार्यबाट अ.बं.को ७२ नं. को कानूनको व्याख्यामा गम्भीर कानूनी त्रुटि भएको छ । विभिन्न व्यक्तिहरूलाई दिएको विभिन्न लिखतहरूलाई एउटै गोश्वाराको फिराद दिई त्यस्तो गैरकानूनी फिरादबाट इन्साफ दिने गरी भएको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प. २०४४, नि.नं ३३००, अंक १२ द्वारा प्रतिपादित नजीर सिद्वान्तसमेतको प्रतिकूल   छ । हकदैया नै नभएको विपक्षीको फिरादबाट निर्णय सुनी मलाई हराइएको शुरू अदालतको फैसलामा कानून र नजीरको गम्भीर त्रुटि हुँदा मुद्दा दोहोर्‍याई हेरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी लालबहादुर महर्जनको निवेदन जिकीर ।

      यसै लगाउको  निवेदन ०६६–CI–०५५१ को अंश चलन मुद्दामा आज यसै इजलासबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको हुनाले यस मुद्दामा पनि न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख)बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०६७।३।२३।४ को आदेश ।

      नियमबमोजिम मुद्दा पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का र विद्वान अधिवक्ता श्री पुरूषोत्तम ढुंगाना तथा प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रिप्रसाद शर्माको साथै विद्वान अधिवक्ताद्वय श्री राधेश्याम पराजुली  र डिलहरी शर्माले आआफ्नो पक्षको तर्फबाट गर्नु भएको बहस जिकीरसमेत सुनियो ।

      उल्लिखित बहस जिकीरलाई मनन गर्दै, पुनरावेदनपत्रसहितको मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरी पुनरावेदन अदालत, पाटनले शुरू काठमाडौं जिल्ला अदालतको वादी दावीअनुसार लिखत बदर हुने गरी गरेको फैसला सदर गर्ने गरी गरेको फैसला मिलेको छ, छैन र प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

      यसमा मेरोसमेत अंश भाग लाग्ने जग्गा अंश मुद्दामा रोक्का रहँदारहँदै विपक्षीहरूले राजीनामा लिखत पास गरी लिनु दिनु गरेको हुँदा सो विवादित लिखितमध्ये मेरो हक लाग्ने जग्गाको भागजतिको लिखत बदर गरी पाऊँ भन्ने वादीको फिराद जिकीर रहेको देखिन्छ । प्रतिवादीहरूको प्रतिउत्तर जिकीर हेर्दा प्रतिवादीबाट वादीले अंश पाउनु पर्ने होइन निजलाई मुद्दा गर्ने हकदैयासमेत नभएकोले फिराददावी खारेजभागी छ भन्ने देखिन्छ ।

      २. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दाको लगाउमा रहेको यिनै पुनरावेदक/प्रतिवादी लालबहादुर महर्जन र प्रत्यर्थी/वादी यिनै उमेश महर्जन भएको ०६७–CI–०००१ को अंश चलन मुद्दामा वादी उमेश महर्जनले प्रतिवादी लालबहादुर महर्जनबाट दुई भागको एक भागबाट पाँच खण्डको एक खण्ड अंश पाउने ठहर्यार्इ शुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई सदर हुने ठहर्यार्इ आजै यसै इजलासबाट फैसला भएको देखिन्छ । सो फैसलाको आधार कारणबाट यी पुनरावेदक प्रतिवादी लालबहादुर महर्जनले अन्य पुनरावेदक प्रतिवादीहरू ज्ञानु महर्जन, सुकमाया गुरूङ र मिनु श्रेष्ठलाई राजीनामा लिखत पास गरी हक हस्तान्तरण गरी दिएको जग्गाहरूमा यी प्रत्यर्थी वादी उमेश महर्जनको अंश हक रहे भएको देखिन्छ । यसरी निज वादीसमेतको अंश हक लाग्ने जग्गा निजको मञ्जूरीबेगर हक छाडी गरीदिएको देखिँदा त्यसरी हक छाडी दिंदा खडा भएका लिखतहरूलाई कानूनअनुरूप खडा भएको भनी भन्न मिलेन ।

      ३. यी कुराका अतिरिक्त अंश मुद्दा चल्दाचल्दै उक्त मुद्दामा रोक्का रहेको जग्गालाई कानूनबमोजिम फुकुवा नहुँदै यी पुनरावेदक प्रतिवादी लालबहादुर महर्जनले अन्य पुनरावेदक प्रतिवादीहरूलाई र.नं. १२६६, १२६७ र १२६८ को लिखतबाट बिक्री गरी हकहस्तान्तरण गरेको अवस्था देखिन्छ । यस सम्बन्धमा मुलुकी ऐन, जग्गा मिच्नेको ९ नं. मा भएको कानूनी व्यवस्था हेर्दा कानूनबमोजिम रोक्का भएको जग्गा फुकुवा नभई आफ्नो हक पुग्ने भएपनि अर्कालाई केही व्यहोराले दिने र लिनेले पनि जानी जानी लिन हुँदैन दिए लिएको भए बदर हुन्छभन्ने देखिन्छ । यसरी जग्गा मिच्नेको ९ नं. विपरीत पुनरावेदक प्रतिवादीहरूले रोक्का रहेको जग्गालाई लिखत गरी पारीत गरे गराएको अवस्थासमेत देखिँदा उक्त विवादित र.नं १२६६, १२६७ र १२६८ का लिखितहरूले कानूनी मान्यता पाउने भन्न मिलेन ।

      ४. अतः उक्त विवादित राजीनामा लिखतहरूलाई बदर हुने ठहर्यार्इ शुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको मिति २०६६।०५।२९।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न  सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

                                    

उक्त रायमा सहमत छु ।

न्या.प्रकाश वस्ती

 

इति संवत् २०७० साल असार १९ गते रोज ४ शुभम् ......

इजलास अधिकृत :बाबुराम सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु