शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७५४ - उत्प्रेषण

भाग: २८ साल: २०४३ महिना: असोज अंक:

निर्णय नं. २७५४    ने.का.प. २०४३     अङ्क - ६

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान

०४१ सालको रिट नं. १९६७

आदेश भएको मिति : २०४३।६।२ मा

 

निवेदक : का.न.पं.वडा नं.३० असन डगुबहाल बस्ने तिर्थकुमारी तुलाधरसमेत

विरुद्ध

विपक्षी : मालपोत कार्यालय काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

 

(१)         आफ्नो एउटै कार्यालयमा एउटै जग्गा देखाई पहिले परेको निवेदनमा कुनै निर्णय नदिई पछि परेको निवेदनबाट पहिले निवेदन गर्ने निवेदकहरूलाई कुनै जानकारीसम्म पनि नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी गरेको प्रष्ट देखिने ।

(प्रकरण नं. १५)

 

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर

विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल

 

आदेश

न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको निवेदन जिकिर निम्न प्रकार छन् ।

२. स्वयम्यू डल्लू गा.पं.वार्ड नं. २ कि.नं. १४९ भई नापी भएको जग्गा हा.नं. ५०४ को जगतबहादुर, पूर्णलक्ष्मी, धर्मरत्‍न, हेराकाजी, मायादेवी समेतको नाममा दर्ता भएकोमा जगतबहादुर पूर्णलक्ष्मी मरिसकेको हुनाले हामी हकलालाहरुको नाउँमा नामसारी गरी ज.ध.द.प्र.पूर्जा पाउँ भनी हामीहरूले मालपोत कार्यालय काठमाडौंमा ०३९।१।२ मा निवेदन दिएका थियौं ।

३. कारवाहीको सिलसिलामा उक्त जग्गाको मोही देवनारायण महर्जनको नाउँमा म्याद पठाउँदा उक्त जग्गाको जग्गाधनी हामीहरू नै हो । भूलबाट  मात्र अरुको नाउँ लेखाएर पठाएको रहेछ । हामी ३ जनाकै नाउँमा ज.ध.कायम भएमा मञ्जूर छ भन्ने निज देवनारायण म्यादमा हाजिर भई ०३९।३।१८ मा निवेदन सनाखत बयान समेत भएको ।

४. उक्त निवेदन कारवाही हुँदा विपक्षी जगत मायाले पनि ०३९।३।१८ गते म्याद बुझी लिई सबूद प्रमाण १ महीनाभित्र पेश गर्नेछु समय पाउँ भनी ०३९।४।१४ गते निवेदन दिएको र पछि उक्त जग्गा ससुरा बाजे जुद्धवीर सिंह प्रधानको नाउँको हो र उहाँ मरी मेरो हक हुन आएकोले रैकर परिणत नामसारी दर्ता ज.ध.द.प्र.पूर्जा पाउँ भनी विपक्षीले मालपोत कार्यालय काठमाडौंमा ०३९।४।३२ मा निवेदन दिएको रहेछ ।

५. यसपछि उक्त जग्गा साविकमा जुद्धवीरको नाउँमा दर्ता भएको साविक लगत उतारबाट देखिएको फिल्डबुकमा किसानको व्यहोरामा पनि ज.ध.जगतमाया भनी लेखिएको र निजको नाउँमा दर्ता भएमा हुन्छ भनी जोताहा देवनारायणले ०३९।५।२ गते निवेदन दिएको का.न.पं.वडा नं.२४ को सिफारिश पत्र सामेल भएको देखिएकोले उक्त कि.नं. १४९ को जग्गा जगतमायाको नाउँमा दर्ता गर्नुपर्ने भनी टिप्पणी पेश भएकोमा यस सम्बन्धमा पछि कुनै उजूर परेमा स्वतः बदर हुने गरी सदर भनी ०३९।५।८।३ मा विपक्षी माल कार्यालयबाट आदेश भएको रहेछ ।

६. यसै सिलसिलामा जोताहा पूर्जा लिनको लागि निवेदन दिनु पर्‍र्यो भनी मलाई झुक्याई कागज लेखाई लगेको शंका लागेकोले यदि विपक्षी जगत माया जग्गाधनी पनि कुनै कागज मबाट लेखाई पेश भएको भए त्यो झुक्याई गराएको कागज हो । उक्त जग्गाको ज.ध. ०३९।३।१८ को निवेदन अनुसार धर्मरत्‍न समेत ३ जना नै हुन भनी निज मोही देवनारायणले मिति ०३९।३।१४ मा माल कार्यालयमा निवेदन सनाखत बयान गरेको रहेछ ।

७. यी अनियमितताहरू देखिएपछि विपक्षी माल कार्यालयबाट विपक्षी जगतमाया समेतलाई झिकाई कारवाही पनि गरेको रहेछ । ज.ध.प्र.पूर्जा पाइसकेकोले पुनः बोलाई कारवाही गर्न नमिल्ने भन्ने समेतको जगतमायाले ०२९।९।२९ गते निवेदन दिएको रहेछ । त्यस्तै हदम्याद समेत गैसकेको हुनाले अब कुनै कारवाही नै चल्न सक्दैन । भन्ने विपक्षी जगतमायाको ०३९।६।१५ मा पनि सनाखत निवेदन भए परेको रहेछ ।

८. हामीहरूले दिएको ०३९।१।२ को निवेदनमा के निर्णय भएको छ भनी बुझ्न जाँदा शर्त सहितको निर्णय भएको भए पनि जग्गा दर्ता भइसकेको हुँदा सो बदर गर्न सकिने अवस्था नहुँदा दर्ता बदर नयाँ हक कायम गराई ल्याउने भन्ने ०४१।१०।२९ मा निर्णय आदेश भई सो को सूचना हामीलाई ०४१।११।१४ गते दिएको थियो । यसरी सूचना प्राप्त भएपछि यसमा के कस्तो कारवाही भएको रहेछ भनी मिसिल कागजातको नक्कल ०४१।१२।१३ गते लिएपछि उपरोक्त सबै काम कारवाही विषय प्रष्ट थाहा हुन आयो । यसरी थाहा भएपछि उक्त निर्णय बदर गरिपाउँ भनी भनेको पनि थिएँ ।

९. दर्ता बदर हक कायम गरी ल्याउनु भनी यो ऐन अन्तर्गत सुनाइएको भन्ने उक्त निर्णयमा उल्लेख नभई अस्पष्ट, अनिश्चित र भ्रमात्मक पनि हुँदा र उक्त ०३९।५।८ को निर्णय उपर उजूर परेमा स्वतः बदर हुने भनी निर्णय पनि भइरहेकोले त्यसरी सुनाई रहनु नै नपरी विपक्षी माल कार्यालयले नै आफैं उक्त ०३९।५।८ को निर्णय बदर गरे पनि हुने थियो । यसरी बदर गर्नुपर्ने गैरकानुनी निर्णय बदर नगरी फेरि उजूर गर्न कारवाही गराई माग्न जानु भनी सुनाइएको उक्त निर्णय कानुनी आधारहीन र कानुन विपरीत हुँदा यो निवेदन गर्न बाध्य भएका छौं ।

१०. उक्त कि.नं. १४९ को जग्गा निज विपक्षीको नाउँमा दर्ता गर्ने गरी निर्णय गर्नु अ.बं.१२ को विपरीत यसो गर्नु २०४० को रि.फु.नं. ५० को उत्प्रेषणको मुद्दामा ०४२।९।१५ को निर्णय नजीर विपरीत, जग्गा नाप जाँच ऐन, ०१९ को दफा ६(७) समेतको  विपरीत भएकोले विपक्षी माल कार्यालयको ०३९।५।८, ०४१।११।२९ को अनाधिकृत प्राकृतिक न्याय सिद्धान्त विपरीत प्रत्यक्ष कानुनी त्रुटि तथा बदनियतपूर्ण निर्णयहरू बदर गरी कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी मालपोत कार्यालय काठमाडौंको नाउँमा परमादेशको आदेश पनि जारी गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।

११. यसमा के कसो भएको हो विपक्षीहरूबाट लिखितजवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस सर्वोच्च अदालत सिंगलबेञ्चको मिति ०४१।१२।२१।४ को आदेश ।

१२. रिट निवेदकले दावी लिएको विवादको जग्गा नामसारी दर्ता गरिपाउँ भनी यस कार्यालयमा दिएको मिति ०३९।१।२ को निवेदनमा साविक रैतान हा.नं.५०४ हाल सर्भे नाप नक्शा हुँदा स्वयम्भू डल्लु गा.पं.वडा नं.२क. कि.नं. १४९ को ०२ जग्गा माग गरेको तर रैतान नम्बर र नापीको कि.नं.१४९ मात्र उल्लेख भएको कुन मौजा हो सो कुरा उल्लेख नभएको जग्गा दर्ता गर्न मिल्ने आधारहरू मध्येका पञ्चायतको सिफारिश नभएको र फिल्डबुक उतार मगाई हेर्दा पनि नापीमा निवेदकहरू कसैको नाम उल्लेख नभएको । यसै जग्गालाई प्रमाण सहित निवेदन दिने निवेदिका जगतमायाका नाममा साविक कवटु ४३४।३९२ नं. को पोता भिडाई हाल सर्भे नाप नक्शा भएकोले उक्त विवादीत जग्गा यस कार्यालयबाट ०३९।५।८ मा निर्णय हुँदा यस सम्बन्धमा पछि कुनै उजूर परेमा स्वतः बदर हुने गरी सदर भन्ने व्यहोरा हाली निर्णय भई फिल्डबुकबाट जग्गाधनी देखिएको जगतमायाकै जग्गा हो भनी मोहीले समेत निवेदन दिएको हुँदा यस कार्यालयबाट भएको निर्णय कानुनसंगत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय काठमाडौंको लिखितजवाफ ।

१३. अधिकार प्राप्त अधिकारी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भई कारवाही चलीरहेको माथिल्लो तहबाट निर्णय गर्न नहुने न्यायिक सिद्धान्त भएको र हामीतर्फबाट नाममा राजीनामा गरी लिई हक भएको भन्ने नभई हा.नं.५०४ मा दर्ता भएको भन्ने सम्म लेखिएको र जगतबहादुर पूर्णलक्ष्मी मरी हक भएको भन्ने उल्लेख भएको र हामी हकदारको हक भएको भन्ने सम्म उल्लेख भएको निवेदनमा हिराकाजी र तिर्थकुमारी तुलाधर रत्‍नभाइ ताम्रकार र विष्णु महर्जन छन् अब ३ थर भएको व्यक्ति उपर एउटैको सन्तान भन्न मिल्दैन भन्ने कसरी अपुतालीको हकदार भन्ने, रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जगतमाया प्रधानको लिखितजवाफ ।

१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर र विपक्षी कार्यालय तर्फबाट खटिई आउनु भएको विद्वान सरकारी का.मु. न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहस समेत सुनियो । प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी हुने हो होइन भन्ने सो को निर्णय दिनुपर्ने हुन आएको छ ।

१५. यसमा निर्णयतर्फ विचार गर्दा स्वयम्भू गा.पं.वडा नं.२(क) कि.नं. १४९ भई नापी भएको जग्गा हा.नं. ५०४ को दर्तावाला जगतबहादुर पूर्णलक्ष्मी मरिसकेको हुनाले हामी हकवालाका नाउँमा दर्ता नामसारी गरी ज.ध.प्र.पू.पाउँ भनी ०३९।१।२ मा हामी निवेदकहरूले मालपोत कार्यालय काठमाडौंमा निवेदन दिएकोमा सोही कित्ता जग्गा ससुरा बाजे जुद्धवीर सिंह प्रधानका नाउँको हुँदा मेरो नाउँमा दर्ता गरी पाउँ भनी सोही जग्गामा दावी गरी विपक्षी जगतमाया प्रधानले ०३९।४।३२ मा दिएको निवेदनबाट हामीलाई बुझ्दै नबुझी निज विपक्षीका नाउँमा दर्ता गरी दिने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत गरेको हुँदा सो निर्णय बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदकले दावी गरेको पाइन्छ । सो दावीतर्फ हेर्दा निवेदकहरूले नामसारी  दर्ता गरिपाउँ भनी ०३९।१।२ मा दिएको निवेदनमा उल्लिखित जग्गा र विपक्षीको पछि ०३९।४।३२ मा सोही जग्गा दर्ता गरी पाउँ भनी परेको निवेदनमा दर्ता गर्ने गरी निर्णय गरेको जग्गा एउटै नम्बर कित्ताको हो भन्ने कुरामा विवाद देखिएन र विवादीत जग्गा दर्ता निर्णय गर्ने गर्दा निवेदकहरूलाई कुनै जानकारी दिएको पनि पाइँदैन । यस्तो स्थितिमा आफ्नो एउटै कार्यालयमा एउटै जग्गा देखाई पहिले परेको निवेदनमा कुनै निर्णय नदिई पछि परेको निवेदनबाट पहिले निवेदन गर्ने निवेदकहरूलाई कुनै जानकारी सम्म पनि नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी गरेको प्रष्ट देखिन आएकोले विपक्षी मालपोत कार्यालय काठमाडौंको ०३९।५।८।३ को निर्णय कानुनसंगत नभएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ कानुन बमोजिम जो बुझ्नु पर्ने बुझी पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी मालपोत कार्यालय काठमाडौंका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । निर्णयका प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४३ साल आश्विन २ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु