शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१८५ - राजीनामा बदर

भाग: २९ साल: २०४४ महिना: मंसिर अंक:

निर्णय नं. ३१८५     ने.का.प. २०४४      अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको दे.पु.नं. ५०३

मुद्दा : राजीनामा बदर ।

 

पुनरावेदक/वादी: जि.कपिलवस्तु गा.पं. सिसवा वडा नं. ४ तेनुई बस्ने परमात्मा मिश्र ।

            ऐ.ऐ बस्ने ब्रह्मदेव मिश्र ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने केवला मिश्राइन ।

            ऐ.ऐ बस्ने राजेन्द्र प्रसाद मिश्र ।

 

फैसला भएको मिति:२०४४।३।२३।३ मा

     निखनाई पाउँ भन्ने मुद्दा र राजीनामा बदर मुद्दाको विषयवस्तु र प्रकृति बेग्लाबेग्लै हुन यिनीहरूको बेग्लाबेग्लै हदम्याद हुने हुँदा तोकिएको हदम्याद भित्र तोकिएको मुद्दामा फिराद दावी गर्न सक्दछन् ।

(प्रकरण नं. ११)

पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता  श्री मुकुन्द रेग्मी

विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

उल्लेखित मुद्दाःX

फैसला

न्या.हरगोविन्द सिंह प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

२.    १९८८ सालको नापीमा मौजे तनुई मध्ये महावीर, महादेव रुद्र मिश्र समेत जना ३ को नाउँमा कि.नं. ४२१, ४२२, ४२३ समेतको सिर जिरायत बिगहा १०।।२।१ दर्ता भएको, दर्तावालाको मृत्यु पछि तीन खण्डको १ खण्ड रुद्रको छोरा विश्वनाथको ३ खण्डको १ खण्ड महावीरको नाती परमात्माको तीन खण्डको १ खण्डको आधा महावीरको भाइ आयोध्याको, तीन खण्डको १ खण्डको आधीको आधी महादेवको छोरा म भवनाथको तीन खण्डको १ खण्डको आधीको आधी अर्को छोरा गयाप्रसादको नाउँमा दर्ता भई जग्गा छुट्याई भाग गरी आएको, २८ सालमा गाउँ ब्लकमा परी नापी दर्ता नभए पनि उक्त तीनै हरेक कित्तामा ३ खण्डको १ खण्डको आधीको आधी म भवनाथको हकभोगचलन समेत गरी आएको हाल विपक्षी केवलाको घरको पूर्व समेत किल्ला भित्र कायम भएको हो, विपक्षी केवलाल बसोवास गरी राखेको घर विपक्षीलाई बिक्री गर्दा घरकुप तथा हरिवंश कहारको घरले पूर्व समेत किल्ला भित्र बनेको फुसको घर आँगन समेत म समेतको नम्बरी जग्गा मिलाई जालसाजी व्यवहारको आधारमा ०३६।२।२८।१ मा राजीनामा पास गरी लिए दिएको उक्त नम्बरी जग्गा मध्ये गाउँ ब्लाकमा परेको पश्चिम ७४ हात उत्तर दक्षिण ३२ हात समेत घुसाई लिए दिएको जग्गाको हकमा समेत राजीनामा लिखत ३ खण्डको १ खण्डको आधीको आधी मेरो हकमा बदर गरिपाउँ भन्ने समेत व्यहोराको भवनाथ मिश्रको ०३७।५।९।२ मा परेको फिरादपत्र रहेछ ।

३.    केवलाको हकभोगको मौजे तेनुई मध्ये नम्बरी कि.नं. २७०, २७७, ४६३, ४७४, ६६७ र घर कुप तथा हविवंश कहारको घर सो पूर्व समेत किल्ला भित्र बनेको फुसको घर र घरले चर्चेको आँगन सहन जग्गा समेतको जम्मा मोल रु. १०,४६८।केवलाले लिई ०३६।२।२८ मा रजिष्ट्रेशन पारीत समेत गरिदिनु भएको छ । साविक कि.नं. ४२१, ४२२, ४२३ को जग्गा १९८८ सालको नापीमा महावीर महादेव, रुद्र समेतको नाउँमा नापी दर्ता भएकोमा पछि दामासाही बमोजिम छुट्याई रुद्र मिश्रको छोरा बुहारी केवलाको हक भाग भोग भएको हाल नापीमा गाउँ ब्लकमा परेको सहन जग्गा समेत खरीद गरेको छु, राजीनामा सदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद मिश्रको ०३७।७।१७।१ मा परेको प्रतिउत्तरपत्र रहेछ ।

४.    घर र कि.नं. २७७, ४६३, ४७४, ६६७ समेतको जग्गा घर समेत भवनाथ मिश्रलाई राजीनामा लिने दिने बोल कबोल भएको, अंशमा छोरासंग झगडा भई निज छुट्टै जग्गा घरमा बसिआएपछि प्र.मध्ये राजेन्द्र आई रेखदेख गर्ने भनी ०३६ ज्येष्ठमा लेखिएको कागज शेषपछिको बकसपत्र भनी झुक्यान जालमा पारी राजीनामा गराई लिएको हो, वादी दावी गरेको नम्बरी जग्गाहरूमा ३ खण्डको १ खण्डको आधीको आधी वादीको हकभोगको हो, राजीनामा जानीजानी सहिछाप गरेको होइन दावी गरेको सहन जग्गाको राजीनामा जानीजानी सहिछाप गरेको होइन भन्ने समेत व्यहोराको केवला मिश्राइनको ०३७।९।२८।१ मा परेको प्रतिउत्तरपत्र रहेछ ।

५.    वादीले जालसाजी मुद्दा समेत दिएको देखिएको र पछि मात्र यो मुद्दा दायर गरेको देखिँदा अ.बं. ७३ नं. अनुसार खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतबाट ०३८।९।२९।४ मा भएको फैसला रहेछ ।

६.    जालसाजी मुद्दामा दावी नपुग्ने गरी शुरु इन्साफ मनासिब ठहरी फैसला भएको छ केवलाले गरी दिएको  लिखत मध्येको जग्गालाई हकसफा गरिपाउँ भन्ने मुद्दा दायर गरेको देखिन्छ । पुनरावेदकको जिकिर अनुसार लिखतमा लेखिएको जग्गा घुसाएको भए जग्गाको कुन तर्फबाट के कति क्षेत्रफलको जग्गा घुसाएको हो, स्पष्ट रुपमा दावी गर्न सक्नु पर्ने सो नभएकोले दावी नै अधुरो रुपको मान्नु पर्नेमा पनि हकसफा मुद्दा दायर भएको समेत देखिँदा इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतबाट ०३९।१२।१७।५ मा भएको फैसला रहेछ ।

७.    अञ्चल अदालतको फैसला उपर चित्त नुबझी पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा अनुमति प्रदान भएको भन्ने मिति ०४१।५।२०।४ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

८.    अञ्चल अदालतको इन्साफमा कुनै कानूनी त्रुटि भएको नदेखिँदा इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।५।६ को फैसला ।

९.    हाम्रो सबुद प्रमाणको मूल्यांकन नभई प्रमाण ऐनको दफा ५४ को उल्लंघन गरी फैसला भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी परमात्मा मिश्र समेतको यस अदालतमा परेको निवेदनपत्र ।

१०.    जालसाजी र हकसफा मुद्दामा पुनरावेदनको अनुमति दिने आदेश भएको र सोही मुद्दाहरूको निर्णयको आधारमा प्रस्तुत मुद्दाको निर्णय भएको देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्जको मिति ०४२।६।२७ को आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले गर्नुभएको बहस समेत सुनियो । यसमा विपक्षी प्रतिवादीहरूले मेरो हकभोगको घर आँगन जग्गा समेत जालसाजी पूर्ण तवरले आफ्नो चार किल्ला भित्र मिलाई ०३६।२।२ मा राजीनामा लिनु दिनु गरेको हुँदा उक्त राजीनामा लिखत भित्रको ३ खण्डको १ खण्डको आधीको आधी मेरो हकमा बदर गरिपाउँ भन्ने फिराद दावी भएकोमा यी वादीले २०३६।३।३१ मा दे.नं. १५५४ हकसफा र फौ.नं. ४४६ को जालसाजी मुद्दा समेत दिएको देखिएको र त्यसपछि मात्र यो मुद्दा दायर गरेको देखिएको हुँदा अ.बं. ७३ नं. अनुसार प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत शुरु कपिलवस्तु जिल्ला अदालतबाट निर्णय भएकोमा सोही इन्साफलाई लुम्बिनी अञ्चल अदालत र पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट सदर भएको देखिन्छ । वास्तवमा निखनाई पाउँ भन्ने मुद्दा र राजीनामा बदर मुद्दाको विषयवस्तु र प्रकृति बेग्लाबेग्लै हुन् । यिनीहरूको बेग्लाबेग्लै हदम्याद हुने हुँदा तोकिएको हदम्याद भित्र तोकिएको मुद्दामा फिराद दावी गर्न सक्दछन् । प्रस्तुत मुद्दामा हकसफा तथा जालसाजतर्फ अगाडि नै फिराद दिए पनि राजीनामा लिखत बदरतर्फ सो सम्बन्धमा तोकिएको हदम्याद भित्र पछि नै नालेश उजूर गर्न आउँदछ भने पनि सो मुद्दाको कारवाही किनारा गर्नु पर्दछ । अतः अगाडि नै हकसफा र जालसाज मुद्दा दिएपछि मात्र लिखत बदरमा नालेश दिएको भनी अ.बं. ७२ र ७३ नं. लगाई प्रस्तुत मुद्दा खारेज गर्ने गरेको शुरु कपिलवस्तु जिल्ला अदालत र सोही इन्साफलाई सदर कायम राख्ने गरी गरेको लुम्बिनी अञ्चल अदालत तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा उक्त सबै निर्णयहरू बदर हुने ठहर्छ । पुनः कानून बमोजिम कारवाही किनारा गर्न पक्ष विपक्षीहरूलाई तारेख तोकी मिसिल लुम्बिनी अञ्चल अदालतमा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हिरण्येश्वरमान प्रधान

 

इतिसम्वत् २०४४ साल असार २३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु