निर्णय नं. ३१९० - लागू औषधि

निर्णय नं. ३१९० ने.का.प. २०४४ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४१ सालको फौ.पु.नं. ५९०
मुद्दा : लागू औषधि ।
पुनरावेदक/वादी : परिचर शेरबहादुर गुरुङको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी:जि.उदयपुर गा.पं.बकनीया वार्ड नं.७ मा घर भै हाल काठमाडौं मिड्यान होटलमा वेरा काम गरी बस्ने निर्मल के.सी. ।
भारत जि.राँची चर्चरोड महल्ला घर भई काठमाडौं अटक नारायण स्थान डेरा गरी बस्ने कृष्ण कुमार गुप्ता ।
फैसला भएको मिति: २०४४।३।२८।१ मा
भारत जाने क्रममा नेपाल सरहदको अन्तिम विन्दु भन्सार गेटसम्म पुगिसकेको अभियुक्तहरूबाट जाँच गर्दा लागू औषधि चरेश फेला परेकोलाई निकासी गरिसकेको भनी दावी लिन नसकेको र निकाशी गरेको प्रमाण पुर्याउन नसकेको भनी भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १६)
पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्की
विपक्षी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधान: म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. २०४०।५।१ गते अं. २:३० बजेको समयमा निकासा डिउटीमा रहँदा निर्मल के.सी. र कृष्ण कुमार गुप्ताले बोकी ल्याएको २ जनाको ब्रीफकेश शंका लागी खोली हेर्दा दुवै ब्रीफकेशमा अं. ३ कभर खोल राखी प्याक गरी एक ब्रीफकेशमा १।। का दरले दुबै ब्रीफकेशमा अं. ३ किलो चरेश चोरी निकासी गर्न लागेका बखत पक्राउ परेकाले कारवाहीका लागि दाखिल गरेको छु भन्ने समेत व्यहोराको परिचर शेरबहादुर गुरुङको प्रतिवेदन ।
३. निर्मल के.सी. र कृष्ण कुमार गुप्ताले बोकी ल्याएको ब्रीफकेश खोली चेक गर्दा चरेश फेला परेको ठिक हो भन्ने समेत व्यहोराको दीपकराज शर्मा समेतले गरिदिएको मौका मुचुल्का ।
४. मिति २०४०।५।१ गतेका दिन अन्दाजी साढे २ बजेको समयमा म र कृष्ण कुमार बरामद भएको चरेश बिक्री गर्न भनी भारत बनारस तर्फ गइरहेको बखत वीरगंज भन्सार गेटमा पुग्दा त्यहाँका कर्मचारीले रोकी चेक गर्दा यो दाखिल भएको चरेश मेरो र कृष्ण कुमारको ब्रीफकेशबाट बरामद भएकाले पक्राउ गरी दाखिल गरेको हो भन्ने समेत व्यहोराको प्र.निर्मल के.सी.को बयान ।
५. म र मेरो साथमा पक्राउ भइआएका निर्मल के.सी. दुबै जना ०४०।५।१ गतेका दिन अं. २:३० बजेको समयमा भारत बनारसतर्फ गइरहेको बखत वीरगंज भन्सारमा जाँच गर्दा यो दाखिल भएको बरामद भएको ठिक हो भनी प्र.कृष्ण कुमार गुप्ताको बयान ।
६. दाखिल भएको चरेश ब्रीफकेशबाट बरामद भएको ठिकै हो भन्ने सरजमीन मुचुल्का।
७. प्र.कृष्ण कुमार गुप्ता र प्र.निर्मल के.सी. समेत २ जनाले लागू औषधि (नियन्त्रण) ऐन, ०३३ को परिच्छेद २ को दफा ४ को (ङ) बमोजिमको कसूर गरेकाले निजहरू उपर ऐ. ऐनको परिच्छेद ३ को दफा १४ को देहाय (१) बमोजिम सजायँ भई बरामद भई दाखिल हुन आएको ३ किलो चरेश ऐ.ऐनको दफा १८ बमोजिम जफत गरी पाउन र प्र.निर्मल के.सी. समेतको पोलमा परेका चरेश बिक्री गर्ने राम बहादुर कार्कीको पूरा नाम, थर, वतन नखुलेकाले खुल्न आएका बखत निजहरू उपर मुद्दा चलाउने हाल निज उपर मुद्दा नचलाउने भन्ने समेत अनुरोध गरिएको प्रहरी प्रतिवेदन ।
८. राम बहादुर भन्ने मानिसलाई मैले चिनेको पनि छैन । निजसंग मैले चरेश किनेको पनि छैन । बरामद भएको चरेश र ब्रीफकेश मेरो होइन कसको हो मलाई थाहा छैन चरेश बिक्री गर्न भारत जान लागेको पनि होइन भन्ने समेत व्यहोराको प्र.निर्मल के.सी.को अदालतमा भएको बयान ।
९. राम बहादुर भन्ने मानिसलाई मैले चिनेको पनि छैन, निजसंग मैले चरेश खरीद गरेको पनि छैन यो देखाएको चरेश मैले निकासी गर्न ल्याएको होइन भन्ने समेत व्यहोराको प्र.कृष्ण कुमार गुप्ताको अदालतमा भएको बयान ।
१०. प्रतिवादीहरू निर्मल के.सी. र कृष्ण कुमार गुप्ताले लागू औषधि (नियन्त्रण) ऐन, ०३३ को दफा ४ को खण्ड (च) को कसूर अपराध गरेको ठहर्छ भन्ने व्यहोराको मिति २०४०।८।१८ को पर्सा जि.अ.को फैसला ।
११. उपरोक्त फैसला उपर चित्त नबुझी यस अदालतमा वादी श्री ५ को सरकारको तर्फबाट मिति २०४०।१२।१० मा म.क्षे.अ.मा पर्न आएको पुनरावेदनपत्र ।
१२. प्रतिवादीहरू चरेश लिई भारततर्फ जान लाग्दा वीरगञ्ज भन्सार गेटनिर पक्राउ पर्न आएको भन्ने वादी दावी छ ।
१३. निकासी गरिसकेको भन्ने वादी दावी प्रमाणित गर्न सकेको देखिँदैन । मिसिल प्रमाणबाट लागू औषधि (नियन्त्रण) ऐन, २०३३ को दफा ४(ख) मा वर्णित ओसार पसार गर्न निषेध गरिएको अवस्था नै मिल्ने देखिन्छ । तसर्थ लागू औषधि (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) मा वर्णित कसूर गरेको ठहर्याएको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला रहेछ ।
१४. म.क्षे.अ.को फैसलामा लागू औषधि (नियन्त्रण) ऐन, २०३३ को दफा १७, १४ र ४ समेतको त्रुटि विद्यमान हुँदा पुनरावेदनको अनुमति पाउँ भनी श्री ५ को सरकारको यस अदालतमा निवेदन पर्न आएको रहेछ ।
१५. यी प्रतिवादीहरूले चरेश लिई भारततर्फ जान लाग्दा वीरगञ्ज भन्सार गेटनिर पक्राउ परेको देखिएबाट प्रतिवादीहरूको चरेश निकासी गर्ने मनसाय रहेको देखिन्छ । यस्तो अवस्था निकासी गर्ने उद्योग गरेको कायम नगरी ओसार पसार गरेको मात्र ठहर्याएको म.क्षे.अ.को फैसलामा लागू औषधि (नियन्त्रण) ऐन, २०३३ को दफा १७ को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४१।१०।३।४ को आदेश रहेछ ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्कीले गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो । यसमा म.क्षे.अ. बाट भन्सार गेटनिर पक्राउ परेको भन्ने भएको निकासी गरिसकेको भन्ने प्रमाणित गरिसकेको नदेखिएको भन्ने आधारमा शुरु जि.अ.ले वादी दावी बमोजिम निकासी गरेको नठहर्याई लागू औषधि नियन्त्रण ऐन, २०३३ को दफा ४(च) को अपराध गरेको ठहर्याएकोलाई सदर गरेको देखिन आउँछ । तर मुद्दाको तथ्यबाट देखिए बमोजिम भारत जाने क्रममा टाँगामा बसी गएका बखत भन्सारको गेटमा पुगिसकेको अवस्थामा शंका लागी चेक गर्दा चरेश (लागू औषधि) बरामद भएको देखिनाले यसरी भारत जाने क्रममा नेपाल सरहदको अन्तिम विन्दु भन्सार गेटसम्म पुगिसकेको अभियुक्तहरूबाट जाँच गर्दा लागू औषधि चरेश फेला परेकोलाई निकासी गरिसकेको भनी दावी लिन नसकेको र निकासी गरेको प्रमाण पुर्याउन नसकेको भनी भन्न मिल्ने देखिएन । अतः वादी दावी बमोजिम अभियुक्तहरूले लागू औषधि (नियन्त्रण) ऐन, २०३३ को दफा ४(ङ) बमोजिम लागू औषधि भारत निकासी गरेको ठहर्छ । सो ठहर्याउनु पर्नेमा नठहर्याई सोही ऐनको दफा ४(च) बमोजिमको सम्म अपराध गरेको ठहर्याएको गल्ती ठहर्छ । सो अपराध गरे बापत निज प्रतिवादीहरूलाई जनही वर्ष ३ कैद र रु. २५,०००।– जरिवाना हुन्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को फैसला केही उल्टी भएको हुँदा शुरु पर्सा जिल्ला अदालतले कायम गरेको लगत कायम राख्नु परेन । प्रतिवादीहरू प्रत्येक कैदवर्ष ३ र ज.रु. २५,०००।– हुने ठहरेकोमा निज प्रतिवादीहरू बेरुजु हुँदा प्र.निर्मल के.सी. र प्र. कृष्ण कुमार गुप्ताबाट जनही कैदवर्ष ३ र जरिवाना रु. २५,०००।– लगत कसी असूल उपर गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ।
माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ केही उल्टी हुँदा मा.न्या.श्री केशवप्रसाद मुडभरी तथा मा.न्या.श्री उदय राज उपाध्यायको उल्टीमा रेकर्ड राख्नु सं.अ. प्रशासन शाखामा लगत दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्र केशरी बास्तोला
इतिसम्वत् २०४४ साल आषाढ २८ गते रोज १ शुभम् ।