शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७७० - ज्यान

भाग: २८ साल: २०४३ महिना: असोज अंक:

निर्णय नं. २७७०    ने.का.प. २०४३     अङ्क - ६

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४२ सालको फौ.पु.नं. ६३७, ६३०

फैसला भएको मिति २०४३।६।२।५ मा

 

पुनरावेदक/वादी : फुलमाया सर्किनीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.धनुषा तुलसी गा.पं.वडा नं.३ बस्ने जगलाल मुक्तानसमेत

 

पुनरावेदक/प्रतिवादी : धनुषा जि.तुलसीपुर गा.पं.वडा नं.१ घर भई जि.का.कारागार शाखा महोत्तरीमा थुनामा रहेका चित्रबहादुर चौहान

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार

 

मुद्दा : ज्यान

 

(१)         कुनै नराम्रो कुरा नसोची घचेट्दा लडी ढुड्डामा ठोकिएर मृत्यु भएकोलाई कर्तव्यबाट ज्यान मरेको भनी मान्न नमिल्ने ।

(प्रकरण नं. २४)

 

पुनरावेदक/वादीतर्फबाट      : विद्वान उपन्यायाधिवक्ता श्री आत्माराम भट्टराई

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

 

फैसला

न्या.रुद्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको र प्र.चित्रबहादुरको दुवैपक्षको पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ :

२. २०४०।१०।१२ मा बेगाडावर गा.पं.वा.नं.९ अन्तर्गत रातु खोलादेखि पूर्वमा लाश छ भन्ने  सुनेकाले हेर्दा लाश फेला परेकोले लाशलाई सुरक्षित राखी जाहेर गर्न आएको छु भन्ने प्र.ह.दुर्गाबहादुरको प्रतिवेदन ।

३. २०४०।१०।१४ मा भएको लाश र घटनास्थल प्रकृति मुचुल्का ।

४. मेरो पतिलाई चित्रबहादुर चौहान समेतका ४ जना मिली मारेकोमा आवश्यक कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको फुलमाया सर्किनीको जाहेरी दर्खास्त ।

५. मृतक मेरो दाजु हो । आवश्यक कारवाही गरी लाश सद्गद् गर्न पाउँ भन्ने समेत व्यहोराको कृष्णबहादुर सर्कीको सनाखत कागज ।

६. बजारमा मासु बिक्री गर्न गएको सार्की र यो पक्राउ परेका ४ जना व्यक्ति लालबहादुर साथसाथै गैरी डाँडा तामाङको घरमा जाँड खाई गैरी डाँडाको ओरालो सम्म आएको मानिसहरू मध्ये ४ जना आएको र १ जना मृतक अवस्थामा फेला परेकोले निजहरूकै कर्तव्यबाट लालबहादुरलाई मारी फालेको हुनुपर्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

७. लालबहादुर, सुन्दर दमाई र म समेतका ३ जना रक्सी खाएको सुरमा कुटाकुट भएको हो, पछि मरी सकेपछि खोला पारी लगी फालेको हो भन्ने समेत व्यहोराको चित्रबहादुरको प्रहरीमा भएको कागज ।

८. मर्ने लालबहादुरलाई चित्रबहादुर र मैले कुटेको चोटबाट नै मरेको हो । मरेपछि लाश खोलामा फालेको हो भन्ने समेत व्यहोराको कालेखाती भन्ने सुन्दर दमाइको प्रहरीमा भएको कागज ।

९. लालबहादुर समेत हामी ५ जना संगसंगै आएका हौं तर अर्जुन र म खोलामा झरिसकेका थियौं । लालबहादुर, चित्रबहादुर, सुन्दरे पछि पछि थिए । खोलामा हामीले पर्खंदा लालबहादुरलाई समाई ल्याएका थिए । निज बोल्न नसक्ने अवस्थामा थिए । अध्यारो हुँदा सबै कुरा थाहा भएन । हामी हिंडी हाल्यौं । पछि चित्रबहादुर र सुन्दरेले खोलापारी फालेछन् भन्ने समेत जंगलालको प्रहरीमा भएको कागज ।

१०. लालबहादुरलाई म र जंगलालले कुटपिट गरेको छैन, सुन्दरे र चित्रबहादुरले कुटपिट गरी फालेको हो भन्ने समेत अर्जुनबहादुरको प्रहरीमा भएको कागज ।

११. जंगलाल र अर्जुनले मर्ने अवस्थामा देखेको भन्ने कागज गरेको सरजमीनका मानिसहरूले पनि यिनै प्रतिवादीहरूले नै मारेको हुनु पर्दछ भनी लेखाएको समेतबाट मृतक लालबहादुर प्र.चित्रबहादुर चौहान र सुन्दरे दमाइले मारेको देखिएकोले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) र प्र.जंगलाल तामाङ्ग र अर्जुनबहादुर कार्कीलाई ऐ.को १७(३) नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।

१२. ०४०।१०।१० का दिन म सर्लाही ईश्वरपुर गएको थिएँ र घोडा बेमारी हुँदा उसको पनि रखवाला गरेको छु, मैले ज्यान मारेको होइन, छैन भन्ने व्यहोराको कालेखाती भन्ने प्र.सुन्दरे दमाइले अदालतमा गरेको बयान ।

१३. ०४०।१०।११ मा म.जि.सर्लाही ईश्वरपुर गा.पं.मा चित्रबहादुरसँग माल सामान बोकी गएको छु । मैले ज्यान मारेको होइन भन्ने समेत व्यहोराको प्र.जंगलाल तामाङ्गको अदालतमा गरेको बयान ।

१४. ०४०।१०।९ मा म सिन्धुली गई ऐ.१३ गतेमात्र घर फर्किआएको छु । मैले ज्यान मारेको होइन भन्ने समेत व्यहोराको प्र.अर्जुनबहादुर कार्कीले अदालतमा गरेको बयान ।

१५. प्र.चित्रबहादुर र सुन्दरे दमाईलाई ज्यानसम्बन्धी महलको ६ को देहाय (२) नं. बमोजिम जनही २ वर्ष कैद र रु.५००।जरिवाना हुने ठहर्छ । ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन दावी पुग्न सक्दैन । प्र.जंगलाल र अर्जुनबहादुरलाई दण्ड सजायँको १२ नं. बमोजिम जनही रु.५००।का दरले जरिवाना हुने ठहर्छ । ज्यानसम्बन्धीको १७(३) नं. बमोजिमको सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन दावी पुग्न सक्दैन भन्ने समेत शुरु  धनुषा जि.अ.को ०४१।४।२८ को फैसला ।

१६. शंका र अनुमानको आधारमा ज्यान जस्तो विषयको हामीलाई भवितव्य भए पनि अपराधी ठहर गरिएको इन्साफ कानुनी एवं न्यायसंगत नहुँदा सो गैरकानुनी फैसला बदर वातिल गरी हामी निर्दोषलाई झुठो एवं बनावटी वादी दावीबाट कानुनी उन्मुक्ति पाउँ भन्ने समेत व्यहोराको प्र.चित्रबहादुर र सुन्दरे दमाईको म.क्षे.अ.मा परेको पुनरावेदन जिकिर ।

१७. शुरुको फैसला बदर गरी प्रतिवादीहरू जंगलाल, चित्रबहादुर, सुन्दरे दमाई र अर्जुनबहादुरलाई शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरी पाउँ भन्ने वादी दावी श्री ५ को सरकारतर्फबाट म.क्षे.अ.मा परेको पुनरावेदन जिकिर ।

१८. प्रतिवादीहरूको ज्यान लिने ईवि र मनसाय देखिँदैन । रक्सी खाई मातेको अवस्था भएको तथा घर जान नमानी कुटपिट समेत गर्ने साथीलाई घरतर्फ ओरालोतिर घचेट्दा घचेट्दा तान्दा समेत चोट लागी मानिस मर्न गएको देखिँदा भवितव्य ठहर्‍याई प्र.चित्रबहादुर र सुन्दरे दमाईलाई जनही २ वर्ष कैद रु.५००।जरिवाना गर्ने तथा प्र.अर्जुनबहादुर जङ्गबहादुरलाई निजहरू कुटपिट र घचेटा घचेट भएको ठाउँमा उपस्थित भएको कुनै प्रमाण भएको नहुँदा र कसूर गरेमा इन्कार समेत हुँदा निजहरूलाई आरोपित कसूरबाट सफाई दिने, जाहेरी नगरेतर्फ जरिवाना गरेको शुरु धनुषा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।११।१०।५ को फैसला ।

१९. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझेको हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई शुरु प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२०. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझेकोले उक्त फैसला बदर गरी निर्दोष घोषित गरिपाउँ भन्ने समेत व्यहोराको प्र.चित्रबहादुर चौहानको यस अदालतमा पुनरावेदनपत्र परेको रहेछ ।

२१. नियमानुसार दैनिक पेशी सूचीमा चढी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पुनरावेदक श्री ५ को सरकारको तर्फबाट खटिनु भएको विद्वान उपन्यायाधिवक्ता श्री आत्माराम भट्टराईले र प्रतिवादी पुनरावेदक चित्रबहादुर चौहानका तर्फबाट विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले गर्नुभएको बहस जिकिर समेत सुनियो । निर्णयतर्फ विचार गर्दा शुरु धनुषा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।११।१० को इन्साफ मिले नमिलेको के रहेछ सो निर्णय दिनुपर्ने हुन आयो ।

२२. निर्णयतर्फ विचार गर्दा यसमा लालबहादुरको मृत्यु भएकोमा विवाद देखिँदैन । निजको मृत्यु यी प्रतिवादीहरूको कर्तव्यबाट भएको हो वा होइन भन्नेतर्फ हेरिएमा मर्ने लालबहादुर सार्की तथा अभियुक्त चित्रबहादुर एवं सुन्दर दमाईको आपसमा रिस ईवि भएको र मार्नु पर्ने मनसाय भएको कहीं कतै देखिँदैन । जंगलाल मुक्तान, चित्रबहादुर चौहान, सुन्दरे दमाई र अर्जुनबहादुर कार्की गरी सम्पूर्ण प्रतिवादी र मृतकसँग बसी रक्सी खाएको प्रष्टसँग देखिन आएको छ । रक्सी खाई सकेपछि रक्सीको नशा लागे पनि लालबहादुरलाई चित्रबहादुर र सुन्दरे दमाईले आफू सँग सँगै घर पुर्‍याउने प्रयास गरेको देखिन्छ ।

२३. निज सुन्दरे दमाई र चित्रबहादुरले घर लैजान लाग्दा लालबहादुरले नशाको सुरमा कुटपिट गरी उनीहरूसँग झगडा गरी व्यवधान उत्पन्न गराएबाट उत्तेजित भएर मृतकलाई घचेटेको भन्ने कुरा प्रहरी समक्ष चित्रबहादुर र सुन्दरे दमाईले कागज लेखी दिएकोबाट देखिन्छ । लालबहादुर निजहरूको घचेटाइबाट लडेर ढुङ्गामा ठोकिई रक्तश्राव भई मरेको भन्ने समेत देखिन आएको छ । त्यसरी लडिसकेपछि पनि साथीहरूले साथ  नछाडी घर लाने सिलसिलामा लालबहादुरको मृत्यु भएको देखिन आएको छ ।

२४. यदि लालबहादुरलाई मार्ने मनसायले घचेटेको भए पुनः उठाई घर लान खोज्ने कुरा आउँदैनथ्यो । सो भन्दा अगावै मृतकसँग चित्रबहादुर समेतका अभियुक्तको सम्बन्ध नराम्रो भएको कतैबाट देखिँदैन । सँगै रक्सी खाएको र घर जाने सिलसिलामा स्वयं मृतकले कुटपिट गरेबाट चित्रबहादुर र सुन्दरे दमाईले घचेटेको सम्म देखिन्छ रक्सीको नशामा कुनै नराम्रो कुरा नसोची घचेट्दा लडी ढुङ्गामा ठोकिएर मृत्यु भएकोलाई कर्तव्यबाट ज्यान मरेको भनी मान्न मिलेन । उक्त परिस्थितिमा अकस्मात लालबहादुरको मृत्यु हुन गएको देखिएबाट प्रस्तुत कसूरलाई भवितव्य मान्नु पर्ने देखिन आयो ।

२५. ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको सजायँ प्र.सुन्दरे दमाई र चित्रबहादुरको हकमा न्यायोचित देखिँदैन । प्र.अर्जुनबहादुर तथा जंगलाल उपर ज्यानसम्बन्धीको १७(३) को दावी देखिन्छ । तर उनीहरु वारदात स्थलमा नै उपस्थित भएको देखिँदैन । कसूर गरेमा इन्कारी रही बयान गरेका छन् । कुनै स्वतन्त्र सबूद प्रमाणबाट उनीहरूलाई कसूरदार भनी प्रमाणित गर्न सकिएको छैन ।

२६. अतः मृतक लालबहादुरको मृत्यु प्र.चित्रबहादुर र सुन्दरे दमाईले रक्सीको नशामा घचेट्दा भवितव्यबाट भएको देखिएकोले निजलाई ज्यानसम्बन्धीको ६(२) नं. अनुसार जनही २ वर्ष कैद र ५००।रु.जरिवाना गरेको र प्र.अर्जुनबहादुर जंगलाललाई वारदातमा संलग्न नभएको भनी सफाई दिएको शुरु धनुषा जि.अ.को इन्साफ सदर गरी म.क्षे.अ.बाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । कसूरबाट सफाई पाउनुपर्ने भन्ने चित्रबहादुरको र प्रहरी प्रतिवेदन माग दावी अनुसार गरिपाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन गरे बापत प्र.चित्रबहादुरलाई अ.बं. २०३ नं. बमोजिम थप कैद १ महीना ६ दिन र रु.२५।थप जरिवानाको लगत कस्न धनुषा जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४३ साल आश्विन २ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु