निर्णय नं. ३१८३ - दर्ता गरिपाउँ

निर्णय नं. ३१८३ ने.का.प. २०४४ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ५२०
मुद्दा : दर्ता गरिपाउँ।
पुनरावेदक/प्रतिवादी: जि.रुपन्देही सिकटन गा.पं. वार्ड नं. ७ सुक्रौली बस्ने पाती अहिरनी।
विरुद्ध
विपक्षी/वादी: ऐ. ऐ. बस्ने मुराती अहिरनी ।
फैसला भएको मिति: २०४४।५।४।५ मा
स्त्री अंश धनको ६ नं. मा विधवा स्वास्नीले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमा स्वास्नीको हक रहँदैन ।
(प्रकरण नं. १४)
पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री रामजी विष्ट,विद्वान अधिवक्ता श्री ओजराज सेढाई
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः प.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. सर्भे नापीमा जेठानी पाती, म मुराती र नन्दी राम पाती समेतको नाममा जग्गा संयुक्त दर्ता गरिएकोमा नन्दीराम पातीको मृत्यु भई विसम्भरको नाममा दर्ता हुने ठहरी फैसला भई ३ खण्ड १ खण्ड आफ्नो नाममा गराई सके, बाँकी २ खण्ड हामी मुराती र पातीको नाममा संयुक्त दर्ता कायमै छ । संयुक्त दर्ता नराखी आ–आफ्नो नाममा दर्ता गर्ने इच्छा भएकोले तपसीलमा उल्लिखित जग्गा मध्येबाट मेरो भागमा पर्ने १ खण्ड मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत फिराद दावी ।
३. विपक्षी र म पातीका नाममा संयुक्त दर्ता भई भोगचलन समेत गरिआएकोमा ०३९।१।१ देखि विपक्षी मुराती भारत जिल्ला महाराजगंज अन्तर्गत मौजा दरहवा घर भएका जगदेवप्रसाद यादवलाई लोग्ने तुल्याई बस्नु भएको छ । पहिलो लोग्ने जगदेव अहिरको पहिल्यै नै मृत्यु भइसकेको छ । निज मुराती र जगदेवप्रसाद यादव लोग्ने स्वास्नी कायम भई ०३९।१।३१ गते मतदान गरेका छन् । मेरो देवर वा विपक्षीको विवाहिते लोग्ने जगदेव हो र अर्को पछि कायम गरेको लोग्नेको नाउँ पनि जगदेवप्रसाद यादव हो । यसरी विवाहिते लोग्नेको नाता छोडी अर्को लोग्ने कायम गरेको हुँदा निजको हाम्रो सम्पत्तिमा कुनै अधिकार छैन भन्ने समेत प्रतिउत्तर जिकिर ।
४. मेरो अघिल्लो लोग्ने जगदेवको मृत्युपछि सासूले नेपालको सुक्रौली गाउँको जगदेव अहिरलाई मसंग लोग्ने स्वास्नी कायम गराई दिएकीले बसेकी छु, भारतको जगदेवप्रसादसंग बसेकी छैन र निजको परिवार समेत भएको नभई मतदानमा पनि निजसंग मतदान गरेकी छैन भन्ने समेत वादी मुराती अहिरनीको बयान ।
५. वादीले नेपालको जगदेवलाई लोग्ने तुल्याई बसेको होइन, भारतको जगदेवसंग नै पोइल गई बसेकी हुन् भन्ने समेत प्र.वा. सूर्यमान यादवको बयान ।
६. वादी प्रतिवादीका साक्षीहरूले बकपत्र भई मिसिल सामेल रहेछ ।
७. वादी लेख र बयान अनुरुप यी वादी दोश्रो पति जगदेवसंग फिराद दर्ता पश्चात मात्र पोइल गएकी रहिछ, भनी अनुमान गर्नु प्रतिवादीको वैधानिक स्थितिमै हाल परिवर्तन आई वादी प्रतिवादी बीचको नाता टुटी सकेको देखिँदा स्त्री अंश धनका ६ नं. बमोजिम विवादको जग्गाको स्वामित्व वादीबाट समाप्त भइसकेको देखिई वादी दावी पुग्न नसकी झुठ्ठा ठहर्छ भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतको ०४०।८।७।४ को फैसला ।
८. शुरु जिल्ला अदालतबाट वादी दावी झुठ्ठा ठहर्याई गरेको फैसलामा चित्त नबुझेकोले सो फैसला बदर गरी फिराद दावी बमोजिमको जग्गा मेरो नाममा दर्ता कायम गरिपाउँ भन्ने समेत वादी मुराती अहिरनीको प.क्षे.अ.मा पर्न आएको पुनरावेदनपत्र ।
९. वादी विशम्भर र प्रतिवादी पाती अहिरनी समेत भएको जग्गा दर्ता नामसारी मुद्दामा प्रतिवादी पाती अहिर्नीले फिराएको प्रतिउत्तरपत्रको प्रकरण २ मा आफू र मुरातीले संयुक्त दर्ता जग्गा खान पाउने भनी प्रष्ट उल्लेख गरेको देखिँदा अहिले आएर मुरातीको हक समाप्त भइसकेको भनी बिना ठोस प्रमाण जिकिर लिन पाउने देखिँदैन । यसका साथै मुराती पोइल गएको भए सोको साल मिति समेत खुलाउनु पर्ने खुलाउन सकेको नदेखिँदा वादी दावी बमोजिम संयुक्त दर्ता मध्ये आधा निज वादीको नाममा जग्गा दर्ता हुने ठहर्छ भन्ने समेत प.क्षे.अ.को मिति ०४२।११।१४ को फैसला ।
१०. प.क्षे.अ.को फैसलामा अ.बं. १८४, १८५(क) र प्रमाण ऐन, ०३१ को दफा ५४ समेतको त्रुटि हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन पर्न आएको रहेछ ।
११. वादीले फिराद गर्दा विधवा छु भनी लेखेको नाता कायमको मिति ०३९।७।२९ को बयानमा अघिल्लो लोग्नेको मृत्युपछि मेरो सासूले सुखरौलीको जगदेव थारुलाई नाठो राखी दिएको भन्ने बयान गरेकी सो कुरा जिल्ला अदालतको फैसलामा समेत उल्लेख भएको छँदाछँदै त्यसतर्फ विचार नै नगरी वादी दावी बमोजिम वादीको नाउँमा दर्ता हुने गरी गरेको प.क्षे.अ. को फैसलामा स्त्री अंश धनको ६ नं. समेतको त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४३।३।२५।४ को आदेश रहेछ ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामजी विष्ट र श्री ओजराज सेढाईले गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा वादी दावी बमोजिम संयुक्त दर्ता मध्येको आधा जग्गा वादीको नाममा दर्ता गरिदिने ठहर्याएको म.प.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु परेको छ ।
१३. यसमा वादी मुराती अहिरनीले बयान गर्दा बयानको सवाल जवाफ नं. ३ मा नेपालको सुकैरौलीको जगदेव अहिरसंग लोग्ने स्वास्नी भई बसेको थिएँ नेपाल सुक्रौलीको जगदेव लोग्ने संगै भोट दिएकी हुँ भनी बयान गरेको देखिन्छ । यसबाट निज पोइल गएको भन्ने कुरामा विवाद देखिँदैन विश्वम्भर संगको मुद्दा अघि नै ०३८।११।२८ मा फैसला भइसकेको भन्ने फिरादपत्रबाट देखिन्छ । वादी मुरातीले यस मुद्दामा ०३९।७।२३।३ गते बयान गरेको देखिएबाट निजको बयान नै पछिको हुन आएबाट यसैलाई मान्यता दिनु पर्ने कानूनी बाध्यता देखिन्छ ।
१४. स्त्री अंश धनको ६ नं. मा विधवा स्वास्नीले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमा स्वास्नीको हक रहँदैन भनी व्यवस्था भएबाट आयोध्याको छोरा जगदेव मरेको भन्ने कुरामा वादीले सुक्रौलो बस्ने जगदेवको विधवा स्त्री भनी फिरादपत्र दिएबाट जगदेव भन्ने मरी फिराद दिँदा विधवा भनी लेखेबाट मुरातीको वतनमा सासू जिउछाले नाठो राखेको भनेबाट सासू जिउछाले अर्को गजदेव ल्याई दिएको भन्ने देखिएबाट आयोध्याको र आयोध्याको छोरा जगदेवको सम्पत्तिमा यी वादी मुरातीले अंश हक पाउने अवस्था स्त्री अंश धनको ६ नं. ले मिल्ने देखिँदैन । अतः संयुक्त दर्ता मध्येको आधा जग्गा वादी दावी बमोजिम वादीको नाममा दर्ता गरिदिने ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नहुँदा सो फैसला उल्टी हुन्छ, वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ.को इन्साफ उल्टी हुने ठहरेकोले पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा प.क्षे.अ.को फैसला बमोजिम राखेको कोर्ट फी रु. १२।५० धरौट राखेको देखिँदा सो रकम फिर्ता पाउँ भनी प्रतिवादीले निवेदन दिएमा कानून बमोजिम फिर्ता दिनु भनी शुरु जि.अ.मा. लेखिपठाउन का.जि.अ.त.मा लगत दिनु...१ माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ.को इन्साफ उल्टी भई वादी दावी नपुग्ने ठहर्याएको हुँदा प.क्षे.अ.ले संयुक्त दर्ता मध्ये आधा जग्गा वादी मुरातीको नाउँमा दर्ता गरी दिनको लागि सम्बन्धित मालपोत कार्यालयमा लेखिपठाउने गरी कायम गरेको लगत कायम राख्नु नपर्ने हुँदा सो लगत काटी दिनु भनी शुरु जि.अ.मा लेखिपठाउन का.जि.अ.त.मा लगत दिनु...१ माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ.को इन्साफ उल्टी हुँदा तत्कालीन मा.न्या.श्री मोहन बहादुर श्रेष्ठ तथा मा.न्या.श्री मोहनप्रसाद शर्माको उल्टीमा रेकर्ड राख्नु भनी स.अ.प्रशासन शाखामा लगत दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४४ साल भाद्र ४ गते रोज ५ शुभम् ।