शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२०६ - जग्गा छुट्याई चलन चलाइपाउँ

भाग: २९ साल: २०४४ महिना: पौस अंक:

निर्णय नं. ३२०६     ने.का.प. २०४४      अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४१ सालको दे.पु.नं. ६४३

मुद्दा : जग्गा छुट्याई चलन चलाइपाउँ ।

 

पुनरावेदक/वादी:का.जि.का.न.पं. वार्ड नं. ९ बत्तिसपुतली बस्ने पुरुषोत्तम आचार्य ।

विरुद्ध

विपक्षी :का.जि.का.न.पं. वार्ड नं. ९ बत्तिसपुतली स्थित बोरिस एण्ड रेष्टुराँ प्रा.लि.।

      का.जि.का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने श्रीमती इङर लिसाने विच ।

फैसला भएको मिति: २०४४।५।२८।१ मा

     राजीनामा लिखतमा बोरिस बार एण्ड रेष्टुराँ प्रा.लि. लाई राजीनामा गरिदिएको भन्ने प्रष्ट उल्लेख भएको छ, यदि उनीहरूले साझा रुपमा लिएको भए तीनपुस्ते खुलाउनु पर्ने थियो यसमा वादी प्रतिवादीहरूको तीनपुस्ते नभएबाट लिखतमा उल्लेख भएको सम्पत्ति वोरिस बार एण्ड रेष्टुराँको नाममा खरीद भएको देखिन्छ, यसरी कम्पनीको नाममा खरीद भएको सम्पत्ति लिखतमा उल्लेख गरिएका सञ्चालक समितिका सदस्यहरूको व्यक्तिगत हो भन्न नमिल्ने ।

(प्रकरण नं. १०)

     सञ्चालक समितिका सबै सदस्यले कम्पनीको तर्फबाट हस्ताक्षर गरी खरीद गरेको हुँदा कसैलाई अधिकार प्रत्यायोजन गरिराख्नु पर्ने अवस्था नै नपर्ने ।

 (प्रकरण नं. १०)

पुनरावेदक, वादी तर्फबाट: विद्वान अधिवक्ता श्री शुशिल पन्त

विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    विपक्षी र म संस्थापक भई ०३४।१०।१६ मा स्थापना भएको कम्पनी हो । साथै विपक्ष अध्यक्ष रहनु भएकोले उहाँले मलाई सञ्चालक र प्रशासकमा मासिक वेतन रु. ६,०००।दिने गरी नियुक्त गर्नु भएको र उक्त कम्पनीको अधिकृत पूँजी रु. ८,००,०००।रहेको र रु.१,०००।का दरले शेयरको संख्या विभाजन भएको उक्त पूँजी मध्ये रु. ७,१०,०००।पूँजीको ७१० शेयरमा विभाजन गरी बाँडफाँड गर्दा विपक्षी कम्पनीको शेयर ६८५ विपक्ष श्रीमती इङ्गर लिसाने बीच र २५ को शेयर मैले लिएका थियौं । २०३७।४।५ मा मैले दिएको शेयर अलेकोन्जर लिसाने बिचलाई हक छाडी दिएको ०३७।३।१८ देखि उक्त कम्पनीको व्यवस्थापकको काम राजीनामा गरिदिएको छु सो बाहेक अरु कुनै कुराको हक छाडेको छुइन । उक्त कम्पनीको अधिकृत पूँजी ०३५।५।२३ भन्दा अघिल्लो दिनसम्म बढाएको थिएन । विपक्ष र मैले भई ललितपुर थेचो पञ्चायत भित्रको विभिन्न कित्ताको  ज.रो ४०० खरीद गरेका थियौं । उक्त जग्गा रु. २,८०,०००।मा राजीनामा पारीत गरी पारीत खर्च रु. १४,०००।र पर्खाल लगाउँदा रु. ७,५०,०००।समेत जम्मा रु. ३,६९,०००।खर्च गरेको श्रेस्ताबाट स्पष्ट छ । उक्त कम्पनीको स्थित पूँजी बृद्धि गर्न मैले र विपक्षीले जग्गा खरीद गरेको रजिष्ट्रेशन भएका लिखत र ज.ध.प्र. पूर्जाहरूबाट प्रष्ट छ उक्त रुपैयाँ मध्ये आधा रु. १,८४,५००।मेरो परेको र जग्गाहरू आधि आधि गरी छुट्याउँ भनी विपक्षीहरूसँग अनुरोध गर्दा इन्कार गरेकोले फिराद गर्न आएको छु उक्त लेखिएको क्षेत्रफल रो. ४०० को जग्गा मध्ये आधा रु. १८,४५,०००।मूल्य पर्ने आधा मेरो भाग विपक्ष कम्पनीको दावी मेटाई आधा आधा विपक्ष र मेरो छुट्याई चलन समेत चलाई पाउँ भन्ने ०३७।१०।८ को वादीको फिराद दावी ।

३.    विपक्षले शेयर संख्या २५ अलेक्जेण्डर लिसाने बिचलाई हक छाडी दिएको हो । व्यवस्थापकको कामबाट राजीनामा गर्नु भएको कुरा पनि स्वीकार गर्नु भएको छ । विपक्षको न त शेयरवालाकै हक स्थापित छ न त व्यवस्थापनको पदबाटै हक स्थापित छ । यसरी हक प्राप्त नभएको व्यक्तिलाई नालेश गर्ने हक अधिकार नभएकोले अ.बं.८२ नं. बमोजिम फिराद खारेज गरिपाउँ । कम्पनीको सम्पत्तिमा कुनै व्यक्तिको हक हुँदैन । कम्पनीको सम्पत्तिमा कम्पनीको मात्र हक हुन्छ । वास्तवमा विपक्षले कम्पनीमा काम गर्दाको अवस्थामा निजले नै हिसाब किताब राख्ने र आर्थिक कारोबार गर्ने गरेका थिएँ सोही बेलामा कम्पनीको रुपैयाँले पर्खाल लगाएका हुन्, जग्गाहरू कम्पनीले भोगचलन गरिआएको छ । विपक्षीले कम्पनीको सञ्चालकको हैसियतमा मात्र सहिछाप गर्नु भएको हो, न कि आफ्नो निजी रुपमा हो, कम्पनीको नाममा दर्ता भएको सम्पत्तिमा विपक्षीको दावी नलाग्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादीको ०३८।२।२२ को प्रतिउत्तर जिकिर ।

४.    कम्पनी जिवीत रहेसम्म सो कम्पनीको सम्पत्ति हुँदा विशेषलाई छुट्याई चलन चलाई दिन समेत नमिल्ने सो को सम्पत्ति मेरा हो भन्ने उजूर गर्न कुनै व्यक्तिलाई अधिकार नहुने हुँदा प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने शुरु का.जि.अ.को ०३९।११।१९ को फैसला ।

५.    खारेज गर्ने गरेको का.जि.अ.को फैसला बदर गरी शुरु फिराद दावी एवं पुनरावेदन जिकिर अनुसार सुफत न्याय पाउँ भन्ने वादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

६.    माल कार्यालयमा रहेको राजीनामाको सक्कल लिखतमा समेत जग्गाहरू बोरिस बार एण्ड रेष्टुराँको नाममा खरीद भएको छ । सो जग्गा खरीद गर्दा वादीले आफ्नो दावी बमोजिम रुपैयाँ लगाएको प्रमाण समेत पेश गर्न सकेको नहुँदा त्यस्तो कम्पनीको सम्पत्तिमा हक अधिकारको दावी लिने अधिकार यी वादीलाई नहुँदा फिराद दावी नै खारेज गर्ने गरेको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला रहेछ ।

७.    वादी दावी नै खारेज गर्ने गरेको शुरुको सदर गर्ने गरेको म.क्षे.अ.को फैसलामा रजिष्ट्रेशनको ११ नं. कम्पनी ऐन, २०२१ को दफा २१ र ३८ तथा जग्गा पजनीको १७ नं. जग्गा मिच्नेको १८ नं. समेतको त्रुटी हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा निवेदन पर्न आएको रहेछ ।

८.    विवादित जग्गा बोरिस बार एण्ड रेष्टुराँ प्रा.लि.ले खरीद गरेको भए ज.ध.द.प्र.पू.मा सो कम्पनीको मात्र नाम लेखिनु पर्ने हो तर सो नलेखिई वादी पुरुषोत्तम आचार्य समेतको नाम लेखिएको र ज.ध.प्र.को हक हिस्साको महलमा समेत संयुक्त लेखिएको पाइन्छ । उक्त जग्गाधनी दर्ता श्रेस्ता कार्यमै रहेको अवस्थामा नालेश गर्ने हक अधिकार यी वादीलाई नभएको भनी खारेज गर्न गरेको शुरुको सदर गरेको म.क्षे.अ.को फैसलामा अ.बं. ८२ न.ज.प.को १७ र जग्गा मिच्नको १८ नं. समेतको त्रुटी हुँदा पुनरावेदनको  अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४१।९।३।२ को आदेश रहेछ ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शुशिल पन्त र विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले गर्नु भएको बहस समेत सुनियो यसमा म.क्षे.अ.ले गरेको फैसला मिले नमिले के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

१०.    यसमा विपक्षी र म समेतले संयुक्त रुपमा खरीद गरेको सम्पत्तिमा मेरो आधा हिस्सा विपक्षीहरूबाट छुट्टाई चलन पाउँ भन्ने वादी भएकोमा सो सम्पत्ति कम्पनीले एकलौटी लिएको भन्ने प्रतिवादी देखिन्छ । जग्गा खरीद गरी लिँदाको अवस्थामा वादी प्रतिवादी दुवै कम्पनीका सञ्चालक भएको अवस्थामा खरीद भएको कारणबाट उक्त विवादित सम्पत्ति निजी हो वा संयुक्त हो भन्नेतर्फ मुख्य रुपमा विचार गर्नु पर्ने देखियो । राजीनामा लिखतमा बोरिस बार एण्ड रेष्टुराँ प्रा.लि.लाई राजीनामा गरिदिएको भन्ने प्रष्ट उल्लेख भएको छ । यदि उनीहरूले साझा रुपमा लिएको भए तीनपुस्ते खुलाउनु पर्ने थियो । यसमा वादी प्रतिवादीहरूको तीनपुस्ते नभएबाट लिखतमा उल्लेख भएको सम्पत्ति बोरिस बार एण्ड रेष्टुराँको नाममा खरीद भएको देखिन्छ । यसरी कम्पनीको नाममा खरीद भएको सम्पत्ति लिखतमा उल्लेख गरिएका सञ्चालक समितिका सदस्यहरूको व्यक्तिगत हो भन्न मिल्दैन । अब जहाँसम्म कम्पनीले लिएको भए अधिकार प्रत्यायोजन गरी कुनै व्यक्ति मार्फत खरीद गरेको देखिनु पर्ने भन्ने पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ताले उठाउनु भएको तर्कतर्फ विचार गर्दा सञ्चालक समितिका सबै सदस्यले कम्पनीको तर्फबाट हस्ताक्षर गरी खरीद गरेको हुँदा कसैलाई अधिकार प्रत्यायोजन गरी राख्नु पर्ने अवस्था नै नपर्ने हुँदा त्यसतर्फ विचार गरिरहनु परेन अतः विद्वान अधिवक्ताको उक्त जिकिरसँग सहमत हुन सकिएन ।

११.    यदि वादी प्रतिवादीहरूले व्यक्तिगत रुपमा खरीद गरी लिएको भए कम्पनीको नाम राख्नु पर्ने स्थिति नै पर्ने थिएन । अर्कोतर्फ खरीद गरी लिने प्रत्येक व्यक्तिहरूको तिनपुस्ते खुलाएको हुनुपर्ने पनि खुलाउन सकेको छैन । व्यक्तिहरूले व्यक्तिगत रुपमा लिए पनि आफ्नो नाम तीनपुस्ते खुलाई आफ्नो स्पष्ट पहिचानको पद र हैसियत खुलाउन चाहे पनि फलाना कम्पनीको सञ्चालकहरू भनी उल्लेख गरेको हुनुपर्ने हुन्छ । तर सो बमोजिम नगरी खरीद गरिलिनेमा बोरिस बार एण्ड रेष्टुराँ भन्ने प्रष्ट उल्लेख गरी हस्ताक्षर चाहीँ सञ्चालक समितिका सदस्यहरुले गरेको देखिँदा यो विवादित सम्पत्ति कम्पनीले नै खरीद गरिलिएको प्रष्ट हुँदा आधा हिस्सा मेरो छुट्याई चलन समेत चलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४४ साल भाद्र २८ गते रोज १ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु