शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७६६ - उत्प्रेषण

भाग: २८ साल: २०४३ महिना: असोज अंक:

निर्णय नं. २७६६     ने.का.प. २०४३     अङ्क - ६

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको रिट नं. १९९५

आदेश भएको मिति : २०४३।५।८।१ मा

 

निवेदक : ल.पु.न.पं.वार्ड नं. ३ झँसीखेल बस्ने कृष्ण श्रेष्ठ

विरुद्ध

विपक्षी : भूमिसुधार कार्यालय, ललितपुरसमेत

 

विषय : उत्प्रेषण

 

(१)         नापीमा नाम मोहीमा लेखाएको कारणबाट मोही कायम हुने र मौकैमा उजूर गर्नुपर्ने भन्ने तर्क उचित देखिँदैन ।

(प्रकरण नं. ८)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान विद्वान वरिष्ठ अधिवक्ता श्री रामचन्द्र श्रेष्ठ

 

आदेश

न्या.हरिहरलाल राजभण्डारी : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भनी रिट निवेदन मिति ०४२।९।२४।४ मा दर्ता भएको रहेछ ।

२. संक्षिप्त तथा तथ्य जिकिर यसप्रकार छन् : म निवेदकले श्रीधर शमशेर ज.ब.रा. का नाममा दर्ता भएको ल.पु.जि.ल.पु.न.पं.वार्ड नं. ३(क) अन्तर्गतको कि.नं.१५३ को १० जग्गा भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगाडि देखि नै मोहीको हैसियतबाट जोत कमोद गर्दै आएकोमा ०२२ सालमा उक्त जग्गाको नाप नक्शा हुँदा ल.पु.न.पं.वार्ड नं. ३(क) को कि.नं.१५३ को १० क्षेत्रफल कायम भई जग्गाधनी शिवप्रसाद श्रेष्ठ र मोहीको महलमा मेरो नाम उल्लेख भएको छ । म निवेदक भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिमको मोही हुँ भन्ने कुरा निर्विवाद छ । निवेदकले उपर्युक्त जग्गा आफ्नो र परिवारको श्रमबाट खनजोत गरी बाली लगाई मोहीको हैसियतले अद्यापि नियमानुसार जग्गाधनीलाई बुझाउनु पर्ने कूत बाली समेत बुझाउँदै आएको छु । उक्त मैले मोहियानीमा कमाएको जग्गा समेत प्रत्यर्थी नं.२ ले २०२१ सालमा श्रीधर शमशेर ज.ब.रा.बाट घरसारको लिखतबाट हालै देखिको बकसपत्र लिनु भएको हुँदा तत्पश्चात निजलाई नै उपयुक्त कित्ता जग्गा कूत बाली बुझाउँदै आएको छु । प्रत्यर्थी नं.२ ले बदनियत चिताई प्रत्यर्थी  नं. १ को कार्यालय समक्ष म निवेदकले मोहीको हैसियतबाट जोत कमोद गरी रहेको उपर्युक्त कि.नं. १५३ को १० जग्गा समेतलाई प्रत्यर्थी नं. १ को कार्यालय समक्ष ०२१ सालमा उक्त जग्गा समेत मैले श्रीधर शमशेर ज.ब.रा. बाट रिज बापत हालै देखिको बकसपत्र प्राप्त गरी लिंदा तिमीले घर बनाई बसेको जग्गा बकसपत्र दिएको छ भन्ने व्यहोरा उल्लेख छ । उक्त जग्गाको कित्ताहरुमा मोहीको नाम लेखिएको भए तापनि ०२३ सालको घरसारको लिखत बदर मोही हक छोडपत्र गरी दिएमा र घर कम्पाउण्डको जग्गा समेत हुँदा जोत संशोधन गरिपाउँ भन्ने समेत व्यहोराको उजूर दिनु भएकोमा निवेदकलाई म्याद प्रेषित गरिँदा वारिस मार्फत भू.सं.ऐन, ०२१ को दफा २५(१) ले विनिश्चित गरेको प्रकृया बमोजिम उक्त जग्गामा मोही हक प्राप्त गरी अद्यापी जोतकोड गरी प्रत्यर्थी नं. २ लाई कूत बुझाउँदै आएको छु विधिवत रुपबाट मोही हक विस्थापित नभएको हुँदा जोत संशोधन हुने होइन भन्ने समेत व्यहोराको बयान गरेकोमा प्रत्यर्थी नं.२ को कार्यालयबाट मिति ०४१।१२।१४ गते जोत संशोधन गरिने निर्णय गरियो ।

३. ल.पु.जि.ल.पु.न.पं.वार्ड नं. ३(क)  कि.नं. १५३ को १० जग्गाको साविक जग्गाधनी श्रीधर शमशेर ज.ब.रा. हुनुहुन्थ्यो । उहाँको पालादेखि नै मोहीको हैसियतबाट म निवेदकले जोत कमोद गर्दै आएको हुँदा भू.सं. ऐन, ०२१ लागू भएपछि सो ऐनको ऐनकै दफा २५(१) अनुरुप मोहियानी हक स्थापित भइसकेको छ । निवेदकले जोत कमोद गरिरहेको जग्गा साविक जग्गाधनीले प्रत्यर्थी नं. २ लाई ०२१ सालमा घरसारको लिखतद्वारा हालैदेखिको बकसपत्र साविक ज.ध.ले दिनु भएपछि पनि नापी हुँदा मोहीमा निवेदककै नाम उल्लेख भएको छ । त्यसबेला सो कि.नं.१५३ को जग्गामा कुनै घर कम्पाउण्ड घेरिएको थिएन तथ्यको यथार्थता नापी नक्शाबाट पनि स्पष्ट हुन्छ । विपक्षी जग्गा धनीले म पर्खाल लगाई तिमीहरूको बालीनालीको सुरक्षा हुन्छ भन्नु भएकोले पर्खाल लगाई घेरिएको हो । तर पर्खालले घेरिएको जग्गा हुँदैमा घर घडेरी हुन सक्दैन । यस स्थितिमा विपक्षीले जे जो जस्तो दावी गरे पनि भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(१) बमोजिम प्राप्त भएको मोहियानी हकमा कुनै तात्विक अन्तर पार्न सक्दैन भन्ने व्यहोराको रिट निवेदन जिकिर रहेछ ।

४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको मिति ०४२।९।२९।२ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् :

५. अधिकार प्राप्त अधिकारीले मिति ०४१।१२।१४ का निर्णयले विवादीत कित्ता जग्गाबाट निवेदकको जोत लगत कट्टा गरी दिएको सम्म हो । कानुनको परिधिभित्र रही निर्णय गरेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय ललितपुरको लिखितजवाफ ।

६. भू.सु.का.को निर्णय सदर गरिपाउँ भन्ने समेत शिवप्रसाद श्रेष्ठको लिखितजवाफ रहेछ ।

७. निवेदकतर्फका विद्वान अधिवक्ता श्री हरिहर दाहालले विपक्षी भू.सु.का.ले गरेको निर्णय बदर हुनुपर्छ भन्ने र विपक्षी भू.सु.का.ललितपुर तर्फका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले भू.सु.का.ले गरेको निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदनपत्र खारेज हुनुपर्छ भन्ने तथा विपक्षी शिवप्रसाद श्रेष्ठ तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री रामचन्द्र श्रेष्ठले भू.सु.कार्यालयले गरेको निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदनपत्र खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

८. प्रस्तुत केशमा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ । यसमा भू.सु.ऐन, ०२१ को दफा २५(१) को मोही भएको हुँदा भू.सु.ऐन, ०२२ को दफा २५(५)(क) आकृष्ट हुन सक्दैन भनी रिट निवेदकले रिट निवेदनमा जिकिर लिएको पाइन्छ । फायल संलग्न मिति ०२१।५।२० मा श्री ले.ज.श्रीधर शमशेर ज.ब.रा.ले शिवप्रसाद श्रेष्ठलाई हालैदेखिको बकसपत्र लेखी दिएको लिखतको ४ किल्ला हेर्दा पूर्वमा हरिहर भवनको पर्खाल, पश्चिम बाटो, उत्तर हरिहर भवनकै पर्खाल, दक्षिण सोही जग्गामा घेरिएको पर्खाल यति ४ किल्लाभित्रको जग्गामा अघिदेखि घर बनाई बसेको जग्गा रोपनी ३ तीन बकसपत्र गरी दिएको भनी स्पष्टसंग ४ किल्ला खोली बकसपत्र लेखिदिएको पाइन्छ । सो बकसपत्रको लिखतमा अघिदेखि घर बनाई बसेको भन्ने समेत उल्लेख भएबाट विवादीत जग्गा घरबारी हो भन्ने कुरामा विवाद देखिँदैन । उक्त जग्गाहरूमा चारैतर्फ वादी जग्गावालाले पर्खाल लगाएको कुरा प्रतिवादीहरूले स्वीकार गरी बयान गरेको देखिन आएको आधारमा वादीको घर पनि सोही पर्खालभित्र पर्ने भन्ने कुरा देखिन आएकोले उक्त विवादास्पद ३ कित्ता जग्गा घर घडेरीजग्गा होइन भन्न मिलेन भनी भू.सु.का.ललितपुरको मिति ०४१।१२।१४ मा निर्णयमा उल्लेख भएको देखिन्छ । मिति ०२३ साल आषाढको छोडपत्र लिखतमा कृष्ण श्रेष्ठले शिवप्रसाद श्रेष्ठलाई उक्त कि.नं. १५३ को जग्गा म मोहिया  भई कमाई आएको उक्त जग्गा उक्त मौजा नापीबाट फिल्डबुकमा मेरो नाउँमा जोताहामा लेखिन गएको साथै हाल मेरो आफ्नै दर्ताको जग्गा कमाउन र घर व्यवहारको अनुकूलबाट सो जग्गा कमाउन असमर्थ पर्न आएको हुँदा उक्त जग्गाको मोहियानी हक छोडपत्र गरी दिएको लिखतबाट समेत उक्त कि.नं. १५३ को जग्गा कृष्ण श्रेष्ठले मोहियानीमा कमाउन नसकी छोडपत्र गरी दिइसकेको देखिन आउँछ । उक्त छोडपत्र गरी दिएको लिखत उपर कहीँ कतै निवेदकले उजूर गरेको देखिँदैन । निवेदकले जग्गाधनीलाई साल सालै कूत बाली बुझाएको भनेको रसीद भर्पाईको प्रमाण समेत गुजार्न सकेको देखिँदैन । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(५)(क) मा घरबारीको जग्गा कमाउने व्यक्तिलाई मोही हक प्राप्त हुने छैन भनी स्पष्ट ऐनमा व्यवस्था भएको पनि पाइन्छ । नापीमा निवेदकको नाम मोहीमा लेखिएको कारणबाट मोही कायम हुने र मौकैमा उजूर गर्नुपर्ने भन्ने रिट निवेदकको तर्क पनि उचित देखिँदैन । तसर्थ भू.सं. ऐन, ०२१ को दफा २५(५)(क) बमोजिम प्रतिवादीहरू नाम मोही हक लाग्न नसक्ने हुँदा वादी दावी बमोजिम ३ कित्ता जग्गामा प्रतिवादीहरूको नाम मोही लगतबाट कट्टा गरी दिने गरेको भू.सु.का.ले मिति ०४१।१२।१४ मा गरेको निर्णयमा कुनै कानुनी त्रुटि भए गरेको नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियम बमोजिम फायल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४३ साल भाद्र ८ गते रोज १ शुभम् ।

 

       

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु