निर्णय नं. २६६ - परमादेश जारी गरी पाउँ भन्ने

निर्णय २६६ ने.का.प. २०२१
डिभिजन बेञ्च
न्यायाधीश श्री नयनबहादुर खत्री क्षत्री
न्यायाधीश श्री वासुदेव शर्मा
रीट नं. ४७
निवेदक : इन्द्रप्रसाद सिंह जि.महोत्तरी ।
विरुद्ध
विपक्षी : महोत्तरी मालसमेत ।
विषय : परमादेश जारी गरी पाउँ भन्ने
(१) कानूनमा नालेस गर्न पाउने व्यवस्था भए रीट लाग्न नसक्ने, रसिद भर्पाई माग्दा मालबाट इन्कारी हुनासाथ सबुद प्रमाण पुर्याई नालेस दिई आफुले धान बुझाएको खम्बिर गराईसकेपछि रसिद माग्दा नदिएको भए निवेदकको भरपाई पाउने हकमा आघात पुर्याएको भन्ने सम्झी निवेदकको उजुर लाग्नसक्ने हुने थियो ।
(प्रकरण नं. ५)
(२) अन्य उपाय छँदाछँदै सर्वोच्च अदालतको असाधारण क्षेत्र प्रयोग गरी रीट जारी गर्न नमिल्ने ।
अन्य उपाय नभएमा कानूनद्वारा प्रदत्त आफ्नो हक र संवैधानिक हक भएमा अन्य उपाए नभए पनि सो संवैधानिक हक प्रचलन गराई माग्ने पवित्र उद्देश्यले अदालतको समक्ष आउनु पर्दछ । आफूले गर्नुपर्ने काम नगरी धिंगन्याई र खिचोला गर्ने किसिमबाट निवेदक आएको देखिएमा सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी रीट जारी हुननसक्ने ।
(प्रकरण नं. ६)
आदेश
१. महोत्तरी मालबाट ०१८।१।२३।६ मा बाँकी भएको धान चामलको ठेक्दारहरूसँग तुरुन्त बुझ्नु होला भनी लेखि आएकोले धान मन २५०१।७।। मबाट बुझी रसिद गरी दिएको सो रसिद हराएकोले मुलुकी सवाल बही बुझ्ने बारेको दफा ३९ अनुसार अर्को रसिद गरी दिनुहोस् भनी विपक्षी महोत्तरी मालमा गरी दिनुहोस भनी विपक्षी महोत्तरी मालमा भन्न जाँदा गरी नदिएको । विपक्षी म.स. गोश्वरामा उजुर गर्न जाँदा उजुरै नसुनेको र धान धर्म भकारीमा महजुदै भएकोले संविधानको धारा ७१ अनुसार रसिद दिनु भन्ने परमादेश जारी गरी पाउँ भन्ने ०२०।६।१९।३ को इन्द्रप्रसाद सिंहको निवेदनपत्र ।
२. निवेदकका मागबमोजिमको आदेश किन जारी नहुनुपर्ने हो ? १५ दिन भित्र लिखित जवाफ पठाई दिनु भनी सूचना पठाई जवाफ आएपछि वा म्याद नाघेपछि पेश गर्नु भन्ने ०२०।६।३०।४ को सिंगलबेञ्चको आदेश ।
३. इन्द्रप्रसादले मौखिक उजुर गरेको जानकारी नभएको, लिखित उजुर गरेको नदेखिएको, निवेदन दिन ल्याएको लिई नदिए हुलाकद्वारा पनि दिन सकिने हुँदा सरकारी माल जिम्मा लिएको आलटाल गर्न होकि भन्ने आशंका देखिने भन्नेसमेत बडाहाकिम म.स.गो.का ०२० ७।२६ को लिखित जवाफ ।
४. श्रेस्ताबाट निवेदकसमेतसँगको धान चामल असूल भई आम्दानी बाँधिएको देखिन आएको साथै बुझाई रसिद लिएको भए यो मैना मितिमा यो हाकिमका पाला बुझाई रसिद लिएको यो मैना मितिमा हरायो भनी निवेदकले लेख्न सक्नु पर्ने, श्रेस्ता बेगर अर्को रसिद गरी दिन नमिल्नेसमेत हुँदा जाहेर गरेको छु भन्नेसमेत हाकिम महोत्तरी मालको ०२०।७।२८।५ र ०२०।८।१०।३ को लिखित जवाफ ।
नियमबमोजिम गरी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०२०।११।१५।१ को सिंगलबेञ्चको आदेश ।
५. निवेदनको वा. भानुराज जोशीलाई रोहवरमा राखी पेश हुन आएको यसमा निवेदकतर्फबाट धान बुझाएर रसिद लिएको थिएं भन्ने भनाई बाहेक यो मितिमा यो हाकिमलाई बुझाई स्याहामासमेत आम्दानी बाँधिएको थियो भन्ने खँदीलो बुँदाहरू केही लेखेको देखिएन, रसिद पनि कहाँ कसरी हरायो भन्नेसमेत केही उल्लेख छैन । मुलुकी सवाल बही बुझ्ने बारेको ३९ दफाबमोजिम कानूनी हक भएको भन्ने निवेदन रहेछ । तर, निवेदकले रसिद भरपाई माग्दा मालबाट इन्कारी हुनासाथ सबुद प्रमाण पुर्याई नालेस दिई आफूले धान बुझाएको खम्वीर गराई सकेपछि रसिद माग्दा रसिद नदिएको भए निवेदकको भरपाई पाउने हकमा आघात पुर्याएको भन्ने सम्झी निवेदको उजुर लाग्न सक्ने हुन्थ्यो । तर, त्यस किसिमको जिकिर निवेदकले लिन सकेको देखिदैन ।
६. प्रस्तुत केशमा निवेदक आफ्नो हक संरक्षणार्थ भनी शुद्ध ह्दय लिएर आउनु भएको देखिएन । असाधारण अधिकार क्षेत्रको प्रयोगको लागी निवेदक जहिले पनि शुद्ध ह्दय लिई आउनुपर्छ । अन्य उपाय नभएमा कानूनद्वारा प्रदत्त आफ्नो हक र संवैधानिक हक भएमा अन्य उपाय नभए पनि सो संवैधानिक हक प्रचलन गराई माग्ने पवित्र उद्देश्य लिई अदालतको समक्ष आउनु पर्दछ । आफूले गर्नुपर्ने काम नगरी धिगन्याहि र खिचोला गर्ने किसिमबाट निवेदक आएको देखिएमा सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी रीट जारी हुन सक्तैन । प्रस्तुत निवेदनपत्रमा माथि लेखिएबमोजिम धान बुझाएको प्रमाण पेश भईकन पनि रसिद नदिएको भन्ने उल्लेख नभएकोलेसमेत प्रस्तुत रीटको निवेदन खारेज हुनेठर्हछ । यो आदेश निवेदकको वारेसलाई सुनाई दायरीमा लगत काटी मिसिल नियमबमोजिम बुझाई दिनु ।
इति सम्वत् २०२० साल चैत्र १२ गते रोज ४ शुभम् ।