निर्णय नं. ९०७० - बकसपत्र लिखत दर्ता बदर दर्ता

नेकाप २०७० अङ्क १० नि.नं.९०७०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
फैसला मिति : २०७०।४।३०।४
०६८-CI-१५५०
मुद्दा : बकसपत्र लिखत दर्ता बदर दर्ता ।
पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल बस्ने नीना मानन्धरको वारेस भै आफ्ना हकमासमेत जुजुभाइ मानन्धर
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल बस्ने श्रीमती सविता मानन्धरसमेत
§ पितृसत्तात्मक सामाजिक मनोविज्ञान अद्यापि विद्यमान रहेको अवस्थामा सगोलको आयले जग्गा खरीद गरी बुहारीको नाममा राखेको होला भनी विश्वास गर्न सकिने अवस्था नरहने ।
§ कामकाजी आय आर्जन गर्ने महिलाको रूपमा प्रतिवादीले शिक्षण पेशामा संलग्न रहेको र सो कुरालाई वादीहरूले अन्यथा भन्न सकेको देखिंदैन । आफ्नो निजी आर्जन र सीपबाट आर्जित सम्पत्ति नभएको भए वादीहरूले तत्कालीन अवस्थामा प्रतिवादीका नाममा नै उक्त जग्गा राजीनामा गरी कायम राखी राख्न पर्ने अवस्था नदेखिँने ।
§ अंश मुद्दाको प्रतिउत्तर व्यहोरामा प्रतिवादी हामीभन्दा स्रोतदार र आम्दानीवाला हुन् भनी स्वीकार गरी निजको आर्जन र सीपलाई अन्यथा भन्न सकेको देखिँदैन । यस्तो अवस्थामा निजको निजी आर्जन र सीपबाट आर्जित सम्पत्तिमा निजले आफूखुश गर्न सक्ने व्यवस्था मुलुकी ऐन, अंशबण्डाको १८ नं. ले गरेको कानूनको सारभूत पक्षलाई अन्यथा भन्न सक्ने नदेखिने ।
(प्रकरण नं.५)
शुरू तहमा फैसला गर्ने :
मा.न्या.श्री टेकनारायण कुँवर
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री एकराज आचार्य
मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल
पुनरावेदक/वादीका तर्फबाट : विद्वान अधिवक्ता ईश्वर पौडेल
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ताद्वय मोतीबहादुर थापा, कपिल पौडेल
अवलम्बित नजीर :
सम्बद्ध कानून :
फैसला
न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।५।२९ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्याई पाउने निवेदन परी यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको रोहमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
जुजुभाइ मानन्धरको श्रीमती नीना मानन्धर हुन् । निजका छोराहरू जेठा स्व. दिनेश मानन्धर, कान्छा निवास मानिन्धर हुन् । हामी ४ जना अंशियार छौं । विपक्षी सविता मानन्धरले मिति २०६५।९।१६ मा अंश मुद्दा दायर गरी मिति २०६५।११।१९ मा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी लिने भनी आदेश भएको छ । मुद्दा चल्दाचल्दैको अवस्थामा हाम्रोसमेत अंश हक लाग्ने ललितपुर जिल्ला, ठेचो गा.वि.स. वडा नं. ९(ख) कि.नं. ७८६ को ०–६–०–० जग्गा हाम्रो मञ्जूरी नलिई दिने सविता मानन्धर लिने करूणा मानन्धर भई र.नं. ७५२८(घ) मिति २०६६।२।३१ मा हालको बकसपत्र लिखत पारीत गरेकाले अन्यायमा परी फिराद गर्न आएका छौं । अतः उक्त मिति २०६६।२।३१ को बकसपत्रको लिखत बदर गरी हाम्रो नाउँमा दर्ता गरी पाऊँ भन्नेसमेत व्यहोराको नीना मानन्धर, निवास मानन्धर र जुजुभाइ मानन्धरको काठमाडौं जिल्ला अदालतसमक्ष परेको संयुक्त फिरादपत्र ।
उक्त जग्गा मेरो एकलौटी उपभोगको निजी सम्पत्ति हो । विपक्षीहरूले मलाई घरबाट खान लाउन नदिएको र नाबालक बच्चाको स्वास्थ्य उपचारसमेतको बेवास्ताको साथै पढाइ खर्च व्यवस्था गर्न कठिनपर्दाको अवस्थामा सहयोग गर्ने करूणा मानन्धरलाई हालैदेखिको बकसपत्र गरिदिएकी हुँ । विपक्षीको झूठ्ठा फिराद खारेज गरी पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी सविता मानन्धरको काठमाडौं जिल्ला अदालतमा दायर भएको प्रतिउत्तरपत्र ।
उक्त कि.नं. ७८६ को जग्गा मेरो दाताको निजी आर्जनको सम्पत्ति हो । उक्त सम्पत्ति पारीत गरी लिँदा विपक्षीहरूको मञ्जुरी लिनुपर्ने अवस्थासमेत नभएकोले विपक्षीको झूठ्ठा फिराद खारेज गरी पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी करूणा मानन्धरको काठमाडौ जिल्ला अदालतसमक्ष दायर भएको प्रतिउत्तरपत्र ।
निज सविता मानन्धरले आफ्नो शैक्षिक योग्यतालाई प्रयोग गरी आफ्नो ज्ञान, सीपबाट शिक्षण पेशा अंगाली सम्पत्ति आर्जन गर्न र चल अचल सम्पत्ति आर्जन गर्न सक्ने अवस्था देखिँदा र त्यसरी आर्जन गरेको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) को दायराभित्र नपर्ने र अंशबण्डाको महलको १८ नं. लेसमेत आफ्नो ज्ञान, सीपबाट आर्जेको सम्पत्ति कसैलाई बण्डा नलागी आफूखुसी गर्न पाउने नै हुँदा तथा यी प्रतिवादी सविता मानन्धरले प्रतिवादी करूणा मानन्धरलाई हालैको बकसपत्र गरी दिएको कार्य कानूनबमोजिम नै भए गरेको एवं सदर कायम रहने प्रकृतिको देखिएको हुँदा वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको शुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।९।३० मा भएको फैसला ।
विपक्षी सविता मानन्धरले हामीसमेतउपर अंश सम्बन्धमा फिराद दायर गरेकोमा हाम्रा नाउँमा मिति २०६५।१०।१५ मा म्याद तामेल भएको मिति २०६५।१०।२९ मा प्रतिउत्तरपत्र पेश भएको छ । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको चल अचल सम्पत्तिको दायदाती लिने आदेश मिति २०६५।११।१९ गते भएको थियो । विपक्षी सविता मानन्धरले २०६६।२।२७ मा तायदाती पेश गरेको र तायदातीमा विपक्षीका नाउँमा मिति २०६६।२।२७ मा पेश गरेको तायदाती पेश गरेको र तायदातीमा विपक्षीका नाउँमा मिति २०६२।२।१५ गते खरीद भै दर्ता रहेको ललितपुर जिल्ला, ठेचो गा.वि.स. वडा नं. ९(ख) कि.नं. ७८६ को ०–६–० जग्गा मुद्दा चल्दाचल्दैको अवस्थामा तायदातीमा उल्लेख नगरी मिति २०६६।२।१४ मा विपक्षी करूणा मानन्धरलाई हालैको बकसपत्र लिखत पारीत गरी त्यसको १३ दिनपछि तायदाती पेश भएकोले अदालतको अपहेलना गरिएको र त्यस्तो लिखत अमान्य र शून्य हुन्छ भनी फिरादपत्रमा नै उल्लेख गरेका थियौं । जिल्ला अदालतबाट फैसला हुँदा ती कुराहरूलाई सविता मानन्धरले विपक्षी करूणा मानन्धरलाई गरी दिएको मिति २०६६।२।३१ को हालैको बकसपत्र लिखत दर्ता बदर गरी दर्ता कायम गरी पाऊँ भन्नेसमेतको वादी बिना मानन्धरको पुनरावेदन अदालत, पाटनमा दायर भएको पुनरावेदनपत्र ।
यसमा यसै सगोलमै रहेको अवस्थामा खरीद गरेको जग्गा बकसपत्र दिएको देखिएको सन्दर्भ तथा यसै लगाउको अंश मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दासमेत अन्तर्प्रभावी देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्नेसमेतको पुनरावेदन अदालत, पाटनबाट भएको आदेश ।
प्रतिवादी सविता मानन्धरले आफ्नो निजी ज्ञान, सीपबाट शिक्षण पेशामा बहाल रही आर्जन गरेको विवादको जग्गा अंशबण्डाको महलको १८ नं. ले बण्डा नलाग्ने प्रकृतिको देखिएको र त्यस्तो सम्पत्ति प्रतिवादीले आफूखुश गर्न पाउने सम्पत्ति देखिएको हुँदा यी प्रतिवादी सविता मानन्धरले प्रतिवादी करूणा मानन्धरलाई हालैको बकसपत्र गरी दिएको लिखत कानूनबमोजिमको देखिँदा वादी दावी पुग्न नसक्ने ठहर्याई शुरू काठमाडौं जिल्ला अदालतले मिति २०६६।९।३० मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्नेसमेतको पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।५।२९ मा भएको फैसला ।
अदालतले विवादको जग्गा मिति २०६२।३।१५ मा रू. ९३,८००।– मा राजीनामा लिएको भन्ने फैसलामा स्वीकार गरिएको र त्यो जग्गा निजी आर्जनबाट खरीद गरेको भन्ने अर्थ गरिएको छ । फिराद वा प्रतिउत्तरपत्रमा कहीँ पनि विपक्षीको आम्दानी ठूलो भएको भनी उल्लेख गरेको छैन । विपक्षीको आम्दानीबाट विवादको जग्गा किन्न सकिने अवस्था छैन । विपक्षी अंशियार भएको र विपक्षीले जग्गा राजीनामाबाट प्राप्त गरेको प्रमाणित भएको अवस्थामा विपक्षीको निजी आर्जन भनी अनुमान गर्न मिल्दैन । सगोलको अंशियारले आफ्नो नाममा रहेको सम्पत्तिमा आफ्नो अर्थात\ अन्य अंशियारबाहेकको आफ्नो निजी हक भनी दावी गर्नका लागि कानूनले निजी हकको मानिने अपुताली वा बकसपत्रको लिखत अथवा वादीलगायत अन्य अंशियारसमेत साक्षी बसेको जग्गा खरीदसम्बन्धी कानूनबमोजिम लिखतसमेत पेश गरी सो कुरा स्थापित गराउन सक्नुपर्ने कुरा ने.का.प. २०६५, नि.नं. ७९५९, अंक ४, पृष्ठ ५२७ मा प्रतिपादित सिद्धान्तमा भनिएको छ । पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६(क) को प्रत्यक्ष त्रुटि भएको छ । विपक्षीले राजीनामा लिएको भए पनि निजी आर्जनको बण्डा नलाग्ने भनिएको जिल्ला अदालतको फैसला सदर गर्ने पुनरावेदन अदालत, पाटनको फैसला प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम त्रुटिपूर्ण छ । प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा रातो बङ्गला स्कुलमा कार्यरत् रहेको भनी सिफारिश पत्र पेश गरे पनि सो पत्र यो प्रतिउत्तरपत्रमा प्रमाणको रूपमा स्वीकार गर्न भनिएको छ । कुनै विद्यालयमा शिक्षक पदमा काम गरेको भन्ने आधार मासिकरूपमा कति तलब भत्ता वा सुविधा पाउने भनी उल्लेख गरेको नियुक्तिपत्र हुनुपर्ने हो । त्यस्तो वार्षिक रू. २,५८,९००।– पाउने भनिएको सिफारिश पत्रअनुसार निजले प्राप्त गर्ने प्रतिमहिना रू. २१,५७५।– पत्याउन नसकिने छ । सो सिफारिश पत्र कानूनको दृष्टिमा अमान्य छ । सो पत्र प्रमाणको रूपमा लिने हो भने पनि अदालतले अ.बं. ७८ नं. बमोजिम हामीलाई सुनाउनुपर्नेमा सो नगरी विद्यालयको नियुक्तिबिनाको सिफारिशपत्रलाई आधार मानी वादी दावी पुग्न नसक्ने ठहर्याई भएको फैसला त्रुटिपूर्ण छ । विपक्षी सविताले आफ्नोतर्फबाट तायदाती मिति २०६६।२।२७ मा पेश गरेको र मुद्दा चल्दाचल्दैको अवस्थामा हाम्रोसमेत हक लाग्ने विपक्षीको नाउँमा रहेको ललितपुर जिल्ला, ठेचो गा.वि.स. वडा नं. ९(ख) कि.नं. ७८६ को ०–६–०–० जग्गा २०६५।११।१९ मा तायदातीको आदेश भएपछि २०६६।२।१४ मा विपक्षी करूणा मानन्धरलाई हालैको बकसपत्र पारीत गरी दिई २०६६।२।२७ मा मात्र तायदाती पेश भएको र मुद्दा चल्दाचल्दैको अवस्थामा भएको बकसपत्रको लिखत बदर हुनुपर्नेमा सो नगरी वादी दावी पुग्न नसक्ने ठहर्याई भएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६(क) अ.बं. ७८ तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त र नजीरको पालना नभएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क)(ख) बमोजिम निस्सा पाऊँ भन्नेसमेतको वादीको यस अदालतसमक्ष परेको निवेदनपत्र ।
यसै लगाउको RI-१२५२ को मुद्दामा आज यसै इजलासबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तर्प्रभावी हुँदा प्रस्तुत मुद्दामासमेत न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । विपक्षीहरूलाई झिकाई नियमानुसार पेश गर्नु भन्नेसमेतको यस अदालतबाट मिति २०६९।३।१७ मा भएको आदेश ।
नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ईश्वर पौडेलले प्रत्यर्थी प्रतिवादीले मुद्दा चल्दाचल्दैको अवस्थामा निजको नाउँमा कायम भए पनि संगोलमा बण्डा लाग्ने सम्पत्तिलाई बिक्री गर्न पाउने होइन । वादीले विधिवत्रूपमा अंश प्राप्त नगरेसम्म सो जग्गा बण्डा लाग्ने भएको र त्यस्तो बण्डा लाग्ने सम्पत्तिले निजले हक हस्तान्तरण गर्न नमिल्नेमा सो जग्गा विपक्षी करूणा मानन्धरलाई बकसपत्र गरिदिन मिल्ने अवस्था नरहँदानरहँदै सो बकसपत्र लिनुदिनु गरेको कार्य कानूनविपरीत भएकोमा वादी दावी पुग्न नसक्ने ठहर्याई भएको शुरू काठमाडौं जिल्ला अदालतको फैसला र सो फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसलासमेत त्रुटिपूर्ण हुँदा बदर गरी दावीबमोजिम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री मोतीबहादुर थापा, कपिल पौडेलले प्रत्यर्थी पक्षको नाउँमा कायम रहेको जग्गा निजको निजी आर्जनबाट खरीद भएको देखिएको र निजी आर्जनबाट आर्जित सम्पत्तिमा मञ्जूरी आवश्यक नभएबाट सो बकसपत्र लिनुदिनु गर्ने गरी भएको कार्य कानूनसम्मत छ । प्रमाणको मूल्याङ्कन गरी भएको फैसला कानूनसम्मत हुँदा सदर कायम हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
२. पक्ष/विपक्षीका तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीको बहससमेत सुनी मिसिल अध्ययन गर्दा फिरादीले मूलतः फिरादी र विपक्षीबीच मुद्दा चल्दाचल्दैको अवस्थामा ललितपुर जिल्ला, ठेचो गा.वि.स. वडानं. ९(ख) कि.नं. ७८६ को ०–६–०–० जग्गा हाम्रो मञ्जूरी नलिई दिने सविता मानन्धर लिने करूणा मानन्धर भै र.नं. ७५२८(घ) मिति २०६६।२।३१ मा हालैको बकसपत्र लिखत पारीत गरेको र सो लिखतबाट वादीको अंश हक हनन् हुने भएबाट उक्त लिखत बदर गरी वादीको नाउँमा दर्ता गरिपाऊँ भन्ने मूल दावी लिई प्रस्तुत मुद्दा दायर भएकोमा काठमाडौं जिल्ला अदालतबाट वादी दावी पुग्न नसक्ने ठहरी फैसला भएको र सो फैसलालाई पुनरावेदन अदालत, पाटनले सदर गरेकोमा वादीले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा पाउन यस अदालतसमक्ष प्रस्तुत मुद्दा दायर गरेकोमा यस अदालत संयुक्त इजलासबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भै विपक्षी हाजीरसमेत भै प्रस्तुत मुद्दा पुनरावेदनको रोहबाट निर्णयार्थ यस इजलाससमक्ष पेश भएको देखियो ।
३. अब शुरू काठमाडौं जिल्ला अदालतबाट वादी दावी पुग्न नसक्ने ठहर्याई भएको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने देखियो । इन्साफतर्फ विचार गर्दा यी पुनरावेदक वादीले आफ्नो फिराद तथा पुनरावेदन जिकीरमासमेत दावीको कि.नं. ७८६ को जग्गा अंश मुद्दा चल्दाचल्दैको अवस्थामा दिने सविता मानन्धर लिने करूणा मानन्धर भै र.नं. ७५२८ बाट लिनुदिनु गरेको सो कार्यले आफूहरूको अंशहकमा असर परेकोले प्रतिवादीहरूका बीचमा भएको सो बकसपत्रको लिखत बदर हुनुपर्ने भन्ने मुख्य जिकीर लिएको देखिन्छ । वादीको व्यहोराबाट सो जग्गा प्रतिवादीकै नाउँमा कायम भएको जग्गा भएको भनी स्वीकार गरेको देखिन्छ । विवादित कि.नं. ७८६ को जग्गाको लिखतको प्रतिलिपि हेर्दासमेत उक्त जग्गा प्रत्यर्थी सविता मानन्धरको नाममा रहेको देखिन्छ । विवादित जग्गा खरीदगर्दाका बखत यी प्रत्यर्थी प्रतिवादी सविता मानन्धर रातो बङ्गला स्कुलमा कार्यरत् रहेको र सोअघि पनि निजले अध्ययन गरी सकेको भन्ने मिसिल संलग्न प्रमाणबाट समर्थित भएको देखिन्छ । विवादित बकसपत्रको सम्बन्धमा प्रतिवादीकै जग्गा भएको भन्ने कुरा वादीले स्वीकार गरेको देखिन्छ । प्रतिवादीका नाउँमा कायम रहेको भएपनि उक्त जग्गा सगोलमा रहे भएका कारण बण्डासमेत लाग्ने भएबाट सो जग्गाको बकसपत्र लिनुदिनु पर्ने होइन भन्नेसमेतको जिकीर यी पुनरावेदकले यस अदालतसमक्ष लिए पनि त्यस्तो जग्गा निज सविता मानन्धरको निजी सीपबाट आर्जन भएको देखिँदा त्यस्तो जग्गा निजले आफूखुश गर्न पाउने नै देखियो ।
४. वादी सविता मानन्धरले सन् १९९३ देखि २००० सम्म I.J. Pioneer School मा अध्यापनसम्बन्धी काम गरेको भनी उक्त विद्यालयको प्रमाणित पत्र र सन् २००९ र २०१० तथा त्यसपछि हालसम्मको आय विवरण खुलेको रातो बङ्गला स्कुलको प्रमाणपत्रबाट यी पुनरावेदक वादी कामकाजी आय आर्जन गर्ने महिला भएको देखिन्छ र निजको आय प्रमाणित भएकोसमेत देखिन्छ । विवादित जग्गाको खरीद मूल्य ९३,०००।– भै सो जग्गा खरीदका सम्बन्धमा वादीले जिकीर लिएको आयले उक्त खर्चसमेत धान्न नसक्ने देखिन्छ ।
५. जग्गा खरीद गरी बुहारीको नाममा राखिदिएको भन्ने वादीको कथन पनि देखिँदैन । सो गर्नसक्ने सामर्थ्य पनि यी वादीहरूको रहे भएको देखिँदैन । उक्त जग्गा खरीदगर्दाका बखत आफ्नो छोरा तथा प्रतिवादीका मृतक पतिको आय संलग्न भएको भन्ने पनि कहीँ कतैबाट देखिँदैन । सगोलको अवस्थामा बसेको बखत न्यून आयको अवस्था रहेको भनी वादीले स्वीकार गरेको र त्यस्तो सगोलको आयले खरीद गरेको भए सासू ससुरा छोराहरूको नाममा दावीको जग्गा कायम राख्नु पर्नेमा उक्त जग्गासमेत बुहारीका नाममा नै राख्नुपर्ने देखिँदैन । त्यस्तो दावीको जग्गा प्रत्यर्थी प्रतिवादीका नाममा राख्नु पर्नाको युक्तियुक्त कारण पनि खुलाएको पाइँदैन । पितृसत्तात्मक सामाजिक मनोविज्ञान अद्यापि विद्यमान रहेको अवस्थामा त्यसरी सगोलको आयले खरीद गरी बुहारीको नाममा राखेको होला भनी विश्वास गर्न सकिने अवस्था पनि छैन । कामकाजी आय आर्जन गर्ने महिलाको रूपमा प्रतिवादी सविता मानन्धरले शिक्षण पेशामा संलग्न रहेको र सो कुरालाई वादीहरूले अन्यथा भन्न सकेको देखिंदैन । आफ्नो निजी आर्जन र सीपबाट आर्जित सम्पत्ति नभएको भए वादीहरूले तत्कालीन अवस्थामा प्रतिवादी सविता मानन्धरका नाममा नै उक्त जग्गा राजीनामा गरी कायम राखी राख्न पर्ने अवस्था देखिंदैन । अंश मुद्दाको प्रतिउत्तर व्यहोरामा प्रतिवादी हामीभन्दा स्रोतदार र आम्दानीवाला हुन् भनी स्वीकार गरी निजको आर्जन र सीपलाई अन्यथा भन्न सकेको देखिँदैन । यस्तो अवस्थामा निजको निजी आर्जन र सीपबाट आर्जित सम्पत्तिमा निजले आफूखुश गर्न सक्ने व्यवस्था मुलुकी ऐन, अंशबण्डाको १८ नं. ले गरेको कानूनको सारभूत पक्षलाई अन्यथा भन्न सक्ने देखिएन ।
६. अतः विवेचित आधार कारणसमेतबाट आफ्नो निजी आर्जनको सम्पत्ति प्रत्यर्थी प्रतिवादीले आफूखुश गर्न पाउने र त्यस्तो सम्पत्तिमा बण्डासमेत लाग्ने नदेखिएकाले र.नं. ७५२८(घ) मिति २०६६।२।३१ मा भएको बकसपत्र लिनेदिने गरी भएको कार्यलाई अन्यथा भन्न सकिने स्थिति भएन । अतः दावी पुग्न नसक्ने ठहर्याई भएको शुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६८।५।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. वैद्यनाथ उपाध्याय
इति संवत् २०७० साल साउन ३० गते रोज ४ शुभम् ...
इजलास अधिकृत :– विष्णुप्रसाद गौतम