शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१८० - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरिपाउँ

भाग: २९ साल: २०४४ महिना: मंसिर अंक:

निर्णय नं. ३१८०  ने.का.प. २०४४   अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

सम्वत् २०४३ सालको रिट नं. २३६३

विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरिपाउँ ।

 

निवेदक  : धनुषा जिल्ला हरिने गाउँ पञ्चायत वार्ड नं. ६ बस्ने मधु राउत यादव ।

विरुद्ध

विपक्षी  : भूमि सुधार कार्यालय, धनुषा ।

    भूमि सुधार अधिकारी भू.सु.का धनुषा ।

    धनुषा जिल्ला हरिने गाउँ पञ्चायत वार्ड नं.६ बस्ने बौकुसाहू सुडी ।

आदेश भएको मिति: २०४४।४।२६।३ मा

   कानूनले निर्दिष्ट गरे बमोजिम उजूरी व्यहोरा प्रतिवादको व्यहोरा उल्लेख गरी सबुद प्रमाणको मूल्याड्ढन गरी ठहर गर्नु पर्नेमा सो कुनै कुरा नगरी गरेको निर्णय कानून अनुरुप न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न मिल्ने देखिन आएन ।

(प्रकरण नं. ८)

निवेदकतर्फबाट   : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली

प्रत्यर्थीतर्फबाट    : विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की

उल्लेखित मुद्दाःX

आदेश

न्या.गजेन्द्र केशरी बास्तोलाः  नेपालको संविधान धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ :

२.  धनुषा जिल्ला विसरभोरा गा.पं. वडा नं. १क कि.नं. ३२ को ०० नौ कठ्ठा जग्गा समेतका २८ जग्गा मिति २०४१।२।७।१ मा धनुषा जिल्ला हरिने गा.पं. वार्ड नं. ६ बस्ने बुलन साहु सुढी संग रु. ६०,५०१।मा राजीनामा पास गरी म निवेदक स्वयंले आवाद गरी भोगी आएको छु । म निवेदकको बुलन साहूबाट खरीद गरेको जग्गा विपक्षी लगायतका अन्य कसैले पनि कुनै शर्तमा कमाएको छैन । विपक्षी बौकु साहूले कमाउँदै नकमाएकोमा पनि कैलु साहू सुडीको नाममा दर्ता रहेको जि.ध. विसरभोट गा.पं. वडा नं. १क कि.नं. ३२ को ०० जग्गा साविक मैले सनातन देखि मोहीमा कमाई सोको प्रमाणपत्र समेत प्राप्त गरेको नै छु । कैलु साहू स्वर्गीय भएपछि निजको छोरा बलन साहूले सो जग्गा आफ्नो नाममा नामसारी गराई मिति २०४१।२।७ मा मधु राउत यादवलाई बिक्री गरिदिनु भएको उक्त जग्गाको दर्ता श्रेस्ताको मोही महलमा मेरो नाउँ उल्लेख गरिपाउँ भन्ने विपक्षी बौकु साहूले म निवेदक उपर प्रत्यर्थी भू.सु.का. समक्ष मिथ्या व्यहोराको फिराद उजूरी दिनु भएको रहेछ । मैले भूमिसुधार ऐन नियम अनुसार १ नं. लगत भर्नु पर्ने २ नं. अनुसूची प्रकाशित हुनुपर्ने ४ नं. जो.अ.नि. दिने त्यसपछि नापी हुँदा उपस्थित भई नापी गराउनु पर्ने तथा जग्गाधनीलाई कुत  बुझाई भर्पाई लिनु पर्ने यावत प्रक्रिया पूरा गरेपछि मात्र मोही हुने अवस्था आउँछ । उक्त प्रक्रिया पूरा नगरी लिएको मोहीको प्रमाणपत्रले कुनै अर्थ राख्दैन । मैले खरीद गरेको जग्गा केलु साहूको नामबाट २०३३ सालमा बुलन साहूको नाममा नामसारी भएको छ । सो भन्दा अगाडि नै प्रमाणपत्र पाइसकेको भए मोहीको नाम लेखाउन सक्नु पथ्र्यो र कुत बुझाएको भर्पाई समेत लिनु पथ्र्यो । सो केही देखाउन र दाखिल गर्न नसकेबाट समेत निजको उजूरी झुठ्ठा प्रष्ट छ । निज विपक्षीले कहिले पनि जग्गा जोतेको छैन । साविकमा कैलु साहू आफैं र निजको परलोक पछि निजको छोरा तथा मेरा दाता चुलन साहूले जोत्दै आएको जग्गा मैले २०४१।२।७ गते खरीद गरी जोत आवाद गर्दै आएको छु भनी म निवेदकले प्रतिउत्तर फिराएकोमा प्रत्यर्थी भूमिसुधार अधिकारीज्यूले सबुद प्रमाणको मूल्याड्ढन नै नगरी बिना प्रमाणको आधारमा यसमा कार्यालयको रेकर्डमा मोही कायम रहेको देखिँदा मालपोत कार्यालयमा सो कुरा लेखिपठाउने र अरु नियम बमोजिम गर्ने भनी मिति २०४२।१०।१५ मा आदेश गर्नु भयो ।

३.  मोहियानी हकको प्रमाणपत्र प्राप्त गर्न गराउँदा भू.सु.सम्बन्धी नियम, २०२१ को नियम ३ अनुसार १ नं. मोहीको लगत भरेको तथा नियम ६ नं. अनुसार २ नं. अनसूची प्रकाशन भई नियम ७ बमोजिम अन्तिम भएको हुनुपर्छ वा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ ले निर्दिष्ट गरे अनुसार जग्गा कमाउन दिए लिएको बीचको कबूलियत र बाली बुझाएको भर्पाई हुनुपर्ने छ । यसरी सबुद प्रमाणको मूल्याड्ढन नै नगरी मोही कायम गरेको मालपोत कार्यालयको श्रेस्तामा जनाई दिने गरी भएको भूमिसुधार कार्यालयको आदेश त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र ।

४.  यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो । विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यसै अदालत सिंगल बेञ्जको आदेश ।

५.  विपक्षीले विवादित जग्गा खरीद गर्दा मोही भइसकेको छु अब आएर अनुसूची १ नं. र २ नं. को प्रसंग उठाउन पाउने होइन । ४ नं. जोताहा अस्थाई निस्सा नभई मोहियानी हक प्रमाणपत्र मिल्दैन त्यसकारण कानूनी त्रुटि भएको छ भनी म मोही भए उपर विवाद उठाउन विबन्धनको सिद्धान्त अनुसार विपक्षीले भन्न पाउनु हुन्न भन्ने समेत व्यहोराको बौकु साहू सुडीको लिखितजवाफ ।

६.  धनी कैलु साहूबाट छोरा बुलन साहूको नाउँमा नामसारी भई मिति २०४१।२।७ को पारीत लिखत अनुसार उक्त जग्गा मधु राउत यादवले खरीद गरी जग्गाधनी कायम भएकोले सो पाएको प्रमाणपत्रमा जग्गाधनी नाम मात्र संशोधन गरिपाउँ भन्ने मुख्य जिकिर लिएको देखिएको र जग्गाधनी मधु राउत यादवले पनि कैलु साहूबाट बुलन साहूको नाममा नामसारी भई खरीद गरेको छु भनी सोही कुरा दोहोराएको र बौकु साहू सुडीले पहिले नै मोही प्रमाणपत्र प्राप्त गरिसकेको रेकर्डबाट देखिएकोले मिलान गर्नका लागि मालपोत कार्यालय धनुषाको नाउँमा पत्र लेखी पठाइदिनु भनी दिएको आदेश न्यायसंगत भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय धनुषाको भू.सु.अ.को लिखितजवाफ ।

७.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम पराजुलीले भूमिसम्बन्धी ऐन नियम अनुसार १ नं. लगत भर्नु पर्ने २ नं. अनुसूची प्रकाशित हुनुपर्ने नापी हुँदा उपस्थित भई नापी गराउनु पर्ने तथा जग्गाधनीलाई कुत बुझाई भर्पाई लिन पर्ने उक्त प्रकृयाहरू पुरा नगरी लिएको मोहीको प्रमाणपत्रले कुनै अर्थ राख्दैन मेरो पक्षले खरीद गरेको जग्गा कैलु साहूको नामबाट २०२३ सालमा बुलन  साहूको नाममा नामसारी भएको छ । सो मुद्दा अगाडि नै प्रमाणपत्र पाइसकेकोमा मोहीको नाम लेखाउन सक्नु पथ्र्यो र कुत बुझाएको भर्पाई समेत लिनु पथ्र्यो सो केही देखाउन नसकेको अवस्थामा प्रमाणको मूल्याड्ढन नै नगरी प्रारम्भिक कारवाही गर्दा गरिने आदेश पत्रमा कार्यालयको रिकर्डमा निज मोही कायमै रहेको देखिँदा मालपोत कार्यालयमा सो कुरा लेखिपठाउने भन्ने गरी गरेको निर्णय कानून अनुरुप नभएकोले बदर गरिपाउँ भन्ने जिकिर लिई र प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले नयाँ मोही कायम गरिपाउँ भन्ने माग दावी नभई साविक जग्गाधनी कै पालामा मोहीको प्रमाणपत्र पाइसकेको र हाल खरीद गर्ने व्यक्तिको नाउँमा नामसारी भएको श्रेस्तामा साविकमा पाएको मोहीको हकसम्म जनाई पाउँ भन्ने माग दावी बमोजिम श्रेस्ताबाट मोही देखिएको कुरा मालपोत कार्यालयलाई लेखिपठाउने सम्म आदेश भएकोमा कुनै कानूनी त्रुटि भएको नहुँदा रिट खारेज हुनुपर्ने भन्ने बहस प्रस्तुत गर्नु भयो ।

८.  प्रस्तुत विषयमा माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भनी म.न्या.का. मार्फत प्राप्त भू.सु.का. को निर्णय हेर्दा प्रारम्भिक कारवाही गरिने आदेश पत्रमा यस कार्यालयको रेकर्डमा निज मोही कायम रहेको देखिँदा मालपोत कार्यालयमा सो कुरा लेखी पठाउने र अरु नियम अनुसार गर्ने भन्ने आदेश गरेको पाइन्छ । कानूनले निर्दिष्ट गरे बमोजिम उजूरी व्यहोरा र प्रतिवादको व्यहोरा उल्लेख गरी सबुद प्रमाणका मूल्याड्ढन गरी ठहर गर्नु पर्नेमा सो कुनै कुरा नगरी गरेको निर्णय कानून अनुरुप न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न मिल्ने देखिन आएन तसर्थ उक्त भू.सु.का. धनुषाको ०४२।१०।१५ को आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब जो बुझ्नु पर्ने बुझी कानूनले तोकेको प्रकृया पुरा गरी निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारी निमित्त आदेशको प्रतिलिपि साथ राखी म.न्या.का. मार्फत लेखिपठाई नियम बमोजिम फाइल बुझाई दिनु ।

 

उपरोक्त रायसंग म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४४ साल श्रावण २६ गते रोज ३ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु