शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५९ - उत्प्रेषण वा परामादेशको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भन्ने

भाग: साल: २०२१ महिना: बैशाख अंक:

निर्णय नं. २५९            ने.का.प. २०२१

डिभिजन बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू

रीट नं. ५२

निवेदक : शंकरप्रसाद सोनार बीरगञ्ज महावीर रोड

बिरुद्ध

विपक्षी : आय र कर अदालतसमेत

विषय : उत्प्रेषण वा परामादेशको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भन्ने

(१)   सम्बन्धित अड्डाले कारणीकै उपस्थितिको आवश्यकताको महसूस गरेमा कारणीलाई उपस्थित गराउन पाउने वारेसले वारेस रहने हकको हनन् भयो भन्न नमिल्ने ।

            रामचन्द्रप्रसाद सोनारले वारेसनामा दिएको कारणबाट पुर्पक्षमा रहने हक निवेदकको देखिन्छ । तर, सम्बन्धित अड्डाले कारणीको उपस्थिति देखेमा वारेसलाई कारणी हाजिर गराउन भनी तारेख तोक्न नसक्ने कानून बन्देज र एकपटक वारेस दिएपछि अन्तिम किनारा भएसम्म वारेस बदल्न नपाउने कानूनी व्यवस्था भएको पनि देखिंदैन । वारेस दिने कारणीले वारेस बदल्न पनि सक्ने अ.बं. ६५ नं. को देहायमा सो बाहेक जमानत लाग्ने अवस्थामा कानूनबमोजिम जमानत दिने व्यक्तिले अड्डाबाट वारेस राख्न दिन मुनासिब ठहराई इजाजत दिएमा वारेस राख्न पाउँछ भन्ने उल्लेख भएकासमेतबाट मुद्दाको अन्तिम किनारा नभएसम्म वारेस बस्न पाउने भन्ने निवेदकको भनाइ कानूनमा आधारित नदेखिने । कारणी हाजिर गराउने भन्ने तारेख तोकिएमा सो कुरा आफूलाई वारेस दिने पक्षलाई सूचना दिनेसम्म निवेदकको कर्तव्य भएको, त्यसबाट सो असर पर्ने हो, कारणीलाई नै पर्ने हुनाले निवेदकको कानूनी प्रदत्त हक हनन् हुने अवस्था नदेखिएको २१।१०।२ मा हाजिर नगराए तारेख दिने छैन भनी अपील डिसमिस होला भन्ने भविष्यको कुराको कल्पना गरिएको निवेदकसम्बन्धित विषय नहुनाले निवेदकको कानूनी प्रदत्त हक हनन् भएको भन्न नमिल्ने ।

(प्रकरण नं. ७)

(२)   कानूनी अधिकारको अपहरण नभएमा रीटको आदेश जारी हुन नसक्ने ।

            जमानी हुने चन्द्रप्रसाद शर्माको जमानीपत्र लागू नै राखी रामचन्द्रप्रसादलाई उपस्थित गराउन परे निजै जमानीद्वारा उपस्थित गराइ वारेस निवेदकलाई नै तारेखमा राखी अपील किनारा गराई रामचन्द्रप्रसाद हाजिर भएन र लागेको दण्ड निजबाट असूल भएन भने जमानी हुने चन्द्रप्रसाद शर्माबाट असूल गर्न आय र कर अदालतका नाउँमा परमादेश जारी होस भन्नेसमेत निवेदकको दावा भएको उल्लेखित दावा गर्न निवेदक शंकरप्रसाद सोनारलाई कुन कारणले अधिकार दिएको छ र त्यसमा निवेदकको कुन व्यक्तिगत अधिकारमा आघात पुगेको छ । सो कुनै कुरा निवेदकले आफ्नो २४ पेजको निवेदनपत्रमा केही उल्लेख गर्न सक्नु भएको छैन र रामचन्द्रप्रसाद सोनार कडा रोगले बिरामी भई भारत दरभंगामा औषधी गरिरहेको तयार भई आउन छ महिना लाग्ने डाक्टरले सर्टिफिकेट गरिदिएको सो समेत राखी ०२१।९।१३ मा निवेदनसाथ पेश गरिदिईसकेको सो सर्टिफिकेट समेतलाई मान्यता नदिएकोसमेत रामचन्द्रप्रसाद सोनारको व्यक्तिगत स्वतन्त्रता अपहरण भएमा उनैले निवेदन गर्ने भएको भन्नेसमेत उल्लेख गरेको देखिन्छ । रामचन्द्रप्रसाद सोनारको व्यक्तिगत अधिकार अपहरण भएमा उनैले निवेदन गर्नुपर्ने महसुस गर्ने निवेदकले उल्लेखित कुरामा स्वयं दागा गर्दै उपस्थित भएको हुनालेसमेत र उल्लेखित कारणसमेतबाट निवेदकको व्यक्तिगत कानूनी अधिकार अपहरण भएकोसमेत नदेखिनाले यसबाट अरु कारवाइ गर्न पर्दैन ।

 (प्रकरण नं. ९)

निवेदकतर्फ : सिनियर एडभोकेट बल्लभ शम्शेर ज.ब.रा, एडभोकेट गजेन्द्रबहादुर प्रधानांङ्ग, एडभोकेट दिनेशमान प्रधान ।

फैसला

      १.     यसमा रक्सी भन्ने थाहा पाई कन्ट्रिस्प्रीटको नामबाट लाइसेन्स प्राप्त गरी बर्षैं म्याद नगाए ग्यालन २०० पैठारी गरेकोमा १ ग्यालनमा बोतल ६ को दरले हुने बोतल १२०० को अदलको २८ नं. ले बोतल १ को रु. १०० ले कपुर एण्ड सन्सको प्रोपाइटर रामप्रसाद सोनारलाई १२०००० दण्ड हुन्छ भनी ०१९।१।२८।५ मा बीरगञ्ज गोश्वराबाट पर्चा गरेको माल रामचन्द्रप्रसाद सोनारले बीरगञ्ज भन्सारबाट डिलेभरी नै लिन नसकेको बीरगञ्ज गोश्वाराले अधिकारक्षेत्र पनि नभएको मुद्दा हेरी छिनी दण्ड गरेका र सो तिर्न नसकेकोले दण्डमा पक्राउ नगरी अपील लिई दिनु भन्ने गरी पाउँ भनी निवेदन दिएकोमा अपीलको किनारा नलागेसम्म हाजिर जमानी दिई ऐबमोजिमको अपील दिए लिई ऐ सवालबमोजिम गर्नु भन्ने ०१९।३।३।१ मा माननीय प्रधान न्यायाधीशज्यूबाट आदेश भई चन्द्रप्रसाद शर्मालाई जमानी दिई सर्वोच्च अदालतमा अपील परी विपक्ष आय र कर अदालतमा गएपछि रामचन्द्रप्रसाद सोनारलाई कडा रोग लागी औषधी गर्न जाना निमित्त मलाई अख्तियार नामा गरिदिएको र सो अख्तियारनामा लिइ म हाजिर भई पेश गर्दा स्वीकार गरी मेरो सकारनामा गारई मलाई तारेखमा राखी आएको थियो । २० साल भाद्र १ गते भन्दा अघि म यस मुद्दामा वारेस बसेको हुनाले साविक मुलुकी ऐन अ.बं. ८९ नं. अन्तर्गत वारेस बसेको र आय र कर अदालतले वारेस स्वीकार गरी तारेख दिएको हुनाले कारणी रामचन्द्रप्रसाद सोनारको अदालतको ईजलासमा उपस्थितिको आवश्यक परेमा उपस्थित गराउने अभिभारा लिनु भएका र अदालतले दिएका श्री चन्द्रप्रसाद शर्मा जीवित हुनुहुँदै मुद्दामा फैसला नभएसम्म तारेखमा रही मुद्दा भित्रको तथ्यसम्बन्धीमा जवाफदेही गर्नु परेमा सोसम्म गर्न अभिभारा पक्ष रामचन्द्रप्रसाद सोनारले मलाई दिएको र सोसम्मको अभिभारा अदालतबाट पनि मलाई बोकाएको कागज प्रमाण ऐन काननूहरू बहाल छंंदै मेरो उत्तरदायित्वमा नरहेको कुरामा मलाई उत्तरदायित्व गराइ विधान ऐन कानून नागरिक अधिकार ऐन सहितका प्रचलित कानूनहरूद्वारा प्रदत्त भएको मेरो कानूनी अधिकार आय र कर अदालतले हनन् गरेको र श्री चन्द्रप्रसाद शर्माले हनन् गराएको हुनाले यस सम्बन्धमा सर्वोच्च अदालतबाट विचार बिमर्स हुनुपर्ने अदालतको २८ नं. को निर्देषबाट र आय र कर न्याय व्यवस्था ऐन, ०१७ को दफा ५ को खण्ड (ख) ले यो मुद्दा बीरगञ्ज गोश्वराबाट हेर्न नुहने, हेरेछिनेको साविक अ.बं. ५७, ५८, ५९ हाल ३५ नं. ले रामचन्द्रप्रसादको निवेदनबाट बदर हुनेमा जमानत दिई अपील पत्र दिई तारेखमा रहनको निमित्त वारिस दिएको हुनाले निजको उपस्थितिको आवश्यक नदेखिएको, निज कडा रोगले बिरामी भई भारत दरभंगामा औषधी गरिरहेको तयार भई काठमाण्डौमा आउन ६ महिना लाग्ने, डाक्टरले सर्टिफिकेट गरी दिएको सोसमेत राखी २१।९।१३ मा निवेदन साथ आय र कर अदालतमा पेश गरी दिई सकेको सो सर्टिफिकेटलाई मान्यता नदिएकोसमेत रामचन्द्रप्रसादको व्यक्ति स्वतन्त्रता अपहरण भएमा निज बिरामीबाट तैयार भएपछि उसैले निवेदन गर्ने भएकोले म निवेदकले गर्नुपर्ने कर्तव्य पालन गर्न नदिई निवेदकको कानूनी अधिकार आय र कर अदालतले हनन गरी मेरो रक्षा बिरुद्धको कागज कानूनी अख्तियार बेगर पटकपटकका तारेखहरूमा गराउँदै आखिर २१ साल माघ २ गतेका दिन हाजिर हुनु भन्ने तारेख तोकिएको, तर, निज रामचन्द्रप्रसादलाई लिई आउन सकेन भने निजकातर्फबाट मैले तारेखमा गर्ने छैन भन्ने मेरो ०२१।९।१३ का दिन आय र कर अदालतको कागज गराइ लिन वारेसले आफ्नो खुशीले तारेख छाडेको भनी रामचन्द्रप्रसादले मलाई दिई आएको तारेखको अभिभारा मैले छाडेको हुनाले अपील जिकिरतर्फ विचार गर्न नपर्ने भनी अपील डिसमिस गर्न निमित्त त्यस्तो कागज गराएको सो गराउने आय र कर अदालतलाई कुनै कानूनी अधिकार नभई गैरकानूनी तवरबाट कागज गराइ लिएको सो बारे नालेस तथा अपीलसमेत लाग्ने कुनै कानूनमा व्यवस्थासमेत नभएको त्यस्तो कागज गराइ लिन पाउने कानूनी अधिकार देखाई बेञ्च इजलासबाट आदेशसमेत नभएको हुँदा त्यस कागजद्वारा मेरो कानूनी अधिकार हनन् भएको हुनाले नेपालको संविधानको धारा १६।१७ अन्तर्गत कानूनद्वारा प्रदत्त अधिकार प्रचलनकालागि निवेदन पेश गरेको छु ।

      २.    रामचन्द्रप्रसाद सोनारलाई अदालतले खोजेको बेलामा उपस्थित गराउने अभिभारा बोकी श्री चन्द्रप्रसादले कागज गर्नु भएको छ र निज रामचन्द्रप्रसादलाई हाजिर गराउन परे निजै चन्द्रप्रसादलाई आदेश हुनपर्ने हो, सो कुराको उत्तरदायित्व मैले लिएको छैन, उत्तरदायित्व भएका चन्द्रप्रसादलाई फुर्सद दिई निजको उत्तरदायित्वको कुरा मैले पूरा गर्नुपर्छ भनी मलाई कर लगाई गराएको कागजहरू गैरकानूनी हो ।

      ३.    मेरो जे जति कागजहरू गराइ लिएको छ ती कागजहरू सबैको अ.बं. २११ नं. बमोजिम नक्कल पाउँ भनी ०२१।९।१८ मा आय र कर अदालतमा माग गर्दा नक्कल पाउँदैन भनी नदिएकोबाट अ.बं. २११ कागज जाँचको १७ नं. द्वारा प्रदत्त कानूनी हक पनि हनन् भयो ।

      ४.    रामचन्द्रप्रसादलाई लागेको दण्ड १२०००० को जमानी चन्द्रप्रसाद शर्मा बसी कागज गरी दिएको छ । तापनि सो कागज रद्द होस जमानी बस्न मञ्जुर छैन भनी निवेदनसमेत दिई सो जमानीपत्र क्यान्सल गरी फुर्सद दिइसकेको छ भन्ने आय र कर अदालतको भनाई छ । रामचन्द्रप्रसादलाई लागेको दण्ड नलाग्ने भई लगत कट्टा नभएसम्म वा सो दण्ड असूल नभएसम्म अथवा निज रामचन्द्रप्रसादको मृत्यु नभएसम्म र सो अपीलको किनारा नलागुन्जेलसम्म जमानी पत्र बदर हुन नसक्नेमा माथि उल्लेख गरिएबमोजिम भयो भनी रामचन्द्रलाई हाजिर गराउने अभिभारा गैरकानूनी तरिकाबाट मलाई बोकाइ कानूनद्वारा प्रदत्त अधिकार हनन् गरेको र सो प्रचलनकोलागि कुनै कानूनहरूमा केही व्यवस्था नभएको हुनाले नेपालको संविधानको धारा १०।१। धारा ११।४। नागरिक अधिकार ऐन, १२ को दफा ३ दफा ११।२ दफा १२ समेतद्वारा प्रदत्त हकको हनन् गरेको हुनाले निवेदन दिन आएको छु । माघ २ गते रामचन्द्रप्रसादलाई हाजिर गराउने छु भन्ने कागज गराएको सो दिन निजलाई हाजिर गराउन नसक्ने ममात्रै तारेख लिन जाँदा तारेख नदिने भएको अपीलको किनारा नभएसम्म म तारेखमा बस्न पाउने कानूनले अधिकार प्रदान गरेको हुनाले सो तारेखमा म हाजिर भई तारेखको माग गर्नेछु । तर,, सो आय र कर अदालतबाट मलाई तारेख नदिने भएकोले सो तारेख गुज्रन नपाओस र रामचन्द्रप्रसाद सोनारलाई लिई हाजिर हुँला भन्नेसमेत ०२१।९।१३ मा र त्यस अघि पटकपटकका तारेखहरूमा गराएको गैरकानूनी कागजहरू बदर गरी दिएको छ । सो कागज लागू नगर्नु, अपीलको किनारा नलागेसम्म वारेसलाई कानूनबमोजिम तारेखमा राख्नु भन्ने उत्प्रेषण वा परमादेशको रीट वा उपयुक्त आज्ञा आदेश वा पुर्जि आय र कर अदालतका नाउँमा रामचन्द्रप्रसाद सोनारलाई बीरगञ्ज गोश्वाराका ०१९।१।२८ का पर्चाले लागेको जरिवाना रु. १२०००० नलाग्ने भइ लगत कट्टा नभएसम्म वा असूल नभएसम्म रामचन्द्रप्रसाद शर्माको ०१९।३।८ को जमानी पत्र ऐनले रद्द क्यान्सील हुन नसक्ने भएकोले सो लागू नै राख्नु भन्ने परमादेश वा जो चाहिने आज्ञा आदेश आय र कर अदालतका नाउँमा कुनै कानूनले रामचन्द्रप्रसाद सोनारलाई आय र कर अदालतको इजलासमा उपस्थित गराउन पर्ने । सो नगराइ निजको अपील किनारा हुन नसक्ने भए कानूनी अधिकार देखाइ निजलाई उपस्थित गराउनु भनी निजको हकमा जमानी हुने चन्द्रप्रसाद शर्मालाई आदेश पुर्जि जारी गरी उपस्थित गर्नु गराउनु । सो गर्न नसकेमा निजलाई लागेको दण्ड जरिवानामा निजै जमानीबाट असूल गर्नु गराउनु भन्ने पनि परमादेशको रीट वा जो चाहिने आज्ञा आदेश आय र कर अदालतकै नाउँमा र रामचन्द्रप्रसाद सोनारलाई लागेका जरीवानामा जमानत दिई अपील वारेस दिई राखेको हुनाले निजको अपील कानूनबमोजिम किनारा गरी किनारा भएको व्यहोरा कानूनबमोजिम वारेस निवेदकलाई सुनाइमात्र निजको तारेख तोड्नु भन्ने पनि परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश आय र कर अदालतका नाउँमा निवेदक शंकरप्रसादको ०२१।९।१३ मा र त्यस अगी पटकपटक गराइ लिएको कागजहरूको नक्कल अ.बं. २११ कागज जाँचको १७ नं. बमोजिम दस्तुर लिई दिनु भन्ने परमादेशको रीट आय र कर अदालतका नाउँमा जारी गरी पाउँ भन्नेसमेत २१।९।२२।३ को शंकरप्रसाद सोनारको निवेदनपत्र ।

      ५.    पेश हुन आएको प्रस्तुत विषयमा निवेदक शंकरप्रसाद सोनारलाई राखी निजका विद्वान सिनियर एडभोकेट बल्लभ शम्सेर ज.ब.रा. एडभोकेट गजेन्द्रबहादुर प्रधानाङ्ग, एडभोकेट दिनेशमान प्रधानहरूको बहससमेत सुनी बुझ्दा संविधानको धारा ७१ मा यो संविधानको भाग ३ द्वारा प्रदत्त हकको प्रचलनको लागि वा अन्य उपचराको व्यवस्था नगरिएको भए तत्काल प्रचलित अन्य कानूनद्वारा प्रचलनकालागि बन्दी प्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, अधिकारपृच्छा, उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि जारी गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ भन्ने उल्लेख भएको हुनाले सर्वोच्च अदालतको आसाधारण अधिकार क्षेत्रको प्रयोग गराइ माग्ने निवेदकले सर्वप्रथम आफ्नो कुनचाहि मौलिक हक वा कानूनद्वारा प्रदत्त हक हनन् भएको हो कानूनद्वारा प्रदत्त हक हनन् भएको भए । त्यसको प्रचलनकोलागि अन्य उपचारको व्यवस्था छ छैन भन्ने कुरा प्रष्ट देखाउन सक्नु पर्दछ ।

      ६.    रामचन्द्रप्रसाद सोनारलाई कन्ट्रीस्प्रीट पैठारी गरे बापत बीरगञ्ज गोश्वराबाट भएको दण्ड रु. १२०००० मा चन्द्रप्रसाद शर्मालाई हाजिर जमानी दिइ अपील गरेकोमा निवेदक शंकरप्रसाद सोनार निज रामचन्द्रप्रसाद सोनारको वारिस भई आय र कर अदालतबाट कारवाई चली रहेको जमानी हुने चन्द्रप्रसाद जमानी रहन नचाहेको कारणबाट चन्द्रप्रसाद सोनारलाई हाजिर गराउनु भनी निवेदकलाई पटकपटक तारेख तोक्दै आएको हाजिर नगराएकोले अब अगामी ०२१।१०।२ मा हाजिर गराउँला, नगराए निज रामचन्द्रप्रसाद सोनारको तर्फबाट तारेख माग्ने छैन भनी निवेदकको आय र कर अदालतमा कागज भएपछि रामच्रन्दप्रसाद सोनार बिरामी भई दरभंगामा रहेकोबाट उपस्थित गराउन नसक्ने, निजलाई उपस्थित नगराए आय र कर अदालतले तारेख नदिने भई साविक अ.बं. ८९ हाल अ.बं. ६५ नं. ले वारेस भई पुर्पक्ष गर्नु पाउने आफ्नो कानूनद्वारा प्रदत्त हक हनन भएको भनी उत्प्रेषण वा परमादेश वा अन्य उपयुक्त आज्ञा आदेशद्वारा सो आय र कर अदालतमा ०२१।९।१३ मा गरेको भनेको कागजसमेत बदर गराइ चन्द्रप्रसाद शर्माको हाजिर जमानीपत्र लागू नै राखी अपीलाट रामचन्द्रप्रसाद सोनारलाई उपस्थित गराउन परे जमानी चन्द्रप्रसाद शर्माद्वारा नै उपस्थित गराइ वारेस निवेदकलाई नै तारेखमा राखी निजको अपील किनारा गराइ निज रामचन्द्रप्रसाद सोनार हाजिर भएन र लागेको दण्ड निजबाट असूल भएन भने जमानी हुने चन्द्रप्रसादबाट असूलउपर होस र सो कागजहरूको नक्कल पाउँ भन्ने माग गर्दै निवेदक शंकरप्रसाद सोनार सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग गराइ माग्न उपस्थित भएको निवेदनपत्रको लेखाइबाट देखिनाले निवेदकको लेखाइबमोजिम कानूनी हक हनन् भएको छ छैन, हनन् भएको भए असाधारण क्षेत्रको प्रयोग गरी प्रचलन गराउन पर्नेनपर्ने के हो भन्ने कुराको विचार गर्नुपर्ने हुन आयो ।

      ७.    रामचन्द्रप्रसाद सोनारलाई हाजिर गराउँला भनी पटकपटक तारेख तोकी आखिर ०२१।९।१३ मा ०२१।१०।२ मा निज रामचन्द्रप्रसाद सोनारलाई हाजिर गराउँला गराउन नसके निजकोतर्फबाट तारेख माग्ने छैन भन्ने कागज गराएकोबाट रामचन्द्रप्रसादले गरेको अपील अन्तिम टुंगो नलागी फैसला नभएसम्म तारेखमा बस्न पाउनेसमेत साविक अ.बं. ८९ हाल ६५ नं. द्वारा प्रदत्त कानूनी हक हनन् भयो उत्प्रेषण वा परमादेशद्वारा बदर गरी सो कागजहरूको नक्कल दिनु भन्ने परमादेश पनि जारी गरी सो कानून हक प्रचलन गराइ पाउँ भन्ने निवेदकको दावातर्फ रामचन्द्रप्रसाद सोनारले वारेसनामा दिएको कारणबाट पुर्पक्षमा रहने हक निवेदकको देखिन्छ । तर, सम्बन्धित अड्डाले कारणीको उपस्थिति देखेमा वारेसलाई कारणी हाजिर गराउनु भनी तारेख तोक्न नसक्ने कानूनी बन्देज र एकपटक वारेस दिएपछि अन्तिम किनार नभएसम्म वारेस बदल्न नपाउने कानूनी व्यवस्था भएको पनि देखिदैन । वारेस दिने कारणीले वारेस बदल्न पनि सक्ने र अ.बं. ६५ नं. को देहाय १ मा सो बाहेक जमानत लाग्ने अवस्थामा कानूनबमोजिम जमानत दिने व्यक्तिले अड्डाबाट वारेस राख्न दिन मनासिव ठाहराई इजाजत दिएमा वारेस राख्न पाउँछ भन्ने उल्लेख भएकोसमेतबाट मुद्दाको अन्तिम किनारा नभएसम्म वारेस बस्न पाउने भन्ने निवेदकको भनाई कानूनमा आधारित नदेखिने, कारणी हाजिर गराउने भन्ने तारेख तोकिएमा सो कुरा आफूलाई वारेस दिने पक्षलाई सूचना दिनेसम्म निवेदकको कर्तव्य भएको त्यसबाट जो असर पर्ने हो कारणीलाई नै पर्ने हुनाले निवेदकको कानूनी प्रदत्त हक हनन् हुने अवस्था नदेखिएको २१।१०।२ मा हाजिर नगराए तारेख दिने छैन भनी अपील डिसमिस होला भन्ने भविष्यको कुराको कल्पना गरिएको निवेदकसम्बन्धित विषय नहुनाले निवेदकको कानूनी प्रदत्त हक हनन् भएको भन्न नमिल्ने ।

      ८.    नक्कल दिएन भन्ने जो भनाइछ, नक्कल माग्ने सम्बन्धमा के प्रयास गरिएको थियो सो कुरा निवेदनपत्रबाट खुल्दैन, नदिएको भन्ने लेखाई बाहेक अरु तथ्य नभएको र ०२१।१०।२ मा राम चन्द्रप्रसाद सोनारलाई हाजिर गराइन भनें निजकोतर्फबाट तारेख माग्ने छैन भनी कागज गरायो भन्नेतर्फ कहींं इच्छा विरुद्ध र कहीं कर गरी कागज गराएको भन्ने निवेदन लेखाई देखिन्छ । यस सम्बन्धमा निवेदकको व्यक्तिगत हकसँग सम्बन्धित देखिन्छ तापनि कर वा इच्छाले के गरी गराईएको हो त्यस सम्बन्धमा साक्षी प्रमाण इत्यादि बुझी निर्णय दिने अवस्था पर्नजाने हुनाले त्यस्तो मुद्दा सरह साक्षी प्रमाण बुझी तथ्यमा पसी पक्ष विपक्षको कुरासुनी सबुद प्रमाणको कसौटीमा घोटी निर्णय हुनुपर्ने कुरा (जुन रीटको छिटो छरीतो कारवाईबाट त्यो हुन सक्तैन) लाई रीटको विषय बनाइएकोसमेत देखिनाले यस्तोमा सर्वाेच्च अदालतको असाधारण क्षेत्रबाट विचार गर्न मिल्ने देखिदैन ।

      ९.    अब जमानी हुने रामचन्द्रप्रसाद शर्माको जमानीपत्र लागू नै राखी राम चन्द्रप्रसादलाई उपस्थित गराउन परे निजै जमानीद्वारा उपस्थित गराइ वारेस निवेदकलाई नै तारेखमा राखी अपील किनारा गराई राम चन्द्रप्रसाद हाजिर भएन र लागेको दण्ड निजबाट असूल भएन भने जमानी हुने रामचन्द्र शर्माबाट असूल गर्न आय र कर अदालतका नाउँमा परमादेश जारी होस् भन्नेसमेत निवदकको दावा भएको उल्लेखित दावा गर्न निवेदक शंकरप्रसाद सोनारलाई कानूनले अधिकार दिएको छ र त्यसमा निवेदकको कुन व्यक्तिगत अधिकारमा आघात पुगेको छ सो कुनै कुरा निवेदकले आफ्नो २४ पेज को निवेदनपत्रका कहीं उल्लेख गर्न सक्नु भएको छैन र राम चन्द्रप्रसाद सोनार कडा रोगले बिरामी भई भारत दरभंगामा औषधी गरी रहेको तयार भई आउन ६ महिना लाग्ने डाक्टरले सर्टिफिकेट गरी दिएको सो समेत राखी २१।९।१३ मा निवेदन साथ पेश गरी दिईसकेको, सो सर्टिफिकेटसमेतलाई मान्यता नदिएकोसमेत रामचन्द्रप्रसादको व्यक्तिगत स्वतन्त्रता अपहरण भएमा उनले निवेदन गर्ने भएको भन्नेसमेत उल्लेख गरेको देखिन्छ । रामचन्द्रप्रसाद सोनारको व्यक्तिगत अधिकार अपहरण भएमा उनैले निवेदन गर्नुपर्ने महसुस गर्ने निवेदकले उल्लेखित कुरामा स्वयं दावा गर्दै उपस्थित भएको हुनालेसमेत र उल्लेखित कारणसमेतबाट निवेदकको व्यक्तिगत कानूनी अधिकार अपहरण भएकोसमेत नदेखिनाले यसबाट अरु कारवाई गर्नपर्दैन निवेदनपत्र तामेलीमा राख्न लगत काटी नियमबमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०२१ साल पौष २४ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु