शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७६९ - अपुताली

भाग: २८ साल: २०४३ महिना: असोज अंक:

निर्णय नं. २७६९     ने.का.प. २०४३     अङ्क - ६

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४२ सालको दे.पु.नं. ७१४

फैसला भएको मिति २०४३।६।६ मा

 

निवेदक/प्रतिवादी : कास्की जिल्ला सिंदुजुरे गा.पं.वडा नं.छाचोक बस्ने शिवलाल उपाध्याय

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.जुठु पाध्यायको मु.स.गर्ने चन्द्रकला ऐ.ऐ.

 

मुद्दा : अपुताली

 

(१)         २०११ सालमा शंकर मरेको ठोस आधार प्रमाण बेगर जुठु उपाध्यायको स्पष्ट र सकारात्मक स्वीकारोक्तीको अभावमा ०११ सालमा शंकर मरेको भनी हदम्याद नाघेको भन्न नमिल्ने ।

(प्रकरण नं. १९)

(२)        शंकरको नजिकको हकदार सिवलाल कायम हुने ठोस आधार प्रमाण देखिन नआएकोले शंकरको नजिकको हकदार जुठु उपाध्यायलाई कायम गरी अपुताली पाउने ठहर्‍याई शुरुले गरेको इन्साफलाई सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै त्रुटि देखिन नआएकोले कुनै परिवर्तन गरिरहनु परेन ।

(प्रकरण नं. १९)

 

निवेदक/पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

न्या.रुद्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन्:मूल पुरुष वीरेन्चीका छोरा त्रिलोचन १, हिरानन्द १ समेत दुइमा त्रिलोचनको छोरा जागेश्वर निजका छोरा म फिरादी, हिरानन्दका छोरा रत्नाखर निजका छोरा शंकर हुन् निज शंकर ३८ को उमेरमा (१९६९) सालमा विदेशतर्फ गएको मरे जिएको पत्ता नलागेको एकाघरमा जहान कोही नहुँदा विधवा दिदी सन्तुको जिम्मा दिई गएको निजले कोशिलालाई दिएकोमा मेरो उजूर पर्दा कोशिलाको छोरी बसुन्धरी जिम्मा रहने ठहराई स.अ.बाट ०१५ सालमा फैसला भएकोमा निजले शिवलाललाई जिम्मा दिई पास गराएछन् र सो जिम्मा दिएको जालसाजी तायदाती बदर गरिपाउँ भनी नजिकको हकदार भएको हुँदा नालेश गरेको र शिवलाल भन्दा जुठु नजिकको हकदार देखिँदा बसुन्धरी शिवलालले जालसाजबाट जिम्मावारी लिनु दिनु गरेको ठहर्छ भन्ने इलाका अदालत पोखराको फैसला । शिवलाल भन्दा नजिकको जुठु देखिएकोले शंकर आएमा बुझाउने गरी बसुन्धरीले समाल्न नसकेमा नजिककोलाई जिम्मा नदिई शिवलाललाई दिएको व्यवहार जालसाजी ठहराई छिनेको इन्साफ मनासिब छ भन्ने ग.अं.अ.को फैसला । उक्त फैसला । मनासिब छ भन्ने स.अ.को ०२५।८।११ को फैसला विपक्षको निवेदकले दोहोरिँदा विदेश जानेको सम्पत्ति जाँदाको उमेर परदेश गएपछिको वर्ष जोडी १०० वर्ष उमेर पुगेपछि काजक्रिया गर्ने र मेरो जिउधन राखी पाउँ भन्ने दावी पुग्न नसक्ने भन्ने स.अ.फुलबेञ्चको ०२९।६।१७ को फैसलानुसार गा.पं.को अनुमति लिई ०३२।६।७ गतेदेखि ऐ.१९ गते तक निज शंकरको काजक्रिया गरी सकेको नजिकको हकदार म बाहेक कोही नहुँदा र फैसला समेतबाट मेरो हक भएकोले शंकरको अचल अपुताली सम्पत्ति मलाई देउ बुझाउ भन्दा अदालतबाटै चलन चलाई दिने काम जबसम्म गर्दैनौं त्यहाँ सम्म बाली खाँदै गर्छु भनी जवाफ दिएकोले फिराद गर्न उपस्थित भएको छु । शंकरका हकका गहने भन्ने खेतमुरी समेतका पाखा खेत कित्ता १७ अपुतालीबाट मेरो हक दिलाई पाउँ भन्ने समेत वादी ।

२. अपुतालीको हदम्याद अपुतालीको महलको १० नं. मा तीन वर्ष भित्र नालिश नपरे लाग्न सक्दैन भन्ने कानुनी व्यवस्था छ । हदम्याद कहाँबाट प्राप्त हुने हो भन्ने विषयमा प्रधान न्यायालयको ०१०।८।१४ र रिभ्यू भई हेरिँदा ०१५।३।२५ मा फैसला हुँदा समेत  वादीले शंकरको मृत्यु भइसकेको कुरा देखाएछन् र ०२४ सालको अपुताली धनमाल मुद्दा १ ऐ.कै जालसाजी मुद्दा १ स.अ.को ०२५।१।२१ समेतको फैसलाहरूबाट शंकर आजको २०।२२ वर्ष अघि नै मरिसकेको भन्ने सिद्ध भएको कुरालाई प्रमाण ऐन, ०३१ को दफा ६ को खण्ड (ङ) अनुसार ती फैसला अन्यथा प्रमाणित नगराए सही रुपमा भएका छन् भनी अदालतले अनुमान गर्न सक्ने कुरा प्रष्ट छ । शंकरको मुत्यु ०११ सालमा नै भएको भन्ने स.अ.को फैसलाबाट सिद्ध भएको हुँदा यो हदम्याद नाघी परेको फिराद खारेज गरिपाउँ र निजले खुलाएको पुस्तावारी र प्रधान न्यायालयको फैसलाबाट कायम भएको पुस्तावारीको विषयमा आफूलाई जागेश्वरको छोरा देखाई फिराद गर्न आएकोबाट वादी शंकरको हकवाला देखिन आउन सक्दैन । ७ पुस्ता भन्दा बाहीरको मानिस भएबाट निजको यो प्रस्तुत मुद्दा अ.बं. ८२ नं. ले खारेज हुनु पर्दछ । तसर्थ १०० वर्ष नाघेको भन्ने कुरा वादीले नै ०१६ सालको फिरादबाट देखाएको र वादी नाता पुस्ता बाहेक अलग बेगल बसेको व्यक्ति भएको र वादी दावीको जग्गा मेरो नाउँमा दाखेल खारेज दर्ता समेत भइसकेको हुँदा फिरादमा उल्लिखित १७ कित्ता जग्गाको चलन छाडी दिनुपर्ने समेत होइन र अपुताली सम्बन्ध बारम्बार दावा गर्न पाउने स्थिति पनि नहुँदा झुठ्ठा फिराद दावाबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

३. विदेश जाने शंकरको क्रिया गा.पं.को अनुमति समेतबाट गरेको वादीले देखाएको साथै शंकरको शिवलाल भन्दा जुठुनै नजिकको रहेछ भन्ने कुरा शिवलालकै लेखाइबाट सिद्ध गरेको र प्रतिवादी हकदार भए पहिलेको मुद्दामा हकदार हुँ भन्नु पर्नेमा सो नसकेको समेतबाट वादी दावीको जग्गा अपुतालीबाट वादीको हक हुने ठहर्छ भन्ने मिति ०३३।१२।२६ को शुरु अदालतको फैसला ।

४. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको ग.अं.अ.मा परेको पुनरावेदनपत्र परी छलफलको लागि विपक्षी झिकाउने भन्ने आदेश ।

५. मुलुकी ऐन अपुतालीको महलको २० नं. मा व्यवस्थित तीन वर्षको हदम्याद भित्र दायर नभएकोले अ.बं. १८० नं. बमोजिम खारेज गर्नुपर्नेमा खारेज नगरी शुरु जि.अ.ले हारजितको फैसला गरेको हुँदा सो फैसला उल्टी हुने ठहर्छ भन्ने समेत ०३६।१।१८ को ग.अं.अ.को फैसला ।

६. उक्त फैसलाका पुनरावेदनको अनुमति पाउँ भन्ने वादी जुठु उपाध्यायको मु.स. गर्ने चन्द्रकलाको प.क्षे.अ.मा परेको निवेदन ।

७. गण्डकी अञ्चल अदालतले खारेज हुने गरी गरेको फैसला बदर हुने ठहर्छ । अब वादी प्रतिवादीको विचमा शंकरको नजिकको के कुन नाताको के कति पुस्ताका हकदार हुन् ? सो को कानुनी प्रकृया नअपनाई जि.अ.बाट अपुताली हकमा इन्साफ गर्नुपर्नेमा सो कार्यविधि नअपनाई प्राकृतिक न्यायको सिद्धान्तको विपरीत फैसला गरेको देखिएकाले बदर हुने ठहर्छ र कानुनी प्रकृया अपनाई जो जे जसलाई बुझ्नु पर्छ बुझी हकदार समेततर्फ अपुतालीमा इन्साफ गर्न रुजु रहेको झगडीयालाई तारेख तोकी मिसिल शुरु जि.अ.मा पठाई दिने भन्ने समेत प.क्षे.अ.को फैसला ।

८. हकदारको सम्बन्धमा यि वादी जुठु पाध्याय नै हकदार रहे भएको प्रमणहरूको प्रशस्त बुँदाहरू पनि उल्लेख भएका छन् । त्यसबाट पनि विपक्षी शिवलाल बंसज बाहिरको बेसरोकारवाला व्यक्ति हो । केवल गैरकानुनी तवरले मेरो हकदार समेत बन्न खोजेको मात्र हो । विपक्षी शिवलाल अर्कै वंशको हो निजको पुस्तावारीको चार्ट निम्न प्रकार छ । देवनारायणको श्रीमती जेठी, कान्छी जेठीको छोरा साने, देवनारायणको छोरा जयलाल, जयलालको छोरा बलराम, बलरामको छोरा कालु, कालुको छोरा केशव, केशवको छोरा प्रसाद, प्रसादको छोरा विपक्षी प्रतिवादी शिवलाल पाध्या हुन  भन्ने समेत ०३९।१२।१० मा वादी विष्णुप्रसाद सापकोटाले शुरु अदालतमा गरेको बयान कागज रहेछ ।

९. पुरुषतर्फका हाम्रा मूल पूर्खा विश्वरथ, निजको छोरा शंकर पाध्या हुन् । कान्छो कालु, कालुको छोरा केशव, केदारको छोरा प्रसाद पाध्या हुन् । प्रसादको छोरा म प्रतिवादी शिवलाल हुँ । निज शंकर मेरो बाजे नाता पर्दछ । जेठो रत्नाखरका २ छोरामा कान्छीपट्टि विश्वरथ भन्ने दशरथ दशरथका छोरा कान्तु हुन् । स्त्रीतर्फ कान्तुकी श्रीमती कोशिला कोशीलाकी छोरी विवाह भएकी बसन्धरी पाध्यानी, निज बसुन्धरीको छोरा रघुनाथ पाध्या पौडेल हुन् । वादी जुठुका मूल पूर्खा देवनारायण, देवनारायणका छोरा साने, सानेका छोरा श्रीवत्स, श्रीवत्सका छोरा कालु, कालुका छोरा त्रिलोचन, त्रिलोचनका ५ भाइमा जेठो मंगल, मंगलको छोरा मनहर्क, माहिलो जागेश्वर, जागेश्वरका छोरा श्री वादी जुठु हुन् । साहिंलो तुलाराम, तुलारामको छोरा दण्डपानी हुन् काहिंलो बुद्धि सागर कान्छो कृष्णलाल पाध्या हुन्, वादी जुठुका साहिंला बाबु तुलारामको छोरा दण्डपानीले कान्छी पट्टिका छोरा बुहारी बाटुलीको करणी गरेमा संपुवा गर्दा खुलेका पुस्तावारी यो सम्पूर्ण मुद्दा पर्नु भन्दा अगावै ००७ सालमा खुलेका उपरोक्त वंशावली र पुस्तावारीलाई समर्थन गरी मंगलका छोरा मनहर्कले र यो वादी जुठु समेतले समर्थन गरी जिल्ला अदालतमा साक्षीको बकपत्र गरी सो मुद्दामा सो पुस्तावारी कायम भई निज साहिंलो बाबु तुलारामको छोरा दण्डपानीको अंश सर्वश्व भएको मुद्दा पनि यसै मुद्दामा मिसिल संलग्न नै छन् सो मिसिल हेरेमा प्रष्ट देखिन्छ र वादीमा नखुलेका पुस्ता समेतका कुरालाई ऐनले होइन भनी अर्को कुरा विवाद खडा गर्न नपाउने भएबाटै निज वादी जुठु शंकरको बंशकै नभई बेगल बंशको व्यक्ति हुन् र म प्र.वादी शिवलाल पाँच पुस्ताको शंकरको हकदार हो भन्ने समेत व्यहोराको ०३९।१२।१० मा प्रतिवादी शिवलाल पाध्याले यस अदालतमा गरेको बयान कागज ।

१०. प्रतिवादीले गरेको बयानबाट शंकर वादीका हाँगातर्फ नै नदेखाई बयान गरे पनि मौकामा उल्लिखित मुद्दामा शंकरको नजिकको हकदार जुठु पाध्या हुन भनी यिनै प्रतिवादीले व्यक्त गरेको कुरालाई छाडी अहिले हाल आफूले सम्पत्ति जिम्मा लिएको अवस्था वादी शंकरको हकदार होइन भनी बयान गरेको प्र.को भनाई साँचो भन्न उक्त प्रमाणबाट मिलेन । शंकर पाध्याको वादी जुठु ४ पुस्ताको भाइ नाताको हकदार देखिनाले शंकरको अपुताली हक वादी जुठु पाध्याले खान पाउने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतको मिति ०३९।१०।२० को फैसला ।

११. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत शिवलाल पाध्याको प.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१२. उक्त मुद्दाको लगाउ हुँदा लगाउको नाताले यस बेञ्चबाट हेर्न मिलेन । सिंगलको लगत कट्टा गरी नियम बमोजिम डिभिजनबेञ्चमा पेश गर्नु भन्ने प.क्षे.अ. सिंगलबेञ्चबाट मिति ०४०।१२।२२ मा भएको आदेश ।

१३. अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने डिभिजनबेञ्चको आदेश ।

१४. वादीबाट उक्त रसीद सक्कलै खिची प्रतिवादीलाई देखाई बयान गराई नियम बमोजिम पेश गर्नु भन्ने प.क्षे.अ.को आदेश ।

१५. वादी चन्द्रकलाबाट पेश भएको ०२३।१।३०।५ को सक्कल रसीद मैले नै गरी दिएको सद्दे साँचो हो जालसाजी रसीद होइन । त्यस अवस्थामा अदालतबाट जुठु पाध्याले जितेका हुनाले जग्गा भोग गर्ने मोहीलाई रसीद गरी दिएको हु अरु कुरा मिसिलमा प्रमाण दिएकै छु भन्ने समेत पुनरावेदक शिवलालले प.क्षे.अ.मा गरेको बयान ।

१६. शंकरको नजिक हकदार अन्य कोही छ भनी कहीं कसैले दावा गरेको पाइँदैन । प्र.शिवलालले  बयानमा खुलाएको पुस्तावारीमा शंकर वादी जुठुका हाँगातर्फ नै नदेखाई बयान गरे पनि मौकामा उल्लिखित मुद्दामा शंकरको नजिकको हकदार जुठु पाध्या हुन भनी व्यक्त गरेकोलाई लोप गरी हाल आफूले सम्पत्ति जिम्मा लिएको अवस्था वादी जुठु हकदार नभएको भन्ने भनाई उक्त प्रमाण कागज समेत दिलाई पाउँ भन्ने मुद्दाको प्रमाणबाट समेत प्रतित लायक देखिएन । अपिलाट प्रतिवादी कौशिलाको मु.स.गर्ने बसन्धरा पाध्यानी विरुद्ध वादी जुठु पाध्या भएको जालसाजी मुद्दाबाट प्रधान न्यायालय डिभिजनबेञ्चको मिति २०१०।८।१०।४ को फैसला र जुठु पाध्याले शिवलाल समेत उपर दिएको जालसाजी मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०१५।३।२५।४ मा भएको फैसलाबाट कौशिला शंकरको नजिकको हकदार कायम गरेको देखिन आएपछि जुठु निज शंकरको हकदार नै होइन भन्ने उल्लेख भएको नदेखिँदा शुरुबाट जुठु र शिवलाल बीचमा जुठुलाई शंकरको नजिकको हकदार ठहराई गरेको फैसला मनासिब छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१७. उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको निवेदन परेकोमा शंकर २०११ सालमा मरेको भन्ने कुरा वादीले स्वीकार गरेको देखिन्छ । यस्तो स्थितिमा शंकरको अपुताली सम्बन्धमा मुद्दा गर्नु पर्दा अपुतालीको २० नं. को हदम्याद भित्र नालेश गर्नुपर्ने हुन आउँछ । तर प्रस्तुत मुद्दामा सो हदम्याद नघाई फिराद दायर गरेकोमा इन्साफ गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अपुतालीको २० नं.को त्रुटि हुन गएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालतको मिति ०४२।२।९।४ को आदेश ।

१८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले सुमित्रा उपाध्यायानी र जुठु उपाध्याय समेत भएको अपुताली धनमाल मुद्दामा २०११ सालमा शंकर उपाध्याय मरी सकेको भन्ने देखिन आएपछि हदम्याद भित्र प्रस्तुत मुद्दाको नालेश परेको छैन । मेरो पक्षले दिएको पुस्तावारीबाट पनि शंकरको नजिकको हकदार शिवलाल नै देखिन आएको र जुठु उपाध्याय शंकर उपाध्यायको नजिकको नाताको प्रमाणित हुन नआएकोले शुरुको सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छैन भन्ने समेत र विपक्षीतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले सुमित्रा उपाध्यायनी र जुठु उपाध्याय समेतको अपुताली धनमाल मुद्दामा २०११ सालमा शंकर मरेको ठहर भएको छैन । पछि श्री सर्वोच्च अदालतबाट भएका फैसलाहरूका मिसिलहरूबाट पनि २०११ सालमा शंकर मरेको प्रमाणित हुन नआएकोले हदम्याद नघाई उजूर परेको छैन, पटक पटक मेरो पक्षले शंकरको नजिकको नातेदारको हैसियतले मुद्दा गर्दै आएको र मेरो पक्षले दिएको प्रतिवादीबाट पनि मेरै पक्षको दावी समर्थित हुन आउँदछ । सुमित्रा कौसल्या र शिवलाल भएको लिफाखिची प्रमाण कागज दिलाई पाउँ भन्ने मुद्दाको शिवलालको प्रतिउत्तर जिकिरबाट पनि मेरै पक्षको दावी प्रमाणित हुन आउँछ । पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१९. यसमा सुमित्रा उपाध्यायनी वादी र जुठु उपाध्याय समेत प्रतिवादी भएको अपुताली धनमाल मुद्दाको छिनुवा मिसिल हेर्दा २०११ सालमा शंकर मरेको भन्ने वादीको दावालाई सकारात्मक रुपमा प्रतिवादी जुठु उपाध्यायले स्वीकार गरेको देखिँदैन र वादीको फिराद लेख दावीबाट अपुतालीको हदम्याद ३ वर्ष नघाई उजूर गरेको भन्ने पनि जिकिर लिएको पाइन्छ । वादीको फिराद लेख दावी अनुसार नै मुद्दा खारेज भएको देखिँदैन । शंकर ०११ सालमा मरेको सबूद प्रमाणको आधारमा निर्णय भएको देखिँदैन । अतः ०११ सालमा शंकर मरेको ठोस आधार प्रमाण बेगर जुठु उपाध्यायको स्पष्ट र सकारात्मक स्वीकारोक्तीको अभावमा ०११ सालमा  शंकर मरेको भनी हदम्याद नाघेको भन्न मिलेन । वादी कौसल्या र प्रतिवादी शिवलाल समेत भएको लिफा खिची प्रमाणको कागज दिलाई पाउँ भन्ने मुद्दामा शिवलाल उपाध्यायले प्रतिउत्तर दिँदा शंकरको कौशल्या भन्दा नजिकको हकदार जुठु उपाध्याय नै हो भन्ने जिकिर लिएको पाइन्छ । शंकरको नजिकको हकदार शिवलाल कायम हुने ठोस आधार प्रमाण देखिन नआएकोले शंकरको नजिकको हकदार जुठु उपाध्यायलाई कायम गरी अपुताली पाउने ठहर्‍याई शुरुले गरेको इन्साफलाई सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै त्रुटि देखिन नआएकोले कुनै परिवर्तन गरिरहनु परेन, प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । नियम बमोजिम गरी मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल आश्विन ६ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु