शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७६३ - ज्यू मास्ने बेच्ने

भाग: २८ साल: २०४३ महिना: असोज अंक:

निर्णय नं. २७६३    ने.का.प. २०४३     अङ्क - ६

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

२०४१ सालको फौ.पु.न. ६१४

फैसला भएको मिति : २०४३।६।१७।६ मा

 

पुनरावेदक : प्रहरी चौकी बेलहियाको जाहेरीले वादी श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : का.न.पं.वार्ड नं. ३२ डिल्ली बजार बस्ने शुशिला शाहसमेत

 

मुद्दा : ज्यू मास्ने बेच्ने

 

(१)         अपराधमा मुछिएका सबै सहअभियुक्तहरूले किटानीपूर्वक पोल उजूर गरेको र उक्त अपराधका पीडितहरूले समेत सिलसिलाबद्ध रुपमा सहअभियुक्तको बयानलाई पुष्टि हुने गरी बकी लेखिदिएबाट अभियोगमा संलग्नता थिएन भन्न मिलेन ।

(प्रकरण नं. २१)

(२)        कसूरमा सावित भई पुनरावेदन समेत नगरी बस्ने यी प्रतिवादीहरूले यकीन गरी पोल्नु पर्ने कुनै कारण मिसिलबाट केही देखिँदैन अतः बिक्री गर्ने उद्देश्य लिई केटी भगाएको बौद्ध पुर्‍याई दिएको केटीहरू जान नमान्दा फकाई फुल्याई बसमा चढाई पठाउने काम समेत गरिएको तथ्यबाट केटी बेच्ने अपराधमा मूल अपराधीलाई सहयोग गर्ने मुख्य मद्दत गरेको रुपमा निज रहेको देखियो ।

(प्रकरण नं. २१)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत

 

उल्लिखित मुद्दा : ने.का.प.०४२ नि.नं. २२६६ पृष्ठ १४४, देवीबहादुरको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध बहादुर सिंह भन्ने दिलिपसिंह ठाकुर मुद्दा कर्तव्य ज्यान, ने.का.प. २०४२ नि.नं. २५२१ पृष्ठ ९४१

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ ।

२. भैरहवा तर्फबाट २ जना केटा र २ वटी केटी भारततर्फ जान लागेको देखिई शंका लागि निजहरूलाई पक्राउ गरी सोधपूछ गर्दा सुनवीर तामाङ्ग १, मानबहादुर तामाङ्ग १ कमल पौड्याल क्षेत्री १, अम्बिका अधिकारी १ नाम थर बताएका हामीले यी २ जना केटीलाई फकाई भारतमा बिक्री गर्नको लागि लिई आएको भनेकोले निजहरू ४ जनालाई यसै साथ दालिख गरेको छु भन्ने प्रहरी चौकी बेलहियाको प्रहरी प्रतिवेदन का.जि. इन्द्रचोक डेरा गरी बस्ने लक्ष्मी भन्ने आइमाई ०३८।५।३ का दिन घरमा आई जापानबाट मिमसाहेव आएकी छिन् काम गर्ने केटी खोजी ल्याई दिनु भनेकीले ल्याएको हुँ । तिम्रो छोरी पठाई देउ मैन्हाको २००।डलर पाउँछौ भनेकोले मेरा बाबु आमाले साथमा गाउँकै अम्बिका साथ काठमाडौं बानेश्वरमा जाँदा मिनसाहेव गइछन् तिनको नोकरी गर्ने बौद्धमा छन् भनी बौद्धमा लगी पक्राउ परेको सुनविर तामाङ्ग, मानबहादुर तामाङ्ग बौद्धमा थिए । निजहरू मिनसाहेवका मानिसहरू होलान भन्ने ठान्यौं । भारतबाट बाटो छ उतैबाट जानु पर्दछ भनी ललाई फकाई ०३८।७।५ गते साँझ निजहरूकै साथ निजहरूकै पैसाबाट बसमा बेलहिया आयौं । राती बासमा बसी विहान ६ बजे भारत जान लाग्दा प्रहरीले पक्राउ गरी सोधपूछ गर्दा निजहरूले ज्यू मास्ने बेच्ने अपराध गरेकोले कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको वर्ष १६ की कमला चौलागाईले जि.प्र.का.रुपन्देहीमा गरेको बयान ।

३. हामीलाई फकाई ल्याउँदा बेलहियामा पक्राउ परेपछि निजहरूले हामीलाई बिक्री गर्न लगेका रहेछन  भन्ने थाहा भयो अतः निज अभियुक्तहरूलाई कानुनी कारवाही होस् भन्ने समेत अम्बिका क्षेत्रीले जि.प्र.का.रुपन्देहीमा गरेको बयान ।

४. हामी दुवैजना भारत पञ्जाव होटलमा काम गर्ने छुट्टीमा आएको र बौद्धमा डेरा गरी बसेको अवस्थामा एकजना नाम थर नजानेको व्यक्तिले यी केटीहरूलाई बिक्री गर्नु पर्‍यो भनी प्रलोभन देखाउँदा निजहरू मानेकोले काठमाडौंबाट बस चढी आएको सीमापार गर्न लाग्दाको अवस्थामा प्रहरीले पक्राउ गरेको हो भनी सावित भई एकै मिलानको प्र.सुनविर तमाङ्गले र मानबहादुर तमाङ्गले प्रहरीमा गरेको बयान ।

५. अम्बिकालाई नोकरी लगाई दिन्छु भनी फकाई विहान आठ बजेको समयमा ट्रली बस स्टप पुग्दा कमला पनि आएकी रहिछन् काठमाडौं जाउँ भन्दा हामीले राम्रा लुगा लगाएको छैन भन्दा ठिमीको बाटो हुँदै जौं भनी हामी ठिमी भिमसेन स्थाननिर बस्यौं । १२ बजे उनीहरू आई काठमाडौं डिल्लीबजार निर नोकरी गर्ने मैले दिदी भन्नु पर्नेले मलाई २४ महीना अगाडि २०, २५ वर्षकी केटीहरू भेटे ल्याइदिनु भनेकीले निजको अफिसमा पुर्‍याई म आफ्नो डेरातर्फ गएँ । निजको नाम केही थाहा छैन, डल्ली डल्ली भन्छन् भन्ने समेत लक्ष्मी भन्ने गौरी पौड्यालले प्रहरीमा गरेको बयान ।

 

६. अम्बिका र कमला हराएको भन्ने सुनेको र मानबहादुर सुनवीरले विदेशमा बिक्री गर्न लगेको भन्ने सुनेको शुसिला शाहको घर र निजलाई समेत चिनेको छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

७. लक्ष्मी भन्ने गौरी क्षेत्री, डल्ली भन्ने शुसिला शाहाले कमला र अम्बिकालाई ललाई फकाई नोकरीमा लगाई दिन्छु भनी मानबहादुर र सुनविर तामाङ्गलाई जिम्मा लगाई दिएको र मानबहादुर र सुनवीरले बेलहियाबाट भारततर्फ बिक्री गर्न लग्दा बेच्न नपाउँदै पक्राउ परेको भन्ने सिद्ध हुन आएको हुँदा मानबहादुर र सुनविरलाई मुलुकी ऐन, ज्यू मास्ने बेच्नेको १ नं.को कसूरमा र लक्ष्मी भन्ने गौरी र शुशिला शाहालाई सोही ऐनको दफा ४ को कसूरमा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।

८. अम्बिका र कमलालाई मैले काठमाडौंमा ल्याई चारखाल अड्डामा शुशिला शाहालाई जिम्मा लगाई डेरा फर्किएकी हुँ । मैले निजहरूलाई बिक्री गर्ने उद्देश्य लिएको र पैसा खाएको समेत छैन भन्ने समेत व्यहोराको प्र.लक्ष्मी भन्ने गौरी पौड्यालले अदालतमा गरेको इन्कारी बयान ।

९. शुशिला शाहले ०३८।५।३ गते विहान १० बजे अम्बिका र कमलालाई ल्याई यिनीहरूलाई जागिर लगाइदिनु भनेकी र हामीले सक्दैन भन्दा बेलुका ४ बजे पनि आई तपाईहरू जाने ठाउँमा लगिदिनु भनेकोले जागिर पाए जागिरमा लगाई दिने, नपाए दाज्यू लालबहादुरको खेतमा काम गरी खान्छन भन्ने विचार सल्लाह भएकोले उनीहरूलाई समेत लिई भारततर्फ जान लाग्दा पक्रिएको हो । बेच्ने मनसायले लगेको होइन भन्ने समेत व्यहोराको मानबहादुर तामाङ्ग र सुनविर तामाङ्गले अदालतमा गरेको एकै मिलानको बेग्ला बेग्लै इन्कार बयान ।

१०. कमला र अम्बिकलाई भारतमा बिक्री गर्न सुनविर र मानबहादुर रहे बसेको ठाउँमा पुर्‍याई दिएको होइन । म निर्दोष छु भन्ने समेत व्यहोराको शुशिला शाहाले अदालतमा गरेको बयान ।

११. म र अम्बिकालाई शुशिला शाहाले मानबहादुर र सुनविरको जिम्मा लगाइन् । हामी लोग्ने मानिससँग जाँदैनौ भन्दा ललाई फकाई धरहरा ल्याई राती त्यहीं लजमा नै बसी भोलिपल्ट विहान ०३८।५।४ को भैरहवा एक्सप्रेसमा चढाई गइन र भारततर्फ जान लाग्दा प्रहरीले पक्राउ गरेको हो । हामीलाई लक्ष्मी भन्ने गौरी पौड्यालले घरबाट लगी डल्ली भन्ने शुशिला शाहालाई बुझाई डल्ली भन्ने शुशिला शाहाले बौद्धमा लगेको हो भन्ने समेत व्यहोराको कमला पौड्यालले अदालतमा गरेको बयान ।

१२. लक्ष्मी भन्ने गौरी पौड्यालले हामीलाई मिमसाहेवकोमा नोकरी लगाई दिने भनी चारखाल अड्डामा लगी शुशिला शाहालाई देखाई हामीलाई जिम्मा लगाई दिइन । शुशिला शाहाले बौद्धमा मानबहादुर सुनवीरकोमा मानबहादुरकोमा पुर्‍याई दिइन र ०३८।५।४ को दिन भैरहवा एक्सप्रेसमा चढी म कमला सुनवीर र मानविर भैरहवा आयौं भारत जान लाग्दा प्रहरीले पक्राउ गरेको हो भन्ने समेत व्यहोराको अम्बिका अधिकारीले अदालतमा गरेको बयान ।

१३. मानबहादुर र सुनवीरले प्रहरीमा साविती बयान गरेका छन् । कमला र अम्बिका बयान गर्दा लक्ष्मी भन्ने गौरीले शुशिला शाहा जिम्मा लगाएको र उनीले प्र.मानबहादुर र सुनविर जिम्मा लगाई भैरहवाको बसमा समेत चढाई पठाएको भन्ने समेतको किटानी बयान गरेकोले शुशिला शाहाको संलग्नता देखिन्छ । फेरि अर्कोतर्फ मानबहादुर तथा सुनविरले पनि एकै मिलानको बयानमा शुशिला शाहाले नै अम्बिका र कमला ल्याई दिएको भनेको समेतबाट अझ प्रष्ट हुन्छ । केटीहरूलाई नोकरी मात्र लगाउने उद्देश्य भएको भए नेपाल अधिराज्य भन्दा बाहिर पठाउनु र लैजानु पर्ने समेत थिएन । अतः शुशिला विदेश जानेहरूसँग सम्पर्क राखी बिक्री गर्ने मनसाय रहेको देखिन्छ । आफू बाँच्नको लागि नोकरी गर्न लैजाने भन्ने जस्ता शब्द प्रयोग गर्दै ललाई फकाई बिक्री गरी धन आर्जन गर्ने उद्देश्यले शुशिला शाहाले मानबहादुर र सुनविर जिम्मा लगाएको र मानबहादुर र सुनवीरले बेच्नको लागि सँगै लग्दा लग्दै पक्राउ परेको हुँदा मानविर सुनविरलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार कैद वर्ष १० र शुशिला शाहाले केटीहरूलाई बिक्री गर्ने उद्देश्यले बौद्धमा तथा पार्कमा पुर्‍याई लानलाई मुख्य मद्दत दिएको देखिँदा निजलाई जिउ मास्ने बेच्नेको ४ नं. ले कैद वर्ष ५ हुने र लक्ष्मी भन्ने गौरीलाई शुशिलाले नोकरी गर्न कोही खोजी दिनु भन्ने मात्र आधारमा खोजी दिएको देखिन आउँछ तर मानबहादुर र सुनविरसँग निजको कुनै सम्पर्क गरेको नदेखिएकोले निजले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको फैसला ।

१४. शुरु भक्तपुर जिल्ला अदालतले मलाई कैद वर्ष ५ गर्ने गरी गरेको इन्साफमा चित्त बुझेन । उक्त निर्णय बदर गरी सजायँबाट मुक्त गरिपाउँ भन्ने समेत व्यहोराको शुशिला शाहाको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१५. शुरु भक्तपुर जि.अ.ले प्र.लक्ष्मी भन्ने गौरी पौड्याललाई सफाई दिने गरेको इन्साफ सम्ममा चित्त बुझेन निजलाई पनि प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फको म.क्षे.अ.मा पर्न गएको पुनरावेदनपत्र ।

१६. घट्टेकुलामा डेरा गरी बस्ने शुशिला शाहाले बौद्ध डेरा गरी बस्ने प्र.मानबहादुर र सुनविरलाई यो यस परिबन्दबाट चिन्हेको र निजहरू सँग कमला र अम्बिकालाई बिक्री गर्ने राय सल्लाहा भएको भन्ने प्रमाण कतैबाट देखिँदैन । कमला र अम्बिका नोकरीको खोजीमा भएको देखिन्छ । निजहरूले प्रहरीमा बयान गर्दा शुशिलाको नाउँ उल्लेख गर्न नसकी पछि अदालतमा बयान गर्दा प्रहरी प्रतिवेदन अनुसार नाम खुल्न आएको भनी शुशिला र गौरीको नाउँ बताएको देखिन्छ । बौद्धमा एक जना मानिसले पुर्‍याई दिएको भनी कमला र अम्बिकाले भनेका र सो मानिस गौरी र शुशिला नै हो भनी किटानी गरेको पाइएन । सुनविर र मानविरले आफैं आफैंमा विदेश लाने सल्लाह गरेको र अरुको संलग्नता नरहेको भनी प्रहरीमा बयान गरेको देखिन्छ । प्रतिवादीहरूका बीच केटीहरू विदेशमा बिक्री गरी फाइदा उठाउने योजना मिसिलबाट समर्थित हुन आएको देखिँदैन । प्रतिवादीहरूको परस्परको पोल स्वतन्त्र प्रमाणबाट समर्थित भएको छैन । अतः गौरी र शुशिलाको विरुद्धमा कसूर प्रमाणित गर्ने शंकारहित रुपमा प्रमाणित हुन  नआएको हुँदा शुशिला शाहालाई कसूर कायम गरी सजायँ गरेको शुरुको फैसला मिलेको देखिएन । अतः सो हदसम्म शुरुको इन्साफ उल्टी हुन्छ प्रतिवादी मध्येको गौरीलाई सफाई दिने गरेको शुरु जि.अ.को मनासिब ठहर्छ । गौरीको हकमा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति ०३९।१२।११।७ को फैसला ।

१७. म.क्षे.अ.ले प्रतिवादी शुशिला शाहा र गौरी पौड्याललाई सफाई दिने गरी गरेको इन्साफमा चित्त बुझेन पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको निवेदन । यसमा प्रतिवादी मध्येका मानबहादुर र सुनवीर साविती भएको देखिन्छ । लक्ष्मी भन्ने गौरी पौड्यालले केटी ल्याई शुशिला शाहालाई बुझाई दिएको कुरामा अदालत समक्ष साविती भएको पाइन्छ । यस्तो स्थितिमा लक्ष्मी भन्ने गौरी पौड्याल र शुशिला शाहालाई सफाई दिने गरी गरेको म.क्षे.अ.को फैसलामा अ.बं. १८४, १८५ नं. समेतले त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजनबेञ्चको मिति ०४१।१।२७ को आदेश ।

१८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको शुरु मिसिल अध्ययन गरी पुनरावेदन वादी श्री ५ को सरकार तर्फबाट खटिई उपस्थित हुनुभएका सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले र विपक्षी प्रतिवादी शुशिला शाहाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विष्णु राउतले गर्नुभएको बहस समेत सुनियो ।

१९. यसमा सहअभियुक्तको पोलको बारेलाई लिई प्रमाण ऐन, ०३१ को दफा ८ र १८ इत्यादिको व्यवस्थातर्फ सदा झैं प्रश्‍न प्रस्तुत गरियो । यस विषयमा सर्वोच्च अदालत फुलबेञ्चको बेदकुमारीको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध विष्णुबहादुर गिरी समेतको खुन डाँका मुद्दामा वारदातमा आफू सावित भई पोल गर्ने सहअभियुक्तहरूको बयानमा विश्वास गर्नु नपर्ने कुनै कारण देखिँदैन भनी सहअभियुक्तको पोललाई मान्यता दिई प्रमाणमा लिने भनी ने.का.प. ०४२ नि.नं.२२६६ पृष्ठ १४४ मा सिद्धान्त प्रतिपादन गरिसकेको देखिन्छ । त्यस्तै गरी यस अदालतको डिभिजनबेञ्चले देवीबहादुरको जाहेरीले वादी श्री ५ को सरकार वि.देवीबहादुर सिंह भन्ने दिलिप सिंह ठाकुर भएको कर्तव्य ज्यान मुद्दामा पनि सहअभियुक्तको पोललाई मान्यता दिने गरी विस्तृत रुपमा विवेचना भइसकेको देखिन्छ । ने.का.प.२०४२ माघ नि.नं. २५२१ पृ.९४१) ।

२०. प्रमाण ऐन, २०३१ को बारेमा र सहअभियुक्तको पोल बारेमा विस्तृत विवेचना मैले फुलबेञ्च नि.नं. २०७७ बोधराज गुरुङ्गको जाहेरीले वादी श्री ५ को सरकार वि.गंगामाया श्रेष्ठ भएको आगो लगाई ज्यान मार्न उद्योग मुद्दामा गरिसकेको छु । (ने.का.प.२०४१ मंसिर पृष्ठ ६९४) प्रतिद्वन्द्वात्मक पद्धतिमा आधारित दि इण्डियन इभिडेन्स एक्ट १८७२ का विषयमा भारतका विधिशास्त्री तथा न्यायाविदहरूले भारतको निमित्त यो ऐन उपजन्य छैन भनी आफ्नो विचार प्रष्ट रुपले व्यक्त गरिसकेका छन् । यस्ता विचारहरूमा अग्रगण्य मानिने न्यायमूर्ति श्री भि.आर कृष्ण अ‍ैयरले भारतीय प्रमाण ऐनको बारेमा यस्तो विचार व्यक्त गर्नुभएको छ । "There is force in the charge that the Evidence Act is less concerned with truth than with proof."

            "I have earlier demanded drastic revision of the disastrous Evidence Act- a magnificient misapplication to India of What is now found flawsome even for the British". P. 61 Indian Justic (1984) by Justice V.R. Krishna Iyer.

२१. भारतीय प्रमाण ऐनमा प्रमाण सम्बन्धी विस्तृत व्यवस्था (जम्मा १६७ दफाहरूमा) गरिएको छ । तैपनि त्यस्तो प्रतिक्रिया छ । हाम्रो प्रमाण ऐनमा जम्मा ५६ दफाहरू मात्र छन् त्यसकारण भारतीय प्रमाण ऐनको भएजति व्यवस्था पनि यस्मा छैन । उदाहरणको लागि भारतीय प्रमाण ऐनको दफा ३० र १३३ ईत्यादि नै पर्याप्त छन् । सो ऐनले यस्ता बयानहरूलाई मान्यता दिने सिद्धान्तलाई मानी आफ्नै किसिमको व्यवस्था गरेको पाइन्छ त्यो पनि हाम्रो प्रमाण ऐन, २०३१ मा छैन । प्रतिद्वन्द्वात्मक पद्धति अनुसार भारतीय प्रमाण ऐन भारतको निम्ति उपयुक्त भएन भने त्यतिको पनि व्यवस्था नभएको प्रतिद्वन्द्वात्मक पद्धतिमै आधारित हाम्रो प्रमाण ऐन हाम्रो निम्ति कसरी उपयोगी होला ? सर्वोच्च अदालतले सहअभियुक्तहरूको बारेमा जो निर्णय गरी माथि उल्लिखित नजीरहरू बसाली सकेको छ त्यसै अनुरुप ऐनमा नै प्रष्ट व्यवस्था भइदिएको भए राम्रो हुने थियो । भारतीय प्रमाण ऐनको दफाको अनुवाद मात्र गर्ने भने छैन । वास्तविक न्याय पार्न सकिने हाम्रो पूर्वीय न्याय सिद्धान्त अनुसारको व्यवस्था हुनु पर्दछ । अब यस मुद्दाको तथ्यतर्फ प्रवेश गरी सर्वप्रथम डल्ली भन्ने शुशिला शाहको सम्बन्धमा हेर्दा, निज कसूरमा इन्कार रही बयान गरेको भए पनि शुशिला शाहाले १६ देखि २५ वर्ष सम्मका २ वटा केटी ल्याइदिनु साहेवकोमा नोकरी लगाई दिन्छु भनी शुशिलाले भनेकोले कमला र अम्बिकालाई खोजी शुशिलालाई जिम्मा दिएको हुँ भनी लक्ष्मी भन्ने गौरी पौड्यालले प्रहरी र अदालतमा समेत बयान गरेको (तायदाती फा.नं. २१) र सुनवीर र मानविरले प्रहरीमा बयान गर्दा दुवै केटीहरू शुशिला शाहाले हामी बसेको डेरा बौद्धमा ल्याइदिएको र निजहरूलाई बिक्री गर्ने उद्देश्यले लगेको भनिएकै मिलानसँग बयान गरेको र अदालतमा पनि यी गरीब केटीहरूलाई जागिर लगाइदिनु भन्दा सक्दैनौ भनी हामीले भन्दा नोकरी नपाए खेति गर्छन लग भनी भनेको भन्ने एकै मिलानसँग बयान गरेको । (तायदाती फा.नं. ३० र २४) साथै कमला र अम्बिकाले अदालतमा बयान गर्दा शुशिलाले हामीलाई सुनविर र मानविरको जिम्मा लगाएको र यसरी जिम्मा लगाउँदा हामी लोग्ने मानिसको साथमा जाँदैनौं भन्दा पुनः डिल्लीबजारमा ल्याई मेरो छोरीहरू पनि गएका छन् भनी हामीलाई फकाई पुनः बौद्धमा लगी सुनविर र मानविरको जिम्मा लगाई अन्त्यमा भैरहवाको बस भएको ठाउँसम्म पुर्‍याएको भनी (तायदाती फाराम नं. ४० र ४२) बयान गरेको देखिन्छ । यसरी लक्ष्मीसँग २ वटी केटी खोजी देउ भन्नु, लक्ष्मीले खोजी दिएका केटीहरूलाई विदेशमा बेच्न लैजाने मुख्य अभियुक्तहरु सुरविर र मानबहादुरकहाँ लैजाने, र केटीहरूले जान्न भन्दा मेरा छोरी समेत गएका छन् भनी उनीहरूलाई प्रलोभन देखाई फकाई पुनः उनीहरूको जिम्मा दिई बसमा चढाउने काम समेत गरेको कुरा क्रमबद्ध रुपमा पुष्टि भएको छ । यसरी अपराधमा मुछिएका सबै सहअभियुक्तहरूले किटानीपूर्वक पोल उजूर गरेको र उक्त अपराधका पीडित दुवै केटीहरूले समेत सिलसिलाबद्ध रुपमा सहअभियुक्तको बयानलाई पुष्टि हुने गरी बकी लेखी दिएबाट शुशिला शाहाको यस अभियोगमा संलग्नता थिएन भन्न मिलेन । लक्ष्मी भन्ने गौरी पौड्यालले मात्र पोलेको भए शंका गर्ने ठाउँ थियो तर प्र.मानबहादुर र सुनविर तमाङ्गले अदालतमा आई केटी लगिदेउ भनी करै लगाएको भनी भनेको देखिएबाट यिनीहरूले यसरी पोल गर्नुपर्ने अन्य कारण हुने नदेखिँदा यो पोललाई अस्वीकार गर्नुपर्ने कुनै कारण देखिँदैन र यो पोल बनावटी अथवा आफू बच्नका लागि मात्र गरेको हो भन्ने ठाउँ पनि देखिँदैन । कसूरमा सावित भई पुनरावेदन समेत नगरी बस्ने यी दुई प्रतिवादीहरूले यकीन गरी पोल्नु पर्ने कुनै कारण मिसिलबाट केही देखिँदैन । अतः बिक्री गर्ने उद्देश्य लिई केटी भगाएको, बौद्ध पुर्‍याई दिएको केटीहरू जान नमान्दा फकाई फुल्याई बसमा चढाई पठाउने काम समेत गरिएको तथ्यबाट केटी बेच्ने अपराधमा मूल अपराधी सुनविर र मानविरलाई सहयोग गर्ने मुख्य मद्दत गरेको रुपमा निज रहेको  देखियो ।

२२. अब लक्ष्मी भन्ने गौरी पौड्यालको हकमा हेर्दा, शुशिलाले २ केटी ल्याई दिनु म नोकरीमा लगाई दिन्छु भनेकोले ल्याई दिएको हुँ भनी भनेकी र सोही व्यहोरालाई पुष्टि गर्दै कमला र अम्बिकाले पनि बयानमा लेखाई दिएको देखिन्छ । त्यसरी ल्याए पछि सो बाहेक रुपैयाँ पैसा खाएको र बिक्री गर्न सहयोग गरेको होइन भनी निज इन्कार रहेको र निजलाई शुशिला, सुनविर र मानबहादुरले समेत कसुरमा पोल गरी मुछेको देखिँदैन । यसरी शुशिलाले नोकरी गर्ने केटी खोजी दिनु भन्ने मात्र आधारमा खोजी दिएकोसम्म देखिन आउँछ तर मानबहादुर र सुनवीरसँग निजको कुनै सम्पर्क भए गरेको कुरा मिसिल संलग्न कागज प्रमाणबाट देखिन आउँदैन ।

२३. माथि उल्लिखित सबूद प्रमाणको आधारमा डल्ली भन्ने शुशिला शाहले दुवै प्रतिवादी अर्थात् मानबहादुर र सुनविरसँग सम्पर्क राखेको र बिक्री गर्नको लागि मुख्य सहयोगीको भूमिका निर्वाह गरेको देखिँदा निजलाई सफाई दिने गरेको म.क्षे.अ.को इन्साफ मिलेन । शुरु भक्तपुर जि.अ.ले निजलाई सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । लक्ष्मी भन्ने गौरी पौड्यालको हकमा माथि भने बमोजिम प्र.मानबहादुर र प्र.सुनविरसँग निजको सम्पर्क भएको नदेखिएको उल्लिखित गरेका सबूद प्रमाणको आधारमा निजलाई सफाई दिने गरेको भक्तपुर जि.अदालतको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । अतः म.क्षे.अ.को इन्साफ केही उल्टी हुने ठहर्छ । तससीलको कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी डल्ली भन्ने शुशिला शाह के माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.ले सफाई दिने गरेको इन्साफ उल्टी भई शुरु जि.अ.ले कैद वर्ष ५ गर्ने गरेको इन्साफ सदर हुँदा कैद वर्ष ५ को लगत कसी असूल गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ।

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ केही उल्टी हुने हुँदा मा.न्या.श्री पृथ्वीबहादुर सिंह र मा.न्या.श्री केशवप्रसाद उपाध्यायको केही उल्टीमा रेकर्ड राख्‍न स.अ.प्रशासन शाखामा लगत दिनु ।

नियम बमोजिम गरी मिसिल बुझाइदिनू

 

उक्त रायमा म सहमत छु ।

न्या.हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल आश्विन १७ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु