निर्णय नं. २७५२ - हक कायम

निर्णय नं. २७५२ ने.का.प. २०४३ अङ्क - ६
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको दे.पु.न. ७३९
फैसला भएको मिति : २०४३।५।१६।२ मा
पुनरावेदक/प्रतिवादी : तेजरत्नकी श्रीमती का.न.पं.वडा नं.२१ बस्ने वर्ष ६७ की हिरामाया शाक्यसमेत
विरुद्ध
विपक्षी/वादी : का.न.पं.वडा नं.३० बस्ने हर्ष रत्नको छोरा अं.वर्ष ८१ को सानुमाया बज्राचार्य
मुद्दा : हक कायम
(१) आफ्नो हक हुने सम्पत्तिमा समय समयमा कानुन बमोजिम उजूर नगर्दैमा त्यसको आधारमा हकदार होइन भन्न कानुनले मिल्ने नदेखिने ।
(प्रकरण नं. १३)
प्रत्यर्थी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी
फैसला
न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४१।१२।२६ को फैसला उपर चित्त नबुझी प्रतिवादी हिरामाया शाक्य समेतको पुनरावेदको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत हक कायम मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. मेरा बाजे विरमुनिको ३ छोरा जेठा एडक रत्न, माहिला हर्षरत्न, कान्छा अष्टरत्न भएकोमा जेठा विवाह नहुँदै ५ साल अघि नै र कान्छा अष्टरत्न पनि विवाह नहुँदै १३ साल आश्विनमा परलोक भएकोले उनीहरूको हकको जम्मै घर जग्गा बाबा हर्षरत्नको हक हुन आई बाबा हर्षरत्न पनि १८ साल मार्गमा परलोक भएको र अरु हकदार कोही नभई म छोरी एकमात्र भएकोले अष्टरत्नको जग्गा सबै मेरो हक हुन आएको सो जग्गाहरू बन्धकमा दिई रहेको थियो । यी सबै कुरा गुमपारी विपक्षीहरूले अष्टरत्नको हक खाने हकदार कोही नभएको हुँदा हाम्रा नाउँमा अष्टरत्नको पोता ल.नं. १७१ मा दर्ता भएको जग्गा दर्ता गरिपाउँ भनी ०३५ सालमा न.पं.को सिफारिश लिई मालपोत कार्यालयमा निवेदन दिएको कुरा ०३७।१२।९ मा थाहा पाई नालिश गर्न आएको छु । रत्नकुमारीका बकस पत्र बमोजिम काका अष्टरत्नको नाममा छुट्टै दर्ता भएको ५७१ को पोतालगत बमोजिम जग्गा विपक्षीहरूको कुनै हक नलाग्ने अपुतालीको ४ नं. ले मेरो हकको जग्गालाई आफ्नु हकदार भनी झुठ्ठा निवेदन दर्खास्त दिएमा हदैसम्म सजायँ गरी मलाई अष्टरत्नको हकदार कायम गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३८।१२।१८।३ को फिरादपत्र ।
३. फिराद दावी झुठ्ठा हो पोता लगत नं. १७१ मा दर्ता भएको जग्गाको कुनै कतैपनि दर्खास्त दिएको छैन ल.नं.५७१ अष्टरत्न बज्राचार्यको नाममा दर्ता भइरहेको गुठी जग्गाहरू मिति ०२२।९।१६ गतेको निर्णय अनुसार का.जि.टेबहाल बस्ने भाजुरत्न सिक्रीकारको नाममा रैकरमा परिणत भई मौजा काठमाडौं नं. १६३ मा समेत दर्ता भइसकेको छ सो रैकरमा परिणत भइसकेको बदर नभई वादीले हकदावी गरेको झुठ्ठा हो विपक्षी वादीले अर्काको नामसँग मिल्यो भन्दैमा हाम्रो पूर्खाले राखेको कुनै गुठी नै नचलाई हाम्रो गुठी जग्गाहरु दावी गर्न आएबाट झुठ्ठा दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको हिरामाया, रत्नकाजी शाक्य, पन्नाकाजी शाक्य, कान्छा रत्न शाक्यको संयुक्त प्रतिउत्तरपत्र ।
४. पोता नं. ५७१ को जग्गाहरूका सम्बन्धमा घर भत्काई पाउँ भन्ने दे.मि.नं. ११९४ र पर्चा दर्ता बदर समेत दे.मि.नं. १२०४ मा यिनै वादी भएका मुद्दामा वादी दावी झुठ्ठा ठहरी आजै फैसला भएको वादी हकदार भए मौकैमा विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम रैकरमा परिणत गराई आफ्नो हक सुरक्षित राख्नु पर्नेमा सोतर्फ केही नगरी हकदार कायम गरिपाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को २०३९।३।३ को फैसला ।
५. काका अष्टरत्नको हक खाने म सानुमाया हो भन्ने कुरा पञ्चायतबाट गरी दिएको सिफारिश अनुसार जि.का.बाट प्रमाणपत्र पाएको, विपक्षीहरू गुभाजु नभई सो भन्दा तल्लो श्रेणीका थरी हुन विवादको जग्गा अष्टरत्नले नै नाती महर्जनको बाबु नारान महर्जनलाई भोग बन्धक दिएको लिखत रजिष्ट्रेशनमा छ बुझी दिएको भए मेरो हकदैया भएकोमा शंका हुने थिएन । तसर्थ शुरु जि.अ.ले उक्त प्रमाणहरूतर्फ ध्यान नदिई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी सानुमायाको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।
६. अष्टरत्नको भतिजी भएकोले निजको हकदार कायम गरिपाउँ भन्ने दावी भई यस्तो नाता सम्बन्धमा कायम गराई माग्ने विषयको मुद्दा अं.अ.मा पुनरावेदन लाग्न नसक्ने हुँदा पुनरावेदनको मिसिल सहित श्री म.क्षे.अ.मा पठाई दिनु भन्ने समेत व्यहोराको बा.अं.अ.को ०३९।१०।२४ को आदेश ।
७. अष्टरत्नको हकदार कायम गरिपाउँ भन्ने समेत वादी दावी भएको सो कुराको खण्डन प्रतिवादीहरूले नगरेको घर भत्काई पाउँ भन्ने र पर्चा बदर मुद्दा समेतको आधारमा वादी दावी नपुग्ने ठहर्याएको का.जि.अ.को फैसला फरक पर्ने देखियो र दुवैपक्ष तारेमा रहेको देखिनाले अ.बं. २०२ नं. का ऐन अनुसार विपक्षीलाई छलफलमा झिकाई रहने अवस्था भएन नियम बमोजिम गरी डिभिजनबेञ्चमा पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.को सिंगलबेञ्चको आदेश ।
७. प्रतिवादीहरूले वादीले देखाएको पुस्तावारीको विपरीत कुनै सबूद दिई वादीलाई दावी बमोजिम अष्टरत्नको हकदार होइन भनी सबूद पुर्याउनु बेगर वादीलाई दावी बमोजिम अष्टरत्नको हकदार हैन भन्ने कुनै कानुनसंगत नहुने हुँदा शुरु जि.अ.ले वादीलाई जग्गा दर्ता घर भत्काई पाउँ भन्ने मुद्दामा भएको फैसलाको आधारमा अष्टरत्नको हकदार कायम नगरेको इन्साफ गल्ती ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को ०४१।१२।२६।२ को फैसला ।
८. उक्त क्षे.अ.को ०४१।१२।२६।२ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी प्र.हिरामाया शाक्य समेतको यस अदालतमा पर्न आएको निवेदनमा जिल्ला अदालतको फैसला उपरको पुनरावेदन बागमती अञ्चल अदालतले हेर्नु पर्नेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले हेरी शुरु जिल्ला अदालतको इन्साफ बदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटि देखिएबाट र यस्तो त्रुटि सार्वजनिक महत्वको विषय समेत हुँदा न्या.प्र.सु.ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनका अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति ०४२।२।२० को आदेश रहेछ ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका पक्ष विपक्षलाई बेञ्चबाट पटक पटक बोलाउँदा बेञ्च समक्ष उपस्थित हुन आएको वादी सानुमाया बज्राचार्यको वा.दुर्गालक्ष्मी समेतलाई रोहवरमा राखी प्रत्यर्थी वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
११. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१२. यसमा रत्नकुमारीका बकस पत्र बमोजिम काका अष्टरत्नको नाममा छुट्टै दर्ता भएको नं. ५७१ को पोता लगत बमोजिमको जग्गामा प्रत्यर्थीहरूको कुनै हक नलाग्ने अपुतालीको ४ नं. ले मेरो हकको जग्गालाई आफू हकदार बनी मालपोत कार्यालय काठमाडौंमा निवेदन दिएकाले अ.बं. ८२ नं. ले प्रत्यर्थीहरूको हक नलाग्ने हुँदा झुठ्ठा उजूर दिएमा हदसम्म प्रत्यर्थीहरुलाई सजायँ गरी मलाई हकदार कायम गरिपाउँ भन्ने मुख्य वादी दावी भएकोमा आफ्नो काकाको नाम मिल्न आएबाट काहाँको अष्ट रत्नको भतिजी हुन आई झुठ्ठा उजूर गरेको हुँदा फिराद खारेज हुनुपर्ने भन्ने समेत प्रतिउत्तर जिकिर लिएको पाइन्छ ।
१३. यस सम्बन्धमा यिनै वादी प्रतिवादीले प्रमाण दिएको यिनै प्रतिवादीहरूले मालपोत कार्यालयमा दावीका जग्गा समेत आफ्ना नाउँमा नामसारी गरी पाउँ भनी दिएको निवेदनबाट कारवाही भएको मिसिल हेर्दा विपक्षीहरूले आफ्नो दर्खास्तमा साविक ल.नं. २९ को हाल ल.नं. ४६७, २६२ र ५७१ मा धर्मरत्न, तेजरत्न, कृष्णलाल समेतका नाउँमा दर्ता भएका जग्गाहरू आफ्नो नाउँमा नामसारी दर्ता गरिपाउँ भनी दावी लिएको देखिएको र सो दर्ताका जग्गाहरू साविक ल.नं. २९ मा रत्नकुमारीको नाउँमा दर्ता भएको र निज मरेपछि २००९।८।२४ मा सो दर्ताको जग्गाहरु धनमाया, कृष्णलाल समेतका ३ जनाले आफ्नो नाउँमा नाउँसारी गरिपाउँ भनी दर्खास्त दिई नाउँसारी गराएको निजहरूले सो बापत बुझाएको दस्तूरको रसीद नक्कलबाट देखिन्छ । वादीले जुन अष्टरत्नको भतिजी भनी देखाएका छन निज अष्टरत्नले साविक दर्तावाला रत्नकुमारीले आफूलाई गरी दिएको बकसपत्रबाट पास हुन नसकेको कारणबाट दर्तावाला धनमायालाई रत्नकुमारीको हकदार भनी देखाई सो बकसपत्र पास गरिपाउँ भन्ने मुद्दा दिई अपिल दोश्रोबाट समेत बकसपत्र पास हुने ठहरी फैसला भई सोही बमोजिम रा.का.दे.दो.बाट २००५।५।११।५ मा पास पुर्जी समेत दिएको र २००९।८।२।२ का रा.का.द.पै. का पुर्जीबाट साविक ल.नं. २९ को धर्मरत्न तेजरत्न र कृष्णरत्न समेत जना ३ बाट अष्टरत्नका नाउँमा गुठी जनिई दर्ता हुन आएको, सोही मिसिल साथ रहेको दर्ता नक्कलबाट देखिन आएको हुँदा यी प्रतिवादीहरू धर्मरत्न तेजरत्न र कृष्णलाल, धनमाया, तर्फका हकदार हुन् अष्टरत्नको हकदार होइनन् भन्ने कुरामा कुनै शंका रहेन । अब वादी सानुमाया अष्टरत्नको हकदार हो होइन भन्नेतर्फ विचार गर्दा वादी सानुमायाले अष्टरत्न तर्फको पुस्तावारी देखाई आफू अष्टरत्नको दाजू हरिरत्नको छोरी भएको र आफ्नो बाबु हर्षरत्न, अष्टरत्नको सगोलमा बसेको अवस्था अष्टरत्न २०१३ सालमा परलोक भएको हुँदा निजको हक जति अपुतालीबाट बाबु हर्षरत्न भई निजको अरु कुनै हकदार नभएको आफूमात्र एउटी छोरी भएको हुँदा बाबुको अपुतालीबाट आफू हकदार हुन आएको भन्ने देखाई दावी गरेकोमा प्रतिवादी हरूले सो पुस्तावारीलाई इन्कार गरी वादीको यो यस्तो पुस्तावारी हो भनी देखाउन नसकी केवल काकाको नाम मिलेको आधारमा काहाँको अष्टरत्नको भतिजी बनी झुठ्ठा दावी गरेको भन्ने सम्म देखाएकोबाट प्रतिवादीहरूले वादीले देखाएको पुस्तावारीको विपरीत अरु कुनै सबूद दिई वादी अष्टरत्नको हकदार होइन भन्ने सबूद बेगर वादी दावी बमोजिम अष्टरत्नको हकदार होइन भन्न मिल्ने देखिँदैन साथै पुनरावेदकतर्फबाट लिइएको क्षेत्रात्मक त्रुटि सम्बन्धमा ऐनमा भएको व्यवस्था हेर्दा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(१)(ख) मा खण्ड (क) मा लेखिए भन्दा बढी मोल बिगो भएको मुद्दा वा बढी कैद वा जरिवाना हुने मुद्दा वा विषयको प्रकृतिले बिगो खुल्न नसक्ने सामुहिक कुलो पानी सन्धीसर्पन गौचर सम्बन्धी मुद्दा तायदाती नआएको अंश मुद्दा वा नाता सम्बन्ध कायम गराई माग्ने विषयको मुद्दामा क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएको पाइन्छ । फिरादको प्रकरण ४ मा मलाई अष्टरत्नको हकदार कायम गरिपाउँ भन्ने दावी लिएकोमा प्रतिवादीले त्यसलाई स्पष्ट रुपमा खण्डन नगरेको अवस्थामा वादी दावी झुठ्ठा ठहर गरेको शुरु जि.अ.को फैसला उपर म.क्षे.अ.ले पुरावेदन सुनि निर्णय गरेको क्षेत्रात्मक त्रुटि देखिन नआएबाट र आफ्नो हक हुने सम्पत्तिमा समय समयमा कानुन बमोजिम उजूर नगर्दैमा त्यसको आधारमा हकदार होइन भन्न कानुनले मिल्ने नदेखिँदा घर भत्काई पाउँ भन्ने मुद्दामा भएको फैसलाको आधारमा अष्टरत्नको हकदार कायम नगरेको शुरु जि.अ.को इन्साफ गल्ती ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिँदा इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालतको मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही मुद्दा दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४३ साल भाद्र १६ गते रोज २ शुभम् ।