निर्णय नं. २७५३ - जग्गा खिचोला

निर्णय नं. २७५३ ने.का.प. २०४३ अङ्क - ६
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.नं. ७१८
पु.वे.नं.१८०
फैसला भएको मिति : २०४३।५।१९।५ मा
पुनरावेदक/प्रतिवादी : का.न.पं.वार्ड नं. १८ टंगाल रक्तकाली बस्ने श्री राजगुरु खगेन्द्रराज पण्डितज्यूको मु.स. गर्ने पियुषराज पाण्डे
विरुद्ध
विपक्षी/वादी : का.न.पं.वडा नं.२४ बस्ने मीनबहादुरको मु.स. गर्ने छोरी पद्मलक्ष्मी श्रेष्ठ
मुद्दा : जग्गा खिचोला
(१) वादीको जग्गाको चार किल्ला भई आएको नक्शासँग मिल्न भिड्न आएकोले उक्त वादीले दावी गरेको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्याएको म.क्षे.अ.को निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ ।
(प्र.नं.१३)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान वरिष्ठ अधिवक्ता श्री दमन ढुङ्गाना
विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
फैसला
न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको मिति ०३८।१०।२०।३ को फैसला उपर चित्त नबुझी प्रतिवादी पियूषराज पाण्डेको पुनरावेनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति दिन नमिल्ने भनी यस अदालतका ०४०।९।१०।१ का आदेश उपर निजै प्रतिवादीले श्री ५ महाराजाधिराजका हजुरमा उक्त निर्णय आदेश दोहोर्याई पाउँ भनी न्यायिक समिति मार्फत चढाएको निवेदनमा संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय आदेश दोहोर्याई दिनु भन्ने हु.प्र.बक्स भए बमोजिम फुलबेञ्चमा पेश हुँदा निवेदनमा अनुमति प्रदान भई पुनरावेदनको लगतमा दर्ता भई बेञ्च समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. २००० सालमा काठमाडौं सर्भे नाप नक्शा भई विभिन्न मौजाहरूमा कसैको हक नभई प्रति जनिएको आवाद लायक जग्गा रोपनी समेत २००३।४।२३।४ का खड्ग निसाना र २००३।१०।२८।२ का बहाली चलन पुर्जी बमोजिम श्री पिता काजी मिनबहादुरको हक भएका जग्गाहरू मध्ये विपक्षीले निम्न बमोजिमको जग्गा मेरो भनी उजूर गरेकोमा अदालतमा नालेश गर्न जानु भनी सुनाउने काठमाडौं मालले पर्चा गरेको सदर गरी आयकर अदालतबाट २०२७।६।२३ मा फैसला भयो । क, रै. नं. २८९९ कि.नं. ६१८ को सर्भे २४९ नं. को धोवीचौर इन्द्रायणीको पूर्व सडक पश्चिम अलंकराज कुमारी राणाको नं. ६०८ उत्तर कि.नं. ६०२ को मोही बेतीमाया प्रधान दक्षिण बाटो यति ४ किल्ला भित्रको कि.नं.६१८ को जग्गा रोपनी १।।।/ लाई नघल १३० नं. पोता लगतको कोठे सिंभूर टेंगल ६१ नं. पोता लगत गणेश गुठीको जनिई दर्ता भइरहेको जग्गा हाम्रो सन्धि सर्पन हुँदा ६९ साल देखि मोहियामा लिएको ९४।१०।२९।६ मा काठमाडौं त्यौड टोल बस्ने मान हिराबाडासँग १३० नं. को कोठीसिंधु जग्गा रोपनी ३ रजिष्ट्रेशन पास गरी सट्टापट्टा गरी मोहियानीबाट भोगेको मेरो जग्गा भन्ने विपक्षीको भनाई भएको २००० सालको सर्भेमा कसैको हक दर्ता नभई शुद्ध प्रति जनाई खड्ग निसाना बमोजिम पिता काजी मीनबहादुरले पाई उहाँका नाउँमा का.माल रै.नं.२८९९ दर्ता भएको जग्गा हो । यदि विपक्षीको जग्गा भए उक्त सर्भेमा नापी नक्शा गराउनु सक्नु पर्ने थियो । र सट्टा दिएको हो भनी पनि यस ठाउँको यति जग्गा भनी खुलाउनु समेत सक्नु भएको छैन, उक्त मेरो हकको रोपनी १।।।/ जग्गालाई नै अघि कोठसिंगु र गणेश गुठीको जग्गा मोहियानीमा लिएको ९४ सालमा काठेसिंबू जग्गाको रोपनी ३ सट्टा लिएको भन्नु भएको छ सो भनाईबाट सो ठाउँमा काठेसिंबू र गणेश गुठीको २ किसिमको जग्गा भएको मोहियानी लिएपछि काठेसिंबूको जग्गा मात्र सट्टा लिएको रोपनी ३ भन्नु भएको छ । गणेश गुठीको जग्गालाई आफैंले बेपत्ता पार्नु भयो । अघि २ देवताको गुठी जग्गा मोहियानीमा लिएको पछि गणेश गुठीको जग्गा कसरी वेपत्ता भई सोही जग्गा काठेसिंबूको गुठी मात्र हुने भयो त्यसबाट पनि विपक्षीको कुरा असत्य देखिएकोछ । मुद्दा गर्दा गर्दै पिताजीको स्वर्गवास भई वहाँले गरि दिनु भएको १९८१।३।१ को शेष पछिको बकसपत्रबाट मेरो हक भई उल्लिखित मुद्दा मैले सकार गरी पछि आयकर अदालतबाट फैसला भयो । त्यसपछि पनि २०२७।७।८ गते चलन गर्न जाँदा चलन गर्न नदिई हटक गरी विपक्षीले जग्गा खिचोला नै गरी रहनु भएकोले खिचोला मेटाई जग्गा अड्डैबाट चलन चलाई पाउँ भने फिरादपत्र ।
३. २००० सालमा का.जि. सर्भे नापी भई कसैको हक नभएको पर्ति जग्गा ख.नि.बमोजिम पाएको त्यसै मध्येको यो जग्गा पनि वादीले उक्त सर्भेको आधार लिएको दावी गरेका छन् सो सर्भे अनियमित भई सो नापी नै बदर भई अर्को सर्भे नापीको व्यवस्था भएको सो को आधारमा दावी पुग्न नसक्ने सो जग्गा आफ्नो भोग चलनमा छ भन्न वादीले नै नसकी २००३ सालमा पाएको भनेबाट ०१४ साल फाल्गुण सम्ममा पनि सो जग्गा बेपत्ता छ भनी आफैंले लेखेको रैकर जग्गाको हदम्याद २ वर्ष तोकिएको व्यवस्था छ । १९९४ साल देखिको मेरो पोता दर्ता हक भोग चलनको विर्ता भई ०११ सालमा मेरो तर्फबाट पर्खाल लगाई क्पाम्पा समेत घेरी सुरक्षित साथ मेरो भोग भइरहेको भन्ने कुरा ०१४ सालको सरजमीन मुचुल्का समेतबाट देखिने र हालसम्म पनि अविछिन्न मेरो भोग चलनमा रही रहेको कुनै उकास पर्ति जंगल समेत नभई बुबाज्यूका पाला १९९४ साल देखिको मेरो पोता दर्ता भोगको विर्ता जग्गा हुनाले मु.ऐनको जग्गा बिराउनेको ५ नं. समेतले सनद गराए वा नगराए समेत बाझो भनी कसैले विराउन आवाद गर्न गराउन नपाउने स्पष्ट छ । अर्काको हक लाग्ने भए पनि यसलाई दिनु भन्ने खड्ग निसाना भएको भन्ने वादीले नै भन्न सकेको छैन । उक्त जग्गा हामीलाई ज्यादै पायक पर्ने हुनाले उक्त जग्गाको सट्टा आयस्तामा डबल आउने बुबाज्यूका नाउँमा दर्ता भएको पा.का.५८० नं.को दौखुसिंखडा रोपनी ३ का झोछेंको पोता लगतमा दर्ता भएको पाढेपा खेत रोपनी ।।।/ समेत दिएर उक्त गालको खेत रोपनी ३ का त्यौड बस्ने मानहिरा वाडासँग सट्टापट्टा गराई लिएको १९९४ साल माघ १८ गतेको सट्टापट्टाको दोहरे लिखत ऐ.माघ २९ गतेका पो.रजिष्ट्रेशन मार्फत पास भएको छ र उक्त जग्गा दर्ता बुबाज्यूको नाउँमा सरी का.टेंगल २०१ नं.का पोता लगतमा दर्ता भई उक्त साल देखि भोग चलन गरी विर्ता कायम छँदासम्म रु.।९६ का दरले पोता तिरी आएको र विर्ता उन्मूलन भएपछि ऐन बमोजिम मेरो नाउँमा नाउँसारी गरी रैकरमा परिणत भई भूमिकर लागी रैकरको लगतमै बोल पारी पकनाजोल हाल नं. ५५४ मा दर्ता भएकोबाट २०१६ साल देखि आई भूमि कर रु.७।६२ का दरले साल बसाल बुझाई अविछिन्न मेरो भोग चलनमा रही रहेको जग्गा हो । यस्तो खास मेरो हक भोगको जग्गालाई का.जि.असन बस्ने डा.सुरेन्द्रमान जोशी, विराटनगर बस्ने डा.पिनाकीप्रसाद समेतले कसैको हक नलाग्ने पर्ति हो, घर बनाउन पाउँ भनी विभागीय मन्त्रीज्यू समक्ष निवेदन दिई आदेश गराई काठमाडौं मालबाट कारवाही भएकोमा समेत सो जग्गा रैकर नभई पोता दर्ताको हाम्रै विर्ता कायम गरी हाल आवादी हुन सक्दैन भनी मालबाट फैसला गरेको मिसिलहरू ठाउँ ठाउँमा छन् बुबाज्यू बडा गुरुज्यू होइबक्सेकोले श्री साहले जङ्ग कम्पनी श्री वडा गुरुज्यूको तैनाथमा हुँदा सो कम्पनीका जवानहरूलाई ९४ साल देखि नै कवायत गराउने गरी आएको हो र खुला चौर जस्तो देखिन जाँदा विभिन्न व्यक्तिहरूको आँखा परेको हो र माथि लेखिया बमोजिम अनेकौं टण्टा आउन लागेकोले आफ्नो सम्पत्तिको सुरक्षणको निमित्त का.न.पं.गो.मा दर्खास्त दिई कारवाही हुँदा कसैको विरोध हुन नआई नक्शा पास गरी दिए बमोजिम पर्खाल लगाई माथि लेखिए बमोजिम भोग चलन भई आएको समेत प्रष्ट देखिने कुरा छ । कसैको हक नभएको उकास पर्ति जग्गा नयाँ आवाद गर्न दिनु भन्ने खड्ग निसाना भएको भन्ने कुरा लेखी राखेकै छ । त्यस्तो भएपछि मेरो हक दर्ता भएको जग्गा वादीका बाबुलाई दिएको र निजले पाएको नै होइन भन्ने कुरा स्पष्ट देखिएकै छ । कानुन बमोजिम नै वादीको नपुग्ने दावाबाट अलग गराई पाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।
४. वादी प्रतिवादीहरूले एउटै जग्गालाई मेरो भन्ने भएको हुँदा माथि लेखिएका प्रमाण परिबन्दबाट वादीले दावी गरेको जग्गा प्रतिवादीको दर्ता तिरोको देखिन आएकोले टण्टा गरेको र चलन पाउने समेत ठहर्दैन आदेशबाट कोर्टफी नरही दायर भएको हुँदा बिगो रु.७५००।– को लाग्ने कोर्टफी रु.३२०।– रुपैयाँ वादीलाई कोर्टफी सरह जरिवाना हुन्छ भन्ने काठमाडौं जिल्ला अदालतको २०३१।८।१३।५ को फैसला ।
५. सो फैसलामा चित्त नबुझेकोले पुनरावेदनपत्र पेश गरेको छु । माथि लेखिएका प्रमाण परिबन्दबाट का.जि.अ.को फैसला गलत हुनाले सो फैसला बदर भई मेरो वादी दावी बमोजिम पूर्वतर्फ सडक भएको खड्ग निसाना बहाली पुर्जी भित्रको जग्गा कायम गरी प्र. ले गरेको खिचोला मेटाई पाउ भन्ने समेत व्यहोराको वादीको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।
६. पुनरावेदकको वा.नन्दगोपालले २०३२।४।१५ मा दिएको निवेदनमा लेखिएका कागजात झिकाउने भन्ने भएका आदेशानुसारको कागजात झिकाउन लेखापढी हुँदै गरेको अवस्थामा प्रस्तुत मिसिलको बिगोको हिसाबबाट क्षे.अ.को अधिकार क्षेत्रभित्रको भनी क्षे.अ. मा बा.अं.अ.बाट नाप नक्शा समेत गरी भई आएको रहेछ ।
७. वादीको जग्गा ईखापुखू भन्ने र प्रतिवादीले जग्गामा धनचा माली र बाबुसिंले कच्ची घर बनाई बसेको भनेको सो घर हाल विवादीत जग्गामा नभई झगडा परेको देखि धेरै पर प्रतिवादीको ९६५ को जग्गा देखि पश्चिमतर्फ देखिन आएकोले समेत हाल विवादीत कि.नं. ८०६ को जग्गा प्रतिवादीको सट्टापट्टाको भन्न मिलेन । वादीको जग्गाको ४ किल्ला भन्ने हालको नक्शासँग मिल्न भिड्न आएकोले सो जग्गामा वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत म.क्षे.अ.को मिति २०३८।१०।२०।३ को फैसला ।
८. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।१०।२० को फैसलामा चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि प्रतिवादी खगेन्द्रराज पण्डितको मु.स.गर्ने पियूषराज पाण्डेको पर्न आएको निवेदनमा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिमको अवस्था विद्यमान नहुँदा पुनरावेदन गर्ने अनुमति दिन मिलेन भन्ने समेत यस अदालतको मिति २०४०।९।१०।१ को डिभिजनबेञ्चको आदेश रहेछ । साथै उक्त २०४०।९।१०।१ को आदेश उपर चित्त नबुझी निज प्रतिवादीले श्री ५ महाराजाधिराजका हजूरमा उक्त निर्णय आदेश दोहर्याई पाउ भनी न्यायिक समिति मार्फत चढाएको निवेदनमा संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय आदेश दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भए बमोजिम फुलबेञ्चमा पेश हुँदा निवेदकको निवेदनमा अनुमति प्रदान भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
९. साथै विवादीत जग्गामा मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।१०।२०।३ को फैसला बमोजिमको कुनै पनि कार्य गर्न नपाउने गरी फैसलाको कार्यान्वयन स्थगित राखि दिनु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको ०४१।८।७।५ को आदेश भइरहेको अवस्थामा बेसरोकारको निवेदनबाट कानुन अनुकूल भएको रोक्का बदर गर्न नमिल्ने हुँदा जि.अ.बाट लेखिएको मिति ०४२।२।११ र मिति ०४२।२।१७ को संशोधन व्यहोरा त्रुटियुक्त हुँदा सो संशोधन बदर गरी निष्कृय घोषित गरिपाउँ भनी प्रतिवादी पियूषराज पाण्डेको यस अदालतमा पर्न आएको निवेदनमा के कसो भएको हो सबै व्यहोरा प्रष्ट खुलाई कैफियत प्रतिवेदन गर्नु भनी यस अदालत सिंगलबेञ्चका ०४२।२।३० का आदेश बमोजिम काठमाडौं जिल्ला अदालतबाट प्राप्त हुन आएको कैफियत प्रतिवेदन समेत ०४२।८।१९।४ का यस अदालतका आदेश बमोजिम डिभिजनबेञ्चमा पेश भई आएको रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका वादी प्रतिवादीका वा. समेतलाई बेञ्चबाट बोलाउन लगाउँदा बेञ्च समक्ष उपस्थित हुन नआएका वादी पद्मलक्ष्मी श्रेष्ठको वा.मदनप्रसादलाई समेत रोहवरमा राखी प्रतिवादी पियूषराज पाण्डेको तर्फबाट बहसक लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना तथा विपक्षी वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल, विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नुभएका बहस समेत सुनियो ।
११. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्ध जिकिरहरू निर्णय दिनुपर्ने हुन आयो ।
१२. यसमा पिता मिनबहादुरले गरी दिएको मिति १९८१।३।१ को शेषपछिको बकस पत्रबाट मेरो हक भई आय र कर अदालत समेतबाट फैसला भई ०२७।७।८ गते उक्त जग्गामा चलन गर्न जाँदा चलन गर्न नदिई विपक्षीले हटक गरी जग्गा खिचोला गरेकोले खिचोला मेटाई पाउँ भनी वादीको फिराद पर्न आएकोमा प्रतिवादीको दर्ता तिरोको देखिन आएकोले वादीले चलन गर्न पाउने समेत ठहर्दैन भनी शुरु जि.अ.ले गरेको फैसलामा चित्त नबुझी बा.अं.अ.मा परेको वादीको पुनरावेदन सरुवा भई म.क्षे.अ.मा परेको देखिन्छ । वादीको जग्गाको ४ किल्ला हालको नक्शा सँग मिल्न भिड्न आएकोले सो जग्गामा वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्याएको म.क्षे.अ.को इन्साफ उपर चित्त नबुझी प्रतिवादी राजगुरु खगेन्द्रराज पाण्डेको मु.स.गर्ने पियूषराज पाण्डेको पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा यस अदालत डि.बे.बाट पुनरावेदनको अनुमति नपाएको उपर इन्साफ दोहोर्याई पाउँ भनी श्री ५ महाराजाधिराज सरकारमा निवेदक प्रतिवादीको विन्तिपत्र जाहेर हुँदा निर्णय आदेश दोहर्याई दिनु भनी हु.प्र.बक्स भई आएपछि वादी प्रतिवादीहरूको बीचमा २०१४ साल देखि नै मालमा कारवाही चली सकेकोमा मिति २०२७।७।८ मा मात्र हटक खिचोला गरेको मिति कायम गरी फिराद गर्न आएको देखिएकोले उक्त फिरादपत्रलाई हदम्याद भित्र पर्न आएको भनी भन्न नमिलेको र सो हदम्याद नाघेको फिरादपत्रको आधारमा प्रतिवादीले खिचोला गरेको ठहर्याएको म.क्षे.अ.को निर्णयमा ज.मि.को १८ नं.को त्रुटि देखिएको भन्ने आधारमा निवेदक प्रतिवादीले ०४२।१।७।६ मा यस अदालतको फुलबेञ्चबाट अनुमति पाएको देखिन्छ । वादीको फिराद हेर्दा कि.नं.६१८ को सर्भे २४९ नं.मा धोवी चौर इन्द्रायणीको पूर्व सडक पश्चिम अलक राजकुमारी राणा ईखा पोखरीको नं.६०८ उत्तर, कि.नं. ६०२ को वेतीमाया प्रधान दक्षिण बाटो यति चार किल्ला भित्रको कि.नं.६१८ को ज.रो.१।।।२ लाई नघल १३० नं. पोता लगतको काथै सिंबु र टेंगाल ६१ नं. पोता लगतको गणेश गुठीको जनिई दर्ता भइरहेको जग्गा हाम्रो सन्धी सर्पन हुँदा ६९ साल देखि मोहियानीमा लिएको १९९४ साल १०।२९।६ मा मान हिरावाँडासँग १३० नं. को काठेसिम्बू जग्गा रोपनी ३ रजिष्ट्रेशन पास गरी हेरम्बको नाममा दर्ता भई भोगेको, गणेश गुठी मोहियानीबाट भोगेको भनी राजगुरु खगेन्द्रराजले खिचोला गरेको उक्त जग्गा २००० सालमा सर्भे नापी हुँदा कसैको हक दर्ताको नभई शुद्ध पर्ति जनिएको सर्भे २३९नं. मौजे धोवी चौर ईन्द्रायणी कि.नं. ६१८ को.रो.१।।।२ भएको खड्ग निसाना बमोजिम पिता काजी मिनबहादुरले पाई काठमाडौं मालमा दर्ता भएको जग्गा हो सर्भे नापी हुँदा सरकारबाट सनद सवाल बनी ईस्तीहार जारी हुँदा विपक्षीले रुजु हाजिर नभएको र नाप नक्शा गराउन नसकेकोमा कुनै विवाद देखिँदैन । सट्टा लिएको रो.३ जग्गा आज सम्म खुलाउन सकेको छैन भनी फिरादमा उल्लेख भएबाट विवादीत जग्गा वादीको पिता मीनबहादुरको नाउँमा दर्ता भई चलन पूर्जा समेत पाएको देखिन्छ । खड्ग निसानाबाट वादीले पाएको जग्गा पत्तो लगाई दिनु र पत्तो नलागे सम्म तिरो पनि तिर्नु नपर्ने गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट २०१४ सालमा हु.प्र.भए बमोजिम कारवाही चल्दा प्रस्तुत विवाद उत्पन्न हुन आएको देखियो र सो बमोजिम विवादीत जग्गामा शुरु काठमाडौं मालले हक बेहकमा अदालतमा जानु भनी सुनाई निर्णय गरी प्र.जि.अ. काठमाडौंले गरेको इन्साफलाई मनासिब ठहर्याई आय र अदालतको निर्णय गरेपछि ०२७।७।८ मा चलन गर्न जाँदा चलन गर्न नदिई प्रतिवादीले खिचोला गरेको भन्ने वादीले दावी लिएको देखिँदा हक बेहकमा जानु भनी अन्तिम निर्णय भएको मितिले २ वर्ष भित्र वादीको फिराद परेको देखिन्छ । वादीको नाउँमा उक्त जग्गा १९८१।३।१ को शेषपछिको बकसपत्रबाट हक हुन आएको जग्गा २००० सालमा सर्भे नापी हुँदा खड्ग निसाना बमोजिम का.जि.भिमबहादुरले आफ्नो नाउँमा दर्ता गरेको उक्त कि.नं. ६१८ रो.१।।।२ जग्गा चलन पुर्जी लिई सकेको, विपक्षी प्रतिवादीले बदर गराउन सकेको समेत देखिँदैन । मालपोत कार्यालयले हक कायम गरी ल्याउनु भनी सुनाएपछि त्यसप्रकार सम्बन्धित पक्ष हक कायम गराई माग्न गएको समेत देखिँदैन । तर वादीको नापी दर्ता तिरो खड्ग निसाना र बहाली पुर्जी समेतबाट हक देखिँदा वादीलाई हक कायम गरी नल्याएको भनी भन्न मिलेन । जुन मितिमा खिचोला गरेको हो सो मितिबाट ज.मि.को १८ नं.को २ वर्षका हदम्याद भित्र फिराद परेकै देखिँदा हदम्याद नाघि फिराद दायर भएको भन्न मिलेन । प्रतिवादीले एक ठाउँको जग्गा सट्टापट्टा लिएकोमा अर्को ठाउँको जग्गा पाउन सक्ने होइन । साथै उक्त जग्गाको नाम समेत नमिलेको आधारबाट कसैको विरोध हुन नआई नक्शा पास गरी दिए बमोजिम पर्खाल लगाई उक्त जग्गा कसैको हक नभएको उकास पर्ति जग्गा नयाँ आवाद गर्न दिनु भन्ने खड्ग निसानामा उल्लेख भएको हुँदा वादीकै हक भोग दर्ताको जग्गालाई प्रतिवादीको सट्टापट्टा को भन्न मिलेन । विवादीत कि.नं. ८०६ को जग्गाको नक्शा सहित उतार र मिसिल सहित अरु कागजात समेत फिल्डबूक उतार र मिसिल सहित अरु कागजात समेत अवलोकन गर्दा प्रतिवादीले मानहिराबाट १९९४ सालमा सट्टापट्टा गरी लिएको जग्गाको ४ किल्लामा पूर्व गणेश गुठी, पश्चिम क.प. रामजङ्ग राणा ना.स.गौरीभक्तको पर्खाल, उत्तर गणेश गुठीको जग्गा र गुरुचा समेतको घर, दक्षिण बाटो भन्ने उल्लेख भएको र हालको नक्शामा विवादीत जग्गाको पूर्व सडक पश्चिम अलक राजकुमारीको हाल तीर्थकुमारी भन्ने र उत्तर बेतिमाया प्रधान भई हाल डा.भवानीभक्त प्रधान भन्ने देखिन आई वादीको किल्ला नक्शा सँग मिले भिडेको समेत देखिन आएन साथै यिनै प्रतिवादी खगेन्द्रराजको मु.सु.गर्ने पियूषराज पाण्डेले यसै विवादीत जग्गाको घरबाट उठाई पाउँ भनी देवचा ज्यापू उपर दिएको घरबाट उठाई पाउँ भन्ने मुद्दामा यिनै प्रतिवादी पियूषराजले आफ्नो फिरादमा पूर्व टंगाल क्षेत्रपाटी जाने सडक उक्त डा.भवानीभक्तको घर जाने बाटो भनी लेखेको पाइन्छ र उक्त किल्ला के कसरी फरक पर्न गएको हो सो समेत प्रतिवादीले खोल्न सकेको मिसिलबाट देखिँदैन । का.न.पं.गो. बाट नक्शा पास गराई पर्खाल लगाई प्रतिवादीले भोग गर्दै आएको भन्ने मिसिल प्रमाणबाट देखिँदैन । साथै मिसिल संलग्न पाना नं. १२७ को २०११ सालको का.न.पं.नक्शा तर्फको लगत हेर्दा वडा गुरुज्यूको घर, ढोका बनाउने भन्ने मात्र उल्लेख भएको पर्खाल बनाउन दर्खास्त परेको देखिँदैन ।
१३. तसर्थ वादीको जग्गाको चार किल्ला भई आएको नक्शासँग मिल्न भिड्न आएकोले उक्त वादीले दावी गरेको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्याएको म.क्षे.अ.को निर्णयमा कुनै त्रुटि नहुँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिति २०४१ साल मार्ग ७ को यस अदालत सिंगलबेञ्चबाट विवादीत जग्गामा म.क्षे.अ.को फैसला बमोजिमको कुनै पनि कार्य गर्न नपाउने गरी फैसलाको कार्यान्वयन स्थगित गरी दिनु भनी सम्बन्धित पक्ष र कार्यालयलाई लेखी पठाई दिने गरेको लगत कट्टा गरी दिनु । कोर्टफी राखी मुद्दा दायर भएको देखिँदा कसैलाई केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४३ साल भाद्र १९ गते रोज ५ शुभम् ।