निर्णय नं. २६१ - जिमिदारी आयस्था दिलाइ पाउँ

निर्णय नं. २६१ ने.का.प. २०२१
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री लोकराज जोशी
दे.फु.नं. २४०
निवेदक, वादी : जानकी ओझनी, सुर्यलिला, श्यामलिला समेत जना ३
बिरुद्ध
विपक्षी प्रतिवादी : ललितबहादुर खत्री, हिराबहादुर खत्री समेत जना २
मुद्दा : जिमिदारी आयस्था दिलाइ पाउँ
(१) दर्ता–तिरो–भोग बेगर जग्गामा गरेको दावा पुग्न नसक्ने ।
यसरी उहाँले दाखेल खारेज भएको बखत यो मौजा हाम्रो हक भएकोमा हिराबहादुरले दाखेल खारेज गराउन नपाउने गराएको बदर गरी पाउँ भन्नेसमेत मौजा हक गराउनेतर्फ वादीहरूको उजुर बाजुर नपरी हिराबहादुरका नाउँमा दर्ता कायम रहेकोसमेत देखिएकोले दर्ता भोग तिरो प्रतिवादीकै भएकोमा हक छोडीदिएको कानूनको रीतपूर्वकको लिखत वेगर मौजामा कान्छी आमा आउनु भएको छ । आयस्था बुझाई दिनु भन्ने किसिमको चिठ्ठीको भरलेमात्र मौजामा र त्यसको आयस्थामा वादीको दावा पुग्छ भन्ने भएन ।
(प्रकरण नं. १२)
वादीतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कृष्णप्रसाद पन्त, प्लीडर सुधानाथ पन्त ।
प्रतिवादीतर्फ : एडभोकेट मधुप्रसाद शर्मा ।
फैसला
१. बाज्ये मथुरालालको २ छोरामा जेठो सूर्यलाल, कान्छो ईन्द्रलाल, जेठो सूर्यलालको छोरा तंवुलाल, तंबुलालको छोरा हिराबहादुर, ललीतबहादुर, २ भाइ र कान्छो इन्द्रलालको २ स्वास्नीमा जेठी गोरीबाट जन्मेका छोरी हामी सूर्यलिला, श्यामलिला र कान्छी म वादी जानकी हौं । सूर्यलाल, ईन्द्रलाल २ भाइको मन नमिली ६३ साल श्रावण १ गते देखि महोत्तरीतर्फको रत्नवारासमेत मौजा इन्द्रलाललाई र पर्सकोतर्फको मौजा र बीरगञ्जको घरसमेत सूर्यलाललाई मिलाई छुट्टै बसी रत्नवारा मौजाको जिमिदारी आफू ईन्द्रलालले भोग गर्नु भएकोमा निज ईन्द्रलाल ६७ साल जेष्टमा परलोक भएपछि सो रत्नवारा भदै मौजा पोत बाँकिमा लिलाम भएछ र हामीहरूपट्टि छोरीमात्र भएकीले जेठा सूर्यलालका छोरा तंबुलाका नाउँबाट श्री ३ महाराज चन्द्र सम्शेर काहाँ बिन्ति चढाई जतिमा लिलाम भएको छ उति रुपैयाँ बुझाइ थामि दिनु भन्ने भई थामि पाएको कुरा ६७।७८ सालको महोत्तरी मालको श्रेस्ताबाट तंबुलाल हामी श्यामलिला, सूर्यलिलाको दाज्यु र म जानकीको भतिजा हुँ निज तंबुलाल र निजका छोरा हिराबहादुर, ललीतबहादुरसमेतबाट मौजाको आयस्था हामीले लिने गरी आएको छौं । बीच बीचमा सो मौजा ठेक्का लिनेहरूले रुपैयाँ नबुझाई ढिला गरी दिएमा पनि खुद आफूहरू गई असूल गरी लिने गरी आएका छौं । सो रत्नवारा भदै मौजा हाम्रो हो । आफै मौजामा आउनु भएको छ भन्नेसमेत तंबुलालले लेखिएको कागजहरू हामीसँग छ । ०९ सालसम्मको आयस्था पाएकै छु । ०१० सालको आयस्था नपठाएकोले हिराबहादुरलाई सोध्दा मेरा बाबुका नाउँको जिमिदरी मौजा भएकोले ०१० साल देखि आयस्था पाउँदैनौ भनी जवाफ दिए । सो मौजाको हाम्रो हक भोग कायम गरी ०१० सालको आयस्थामा रु. ५००। भराई पाउँ भन्नेसमेत जानकी, सूर्यलिला, श्यामलिलाहरूको ०१२।१।६।३ को निवेदनमा हाल कोर्टफिमा पक्राउ नगरी ठाडै बुझी ऐन सवालबमोजिम गर्नु भन्ने श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महतबाट ०११।१२।१४।१ मा आदेश भएको ।
२. ६३ सालमा बाज्येहरू भिन्न भई ईन्द्रलाल छुट्टै बसेको भन्ने वादीको लेखाई छ । वादीले हाम्रो भनेको रत्नवारा भदै २ मौजाको ६६ सालको पोतसमेत बाँकीमा महोत्तरी मालबाट लिलाम हुँदा अनौठालाल पाण्डेले लिलाम सकार गरी बाहालीसमेत लिएकोमा हकवालाको म्याद भित्र वादीहरूसमेत कुनै अघि नसरी मेरो पिता तंबुलालले हकवाला भई मौजा थामि ७०।५।२६।४ मा बाहाली पाएको अरु कसैको हकको होइन । २००० सालमा पिताजी परलोक भएपछि ०१ सालका बालीदेखि मेरो नाउँमा दर्ता भई म र भाइ ललितबहादुरले भोग गरी आएका छौं वादीलाई आयस्था खुवाउने गरेकोसमेत होइन । पिताजीले कान्छी आमा गोरीको दुःख देखी दयामायाले केही दिनु भए मलाई थाहा छैन भन्नेसमेत हिराबहादुरको ०१२।४।२५।३ को बयान ।
३. वादीबाट पेश भएको कागजहरू सुनाईकोमा यो मुद्दा कीर्ते वारेसनामाबाट चलाएको भई कीर्तेमा फौज्दारीमा मुद्दा दिइ सकेको हुनाले त्यस्तो ठेगाना नलागि यी कागजहरू यस्ता हुन भनी बयान दिन मनासिव नपर्ने भन्ने समेत हिराबहादुरको बयान ।
४. बाबु परलोक भएपछि ०१ सालदेखी दाजु हिराबहादुर र मसमेत २ भाइको हक भई दाजुका नाउँमा नामसारी दर्ता गराई भोग गरी आएको छौं वादीलाई आयस्था दिनुपर्ने होइन दिई आएको पनि थिएन भन्ने ललीतबहादुरको ०१५।३।१५।१ को बयान ।
५. पहिला तंबुलालका नाउँमा र निज परलोक भएपछि ०१ सालमा हिराबहादुरका नाउँमा दर्ता भईसकेको सो बदर गरी पाउँ भन्ने उजुर नभएकोले एउटाका नाउँमा दर्ता भईरहेको चीज वादीका नाउँमा दर्ता भईरहेको चीज वादीका नाउँमा दर्ता हक कायम गरी दिन नमिल्ने । आयस्था पाउँ भन्ने दावी भएकोले त्यसतर्फ सो जिमिदारी मौजा ईन्द्रलालाले पोत बांकी राखेबाट लिलाम भएकोमा कान्छा बाबु इन्द्रलाल मरी क्रिया बस्नु परेकोले म्याद गुज्र्यो जिमीदारी थामि पाउँ भन्ने तंबुलालको बिन्ति चढाईमा व्यहोरा साँचो भए थामी दिनुभन्ने भई तंबुलालले थामि पाएको देखिन आएकोले सो बखत हामी स्वास्नी मानिस नाबालख भएकाले तंबबुलालले लेखेको पटक पटकको चिठ्ठीहरू र पटवारी कृष्णलाल दासको जम्मा खर्च विषयको कागजसमेतमा सो जिमीदारी मौजाको हक र त्यसको आयस्थासमेत गोरीकै देखाई लेखिएको सो कागजहरू खास तंबुलालको सोहस्ताको भनी पेश भएको । प्र.हिराबाहादुरलाई सुनाएकोमा किर्ते नकरा भन्न नसकेको, उस बखत मुल्की सुब्बासम्म भएका तंबुलालले कान्छी आमाको हकको हो आयस्था उनलाई दिनु भन्ने पटक–पटक लेखिएको चिठ्ठीबाट देखिन आएपछि आयस्था वादीहरूले खाए भोगेका रहनेछन् भन्न मनासिव नपरेको हुनाले साविकबमोजिम दिइ खाइपाई आएको आयस्था वादीहरूले खाने पाउने ठहर्छ र रु. ५००। को दरले दावी भए पनि दाखील भएको लिखतमा रु. २५०। मा ठेक्का लागेको भन्ने लेखिएकोले ०१० सालको आयस्था भा.रु. २५०। भराई दिने भन्ने देवानी पहिलाको ०१५।११।२९।५ को फैसला ।
६. जिमिदारी मेरा नाउँमा दर्ता भए पनि हक तिम्रै हो भनी मेरा बाबुले लिखतगरी दिएको कुनै पेश गर्न नसकेको । आफ्ना हकको जिमिदारी भाइ भतिजा नातेदारसमेतका नाउँमा दर्ता गराएको भए आफ्ना नाउँमा दर्ता गराउनु भन्ने ईस्ताहारबमोजिम दर्ता गराउनसमेत नसकेकाले चित्त बुझेन भन्ने हिराबहादुरको र हामीले दावी गरेको अंशमा विपक्षीले यतिमात्र पाउने हो भनी कुनै प्रमाण गुजार्न नसकेको, चिठ्ठीको लेख विचारै नगरी कं.रु. २५० मात्र आयस्था भराउने गरेमा चित्त बुझेन भन्नेसमेत जानकी ओझेनीसमेतका दुवै पक्षका अपील ।
७. उक्त मौजा लिलाम भई सु. तंबुलालले थाहा पाई ७० सालमा बाहाली लिएको देखिएकोले आयस्था पनि नपाउने होकी भन्ने उक्त मौजाको आयस्था ९८ सालतक वादी जानकीले खाईपाई आएको तम्बुलालको सोहस्ता लिखतबाट देखिन आएको र सोसाल देखी यताको आयस्था आफ्ना पिताले गरी दिएको व्यवहारलाई छोराहरूले दिएन होलान् भनी ठहराउँन उचित नदेखिएको । अब झगडा परेको ०१० सालको हकलाई लिखतबाट आयस्थालाई आएकै देखिएको सो आयस्था दिएको भए मुद्दा गर्नेनपर्ने हुनालेसमेत इन्साफ सुरुको मनासिव छ भन्ने अपील पहिलाको ०१६।९।२९।४ को फैसला ।
८. प्र.हरूको बण्डापत्रमा ७ मौजामात्र देखिएको सो बाहेक २ मौजा हाकिमहरूकै हो भन्ने देखिने हुँदा दावीबमोजिम आयस्थासमेत पाउनु पर्ने भई चित्त बुझेन भन्नेसमेत जानकी ओझेनीको र जग्गा जमिदारीमा हक नपुग्ने भएपछि त्यसको आयस्था दिलाउँने गरेकोमा चित्त बुझेन भन्ने ललितबहादुरको र वादीले पेश गरेको चिठ्ठी रजिष्टेशन खुले पछिको पास नभएको हुँदा जग्गामा हक नपुग्ने हुँदा चित्त बुझेन भन्नेसमेत प्र.हिराबहादुरसमेत दुवै पक्षको अपील ।
९. तंबुलालले बिन्ति चढाई लिलाम सकार गर्ने अनौठालालको रुपैयाँ तिरी जलेश्वर भारी मालले निज तंबुलालाका नाउँमा बाहाली दिएको । यसमा ईन्द्रलालका स्वास्नी छोरीहरूको निमित्त बिन्तिचढाई थामिएको भन्ने नदेखिएको । स्वास्नी छोरीहरूलाई थामिएको भए उनीहरूकै नाउँमा बाहाली हुन र बाँकी उनीहरूबाटै लिई दर्तासमेत हुनु पर्ने नभई ईन्द्रलालको हक उसै बखत छुटी तंबुलालको हक भई दर्ता श्रेस्ता बाहाली र दामकाम तिरो भरो भई आएको । तंबुलाल मरेको भनी ०२ सालमा हिराबहादुरका नाउँमा दर्ता गर्न मालले गरेको कारवाईउपर पनि कसैको उजुर नपरी प्रतिवादीतर्फ अछिन्न दर्ता तिरो चलेको देखियो । जग्गा भोग गरेको वादीहरूतर्फबाट कुनै प्रमाण नआई तंबुलालले ७९ साल र त्यसपछि लेखिएका चिठ्ठीहरूबाट गोरीको मौजा हो भन्ने बोली परेको छ भनी प्रमाणमा पेश गरी सोही नाताबाट जिमिदारी आयस्था खाई आएको भन्ने वादी जिकिर भएतापनि आयस्था दिने खाने गरेको कुनै निस्सा पेश नभएको, चिठ्ठीहरूमा जिमिदारी हक छाडी बिक्री बकस छोडपत्र इत्यादि यस व्यहोराले दिए वा दिउला भन्ने लेखिएको देखिन नआई गोरी ओझेनीको मैजा भन्ने शब्द परेको भरलेमात्र जिमिदारीमा जैलेसुकै पनि हक गरी लिन पाउने भन्ने नदेखिने । ९५ सालमा रजिष्ट्रेशन पास गरी गोरी जानकीहरूले अंशबण्डा गर्दा भएसम्मको अचल जेथा यतिकै हो भनी घर जग्गा बण्डा गरेको त्यसमा ७९ सालका चिठ्ठीबमोजिम जिमिदारी हक भई रहेको भए उक्त बण्डापत्रमा जरुर बण्डा गरेको हुनुपर्ने सो पनि नभएकोले जिमिदारीमा वादीको हक पुग्न नसक्ने । त्यस्तो हक नपुग्ने जिमिदारीको आयस्था दावी लिई ०११ सालमा गरेको नालेसबाट भरी पाउँने भन्ने नमिल्ने । गोरी ओझेनीको भन्ने तंबुलालले उस बखत त्यति शब्द परेको चिठ्ठी लेखे पनि सो मुताविक उसै बखतदेखि जिमिदारी भोग तिरो दर्ता गर्न नसकेको । गोरी मरी सकेकी निजका शेषपछिको बकसपाउने उनकी छोरी र जानकीका नाउँमा चिठ्ठी पनि नलेखिएको । त्यस्तो जिमिदारीको आयस्था पाउँ भन्ने वादीदावी पुग्न सक्तैन । शुरु र अपीलको गल्ती ठर्हछ भन्ने डिभिजन बेञ्चको ०१९।२।३२।५ को फैसला ।
१०. कारणीको हस्ताक्षरको चिठ्ठी कागजहरूबाट जग्गा हक कायम भई आएको कुराको मान्यता सर्वोच अ.को कयांै फैसलामा दिएको छ । चित्त बुझेन दोहर्याई पाउँ भन्नेसमेत जानकी ओझेनी समेतको निवेदन ।
११. दर्ता तिरो विपक्षीकै नाउँमा भए पनि आयस्था हामीले खाईरहेको रोकी दिंदा उजुर परेकोमा विपक्षीहरूले नै लेखेका चिठ्ठीहरूको प्रमाणसमेतबाट शुरु र अपीलबाट हामीले आयस्था खान पाउने ठहराई फैसला भएकोमा आयस्था विषयका कागज जाँचका ऐनले प्रमाण लाग्ने चिठ्ठीहरूको केही वास्ता नगरी आयस्तै नपाउने गरी डिभिजन बेञ्चबाट फैसला हुँदा हामीले खाईपाई आएको आयस्थासमेत नपाई अबला स्त्रीजातीले उचित न्याय पाएनौं भनी निवेदकहरूले रोहवरमा निवेदन गरेकाले व्यहोरा साँचो भए निवेदन पत्रबाट दुवैथर नातासम्बन्धी देखिएका र प्रमाण निमित्त पेश गरेका चिठ्ठीबाट बराबर आयस्था पाएको देखियो भने केबल दर्ता तिरोको भरलेमात्र निवेदकको आयस्था खान पाउने हक मेटी दिन मिल्छ मिल्दैन भन्ने प्रश्नको निर्णय गर्नु परेको हुनाले दोहर्याई हेर्न निस्सा दिएको छ । दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूको ०१९।५।१४।१ को आदेश ।
१२. वादीबाट पेश भएको चिठ्ठीहरू र फाँटबारका कागजहरू म ललितबहादुरलाई देखाए सुनाएको नेखिएको र चिठ्ठीहरू मलाई सुनाई सनाखत गराई ऐन सवालबमोजिम नामाकरण गर्नुपर्ने भन्ने प्र. हिराबहादुरको अपील जिकिर भएकोले मिसिल हेर्दा, शुरुबाट उक्त कागजहरू निजलाई सुनाउँदा यो मुद्दा किर्ते वारेस नामबाट चलाएको भई सो बदर होस भनी मुद्दा दायर गरिसकेको हुनाले सो वारेसनामाको ठेगाना नलागी यस्ता हुन भनी दिनु मनासिव नभएको भन्नेसम्म बयान गरी कागज यो यस्ता हुन भन्ने खुलाएको पनि नदेखिएको, वारेसनामा कीर्ते मुद्दा कीर्ते नठहरी फैसला भईसकेको देखिएकोले सक्कल चिठ्ठी समेतका कागजहरू निवेदक, वादी पक्षबाट पेश गराई दाखिल भएपछि प्रतिवादीहरूलाई सुनाउँन पेश गर्नु भन्ने २०।७।२९।६ को फुल बेञ्चका आदेश ।
१३. आदेशबमोजिम वादीबाट पेश भएको सक्कल चिठ्ठीहरू सुनाउँदा अक्षर लिपीको हकमा म अर्को अँग्रेजी लाइनको भइ धेरै दिनको कुरा हुँदा त्यसकोत्यतिको मलाई बाकिम छैन । तथ्यको हकमा विपक्षीको शुरु निवेदनमा आयस्थासम्मको माग गरेको भन्नेसमेत प्र.हिराबहादुरले र देखाएको चिठ्ठीहरूको परस्परमा हस्ताक्षर नमिलेको र लेख्ने मानिस मरी सकेको धेरै वर्ष पुराना कागज हुनाले सद्दे कीर्ते किटान गरी भन्न सक्दिन भन्नेसमेत प्र.ललीतबहादुरको वा. राधाकृष्णको बयान ।
१४. सर्वोच्च अदालत नियमावली संशोधित नियम ६३ उपनियम ४ मा डिभिजन बेञ्चले गरेको फैसलामा अन्याय भएको वा गैरकानूनी भएको भन्ने प्रधान न्यायाधशिलाई लागेमा निजले त्यसरी अन्याय भएको वा गैरकानूनी भएको भन्ने आफूलाई लागेको कुरा उल्लेख गरी त्यसको निस्सा दिए फुल बेञ्चले एकपटकमात्र दोहर्याउन हुन्छ भन्ने उल्लेख भएको । निवेदक सुमन्द्रकुमारी विपक्षी रामकुमारी भएको अंश मुद्दामा माननीय प्रधान न्यायाधीशज्यूको आदेशमा डिभिजन बेञ्चबाट भएको फैसलामा अन्याय भएको वा गैरकानूनी भएको के हो ? त्यस कुराको उल्लेख भएको देखिने भनी पक्षले जिकिर लिएको कुरा न्यायोचित हो होइन । सो कुराको निर्णय गर्न दोहराई हेर्न निस्सा दिएको उपरोक्त नियमको अनुरुप नदेखिएँदा ईन्साफ दोहराई हेर्न मिलेन भनी २०।१२।११।३ मा फुल बेञ्चबाट निर्णय भईसकेको देखियो । प्रस्तुत मुद्दामा आदेशमा प्रमाण निमित्त पेश गरेको चिठ्ठीबाट बराबर आयस्था पाएको देखियो भने भन्नेसम्म उल्लेख गरी सो आयस्था पाएको देखिने चिठ्ठीहरू प्रधान न्यायाधीशले हेरी त्यसबाट अन्याय भएको भन्ने वा गैरकानूनी भएको भन्ने महसुस गरी सो कुरा उल्लेख गरी उक्त नियमबमोजिम निस्सा भएको नदेखिएकोले दोहराई लाल मरेपछि २००२ साल जेष्ठ ५ गते रोज हेर्न नमिल्ने व्यहोरा दुवै पक्षलाई सुनाई दिनु भन्नेसमेत २०।१२।१८।३ को फुल बेञ्चको आदेश ।
१५. लिखतको प्रमाणबाटै हाम्रो मौजा भन्ने देखिनेमा हामीहरूलाई हराई डिभिजन बेञ्चले फैसला गरेकोमा सोही लिखतलाई सिरान हाली दोहर्याइने निस्सा भएकोमा नदोहर्याई दिने गरी फुल बेञ्चबाट ओदश भएकोले चित्त बुझेन दोहर्याई पाउँ भन्ने समेत सूर्यलिलासमेतको निवेदनमा व्यहोरा साँचो भए राजदरवार प्रमुख सचीवालयको नं. ७९ डा.अ. १।०२१ को पत्रमा लेखिएबमोजिम गर्नु गराउन भनी लेखी पठाई दिनु भन्ने हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय नं. १६ (न्या.स.) ०२१ मिति २१।४।१८।१ मा लेखिएको र उक्त ७९ डा.अ. १।०२१ को पत्र ०१३ (संशोधन ) नियम ६३(४) अनुसार प्रधान न्यायाधीशले दोहर्याउने आदेश दिएकोमा खारेज गरिसकेको पनि सबै पुनः जगाई हेरी ऐननियमबमोजिम दोहर्याई हेर्नु भनी लेखि पठाई दिनु भन्ने हुकुम बक्सेको छ भन्नेसमेत उल्लेख भएको व्यहोरा र यो बिन्तिपत्रको व्यहोरा समेत पेश भयो । यसमा व्यहोरा साँचो भए बकस भई आएका हुकुम प्रमांगीबमोजिम दोहर्याई हेर्न प्रस्तुत केश लगतमा दर्ता गरी दुवै पक्षलाई राखी नियमबमोजिम फुल बेञ्चमा पेश गनु भन्नेसमेत ०२१।४।१९।२ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१६. तारेख १६ मा रहेका निवेदक, वादी जानकी ओझेनीसमेतको वारेस कालीकाप्रसाद झा प्रतिवादी हिराबहादुर प्रतिवादी ललीतबहादुरको वारेस राधाकृष्णसमेतलाई राखी गत मार्ग ६ गते पेश भई निवेदक, वादीहरूतर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारी विद्वान एडभोकेट कृष्णप्रसाद पन्त विद्वान प्लीडर सुधानाथ पन्तसमेतले प्र. ललीतबहादुरतर्फबाट विद्वान एडभोकेट मधुप्रसाद शर्माले गर्नु भएका बहस र प्र. हिराबहादुरले गर्नुभएको जिकिरसमेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा,
१७. गोरी ओझेनी ०४ सालमा परलोक भएपछि ०९ सालसम्म आयस्था खाईपाई आएको सबुद के छ दाखिल गर्नु भनी निवेदक, वादीहरूको वारेसलाई तारेख तोकी दाखेल गरेपछि पेश गर्नु भनी फुल बेञ्चबाट भएको ०२०।१।१३।६ का आदेशबमोजिम तोकिएको तारेखमा वादी दावीका मौजाहरूको आयस्था लिई खाई आएको सबुद प्रमाण वादीतर्फबाट दाखील गर्न सकेको देखिएन ।
१८. सुब्बा तंबुलाले लेखेका मिति–मितिका चिठ्ठीहरूबाट पनी आयस्था लिईखाई आएकै भन्ने नदेखिएको सो मौजा इन्द्रलालको स्वास्नी छोरीहरूमा निमित्त थामिएको भएको भए उनीहरूकै नाउँमा दाखेल दर्ता हुनुपर्ने । त्यसो नभई सुब्बा तम्बुलाल झाको नाउँमा बहाली भई दाखेल दर्ता भएको, निज सुब्बा तम्बुलाल मरेपछि २०१० साल जेष्ठ ५ गते रोज ६ मा प्रतिवादी हिराबहादुरका नाउँमा बहाली पूर्जी भई दाखिल खारेज भएको देखियो ।
१९. यसरी बहाली दाखेल खारेज भएको बखत यो मौजा हाम्रो हक भएकोमा हिराबहादुरले दाखेल खारेज गराउन नपाउने गराएको बदर गरी पाउँ भन्नेसमेत मौजा हक गराउनेतर्फ वादीहरूको उजुर बाजुर नपरी हिराबहादुरका नाउँमा दर्ता कायम रहेकोसमेत देखिएकोले दर्ता भोग तिरो प्रतिवादी कै भएकोमा हक छाडी दिएको कानूनकोरीतपूर्वकको लिखत बेगर मौजामा कान्छी आमा आउनु भएको छ आयस्था बुझाई दिनु भन्ने किसिमको चिठ्ठीको भरलेमात्र मौजामा र त्यसको आयस्तमा वादीको दावा पुग्छ भन्न भएन ।
२०. उपरोक्त कारणहरूसमेतबाट इन्साफ ०१९।२।३२।५ को डिभिजन बेञ्चको मनासिव ठर्हछ, अरु तपसीलबमोजिम गर्नु ।
तपसील
निवेदक, वादी देहाएका मानिसके इन्साफ दोहराएको यस अघि डिभिजन बेञ्चका फैसलाले कोर्टफी बापत गर्ने गरेको देहायबमोजिम शुरु दण्डको अ.बं. २०४ नं ले दसौद देहायबमोजिम जरिवाना लाग्छ वारेस हुँदा असुल गर्न काठमाडौं श्रेस्ता अदालत तहसिलमा लगत दिनु......................१
जानकी ओझेनी के सुरु दण्ड रु. १२।५० को दशौद रु. १।२५, श्याम लिला ओझेनि के.ऐ. ६।२५ को दशौद रु. ।६२।२, सूर्य लिला ओझेनी के.ऐ. ६।२५ को दसौद रु. ।६२।२
मिसिल नियमबमोजिम बुझाई दिनु ..................२
बक्स भई हाएका हुकुम प्रमांगी र माननीय प्रधान न्यायाधीशज्यूका ०२१।४।१९।२ का आदेशानुसार यो निर्णयको २ प्रति लिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा रजिष्ट्रारमार्फत पठाई दिनु......................३
इति सम्वत् २०२१ साल माघ १३ गते रोज ३ शुभम् ।