निर्णय नं. २६५ - जग्गा

निर्णय नं. २६५ ने.का.प. २०२१
डिभिजन बेञ्च
न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री
न्यायाधीश श्री इश्वरीराज मिश्र
डे.डी.नं. ९
निवेदक : ताप्लेजुङ निगुराडि बस्ने रिठे गुरुङ
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने प्रभा प्रसाईनीसमेत
मुद्दा : जग्गा
(१) घरको मुख्य जानिफकारले गरेको व्यवहारमा चित्त बुझेन भने म्याद भित्र उजुर गर्नुपर्ने नगरेपछि उजुर लाग्न नसक्ने ।
७५ सालको राजिनामा ८८ सालमा जालसाज गरी खडा गरेको भनी वादीले बयान गरेको । ८९ सालमा आमा मरेको भनेबाट आमा जिवितै रहे भएको बखत लिखित भएकोमा वादी सावितै देखिएको । मौकामा आमाले उजुर गर्न सक्नुपर्ने नगरी सबैको घरको जानिफकार जेठा बाबुले वादीको बाबु आमा छँदै गरेको व्यवहारमा म्याद भित्र उनीहरूले उजुर नगरेको ।
(प्रकरण नं. १९)
प्रतिवादीतर्फ : विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारी ।
फैसला
१. बाबु पद्यलाल, मानबहादुरसँग मिल्न नसकी पेट भाडोसम्म गरी कटेरो बनाई बसेको, ८८ सालमा बाबु मरे, ८९ सालमा म जन्मेपछि आमा मरिन । मेरो बाबुको आघि अंश भाग जग्गा मानबहादुर साहुहरू मिली जालसाज थैली खाई लिखित गरी लिनुदिनु गरेको र १७ वर्ष लागेकाले नालेस गरेको छु । जगवीरको थैली आधा लाग्ने हुँदा सो बाहेकका थैली कपाली गराई जामुने पुछार तिरो रु. २ ।।। को करकले छेउ २ ठाउँको तिरो रु. ७ ।।२ ढोडेनी जग्गा २ ।।ऽ।।२ र ढुंगे पालाछेउ रु. ३।।–।। सिम्ले पल्ला छेउको जग्गा निगुराडि खाएला बस्ती घर रैकर खेत मेरो सदर गरी दावी मेटाई पाउँ भन्नेसमेत रिठे गुरुङको फिराद ।
२. कर्कले २ ठाउँ जग्गा जंगवीरबाट ७७ सालमा श्यामशेरले लिई श्यामशेरबाट हामीले भोगी झगडा परी जिति मेरो बण्डाको हुँदा चन्द्रप्रसादलाई राजिनामा दिएको छु, थन्याई मानबहादुरले छाडी कागज गरेबाट बुद्धि हाङले गरेका निज खारेज भई पूर्णबहादुरले बाहाली पाई भाइ बण्डा गरी हामीहरूले भोगी खाई आएको भन्नेसमेत बलजितको र,
३. मानबहादुरले थन्याई राजिनामा र सो र ढोडेनी खेतमध्ये बन्धकी दिई तिरो रु. २५ को जग्गासमेत राजिनामा गरी मुद्दा पर्दा ९० सालमा मिलापत्र भएको हुँदा सो र ढोडेनीमध्ये मधुरामले हक छाडेको षंडर पूर्णबहादुरले बिक्री गरेको षंड ससुराको चलन हुन आएकोले खिलालसमेतलाई पास गरी दिई डिल्लीप्रसादले भोगेकोछ भन्नेसमेत संजीति ।
४. तिरो रु. १ को घरबारी जग्गा मानबहादुर गुरुङले मेरो ससुरा रंगलालप्रसाद कं.रु. ३६१ खाई ७५ साल माघ १० गते ५ मा राजिनामा गरी दिएको हुँदा सुसराबाट लोग्ने षडानन्दले अंश पाई मैले भोग गरी आएको बुद्वि हाङसमेतसँग झगडा पर्दा निजहरूले दावी छोडी ९७ सालमा मिलापत्र भएको छ भन्ने प्रभा प्रसाईनी ।
५. बर्णवीर गुरुङबाट ५४ साल मै राजिनामा गरी लिई धर्मधोजसमेतसँग मुद्दा पर्दा ८५ सालमा मेरै भई फैसला भएको छ । सो र ढोडेनीमध्ये १ ।।= को जग्गा मानबहादुरको लिखतबमोजिम मेरो हक भई बन्धकीमा पूर्णप्रसादले खाएको छ भन्नेसमेत टेकबहादुर ।
६. जुद्धवीर दर्ता तिरो रु. ७ ।। को जग्गा मध्ये रु. १ ।।— जग्गा माबहादुरले पूर्णबहादुरलाई दिएको निजबाट ९३ सालमा मैले लिएको र सो र ढोडेनी मिलापत्रबाट हक हुने बुद्धि हाङबाट बाबु रवीलालले लिई हाल भाइ डिल्लीरामले भोगेको छ भन्नेसमेत धनपति प्रसाई ।
७. कर्कले छेउ २ ठाउँ भन्ने जग्गा बलजितको राजिनामाबाट भाइ चन्द्रप्रसादले भोगेको छ । साझबोटे ९० सालको मिलापत्रबाट मधुरामको हक भई ४ सालमा राजिनामा पास गरी दिएको छ भन्नेसमेत गँगाप्रसाद रु. ७ ।। को सो ढोडेनी मध्ये रु. ०१।
को जग्गा मानबहादुरको लिखत सकार गरेको रवीलालको छोरा इन्द्रमणिबाट ०१ सालमा बन्धकी दिएकाले खाएको छु, जंगवीर दर्ता २५ को जामुने पुछार मानबहादुरका राजिनामाबमोजिम तहतह भई खाएको छु भन्ने पूर्णप्रसाद ।
८. साझबोटे सिमले मसरे ३ खला जग्गा मानबहादुरबाट राजिनामा लिई बुद्धि हाङसमेतले दावी छाडी ९० सालमा मिलापत्र भएको संसरे चन्द्रप्रसादलाई बन्धकी दिई सिमले मैले भोगेको । साझबोटेका हकमा टेकबहादुरसमेतसँग मुद्दा पर्दा कर्कले रु. २ ।।। जग्गामा मिलाई जग्गा लोप भएको छुट्याई पाउँ भन्नेसमेत मधुराम ।
९. ढोडेनी रु. ७।। मध्ये रु. २ ।।। को खेत ७५ सालमा मानबहादुरले बन्धकी लेखि दिएका दर्तावालाका नाती डिल्ली ध्वजले खिचोला गर्दा कं.रु. ५० । खाई मानबहादुरका लेखक सदर राखी राजिनामा दिएकाले मैले भोगी आएको भन्नेसमेत देवीप्रसाद ।
१०. ८७ सालमा थन्याई मानबहादुरले छाडेको र ७७ सालको बण्डा मुचुल्काबमोजिम बस्ती घर रैकर किपट जग्गा दाजु कालीबहादुर म समेतले भोगेको छौं भन्नेसमेत लक्षबहादुरसमेतका प्रतिवादी ।
११. जग्गा थन्यायीहरू प्रतिवादीहरूले भोगेका र अड्डाखानाको फैसलाहरूसमेत देखिएपछि भोगबाट वादीको उजुर लाग्न नसक्ने । वादीको लेखाईबाट मानबहादुर जेठा बाबु देखिन आई लिखत प्रमाणहरू वादीको बाबु पद्मलाल भएकै अवस्थामा भएको देखिन आउने र सगोल जानिफकारले गरेको व्यवहार सदरै हुने, बाबुहरू छुटिएको भन्न नसकेकोलेसमेत जग्गा पजनीका ३४ नं. ले वादीको उजुरी खारेज हुने ठर्हछ भन्ने ताप्लेजुङ अमिनीको फैसला ।
१२. चित्त बुझेन भन्ने वादीको अपील ।
१३. पुर्खा ढांट्या भन्ने मुद्दामा वादी रिठे जगवीरका छोरा मानबहादुरको भाई पद्मलालको छोरा ठहरी फैसला भएको र सो र ढोडेनी तिरो रु. १ । तिरो रु. १।।– जामुने २५ सो र ढोडेनी तिरो रु. २ ।।। र घरवारी रु. १— को जग्गामा जालसाज गरेको ठर्हछ, अरुमा शुरुको मनासिव, वादीले उक्त सोर ढोडेनी जग्गाहरूमा आधा उकासी खान पाउने र जामुने जम्मै घरवारी आधासमेत खान पाउँछ भनी धनकुटा अपीलबाट फैसला भएको ।
१४. चित्त बुझेन भन्नेसमेत वादी र प्रतिवादी प्रभा संजाति पूर्णप्रसादसमेतको अपील ।
१५. वादीले छुटी भिन्न भएको सबुदै गुजार्न नसकेको, साहु असामीका ६ नं. का ऐनलेसमेत जानिफकार मानबहादुरले गरेको व्यवहार सदरै हुने हुँदा घरबारी जग्गा मध्ये आधा प्रभाले नपाउने गरी धनकुटा अपीलले फैसला गरेको गल्ती ठर्हछ, अरुका हकमा मनासिव भन्ने प्रधान न्यायालय सिंगलबेञ्चको फैसला ।
१६. दोहर्याई पाउँ भन्ने वादीको निवेदनमा ७५।७७ सालमा लिखत सद्दे किर्तेमा चलाएको नदेखिएकाले दोहर्याउन निस्सा दिई झगडियासमेत राखी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने आदेश । ७५ सालको राजिनामा ८८ सालमा जालसाज गरेको हो, ७७ सालको बण्डापत्र सद्दे हो भन्ने वादीको वा. रणबहादुरको बयान ।
१७. ७५ सालको राजिनामा सद्दे हो भन्ने प्र.वा. प्रर्साइनीको बयान ।
१८. बलजितका प्रतिवादीका ७७ सालमा जंगवीरबाट श्यामशेरले राजिनामा गरी लिएको भन्ने लेखेको देखिएको र हर्कज लिम्बुसमेतको ७७ सालको बण्डापत्रमा जंगवीरको सही परेको छ भनी जिकिर लिएको बण्डापत्र पेश भएकै देखिएको र ७५।७६ सालको तमसुकका बाबु बज्यै मरी मेरो हक भएको भन्ने लिखतमा बोली परेको देखिएकोलेसमेत छलफलमा झगडीया प्रभालाई १५ दिने म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
१९. तारेखमा रहेका निवेदक, वादीको वारेस रणबहादुर र आदेशबमोजिम झिकीएकी प्रभालाई राखी निजतर्फका विद्वान वकिल एडभोकेट कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहससमेत सुनी यो मुद्दा बुझ्दा तिरो रु. १ऽ को घरबारीका हकमा ७७ सालमा जंगवीर जिवितै रहेको भनी प्रमाण दिएको मिसिल समेल रहेको ७७ ।५।१२।६ को हर्कध्वजसमेतको बण्डापत्रका लेखक साक्षीको भन्दा तल जंगवीरको नाम लेखिएकोमा लागेको ल्याप्चे सहीछाप शंखचक्र प्रष्टै नबुझिने हुँदा कागज जाँचको २० नं. ले सो सहीछाप प्रमाण लिन नहुने र बलजितको प्रतिवादीका ७७ सालमा जंगवीरबाट श्यामशेरले राजिनामा गरी लिएको भन्ने उक्ती परेको सो कुराको पक्का प्रमाण पनि पेश हुन सकेको नदेखिनाले सो लेखाईलाई प्रमाणिकमान्न नहुने र ७५ सालमा राजिनामामा ८८ सालमा जालसाज गरी खडा गरेको भनी वादीले बयान गरेको, ८९ सालमा आमा मरेको भनेबाट आमा जिवितै रहे भएको बखत लिखत भएकोमा वादी सावितै देखिएको, मौकैमा आमाले उजुर गर्न सक्नुपर्ने नगरी बसेको, घरको जानिफकार जेठा बाबुले वादीका बाबु आमा छँदै गरेको व्यहवहारमा म्यादभित्र उनीहरूले उजुर नगरेबाट यो वादीको दावी उजुर पुग्न नसक्नेमा पनि ७५ सालमै राजिनामा भएको हो भन्ने प्रतिवादी प्रभाको जिकिर भई राजिनामा र बुद्वि हाङसमेतसँग मुद्दा पर्दा यही घरवारीको जग्गासमेत हक छाडी निज बुद्वि हाङसमेतले मिलापत्र गरेको ९७ सालको मिलापत्र दाखेल गरेको देखिएकाले मुद्दासमेत परी हक भोग भईसकेको घरबारीमा जालसाजी भन्ने वादीको भनाईलेमात्र जालसाजी रहेछ भन्ने नभएकोलेसमेत धनकुटा अपीलको केही उल्टी गरी प्रधान न्यायलय सिंगलबेञ्चले ११ साल बैशाख ८ गते छिनेको इन्साफ मनासिव छ । निवेदक, वादी रिठे गुरुङ के.रु. ३६१ को लिखत मध्येको आधा जग्गामा उजुर जालसाज गरे भन्नेमा बिगो भा.रु. १८० । । को ठहरे किर्ते कागजका १३ नं. ले बिगाको सयकडा २५ प्रतिवादीलाई भा.रु. ४५।१२।२ नयाँ पैसा हुने पोली सावित गर्न नसकेकाले ऐनले भा.रु. २२।५७ र मनासिब इन्साफ दोहर्याएमा शुरु दण्ड भा.रु. ३ का हा.का. ११ नं. ले दशौंद भा.रु. ३० समेत जम्मा भा.रु. २२।८७ नयाँ पैसाको ने.रु. ३६।७० दण्ड हुन्छ, वारेस हुँदा तहसिलमा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०१८ साल मार्ग १९ गते २ शुभम् ।